–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

काठमाडौं:    गत कात्तिक १७ गते गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा ठूलो जनधनको क्षति भएको छ ।  जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्र बनाई गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र पश्चिम रुकुमलगायत आसपासका अन्य केही जिल्लामा क्षति गरेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा उद्धार, राहत र अस्थायी आवास निर्माणको काम औपचारिक रुपमा सकिएको छ ।       उद्धार, राहत र अस्थायी आवास निर्माणमा भूकम्पपीडितले सोचेजस्तो सहुलियत सुविधा र सन्तुष्टि पाउन नसकेको गुनासो पनि छ । जनताको दैलोको सरकारसँग गुनासो आउनु स्वाभाविक पनि हो ।  गुनोसोलाई सम्बोधनका लागि अब पुनःनिर्माण र पुनःस्थापनाको बाटो चाँडो खोल्न जरुरी छ । भूकम्पपछि जनताले आशा गरेअनुसार उद्धार, राहत, अस्थायी आवास निर्माण तथा पुनःनिर्माण र पुनःस्थापनाका लागि अपेक्षाअनुरुपको गतिमा काम हुन सकेको छैन ।  अहिले जेनतेन नागरिकलाई अस्थायी आवासभित्र पठाउन सकिए पनि टहराभित्रको अप्ठेरो दिनचर्याको महसुस पीडित परिवारले गरिरहेका छन् । हिउँदको चिसोदेखि अहिलेको अविरल वर्षासम्म आउँदा नागरिक जीवन कष्टकर रहेको छ ।      स्थानीय सरकारको क्षमताले मात्रै पुनःनिर्माण र पुनःस्थापनाको कार्य सम्भव छैन । भूकम्पबाट क्षतिग्रस्त निजी आवास सरकारी भवन, विद्यालय र अन्य पूर्वाधारका संरचनाहरुको पुनःनिर्माणको बाटो चाँडो खोल्न अपरिहार्य छ ।  यसका लागि मूलतः सङ्घीय सरकारले राष्ट्रिय प्राथमिकताको विषय बनाउनु पर्दछ । जाजरकोट र पश्चिम रुकुममा पुनःनिर्माण र पुनःस्थापनाको कार्यमा विलम्ब भएको छ । यसले नागरिकमा राज्यप्रतिको विश्वास र भरोसा कमजोर बनाउँछ ।  नागरिक गुनासोलाई बेलैमा सम्बोधन गर्नु लोककल्याणकारी राज्यको जिम्मेवारी हो । आज टहरामा दिन बिताउने हरेकले आफूलाई असुरक्षित भएको अनुभूति गर्ने, भत्किएको चर्किएको कक्षा कोठामा पढिरहेका बालबालिकाले त्रसित भएर बस्नुपर्ने, उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका बिरामीले समेत आफूलाई सन्त्रासमा रहनुपर्ने अवस्थाको अन्त्य गर्नैपर्छ । भूकम्पपीडितहरुको सहनशीलता र धैर्यतालाई उनीहरुको सहजता र सुविधाको बुझाइ हुनु हुँदैन ।      भूकम्पको बुहआयामिक प्रभावलाई न्यूनीकरण गरी प्रभावित ठाउँमा राज्यको उपस्थिति र भूमिकालाई बढाउन अब पुनःनिर्माण र पुनःस्थापनाको बाटो यथाशक्य चाँडो खोल्नुपर्छ ।  