काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । २७ असारमा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्याङबाट पक्राउ गरेको हो । उनीमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दाको थुनछेक बहसपछि कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा छन् । दुई जना भने धरौटी बुझाएर रिहा भएका छन् । तुलाधरसहित केही व्यक्ति भने फरार रहेका थिए । प्रहरीका अनुसार तुलाधरले विभिन्न प्रलोभनमा पारी जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिलाई ठगी गरेका थिए ।
काठमाडौं: मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानमा नयाँ नियम ल्याएको छ । यस अनुसार अब मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न पाउने छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउण्टेन उडान, सिलिङ उडान र पुष्पवृष्टि गर्न रोक लगाएको छ । प्राधिकरणले हेलिकप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्ने समेत नियम ल्याएको छ । हेलिकप्टरको उडानसम्बन्धी हाल विमानस्थलमा भइरहेको अनुमति दिने काम मनसुन (सेप्टेम्बर २०२३) भर साप्ताहिक रुपमा समीक्षा गरी प्राधिकरणको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णय समेत भएको छ । प्राधिकरणले हेलिकप्टर तथा स्टल विमानस्थल (सानो धावनमार्ग भएका हिमाल र पहाडका विमानस्थल)मा हुने दैनिक उडानलाई नियमित सुपरिवेक्षण समेत प्राधिकरणले गर्ने भएको छ । यसका लागि अब एक कमिटिले काम गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सेयर सदस्य (लगानीकर्ता)का रुपमा हेलिकप्टर कम्पनीमा संलग्न भएर पाइलटको काम समेत गरिरहेकाहरुलाई व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार सोलुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएको थियो । यो हेलिकप्टर माउन्टेन फ्लाइटका लागि सो क्षेत्रमा पुगेको थियो । त्यसअगाडी संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हाइड्रोपावरको सामान ओसार्ने क्रममा भएको थियो ।
पाेखरा: विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउण्ड अन्नपूर्ण क्षेत्र वर्षायामसँगै सुनसान बन्दै गएको छ । तीन साताअघिसम्म पर्यटकले भरिभराउ हुने विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्ने यस क्षेत्रमा अहिले पर्यटकको सङ्ख्या ह्वात्तै घटेको स्थानीय व्यवसायीहरु बताउँछन् । केही हप्ताअघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बनेको पर्यटन व्यवसायी दुर्गादेवी भण्डारीले बताउनुभयो । कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात फस्टाउन थालेको पर्यटन क्षेत्र पुनःवर्षायाम सँगै समस्यामा परेको हो । विदेशी पर्यटक यतिबेला फाट्टफुट्ट आउने गरेको भण्डारीले बताउनुभयो । व्यवसाय चलायमान हुँदै जाँदा बर्खाका कारण पुनःपर्यटक घटेकाले पदमार्ग सुनसान भएसँगै आफू मात्र नभई यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी निराश भएको उहाँको भनाइ छ । अब ‘अफसिजन’ सुरु भयो भण्डारीले भन्नुभयो, “भदौ अन्तिम सातादेखि पुनःचहलपहल सुरु हुन्छ ।” यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, प्राकृतिक सुन्दरता हेर्न र कास्कीको नयाँ पुलदेखि वीरेठाँटी हुँदै घान्द्रुक–घारेपानी–मुस्ताङ, मुक्तिनाथबाट थोराङ भञ्ज्याङ उक्लेर मनाङ हुँदै लमजुङ जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मुस्ताङ र मनाङका वि भिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । बर्खा लागेकाले अफसिजन भएको र दृश्य पनि राम्रो नदेखिने तथा बर्खामा बाटो हिँड्न समस्या हुनेलगायत कारण पर्यटकको आगमन ह्वात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीका प्रमुख युक्त गुरुङले जानकारी