पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

पोखरा:     सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहनुभएको हालको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ ।  नयाँ सत्ता समीकरण अनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।  “कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय लिने सहमति भएको छ”, उहाँले भन्नुभयो, “आगामी आइतबारसम्ममा मन्त्रालयको बाँडफाँड टुङ्गाएर मन्त्रीहरुको शपथ गराउने तयारी भइरहेको छ ।” कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा अझै सहमति हुनसकेको छैन । मख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाईसमेत समेटेर सरकार पुनःगठन गर्ने कांग्रेसले जनाएको छ ।  यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालय सङ्ख्या १२ बाट घटाएर सातमा पु¥याइएको थियो । अहिले दलहरुबीच मन्त्रालयको बाँडफाँड मिलाउन फेरि मन्त्रालय थप्ने सहमित भएको छ । मन्त्रालयको सङ्ख्या र बाँडफाँडमा सहमति नजुट्दा सङ्घीय सरकार बनेको दुई महिना बित्नलाग्दासमेत गण्डकीमा नयाँ समीकरण अनुसारको सरकार बन्न सकेको थिएन ।  गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले मन्त्रालय थप गर्दा त्यसको औचित्य पुष्टि गर्ने चुनौती भने दलसामु रहेको बताउनुभयो । उहाँले संविधानले दिएको अधिकार भन्दैमा धेरै मन्त्रालय बनाउनु उपयुक्त नहुने र त्यसलाई नागरिकले पनि नरुचाउने बताउनुभयो ।   प्रदेशसभा सदस्य देवकोटा र गुरुङको निर्णायक समर्थनमा मुख्यमन्त्री पाण्डेले गत जेठ २८ गते प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको थियो । मुख्यमन्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतमा गत जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।  उहाँले कांग्रेसका २७, राप्रपाका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ३१ प्रदेशसभा सदस्यको समर्थन पाउनुभएको थियो । एमालेका २२ र माओवादी केन्द्रका ६ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत दिएका थिए । त्यसअघि मुख्यमन्त्री बन्नुभएका नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।  अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।  ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेकपा (माआवादी केन्द्र) का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य हुनुहुन्छ ।

गण्डकी:    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा शान्तिसुरक्षा कायम गर्न र कानुनी राज्यको अनुभूति दिलाउन नागरिकको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।           मुस्ताङस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले सरकारसँगै नागरिक समाजसँगको सहकार्यमा शान्तिसुरक्षाका प्रभावकारितासँगै कानुनी राज्यको अनुभूति दिलाउन सकिने बताउनुभयो ।  भवन निर्माणसँगै धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथ आउने पर्यटक र स्थानीयको शान्तिसुरक्षामा सेवा गर्न प्रहरीलाई सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।      संविधानअनुसार कानुन नबन्दा प्रहरी समायोजन हुन नसकेको बताउँदै उहाँले समायोजन नहुँदा चाहेर पनि प्रदेश सरकारले आवश्यकता र अपेक्षाअनुसार प्रहरीलाई सबै सहयोग गर्न नसकिएको उल्लेख गर्नुभयो ।       प्रदेशको शान्तिसुरक्षाका लागि सरकारले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उद्धार सामग्री, यन्त्र उपकरण, क्षमता विकासका कार्यक्रममा सीमित साधनस्रोतका बीच प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको उहाँको भनाइ छ । प्रदेश सरकारको रु तीन करोड ६० लाख लगानीमा निर्माण भएको भवन छ रोपनी चार आना क्षेत्रफलमा रहेको छ । 

लुम्बिनी:    लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।       बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले नवनियुक्त मुख्य न्यायाधिवक्ता खनाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।      शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, उपसभामुख मेनुका खाँड केसीलगायत उच्चपदस्थ व्यक्तिहरुको विशेष उपस्थिति थियो ।       मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७५ बमोजिम खनाललाई शपथग्रहण गराइएको थियो ।  मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख घर्तिमगरले बुटवल उपमहानगरपालिका–९ निवासी खनाललाई यही भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।  नेपालको संविधानको धारा, १६० को उपधारा, २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्ता प्रदेश प्रमुखले नियुक्त गर्नुभएको हो । 