विपत्तिपछिको विनाश र विध्वंशलाई हेरेर आतङ्कित बनेको सामाजिक मनोविज्ञानलाई आशा र उत्साहमा रुपान्तरण गर्ने प्रमुख दायित्व पनि राज्यको हो । यो परिस्थितिमा निर्माण भएको अप्ठेरो लागि तीनै तहका सरकारसँग स्पष्ट नीति, योजना र कार्यक्रम चाहिन्छ ।  भूकम्पपछिको नौ महिना बितिसक्दा पनि यसतर्फ कुनै तत्परता देखिएको छैन । अहिले पुनःनिर्माण र पुनःस्थापनाका लागि विभिन्न दातृ निकायहरु आफ्नै योजना र कार्यक्रमसहित आइसकेका छन् तर सरकारले यसका लागि बाटो खोल्न सकेको छैन ।       यतिबेला भूकम्पपीडित नागरिकले मुक्ति खोजेका छन् । हरेक दिन ढलेका घर उठ्ने सपना देखेर बसेका पीडितहरुका लागि अब सरकारको मुख ताक्नुको अर्को विकल्प पनि छैन । यो विपत्तिको बेला सरकार संवेदनहीन भएर बस्नु हुँदैन ।  विगतमा सरकारले भूकम्प प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र त घोषणा ग¥यो तर त्यसअनुसार कुनै कार्यक्रम नल्याउँदा घोषणामा निर्णयमै सीमित रहेको छ । सङ्कटग्रस्त क्षेत्र घोषणसँगै भूकम्प प्रभावित ठाउँको पुनःनिर्माण र पुनःस्थापनाका लागि आवश्यक नीतिगत निर्णय गरेर सबै दातृ निकायलाई यो अभियानमा जोडिन अपिल गर्न ढिला भइसकेको छ ।  दातृ निकायको क्षेत्रगत संलग्नतालाई विशिष्टीकरण गरी भूकम्पको बहुआयामिक प्रभावलाई उठाउन जरुरी छ । निजी आवास, सरकारी भवन, विद्यालय, खानेपानी तथा सरसफाइ, सिँचाइ, सडक, विद्युत् र जीविकोपार्जनलगायत समग्र क्षेत्रको विस्तृत योजना कार्यक्रम र कार्यान्वयनमा तीनै तहका सरकारको समन्वयको खाँचो पर्दछ ।       भूकम्पपछि भूकम्पले सिर्जना गरेका मानवीय जटिलताहरु समयक्रममा कम हुँदै जानु पर्ने हो । अस्थायी आवासभित्रको सुविधाबिहिन असहजता र अभावले गर्दा नागरिकमा गुनासो बढेको छ । टहराभित्रको दैनिकी असजिलो र असुरक्षित हुनु नागरिक गुनासाको प्रमुख कारण हो ।  नागरिकमा चौतर्फीरुपमा फैलिएको निरास नागरिक मनोविज्ञानलाई आशा उत्साह र ऊर्जामा बदल्न पुनःनिर्माण र पुनःस्थापनामा नागरिकलाई समेत जतिसक्दो चाँडो संलग्न गराउने सामाजिक वातावरण राज्यले निर्माण गर्नुपर्छ ।  यसो गर्न सके मात्रै व्यक्ति, परिवार समाजलाई राज्यको भरोसासँग जोड्न सकिन्छ । अहिले पनि अनेक समस्याहरुसँग जुध्दै भूकम्प प्रभावित क्षेत्रका नागरिकहरु पुनःनिर्माण र पुनःस्थापनाको प्रतीक्षामा पर्खिरहेका छन् ।  