काठमाडौं: एसिसी प्रिमियर कपको उपाधिका लागि घरेलु टिम नेपाल र युएईबीचको खेल वर्षाका कारण रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको हो। अब आज खेल हुने सम्भावना भएमा ओभर घटाइनेछ। दिउँसो ३ बजेसम्म पानी रोकिएर २० ओभरसम्मको खेल हुन सक्ने स्थितिमा आजै खेल हुनेछ। यद्यपि त्रिवि मैदानको आउट फिल्डमा पानी जम्दा मैदान हिलो भएको छ। त्यसैले आज खेल हुने सम्भावना न्यून छ। आज खेल हुन नसकेको अवस्थामा खेल भोलि रिजर्भ डेसम्मका लागि स्थगित हुनेछ। भोलिका लागि खेल स्थगित भए आजकै स्थितिबाट खेल सुरू हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार आज ओभर घटाएर पनि खेल हुन सकेन भने भोलि आजकै स्थितिबाट युएईले (१०६/९- २७.३ ओभर) ब्याटिङ सुरू हुनेछ। भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओपर हुनेछ। सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। यस्तो अवस्थमा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ ।
काठमाडौं: सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग आज पनि वार्ता गर्ने भएको छ। उपप्रधानमन्त्री, रक्षामन्त्री एवं कानून मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्का र धर्ना बसिरहेका पुनबीच वार्ता हुने भएको हो। सोमबार अपरान्ह ४ बजे सिंहदरबारस्थित रक्षा मन्त्रालयमा सरकार र पुनबीच वार्ता हुने मन्त्रालय स्रोतले जानकारी दिएको छ। आइतबार पनि रक्षा मन्त्रालयमा खड्का र पुन लगायतबीच वार्ता भएको थियो। आविष्कारका क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने र आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा १ प्रतिशत बजेट आविष्कार क्षेत्रमा बिनियोजन गरिनुपर्ने माग पुनको छ। पुनको आन्दोलनलाई एक्यबद्धता जनाउदै कास्कीमा पनि युवाहरु सहिदचोकमा धर्ना दिइरहेका छन् । यी हुन् पुनका माग: १. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने। कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने। २. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने। ३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने। सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने। ४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने। उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने।
काठमाडौं: सुडानमा अलपत्र नेपाली नागरिकको सुरक्षित रुपमा उद्धार प्रयास भइरहेको नेपालस्थित परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास कायरोसँग सम्पर्कमा रहेको भन्दै मन्त्रालयले सबै नेपालीहरुलाई नेपाल फिर्ता गर्न सहजीकरण भइरहेको जनाएको हो । मन्त्रालयका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको छ । कायरोस्थित नेपाली राजदूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरु साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा सुरक्षित तवरले सकुशल पुगेका छन् । यसअघि नै एक जना नेपाली सकुशल जेद्दा पुगेका थिए । जेद्दा पुगेका सबै नेपालीहरुको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पाेखरा: कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले विजयी यात्रा जारी राखेको छ । कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो खेलमापनि कास्की ‘बी’ विजयी भएको हो । आईतबार भएको दोश्रो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ७० रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको कास्की ‘बी’ले पूरै ओभर खेल्दै १२९ रन बनाएको थियो । १३० रनको लक्ष्य पछ्याएको कास्की ‘ए’ पूरै ओभर खेल्दै ५९ रनमा सिमित भएपछि कास्की ‘बी’ बिजयी भएको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन पुनले जानकारी दिए । आईतबारको खेलमा कास्की ‘बी’ की कप्तान श्रृष्टी जैसीले नटआउट ५१ रनको योगदान गरेकी थिईन् भने बलिङतर्फपनि १ विकेट लिईन् । आईतबारको खेलमापनि अलराउण्ड प्रदर्शन गरेकी श्रृष्टी जैसी वुमन अफ दी म्याच घोषित भएको सचिव पुनले बताए । यसअघि शनिबार भएको पहिलो खेलमापनि कास्की ‘बी’ बिजयी भएको थियो । सो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको कास्की ‘बी’ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कास्की ‘ए’ ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै बिजयी भएको सचिव पुनले जानकारी दिए । २८ बलमा ४० रन बनाएकी श्रृष्टी जैसी शनिबारको खेलमा उमन अफ दी म्याच घोषित भएकी पुनले बताए । पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मोतीराज तिमिल्सिनाले शनिबार उद्घाटन गरेका थिए । उनले प्रतियोगिताले महिला क्रिकेट खेलाडीलाई प्लेटफर्म प्रदान गरेको र यसले कास्कीको क्रिकेट उकास्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रम कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको थियो । यसैबीच, प्रतियोगिताको उपाधि भिडन्त भोलि सोमबार हुने भएको छ । कास्की ‘ए’ र कास्की ‘बी’ गरेर दुई टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुने सचिव पुनले जानकारी दिए । प्रतियोगितामा बिजेता र उपबिजेता दुबैलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने सचिव पुनले बताए ।
