काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को जानकारी नभएसम्मलाई बन्द रहने जानकारी दिएको हो । काठमाडौँ उपत्यकासहित देशभर जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विध्वंशपछिको विषम् परिस्थितिलाई कारण देखाउँदै यस्तो निर्णय लिइएको हो । कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान-अवतरण मार्गमा देखिएको धुवाँको मुस्लो लगायत कारणले जोखिम बढेको जनाएको छ। त्यसका कारण विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने भएकाले अनिश्चितकाललाई बन्द गर्नुपरेको कार्यालयले जानकारी दिएको छ।
काठमाडौं: नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्ता हतियारको दुरुपयोग हुनसक्ने र जनधनको क्षति हुने सम्भावना औँल्याउँदै तुरुन्त बुझाउन अनुरोध गरेको हो । सेनाले हातहतियार वा गोलीगठ्ठा फेला परेका व्यक्तिले सुरक्षाकर्मीलाई जानकारी दिनुका साथै सम्बन्धितलाई बुझाउन प्रेरित गर्न आग्रह गरेको छ । साथै, सुरक्षाकर्मीको पोशाकको अनधिकृत प्रयोग नगर्न पनि अनुरोध गरेको छ । हातहतियार वा गोलीगठ्ठा नबुझाई कसैसँग फेला परे प्रचलित कानुनअनुसार कारबाही हुने सेनाद्वारा विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं: नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा परिस्थितिको विश्लेषणपछि थप सूचना सार्वजनिक गरिने उल्लेख छ । रक्षा मन्त्रालय मातहतको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जारी गरेको अपिलमा आन्दोलनका क्रममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, हिंस्रक आक्रमण तथा यौनजन्य हिंस्रक प्रयाससमेत भइरहेका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । यस्ता अपराधजन्य गतिविधि नियन्त्रणका लागि सम्पूर्ण नागरिकसँग सहकार्यका लागि आग्रह गरिएको छ । सेनाले आन्दोलनको क्रममा जनधनको क्षतिप्रति पुनः गहिरो दुःख प्रकट गर्दै यस्तो संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको प्रयासलाई साथ दिन सबैलाई अनुरोध गरेको छ । निषेधाज्ञा तथा कर्फ्यूको समयमा अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन) भने सञ्चालन हुने जनाइएको छ । आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिई कडा कारबाही गरिने चेतावनीसमेत नेपाली सेनाले दिएको छ । त्यसैगरी, सम्पूर्ण अवकाशप्राप्त सैनिक, राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई अफवाह वा भ्रामक समाचारमा विश्वास नगरी आधिकारिक सूचनामा मात्र भरोसा गर्न आग्रह गरिएको छ । सेनाले राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनजीवनलाई सामान्य राख्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिमा पनि नेपाली जनताको सुरक्षा र मानवीय उद्धारमा आफ्नो दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनले कविताको अन्तिममा लेखेका छन्, ‘धैर्य गरौ, संयमित बनौ, हामी फेरि उठ्ने छौं।’ जेनजीको आन्दोलनको दोस्रो दिनमा राज्यका प्रमुख निकायका भौतिक संरचना ध्वस्त भएर एमाले नेतृत्वको सरकार ढलेपछि महासचिव पोखरेलले धैर्य बन्न सबैलाई अनुरोध गरेका हुन्।
काठमाडौं: हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको बताएको छ । बुधबार दिउँसो देशका अधिकांश भागमा साधारणतया बदली हुने छ भने राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव ९डेब्रिज फ्लो०को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
काठमाडौं: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ । देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ । सेवाका लागि तयार छौ: वायुसेवा सञ्चालक सङ्घ वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरु सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराउनुभएको हो । सङ्घले यही भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरुमाथि भएको दुःखद् घटना र त्यसबाट सृजित हिंसाप्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा दिवंगत भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यसैबीच सङ्घले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरहरुबाट कुनै पनि राजनीतिज्ञ, मन्त्रीलगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ ।
काठमाडौं: नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न आग्रह गरेको छ । नेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउ परेका छन् । हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँको बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिहरु पक्राउ परेका छन् । यसैगरी, हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न ईलाकाहरु ९राधेराधे स्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका० बाट लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका छन् । सेनाले जारी गरेको सुरक्षा अपडेटमा समुदायलाई चारवटा महत्वपूर्ण सन्देशसमेत दिएको छः १. सुरक्षासम्बन्धी जानकारी दिन आग्रह देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधि देखिएमा तत्काल नेपाली सेनाको मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाट्सयाप वा भाइबरमा एसएमएस पठाई सहयोग गर्न सेनाले अनुरोध गरेको छ । २. सामुदायिक एकता र निगरानी सुरक्षा निकाय पुग्नुअघि स्थानीय समुदायले एकजुट भई निगरानी गर्ने र घटनाबारे सही सूचना आदानप्रदान गरी आफ्नो टोलछिमेक सुरक्षित राख्न सेनाले आह्वान गरेको छ । ३. भ्रामक समाचारप्रति सतर्कता केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत भ्रामक र अतिरञ्जित सूचना फैलाउन खोजेकाले यस्ता गतिविधिलाई बेवास्ता गरी केवल सही सूचना संप्रेषण गर्न सेनाले आग्रह गरेको छ । ४. सुरक्षामा निरन्तर खटिएका निकाय नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु शान्ति सुरक्षा र अमनचयन कायम गर्न चौबीसै घण्टा खटिइरहेको जनाइएको छ । नेपाली सेनाले यस्ता चुनौतीपूर्ण परिस्थितिमा नागरिक सचेतना र सहकार्य अत्यन्त जरुरी रहेको भन्दै, सामुदायिक एकता र सही सूचना प्रवाहले सुरक्षालाई थप सबल बनाउने विश्वास व्यक्त गरेको छ ।
काठमाडौं: नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै सेनाले यस्तो बताएको हो। सेनाको विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीलाई हार्दिक अनुरोध गर्दछ।’ विज्ञप्तिमा नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न सेना प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
पोखरा: पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ । आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै मंगलबार हुने भनिएको खेल स्थगित गरिएको जानकारी दिएको हो । आज लिगका दुई खेल हुने तालिका थियो । खेल तालिका अनुसार आज पहिलो खेल कर्णाली यशविस र मधेश युनाइटेड तथा दोस्रो खेल ललितपुर क्विन्ट र पोखरा निन्जाजबीच खेल हुनुपर्ने थियो। भदौ २० गतेबाट सुरु भएको लिगमा ९ खेल सकिएका छन् ।