अब पुन:निर्माण र पुन:स्थापनासँगै नयाँ निर्माणको अभियानमा जुट्ने नागरिक सपना पनि हो । यो सपना पूरा गर्नु राज्यको ऐतिहासिक दायित्व हो । लामो समयदेखि टहराभित्रको बसाइले ज्येष्ठ नागरिक, बालबालिका, सुत्करी र अपाङ्ग अशक्तहरुका लागि निकै पीडादायी छ ।       भूकम्पको उच्च जोखिम रहेको नेपालमा यस्ता विपत्तिपछि राज्यले राष्ट्रिय अठोट निर्माण गरेर राष्ट्रव्यापी रुपमा भूकम्प प्रतिरोधी संरचना निर्माण अभियान सुरु गर्नुपर्ने हुन्छ । विपत्तिमा परेका नागरिकहरु राज्यबाट ठूलो अपेक्षा पालेर पर्खिरहेका छन् ।  भूकम्प प्रभावित क्षेत्रको सामाजिक साझा बुझाइ अहिले पुनःनिर्माण र पुनःस्थापनाको ढिलाइप्रति छ । पुनःनिर्माणको सुरुआतसँगै सुरक्षित आवास निर्माणको पनि शुरुआत हुन्छ । यसका लागि आवश्यक नीतिगत तथा प्राविधिक प्रक्रिया अवलम्बन गर्नुपर्छ ।  आज ठूलो लगानीमा निर्माण गरिने ठूला घरहरु मात्रै सुरक्षित हुन्छन् भन्ने मान्यता जबर्जस्त स्थापित भएको छ । यो गलत मान्यतालाई खण्डित गरी सानो लगानीमा सानो तथा सुरक्षित आवास निर्माण सम्भव छ भन्ने नयाँ मान्यता स्थापित गर्नुछ । ठूलो संरचना निर्माण गरेर सम्पन्नशाली कहलाउने चिन्तनको जरा उखेल्न पनि यो बेलाको पुनःनिर्माणले मद्दत गर्नेछ ।       भूकम्पको विनाशपछि ठूलो घर होइन, सुरक्षित घर खोज्ने नगारिक उत्सुकता बढेको छ । यो उत्सुकतालाई राष्ट्रियकरण गरेर सुरक्षित नेपाल निर्माणको यात्रा आरम्भ गर्ने यसलाई अवसरका रुपमा लिन सकिन्छ । हरेक मानवीय विपत्तिहरु केवल विपत्ति मात्र नभएर नयाँ युग आरम्भ गर्ने अवसर पनि हुन् ।  प्राकृतिक, राजनीतिक, सामाजिक र धार्मिक विपत्तिहरुबाट विश्वमा धेरै ठूला परिवर्तनको अध्याय सुरु भएको इतिहासहरु छन् । हामीले पनि विपत्तिबाट यस्ता उदाहरणहरु हेरेर नवनिर्माणको मार्गचित्र कोर्न किन नसक्ने ? कुरा राष्ट्रिय अठोट र उद्देश्यको हो । हाम्रा अठोट र उद्देश्यहरु कतातिर मुखरित हुन्छन् मुख्य सवाल हो ।       जाजरकोट र  पश्चिम रुकुममा प्रभावित यो भूकम्पपछि सुरक्षित नेपाल निर्माणको प्रारम्भविन्दु बनाउन कठिन छैन । अब राज्यले हरेक संरचना भूकम्प प्रतिरोधी बनाउने दृढ अठोट बोक्न सक्नुपर्छ ।  त्यसैलै राज्यप्रति भरोसायोग्य नागरिक चेतनालाई राज्यको राष्ट्रिय नीतिप्रति जवाफदेही बनाउने अवसरको सिर्जना गर्न असम्भव छैन । यो पुनःनिर्माण र पुनःस्थापनासँगै पुर्नजागरणको युग शुरू गर्न सकिन्छ ।  