काठमाडौं:    मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने अवसर पाएको पनि एक वर्ष पूरा भएको छ । गत वर्ष असारमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोद...

राजन सुवेदी:      चुनावमा जस्तो नेतामा अरु बेलापनि तदारुपता देखिने भए..., हो म यही सोच्छु । र आम नागरिकको मनोभावना पनि यही छ ।   चुनावताका जनतालाई बाड्ने विकासे ललिपप र प्रतिबद्धताहरु नतिजाको रागहरुसँगै तुहिन्छन् । यो एउटा नजिर नै बनिसकेको छ ।   नेकपा माओवादीले २०६४ को पहिलो संविधान सभामा स्पष्ट बहुमत पाएर पनि जनचाहना अनुरुप सरकार चलाउन नसकेको स्मरणीय छ । त्यसको एक दशकपछि २०७४ मा नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको स्पष्ट बहुमतसहितको नेकपा सरकार बन्यो । तर नतिजा उही शुन्य ।   यी र यस्ता कयौं नजिरकै कारण नेपाली राजनीतिज्ञहरुसँग जनताको वितृष्णा कति छ भन्ने प्रष्ट हुन्छ । देशको राजनीतिक घटनाक्रमनै रोटेसन हुनुपछाडि राजनीतिज्ञहरुको भूमिका अहम छ । विगत कोट्याउने हो भने हरेक दशकमा राजनीतिक परिवेश र घटनाक्रम हेरफेर भएका छन् ।   २०१७ सालदेखि राजनीतिलाई केलायौ भने २०२७ साल, २०३७/०३८ साल २०४५/०५६ सालको आन्दोलन २०५२ देखि  सुरु भएको जनयुद्ध, २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन यि सबै परिवर्तनका खातिर गरिएका आन्दोलन थिए ।     देशले राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको स्थितिमा देश आइपुगेको छ । जनताका अधिकारका लागि भएका यी घटनाक्रमपछिको अवस्था हेर्ने हो भने आशाका चाङहरु दिनानुँदिन थुप्रिरहेका छन् ।   निमुखा नेपाली नागरिकको आशाका चाङहरुलाई अब भने ठुला कहलिएका पार्टीहरुले नजरअन्दाज गर्न मिल्दैन । किनभने पछिल्लो समय भएको तीनै तहको निर्वाचनले जनताको मनोभावना उदृत भइसकेको छ ।   निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु विजय बनेको तथ्य हामीमाझ छ । यही चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी उदाउनु, राप्रपा लगायतका पार्टीले आकार बढाउनु र केही मधेसी दलसँगै ठुला दल कहलिएका नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रले अपेक्षित मत गुमाउनु जनता कुन तहसम्म आजित छन् भन्ने एउटा दरिलो प्रमाण हो ।   अहिले निर्वाचित स्थानीयदेखि प्रतिनिधिसम्मका जनप्रतिनिधिसँग जनताका केवल गुनामा मात्रै छन् । २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो, माओवादी केन्द्र तेस्रो र नयाँ उदय भएको रास्वपा चौथों दलको हैसियतमा छ ।    यस्तै राप्रपा , जसपा, जनमत, नागरिक उनमुक्ति , लोसपा लगायतमा दलको पनि सदनमा स्थान छ ।    सांसदको जोडघटाउ मिलान र नेकपा एमालेको आडमाप माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार बन्यो । विभिन्न मुद्धाहरुमा मत विभाजन भएपछि माओवादी एमालेको सत्तासमिकरण टुट्यो ।   अहिले नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको छ । यससँगै ओली सरकारको सबल र दुर्बल पक्षको सर्बत्र चर्चा छ । ओली सरकारसँग नेपाली नागरिकको गुनासोसँगै आशाका चाङहरुपनि थुप्रै छन् ।   साँच्चिकै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई साकार पार्न र वाहवापी पाउने हो भने ओली सरकारले जनताको आशाका चाङहरुलाई अधिकतम घटाउनै पर्ने देखिन्छ ।    ओली सरकारसँग आम नेपालीको अपेक्षाका चाङलाई बुँदागत रुपमा उल्लेख गरेको छु ।   महंगी नियन्त्रण    भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता    संघीयता बारे सुक्ष्म समीक्षा    विकाश निर्माण र रोजगारी    शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार क्षेत्रमा आमुल परिवर्तन    केही ऐन तथा कानून संसोधन (बाझिने खालका) विकास निर्माणसम्बन्धि  सार्वजनिक नियुक्तिमा समानता र पारदर्शिता ​  देशको आर्थिक समस्याको समाधान    आर्थिक समस्यालाई सुधार्नका लागि निम्न प्रकारका क्षेत्रलाई प्राथमिकतामा राख्न आवश्यक छ । १) पर्यटन (आन्तरिक र बाह्य ) २) उद्योग कलकारखाना स्थापना तथा वृद्धि र स्तरोन्नति ३) कृषि, पशु, वन, जंगल ४) जलविद्युत परियोजना ५) निजि क्षेत्रसँगको सहकार्य (उद्योग सञ्चालन र वृद्धि ) ६) लगानी सम्मेलनमार्फत आर्थिक भित्राउने अभियान ७) आर्थिक उत्पादन गर्ने स्थानीय तह र प्रदेशलाई प्रोत्सहान र पुरस्कार ८) जडिबुटी उत्पादन, बजारीकरण र नियमन (गुणस्तर परिक्षणसहित) ९) प्राकृतिक स्रोत तथा साधनको व्यापक उपयोग (राजन सुवेदी कस्कीको रुपा गाउँपालिका २ का वडाध्यक्ष हुन् ।)  

काठमाडौं:    अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, “मेरो लक्ष्य धनी हुनु होइन, मात्र आर्थिक स्वतन्त्रता पाउनु थियो तर म धनी हुन पुगेँ ।” यस भनाइका आधारमा हामीले हाम्रो लक्ष्य आर्थिक स्वतन्त्रता हो वा सुरक्षा निक्र्यौल गर्नु जरुरी छ ।  मुकारले जस्तै आफूभित्र भएका स्वतन्त्रताको सम्भावनालाई जगाऔँ । गरिब र मध्यम वर्गका हरेक व्यक्ति आर्थिक स्वतन्त्रताभन्दा सुरक्षाको खोजीमा हुन्छन् । विशेष गरेर लगानी, उद्यमशीलता तथा व्यवसायभन्दा रोजगारी र ज्यालामा बढी भरोसा मान्ने स्वभावका हुने गर्छन् ।       वास्तवमा तिनीहरु जेलाई सुरक्षित भनिरहेका छन् त्यो नै सबैभन्दा जोखिम हुने गर्छ । खासगरी नोकरीलाई जति मायाका साथ सुरक्षित ठानेका छन्, त्यो नै सबैभन्दा जोखिम हो । हाम्रा नीति, नियम र कानुनहरुलाई हे¥यो भने हामीले सुरक्षित ठानेको जागिरमा के कति जोखिम छ थाहा पाइहाल्छौँ । सम्झनुहोस्  तपाईंले सबैभन्दा सुरक्षित ठानेको निजामती सेवा वा सरकारी संस्थानका नोकरीहरु किन असुरक्षित बन्न सक्छ ? तपाईं शारीरिक वा मानसिक रुपमा अशक्त हुनु भयो भने नेपाल सरकारले के तपाईंलाई तलब दिइरहन सक्छ ? पक्कै सक्दैन ।  सामान्यतया ९० दिन बिनाजानकारी गयल हुनुभयो भने पत्रिकामा सूचना निकालेर नोकरीबाट बिदाइको प्रक्रिया सुरु हुनेछ । अझ निजी संस्थामा त्योभन्दा कम केही दिन वा हप्तामा नै जागिर हुनेछ ।  तर एउटा मध्यम परिवारका मान्छे त्यसैलाई सुरक्षित ठान्छ र ‘धनी बुबा गरिब बुबा’ पुस्तकका लेखक रोबर्ट टी. कियोसाकीले भने जस्तै ‘मुसा दौड’ मा आफूलाई बाँचुन्जेल दौडाइरहन्छ । धनीहरु यसैका लागि पैसाको खेल खेल्छन् तर गरिबहरु यसलाई बुझेर व्यावसायिक प्रणाली विकास गर्नुभन्दा तलब र पदोन्नतिका लागि बढी मरिहत्ते गर्छन् ।      ‘द प्याराबल अफ द पाइपलाइन’ मा लेखक बर्क हेजेसले दुई पात्र पाब्लो र बु्रनोको उदाहरण प्रस्तुत गर्दै एउटा सामान्य मान्छे कसरी धनी बन्न सक्छ ? कसरी आम्दानीको प्रणाली विकास गर्न सक्छ ? र कसरी सम्पत्ति सिर्जना गर्न सक्छ ? यसले कसरी धनी बनाउन सक्छ ? भनेर प्रस्तुत गरेका छन् ।  खासगरी ब्रुनो र पाब्लो एउटा गाउँमा बाल्टिनमा पानी बोकेर बेच्न तल्लीन रहन्छन् तर पाब्लो हाललाई ब्रुनोले भन्दा कम आम्दानी भए तापनि सँगै गाउँदेखि खोलासम्म पाइपलाइन बिच्छ्याउन थाल्छ तर जब ‘पाइपलाइन’ ओच्छाएर सफलता मिल्छ तब दीर्घकालमा बु्रनोको भन्दा धेरै आम्दानी पाब्लोको हुन जान्छ ।  अर्थात् पाब्लोबाट ऊ ‘पाब्लो द पाइपलाइन विल्डर म्यान’ बन्न पुग्छ तर ब्रुनो ‘बकेट क्यारियर’ अर्थात् ‘बकेट म्यान’ नै भइरहन्छ । पाब्लो आर्थिक रुपमा स्वतन्त्र हुन पुग्छ, ऊ जाँदा वा नजाँदा, बिरामी हुँदा वा नहुँदा सबै अवस्थामा आम्दानी भइरहन्छ तर ब्रुनो आफैँले काम गर्दा मात्र आम्दानी हुन सक्ने अवस्थामा रहन्छ । सधैँ ‘टाइम फर मनी ट्र्याप’ मा परिराख्छ ।       धनीहरु सधैँ पाब्लो जस्तै पाइपलाइन बिच्छ्याउन रुचाउँछन् । उनीहरु जान्दछन् पाइपलाइन नै ‘लाइफलाइन’ हो । आर्थिक स्वतन्त्रताका लागि हरेकले आफ्नो आम्दानीको पाइपलाइन बनाउन आवश्यक छ ।  