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले श्रीकृष्ण जन्माष्टमी पर्व तथा नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक एवं सांस्कृतिक महत्वको गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने जनाउँदै यस पर्वले बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिनुभएको छ ।   यस्तै, सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी एवं भाइचाराको भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।   ‘गौरा पर्व सुदूरपश्चिममा भाद्र कृष्ण पक्ष, पञ्चमीदेखि अष्टमीसम्म परापूर्वकालदेखि नै मनाउँदै आएको विश्वास गरिन्छ ।   पार्वतीले कठोर तपस्यापछि भगवान शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथनअनुसार यस पर्वमा विशेष गरी गौरी अर्थात् पार्वतीको पूजाअर्चना गरिन्छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘सदियौँदेखि मनार्इँदै आएको यो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ र यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको छ ।’   यस प्रकारका लोक परम्परा तथा धार्मिक, सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको उहाँको भनाई छ ।

म्याग्दी:   समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुग्नुभएकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर) बिरामी पर्नुभयो ।   टाउको दुुखिरहने, शरीर गल्ने, खाना अरुचि हुनेजस्ता लक्षणसँगै हिँडडुल गर्न नसक्ने भएर दामोदरकुण्डकै धर्मशालामा अन्य दुईजना साथी र सहयोगीसँग बस्नुभएकी गौचनको टोलीलाई नेपाली सेनाले भदौ ६ गते उद्धार गरेको थियो ।   “दामोदरकुण्डप्रतिको आस्थाका कारण नेपालसँगै भारतबाट धैरै तीर्थयात्री आउने यस स्थानमा सञ्चार र स्वास्थ्य सुविधाको अतिआवश्यकता महसुस भयो”, उहाँले भन्नुभयो, “मोबाइल फोन सेवा विस्तार हुँदा समयमै उद्धार र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन सकेमा बिरामी तीर्थयात्रीले समयमा नै उपचार पाउने थिए ।”   प्रदेशसभा सदस्य गौचनको स्वास्थ्यमा सुधार भइरहेको छ । सञ्चार सुविधा अभावमा उद्धारका लागि चिठी लेखेर पठाउँदा ढिलाइ भएको उहाँले बताउनुभयो । धार्मिक पर्यटनका हिसाबले प्रशस्त सम्भावना भए पनि भौगोलिक विकटताका कारण दामोदरकुण्डमा राज्यको नजर पर्न नसकेको गौचनले बताउनुभयो ।   दामोदरकुण्डको समस्या र आवश्यकताका विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डे, सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई टेलिफोनबाट जानकारी गराएको प्रदेशसभा सदस्य गौचनले बताउनुभयो ।   कालीगण्डकी नदीको उद्गमस्थल दामोदरकुुण्ड मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको–४ को भूगोलमा पर्छ । यहाँ स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुका रूपमा पुज्ने गर्दछन् ।   दामोदर हिमशृङ्खलाको फेदीमा रहेको यस स्थल धार्मिक र प्रकृतिको मनोरम सङ्गम हो । मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुुन्छ ।   पाँचवटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैतेदसैँका दिन भक्तजन बढी सङ्ख्यामा जान्छन् । भक्तजनले दुईवटा ठूला कुण्डमा स्नान गर्ने गर्दछन् । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ ।   कालीगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारीसाधनको यात्रापछि यारागाउँ पुग्न सकिन्छ । यारा गाउँबाट माथि झुमा ठाटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन याराबाट नै घोडाको यात्रा गर्दछन् ।   याराबाट करिब नौ घण्टा घोडाको यात्रापछि दामोदरकुण्ड पुग्न सकिन्छ ।   सडक यातायात, सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदरकुण्डको यात्रा जोखिमयुक्त र कठिन भएको काठमाडौँबाट आउनुभएका धनीकुमार सापकोटाले बताउनुभयो । भक्तजनको सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ ।   असारदेखि साउनसम्म धर्मशालामा निःशुल्क भोजनको व्यवस्था मिलाइएको हुन्छ । कठिन यात्रा गरेर दामोदरकुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःखकष्ट भुलाइदिने उहाँले बताउनुभयो । “दामोदरकुण्ड साँच्चिकै स्वर्गको टुक्राजस्तो लाग्यो”, उहाँले भन्नुभयो, “धार्मिक र प्रकृतिको सुन्दर सङ्गमस्थलको अनुभूति भयो ।”   दामोदरकुण्ड पुग्न र फर्किन प्रतिघोडा रु १० हजार खर्च लाग्ने हालै त्यहाँ गएर आउनुभएका बेनी नगरपालिका–३ का राम्जी सुवेदीले बताउनुभयो ।   पाँच हजार पाँच सय मिटरभन्दा अग्ला दुई पहाड उकालो र ओरालो भिरको बाटो भएर दामोदर पास पार गरेपछि दामोदरकुण्डको समथर भूभागमा पुगिने उहाँले बताउनुभयो ।   वरपरका सेता हिमचुचुराले घेरिएको दामोदरकुुण्डको उपत्यका सुन्दर र मनमोहक देखिने सुवेदीले बताउनुभयो ।