भूकम्पबाट सुरक्षित नेपाल निर्माणका लागि आज देशभरि मन लागि बन्दै गरेका हरेक संरचनाहरुलाई भूकम्प प्रतिरोधी बनाउने नीतिगत राष्ट्रिय अठोटको खाँचो छ । आज भूकम्पबाट सिर्जित समस्याहरु समाधानबाट निष्कर्ष निकाल्न गाह्रो छैन । यसका लागि बलियो राष्ट्रिय इच्छाशक्ति हुन जरुरी छ । हरेक घटनाले पाठ सिकाउँछन्, अनि ती पाठले नयाँ योजना बनाउने र सपना देख्ने अवसरको ढोका खोल्छन् तर हामीले अहिलेसम्म घटनाबाट सिकेर होइन भागेर हिँड्ने गरेका छौँ ।       नेपालले भूकम्पको अभिलेखीकरण गरेको १९८० सालदेखि विध्वंश भोग्दै आएको तर अहिलेसम्म भरपर्दो भूकम्प सुरक्षा नीति निर्माण र कार्यान्वयन गर्न नसक्नु नेपालको राष्ट्रिय असक्षमता होभन्दा फरक पर्दैन । यसैले हामी आज पनि हाम्रो असक्षमता र अकर्मव्यतको सिकार हुनु विडम्वना हो ।  गत कात्तिक १७ गते गएको भूकम्पको राष्ट्रियरुपमा हेर्दा सानो प्रभाव होला । तर त्यो प्रभावलाई समेत सम्बोधन हुने गरी अहिलेसम्म पुनःनिर्माण र पुनःस्थापनाको काम अगाडि बढाउन सकेका छैनौँ । हामी राजनीतिक परिवर्तनको यो विन्दुमा आइपुग्दा पनि राष्ट्रिय व्यवस्थापनको पुरानै निरन्तरतामा रहेका छौँ ।       भूकम्पपछि चौतर्फी रुपमा मानवीय जीवन सङ्कटपूर्ण भयो । प्रभावित क्षेत्रमा अनेकथरी समस्याहरु सिर्जना भए । सबै समस्याहरुको समाधान एकसाथ एक रात सम्भव थिएन पनि । समस्या समाधानतर्फ राज्यको अग्रसरतामा भने कमी देखिएको छ ।  अहिलेसम्म पुनःनिर्माण र पुनःस्थापनाका लागि आवश्यक तथ्याङ्क सङ्कलन र विश्लेषण हुन सकेको छैन । सरकारले बजेट भाषणमा भूकम्प प्रभावित ठाउँको पुनःनिर्माणका लागि रु २१ अर्ब बजेट त विनियोजन गरेको छ तर यसले गर्नुपर्ने पुनःनिर्माण र पुनःस्थापनाका कार्यहरु गर्न कठिन छ ।  यो बजेट पुनःनिर्माणसँग सम्बन्धित निकायमा पठाएर काम अगाडि बढाउने काम भएको छैन । यस्ता नीतिगत तथा प्राविधिक कमजोरीले समस्या समाधानतर्फको अग्रसरतामा अवरोध आउँछ । नयाँ सरकार गठनसँगै भूकम्पपीडितका लागि पुनःनिर्माण र पुनःस्थापनाको कार्यले गति लिनेछ भन्ने आशा र विश्वास गरिएको छ । (लेखक बारेकोट गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ) 

काठमाडौं:     ‘के छ हालचाल ?’ भनेर कसैले सोध्यो भने हामीले तयारी जवाफ दिन्छौँ ‘ठिकै छ’ । कसैले ‘खतम छ’ पनि भन्ला । तर यी जवाफ प्रस्ट भएनन्, सोलोडोलो खालका भए ।  यी र यस्ता प्रश्नको यकिन र प्रस्ट जवाफ दिन सकेमा हाम्रो जीवन नै बदलिन सक्ने दाबी मनोविज्ञानवेत्ताहरुको रहेको छ । आफूमा वा अरूमा तत्काल रहेको संवेगलाई राम्रोसँग बुझ्नु भनेको हामी कसरी सिक्ने, कसरी निर्णय गर्ने, कसरी अरूसँग व्यवहार गर्ने  भन्ने विषयमा प्रस्ट हुन सरल हुन्छ भने अन्ततोगत्वा व्यक्तिगत उन्नतिका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।       