काठमाडौं: काठमाडौं महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई जरिवाना तिराएपछि अभिनेत्री करिश्मा मानन्धरले महानगरको निर्णयलाई लिएर मेयर बालेन शाहप्रति कटाक्ष गरेकी छन्। जथाभावी पोस्टर टाँसेको भन्दै महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई ५० हजार रुपैयाँको जरिवाना गरेको छ। सोही विषयमा कटाक्ष गर्दै फिल्मको विशेष शोको तस्बिर सेयर गर्दै उनले क्याप्सन लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो । कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन ।’ पोस्टर टाँस्दा दृश्य प्रदूषण भएको भन्दै महानगरले ‘बगान’लाई जरिवाना गराएको थियो। करिश्माको यो पोस्टमा विभिन्न खाले टिप्पणीहरु आइरहेका छन् । महानगरले जरिवाना तिराएपछि ‘बगान’का निर्माता सुरेश वाग्लेले पनि जरिवानाको रसिद सेयर गर्दै लेखेका छन्, ‘बालेनजी आदिपुरुष हिन्दी सिनेमालाई त रोक्नुभयो । नेपाली सिनेमालाई पनि सहयोग गरिदिनुहोला । वातावरण प्रदुषण विरुद्धको महानगरको अभियानमा हाम्रो साथ र सहयोग सदैव रहनेछ ।’ फिल्ममा एकल महिलाको पुनर्विवाह र एकल आमाले छोरी हुर्काउन गरेको प्रयत्नको कथावस्तु यसमा प्रस्तुत गरिएको छ । शुक्रबार प्रदर्शनमा आएको सरोज खनालको डेब्यु निर्देशन रहेको ‘बगान’मा करिश्मा मानन्धर, सरोज खनाल, प्रमिला कार्कीलगायतको शीर्ष भूमिका रहेको छ।
काठमाडौं: कुशल भुर्तेलले ६ विकेट लिएपछि नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल युएई ए लाई १ सय ५७ रनमा अलआउट गरेको छ । पि सारा ओभल कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भयो । युएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । सिंहले ६ चौका र १ छक्का प्रहार गरेका थिए । इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिदै आफ्नो किर्तिमान राखेका छन् । राष्ट्रिय टिमबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो । समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो । युएईले दोस्रो रोजाईका खेलाडी इमर्जिङ टिम्स कपमा पठाएको छ । यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।
काठमाण्डौ: जुम्लामा नुनको कमी हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले तीन सय २० क्विन्टल नुन ढुवानी गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जका अनुसार आव ०७९ र ८० को असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ । प्रदेश कार्यालय प्रमुख महेश चौधरीका अनुसार कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात रहेको छ । प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक र्याकमा २६ हजार क्विन्टलका दरले वर्षमा नौ र्याक नुन आयात हुने गर्दछ । कार्यालय प्रमुख चौधरीले दुर्गम क्षेत्रमा सरकारको ढुवानी अनुदानअन्तर्गत प्रत्येक एक वर्ष ३६ देखि ३८ हजार क्विन्टल नुन ढुवानी गरिने जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षको ६ महिनायता मालपोत कार्यालय कास्कीमा सवारीचालक रहेका हिमलाल उपाध्यायले प्रमुख रामचन्द्र अधिकारीको रोपाइँमा नजाँदा जागिर गुमेको बताएका छन् । । उपाध्यायले सुनगाभा न्यूजसँग कुरा गर्दै गत असार १५ गते प्रमुख अधिकारीको शिसुवास्थित खेतमा रोपाइँमा नगएपछि करार अवधि नथपिएको आरोप लगाए । ‘रोपाइँको अघिल्लो दिन शुक्रबार बिहानदेखि बेलुकासम्म स्याङजा लगेर ल्याउने काम गरे’ उपाध्यायले भनेका छन् ‘राती अबेरसम्म पनि गाडी चलाउँदा भोलीपल्ट रोपाइँमा जान सकिन ।’ रोपाइँमा नगएकै दिनदेखि प्रमुख आफुसँग रुष्ट भएको र आर्थिक वर्ष सकिएलगत्तै आफुलाई जागिरबाट निकालेको उनको आरोप छ । दिनभर काम गरेर बेलुका ८ बजे घर फर्किएपछि थकाइकैकारण हाकिम खुशी बनाउन नसकेको उनले जनाए । ‘रोपाइँको दिन शनिबार थियो, हाकिमसाबले अर्काे गाडी खोज्नुभएको थियो’ उपाध्यायले भने ‘म जान सकिन, पछि म्याडमले पनि यही विषयमा गुनासो गर्नुभयो ।’ प्रमुखले साउन १ गतेदेखि नआउनु भनेपछि कार्यालयमा बुझ्न जाँदा तलब खुवाउन नसकेको, बुढो भएको भनिएको उपाध्यायले बताए । मालपोत प्रमुख भने उपाध्यायको भनाइप्रति असहमत छन् । उनले शुक्रबार दिनभर चालक व्यस्त भएको र शनिबार पनि कार्यालयकोतर्फबाट केही काम परेकाले उनलाई बोलाएको बताए । ‘त्यतिबेला प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरु पोखरामा हुनुहुन्थ्यो‘ प्रमुख भन्छन् ‘आफिसियल कामले चालकलाई बोलाएको हो ।’ उनले रोपाइँमा पनि एकपटक पुग्ने योजना भएको स्वीकार्दै चालकलाई बाउसे बनाउन नखोजेको स्पष्ट पारे । त्यस्तै, कार्यालयका अन्य कर्मचारीले पटकपटक उपाध्यायको कार्यक्षमता र अन्य पाटोबारे असन्तुष्टी जनाइरहेको प्रमुखले उल्लेख गरे । ‘मैले हटाउन चाहेको भए ६ महिना अघि नै हटाइसक्थे तर उनले आफुलाई सुधार्नेछन् भनेर समय दिएको हुँ,’ अधिकारीले भने । भूमि व्यवस्थापन तथा अभिलेख आयोगले पनि यस आर्थिक वर्षमा करारमा कर्मचारी नराख्न निर्देशन दिएको र उपाध्यायको कार्य सम्पादनमा बाराम्बार प्रश्न आएपछि नियमसंगतरुपमै करार अवधि नथपिएको अधिकारीले बताए । ‘उनी रिसाहा र अटेरी थिए, राम्रै गरेको भए ड्राइभर त चाहिन्छ नै’ अधिकारीले थपे ‘पछि बोलाउन पनि सकिन्थ्यो तर उनले अनावश्यक हंगामा गर्नेतर्फ लागे ।’ तर चालक उपाध्यायले भने आफुबाट कुनै गल्ती भए त्यसलाई सुधारेर काम गर्ने भनिरहँदा पनि नियतवश निकालिएको दाबी गरेका छन् । ‘अब गाडी कसले चलाउँछ त ?’ भन्ने प्रश्नमा प्रमुख भन्छन् ‘निवासदेखि कार्यालयसम्म म आफै चलाउँछु, पछि आवश्यक परेको खण्डमा हिमलाललाई पनि राख्न सकिन्छ, अरु आउन पनि सक्छन् ।’
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार नागरिकको अवस्था बदल्न प्रतिबद्ध रहेको बताउनुभएको छ । बुधवार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचार विरोधी अभियानलाई तीव्रताकासाथ अघि बढाइरहेको उल्लेख गर्नुभयो । उहाँले त्रुटी एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने स्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउने र बनेका पूर्वाधार संरचना पनि नटिक्ने साथै उचित सदुपयोग नहुने विकासको प्रविधिलाई बदल्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आन्तरिक स्रोत, साधन कम भएको हाम्रो देशमा विकास बजेट चालु खर्चको तुलनामा त्यसै पनि न्यून छ । त्यो बजेट पनि हामी समयमा खर्च गर्न सकिरहेका छैनौँ । विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुन्छ । असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउँछ, बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने यो विकासको प्रविधिलाई बदल्नुपर्छ ।’
काठमाडौं: काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सो शंकास्पद वस्तु बम नभएको पाइएको छ । नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको जानकारी दिए । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो । कालो टेपले बेरेको र तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो । तर उक्त बस्तु बम नभइ डर पैदा गर्न मात्र राखिएको पाइएको छ । नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिंदा स्थानीयले प्रहरीको समर्थनमा हुटिङ गरेका थिए ।
पाेखरा: कास्की प्रहरीले पोखराको लेकसाइडबाट एक व्यक्तिलाई २५ किलो २ सय ग्राम गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हित सिन्धुली तिनपाटन गाउँपालिका–५ बस्ने २४ वर्षीय विक्रम मोक्तान रहेका छन् । उनलाई वडा प्रहरी बैदामबाट खटिएको प्रहरी टोलीले हिजो (सोमबार) पक्राउ गरेको हो । पोखरा महानगरपालिका–६ लेकसाईडस्थित सुबिलम्ब होटलको कोठा नम्बर १०५ मा अवैध गाँजाको कारोबार भएको प्रहरीले सूचना पाएको थियो । सोही सूचनाको आधारमा प्रहरी टोली परिचालन गरी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बेद जोशीले बताए । उनका अनुसार सो कोठामा लुकाई राखेको अवस्थामा २५ किलो २ ग्राम बरामद गरिएको डिएसपी जोशीले जानकारी दिए । गाँजासहित पक्राउ परेका मोक्तानमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । कास्कीको पोखरा लगायतका स्थानमा बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको मिर्सालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का महसुस भएपछि पोखराबासीहरु घर बाहिरसमेत निस्केका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली जाने भएका छन्। बुधबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ुप्रचण्डुको इटली भ्रमण स्वीकृत गरेको हो। प्रधानमन्त्री प्रचण्ड शनिबार (साउन ६ गते) साँझ ६ बजे इटली प्रस्थान गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटली जान लागेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। प्रधानमन्त्री प्रचण्डसँगै कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल पनि इटली जाने छन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद्को बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सन्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ।

