पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

कञ्चनपुर:    कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ। महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएलगत्तै सोही स्थानमा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।  कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुइका गंगा चन्दको शव शनिबार बिहान फेला परेको हो। प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो। बर्दिया राष्ट्रिय निकुञ्जको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिएको हो।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डांगीले बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको बताए। चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो। सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्‍याइएको बताए। उनले केही समय बाघलाई निगरानीमै राख्ने र पछि विभागको निर्देशनअनुसार थप निर्णय लिने बताए। सो घटनापछि दक्षिण क्षेत्रका स्थानीय त्रसित छन्।

काठमाडौं:    प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।

पाल्पा:  पाल्पाको झुम्सामा गएराती बसले  स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्युु हुनेमा स्कुटरमा सवार बगनासकाली गाउँपालिका–६, यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपाने रहेका छन् ।   गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियाे ।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछ।   लिगको ११ औं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुँदैछ ।  जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।   खुमलटार र मनाङको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।   खुमलटार आज चौंथो जितको योजनामा हुनेछ । खुमलटार १० खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ । मनाङ पाँचौं जितको खोजीमा हुनेछ । मनाङ १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।   रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । जावलाखेल र चर्च ब्वाइजबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।   शीर्ष स्थानको जावलाखेल सातौं जितको खोजीमा हुनेछ । जावलाखेल १० खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च ब्वाइज पाँचौं जित निकाल्न चाहन्छ । चर्च ब्वाइज १० खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।   त्यस्तै च्यासलमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । मछिन्द्र र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । मछिन्द्र चौंथो जित निकाल्ने योजनामा रहेको छ । मछिन्द्र १० खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।   फ्रेन्ड्स पनि चौंथो जित निकाल्न चाहन्छ । फ्रेन्ड्स १० खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ 

बलेवा:   सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो ।    गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्याङ्क छ । गतमाघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन ।   बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताउनुभयो । जानीजानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्याङ्क छ । केही तथ्याङ्क भने आउनै बाँकी छ ।   यस वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ । बागलुङ नगरपालिकाका छ सामुदायिक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो । जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक÷एक वनमा आगलागी भएको छ ।   जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाभर पाँच सय २७ सामुदायिक वन ३३ हजार नौ सय नौ हेक्टरमा फैलिएका छन् भने, आठ  दर्ता भएका निजी र बाँकी राष्ट्रिय वनक्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताउनुभयो । गतवर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वनक्षेत्रमा आगलागी भएको थिएन । एकाध वन क्षेत्रमा लागेको आगो समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए । यस वर्ष हिउँदमा सुक्खा हुँदा अधिकांश वनक्षेत्र आगलागीको जोखिममा परेको वन अधिकृत अधिकारीले बताउनुभयो । वर्षा नभएसम्म बाँकी रहेका वन क्षेत्रसमेत आगलागीको जोखिममा छन् ।      जङ्गली जनावरबाट बच्न, वर्षायाममा मल हुने लोभलगायतका कारणबाट वनमा आगो लगाउने गरेको पाइन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई  क्षति हुने गरेको छ । वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइप पोलिएर कैयौँ ठाउँमा खानेपानीको समस्या छ भने कतिपय जङ्गल क्षेत्रमा रहेका महत्वपूर्ण जडीबुटी जलेका छन् । 

पोखराः    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ः०० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने विषयलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना यसअघि नै दिइसकेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सदस्य आवश्यक पर्छ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको इद (इदुल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । इदको अवसरमा आज शुभकामना दिंदै उहाँले ईद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व भएको र मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको बताउनुभएको छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । शुभकामना सन्देशमा प्रधानमन्त्रीले हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्व हुने गर्दछ, मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका पनि बताउनुभएको छ । ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

काठमाडौं:    एक महिनाको व्रत पछि आज इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र हुने भएको छ । एक महिना व्रत रोजा आज समाप्त हुने भएको हो ।  एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका मानिसहरू दिनमा निराहार बस्छन् । बिहानको समयमा सेहरी हलुका खानेकुरा खाएर दिनभर निराहार बसी सूर्यास्त भएपछि ‘एफतार मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेन्डर अनुसार हिजरी संवत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठुलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठुलो विशेषता हो । रमजानामा व्रत बस्ने र साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुसी हुने र एक आपसमा इद मुबारक बधाई सटासट गर्ने प्रचलन रहँदै आएको छ ।

मुस्ताङ:  सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ ।  गुफै गुफाको गाउँले परिचित उपल्लो मुस्ताङको लोमान्थाङ गाँउपालिका वडा नम्बर २ मा रहेको छोसेर गाँउमा पुगेर युनाइटेड क्लबले वार्षिकोत्सव मनाएको हो ।  सो अवसरमा बोल्दै प्रमुख अतिथि लोमान्थाङ गाँउपालिका वडा नम्बर २ का अध्यक्ष कर्मा नामग्याल गुरुङले पर्यटन र सामाजिक क्षेत्रमा काम गर्दै आएको पोखरामा रहेको युनाइटेड क्लबले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुफै गुफाको गाँउ छोसेरमा आएर आफ्नो वार्षिकोत्सव मनाएकोमा धन्यवाद ब्यक्त गरे ।  छोसेर गाँउ पछिल्लो समय गुफा गाँउले परिचित भइरहेको सन्दर्भमा पोखरामा रहेर पर्यटन प्रवद्र्धनको क्षेत्रमा समेत काम गर्दै आएको युनाइटेड क्लबले आफ्नो वडामा रहेको छोसेर गाँउमा आइपुगेर कार्यक्रम गरिरहदा आफु निकै हर्षित रहेको वताउदै युनाइटेड क्लवको प्रगतिको कामना समेत गरे ।  युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र दैवी प्रकोपको क्षेत्रमा काम गर्दै आइरहेको सन्दर्भमा १३ औँ वार्षिकोत्सव गण्डकी प्रदेशकै ऐतिहांसिक ठांउ लोमान्थाङ गाउपालिकामा रहेको गुफाको गाँउले परिचित छोसेरमा आएर वार्षिकोत्सव मनाउन पाउदा खुसी लागेको बताए ।  त्यस्तै क्लबका संस्थापक सह सचिव सन्तोष सिग्देलले युनाइटेड क्लब १३ औं वर्ष प्रवेश गरिरहदा संस्थाले लिएको उद्देश्य र लक्ष्य हांसिल गर्न अग्रसर भइरहेको आफुले महशुस गरेको वताउदै सामाजिक काममा लाग्ने युनाइटेड क्लबको अनुसरण गरेमा समृद्ध समाज बन्ने बताए ।    एघारौ पोखरा महोत्सबवाट करिव १५ लाख बचत  क्लबले गत पुष २७ देखी माघ १० गते सम्म आयोजना गरेको एघारौं पोखरा महोत्सवबाट १४ लाख ८२ हजार ६ सय ९९ रुपैैयाँ बचत गरेको छ ।  वार्षिकोत्सव समारोह मार्फत  महोत्सवको आय ब्याय सार्वजनिक गर्दै एघारौ पोखरा महोत्सवबाट कुल आम्दानी ७६ लाख ४ हजार ४ सय गरेको र खर्च ६१ लाख २१ हजार ७ सय १ रुपैया  खर्च भइ १४ लाख ८२ हजार ६ सय ९९ रुपैैयाँ बचत भएको क्लबका कोषाध्यक्ष तथा एघारौं पोखरा महोत्सवको अर्थ ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए ।  शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन, (सेती खोंच एक साहसिक पर्यटकीय गन्तब्य)का लागि  हरेक विद्यामा १५ प्रतिशत छुट्याइने  छ भने केही रकम क्लबको आफ्नै जग्गामा आवासिय छात्राबास निर्माणको लागि छुट्याइने क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाँले बताए । स्थापना कालदेखीनै पोखरा महोत्सवको आयोजना गरी महोत्सवबाट बचत भएको रकमबाट दशौं महोत्सव सम्म आइपुग्दा ५८ लाख ८५ हजार पोखरा जुलोजिकल पार्क निर्माणका लागि प्रदान गरिसकेको बताउदै क्लबका अध्यक्ष राजु श्रेष्ठले पोखरा जुलोजिकल पार्क प्रदेश सरकारले प्रदेश गौरवको योजनामा पारी पञ्चवर्षिय योजनामा पारी २८ करोड भन्दा बढी बजेट बिनियोजन गरी जिल्ला डिभिजन बन कार्यालय  कास्की र चिडियाखाना निर्माण समिति मार्फत निर्माणकार्य अगाडी बढेकाले एघारौं पोखरा महोत्सवबाट चिडियाखाना निर्माणका लागी क्लवले कुनैपनि रकम नछुट्याइएको बताए ।  पर्यटन प्रवद्र्धनका लागी छुट्याइदै आएको उक्त रकम एघारौं पोखरा महोत्सव देखी पर्यटन प्रवद्र्धन (सेती खोंच एक शाहसिक पर्यटकीय गन्तब्य)का लागी छुट्याइने बताउदै हरेक महोत्सवमा पोखराको बीच भागबाट बग्ने सेती नदी संरक्षणका लागि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैया छुट्याइदै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  युनाइटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङ लगायतले बोलेका थिएभने क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेकोका कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले धन्यवाद मन्तब्य राखेका थिए ।