हरेक धनीसँग आफू जान चाहेको गन्तव्यको स्पष्ट मार्गचित्र हुने गर्दछ । गरिबहरु हावामा मुक्का हाने जस्तै जिन्दगीको बास्केटबलमा बिनाबास्केट ‘स्कोर’ गर्न खोज्छन्, अझ अगाडि बढेरभन्दा गोलपोष्टबिना नै फुटबलमा गोल गर्न रुचाउँछन् । यसले उनीहरुलाई उद्देश्यहीन र दिशाहीन यात्रामा बरालिदिन्छ तर धनीहरु सधैँ स्पष्ट ‘ब्लुप्रिन्ट’ बोकेर आफ्नो यात्रामा लम्कने गर्दछन् । सम्पत्तिका विषयमा हामी स्पष्ट हुन आवश्यक छ ।      सिक्नका लागि काम गरौँ, कमाउनका लागि होइन        धनीहरुले पनि जागिर गर्नेगर्छन् तर कहिले त्यसैबाट आर्थिक स्वतन्त्रता पाउने विश्वास गर्दैनन् । केवल अनुभव, सीप, बचत र ज्ञान लिनका लागि रोजगारी गर्ने गर्छन् । उनीहरु नोकरीसँग त्यस्तो प्रेम गर्दैनन् जुन मध्यम परिवारकाले गर्ने गर्छन्, जसको भरोसामा जीविकोपार्जन र सेवानिवृत्त कुर्न सक्छन् तर धनीहरु कहिले आफ्नो समय पैसाका लागि बर्बाद गर्न तयार रहँदैनन् ।  उनीहरुलाई थाहा छ समय सीमित छ तर पैसा असीमित छ । १२ महिना काम गरेर केवल आठ महिनाको मात्रै पारिश्रमिक पाइन्छ, करिब ३० प्रतिशत अर्थात् चार महिनामाथिको ज्याला पहिला कर तिरेर भुक्तानी हुने महिना वारि वा पारि जान नदिने अभियानले मानिसको समृद्धि र सम्पन्नताको ढोका ढक्ढक्याउन सक्दैन । यसैले नोकरीभन्दा थप केही गर्न आवश्यक छ ।      छुटको ‘अफर’      धनीहरु पनि सेलमा खरिद गर्न रुचाउँछन् तर गरिबहरुले जस्तो दरबारमार्ग र महलहरुमा होइन । उनीहरुलाई थाहा छ, ती सेलहरुमा गरिएको खर्च कहिले फर्केर आउन सक्दैन ।  यसैले उनीहरु शेयर बजार, रियलस्टेट र प्रतिफलमुखी लगानीका क्षेत्रहरु जहाँ पैसा बनाउन सकिन्छ त्यस्तो स्थानमा सेल लाग्दा किन्न रुचाउँछन् । सबैभन्दा गम्भीर प्रश्न केहो भने ‘वारेन्ट बफेट’ले भने जस्तै तिमी आफूलाई नचाहिने वस्तु जम्मा गरेर बस्छौँ भने त्यसको बदलामा चाहिने सामान छुट्ने छ । यसैले सेलमा जानुभन्दा पहिला त्यसलाई बुझ्ने कोशिस गरौँ ।      पहिला आफूलाई भुक्तान गरौँ       एउटा सामान्य व्यक्ति त्यही गर्छ जो हामी गर्ने गर्छौं अर्थात् आम्दानीबाट सबैभन्दा पहिला खर्च, नपुगेमा कर्जा सापटी र त्यति गर्दा पनि पैसा नसकिएमा बल्ल आफूलाई भुक्तानी गर्ने आम मानिसको आदत हो । बेबिलानको ‘सबैभन्दा धनी मानिस’ पुस्तकमा लेखक जर्ज एस। क्लासनले खाली पर्स भर्ने सातवटा  तरिका बताएका छन् । त्योमध्ये ‘सबैभन्दा पहिला आफूलाई भुक्तान गर्नूहोस्” एक चर्चित तरिका हो ।       ‘हरेक बिहान १० वटा अण्डा बास्केटमा राख्नुभयो र साँझमा नौवटा मात्रै निकाल्न थाल्नुभयो भने त्यो बास्केट भरिन कति समय लाग्ला सजिलै अनुमान गर्न सकिन्छ । अर्थात् धनीहरुले १०÷९० को त्यो सूत्र सिकेका छन् । यसैले सबैभन्दा पहिला जुनसुकै अवस्थामा पनि १० प्रतिशत आफूलाई भुक्तान गर्छन् अनि मात्रै बाँकी खर्च गर्ने गर्छन् ।’ उनीहरु पैसालाई काममा कसरी लगाउने जान्दछन् । तर एउटा गरिब व्यक्ति आम्दानी बढेसँगै खर्च बढाउन थाल्छ, अनि खर्चलाई नियन्त्रण गर्न सक्दैन । यो नै सबैभन्दा महाभूल हो ।      धनको अनौपचारिक शिक्षा पढौँ      स्कुल शिक्षा र भान्छाको टेबलमा हुने शिक्षाको तागत फरकफरक हुने गर्छ । राज्य र शिक्षा नीति नागरिकलाई आर्थिक स्वतन्त्रताभन्दा पैसाको दासत्व स्वीकार्न लगाउने प्रकृतिको छ ।  रोबर्ट टी कियोसाकीले भने जस्तै ‘९७ प्रतिशत मानिससँग भएको सम्पत्ति र तीन प्रतिशत धनीसँग भएको धनदौलत बराबर हुनुको एउटै कारण अनौपचारिक शिक्षा हो ।’  उनको तर्क छ हरेक धनी व्यक्ति र सामान्य व्यक्तिले स्कूलमा लिएको शिक्षा समान छ तर उमेर बढ्दै जाँदा सम्पत्तिको मामलामा नतिजा किन फरक आउँछ ? कारण एउटै छ ती तीन प्रतिशत सम्भ्रान्त व्यक्तिले औपचारिक शिक्षाको साथ घरमा नै थप अनौपचारिक शिक्षा पाउन सफल भए । यसैको परिणाम धनको सम्बन्धमा अनौपचारिक शिक्षा पाउनेहरुले जागिरका लागि तयार पार्ने, लोकसेवाका लागि प्रोत्साहित गर्ने र पैसाको लागि मेहनत गर्न सिकाउने सीमित शिक्षा लिएकाहरुलाई काममा लगाएर आफू आर्थिक स्वतन्त्रता पाउन सफल भए ।       औपचारिक शिक्षाले हाम्रो सोच यसरी डो¥यायो कि दशैँको टीका लगाउँदा र जन्मोत्सव मनाउँदासमेत आफ्ना सन्ततिलाई आशीर्वाद दिँदा ‘स्कूल जाऔँ, राम्रो नम्बर ल्याऔँ र सुरक्षित जागिर खोजौँ’ भन्ने गर्छौं हामीले कहिले स्वीकार गरेनौँ ।  स्कूलमा त पैसाका बारेमा सिकाइ हुँदैन, बरु सबै समस्याको जड पैसालाई देखाइन्छ । जुनकुरा धनीहरुले बुझे र आफ्ना सन्तानहरुलाई पलङको सिरानीमा पल्टँदै गर्दा सिकाउन र थाले तर कमजोर परिवारकाले थाहा नै पाउन सकेका छैनन् । धनको जादुका लागि औपचारिक मात्र नभई अनौपचारिक शिक्षा मूल कुरा हुन आइपुगेको छ ।       लगानीमा भिन्नता हेरौँ       धनीहरु घाँटीमाथि लगानी गर्ने गर्छन्् । तालिम, शिक्षा र प्रशिक्षण दिएर आफ्नो दिमागी कसरत गरिरहन्छन् । एउटा धनसम्बन्धी सूत्रमा अभ्यस्त भएपछि फेरि नयाँ सूत्र सिक्न थाल्छन् ।  उनीहरुलाई के थाहा छ भने त्यो गरीब होस् वा धनी हरेक व्यक्ति पैसा आउने काम दोहो¥याएर गर्ने गर्छ । गरिबहरु मान्नुहोस् बिहान मन नभएर पनि एउटा सवारी चालक पैसाका लागि साधन लिएर सडकमा निस्कन्छ ।       अर्को जागिरे रातभर आफ्नो नोकरीलाई गाली गरेर पनि १० बजे कार्यालयमा पुग्न हतारिन्छ तर धनीहरु पनि पैसाका लागि एउटै काम बारम्बार गर्ने गर्छन् तर उनीहरु आफूलाई मन परेको काम गर्ने गर्छन् ।  यसका लागि उनीहरुमा सिक्ने क्रम तबसम्म चलिरहन्छ जबसम्म आफूमा निपूर्णता आउँदैन । उनीहरु सिक्न रमाउँछन् तर एउटा मध्यम परिवारको मानिस घाँटीभन्दा तल लगानी गर्न रुचाउँछ ।  आफूलाई सम्पन्न देखाउन ब्रान्डेड कपडा, जुत्ता र चस्मामा लगानी गर्छ । अझ साथी र छिमेकलाई देखाउनकै लागि ठूला घर र गाडीहरु खरिद गर्छ । कहिले फिर्ता नहुने दायित्व बनेर भरिएको पर्स रित्ताउन मात्रै लागिपर्छ । यसले प्रतिफल दिन सक्दैन जुन कुरा धनीहरुले बुझेका हुन्छन् ।       प्रतिफल छिटो हुन सक्छ तर छोटो बाटो असम्भव       आफैँ अर्बपति बनेकाहरु हेनरी फोर्ड र थोमस एडिसनजस्ता दुई हजारभन्दा बढी सफल व्यक्तिका बारेमा २० वर्ष लगाएर अध्ययन गरी लेखिएको ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ पुस्तकका लेखक नेपोलियन हिलले लेखेका छन्, “‘गर्भे चिट्ठा’ नपरेका अर्बपतिहरुले कहिले छोटो बाटोबाट आफूलाई स्थापित गर्न सकेनन् र छोटो बाटोको रुचि पनि राखेनन्, जब सफलता नजिक आएको थाहा पाए तब छिटो हुने उपाय भने खोजी गरेको देखियो ।”  कैयौँ छिटो सफल पनि भए ।       स्वयं वारेन्ट बफेटलाई हेर्ने हो भने जीवनको आठ दशक लगानी गरेर उनले बनाएको सम्पत्ति यदि त्यसको आधा दशक मात्रै गरेर छोडिदिएका भए के आजको यो सम्पन्नता सम्भव थियो ? अवश्य थिएन ।  यसैले धनीहरुले कारोबारी भएरभन्दा व्यवसाय र उद्योग नै स्थापना गरी लामो समयको अन्तरालमा शेयर बेचेर धनी भएको देखिन्छ । शेयर किनेर मात्र नभई सम्पत्ति सिर्जना र त्यसको शेयर बेचेर धनी हुन जान्नु आवश्यक छ ।  तर गरिबहरु आजको केही दिन वा हप्तामा लगानी गरेको दोब्बर वा कैयौँ गुणा सम्पत्ति बढ्ने लोभमा लगानी गर्ने गर्छन्, त्यो लगानी र व्यवसायमा सम्भव छैन । त्यसका लागि चिट्ठा किन्नु उपयुक्त हुन्छ । यसैले बफेटले भने जस्तै ‘लामो गतिमा दगुर्ने घोडामा बाजी लगाउनेहरुले कहिले हार्नु पर्दैन’ । धनीहरुले त्यो जानेका हुन्छन् ।       समग्रमा धनीहरुले मानिसको दिमागमा संसार हल्लाउन आउने विचारलाई कसरी वस्तुमा परिर्वतन गर्न सकिन्छ निरन्तर सिकिरहेका हुन्छन् । नयाँ सोच विकास गर्न र विकास भएका सोचलाई धनमा बदल्न आफूलाई निरन्तर प्रशिक्षित गर्दै आएका छन् ।  पैसाको सिद्धान्त पढेर नभई अभ्यासबाट मात्रै सम्भव देखिन्छ । यसैले धनीहरु शून्यबाट एक हुन सम्पत्ति सिर्जनाका नयाँ खोजमा निरन्तर आफूलाई लगाइरहेको देखिन्छ ।  