पोखरा: मानव जीवनमा अप्ठ्यारो, आपतकालीन, भयभित अवस्था सिर्जना भई धनजनको क्षति हुनु विपद्को समय हो । यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्का बेला सधैँ होसियारी सहित तयारी हुनुपर्छ । विपत्ति प्राकृतिक र मानविय दुई कारणबाट हुने गर्दछ । प्राकृतिक विपत्तिमा हुने बाढी, पहिरो, भूकम्प, आँधी, तुफान, चट्याङ, स्वास्थ्यको प्रकोप जस्ता विपद् पर्दछन् भने मानवीय कारणबाट हुने विपदमा आगलागी, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट जोखिम भएको हुन्छ । मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा नेपाली सेनाले कृतिम घटनाको अभ्यास प्रदर्शन गरेका छन र नेपाली सेनाद्धारा विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन जिल्लामा विभिन्न समयमा हुने विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यस सम्बन्धी कृत्रिम घटना अभ्यास गलकोट नगरपालिका वडा नम्बर ७ मा सम्पन्न भएको छ । नेपाली सेनाको श्री मेहरगण घोडाबाँधे बागलुङको आयोजनामा ३ दिने समुदायमा विपद् प्रतिकार्य तथा कृत्रिम घटनाको अभ्यास कार्यक्रम सम्पन्न भएको हो । गलकोट नगरपालिका वडा नम्वर ७ दरमखोला स्थित भिमसेन ढुङ्गा परिसरमा बाढि पहिरो, खोलामा डुबान, बस्तीमा आगलागी लगायतका विषयमा कृत्रिम अभ्यास प्रदर्शनी गरेका थिए। प्रदर्शनी कार्यक्रममा कृत्रिम घटना अभ्यासका लागि एम्बुलेन्स, ड्रोन क्यामेरा, रबर बोट, मोटर वोट, लाइफ ज्याकेट, विभिन्न औजार तथा उपकरण सहित बन्दोबस्तीका सामग्रीहरु नेपाली सेनाले प्रयोग गरेका थिए । जिल्लाका १० वटै स्थानीय तहको समन्वयमा, बिपत व्यवस्थापन सम्र्पक व्यक्तिहरूको सहभागितामा नेपाली सेनाको घोडाबाँधे स्थित श्री मेहरगणले उक्त प्रदर्शनी आज एक कार्यक्रमका बिच सम्पन्न गरेको नेपाली सेनाले जनाएका छन । कार्यक्रममा बोल्दै नेपाली सेना पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दिपक कुमार बानियाँले बागलुङ जिल्ला विपद्मा जोखिमयुक्त जिल्ला भएकोले यो कार्यक्रमको आयोजना गरिएको बताएका छन् । बाँनियाले समाजमा हुने हरेक प्रकारका विपत्मा नेपाली सेना, नेपाल प्रहरी, सरकार, नागरिक र विपत्प्रतिकार्य तालिम प्राप्त नागरिकको सहकार्य हुनुपर्ने उल्लेख गरेका थिए भने सो अवसरमा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रिनाथ अधिकारी, गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, सहभागी प्रशिक्षार्थी नवराज पौडेलले मन्तव्य राखेका छन । वैशाख १५ र १६ गते नेपाली सेनाले जिल्लाका १० वटा स्थानीय तहका ३१ जना नागरिकलाई विपत्मा कसरी उद्दार गर्ने लगायतका विषयमा तालिम प्रदान गरेको थियो । त्यस्तै कार्यक्रम सफल पार्न सहयोग गर्ने जनप्रतिनिधी, संघसंस्था र व्यक्तिलाई सम्मान समेत गरेका थिए।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख छ । “राष्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु”, सन्देशमा भनिएको छ, यसैगरी सम्पूर्ण “मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिबद्धता व्यक्त गर्दछु ।” स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमा बुवामा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त प्रधानमन्त्री दाहालले गर्नुभएको छ । सन्देशमा अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाइ मजदुरलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरुले अनिवार्य रुपमा आफ्ना मजदुरलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको उल्लेख छ । नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त सङ्घर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख छ । नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको सन्देशमा छ । नेपाल र विश्वका मजदुरमा बधाई तथा शुभकामना व्यक्त गर्दै सन्देशमा भनिएको छ, “नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदुरको हकहित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गर्दछु, नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामू छ । यो जिम्मेवारी पूरा गर्न म अनवरतरुपमा लागिरहने प्रण गर्दछु ।” आठ घण्टाको कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदुरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदुरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले विश्व मजदुर दिवस (मे १) २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीहरूमा शुभकामना दिनुभएको छ । श्रम अधिकार सुनिश्चितताको कामना गर्नुहुँदै उहाँले सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास उहाँले लिनुभएको छ । नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ । मूलकमा लोकतन्त्रात्मक, समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने उहाँको शुभकामना सन्देशमा उल्लेख छ । मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नु मुख्य हुने उहाँले बताउनुभएको छ ।
