पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सत्ताको मोह नभएको भन्दै आफ्नो तारिफ गर्दै शिलालेखमा नभएर इतिहासमा नाम लेखाउन मन भएको बताएका छन् । आज (शुक्रबार) मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले तीन वर्ष अगाडि प्रदेशले सुरु गरेर सम्पन्न भएको योजनाको उद्घाटन गरेर प्रदेशको संरचनाको किन आवश्यक छ भन्ने औचित्यको पुष्टि गरेको बताए । ‘प्रदेशले तीन वर्ष पहिले सुरु गरेका योजना केही सम्पन्न भएका थिए केही सम्पन्न हुँदै छन, मुख्यमन्त्री अधिकारीले भने, ‘सम्पन्न भएका योजनाको उद्घाटन गर्दा शिलालेखमा मेरो नाम लेखिन्छ भन्ने थाहा थिएन, लेखियो धन्यवाद छ, मेटाउन मिल्ने भएन, नाम लेखाउन इतिहासमा मन छ शिलालेखमा होइन ।’ आफुमा कुनै सत्ता मोह नभएको भन्दै मुख्यमन्त्री अधिकारीले संविधानका रक्षाका निम्ति नै २९ दिनमा विश्वासको मत लिन लागेको उल्लेख गरे । ‘सत्ताको मोह छैन, संविधानमा जे उल्लेख छ त्यही अनुसार अगाडि बढेको छु, उनले भने, राजनीतिक दलले राजीनामा दिन सुझाव दिने, संविधान निर्माण गर्दाको क्याबिनेत मिनिस्टर हुँ, त्यसैले २९ औं दिनमा विश्वासमा मत मागेको हुँ ।’ उनले प्रदेश सभाको दोस्रो निर्वाचनपछि प्रदेशको नेतृत्व गर्दा जनताको भावनालाई कदर गर्दै मन्त्रालय घटाएको बताए । ‘जनताको भावनालाई सम्बोधन गर्दै १२ मन्त्रालयबाट प्रदेशमा ७ मन्त्रालय कायम गरेको छु, उनले भने, ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई प्रमुख राख्दै निःशुल्क डायलासिस सेवा विस्तारसँगै स्तरोन्नती गरिएको छ ।’ गण्डकी प्रदेशमा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नआउँदा मुख्यमन्त्री अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । उपधारा २ मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने उल्लेख छ । प्रदेश सभाको दोसा्रे निर्वाचनपछि नेकपा माओवादी, राप्रपा र स्वतन्त्र सांसद दिपक मनाङ्गेको समर्थनमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका नेता खगराज अधिकारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६० सदस्य गण्डकी प्रदेशमा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र १ जना स्वतन्त्र सांसद रहेका छन् । मुख्यमन्त्री अधिकारीले प्रदेशको नेतृत्व समालेपछि गरेका कार्यहरु हेर्नुहोस् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरी कुनै कानुन नबनाउने बताउनुभएको छ । बालुवाटारमा शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाईसमेत दिनुभयो । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । सो क्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवर्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । भेटमा प्रधानमन्त्रीले नेपालको संविधानले राज्यको तर्फबाट निजी क्षेत्र र व्यवसायलाई प्रवर्धन गर्ने व्यवस्था गरेको भन्दै अर्थतन्त्रमा सङ्कट आएको बेला निजी क्षेत्र संकुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाउने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवर्धन गर्ने व्यवस्था गरेको छ । अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य र एक–अर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिन्छ । निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु । निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्ने कुनै पनि कानुन बनाउँदैनौँ ।” निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्नेगरी सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मैले तपाईंहरूको साधारणसभामा नै भनिसकेको छु ‘निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समेटिन्छ ।’ निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्न कुनै अप्ठ्यारो छैन । मर्यादाक्रम निर्धारण कसरी गर्ने भन्ने विषयमा मात्र हाम्रो ध्यान छ ।” भेटमा प्रधानमन्त्रीले भर्खरै सम्पन्न साधारणसभाबाट कुशल नेतृत्व आएको र नयाँ कार्यसमितिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकारसँग बलियो सहकार्य गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूले राम्रो नेतृत्व छान्नुभएको छ । नयाँ नेतृत्वले सरकार र अन्य क्षेत्रसँग बलियो सहकार्य गर्नेछ । हामी सबै मिलेर अर्थतन्त्रका चुनौती छिचोल्दै सुशासन र समृद्धिको लक्ष्य हासिल गर्नेछौँ ।”
काठमाडौं: एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो । जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २६ रनमा समेटिएको थियो । ओमानका लागि मोहमद नदिमले सर्वाधिक ६५ रन बनाए । यस्तै सन्दीप गोउडले ४६, आयान खानले २९, कस्यप प्रजापतिले २५, फायज बट्ले १९, जतिन्दर सिंहले १५ र अदील साफिक्वीले १३ रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । यस खेलसँगै सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गरेका छन् । ओमानविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले एक दिवसीयमा सर्वाधिक छिटो समयमा सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान रचेका हुन् । उनले ४२ एक दिवसीय खेल्दै एक सय दुई विकेटको आँकडा पूरा गरेका हुन्। यसअघि एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेल खेल्दै सय विकेट लिने खेलाडीको कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो । खानले ४४ एक दिवसीय खेल्दै एक सय विकेट पूरा गरेका थिए । खानले सन् २०१८ मा बनाएको कीर्तिमान सन्दीपले तोडेका हुन् । यस्तै कराण केसीले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय १० रन बनाएको थियो । नेपालको यो एक दिवसीय इतिहासकै उच्च योगफल पनि हो । नेपालका