सम्पत्तिको परिभाषा फेरिएर ‘टाइम इज मनी’ को स्थानमा ‘आइडिया इज मनी’ हुन आइपुगेको छ । संसारका केही धनीलाई उदाहरणका रुपमा लिने हो भने एलन मक्सले विवाइडी इलेक्ट्रिक भेकल, जेब बेजोफले अनलाइन कारोबार अमेजन र जुर्कर वर्कले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सम्पत्ति सिर्जना गरेर विश्वमा राज गरिरहेका छन् । हाल एलन मक्स न्युरोलिङ्कमार्पmत सम्पत्ति सिर्जना गर्न तल्लीन छन् ।       सबैभन्दा चाखलाग्दो विषय त आर्टिफिसियल इन्टेलिजेन्ट (एआई), द्रुतगतिको इन्टरनेट र रोबर्टको विकास जस्ता आधुनिक प्रविधिले गर्दा हिजो पाँच÷छ दशकमा जन्मने अर्बपति अहिले दुई÷तीन वर्षमा सजिलै सम्भव बनेको छ, जुन अनुसन्धान र विकासमा धनीहरु निरन्तर छन् ।  अर्कोतिर धनीहरु सधैँ छिटोभन्दा छिटो आर्जित आय (तलब र ज्याला आदि) लाई निष्क्रिय आय (भाडा र ब्याज आदि) र पोर्टफोलियो आय (शेयर र बन्डलगायत कागजी सम्पत्ति आदि) मा रुपान्तरण गर्न सक्रिय रहने गर्छन् ।  उनीहरुले बुझेका हुन्छन्, आर्जित आयलाई जतिछिटो बिर्सन सकिन्छ र बाँकी दुई आयको आकार र क्षेत्र बढाउन सकिन्छ । ‘फाइनान्सियल इनडिपेन्डेन्सी’ पुस्तकमा लेखक ग्रेन्ट सबाटियरले भने जस्तै ‘जीवनमा उति चाँडो आर्थिक स्वतन्त्रता र सेवा निवृत्ति लिन सम्भव छ’ ।  यसैले हरेक व्यक्तिले आम्दानीको पाइपलाइन, सम्पत्ति सिर्जना र आय रुपान्तरण कला जान्न, सिक्न र आफ्ना बालबालिकालाई सिकाउन थालौँ । धनीले कसरी खेल्छन् पैसाको खेल रु पढेर मात्रै पुग्दैन अलिकता अगाडि बढेर आफ्नो जीवनमा अभ्यास गरेर हेरौँ ।   (लेखक शेयर बजारका जानकार हुनुहुन्छ)

काठमाडौं:     साउन महिना बहुत मोहक र मादक हुन्छ ।  यतिखेर बर्सिएको रिमझिम वर्षामा सर्वत्र उल्लास छाइरहेको हुन्छ,  प्रकृतिका जीव, जीवात्मामा आनन्दको बीज फुटिरहेको हुन्छ, झिलिकमिलिक चम्किएको बिजुलीले आकाशको शोभा बढाइरहेको हुन्छ, आकाशमा नीलो चमकदार रङको बादल छाएर सप्तरङ्गी इन्द्रधनुष देखिन थाल्छ, चराचर जगत्मा हरियाली छाइरहेको हुन्छ । धर्तीको यस्तो अपूर्व सौन्दर्य देखेर बादलले प्रेमीको रूप धारण गर्छ । प्रेमरूपी वर्षा गराउन थाल्छ र हाम्रा स्वभावहरू पनि प्रकृतिअनुसार बदलिइरहेका हुन्छन् ।      साउनले हामीभित्रको प्रकृतिलाई पनि झक्झकाइरहेको हुन्छ । पूर्वीय वैदिक सभ्यतामा शिव प्रकृतिसँग जोडिएका छन् । जीवनको मूल तत्त्व भन्नु नै सत्यम्, शिवम्, सुन्दरम् हो । भगवान् शिव प्रकृति स्वरूपा हुन् । चार अक्षरले बनेको भगवान् शब्द आफैँमा प्रकृतिसँग जोडिएको छ जुन ‘भग’ र ‘आन’ मिलेर बनेको छ जसको अर्थ हुन्छः ‘भ’ को अर्थ भूमि, ‘ग’ को अर्थ गगन, ‘व’ को अर्थ वायु, ‘अ’ को अर्थ अग्नि र ‘न’ को अर्थ नीर९जल० ।      मानव शरीर यही पञ्च महाभूतले बनेको छ । यो पञ्च तत्त्व नै रुद्र हो । जन्मबाट मोक्षसम्म हाम्रा साथमा जे जान्छ,  त्यो नै शिव हो जुनबिना प्रकृति छैन, पूजा छैन, जीवन छैन, मृत्यु पनि छैन । देवाधिदेव महादेव हाम्रा आलोक हुन्, भूमण्डल हुन् । अरू देवीदेवताको जन्मकथा प्रचलित छ तर उनी अजन्मा छन् । सृष्टिको रचनापूर्व पनि शिव नै थिए, सृष्टिको समाप्तिमा पनि उनी नै रहनेछन् । उनको अर्धनारीश्वर रूपले प्रस्ट प्रकृति ९महिला० र पुरुष दुवै उनै हुन् । वैदिक मान्यतानुसार उनी अनन्त हुन्, निर्माता हुन्, संहारक हुन्, अँध्यारो हुन्, उज्यालो हुन्, आन्दोलन हुन्, शान्ति हुन् ।      पृथ्वीको सारा शक्ति यहवी पञ्चाक्षरी मन्त्रमा टिकेको छः ॐ नम शिवायः । ॐ शिवजीको एउटै महामन्त्र हो । ॐ शब्द अ, उ र म मिलेर बनेको छ जसको सम्बन्ध पनि प्रकृतिसँगै छ ः अ– आकार अर्थात् मस्तिष्क, उ –उकार अर्थात् उदर र म – मकार अर्थात् मोक्ष ।      हाम्रा सारा क्रियाकलाप त्यही शिवतत्त्वद्वारा निर्धारित हुन्छ । हाम्रा आचरण, व्यवहार, कर्म, भोगाइ सबैमा शिव छन्, लोकका नशानशा प्रवाहित छ्न् । हाम्रा लोकगाथाहरू सुरु गर्दा एकादश रुद्रको आराधना नगरी सम्पन्न हुन सक्दैन भन्ने तथ्य पूर्व अरूण उपत्यकाको सङ्कलनमा रहेको मारूनी नाच्दा बन्धन बाँधिने शशीका यी गेडाहरूले व्यक्त गर्छन्ः      ‘एकै र मुखे रुद्राक्ष माला हो गला है भिराँैला      सखी गला है भिरौंँला      जन्तरै बाँधौँला, मन्तरै बाँधाँला      जुरावन्ती नारी हो सखी शरण ’      वैदिक सभ्यताअनुसार साउन शिवको अति प्रिय महिना हो । शिवत्व भनेको तपस्या, ध्यान र चिन्तनको बाटो हो । जब हामी यस बाटालाई अँगाल्छौँ, तब हामीमा शक्ति र ऊर्जा प्राप्त हुन्छ । यसबाट हामी अभय हुन्छौँ । जब हामीभित्र ऊर्जा प्रवाहित हुन्छ, शिव नृत्य गर्न थाल्छन् । प्रकृति आफ्नो रसरागसहित लीला गर्ने हुनाले पनि शिवलाई साउन प्रिय छ । वर्षको चौथो महिनाले हामीभित्रको प्राकृतिक शक्तिलाई बुझ्ने अवसर पनि प्रदान गरिरहेको हुन्छ । तप, ध्यान र चिन्तनद्वारा साउनमा शिवजीसँग गरिने साक्षात्कारले हामीलाई दिव्य प्रकृति र परम तत्त्व बुझ्ने अवसर प्रदान गर्छ ।      साउनमा महादेवलाई जल चढाइन्छ । पौराणिक कथानुसार समुद्र मन्थन गर्दा कालकूट विष निस्कियो । त्यसले सारा संसारलाई दग्ध गर्न खोजेपछि उनले त्यसलाई आफ्नो गलामा स्थापित गरे । यसरी उनको नाम नीलकण्ठ राखियो । विषको जलन रोक्न सारा देवताले गङ्गाजल चढाए । गङ्गा जलले शङ्करको जलन शान्त भए झैंँ साउनले धर्तीको जलन शान्त पार्छ । यसैले पनि साउन र शिवको गहिरो र सम्बन्ध छ ।      साउन महिना शिवको भक्तिको महिना हो ।  पुराणानुसार यो श्रावण नक्षत्र पूर्णिमामा पर्छ । त्यसैले साउनलाई श्रावण पनि भनिएको हो । हिन्दू पञ्चाङ्गानुसार वर्षको पाँचौँ महिना साउन महिना पर्छ । यसलाई हिन्दू आस्थाको प्रतीक मानिन्छ जुन प्रत्यक्ष रूपमा धार्मिक भावना र आस्थासँग जोडिएको छ । यतिखेर हिन्दू देवीदेवताका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । प्रायः यतिखेर शाकाहार भोजन गरिन्छ, व्रत, उपवास गरिन्छ, शिव महिमाको गीत गाइन्छः     ‘उनै शिवजीको उनै शिवजीको       नागको माला, बाघको छाला       उनै शिवजीको’      हिन्दू धर्ममा सोमबारको सधैँ  महत्त्व छ तर साउनको सोमबारको विशेष महत्व छ । यो सोमबार पूर्णतः शिवमा नै समर्पित छ । यतिबेला महिला, पुरुष दुवै व्रत बस्छन्, उपासना गर्छन् । विशेषगरी कुमारीहरू शिव जस्तै वर पाइयोस् भन्ने कामना गर्दै व्रत बस्छन् ।      सोमबारको व्रतबारे लोकमा एक कथा प्रचलित छः कुनै दिन शिव र पार्वती अमरावती नामक सहरको नजिकबाट जाँदै थिए ।  दुवै आराम गर्न एउटा मन्दिरमा रोकिए  र समय बिताउनलाई खेल खेल्न थाले ।  खेलका क्रममा पार्वतीले पुजारीलाई कसले जित्छ भनेर भविष्यवाणी गर्न आग्रह गरिन् । पुजारी शिवको भक्त थियो । उसले सोचविचार नगरी आँखा चिम्लिएर शिवले जित्ने ठोकुवा ग¥यो । पछि पार्वतीले खेल जितिन् । उमाले  उसको लापरबाहीका निम्ति  कोढी हुनु परोस् भन्ने श्राप दिइन् ।   पुजारीलाई धेरै समयसम्म कोढी भएर बस्नु प¥यो । एक दिन स्वर्गबाट आएका परीहरूले उसलाई सोमबारको व्रत लिने सल्लाह दिए । व्रतपश्चात् ऊ पूर्ण रूपमा स्वस्थ भयो । सो घटनाको बेहोरा टाढाटाढासम्म फैलियो । त्यही दिनदेखि सो व्रतलाई प्रभावशाली मान्न थालियो । यसैले पनि साउनको सोमबारको विशेष महत्त्व छ ।      शिवरात्रि भन्ने बित्तिकै हाम्रो मानसपटलमा फागुनको महाशिवराशि आउँछ तर एक वर्षमा बाह्र शिवरात्रि  पर्छ । त्यसमध्ये एउटा साउनको शिवरात्रि हो । यो शिवरात्री श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिमा पर्छ । यस दिनलाई विशेष महत्त्वको मानिन्छ । यही दिन काँवर यात्रीहरूले बोल बमका नारा घन्काउँदै शिवालयमामा जलले अभिषेक गर्छन् ।       शिव कल्याणकारी हुन् । उनी मात्र एक लोटा जलले पनि प्रसन्न हुन्छन् तर पनि साउनमा महादेवको पूजाको दौरान भक्तजनहरूले बेलपत्रसँगै बेलको फूल पनि चढाउँछन् । भनिन्छ यो फूल शिवको प्रिय फूल हो । यो फूल चढाउनाले पतिपत्नीबीचको सम्बन्ध गाढा हुनाका साथै सन्तान प्राप्तिको आशीर्वाद मिल्छ भन्ने लोकविश्वास छ । यो महिना उनलाई भाङ पनि चढाइन्छ । पुराणको कथानुसार विष पान गरेपछि उनको डाह शान्त पार्ने जडिबुटीमा भाङ पनि सामेल गरिएको थियो । उनको अर्को प्रिय फूल धतुरोको फूल हो । भक्तहरूले प्रायः यो फूल पनि चढाउँछन् ।       महादेवलाई अभिषेक गर्दा काँचो दुध पनि चढाइन्छ । यसलाई शुद्ध र पवित्र मानिन्छ । काँचो दुध चढाउनाले भक्तको मनोकामना पूर्ण हुन्छ भन्ने लोकविश्वास छ । शिवको पूजाका दौरानमा शिवलिङ्गमा मह पनि चढाइन्छ । यसो गर्नाले सबै पाप हट्नाका साथै व्यक्तिलाई मोक्ष प्राप्त हुन्छ भन्ने कथा प्रचलित छ । पूजा गर्दा ज्यादाजसो यस्ता मन्त्र जपिन्छः     ‘ॐ त्रयम्बकं यजामहे सुगन्धित पुष्टि वर्धनमं ।     उर्वारुकमिव बन्धनाम् मृत्योमुक्षीय मामृतत ।     कर्पुर गौरं करुणावतारं, संसार सारं भुजगेन्द्रहारं     सदा वसतं हृदयारविंदे, भवं भवानीसहितं नमामी ।’      शङ्करको प्रिय साउनमा धार्मिक आस्थासँग जोडिएका ऋषितर्पणी (जनैपूर्णिमा), गाईजात्रा, हरिशयनी एकादशी आदि पनि पर्छन् । यो महिना किसानका निम्ति पनि महत्त्वपूर्ण मानिन्छ । यतिखेर बर्सिएको वर्षा बालीनालीका निम्ति अमृत समान हुन्छ । ग्रीष्मको भीषण तापले सुकेका ताल, तलाउ, पानीका मुहानमा पनि यतिखेर नवजीवन सञ्चार भइरहेको हुन्छ । यी सबैका पछाडि  शिरमा गङ्गा बोकेका शिवले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् भन्ने जनविश्वास छ ।       वास्तवमा साउन प्रकृति, ईश्वरसँग जोडिने र शिवभक्तिका निम्ति उत्तम महिना हो । शिव हाम्रा आदिदेव हुन् । उनको स्मरणले मात्र पनि हाम्रा दुःखहरू टाढा भाग्छन्। ॐ नम शिवाय:  (लेखक नेपाली लोकसाहित्य र संस्कृतिका जानकार हुनुहुन्छ)

काठमाडौं:      इतिहासको खोज र लेखनमा आजीवन आफूलाई समर्पित गरेका साधक ज्ञानमणि नेपालले ९२ वर्षको उमेरमा भौतिक देह त्याग गरेको धेरै समय भएको छैन ।  उनको साधनाबाट तीन दर्जनभन्दा बढी इतिहासका महत्वपूर्ण ग्रन्थहरु नेपाली समाजले प्राप्त गर्नु सामान्य उपलब्धि होइन । नेपाल देशको नाम कसरी नेपाल रहन पुग्यो भन्ने विषयको जिज्ञासा मेट्न उनले लेखेको “नेपाल निरुक्त” र “नेपालनिरुपण” पढे पुग्छ ।  इतिहासमा लामो कालखण्ड नेपाली राजनीतिको केन्द्रको रुपमा रहेको राजदरबारभित्र हुने गरेका षडयन्त्र, काटमार र खतरनाक खेलचुक्लीले देश कहाँ पुग्यो भन्नेबारे जिज्ञासा मेट्न उनको “नेपालको महाभारत” पढे पुग्छ ।  यस्ता महत्त्वपूर्ण इतिहासका ग्रन्थहरु देशका लागि समर्पण गरेर भौतिक रुपमा यो संसारसँग विदा माग्ने बेलामा पनि उनको सक्रिय चेतनाले नेपालको इतिहाससम्बन्धी चिन्ता ब्यक्त गरिरहेको उनीसँग भेट गर्न जानेहरुको अनुभव पढ्दा र सुन्दा थाहा हुन्छ । तर एउटा दुःखको कुरा के भने यतिका वर्ष इतिहासकार ज्ञानमणि नेपालले देशको इतिहास अन्वेषण र लेखनमा आफूलाई समर्पण गरे तापनि उनलाई राष्ट्रिय स्तरका पुरस्कार र सम्मान मिलेको खबर सुन्ने, हेर्ने र पढ्ने अवसर पाइएन ।  उनको छाँतीमा तक्मा सजिएको पनि देख्न पाइएन । यस अर्थमा ज्ञानमणि नेपालले देशका लागि जे जति दिए, बरु जीवनमा केही नलिई गए । सायद गीताको निष्फल कर्मप्रति उनलाई विश्वास थियो, त्यसैले यसबारे उनले कतै कहीँ गुनासो गरी लेखेको वा अन्तर्वार्ता दिएको पढ्न, हेर्न र सुन्न पाइएको छैन । ज्ञानमणि नेपालजस्ता सच्चा साधकले पुरस्कार वा सम्मान मागेर हिड्न पनि सुहाउने कुरा पनि भएन । यो त पुरस्कार तथा सम्मानका संस्थापक र ब्यवस्थापकहरु स्वयम्ले मूल्याङ्कन गर्ने पक्ष हो ।  तर इतिहासकार नेपालको जीवनभर उनको पक्षमा यस्तो मूल्याङ्न भएको देखिएन । अर्का इतिहासकार दिनेशराज पन्तका शब्दमा इतिहासकार नेपाल मुर्खमण्डलीको घेराबन्दीमा परे । मुर्खमण्डलीले इतिहासकार नेपालको योगदानको बारेमा सोधीखोजी गर्न आवश्यक नै ठानेन । हराउँदैछ विद्वत पूजा परम्परा राजा जनक यस्ता राजा थिए, जसको दरबारमा विद्वानहरुको नियमित जमघट हुन्थ्यो, शास्त्रार्थ चल्थ्यो । शास्त्रमा ठूलो विश्वास थियो, राजा जनकमा । राजा जनककै समयमा एउटा अत्यन्तै तीक्ष्ण दिमागका किशोर थिए । उनको शरिर आठ ठाउँमा बाङ्गिएकाले उनको नाम नै अष्टाबक्र थियो । शरिर अनाकर्षक र कुरुप भए पनि अष्टाबक्र साधनाले खारिएको दार्शनिक र शास्त्रज्ञानी थिए । एक दिन राजा जनक घुम्न निस्किएका थिए । उनले बाटामा ऋषि भेषधारण गरेका एक ब्यक्तिलाई देखे । उनी तत्कालै घोडाबाट ओर्ले, र ऋषिलाई प्रणाम गरे । तर ऋषिको अत्यन्तै अनौठो र अनाकर्षक शरिर देखेर राजा जनक तीनछक्क परे ।  अष्टाबक्रले थाहा पाइहाले कि, राजा जनकले आफ्नो शरिर देखेर आफूप्रति घृणाको धारणा बनाइरहेछन् । त्यसपछि उनले राजा जनकलाई भने,“हे, राजन् १ कुनै पनि मन्दिर टेढो भएर त्यो माथिको आकास टेढो हुँदैन । कुनै पनि मन्दिर गोलो वा लाम्चो हुँदैमा आकास पनि गोलो वा लाम्चो हुने होइन । किनकी आकासको मन्दिरसँग कुनै सम्बन्ध हुँदैन ।  आकास मन्दिरजस्तो आकारयुक्त हुँदैन, निराकार हुन्छ । त्यस्तै आत्मा पनि निराकार हुन्छ । आत्मा आकासजस्तै निराकार भएकैले नित्य हुन्छ, तर शरिर अनित्य हुन्छ । शरिरको बाङ्गोटिङ्गो आकार आत्मामा आउन सक्दैन । त्यसैले हे, राजन् ! ज्ञानीहरुसँग आत्मदृष्टि रहन्छ भने अज्ञानीसँग केवल चर्मदृष्टि रहन्छ । चर्मदृष्टि त्यागेर आत्मदृष्टि ग्रहण गरी जब हेरिन्छ, तब चित्तबाट घृणा दूर भएर जान्छ । चर्मदृष्टिबाट त अज्ञानीले मात्रै हेर्छ, ज्ञानीहरुले चाहिँ आत्मदृष्टिबाट हेर्छ ।”      अष्टाबक्रको यस्तो विद्वत वाणीले राजा जनक तत्काल पग्लिहाले । उनले अष्टाबक्रलाई आफ्नो दरबारमा आउन निम्तो दिए । आफ्नो दरबारमा सम्मानजनक आसनमा बसाई राजा जनकले अष्टाबक्रसँग अनेकौँ जिज्ञासाहरु राखे ।  उनै राजा जनकको प्रश्न र अष्टाबक्राको उत्तरले कालान्तरमा “अष्टाबक्र गीता”को जन्म भयो । यसलाई पूर्वीय दर्शनमा महत्त्वपूर्ण ग्रन्थ मानिन्छ । उनै अष्टाबक्रजस्ता विद्वत प्रतिभाहरुको कदर गर्ने भएकाले राजा जनकको नाम आज पनि श्रद्धाका साथ लिइन्छ । हाम्रो देशमा विद्वानहरुसँग नजिक हुने, उनीहरुसँग जिज्ञासा राख्ने र उनीहरुबाट ज्ञान र दर्शनहरु सङ्ग्रह गर्ने परम्परा क्रमशः हराउँदै जान थालेको छ । त्यसमाथि पनि ज्ञानमणि नेपालजस्ता विद्वत इतिहासकारहरुले बडो मेहनत गरेर तयार पारिदिएका ग्रन्थहरु पढ्ने, त्यसको विश्लेषण गर्ने र पाठ सिक्ने परम्परा अब एकादेशको कथाजस्तै हुन पुगेको छ । यस्तो परम्परा कायम रहे देशमा मुर्ख वा तजबिजी पुस्ताको मात्रै जन्म हुनेछ । विद्वत् पूजा परम्परा हराउँदै जाँदा बौद्धिक जगत पाखा पर्दै जानेछन् । देश र समाजलाई मार्गदर्शन गर्ने पक्ष पाखा पर्दै जाने क्रम जारी रहे देश कहाँ पुग्ला ? विद्वत् पूजाको दूर्लभ अभियान एक जना अभियन्ता छन्, जो लामो समयदेखि विद्वत पूजा अभियानमा एक्लै जस्ता छन् । उनी हुन्, शेषराज शिवाकोटी । लामो समय न्यायसेवामा समर्पित उनी हाल सेवानिवृत्त छन् । उनी विद्वत पूजालाई नै आफ्नो धर्म र कर्म ठान्दै स्वयम्सेवा गरिरहेछन्, लामो समयदेखि ।  शिवाकोटी बेलाबेलामा विद्वत ब्यक्तित्वहरुको सम्मान गर्छन् र उनीहरुलाई केवल ताम्रपत्र र दोसल्लाले सम्मान गरेर औपचारिकता मात्र निर्वाह गर्दैनन्, सम्मानीत प्रतिभाको अभिनन्दन ग्रन्थ नै प्रकाशित गर्छन् ।  एकै व्यक्तिको अभिनन्दन ग्रन्थको सङ्ख्या धेरै पनि हुनसक्छ । उदाहरणका लागि, एकै जना विद्वान नयराज पन्तको विषयमा उनले ३० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित गरेका छन् । जीवित हुँदा १० र निधनपछि २० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित भए । यस्तै रोचक घिमिरेबारे १० र धनबज्र बज्राचार्यबारे नौ अङ्कसम्म अभिनन्दन ग्रन्थ प्रकाशित गरेर विद्वत पूजा परम्परालाई धानेका उनले प्रकाश दर्नालसम्म आइपुग्दा अभिनन्दन ग्रन्थ प्रकाशन हुने “ज्ञानगुन”ले दुई सय २४ अङ्क पार गरिसकेको छ ।  नारायणगोपाल र पारिजातको निधनपछि यस्ता स्मृति र अभिनन्दन ग्रन्थ प्रकाशनमा ल्याउने चलन चलाएका उनले जीवित ब्यक्तित्त्वहरुको पनि अभिनन्दन ग्रन्थ प्रकाशित गर्न पर्छ भन्ने मान्यताका साथ प्रशिद्ध हास्यब्यङ्ग्यकार बासुदेव लुइँटेलबाट यस्तो चलन सुरु गरे ।  हालै भौतिक रुपमा यो संसारबाट टाढा हुन पुगेका इतिहासकार ज्ञानमणि नेपालका बारेमा पनि तीनवटा अभिनन्दन ग्रन्थ शिवाकोटीले प्रकाशनमा ल्याए । शिवाकोटीले २०७९ माघ २७ गते श्रीपञ्चमीमा “ज्ञानगुन”को दुई सय ११ औं अङ्कलाई इतिहासकार नेपालको औँ शुभजन्मोत्सव अङ्कका रुपमा प्रकाशित गरेर नेपालको ९१ औँ जन्म दिनलाई भब्यता प्रदान गरेका थिए ।  यसरी विद्वानहरुको पूजा परम्परा कायम राख्दा शिवाकोटीले ब्यहोर्नु परेको अवस्थाको बान्की पनि अचम्मको छ । कुनै बेला नयराज पन्तको स्मृतिमा कार्यक्रम आयोजना गर्दा एउटा सानो कोठामा आफूसहित सात जना मात्रै भेला हुनु परेको पनि शिवाकोटीका लागि बिर्सिनसक्नुको घटना हुन पुगेको छ । हुन त असल मानिसहरुको सानो जमात् मुर्खमण्डलीको ठूलो भीडभन्दा कैयौँ गुणा उत्तम हुन्छ ।  मुर्खको उपदेशभन्दा विद्वानको गाली महिमायोग्य र उपयोगी हुन्छ । सिद्धार्थ गौतम जब ज्ञान प्राप्त गरेपछि बुद्ध बने, त्यसबेला उनको उपदेश सुन्ने केवल चार जना मात्रै थिए । तिनै चार जना बुद्धको सन्देश बोकेर चारैतिर फैलदा बुद्धका अनुयायीहरु प्रशस्तै जन्मिए । विद्वत् पूजा परम्परा धानिरहेका शिवाकोटीजस्ता दुर्लभ अभियन्ताहरुलाई पनि राज्य र समाजले चिन्न आवश्यक छ । केका लागि विद्वत् पूजा ? समाजका घटनालाई सुक्ष्मतम दृष्टिकोणले अध्ययन गर्ने र अनुभवहरुलाई समेत निफनेर घटनाका कारणहरु पत्ता लगाउने काम समाज विज्ञानका विद्वानहरुले गर्ने गर्छन् ।  समाजका घटना र अनुभवहरुको अध्ययन र विश्लेषणबाटै सामाजिक दर्शन र सिद्धान्तहरुको प्रतिपादन हुन्छ । यसका लागि विशेष धैर्यता, बुद्धि र मेहनत आवश्यक हुन्छ । साधनाबिना यस्ता कठिन काम सम्पन्न हुन सक्दैन । मानिसले एउटै दर्शन वा सिद्धान्त प्रतिपादन गर्न पनि सम्पूर्ण जीवन समर्पण गरेको उदाहरण प्रशस्तै पाउँछौँ ।  विद्वत् वर्गबाट प्रतिपादित दर्शन वा सिद्धान्तले समाज र राज्यलाई उचित दृष्टि दिन्छ । यसले शान्ति, प्रगति, उन्नति र भातृत्वको विकासमा सयोग पुर्‍याउँछ । त्यसैले विद्वत् वर्गबाट राज्य र समाज ऋणी हुन्छ ।  त्यहीँ ऋण चुक्ता गर्न पनि विद्वत पूजा परम्पराको आवश्यकता हुन्छ । जुन देशमा विद्वत पूजा हुन्छ, त्यो देश जहिल्यै प्रगतिपथमा लम्केको हुन्छ । इतिहासकार ज्ञानमणि नेपालले आफ्नो बुद्धि र साधनाले देश र समाजलाई ऋण बोकाएर गएका छन् । (लेखक राजकुमार दिक्पाल पत्रकार हुनुहुन्छ)

काठमाडौं:      गएको जेठ १५ गतेका सामाजिक सञ्जालहरुको सरसर्ती सर्भे गर्ने हो भने जनताको धेरै असन्तुष्टि पोखिएको भेटिन्छ । प्रश्न एउटै छ– गणतन्त्रले के दियो ? जनताको यो प्रश्नमा जनताकै जवाफ खोजी पसे अनेकन व्यथा र वास्तविकताको बेलिविस्तार छ त्यहाँ ।  मुलुकमा गणतन्त्र आएपछि नेताहरुले खाना, छाना र नाना सुनिश्चित हुने बताएको भए पनि जनतासम्म यो आश्वासन अनुसारको ‘डेलिभरी’ नपुगेको त देखिएकै छ । यसैमा नागरिकको निष्कर्ष छ “गणतन्त्र जनताको घरदैलोसम्म आएन, जनताले कुनै सेवा र सुविस्ता पाएनन् । सरकार लगभग बर्सेनि फेरिन्छ । गणतन्त्रको फल जनतासम्म जस्ताको त्यस्तै पुग्नै सकेन, पु¥याउनै सकिएको छैन । यसकारण जनतालाई आएन गणतन्त्र ।”      अहिले मात्र होइन, बर्सेनि आउने गणतन्त्र दिवसमा जनताले गर्ने प्रश्न यही हो । हुन त जनताले गर्ने यो प्रश्न जस्तै मुलुकमा गणतान्त्रिक शासन व्यवस्थाले कतै केही नदिएको भने होइन । विकास निर्माणको शिलान्यास भइरहेकै छ, जनताले पाउनुपर्ने सेवाका लागि आधारशीलाहरु बनिरहेका छन् । तर पनि देशबाट विरोजगारीको सूचक नघट्दा विमानस्थलबाट बाहिरिने नागरिकको लाम झन् बढेको, महँगी र भ्रष्टाचार बढेको र देशभित्रै प्रशस्त रोजगारीलगायतका सम्भावनाहरुको कमीका कारण युवा वर्ग निरास हुँदै जाँदा गणतन्त्रले नागरिकलाई के दियो भन्ने प्रश्न प्रतिदिन पेचिलो बन्दै गएको हो । यसकारण जनतामा निराशा पैदा भएको छ, यसलाई बढ्न दिनु हुँदैन ।         यतिखेर मुलुकको शासन सत्ता फेरिएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा ९एमाले०ले सत्ता साझेदारी गर्ने गरी अघि बढेका छन् । नयाँ सत्ता समीकरण बनेसँगै नेपाली राजनीतिको तापक्रम पनि बढेको छ । सहमतिअनुरूप एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालको नेतृत्व गर्नुहुने सहमति भएको छ । सोहीबमोजिम नै आइतबार केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ भने उहाँको सरकारमा नेपाली कांग्रेस पनि सक्रिय रुपमा सहभागी छ ।       माथि भनिए झैँ नेपाली नागरिकका आशा अपेक्षाहरु पूरा नहुँदा उनीहरुमा निराशाको थुप्रो थपिँदैछ । बेरोजगारीको अवस्था त्यस्तै रहेकाले विदेसिने युवाको लर्को झन्भन्दा झन् लामो देखिँदैछ ।  एकपछि अर्कोगरी सरकार र यसका लागि आवश्यक समीकरणहरुमा फेरबदल आइरहेकै छ । उता प्रदेश सरकारका क्रियाकलाप तथा अस्थिरताका कारण पनि जनतामा किन चाहियो यो खर्चिलो सङ्घीयता भन्ने प्रश्न उठ्ने गरेको छ । मुलुकको अर्थतन्त्र बलियो छैन, बल्लतल्ल चलेको अवस्थामा छ । कोरोना महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण विगतका केही वर्ष यतादेखि यहाँ पनि सङ्कट बढेकै छ ।  उद्यमी व्यवसायीका सटर बन्द भइरहेका समाचार आइरहेकै छन् । सरकारले दिनुपर्ने ‘डेलिभरी’ जनतासम्म पुग्न सकेको छैन । यस्तो बेलामा नयाँ सरकार बनिरहेकाले नेपाली जनताले यसप्रति ठूलो आशा अपेक्षा राखेका छन्, जुन अस्वाभाविक होइन । देशको समग्र आर्थिक, राजनीतिक र सामाजिक विकासका साथै जनजीविकाका धेरै सवालमा यो नयाँ सरकारका लागि सुनौलो अवसर प्राप्त भएको छ ।     संविधान संशोधन       मिडियामा आए झैँ दुई ठूला दलको सत्ता समीकरणको एउटा एजेण्डा संविधान संशोधन पनि देखिएको छ । यो संविधानको संशोधन गर्नुपर्ने पक्षमा समयसमयमा मुद्दाहरू नउठेका भने होइनन् । संविधान संशोधनको अर्थ अहिले नेपाली नागरिकले यो संविधानबाट जेजति अधिकार पाएका छन्, त्यसमाथि अरु थप्ने हो । भएको अधिकारलाई अझ बलियो बनाउने हो, जनताले पाएका अधिकारको कटौती होइन ।  बलियो अर्थात् वैधानिक अङ्क गणीत हुँदा संविधान संशोधन त हुन्छ तर त्यति नै बलियो राज्य संयन्त्रको स्वरुप आमनागरिकको भावना र आकाङ्क्षा बिना भने असम्भव छ । त्यसैले सबैको सहयोग र समर्थनबाट संविधान संशोधन हुनुपर्दछ र त्यो नेपालको राजनीतिक स्थिरताका लागि हुनुपर्दछ । स्थिरताका लागि अहिलेको मिश्रित निर्वाचन प्रणालीमै संशोधन आवश्यक छ । अहिले देशमा देखिएको राजनीतिक अस्थिरताको मूल जड मिश्रित निर्वाचन प्रणाली हो भन्नेमा नेपालका सबै दलले लगभग आत्मसात् गरिसकेका पनि छन् । तर पनि अहिले संविधानमा रहेको व्यवस्थाबाट भएको समानुपातिक प्रतिनिधित्व कसरी सुनिश्चित होला भनेर पनि अबको संशोधनमा सोच्न छुटाउनु हुँदैन ।       यसकारण संविधान संशोधनको प्रक्रियाको थालनी गर्नुअघि अहिलेको संविधानले दिएका जनताका अधिकारहरुलाई थप बलियो बनाउने र अरु आवश्यकताअनुसार संशोधन गरिनुपर्दछ । निर्वाचन प्रणाली त फेर्ने तर अहिले संसद्मा महिला, जनजाति, दलित, अल्पसङ्ख्यक आदिको जे जति प्रतिनिधित्व छ त्यसलाई कटौती गर्ने भनेको होइन । अहिलेको निर्वाचन पद्दति महँगो पनि भएको छ । निर्वाचन प्रणालीमा संशोधन भनेको यसमा पनि परिवर्तन हो । त्यसैले प्रणालीमा संशोधन गर्ने र चुस्त दुरुस्त बनाउने गर्नुपर्दछ ।       अहिलेकै निर्वाचन प्रणालीबाट हुने चुनावबाट कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था नरहेको धेरैले अनुभव गरिसके । यसबाट संसद्मा धेरै पार्टीको प्रतिनधित्व त हुन्छ तर यसैका कारण सरकार निर्माण अस्थिरताको कारक बन्दछ । यो वा त्यो दलका कारण सरकार ढल्यो या बन्यो भन्ने अवस्था बनेको छ ।  त्यसैले प्रत्यक्ष निर्वाचन प्रणालीबाटै धेरै सिटहरु चुनिनेगरी निर्वाचन प्रणाली बनाउनसके यसबाट आफ्ना मतदाताहरुप्रति जनप्रतिनिधि पनि जवाफदेखि हुनेछ । यसले सो जनप्रतिधिनिले निर्वाचनका बेला गरेका बाचाअनुसार काम गर्न पनि सहज हुनेछ । ऊ आफ्ना मतदाताहरुप्रति पूर्णतः जवाफदेही हुनेछ । यसबाट कुनै पनि दलको स्पष्ट बहुमत आउने अवस्था सिर्जना हुन्छ र त्यसले नै देशमा सरकारको स्थायित्व प्रदान गर्न सक्दछ । त्यसैले अहिले संविधानमा भएको सबैको समावेशी प्रतिनिधित्वलाई यो निर्वाचन प्रणालीमा पनि सुनिश्चित व्यवस्था गर्न सकिन्छ । यसबमोजिम नै संविधान संशोधन गर्नु जरुरी देखिन्छ ।    सुशासन र समावेशी आर्थिक विकास       अहिले मुलुकमा सुशासनका साथै समावेशी आर्थिक विकास आवश्यक छ । सरकारकासामु यो पनि अर्को एक अपेक्षा हो । समावेशी आर्थिक विकासको अर्थ समानुपातिक नभएर समतामूलक वितरणमा आधारित विकास मोडल हो । जस्तो कि तेस्रो विश्वका कतिपय देशहरुले पिछडिएको समुदायका एकाध व्यक्तिलाई राज्यका निकायमा नियुक्त गरेर समानुपातिक अर्थात् सबै वर्ग क्षेत्र र समुदायका नागरिकको सहभागिता देखाउने गर्दछन् ।  कुनै एक पिछडिएको समुदायका नागरिकलाई राजदूत या राष्ट्रिय योजना आयोगमा सदस्य बनाएर त्यसलाई मोडलका रुपमा देखाउने गर्दछन् । यसरी समानुपातिक कोटामा गरिने नियुक्ति समावेशिताको मूल्यमान्यता होइन । त्यसैले समावेशी आर्थिक विकास भनेको यस्ता एकाध व्यक्ति या समुदाय नभएर राज्यका अवसर सबैलाई समतामूलक वितरण र त्यसको विकास मात्र हो । भारतमा हामीकहाँ जस्तो समानुपातिक निर्वाचन प्रणाली या प्रतिनिधित्व छैन । तर पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबका साथ, सबका विकास’ भन्ने नारा त्यो भन्दा बढी वैज्ञानिक देखिन्छ । उनले सबको विकासको सोचअनुसार विकासका कार्यक्रम पनि त्यसै अनुसार परिलक्षित गर्ने प्रणालीको विकास गरेका छन् ।       अहिले मुलुकको अर्थतन्त्र बल्लतल्ला तङ्ग्रिएको अवस्थामा छ । देशको अर्थतन्त्र सङ्कटमै त होइन, सहज अवस्थामा पनि छैन । कोरोना महामारी तथा विश्वव्यापी आर्थिक मन्दीकाकारण विगतका केही वर्षयता निकै सङ्कटपूर्ण रुपमा गुज्रिएको नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्किने तयारीमा देखिएको मात्र छ । अवस्था तरल रहेकाले कुनै बेला परिस्थिति गम्भीर पनि बन्न सक्छ । त्यसैले अहिले नै अर्थतन्त्रमा देखिएका समस्याहरु सरकार, राष्ट्र बैंक, विकास साझेदार, निजी क्षेत्र लगायत सबै मिलेर समाधान गर्नुपर्छ । ओली सरकारसँग पनि अर्थतन्त्रले सङ्कटमोचनको रोडम्यापको अपेक्षा गर्छ नै । सरकारको नेतृत्वमा सबै सरोकारहरुको सहभागितामा विचार विमर्श नगर्ने हो भने सङ्कटको डिलतिरै अड्किएको अर्थतन्त्रलाई प्राण दिन गाह्रो पनि पर्न सक्छ ।  सङ्घीयता र प्रदेश सरकार         अहिले नेपालको सङ्घीय शासन प्रणालीलाई नै बदनाम गर्ने औजारका रुपमा प्रदेश सरकारहरु प्रयोग भइरहेको अवस्था देखिँदैछ । कहिले कुन त कहिले कुन गरी महिनैपिच्छेजस्तो प्रदेश सरकार बनेका, ढलेका तथा सरकार ढाल्न गरिएका हर्कतहरु राजधानीका अखबारका मुख्य समाचार बनिरहेका हुन्छन् । अनि ती समाचारहरुप्रति कुनै पनि नागरिकले सकारात्मक प्रतिक्रिया दिएको देखिँदैन ।  यो अवस्था र परिस्थिति देख्दा लाग्छ देशमा सङ्घीय शासन व्यवस्थाको उपादेयतालाई समाप्त पार्ने अन्तिम किस्ता यिनै प्रदेश सरकारहरु नै बन्न जाँदैछन् । त्यस्तो अवस्था नआओस् । यसप्रकारको नकारात्मक सन्देश प्रवाह गर्नेगरी भइरहेका कार्यलाई रोक्न सरकारले संविधान संशोधनमार्फत नै केही व्यवस्था गर्नु जरुरी छ जसले प्रदेश सरकारहरुलाई पनि स्थायित्व दिन सकोस् । यसको समाधान टाउकामा जुम्रा प¥यो भनेर टाउको नै काटेजस्तो व्यवस्थालाई बदनाम ग¥यो भनेर मुलुकको प्रादेशिक संरचनाको विकल्प खोज्ने नभएर यसैमा सुधार हो । यसैलाई जनताको घरआँगनको सरकारका रुपमा विकास गर्नु नै यसको विकल्प हो ।       अहिले नागरिकले प्रदेश संरचना काम छैन भन्न थालिसकेका छन् । नेपालजस्तो सानो देशमा यी कैयौँ सरकार नेपालका लागि आर्थिक बोझ भएको तर्क जनताले दिइरहेका छन् । त्यतातर्फ जाँदा व्यवस्थाप्रति नै प्रश्न उठ्ने खतरा रहन्छ । बरु प्रादेशिक संरचनालाई कामयवी बनाउने र त्यसबाट जनताको आफ्नै सरकारको भाव दिलाउनेगरी छरितो, मितव्ययी र चुस्त दुरुस्त बनाउन सकिन्छ । बृहत् सोच, खोज र अनुभवबाट संविधान संशोधन गरेर यो काम गर्नुपर्ने अपेक्षा पनि यो सरकारसँग जनताले गरेका छन् ।   (लेखक एकराज पाठक राससका प्रमुख समाचारदाता हुनुहुन्छ)

पोखरा:   सर्वोच्चको फैसलाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सरकारलाई मन्त्रीमण्डल बिस्तार र विश्वासको मत लिने ढोका खुला गरेको छ । यता राप्रपालाई तटस्थ भएर बस्ने बाटो बन्द भएको छ ।    राप्रपाले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ, कि मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिने कि मध्यावधि निर्वाचनमा लैजाने ?    सुनगाभा न्यूजले गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङसँग यही प्रंसगबारे कुराकारी गरेका छौं ।   विस्तृत रुपमा प्रस्तुत छ, किरण गुरुङको अभिव्यक्ति:    राप्रपा अनिर्णयको बन्दी बन्दा मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा गठित गण्डकी प्रदेशको सरकारप्रतिको अन्यौलता, पूर्व मुख्यमन्त्री सुरेन्द्र पाण्डेको रिट निवेदन खारेजी गर्ने सर्वोच्चको फैसलासँगै समाप्त भएको छ ।    सर्वोच्चको यस फैसलाले मुख्यमन्त्री खगराज अधिकारीको सरकारलाई मन्त्रीमण्डल विस्तार र विश्वासको मत लिने ढोका खुला गरेको छ भने अब राप्रपालाई तटस्थ भएर बस्न नमिल्ने अवस्था पनि उत्पन्न गराएको छ ।   राप्रपाले वर्तमान गठबन्धनको सरकारलाई विश्वासको मत नदिने हो भने गण्डकी प्रदेश सिधै मध्यावधि निर्वाचनमा धकेलिनेछ ।    किनकी  एमाले र माओवादीको गठबन्धन कायम रहँदासम्म गण्डकी प्रदेशको संसदको समिकरणलाई हेर्ने हो भने अन्य कसैको नेतृत्व वा कुनै गठबन्धनलाई बहुमत नपुग्ने प्रष्ट देखिन्छ ।    त्यसैले मध्यावधि निर्वाचनमा नजाने हो भने राप्रपाले मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा बनेको  वर्तमान गठबन्धनको सरकारलाई विश्वासको मत दिनु बाहेक अन्य कुनै विकल्प देखिदैन ।   हालै राप्रपाको केन्द्रीय समितिको निर्णयलाई विश्लेषण गर्दा पनि वर्तमान गठबन्धनको संघीय सरकारलाई समर्थन नगर्ने निर्णय गरेको भएपनि प्रदेश सरकारको हकमा भने परिस्थिति अनुसार समर्थन गर्न र सरकारमा सहभागी हुनसमेत सकिने विकल्पलाई खुला राखेको देखिन्छ ।    सर्वोच्चको निर्णय पश्चात राप्रपालाई आफ्नो निर्णयअनुसार  आन्दोलनलाई कायमै राख्दै गण्डकी प्रदेशको वर्तमान गठबन्धन सरकारलाई समर्थन र सहभागी हुने बाटो खुला भएको छ ।    मध्यावधि निर्वाचनमा नजाने हो भने अब राप्रपालाई अनिर्णयको बन्दी हुने बाटो बन्द भएको छ ।    विश्वास छ, छिटोभन्दा छिटो निकट भविष्यमा गण्डकी प्रदेशको वर्तमान गठबन्धनको सरकारलाई समर्थन गर्ने र सरकारमा पनि सहभागि हुने सकारात्मक निर्णय हुनेछ ।  

काठमाडौं:     मुलुकमा संविधान र सङ्घीयतानुकूल कतिपय महत्वपूर्ण कानुन अझै जारी हुन सकेको छैन । कानुन निर्माणको थलो सङ्घीय संसद्मा २०७९ सालको निर्वाचनपछिका अवधिमा पर्याप्त विधेयक पेस नहुँदा सांसदले चाहे जति ‘बिजनेस’ पाएनन् ।  यसबीचमा सरकार गठन, सरकारका नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित भए तर गठबन्धन फेरबदल तथा राजनीतिक जोडघटाउका कारण विधि निर्माणले उच्च प्राथमिकता पाएको देखिएन ।   नेपाल सरकार (मन्त्रिपरिषद्) को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट यही माघ २२ गतेदेखि सुरु हुने गरी बुधबार आह्वान भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनमा हाल विचाराधीनका साथै नयाँ विधेयकले ऐनको रुप लिने अपेक्षा गरिएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का प्रतिनिधिसभाका सदस्य ठाकुरप्रसाद गैह्रे गत एक वर्षका अवधिमा संसद्बाट अनुचित लेनदेन ९मिटर ब्याज० सम्बन्धी विधेयकबाहेक अन्य विधेयक पारित नहुनु र सरकारले सदनलाई पर्याप्त काम दिन नसकेको बताउनुहुन्छ ।   हाल संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षासम्बन्धी विधेयक, विद्युत् विकास विधेयक र केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकलगायतका विधेयक भने यस अवधिमा सदनमा पुगेका थिए ।   आशन्न अधिवेशनका लागि पनि सरकारले हालसम्म खासै नयाँ विधेयक दर्ता नगराएकाले विधेयक अधिवेशनका रुपमा लिइने हिउँदे अधिवेशनमा पनि पर्याप्त बिजनेस नदेखिएको सांसद गैह्रेको बुझाइ छ । विद्यार्थीकालदेखि राजनीतिमा होमिएर एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्ष हुँदै हाल सो पार्टीको पोलिटब्युरो सदस्य रहेका सांसद गैह्रे निष्कलङ्क र त्यागी युवा नेतामध्येमा पर्नुहुन्छ ।   पाल्पा क्षेत्र नं २ बाट गत निर्वाचनमा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) नेता सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै विजयी भएपछि गैह्रे राष्ट्रिय राजनीतिमा थप स्थापित हुनुभयो । प्रतिनिधिसभाको पूर्वाधार तथा विकास समितिका सदस्य गैह्रे सदनमा जनजीवनका समसामयिक विषयमा आवाज उठाइरहनुहुन्छ ।   सरकारबाट नीति तथा कार्यक्रम र बजेटमाथि भएका छलफलमा आएका सुझावका आधारमा परिमार्जन हुनुको साटो ‘कमा’ र ‘फुलिस्टप’ पनि थपघट नहुनुले संसद्मा ती विषयमाथि उठाइएका सवाल निरर्थक सावित भएको टिप्पणी उहाँको छ ।   “सत्तापक्ष र प्रतिपक्षका सांसदबाट दिइएका जायज सुझाव नीति तथा कार्यक्रम र बजेटमा थपेर त्यसलाई समृद्ध तुल्याउने काम भएन । बहुमतका आधारमा तिनलाई पारित गरियो । कात्तिक मसान्तभित्र आयोजनाका बोलपत्रका प्रक्रिया पूरा नभए योजना खारेज गर्ने सरकारको प्रतिबद्धता हालसम्म लागू भएन ।   पुराना र सम्पन्न भएका आयोजनाको भुक्तानी पनि हुन सकेको छैन ।”, ‘सांसदसँग रासस’ स्तम्भका लागि कुरा गर्दै नेता गैह्रेले भन्नुभयो, “आर्थिक वर्षको अन्त्यमा असारे विकासका दृष्य यस वर्ष पनि देखिने स्थिति छ । अर्कातिर रातो किताबमै भएका आयोजना कटौती गर्ने कार्य गरिएका छन् । यसले गर्दा सदनबाट पारित बजेटप्रति सरकार जिम्मेबार नभएको देखिन्छ । समग्रमा जनतामा आशा जगाउने र सुशासन तथा विकासमा मुलुकलाई अग्रसर बनाउने काममा उल्लेखनीय प्रगति हुन सकेको छैन ।” सांसद गैह्रेले सदनका शून्य, आकस्मिक र विशेष समयमा उठाइएका ध्यानाकर्षणमाथि सरकारले उत्साहजनकरुपमा सम्बोधन नगरेको र सुन तस्करीलगायतका विषयमाथिका छानबिन समितिका प्रगति प्राप्त नहुनुले सुशासनका क्षेत्रका सरकार चुकेको आरोप लगाउनुभयो ।   प्रतिपक्षले पनि समय–समयमा विभिन्न माग राखेर सदन अवरोध गर्दा विधेयक पारितमा ढिलाइ भएको आरोप सत्तापक्षको छ नि भन्ने प्रश्नमा सांसद गैह्रेको जवाफ छ, “जनताका जायज माग र सुशासनका लागि सरकारबाट चित्तबुझ्दो सम्बोधन नहुँदा हामीले केही दिन सदन अवरोध गरेका छौँ तर अवरोध खुलेपछिका समयमा सदन धेरै दिन चलाइएन । प्रधानमन्त्रीको विदेश भ्रमणका समयमा पनि सरकारको आग्रहमा सभामुखकबाट सदन स्थगन भएका छन् । हामी त सदन नियमित चलोस् र परिणाममूलक काम होस् भन्ने पक्षमा छौँ ।”   सांसदले विधि (कानुन) निर्माणमा मात्रै आफूहरुलाई अभ्यस्त बनाउनुपर्नेमा जनताको बुझाइ र सरकारका व्यवहारका कारण आफूहरु सानातिना आयोजना र जनस्तरका समस्यामा मन्त्रालय वा निकायमा धाउन बाध्य भएको बताउने सांसद गैह्रे यसबारेमा जनतालाई बुझाउन नसकिएको ठान्नुहुन्छ ।   स्थानीय तहले गर्ने काममा पनि मन्त्रालय र निकायहरुमा सांसदसमेत मागपत्र बोकेर जाने अवस्था अन्त्य हुनुपर्ने उहाँको प्रस्ताव छ । “बजेट निर्माणमा सम्बन्धित जिल्लाबाट निर्वाचित सांसदको नीतिगत उपस्थिति हुने र वितरणमा सबै भूगोललाई आवश्यकता र औचित्यका आधारमा समानुपातिकरुपमा हुने हो भने यो समस्या आउँदैन”, नेता गैह्रेले भन्नभयो, “मन्त्री वा प्रभावशाली नेता भएका जिल्लामा धेरै बजेट जाने प्रवृत्ति अन्त्य नभएमा सङ्घीय लोकतान्त्रिक शासन प्रणाली दिगो र सफल हुन सक्दैन ।” उहाँले सरकारले हिउँदे अधिवेशन गत पुसको पहिलो सातादेखि नै सञ्चालन हुनुपर्ने जनाउँदै सरकारले सदनलाई पर्याप्त काम नदिएर केवल अनिवार्य स्थिति ९नीति, कार्यक्रम र बजेट० मा मात्रै प्रयोग गरेर यसलाई निष्प्रभावी बनाएको आरोप लगाउनुभयो ।   आगामी आर्थिक वर्षका लागि फागुनमै नीति, कार्यक्रम र प्राथमिकतामाथि छलफल चलाउने सरकारको प्रतिबद्धता कार्यान्वयनमा नआएको जनाउँदै गैह्रेले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता व्यक्तिको छानबिनसम्बन्धी जस्ता महत्वपूर्ण विधेयक छिटो पारित होस् र विभिन्न छानबिन आयोगका प्रगति विवरण चाँडै जनतासमक्ष आओस् भन्ने पक्षमा आफूहरु रहेको स्पष्ट गर्नुभयो । मुलुकमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सन्तुलन र समन्वयका सवालमा सोधिएको जिज्ञासामा सांसद गैह्रेले ती अङ्गबीच उचित सन्तुलन आवश्यक रहेको प्रतिक्रिया दिनुभयो । “जनताले सहज र निष्पक्षरुपमा न्याय पाउनुपर्छ ।” उहाँले भन्नुभयो, “न्यायालयमाथि कुनै पनि अङ्गबाट अङ्कुश लगाउन मिल्दैन ।” संसद्बाट पारित भएको सांसद पूर्वाधार विकास कोषको रकमबारे अदालतमा मुद्दा विचाराधीन रहेकामा सरकारले जाजरकोट–भूकम्पपीडितकका लागि उक्त रकम खर्च गर्ने निर्णय गरेको बाहिर आए पनि सम्बन्धित स्थानमा बजेट नपुगेको उहाँको भनाइ छ । सरकार यस्ता विषयमा अनिर्णयको बन्दी नभई जनमुखी र प्रभावकारी हुनुपर्ने उहाँको सुझाव छ ।

गण्डकी:    “भनिन्छ, संसद् प्रतिपक्षको सत्ता हो । सत्तापक्ष अर्थात् सरकारले दिन नसकेको ‘डेलिभरी’ का लागि संसद्मा प्रतिपक्षी दलहरुले सरकारको ध्यानाकर्षण गराउँछन् र जनताको आवाज संसद्मार्फत सरकारसमक्ष पुर्याउँछन् । सरकार स्वेच्छाचारी भयो भने पनि सरकारलाई काम गर्न बाध्य बनाउँछन् । त्यसैले प्रजातान्त्रिक संसदीय शासन प्रणालीमा संसद्लाई प्रतिपक्षको सत्ता मानिन्छ ।” कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित नेकपा (एमाले) का सांसद मनबहादुर गुरुङ यस विषयमा फरक मत राख्दै भन्नुहुन्छ, “होइन, संसद् प्रतिपक्षको मात्र होइन, सरकारको पनि हो । किन भने संसद्लाई ‘बिजनेस’ सरकारले दिने हो । प्रतिपक्षले त जनताको आवाज उठाउने हो । संसद्लाई कामयवी र खासमा जनताका प्रतिनिधिको थलो बनाउने काम सरकारले दिएको बिजनेसबाट नै हुने हो ।” उहाँ संसदीय शासन प्रणालीमा संसद्जस्तो बलियो र जनताप्रति उत्तरदायी संस्था अर्को केही छैन भन्नुहुन्छ । सरकार बनाउने, सरकारले गर्नुपर्ने काम सही ढङ्गले गरे नगरेको हेरेर ‘वाचडग’ को भूमिका निर्वाह गर्ने, यदि राम्रो काम गर्न सकेन भने त्यो सरकारको विकल्प दिने तथा जनप्रतिनिधिका रुपमा जनताको आवाज राज्यका सबै निकायमा पुर्याउने काम संसद्कै हो भन्नुहुन्छ सांसद गुरुङ ।  संसद्लाई सक्रिय, कामयवी या जनताप्रति उत्तरदायी कसरी बनाउने भन्ने कुरा सरकारले दिएको बिजनेसमा भरपर्ने उहाँको तर्क छ । सरकारले बिजनेस नै दिएन, कानुन निर्माणका रुपमा सरकार सक्रिय भएन भने विधायिका कम प्रभावकारी हुन जान्छ । विधायिकाको प्रभाव घट्नु भनेको जनताको आवाज पनि कमजोर हुनु हो ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कास्की जिल्लाका अध्यक्षसमेत रहनुभएका गुरुङ समाजसेवाबाट राजनीतिमा लाग्नुुभएको हो । गुरुङले तत्कालीन साविक पार्चे गाउँ विकास समितिको अध्यक्ष र त्यसपछि गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । उहाँसँग स्थानीय र प्रदेश सरकारमा रहेर काम गरिसकेको अनुभव छ ।  सङ्घीय संसद्को एक वर्षे कार्यकाल कस्तो रह्यो ? गुरुङ यो एक वर्षमा त्यति सन्तुुष्ट हुनुहुन्न । यस अवधिमा केही विधान तथा नियमावली संशोधन गरिए पनि कानुन निर्माण अति नगण्य मात्रामा हुनुलाई सन्तोष मान्न नसकिने बताउनुहुन्छ ।  संसारको सबैभन्दा उत्कृष्ट प्रणाली यही व्यवस्था यही प्रणाली हो भनेर हामीले अवलम्बन गरेर आए पनि हाम्रो सोच, विचार र चिन्तन त्यस व्यवस्थाबमोजिमको उत्कृष्ट हुन नसकेको उहाँको अनुभव छ । “सांसद कानुन बनाउने मान्छे मात्र हो कि जनताका गुनासा सुन्ने र विकास निर्माणका काम गर्ने ?” यो प्रश्नमा आफू सधैँ दुविधामा रहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “आफूलाई सधैँ गाउँमै, जनताकै बीचमा रहन मन लाग्छ । किन भने जनताका सुखदुःखमा साथमा नहुँदा र उनीहरुका बाटो, पानी, बिजुलीका काम नगर्दा निर्वाचन जित्न गाह्रो पर्छ । तर सैद्धान्तिक रुपले हेर्दा संसद् राष्ट्रका लागि कानुन बनाउने थलो भएकाले राजधानी छोड्न पनि मिल्दैन । नेपालमा सांसदको भूमिका अलिक फरक पो भयो कि ?”   निर्वाचनका क्रममा जनताको घरदैलोमा मत माग्न जाँदा जनताको आधारभुत आवश्यकता पूरा गर्छु भनेर अठोट लिएर आएको भए पनि अपेक्षित काम गर्न नसकेको उहाँको अनुभव छ ।     सबैभन्दा उत्कृष्ट व्यवस्था अवलम्बन गरिरहँदा हामीले हाम्रो सोच, चिन्तन र विचारलाई प्रगतिशील बनाउन सकेनौँ की भन्ने प्रश्न उठेको उहाँको भनाइ छ । “व्यवस्था परिवर्तन भयो जनताको अवस्था परिवर्तन भएन”, उहाँले भन्नुभयो, “जनताको अवस्था परिवर्तन हुन नसक्नाको मुख्य कारण हामी र हाम्रो चिन्तनका कारण होकी भन्ने मलाई लागेको छ ।” आफूूहरूले सदनमा बोलेका कुरा लागू नभएको उहाँको अनुुभव छ । “सदनमा शून्य समयमा एक मिनेट हामीले पाउँछौँ । विशेष समय हामीले संसद्को  प्रतिनिधित्वका आधारमा पाउँछौँ । आकस्मिक समय हामीले पाउँछौँ”, उहाँले भन्नुभयो,  “यी कुनै पनि समयमा बोलेका कुरा न उत्तर आउँछ, न कार्यान्वयन हुन्छ । सदनमा उठेका मुद्दाको कार्यान्वयन हुन नसकेको उहाँले बताउनुुभयो । हामीले अवलम्बन गरेको संसदीय व्यवस्था भनेको अङ्क गणितको खेल भएको उल्लेख गर्दै उहाँले राम्रो कुरालाई बहुमतले पारित गर्नु ठीक भए पनि सत्ता पक्षले ल्याएको कुरा राम्रो नराम्रो जेसुकै भए पनि अङ्क गणितका हिसाबले पास हुनु भने राम्रो होइन । उहाँले प्रश्न गर्नुभयो, “सत्तापक्षले कुनै नराम्रो कुरा ल्यायो र बहुमतले पारित या पास भयो, अब त्यसलाई राम्रै मान्नुपर्ने ?”  सरकार नेपाली जनताको तथा मुलुकको हुन नसकेको बताउँदै उहाँले बजेटको विनियोजन व्यक्ति विशेषको प्रभावका आधारमा समन्यायिक रुपमा वितरण हुन सकेको उल्लेख गर्नुभयो । संसद्मा प्रतिपक्षले आवाज उठाएको भरमा योजना काटिने गरेको अनुभव सुनाउँदै उहाँले संसद्मा कटाक्ष, गालीगलौजबाहेक सही ढङ्गले बहस हुन नसक्नु समस्याका रुपमा रहेको बताउनुभयो । बजेटअगावै विनियोजन विधेयक र प्राथमिकता आदिका छलफल, नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल एवं संशोधन प्रस्तुत भए पनि बहुमतले पारित गर्दा ती छलफलको औचित्य हुने नगरेको गुरुङको ठम्याइ छ । भन्ने बेलामा सांसदले कानुन, नीति बनाउने हो, बजेट बनाउने हो, पूर्वाधार विकासका काम सरकारले गर्ने हो भनिए पनि जनअपेक्षाअनुुरुप काम नहुँदा जनतामा भने निराशा छाउने गरेको उहाँले बताउनुभयो । बजेट ल्याउनभन्दा अघि गरिने छलफलको निर्णय बजेटमा आउनुपर्ने भए पनि त्यो हुन नसकेको उहाँले बताउनुभयो । संसद्लाई बिजनेस सरकारले दिने भए पनि बिजनेस दिन नसक्दा हप्तामा दुई दिन मात्रै संसद् चल्ने गरेको उहाँले बताउनुुभयो । सरकारले ल्याएको कुरामा आँखा चिम्लेर पास गर्नुपर्ने, जनताको पक्षमा नहुँदा पनि पास गर्नुपर्ने जस्ता कुराले समग्र व्यवस्थाप्रति नै प्रश्न उठ्ने गरेको उहाँको भनाइ छ । आफूू प्रदेशसभामा हुँदा विधायन समितिमा रहेको बताउँदै गुरुङले त्यस समयमा राजनीतिक नियुक्तिको कुरा आउँदा १० वर्षे अनुभव चाहिने कुुरामा आफ्नो भिन्न मत राखेको सुनाउनुभयो । “मैले के भने भने कसरी १० वर्षे ? अहिले २७ वर्षमा पिएचडी गर्छन् हाम्रा बाबु नानीले । पिएचडी गरेको १० वर्षसम्म त यहाँ बस्दैनन् नि ।” काममा युवालाई प्राथमिकता दिनुपर्ने उहाँको मत छ । एक वर्षे अवधिमा हामीले कति उद्योग खोल्यौँ, कति कलकारखाना सञ्चालनमा ल्यायौँ, कति उत्पादन गर्यौँ र कतिलाई रोजगारी दियौँ भन्ने विषयमा आफूले आगामी संसद् अधिवेशनमा सरकारसँग प्रश्न गर्ने उहाँले बताउनुभयो । उहाँले स्वदेशी उत्पादनलाई जोड दिने किसिमको कानुन र वातावरण चाहिएको बताउनुभयो । समाजसेवासँगै राजनीतिमा सक्रिय गुुरुङले २०४३ सालदेखि अखिलबाट आफ्नो राजनीतिबाट यात्रा सुुरु गर्नुभएको हो । उहाँ विसं २०५४ मा साविक पार्चे गाविसको अध्यक्ष र विसं २०७४ मा प्रदेश सभासदस्य निर्वाचित हुनुभयो ।  एमाले नेता गुरुङको राजनीतिबाहेकको अर्को पहिचान संरक्षणकर्मी हो । सुरुमा समाजसेवासँगै संरक्षणका क्षेत्रमा क्रियाशील गुरुङ आफूलाई एक संरक्षणकर्मीका रुपमा परिचित गराउन पाउँदा बढी खुसी हुनुहुन्छ । संरक्षणका क्षेत्रमा गरेको योगदानकै कारण गुरुङले राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औँ वार्षिकोत्सवका अवसरमा रु एक लाख २५ हजार राशिको संरक्षक संरक्षण पुरस्कार प्राप्त गर्नुभएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यक्षेत्रअन्तर्गत मादी गाउँपालिका–१ सिक्लेसमा जन्मनुुभएका उहाँले उक्त आयोजनाको स्थापनादेखि विस्तारमा समेत उल्लेख्य भूमिका खेल्नुभएको थियो ।  उहाँले २०५४ सालमा पार्चे गाविसको अध्यक्ष हुँदा संरक्षण क्षेत्र व्यवस्थापन समितिको पदेन सदस्य र आयोजनाको मूल्याङ्कन तथा अनुगमन समितिको अध्यक्षसमेत भएर काम गर्नुुभएको थियो । सिक्लेस इलाकाको तत्कालीन सात गाविस समितिले समेट्थ्यो । सन् २०१४ मा समितिले राम्रो काम गरेका कारण उहाँ नेतृत्वको समितिले युनएनडिपीको पुरस्कारसमेत हात पारेको थियो । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रकृति संरक्षणका काममा अलग्गै पहिचान बनाउनुभएका उहाँले कैयौँ शिकारीलाई अहिले संरक्षणकर्मी बनाउनुभएको छ । जनप्रतिनिधिका रुपमा रहेर पनि उहाँले गर्नुभएको यस कार्यका लागि उहाँलाई यो राष्ट्रिय संरक्षण पुरस्कार प्रदान गरिएको थियो । 

धनगढी:  धनगढीमा लाठी प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।   धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबा विद्यालय क्षेत्रमा लाठी प्रहारबाट सोही ठाउँका लालबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।   सोमबार दिउँसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका कृष्ण सेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेका थिए।   लाठीको प्रहारबाट घाइते भएका थापाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदीप चन्दले लाठी प्रहार गर्ने सेट्टीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।