म्याग्दी:     शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् ।   यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेकोे ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ । यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् ।   बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ ।   सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ ।   राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीयवासी बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका प्रनाउ नेपालले बताउनुभयो ।   बेनी नगरपालिका–८ कालीपुल बसपार्क र प्रवेशद्वार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति भएको छ ।   बाढी र पहिराका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन् ।   बागलुङ–बेनी सडक हुलाकेमा, बेनी–जोमसोम सडक गलेश्वरमा, बेनी–दरबाङ सडक अग्निखेत, सिङ्गा, घुमाउनेमा, मालढुङ्गा–बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिराका कारण अवरुद्ध बनेको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।   सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनका लागि समन्वय भएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।   जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ ।

चितवन:    यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।   कार्यालयले विसं २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो ।  उनीहरुले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन ।   कार्यालयका प्रशासकीय अधिकृत सुरेशकुमार चपाईका अनुसार कार्यालयबाट सवारी चालक अनुमतिपत्र प्रदान तथा नवीरण गर्दै आएको छ ।   सो अवधिमा १४ हजार ९०५ जनाले सवारी चालक अनुमतिपत्र नवीकरण गरेको उहाँले बताउनुभयो ।   यस कार्यालयबाट मोटरसाइकल, स्कुटर, कार, जीप, ट्याम्पो, ई रिक्सा, ट्याक्टर, मिनिबस, बस÷ट्रक, एक्साभेटर र व्याकुलोडर लगायतको सवारी चालक अनुमतिपत्र दिइने गरिएको छ ।   उहाँले भन्नुभयो “यहाँबाट अत्याधिक मात्रामा मोटरसाइकल, स्कुटर र कार, जीपको सवारीचालक अनुमतिपत्र लिने गरेका छन् ।” यस जिल्लामा अध्ययन वा रोजगारीको सिलसिलामा आएका जो कोहीले पनि सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने गरेको उहाँले बताउनुभयो ।   अधिकृत चपाईका अनुसार सवारी साधनको प्रमाण पुर्जाको प्रतिलिपि ७१ जनाले लिएका छन् । गत आर्थिक वर्षमा सवारी दर्ता १३ हजार ९०९ वटा भएको छ ।   सवारी दर्ता प्रक्रिया सुरु भएसँगै यस कार्यालयबाट हालसम्म २९ हजार ११ जनाले सवारी साधन दर्ता गराएका छन् ।   कार्यालयले गत आर्थिक वर्षमा रु ८८ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।