लागि कुशल मल्लले शतकीय इनिङ्स खेले । दुई ओपनर कुशल भुर्तेल र आशिष् शेखलाई शुन्य रनमा गुमाएको नेपालका लागि मल्लले एक सय आठ रनको सानदार शतकीय इनिङ्स खेलेक थिए । उनले ६४ बलमा नौ चौका र १० छक्काको सहयोगमा उक्त रन जोडेका हुन् । यससँगै कुशलले नेपालबाट एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । उनको यो अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो । कुशल समग्रमा एक दिवसीयमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुन् । यसअघि पूर्व कप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि शतक हानेका थिए । यस्तै सोमपाल कामीले अविजित ६३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४८ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । भीम सार्कीले ३३, आरिफ शेखले २९, करण केसीले अविजित २९, कप्तान रोहित पौडेलले २३ रन बनाए । सन्दीप लामिछानेले आठ र दीपेन्द्रसिंह ऐरी सात रनमा आउट भए । बलिङमा ओमानका आयन खानले दुई विकेट लिए । विलाल खान, कालीमुल्लाह, जीसान मक्सुद, फायज बट्, अक्वीब लायस र जतिन्दर सिंहले एक एक विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । ओमानको यो पहिलो हार हो । नेपाल र ओमानको यस खेललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत रहेको छ । ओमान र नेपालबीचको आजको खेल नेपालका लागि ५०औँ एक दिवसीय खेल पनि हो । एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । नेपालले तेस्रो खेल सोमबार साउदी अरबसँग खेल्नेछ ।
काठमाडौं: पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् । संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।
काठमाडौं: नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् । सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे । सन्दीप लामिछानेले ४२ खेल खेल्दै ओडिआईमा १०० विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिँदै उक्त कीर्तिमान बनाएका थिए ।
काठमाडौं: एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको हो। नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। विस्फोटक ब्याटिङ गरेका मल्लले ६४ बलमा ९ चौका र १० छक्काको मद्धतमा १०८ रन बनाए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो। यसअघि उनले सर्वाधिक ८१ रन बनाएका थिए। यस्तै नेपालका लागि सोमपाल कामीले अर्धशतकीय पारी खेलेका छन्। उनले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाए। भीम सार्कीले ३३ रन जोड्दा आरिफ शेखले २९ रनको योगदान गरे। कप्तान रोहित कुमार पौडेलले २३ रन जोडे। करण केसी १५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नटआउट रहे । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो । ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेट हात पारे। यसअघि मलेसियाविरूद्धको पहिलो खेलमा नेपालले ६ विकेटको शानदार जित हात पारेको थियो। प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ। एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।
काठमाडौं: नेपालका बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध कीर्तिमानी विष्फोटक शतक हानेका छन् । कुशलले ५९ बलमा शतक पूरा गरे । कुशलले ९ चौका र ९ छक्कासहित प्रहार गर्दै शतक पूरा गरेका हुन् । स्पिनर अकिब इलियासलाई ३९ औं ओभरको पाँचौं बलमा छक्का हान्दै शतक पूरा गरेका थिए । उनको यो कुनैपनि अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका हुन् । समग्रमा उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी हुन् । पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखपछि शतक हान्ने खेलाडी हुन् ।
पोखरा: पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत मर्दीखोलामा पानीको सतह घटेपछि पोखरामा खानेपानीको समस्या भएको छ । नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले खानेपानी पुर्याउन गाह्रो परेको सूचना निकालेर खानेपानीको समस्या भएको जानकारी दिएको हो । पोखरा महानगरभित्र कतिपय ठाउँमा पानी वितरणमा समस्या आएको सूचनामा उल्लेख छ । अनावश्यक पानी खर्च नगर्न कार्यालयले उपभोक्तालाई आग्रह गरेको छ । पोखरामा ल्याउने पानीको सतह घटेको संस्थानका वितरण प्रमुख सब-इञ्जीनियर लक्ष्मण पाण्डेले जानकारी दिए। पोखरामा पानीका लागि मर्दीखोला मुख्य स्रोत र त्यसपछि भोटीखोला, कालीखोला, बालधारा र बोरिङ हो । यी स्रोतमा नै पानी घटेका कारण समस्या भएको कार्यालयले जनाएको छ । खानेपानीको समस्या समाधान गरिदिन भन्दै दिनहुँ सयौँ सेवाग्राहीको फोन आउने गरेको संस्थानको वितरण शाखाका कर्मचारीले बताएका छन् । घरमा पानी नआएको गुनासोसहित दैनिक तीन सयभन्दा बढी फोन आउने गरेको कार्यालयले जनाएको छ । अहिले पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक रहेको कार्यालय प्रमुख आशिष कार्कीले जानकारी दिए । जसमा अहिले दैनिक साढे पाँच करोड लिटर आपूर्ति भइरहेको छ । पोखरामा संस्थानबाट झण्डै ४८ हजार धारा जडान भएका छन् ।
दिल्ली: कश्मीरमा भारतीय सेनाको टोलीमाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीरको पुँछमा हिजो दिउँसो तीन बजेतिर भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले निकालेको विज्ञप्तीमा सेना चढेको गाडीमा हाते ग्रिनेडले आक्रमण गरेको र त्यसपछि गाडीमा आगलागी भएको उल्लेख छ । आक्रमणमा गम्भीर घाइते एक जनाको रजौरीमा रहेको सैनिक अस्पतालमा उपचार भइरहेको छ । जैश ‘ए’ मोहम्मद समर्थित पिपुल्स एन्टी फाँसिस्ट फ्रन्ट नामक सङ्गठनले आक्रमणको जिम्मा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

