दमौली: मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट सात किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो । सडक योजनाका पूर्वी खण्ड प्रमुख नरेन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । “यो खण्डमा विद्युत् पोल स्थानान्तरण नहुँदा काममा केही समस्या आएको थियो, विद्युत् पोल हटाउँदै गइएको छ”, सुवेदीले भन्नुभयो, “सबै पोल स्थानान्तरण भइसकेको छैन तर हटाउने काम जारी छ ।” विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले १० दिनभित्र कालोपत्रको काम सुरु हुने जानकारी दिनुभयो । सुवेदीले भन्नुभयो, “ जहाँसम्म लाग्छ १० दिनभित्र काम सुरु हुन्छ ।” उहाँका अनुसार सडक कालोपत्रको परीक्षण भइसकेको छ । “कालोपत्रको ट्रायल भइसक्यो, कालोपत्र सडकलाई छुवाइसक्यौँ”, सुवेदीले भन्नुभयो । आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्डमा अहिले सडक विस्तार, पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । हालसम्मको उक्त खण्डको भौतिक प्रगति २२.५ प्रतिशत रहेको सुवेदीले बताउनुभयो । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो । तर अहिले उक्त समस्या समाधान भएको बताइएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजार रहेको योजनाले जनाएको छ ।
पोखरा: पोखरेली पर्यटन व्यवसायीको एउटा टोली पर्यटन पोखरा पर्यटकीय क्षेत्रको राजधानी हो भन्ने सन्देश बोकेर भारतको चार शहरको भ्रमणमा जाने भएको भएको छ । नेपाल टुर्स एण्ड टाभल एजेण्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा व्यवसायी भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर जान लागेको आज (शनिबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान र बी टु बी मिट २०२३ कार्यक्रम लिएर आफूहरू आइतबारदेखि पाँच दिनलाई भारत जान लागेको नाट्टा गण्डकीका अध्यक्षका हरिराम अधिकारीले बताए । ‘पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि सबै मौसममा भ्रमण गर्न उपयुक्त गन्तव्य भन्ने सन्देशसँगै पोखरा पर्यटकीय राजधानी हो भन्ने सन्देश लिएर भारतका चार शहर जाँदै छौं, अधिकारीले भने, ‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै अन्र्तराष्ट्रिय उडानका लागि भारतीय पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन गर्ने लक्ष्य समेत हो ।’ विश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाईने क्षेत्रको जानकारी दिन, सडकमार्गबाट सहज रुपमा पोखरा लगायत गण्डकी प्रदेशको भ्रमण गर्न सकिन्छ भन्ने सन्देशसँगै पोखरासहित गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य र गतिविधिबारे श्रव्यदृश्य सामग्रीमार्फत उनीहरूलाई जानकारी दिने उदेश्यले भारत भ्रमणमा जान लागेको नाट्टा गण्डकी अध्यक्ष अधिकारीले बताए । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान र बी टु बी मिट २०२३ कार्यक्रम लिएर भारत जान लागेको टोलीलाई पोखरा महानगरपालिकाले २० लाख रूपैयाँ सहयोग गरेको छ ।
पोखरा: पोखराको सेती खोँचमा खसेर अचेत अवस्थामा प्रहरीले उद्धार गरेको स्मृति पराजुलीको मृत्यु भएको छ । सेती खोँचमा खसेर बेपत्ता भएको सूचनापछि खटिएको प्रहरीको टोलीले पराजुलीलाई खोँचबाट अचेत अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याएपनि डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका ८ नागढुङ्गा बस्ने १२ वर्षीय स्मृति पराजुली दिउसो पोखरा १५ सिताराम पुल नजिकै खेल्ने क्रममा चिप्लेर सेती खोँचमा खस्दा बेपत्ता भएको थिइन् ।
