पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:   आज देशभर १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।      विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिनुभएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो ।      विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।       नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभयो । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।       विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।      विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

पोखरा:    गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।      सभाको यस अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएकामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामा उहाँले विश्वासको मत प्राप्त गर्न सक्नुभएन ।      मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको विषय यतिखेर चर्चामा छ । केन्द्रमा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको गण्डकीमा स्पष्ट बहुमत रहेका अवस्थामा अब बन्ने सरकारको गठन कसरी हुने भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ ।      संविधानले गरेको व्यवस्थाअनुसार धारा १६८ को उपधारा १ मा बहुमत प्राप्त दलले सरकार गठनका लागि दाबी पेस गर्ने उल्लेख छ । कुनै एक दलको बहुमत नभएका अवस्थामा उक्त धाराकै उपधारा २ अनुसार सरकार गठन हुने व्यवस्था छ । सो उपधारामा दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले सरकार बनाउने गरी दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था गरिएको छ ।       त्यस्तै, उपधारा ३ मा प्रदेशसभाको सबैभन्दा ठूलो दललाई प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था छ । अधिकारी नेतृत्वको सरकारले शनिबार विश्वासको मत नपाएसँगै नयाँ सरकार गठन गर्न आह्वान हुनुपर्ने भए पनि प्रदेश प्रमुख गुरुङ काठमाडौँ रहनुभएको र आइतबार मात्रै पोखरा फर्कनुभएकाले ढिलाइ भएको छ । प्रदेश प्रमुख पोखरा आएसँगै सरकार गठनका लागि आवश्यक कानूनी परामर्श सुरु गर्नुभएको र सोमबार सम्म आह्वान हुन सक्ने प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।   

तनहुँ:  तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मतदाताले मतदान गरेका छन् । जुन कुल मतदाताको ५१.७० प्रतिशत हो । यो प्रारम्भिक तथ्यांक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ एक लाख २३ हजार ३ सय ५ मतदाता थिए । यहाँ गत मंसिरमा भएको निर्वाचनमा ५४।३६ प्रतिशत अर्थात् ६६ हजार ९६५ खसेको थियो । तनहुँ निर्वाचन क्षेत्र  नम्बर १ अन्तरगत भानु नगरपालिकामा २१, व्यास नगरपालिकामा २०, बन्दिपुर गाउँपालिकामा ११ , देवघाट गाउँपालिकामा ८ र आबुखैरेनी गाउँपालिकामा९ गरि कुल ६९ वटा मतदान स्थल छन्  भने कुन १ सय ५२ मतदान केन्द्र छन् ।

काठमाडौं:   चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ को उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ । तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो । चितवनका दुई वटा मतदान केन्द्रमा केहीबेर मतदान रोकिँदा बारामा केही व्यक्ति पक्राउ परेका थिए । सामान्य घटना भएको भए पनि समग्रमा चुनाव उत्साहपूर्ण र शान्तिपूर्णरूपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । यकिन तथ्याङ्क आइनसकेको र प्रारम्भिक विवरणअनुसार चितवन र बारामा ६० प्रतिशत तथा तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उप–चुनाव भइरहेको हो । चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुनः चुनाव भएको हो । चितवनको उपचुनावमा १२ दल र १० स्वतन्त्र गरी २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बारा–२ मा १० जना राजनीतिक दल र २४ जना स्वतन्त्र गरी ३४ जना उम्मेदवार छन् । यस्तै तनहुँ–१ मा नौ वटा राजनीतिक दलबाट नौ जना उम्मेदवार छन् ।

काठमाडौं:    बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदी प्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ।  झण्डै दुई सय मेगावाट बिजुली उत्पादन गर्ने काबेली करिडोरको पछिल्लो उत्पादन झण्डै ३० मेगावाटको हाराहारीमा छ। सोही कारण बिजुली आपूर्तिमा समस्या देखिँदा पूर्वका केही उद्योगमा समस्या देखिएको छ।  यद्यपि, पूर्णरुपमा बिजुली काटिएको भनेर उद्योगी तथा व्यवसायीले लगाएको आरोपमा प्राधिकरणले भनेको छ, “पूर्णरुपमा बिजुली काटिएको होइन, पूर्ण क्षमतामा नचलाउनुस् भनिएको हो। ‘लाइट लोड’ कायम छ।” विराटनगर क्षेत्रमा उद्योगी तथा व्यवसायीले प्राधिकरणले लोडसेडिङ गरेको भन्दै विरोध गरेका छन्।  प्राधिकरणले आइतबार विराटनगर क्षेत्रमा नियमित रुपमा बिजुली आपूर्ति गरेको छ। कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सुक्खायाममा औद्योगिक क्षेत्रको लोडसेडिङ गतवर्ष भन्दा सहज अवस्थामा छौँ। एकाध क्षेत्रमा केही प्राविधिक समस्या देखिएको थियो। त्यो समाधान भइसकेको छ।” धेरै ठाउँबाट आयात गर्न सक्ने अवस्था नभएका कारणले पनि केही जटिलता स्वभाविक रुपमा पैदा भएको जानकारी दिँदै भन्नुभयो, “उद्योगले विगत केही समयदेखि लोड काटियो भनेर उजुरी गरेका थिए। रुपैनीमा  प्राविधिक समस्या देखिएको थियो। सोही कारण पूर्वाञ्चलमा समस्या भएको हो। अहिले कुनै जटिलता छैन।” बिजुली नभएर भन्दा पनि प्रसारण लाइनको क्षमता अभावमा ‘ओभरलोड’ भएर समस्या भएको भए पनि अहिले सामान्य भइसकेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ।  गतवर्ष वैशाखको पहिलो साता कूल जडित क्षमता दुई हजार मेगावाट बराबर थियो। यस पटक जडित क्षमता दुई हजार छ सय मेगावाट बराबर पुगेको छ। तर यसवर्ष तर हिउँ कम परेकाले पनि नदीमा जल सतह घटन गई उत्पादन घटेको छ। यसवर्ष जडित क्षमतामा वृद्धि भएको भए पनि गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशत उत्पादन घटेको छ। निजी क्षेत्रका आयोजना औसतमा १५ प्रतिशत हाराहारीको क्षमतामा मात्रै चलिरहेका छन्। औद्योगिक ग्राहकको विद्युत् माग बढेको छ। त्यो माग सात सयदेखि आठसय मेगावाट बराबर छ।  तराईमा पानी नपर्दा सिँचाइमा प्रयोग हुने बिजुलीको खपत बढेको छ। कार्यकारी निर्देशक घिसिङका अनुसार अहिले सिँचाइका लागि एक सय ५० देखि दुई सय मेगावाटसम्म बिजुली खपत भइरहेको छ। अहिले भारतमा पनि विद्युत् माग बढेकाले भारतले बेलुका सात बजेदेखि राति २/३ बजेसम्म बिजुली नपठाउने गरेको छ। ढल्केबर(मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट मागअनुसार बिजुली आयात गर्न सकिने भए पनि पूर्व–पश्चिम जाने प्रसारण लाइनको क्षमताका कारण सम्भव नभएको उहाँको भनाइ छ।  आगामी एक वर्षभित्र निर्माणाधीन हेटौँडा(ढल्केबर(इनरुवा प्रसारण लाइनको निर्माण सक्ने प्राधिकरणको योजना छ। सो प्रसारण लाइनको क्षमता चार सय केभीको छ। यस्तै, हेटौँडा(भरतपुर(बर्दघाट प्रसारण लाइन पनि आगामी वर्षभित्र सम्पन्न हुनेछ। सो प्रसारण लाइनको क्षमता दुई सय २० केभी क्षमताको छ।  उद्योगी व्यवसायीलाई बिहान बेलुका कम चलाउन आग्रह गरिएको र त्यसैलाई बिजुली पाइएन भनेर गलत प्रचार गर्नुको अर्थ नभएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ।  “प्रि-मनसुन सुरु हुनुअघि समस्या हुनसक्छ। तर अर्को वर्षको सुक्खा समयमा यो समस्या आउँदैन”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो।  प्रसारणलाइनका कारणले छोटो समयका लागि समस्या देखिएको हो। केही समयपछि फेरि हामी निर्यातमा जानुपर्ने उहाँको भनाइ छ।  “कम्तीमा पनि एक हजार मेगावाट बिजुली निर्यात गर्नैपर्छ। त्यसका लागि आवश्यक तयारी भइरहेको छ”, उहाँले भन्नुभयो। प्राधिकरणले कूल चार सय ५२ मेगावाट बिजुली भारत निर्यात गरेको थियो।  अझै एक दर्जन आयोजनाको बिजुली निर्यातका लागि अनुरोध गरिएको छ। उहाँले सन् २०५० सम्मको आपूर्ति व्यवस्थापनका लागि प्रसारण, सवस्टेशन निर्माणका लागि रु १० खर्ब बराबरको लगानी जरुरी रहेको जानकारी दिनुभयो। हाल दैनिक अवस्था हेरी पाँच सय मेगावाट बराबरको बिजुली आयात भइरहेको छ।  रासस

चितवन:   नेपाली काँग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ ।  निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वेवास्ता गरेको भन्दै उजुरी हालेको हो ।  नेपाली काँग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको हो । उहाँले उजुरीपत्रमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशन बमोजिम कारबाही गरी पाऊँ भनी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जीतनारायण बेडको तर्फबाट उजुरी पेश गर्नुभएको छ ।  निर्वाचनमा प्रशासनबाट आवश्यक सहयोग भएन र रास्वपाले आचारसंहिता उल्लङ्घन भएको भनी उजुरी परेकाले त्यस पत्रमाथि आवश्यक अध्ययन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो । 

रुपन्देही:   बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रूपमा मनाउने गरिन्छ ।  यसपटक वैशाख २२ गते परेको २५६७औँ   बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मूल व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ ।  बुद्धजयन्तीको तयारीका लागि विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीको  संयोजकत्वमा मूलसमिति गठन गरिएको छ । विकास कोषका कोषाध्यक्ष सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयंसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति  र योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ र वृक्षारोपण उपसमिति गठन गरिएको छ । यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देवदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रवृत्ति, खेलकुद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ । विश्व शान्तिको प्रमुख केन्द्र लुम्बिनीमा हुने बुद्धजयन्तीको औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन कार्यक्रम भएकाले उक्त अवसरलाई प्रभावकारी बनाउन भव्य तयारी भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । सो अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ ।  बुद्ध जयन्तीको अवसरमा गरिने कार्यक्रमका लागि लागि रु एक करोड बजेट विनियोजन गरिएको विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो । गौतमबुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रूपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो ।  पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार मायादेवी आफ्नो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो । राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो ।  वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्धजयन्ती मनाउन थालिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।  राजकीय बुद्ध बिहार लुम्बिनीका प्रमुख संरक्षक भिक्षु सागर धम्मका अनुसार सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभएको थियो । जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेको थियो । बुद्धले आर्य अष्टाङिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ ।  बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्कि मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो । यसमा सम्मिलित ८ मार्गको इमानदारीपूर्ण अभ्यासबाट नै दुःखलाई अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिने भिक्षु धम्मको भनाइ छ । आर्य अष्टाङ्कि मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्द दर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् । वि।संं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । बुद्धजयन्तीका अवसरमा लुम्बिनीसहित विभिन्न जिल्लामा रहेका बौद्ध विहार तथा गुम्बामा बुद्ध पूजा र शोभा यात्राको तयारी गरिएको छ । लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ बुद्धजयन्ती नजिकिँदै गर्दा लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ अभियान चलाइएको छ । विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरिरहेका छन् । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित– ४ नं र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाइ गरेर अभियानको सुरुवात गरेको हो । ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान सुरु गरिएको हो । विकास कोषका योजना प्रमुख तथा  मञ्च, सरसफाइ र वृक्षारोपण उपसमितिका संयोजक सरोज भट्टराईले बुद्धजयन्तीको अवसरमा विकास कोषभित्रको फोहर सङ्कलन गरेको बताउनुभयो । “सङ्कलन गरिएको फोहोर कहाँ फाल्ने भन्ने समस्या छ । दिगो समाधानका लागि उपाय पनि खोज्दै छौँ”, उहाँले भन्नुभयो । नियमित रूपमा सफाइ गर्दै आए पनि ४ नम्बर र ५ नम्बर गेट नजिकै स्थानीयले फोहर फाल्ने गरेकाले सचेतनाका लागि कोषका पदाधिकारी, कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीय अगुवाको सहभागितामा जनचेतनाका लागि सरसफाइ गरिएको उहाँले बताउनुभयो । फोहर व्यवस्थापनको दिगो समाधान नहुँदा स्थानीय केही होटल व्यवसायी विकास कोषको परिसरलाई नै डम्पिङ साइट बनाएका छन् जसले गर्दा महिलबार क्षेत्रमा प्रदूषण बढेको छ । लुम्बिनीमा वृक्षारोपण गरिने  बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा पाँच सय ६७ बिरुवा रोपिने भएको छ । विकास कोषभित्र विभिन्न फलफूलका बिरुवा रोप्ने तयारी गरिएको विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षारोपण उपसमितिका संयोजक भट्टराईले जानकारी दिनुभयो । विकास कोष परिसरमा आँप, लिची, अम्बा लगायतका विभिन्न जातका फलफूलका बिरुवा रोपिने विकास कोषले जनाएको छ । रासस

चितवन:    चितवनको भरतपुर-११ स्थित नयाँकिरण मावि मतदानस्थलमा विवादले स्थगित मतदान पुन: सुरु भएको छ ।  रास्वपा र अन्य दलका समर्थकबीच विवाद हुँदा ११:१५ मिनेटदेखि मतदान अवरुद्ध भएको थियो । रास्वपा सभापति रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।  मतदान अधिकृत कमला न्यौपानेका अनुसार रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरी माफी मागेपछि सर्वदलीय सहमतिमा दिउँसो सवा ३ बजेदेखि पुन: मतदान सुरु भएको हो । यो मतदानस्थलमा यसअघि ४० प्रतिशत मत खसिसकेको छ । ‘रास्वपाबाट मतदान भइरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो। उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो,’ दलहरुबीच भएको सहमतिमा उल्लेख छ । रास्वपाले आचारसंहिता उल्लंघन गरेको जानकारी मुख्य निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय पनि भएको छ। त्यस्तै, मतदानस्थलमा शान्ति सुरक्षा कायम गर्न तीन सय मिटर वरीपरी कुनै गतिविधि नगर्ने सहमति पनि भएको छ।

तनहुँ:    तनहुँ क्षेत्र नम्बर-१ मा अहिलेसम्म ३५ प्रतिशत मत खसेको छ । आज भइरहेको उपचुनावअन्तर्गत मतदानमा दिउँसो पौने २ बजेसम्म ३५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।  यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेका छन् । अहिले एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ ।  तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त ठाउँमा उपचुनाव भएको हो । उपचुनावका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार प्रतिस्पर्धामा हुनुहुन्छ ।