पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

चितवन:   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनका गाडी चालक गम्भीर घाइते भएका छन्।   सोमबार विहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेको घरको छतबाट लडेर उनका निजी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा घाइते भएका हुन्।    दिलबहादुर बिहान छतबाट खसेको अवस्थामा भेटिएका थिए ।  उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।    प्रहरीका अनुसार तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामिछानेसहितकाे टाेली आइतबार बेलुका चितवन आइपुगेका थिए।   गम्भीर घाइते भएका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। 

दाङ:  दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।      आत्म हत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।   प्रहरीका अनुसार डिउटीमा रहेको समयमा ३५ वर्षीय केसीले आइतबार साँझ ८: ४० बजे तिरको समयमा एसएलआरले आफैलाई गोली हानी आत्महत्या गरेका थिए ।   प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण सहायक हवाल्दार  केसीले आत्महत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी  दिए ।    ‘घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकले घरायसी विवादका कारण आत्महत्या गरेको खुल्न आएको छ’,इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक मल्लले भने,‘घटनाबारेमा थप अनुसन्धानको काम भइरहेको छ ।’ ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत सहायक हवाल्दार  केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४÷५ दिन पहिले मात्रै आएको प्रहरीले जनाएको छ ।

रोल्पा:   रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन्।    जिल्लाको गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण ओली अटोमेटिक पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले बताए।    वडाध्यक्षले आफ्नो घरमा अवैध हतियार लुकाएको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल बरामद भएको हो।   'मेड इन इटाली' लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल म्यागजिनसहित बरामद भएको प्रहरीले जानकारी दिएको छ।   इलाका प्रहरी कार्यालय घर्ती गाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजेतिर वडाध्यक्षको घर खानतलासी गरेको हो। 'गाउँमा सधैं पेस्तोल लिएर हिँड्छन् भन्ने हामीलाई सूचना थियो,' एक प्रहरी अधिकारीले भने। पक्राउ परेका वलीविरूद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ।   जिल्ला अदालत रोल्पाले वडाध्यक्ष ओलीलाई थप १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप गरिदिएको डिएसपी मगरले बताए।   वडाध्यक्ष वलीविरूद्ध चैत ३० गते बेलुका ४ बजेको समयमा गंगादेव गाउँपालिकाका अध्यक्षले चढ्ने रा १ झ १९१ नम्बरको सरकारी गाडी तोडफोड गरेको अभियोग पनि छ।   उक्त अभियोगमा जिल्ला प्रशासन कार्यालयले उनीविरूद्ध थप १५ दिन म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसुर (अभद्र) व्यवहार सम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको डिएसपी मगरले जानकारी दिए ।

काठमाडौं:    नेकपा एमालेका अध्यक्ष एव् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । अध्‍यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको बताएका हुन् । ओलीले फेसबुकमा लेखेका छन्, ‘ भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’ अस्वस्थताका कारण  बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनको प्रचार प्रसारमा सहभागी हुन नसकेको भन्दै उनले स्वास्थ्य ठिक भएपछि उचित समयमा ती ठाउँका मतदाता भेट्न जाने बताएका छन् ।

काठमाडौं:    परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पदभार ग्रहण गर्नुभएको छ। आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै परराष्ट्रमन्त्री साउदले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो।  साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो। उहाँ नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एव‌म् पूर्वमन्त्री पनि हुनुहुन्छ। नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएका साउद प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ।उहाँ नेपाली राजनीतिमा एनपी साउदको नामले परिचित हुनुहुन्छ। 

काठमाडौं:   सुनको भाउ आज ८ सय रुपैयाँले  घटेको छ ।    सुन तोलामा आज ८ सय रुपैयाँले घटेर सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बिहीवार सुनको भाउ तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ थियो । अस्ति शुक्रवार नयाँ वर्ष र हिजो शनिवार सार्वजनिक बिदा भएकाले नयाँ भाउ आज तोकिएको हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीवारकै भाउ तोलामा १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । 