दिनुभयो । पर्यटक नआउँदा पर्यटन व्यवसायीमात्र नभई आफू पनि फुर्सदिलो बन्न पुगेको पर्यटक प्रहरी शन्तलाल कोहारले बताउनुभयो । बर्खा लागेसँगै पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ । एक जना पर्यटकले कम्तीमा पाँच दिनदेखि बढीमा १४ दिनसम्म यस क्षेत्रमा बिताउने तथा दैनिक पाँच सय डलरभन्दा बढी खर्च गर्ने गरेको पर्यटक गाइड पासाङ दावा शेर्पाले बताउनुभयो । बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण मानिने यस क्षेत्रमा कोरोना सङ्क्रमणपछि यस वर्ष बढी पर्यटकको चहलपहल बढेको थियो । भर्खरै मात्र पर्यटक आउन सुरु गरे पनि पुनःवर्ष सुरु भएपछि भने सुनसान बनेको र व्यापार व्यवसाय पनि ह्वात्तै घटेकोे व्यवसायी कमला गुरुङ बताउनुहुन्छ । राउण्ड अन्नपूर्ण क्षेत्रको प्रवेशद्वार रहेको नयाँपुलबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक कास्कीको घान्द्रुक, म्याग्दीको घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प लगायतका क्षेत्रमा जाने गरेका छन् । यस क्षेत्रमा पर्यटकका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना सबैभन्दा उत्तम मौसम मानिन्छ भने अन्य समयमा पनि विदेशी पर्यटक आउने गर्दछन् ।
हुम्ला: हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको हो । यसअघि गएको असार २५ गते सिन्धुपाल्चोकको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली, पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प तथा परकम्प गइरहेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।
मनाङ: हिमाली जिल्ला मनाङमा पनि लम्पी स्किन अर्थात् गाईबस्तुको (छालामा हुने गिर्खे रोग) भेटिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको भेटिएको जानकारी दिनुभयो । किसानले गोरु बिरामी भएको खबर गरेपछि अस्ति मङ्गलवार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताउनुभयो । मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । मनाङमा पहिलोपटक लम्पी स्किन रोग देखिएको हो । मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको पनि पशु चिकित्सक नारायण कुसुमले जानकारी दिनुभयो । अस्तिदेखि चामे गाउँपालिकाका गाई गोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन शुरु गरिएको हो । केही दिनपछि नासो गाउँपालिकामा पनि खोप लगाउन शुरु गर्ने उहाँले बताउनुभयो । मनाङमा गाईगोरुको सङ्ख्या एक हजार पाँच सयको हाराहारीमा रहेको कुसुमले बताउनुभयो । मनाङमा पनि लम्पी स्किन देखिएपछि देशका ७७ वटै जिल्ला यो रोग फैलिएको पुष्टि भएको छ । लम्पी स्किन गाईभैँसीमा लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिन्छ । ज्वरो आएको पशुलाई बथानबाट अलग्गै राख्न, आराम गराउन र पानी तथा पोषणयुक्त खानेकुरा दिन कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव डा।रामनन्दन तिवारीको आग्रह छ । पशु सेवा विभागको पछिल्लो विवरणअनुसार देशभर ७ लाख ६४ हजारभन्दा धेरै पशु चौपायामा यो रोग देखिएको छ । सङ्क्रमितमध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । झण्डै २७ हजार पशु मरेका छन् । अहिले २ लाख ४४ हजारभन्दा धेरै पशुमा रोगको सङ्क्रमण छ । समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसके झण्डै २५ लाख पशुचौपायामा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने नेपाल पशु चिकित्सा परिषद्को अनुमान छ । लम्पी स्किन रोग नियन्त्रणमा सरकार गम्भीर नभएको र राहतको मागसहित किसानले आन्दोलन थालेका छन् । गाईबस्तु मरेर अर्बौँ रुपैयाँको नोक्सानी हुँदा समेत राहतका कुनै कार्यक्रम नआउँदा किसान मर्कामा परेका छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई आउँदो ३० गतेसम्म स्थगित गरेका छन्। श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन्। अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने उनको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार निधन भएको थियो। सीतालाई प्रचण्डसहित दुई छोरीहरु रेणु र गंगाले पशुपति आर्यघाटमा दागबत्ती दिएका थिए।