काठमाडौं: लोकसेवा आयोगले परीक्षार्थीले दिएको आवेदनको डाटा हराएपछि पुनः दरखास्त आह्वान गर्ने भएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्टिङ भएर रहेको आयोगको सर्भरमा आवेदकको डाटा हराएपछि आयोग समस्यामा परेको हो। आयोगले दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान गरी थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त दिन आह्वान गर्दै यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने भएको हो। ‘पूर्वप्रकाशित उक्त विज्ञापनमा दरखास्त दस्तुर तिरेको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान गरी थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त दिन आह्वान गर्ने र परीक्षा कार्यक्रम परिमार्जन गरी यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने प्रक्रियामा आयोग छ। आगामी दिनमा यस किसिमको समस्या आउन नदिन ठोस कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ,’ आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। लोकसेवा आयोगबाट प्रकाशन हुने विज्ञापनमा दरखास्त दिने उम्मेदवारको सहजता र आयोगको प्रशासनिक तथा व्यवस्थापकीय कार्य छिटोछरितो सम्पादन गर्न २०७१ सालदेखि पब्लिक सर्भिस रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (पीएसआरएमएस) अनलाइन प्रणाली सरकारी एकीकृत डाटा सेन्टरको पूर्वाधारमा होस्ट गरी सञ्चालन गर्दै आएको आयोगले जनाएको छ। यस प्रणालीबाट आयोगको कार्यसम्पादन प्रभावकारी बन्नुका साथै उम्मेदवारले दरखास्त पेस गर्ने, परीक्षा दस्तुर तिर्ने र प्रवेशपत्र प्रिन्ट गर्नेलगायतका सेवा सहज रूपमा प्रयोग गर्दै आएकोमा गत फागुन २३ गतेदेखि जीआईडीसीको स्टोरेज प्रणालीमा देखिएको समस्याले लोकसेवा आयोगको अनलाइन प्रणाली अवरुद्ध भएको जारी विज्ञप्तिमा उल्लेख छ। आयोगका अनुसार २०७९ साल मङ्सिरमा प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरहको पदको विज्ञापन, पुसमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा वा सोसरह पदको विज्ञापन र माघमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) नायव सुब्बा वा सोसरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्तसम्बन्धी विवरणमा आयोगले पहुँच पाउन सकिएको छैन। गत फागुन २३ गतेको उक्त घटनापछि जीआईडीसी सञ्चालन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले डाटा रिकभरीको प्रयास जारी राखेको र जीआईडीसीकै अर्को पूर्वाधारमा होस्ट गरी आयोगले अनलाइन दरखास्त प्रणाली सञ्चालन गरिरहेको छ। डाटा रिकभरीको प्रयास जारी रहेको भए पनि राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट कहिलेसम्ममा कति डाटा रिकभर हुन्छ भन्ने यकिन नभएको जानकारी आयोगलाई प्राप्त हुन आएकाले यस विषयलाई गम्भीरतापूर्वक लिई पूर्वप्रकाशित उक्त विज्ञापनका परीक्षा सञ्चालन गर्न वैकल्पिक योजनामा काम गरिरहेको आयोगका प्रवक्ता तोयानारायण सुवेदीले बताए।
पोखरा: कास्की प्रहरीले पोखरामा चोरीको आरोपमा ४ जना युवकहरुलाई प्रकाउ गरेको छ । पोखरा महानगरपालिका १६ दिपमा शंकास्पद अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चोरीका सामानसहित प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा धादिङ स्थायी घर भई पोखरा महानगर ९ पृथ्वीचोक बस्ने २९ वर्षीय राजकुमार परियार, पोखरा १३ वस्ने २४ वर्षीय विनोद परियार, गोरखा स्थायी भई पोखरा १३ बस्ने ३१ वर्षीय राजकुमार नेपाली र २५ वर्षीय अर्जुन नेपालीलाई चोरीको आरोपमा प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेको ४ जना युवकको साथबाट ल्याप्टप किर्बोड, माउस र चार्जर १/१ थान, विभिन्न कम्पनीका मादक पदार्थ (रक्सी)का बोतल ११ थान, पहेंलो रंगका रेडबुल १५ थान, चुरोट ४ बट्टा, विभिन्न कम्पनीका मोबाईल ४ थान, फलामको रड र ग ५ प २७३५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको हो । प्रकाउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीबाट चोरी चोरी सम्बन्धी मुद्दामा ७ (सात) दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