पोखरा:   राम विल्डर्स कम्पनीले पोखराको विरौटा–छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै सडक संघर्ष समितिले जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।    ध्यानाकर्षण पत्र बुझाउँदै संघर्ष समितिले सडक निर्माणमा ढिलाईसुस्ती भएको विषयमा संसदमा कुरा उठाउन माग गरेको छ ।   ‘सम्माननीय सांसद मार्फत के–कति कारणले काम ढिला हुन गएको हो ? समयमै किन सम्पन्न हुन नसकेको हो ? जम्मा १.८ सडक ४ वर्षदेखि अलपत्र किन राखिएको हो ? जनताको स्वास्थ्यमा किन असर पार्ने कार्य गरिएको हो ?’ ध्यानाकर्षण पत्रमा प्रश्न गरिएको छ ।   पोखरा आउने क्रममा सांसद शाहीले चाँसो देखाएपछि पत्र बुझाएको स्थानीय पुष्प बरालले बताए । ‘काम विशेषले सांसद शाही पोखरा आउनु भएको रहेछ, पर्यटकीय क्षेत्रको सडक धुलाम्य देख्दा उहाँले आफै यो सडकको विषयमा बुझ्नुभयो, सदनमा नै कुरा राख्छु भनेपछि, ध्यानाकर्षण पत्र बुझाएको हौं,’ उनले भने ।   बरालका अनुसार सो सडकखण्ड अन्तरगत पर्यटकीय स्थल डेभिजफल तथा गुप्तेश्वर गुफासँगै सडकलाई धार्मिक क्षेत्र पुम्दीकोट, शन्ति स्तुपा लगायतका स्थल पर्छन् । बाटोको निर्माणकार्य सुस्ताउदा पर्यटकलाई आवागमनमा समस्या मात्रै नभई स्थानीले धुलाम्मे बाटोकै कारण हैरानी खेप्नु परेको उनले बताए ।    बरालले ढिलासुस्तीबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको गुनासो सुनाए ।    विरौटा– छोरेपाटन सडकखण्ड निर्माणको जिम्मा लिएको कम्पनीलाई सो योजना सम्पन्न गर्न सरकारले केही समय म्याद थप गरेको थियो ।   

काठमाडौं:    भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उहाँका दाजु अशरफको गोली हानी हत्या भएको छ। पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेका अतिक र अशरफलाई प्रयागराजमा रहेको एक अस्पतालमा गएराति स्वास्थ्य जाँचका लागि लैजाने क्रममा गोली हानिएको थियो । पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला भिडबाट गोली प्रहार भएको द हिन्दुस्तान टाइम्सले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गर्नुभएको छ । 

पोखरा:   प्रदेश खेलकुद परिषद गण्डकीको टोली अन्तर प्रदेश भ्रमणमा निस्किएको छ । ५ दिनको भ्रमणका लागि परिषदको टोली आइतबार पोखराबाट हिंडेको हो । टोलीले लुम्विनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको भ्रमण गर्ने भएको परिषदका कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिएका छन् । परिषदका सदस्य सचिव घनश्याम पौडेलको नेतृत्वमा भ्रमणमा हिंडेको टोलीले अन्तर प्रदेशमा भइरहेका खेलकुद गतिविधि, पूर्वाधार निर्माणलगायतका विषयमा जानकारी लिने संगै तिनै प्रदेशका खेलकुद मन्त्री, सदस्य सचिवहरु संग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । “परिषद गठन पछि हामी पहिलो पटक अन्तर प्रदेश भ्रमणमा निस्किएका हौं” परिषदका सदस्य तथा भ्रमण टोलीका संयोजक गिरमान गुरुङले भने–“यो भ्रमणले प्रदेश खेलकुदहरु संग सम्वन्ध विस्तार संगै सिकाईहरु आदान प्रदान गर्न समेत सहयोग मिल्ने छ ।” भ्रमण टोलीमा परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषीराम गौतम, परिषदका सदस्यहरु योगेन्द्र शेरचन,  बासु वराल, चन्द्रा घले गुरुङ, विष्णु माया गुरुङ, जिल्ला खेलकुदका अध्यक्षहरु तोरण बानियाँ, शान्त सिंह बस्नेत, र सेत बहादुर पुन रहेका छन् भने लेखा प्रमुख निलकण्ठ ढकाल पनि टोलीमा रहेका छन् ।