काठमाण्डौ: अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार रिहा भएका छन् । काठमाण्डौ जिल्ला अदालतको आदेशपछि कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), (भटभटे) भनेर चिनिने बेगम नेपाली, ९म्याकुरी ० भनेर चिनिने पवन खतिवडालगायत कलाकार रिहा भएका हुन् । ५ हजार रुपैयाँ धरौटीमा बुझाएर उनीहरु रिहा भएका हुन् । उनीहरु गएको जेठ ३१ गते पक्राउ परेका थिए । सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।
डोटी: डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा हिजो बेलुका जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ र तीन जना घाइते भएका छन् । बा १ झ ९४३४ नम्बरको जीप दुर्घटना हुँदा आदर्श(१ स्याउलेकी ६५ वर्षीया हीरा खड्काको ज्यान गएको हो । आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकाका लागि छुटेको जीप अनियन्त्रित भइ कच्ची सडकबाट तल खसेको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो । घाइते हुनेमा वीरबहादुर खड्का, रविन्द्र सुनार र टेकबहादुर तिरुवा रहेका प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।
ढोरपाटन: जिल्ला सदरमुकाम बागलुङदेखि पश्चिमा रहेका नागरिकलाई सहजरुपमा प्रशासनिक सेवा दिने बुर्तिबाङ बजारमा २०५४ सालमा इलाका प्रशासन, मालपात र नापी कार्यालय स्थापना भए । कार्यालय स्थापनापछि उक्त क्षेत्रका नागरिकले नजिकैबाट सेवा लिन पाए । त्यसअघि सामान्य सरकारी कामकाजका लागि बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो । तर २०५८ सालपछि सशस्त्र द्वन्द्वका कारण तीनवटै कार्यालय विस्थापित भए । कार्यालय विस्थापित भएर बागलुङ बजारमा आएपछि पश्चिम बागलुङवासीले निकै सास्ती पाए । इलाका प्रशासन कार्यालय २०६३ सालमा पुन:स्थापना भयो । र सेवा प्रवाह गर्न थाल्यो । सुरुमा सरकारले प्रशासन कार्यालयलाई एकीकृत सेवा केन्द्रको नाम दियो । एकीकृत सेवा केन्द्र २०६९ सालदेखि २०७५ सम्म कायम रहेको थियो भने पुनः २०७५ सालमा इलाका प्रशासन कार्यालयमै रुपान्तरित भयो । इलाका प्रशासन २०६३ सालमै पुन:स्थापना भए पनि मालपोत र नापी कार्यालय २०७१ चैतमा मात्र पुनःस्थापना भए । तर अहिलेसम्म तीनवटै कार्यालयको आफ्नो भवन भने छैन । भाडाकै घरबाट सेवा सञ्चालनमा छ । कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन समस्या भएको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले बताउनुभयो । “साँघुरा कोठामा बसेर काम गर्दा गाह्रो भएको छ”, उहाँले भन्नुभयो । यसअघि बुर्तिबाङको उपल्लो बजार र फाँट बजारमा कार्यालय संचालनमा थियो । मासिक रु ३३ हजार भाडा तिर्दै कुँवरले बताउनुभयो । यस्तै मालपोत कार्यालय बुर्तिबाङका प्रमुख सूर्यप्रसाद शर्माले मासिक रु ५० हजार तिरेर कार्यालयले सेवा प्रवाह गर्दै आएको बताउनुभयो । “सेवाग्राहीमैत्री भवन नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो । यस्तै नापी कार्यालय बुर्तिबाङकी प्रमुख पायल श्रेष्ठले भाडाको घरबाट चाहेअनुसारको सेवा प्रवाह गर्न नसकेको बताउनुभयो । उक्त कार्यालयले पनि मासिक रु ३० हजार भाडा तिर्दैआएको छ । छब्बीस वर्ष अगाडि स्थापना भएर विभिन्न समयमा विस्थापित भए पनि अहिले भने तीनवटै कार्यालय निरन्तर सञ्चालनमा छन् । यी कार्यालयबाट पश्चिम बागलुङको निसीखाला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका ३२ वडाका नागरिकले सेवा लिएका छन् ।