पर्वत:   जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन् ।   जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा मृत भेटिएका हुन् ।   कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ गतेदेखि गत जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृतावस्थामा भेटिएका जानकारी दिनुभयो ।   गत पुस १ गते जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरमा बच्चा चितुवा, पुस ९ गते कुश्मा नगरपालिका–८ चुवामा एउटा भाले र एउटा पोथी, पुस १२ गते मोदी गाउँपालिका–५ बाजुङमा दुईवटा चितुवा मृत फेला परेपछि डिभिजन वन कार्यालयको टोली पुगेर उद्धार गरेको थियो ।   गत वैशाख १८ मा कुश्मा–९ कटुवाचौपारीको चिन्नेखोलामा भाले चितुवा र जेठ १३ मा कुश्मा–२ खुर्कोटमा एउटा पोथी चितुवा मृतावस्थामा फेला परेका कार्यालयले जनाएको छ ।   वन क्षेत्रको वृद्धि, चितुवाका लागि उपयुक्त बासस्थान र आहारको व्यवस्था मिल्दा पछिल्लो समय जिल्लामा चितुवाको सङ्ख्यामा वृद्धि हुँदै गएको सापकोटाले बताउनुभयो ।   “गाउँघरमा रातिको समयमा पशचौपायामाथि चितुवाले आक्रमण गर्ने क्रममा मृत्यु भएको हुनसक्छ । मृत भेटिएकामा बच्चा चितुवा पनि छन्, यसको कारण आहारको खोजी हुनसक्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । मृतावस्थामा भेटिएका चितुवाको प्रकृति हेर्दा अरूको आक्रमणमा परेकोजस्तो नदेखिएको डिभिजन वन कार्यालयका प्रमुख सापकोटाले बताउनुभयो ।   “अहिले खाद्य चक्रमा समस्या आइरहेकाले तिनीहरूको मृत्यु भएको हुन सक्छ । कोही पानी खान जाँदा पोखरीमा डुबेर मरेको पनि भेटियो । बाघको जस्तै उपयोगिता चितुवाको नहुने भएकाले मानिसले चितुवालाई मार्ने गरेको खासै भेटिएको छैन”, उहाँले भन्नुभयो ।   चितुवाका बच्चासमेत मृत भेटिनुले आमाहरू आहाराको खोजीमा निस्किने र आहारा नपाउँदा केही समय बासस्थानमा नफर्कंदा बच्चाहरू भोकले मरेको हुनसक्ने सापकोटाको भनाइ छ ।   आहाराका लागि घाँसेमैदान आवश्यक पर्ने भन्दै उहाँले पहाडी वनमा त्यति धेरै घाँसे मैदान नहुने, हरिण, मृगलगायत जनावरको सङ्ख्या कमी हुँदै जाँदा खाद्य सङ्कट परेको हुन सक्ने उहाँले बताउनुभयो ।   पर्वतमा आव २०७९/८० मा नौवटा चितुवा मृतावस्थामा उद्धार गरिएको थियो । उक्त वर्ष दुई चितुवाको जिउँदै अवस्थामा उद्धार गरिएको थियो ।

काठमाडौँ:   नेपाली सेनाले तनहुँको घाँसीकुवामा खसेको पहिरो हटाउने कार्य तीव्र पारेको छ ।   यही भदौ ४ गतेदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो ।   “यही भदौ ५ गते साँझ उक्त राजमार्गको मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा पहिरो गई सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ नेपाली सेना परिचालित भएको र पहिरो हटाउने कार्य जारी रहेको छ”, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।   नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय निकायको सहयोगमा पहिरो हटाउने कार्य भइरहेको हो ।   राजमार्गको करिब एक सय ३० मिटर क्षेत्रफलमा फैलिएको उक्त पहिरोमा रहेका रुख नेपाली सेनालगायत अन्य सुरक्षा निकायले हटाएको छ ।   एक्स्काभेटरको प्रयोग गरी अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ ।