पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:     बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागि हुन आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले  पुरस्कार प्राप्त गर्ने निमार्ण पक्षले जनाएको छ । चिठ्ठी लेखन प्रतियोगिताको प्रथम हुनेले ५० हजार द्वितीय हुनेले ३० हजार  र तृतीय हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।  पत्र चलनचल्तिको सेतो कागजको ए ४ साइजको पानामा लेखिएको हुनुपर्नेछ र नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्नेछ । पत्र औपचारिक शैलीमा लेखिएको हुनुपर्नेछ । अभिवादन र समापन समावेश गर्नुपर्नेछ । एकभन्दा बढी पाना आवश्यक परेमा प्रयोग गर्न सकिनेछ । पत्र कम्तीमा ५०० देखि बढीमा १००० शब्दमा लेखिएको हुनुपर्नेछ ।  पत्र नेपालभर वा विदेशबाट जो कोही नेपालीले पठाउन सक्नेछन् । खाम तथा चिठ्ठीमा आफ्नो कुनैपनि सरकारी परिचयपत्रमा भएको नाम हुनुपर्नेछ। प्रेषकमा आफ्नो नाम र ठेगाना प्रष्ट लेखिएको हुनुपर्नेछ भने प्रापकमा ‘नेपाली चलचित्र हल्कारा परिवार’ लेखि ठेगाना काठमाडौँ, नेपाल, पोस्ट बक्स नम्बर १४१४ लेखि पठाउनु पर्नेछ । चिठ्ठीको अन्तिममा यूट्युबमा रहेको चलचित्र ‘हल्कारा’को ट्रेलर हेरी आफुलाई बुझेको कथा लेख्नुपर्नेछ। चिठ्ठीमा आफ्नो नाम र ठेगानासँगै सम्पर्क फोन नम्बर लेखेको हुनुपर्नेछ। विदेशबाट प्रेषित हुने चिठ्ठीमा आफ्नो नेपालमा हुने निकटतम व्यक्तिको परिचय समेत लेख्नुपर्नेछ । यस प्रतियोगिताको निर्णायकहरुमा विप्लब प्रतिक कवि तथा साहित्यकार, मनोजबाबु पन्त  चलचित्रकर्मी  र महेश त्रिपाठी अभिनेता रहेका छन् । प्रतियोगिताको मापदण्डमा रहेका पत्रहरुको रचनात्मकता, मौलिकता, विषयवस्तुको पालना, व्याकरण र हिज्जे र समग्र प्रभावलाई समीक्षा गरी उत्कृष्टता मापन हुनेछ । पत्र पठाउँदा २०८० बैशाख १० गतेदेखि चलचित्र ‘हल्कारा’ रिलिजको मिति बैशाख २९ गते भन्दा ९ दिन अगाडी बैशाख २० गते सम्म पठाइसकेको र बैशाख २५ गते सम्म पोस्ट बक्समा प्राप्त भैसकेको हुनुपर्नेछ । ‘हल्कारा’ रिलिजको मिति बैशाख २९ गतेभन्दा २ दिन अगाडी बैशाख २७ गते पुरस्कार घोषणा हुनेछ । आफ्ना भावनाहरू र तपाईंको हृदयले व्यक्त गर्न चाहेका अलिखित कुराहरुलाई व्यक्त गर्ने माध्यमको रुप हुनसक्छ भन्ने पत्र लेखन प्रतियोगिताको प्रमुख उद्देश्य रहेको चलचित्रका निर्देशक बिक्रम सापकोटाले बताए । सापकोटाले भने, “हामी तपाईंका पत्रहरु पढ्नको लागि पर्खिरहेका छौँ । उत्कृष्ट पत्र लेख्न सक्ने ३ जनालाई पुरस्कार पनि प्रदान गर्दैछौँ ।”  गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई यस चलचित्रले प्रस्तुत गर्छ । चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् । यो चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । यो चलचित्रले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट चलचित्र बनिसकेको छ । महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह९लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । यो चलचित्र पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक कथानक चलचित्र रहेको निर्देशक सापकोटाले बताए । “यो चलचित्रलाई हामीले पूर्ण ‘मेनस्ट्रिम’मा रहेर बनाएका छौँ । यसको कथा भन्ने क्रममा पूर्ण मनोरञ्जनात्मक र व्यावसायिक दृष्टिकोणबाट बनाएका छौँ”, निर्देशकले भने । यो चलचित्रले सबैभन्दा पुराना फेस्टिवलहरु मध्ये एक ‘वल्र्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्तिवलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् । साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो । 

चितवन:   चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा भरतपुर –११ नयाँ किरण मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।  प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गर्दा मतदान स्थगित भएको हो ।  सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो। रास्वपाले उक्त धकेलाधकेलमा आफ्ना केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल फुटाइएको बताएको छ। उनी भिडिओ खिचिरहेका थिए। स्थगित भएको मदान सुचारू गर्न छलफल भइरहेको छ। अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए। नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन्। सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरू गर्ने तयारी भइरहेको उनले बताए। ‘बैठकको तयारी भइरहेको छ, जटिल समस्या नभएकाले बैठकपछि मतदान सुरू हुन्छ,’ उनले भने।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुङ्गोमा पुर्‍याउन मुख्यसचिवलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवम् प्रवर्द्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिएका छन् ।

दमौली:    तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ ।  बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण  गरिरहेको हो ।  लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । “अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र छवटा रेष्ट्रो क्याविन आउन बाँकी छ”, उहाँले भन्नुभयो ।  केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने तयारी छ । “केबलकारका टावर, तार सबै जोडिसकिएको छ, डिब्बा जडानको काम अब दु्रतगतिमा अगाडि बढ्छ”, उहाँले भन्नुभयो । केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरिएको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन हुनेछ ।  “केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ”, अध्यक्ष शर्माले भन्नुभयो । उहाँका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।  विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । विसं २०८० मङ्सिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँचतारे होटलको निर्माण पनि तीव्रगतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ ।  केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघन्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको छ । यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी, बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तलामाथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताउनुभयो । यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।  केबलकारको साधारण सेयरको सार्वजनिक निष्काशन ९आइपिओ० खुला गर्न सम्झौता भइसकेको छ । लिमिटेडको प्रतिसेयर अङ्कित मूल्य रु एक सय दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ । रु तीन अर्ब ४९ करोड कुल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब १५ करोड रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । त्यसमध्ये चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् रु चार करोड ३० लाख परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ । चुक्ता पुँजीको १० प्रतिशत रु २१ करोड ५० लाख सर्वसाधारणलाई छुट्याइने शर्माले बताउनुभयो ।  आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता छन् । 

पाल्पा:   बुटवलबाट पाल्पा हुँदै बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।    सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, जोरधारा नजिकै बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र १८  जना घाइते भएको प्रहरीले जनाएको छ । आइतबार बिहान सवा नौ बजे बुटवलबाट पाल्पा हुँदै बागलुङको बुर्तिबाङ्तर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी १८  जना घाइते भएका छन् । पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घाइते सबै जनलाई लुम्बिनी मेडिकल कलेज पठाइएको जानकारी दिनुभयो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तनहुँ:    नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सवा दस बजे मतदान गरेका छन् । तनहुँको व्यास नगरपालिका ११ स्थित तनहुँसुर स्वास्थ्य चौकीको मतदान केन्द्र ‘क’ मा भट्टराईले मतदान गरेका हुन्  । मतदान पश्चात् सुनगाभा न्यूजसँग बोल्दै कांग्रेसको विरासत जोगाउने विश्वास व्यक्त गरे । उनले अन्य प्रतिस्पर्धीलाई अवसरवादी भएको बताउदै स्थानीयले आफुलाई नै जिताउने बताए । तनहुँ  १ मा जारी मतदानमा भट्टराई बाहेक एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका डा स्वर्णिम वाग्लेले मतदानमा भाग लिन आउने छैनन् ।   तस्वीरमा हेरौं:         ​  

बारा:     बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो ।  गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उहाँहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बारा निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बारा  २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । बदनियतपूर्वक कसैले मतपेटिकालाई चलाउन, धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई  गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताउनुभयो ।  सो क्षेत्रमा ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ । ती मध्ये ६५  मतदानस्थल अतिसंवेदनशील, १७  समान्य रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।  महागढी र पचरौता नगरपालिका, करैयामाइर्, सुवर्ण र देवताल गाँउपालिकाको ४४  वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस  

काठमाडौं:    बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौँ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने पुरानो मिथिला परम्परा हो । यस पर्वमा सर्वत ख्वाइँदा अक्षय (कहिल्यै नास नहुने) पुण्यप्राप्त हुने मैथिल (मिथिलाका बासिन्दा)को जनविश्वास छ । यस पर्वमा गरिब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको साहित्यकार महेश्वर राय बताउनुहुन्छ । यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने उल्लेख रहेको बर्दिबास-२ का कर्मकाण्डका ज्ञाता महेशकुमार झा बताउनुहुन्छ । यस पर्व सुख र समृद्धिको प्रतीक मानिन्छ । यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक अन्न जौँ र चनाको सातु खानपिनको प्रयोगमा जोड दिएको बर्दिबास अस्पतालका चिकित्सक मेडिकल अफिसर डा किशोर अधिकारीको भनाइ छ । पर्वले मौसमअनुसार पुष्टिवद्र्धक भोजन गर्न सन्देश दिनसँगै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देश दिएको पाका मैथिल बताउँछन् । पर्वमा कूलपुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्टान्न खाद्य परिकार र दक्षिणा दिएर आफ्नो र परिवारका सदस्यहरूको जीवनमा शीतलताको कामना गर्दै जौँ, चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्रासन र विवाहलगायतका माङ्गलिक कार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ ।

काठमाडौं:   तनहुँ निर्वाचन क्षेत्र नं.१  बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र मा आज आइतबार बिहान ७ बजेबाट प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ ।  मतदानका लागि मतदाताहरू उत्साहजनकरुपमा लाममा छन् ।  बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी स्थानमा सांसद पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन भइरहेको हो ।     तीनै निर्वाचन क्षेत्रमा निर्वाचनका कारण अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।