पोखरा: पोखराको सेती खोँचमा १२ बर्षीय स्मृति पराजुली खसेर बेपत्ता भएकी छिन् । पोखरा महानगरपालिका ८ नागढुङ्गा बस्ने १२ वर्षीय पराजुली पोखरा १५ सिताराम पुल नजिकै खेल्ने क्रममा चिप्लेर सेती खोँचमा खस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सेती खोँचमा खसेर बेपत्ता भएकी पराजुलीको खोजी गर्न जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी कालिका गणबाट उद्धारका लागि पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
पाेखरा: हङकङमा जारी फेयरब्रेक आमन्त्रण क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री आबद्ध बार्मी आर्मी सेमिफाइनलमा पराजित भएको छ । कुलन क्रिकेट क्लब हङकङमा भएको दोस्रो सेमिफाइनल खेलमा फाल्कोन्सले आर्मीलाई ६ विकेटले पराजित गरेको हो । आर्मीले दिएको १ सय ५९ रनको लक्ष्य फाल्कोन्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । फाल्कोन्सका लागि चमरा अथापाथुले ५० बलमा ८ चौका र ५ छक्काको सहयोगमा ७८ रनको अर्धशतकीय ईनिङ खेलिन् । मरिजानी कप्पाले १० बलमा अविजित २३ रन बनाउँदा मारिको हिल ११ बलमा १९ रन बनाउँदै अविजित रहिन् । आर्मीका लागि रुविना क्षेत्रीले ४ ओभरमा ४१ रन खर्चिएर २ विकेट लिईन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । आर्मीका लागि दिरेन्द्र डोट्इनले २९ बलमा ४२ रन बनाउँदा फतिमा साना ३० बलमा ४५ रनमा अविजित रहिन् । रुबिना क्षेत्रीले ९ बलमा २ चौका सहयोगमा १३ रन बनाएकी थिईन् ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले बैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिनुभयो । उहाँले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताउनुभयो । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरूमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत बैशाखभरि सबै बालबालिका खोप दिइने निर्देशक लालले बताउनुभयो । बैशाख पहिलो हप्तादेखि विभिन्न माध्यमबाट १५ महिनासम्म लगाउनुपर्ने पूर्ण खोपको जानकारी दिनुका साथै खोप छुटेका बालबालिकाको पहिचान गर्ने, वैशाख १५ र ३१ गते दुई दिन नियमित अभियान सञ्चालन गरी खोप लगाइने छ । यस्तै बैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाउने क्रममा पनि खोप लगाउन छुटेका बालबालिकाको सूची तयार पारिने परिवार कल्याण महाशाखाले जनाएको छ । खोप लगाउने छुटेका इँटाभट्टा, कलकारखानालगायत स्थानमा समुदायमा विशेष कार्यक्रम सञ्चालन गर्ने, यही वैशाख मसान्तभित्र सबै वडा, स्वास्थ्य संस्था राष्ट्रिय पूर्णखोप निर्देशिकाअनुसार घरधुरी सर्वेक्षण, पालिका वडा खोप समन्वय समितिको बैठकलगायत क्रियाकलाप गरी सबै वडा तथा स्थानीय तह पूर्णखोप सुनिश्चित भएको प्रमाणीकरण गर्ने जनाइएको छ ।
