पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

    पोखरा ।   लक्जम्बरकाका अर्थ तथा विकास मन्त्री फ्रांन्च फायोतले दिदी बहिनी बचाउ, कास्की नेपाल (एसोएस, बहिनी) को भ्रमण गरेका छन् ।​   उनीसहित लक्जमबर्गबाट नेपालको राजदुत पेगी फ्रान्टजेन, ह्युमातरियन कोओपोरेसनको लक्जमबर्गको अध्यक्ष फ्रांन्सो प्रुम र सचिव पिट कासेयरसहितको टोलीले बुधबार एसोएस बहिनीको भ्रमण गरेका हुन् ।    उनीहरुले एसोएस, बहिनीले स्वागत तथा सम्मान गरेको छ । संस्थाकी अध्यक्ष कृष्णकुमारी पहारीले मन्त्री र राजदुतलाई ढाका टोपी र संस्थाकै बालिकाहरुले कोरेर पेन्टिंग प्रदान गरेकी थिइन् । संस्थाकी आश्रित बालिकाहरुले नृत्य, मन्तव्य तथा कराते प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन बालिका रसिला कार्की र स्नेहा धितालले गरेका थिए । मन्त्री फायोतले संस्था भ्रमण गर्न पाउँदा खुशी, र एकदमै राम्रोसंग व्यवस्था गरेको देख्दा खुशी व्यक्त गरे ।    संस्थालाई गरेको योगदानलाई कदर गर्दै सम्मान गरिएको एसोएस बहिनीकी अध्यक्ष पहारीले  बताइन्  ‘उहाँले हाम्रो संस्थालाई सहयोग गरिरहनु भएको थियो,  हेर्न आउनुभएको थियो, उहाँलाई योगदानको कदर गर्दै हामीले सम्मान गरेका हौं,’ उनले भनिन्, ‘उहाँहरुले हामीले सञ्चालन गरेको कार्यक्रम, तालिम केन्द्रहरु हेर्नुभयो ।’   २०६१ सालदेखि देखि बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले समुदायमा एकल महि​लालाई रासन दिने, बालबालिका पढाई दिने, गरिबी भएका बालिकालाई शैक्षिक सहयोग गर्दै आइरहेको छ ।    अहिले ८५ जना बालिका र २० वटा एकल महिलाको परिवारलाई रासन दिदैँ आइरहेको छ । बुबाआमा नभएको, भएकोकाको पनि संरक्षण नभएको नानीहरुको क्षेत्रमा काम गर्दै आएको छ । उक्त सस्था महिलाहरुले सञ्चालन गरिरहेका छन् । संस्थाले समुदायमा २० परिवारलाई सहयोग र समुदायको ५० बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिरहेका छ ।  

    पोखरा, २० वैशाख ।   तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ मा पर्ने ज्यामिरबोट सुन्दरीगाउँमा अवस्थित सिद्धिकाली मन्दिर उद्घाटन तथा मूर्ति प्राणप्रतिष्ठा सम्पन्न भएको छ ।​   आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिर निर्माण समितिद्वारा आयोजित एक कार्यक्रमका बीच आज प्रदेशसभा सदस्य श्यामराजा महतले मन्दिरको उद्घाटन गर्नुभएको थियो ।    कार्यक्रममा प्रदेशसभा सदस्य महतले यस क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिद्धिकाली मन्दिरको विकासका लागि समितिले भक्तजन र शुभेच्छुकलाई सहयोग गरौं भन्ने वातावरण सृजना गरे आर्थिक सहयोग जुटाउन समस्या नहुने उहाँले बताउनुभयो ।   देशमा आर्थिक संकट उत्पन्न भएको र यसको समाधानकालागि कृषि क्षेत्रलाई प्रा​थमिकता दिई उत्पादनतर्फ जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “बैंक, सहकारी कतै पैसा पाइन्न, लिएको ऋण उठाउन वित्तीय संस्थाले छोड्दैन अब गाउँघरका बाँझो जमिनमा उत्पादन गरेमात्र अहिलेको अवस्थालाई पार लगाउन सकिन्छ ।”       २०७८ साल जेठ ४ गते शिलान्यास गरिएको मन्दिर निर्माणकालागि हालसम्म करिव १२ लाख रुपैँया खर्च भएको समितिका सचिव ढकालले जानकारी दिनुभयो । शुनपा–१ ज्यामिरबोटमा अवस्थित आँखेताल हाल सामान्य रुपमा संरक्षण गरिएको छ । सोहि ताल परिसरमा सिद्धिकाली मन्दिर निर्माण गरिएको हो ।  सो क्षेत्रको संरक्षण र विकासकोलागि करिब तीन वर्ष अघि निर्माण समिति गठन गरिएको थियो । प्रतियोगिताबाट बचत रकम समेत मन्दिरको विकासको लागि खर्चिएको समितिले जनाएको छ । यहाँस्थित आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका साथ शुक्लागण्डकी नगरपालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने अभियानका साथ जुटेका हुन् ।   यसको संरक्षण र विकासका लागि पाँच  वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले विशेष सक्रियता देखाएका थिए । उनीहरुबाट सहयोग संकलन गर्दै सुरु गरिएको अभियानसँगै हाल आएर मन्दिरको उद्घाटन एवम् प्राणप्रतिष्ठासम्म आइपुग्नलाई निकै महत्वका साथ हेरिएको छ ।   पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दुरीमा पुग्न सकिने यहाँ आउन बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल बनिसकेका अवस्थामा यो एउटा आन्तरिक पर्यटनको राम्रै गन्तव्य बन्न सक्ने विश्वास लिइएको छ ।

दार्चुला:  मंगलबार दिउँसो दार्चुलाको व्याँस गाउँपालिका–१ को भोलुम डाँडामा गएको हिमपहिरोमा पुरिदाँ दुई जना अझै बेपत्ता छन् ।    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेका अनुसार बेपत्ता हुनेहरुमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको रहेका छन् । उनीहरुको खोजीकार्य तिब्र पारिएको पाण्डेले जानकारी दिए ।    सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले हाल बेपत्ता उनीहरुको खोजीकार्य गरिरहेको छ ।    मंगलबार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाएका थिए ।   सो ५ जना मध्ये दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको शव निकाल परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

काठमाडौं:    हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ ।       जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बदली रहेको छ ।          दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागमा केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

पोखरा:    गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए।  मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गरेका थिए। यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) सात र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा पाण्डे गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका हुन् ।  हाल मुख्यमन्त्रीसहित दुई बिनाविभागीय मन्त्री मात्र रहेको मन्त्रिपरिषद्लाई विश्वासको मत लिएपछि पूर्णता दिने तयारीमा मुख्यमन्त्री पाण्डे रहेका छन् । नियुक्त भएको भोलिपल्ट मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारीले पद तथा गोपनीयताको शपथ लिएका थिईन् ।

पोखरा:    पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन तथा घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ ।  पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले। सो आग्रह गरेको हो । संघका महासचिव बलराम आचार्यद्धारा बुधबार जारी विज्ञप्तिमा बैंकको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको सिथिलताले पलायनको अवस्था ल्याएको र यो परिस्थितिबाट व्यवसायीहरुलाई जोगाउन राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ । महासचिव आचार्यले यो विषयमा नेपाल घरभाडा सरोकार समितिसँग परामर्श गरेको जानकारी दिँदै भनेका छन्,‘माहुरीलाई पोलेपछि अर्को पटक मह प्राप्त हुँदैन । माहुरीलाई पालेर मह लिने हो । तसर्थ संकटको यो बेला साबिकको घर भाडामा सम्भव भएसम्म छुट दिन,स्थिति सहज नहुँदासम्म बहाल नबढाउने सुनिश्चितता गर्न हामी घरधनीसँग आग्रह गर्दछौं ।’  संघको विज्ञप्तिमा नियमित भाडा बुझाउनेलाई प्रोत्साहित गर्नुपर्ने तथा  घरधनीसँग मित्रवत् व्यवहार गर्न,सम्झौता अनुरुपको भाडा तिर्नुपर्छ र नतिरे कानुन आकर्षित हुन्छ भन्ने मनन गर्न व्यवसायीहरुसँग आग्रह पनि गरिएको छ ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।   सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४ बजे आह्वान गरिएको छ।    प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा। भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।  वर्षे अधिवेशनका रूपमा रहेको यस अधिवेशनलाई बजेट अधिवेशनसमेत भनिन्छ । यो अधिवेशन प्रारम्भमै बजेटमाथि छलफल हुनेछ। यस अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ। अघिल्लो अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो।  मन्त्रिपरिषद् विस्तार अनुसार नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ । मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत जानकारी दिनुभयो।  नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।

काठमाडौं:    सत्तारूढ गठबन्धनका दलको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको बैठकमा उपस्थित छन्।  बैठकमा सरकार विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची छ।