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहामगरले संवैधानिक व्यवस्थानुसार प्रदेश सरकारले निकासको बाटो खोजेको बताएका छन् । अनलाइन पत्रकार संघ गण्डकीद्वारा पोखरामा आयोजित ‘तीन दिने अनलाइन पत्रकारिता तालिम’ लाई सम्बोधन गर्दै मन्त्री गाहा मगरले अस्थिर राजनीतिका कारण प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार निकासको बाटो रोजेको बताएका हुन् । मन्त्री गाहामगरले विश्वासको मत लिने विषयमा अन्य दलसँगको छलफलपछि मात्रै थाहा हुने बताए । ‘प्रदेश सरकारले संवैधानिक व्यवस्थाले जे अधिकार दिएको छ । त्यही अनुरुप सरकारले आफ्नो निकास खोज्दैछ, उनले भने, ‘अन्य राजनीतिक दलहरुसँग पनि परामर्श हुँदैछ । विश्वासको मत लिने कुरामा अन्य दलसँग छलफल गरेर कति संभावना रहन्छ । त्यही अनुसार अघि बढ्छौ । अन्यथा संवैधानिक व्यवस्थानुसार अरु दलले सरकार सञ्चालनको जिम्मा प्राप्त गर्छ ।’ उनले मन्त्रालयको जिम्मेवारी बहन गर्न नपाउदै सरकारबाट बाहिरिदा योजनाहरुमा प्रभाव पर्ने धारणा राखे । ‘केही नयाँ कुराहरुमाथि आफ्नो भूमिकाबारे अध्ययन गर्दागर्दै र नयाँ योजनाहरु रच्दारच्दै राजनीतिमा अस्थिरता देखियो, उनले भने, ‘दुलही भएर आउने दुरान फर्कन नपाउने जस्तै भएको छ । यसले गर्दा योजनाहरुमा प्रभाव पर्ने देखिएको छ ।’ उनले मिडियाकर्मीका समस्यालाई नजिकबाट नियालिरहेको बताउदै समाधानका लागि पहल गर्ने बताए । उनले मिडिया विधेयकलाई संशोधन गरेर पत्रकारहरुलाई अधिकार सुनिश्चित गराउनका लागि आफुले सरकार बाहिरै रहेपनि भूमिका खेल्ने बताएका थिए । आयोजक संस्थाका उपाध्यक्ष सन्तोष बस्यालका अनुसार आगामी ४ गतेसम्म सञ्चालन हुने सो अनलाइन पत्रकारिता तालिममा आचार संहिता, अनलाइन पत्रकारिकताको महत्व र मौलाउदै गएको पीत पत्रकारिताको विषयमा तालिम प्रदान गरिने छ ।
काठमाडौं: अन्नपूर्ण हिमालमा यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएको छ । सेभेन समिट ट्रेकका आरोहण सहयोगी पासाङ नुर्वु शेर्पासहितको टोलीले शिखरसम्मको बाटो खोलेसँगै आज आरोहण टोली अन्नपूर्णको शिखरमा पुगेको हो । अहिलेसम्म चार जना शेर्पा र दुई जना विदेशी नागरिक अन्नपूर्णको शिखरमा पुगेको जानकारी प्राप्त भएको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईंले जानकारी दिए । अरु आरोहीहरु पनि शिखरमा जाने क्रममा रहेका उनले बताए । यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि अहिलेसम्म पाँच वटा समूहका ५४ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो । यस्तै यस वर्षको वसन्त ऋतुमा आरोहणका लागि अहिलेसम्म २१ वटा हिमालमा ५ सय १२ जनाले अनुमती लिएका पर्यटन विभागले जनाएको छ । जसमा एक सय तीन जना महिला छन् । सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि एक सय ९७ जनाले अनुमति लिएका छन् । यस वर्ष अनुमति लिएका आरोहीबाट सरकारले ३१ करोड ३४ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
बागलुङ: बागलुङको काठेखोला गाउँपालिका –५ बिहुँको पर्यटकीय क्षेत्र घोडाबाँधे क्षेत्रमा संसारका १८८ देशका राष्ट्रिय झण्डा स्थापना गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग पुर्याउने उद्देश्यले विश्व सांस्कृतिक अभियान समूहको अगुवाइमा झण्डा स्थापना गरिएको हो । घोडाबाँधे काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सीमा क्षेत्र हो । झण्डा स्थापना गरिएको क्षेत्रबाट धौलागिरि, माछापुच्छ्रे , मानापाथीलगायतका दर्जनौँ हिमशृङखला अवलोकन गर्न सकिन्छ । घोडाबाँधे क्षेत्रलाई विश्व सांस्कृतिक गाउँको रूपमा विकास गर्ने लक्ष्यका साथ पर्यटकीय गतिविधि, कार्यक्रम तथा संरचना निर्माण गर्न थालिएको पर्यटन विकास अभियन्ताहरुले बताएका छन् ।