संवेगहरुको आफ्नै पहिचान र महत्व रहेको हुन्छ । संवेगलाई शरीरको बुद्धि पनि भनिन्छ । संवेगहरु जीवशास्त्रीय तत्व हुन् । यसलाई हाम्रो शरीर र दिमागले काम गर्ने रसायन पनि भन्ने गरिन्छ । भनिन्छ कि हामीमा आउने संवेग हामीलाई केही न केही सुनाउन उपस्थित भइरहेको हुन्छ । संवेग सिर्जना गर्ने उद्वीपकलाई हामीहरु आन्तरिक र बाह्य भनेर हेर्न सक्छौँ ।  आफैँभित्र सिर्जित कुनै विचार वा भौतिक अनुभूतिलाई आन्तरिक उद्वीपक भनिन्छ भने कसैसँग भएको भेट वा कुनै घटना भने द्वित्तीयक उद्वीपकमा पर्दछन् । संवेग र विचार एकले अर्कोलाई प्रभाव पार्ने हुन्छ । साथै संवेगले हाम्रो शरीरमा पनि असर पर्दछ । यसको ज्ञानबाट व्यक्तिलाई अवसर र चुनौतीका लागि तयारी हालतमा राख्दछ ।       शरीरमा रहेका आधारभूत क्रियाहरु जस्तैः मुटुको धड्कन, रगतको प्रवाह, पाचन क्रिया, रोगसँग लड्ने क्षमता, मांसपेसीमा रहने लचिलोपन र शरीरको तापक्रममा घटबढ हुने गर्दछ ।  त्यसैले भनिएको छ कि के कस्तो शारीरिक अवस्था छ भन्नेबाट पनि कस्तो संवेग पैदा भएको छ भन्ने थाहा लाग्दछ । संवेग पहिचान गर्ने र सोहीअनुसार व्यवहार गर्ने अभ्यास गर्दै जाँदा मन्दखालको अनुभूति चिनेर कडा र घातक प्रतिक्रिया पैदा नहुँदै व्यवस्थित गर्न सम्भव हुन्छ ।  हाम्रो शरीरको अवस्था जान्नका लागि शरीर–मस्तिष्क–हृदयको ‘स्क्यान’ गर्नुपर्ने अनि मात्र पूर्णरुपमा जानकारी पाउन सकिने भनिएको छ । भौतिकरुपमा अनुभूत भएका कुराहरु जस्तैः चिन्ता, मुस्कान, मांसपेसीको लचकता छ वा छैन भन्नेबाट शारीरिक अवस्था थाहा लाग्दछ भने कस्तो विचार आइरहेको छ ? ध्यान केन्द्रित भएको छ वा भङ्ग भइरहेको छ अवलोकन गर्ने गर्दा मस्तिष्कको अवस्था थाहा लाग्दछ भने शान्त छ वा झोँक चलेको छ वा खुसी वा चिन्तित वा उत्साहित के छ भन्ने जानकारीबाट हृदय पढ्न सकिने देखिन्छ ।       रोबर्ट प्लुटचकका अनुसार खुसी, आश्चर्य, रुचि, नरुचाउनु वा घृणा गर्नु, चिन्ता, डर छ आधारभूत संवेगमा पर्दछन् । त्यसैगरी, आठवटा आधारभूत संवेगमा रिस र विश्वाससमेत थपिन्छन् । समूहमा सँगै बसेर घटनाक्रम र भएको अनुभूति साटासाट गर्ने क्रममा कुन संवेगले काम गरेको भनेर अनुमान लगाउन सक्छन् र कस्तो संवेगका बखत के कस्तो व्यवहार वा क्रियाकलाप गर्नु उचित हुन्छ र के कस्तो गर्नु हुँदैन भन्ने सिकाइसमेत हुन्छ ।       हाम्रो दिमागमा रहने ‘हाइपोथ्यालामस’ त्यस्तो चीज हो, जसलाई संवेगको रसायन रहने कारखाना नै भन्न सकिन्छ । प्रोटिनबाट बनेका धागोजस्तो वस्तुबाट बन्ने त्यस्ता संवेगका रसायनहरु दिमाग हुँदै पिटुटरी नली हुँदै रगतमा प्रवाह हुने गर्दछन् । यसबाट पनि के बुझ्न सकिन्छ भने संवेगात्मक अनुभूतिको प्रभाव प्रत्येक जीवित कोषमा पर्न जान्छ । संवेगसम्बन्धी रसायन शरीरभरि पुग्न छ सेकेन्ड लाग्ने बताइएको छ ।       किन आवश्यक छ संवेग व्यवस्थापन      अहिलेको मान्छेमा र अहिलेको सम्बन्धमा देखिएको बेचैनी, बेखुसी, अशान्ति र विरोधाभासको पिँधमा पुगेर हेरियो भने संवेगलाई पढ्न नसक्नु र संवेग नबुझी व्यवहार गरिनुमा पुगिन्छ ।  आधुनिक दुनिया जति नै नजिकका व्यक्तिहरुबीचमा पनि अनुभूतिमा आधारित संवाद कम वा दुर्लभ हुन्छ । एकै परिवारका सदस्यहरुबीच, एउटै टोलीमा काम गर्ने भनिए पनि वा एउटै सङ्गठनमा समेत एकले अर्काको संवेग बुझेर हैन कि आफ्नो संवेगलाई सबैथोक ठाने जसरी बोलिन्छ, जसबाट अरूलाई हित नगर्न सक्छ ।  अझ यसरी भनौँ प्रत्येक छलफलमा शान्ति वा आत्मीयता प्रवद्र्धन गर्ने वा द्वन्द्व वा हिंसा बढाउने भन्ने छनोट हामीले नै गर्ने हो अरू कसैले गरिदिँदैन । एकता प्रकाशनले सन् २०२० मा  बजारमा ल्याएको ‘माई इमोसन म्याटर’ नामक पुस्तकमा संवेगको परिचय तथा आधारभूत पक्षहरुका सम्बन्धमा चर्चा गर्दै सकारात्मक व्यवस्थापनका बारेमा मार्गदर्शन गरिएको छ ।        संवेगलाई चिनाउने संवेगात्मक साक्षरता र संवेगात्मक बौद्धिकताबाट सन्तुलित र प्रभावकारी जीवन जिउने कलाको विकास हुन्छ । यो कौशलबाट कुनै पनि कामको नतिजाको प्रभावकारिता बढ्ने, निर्णय निर्माणमा सुधार आउने, स्वस्थकर रहने र आपसी सम्बन्ध प्रगाढ राख्न सहयोगी हुन्छ ।  भनिएको छ कि संवेगलाई बुझ्नेहरु अनुभूति व्यवस्थापनमा चुस्त हुन्छन् र त्यसैगरी आफ्नो काममा पनि निपूर्ण उत्रिन्छन् । उनहरु खुसीमा मात्तिने र दुःखमा आत्तिने नगरी एकखालको सन्तुलित व्यवहार प्रदर्शित गर्न सक्छन् ।       संवेग व्यवस्थापन कला      दिनभरि गरिएका कामलाई फर्केर हेर्दा खुसीको पल र दुःखको पल कुन थियो ? गत हप्ताभरिको सुनाउनयोग्य कुनै क्षण कुन थियो ? यस्ता प्रश्नहरु व्यक्तिको संवेगसँग सम्बन्धित हुन्छन् ।  कुन घटना वा क्षणमा के कस्ता अनुभूति भए भन्ने तहमा व्यक्तिले जवाफ दिन सकेमा मात्र उल्लिखित प्रश्नको जवाफले अर्थ राख्दछ । यसरी मनका अनुभूतिहरु व्यक्त गर्ने अवसर पाउँदा मान्छे नजिक भएको महसुस गर्दछ ।  हामीमा सिर्जना हुने वा हाम्रो व्यवहारलाई प्रभावित गर्ने आधारभूत संवेगहरुको जानकारी गराएपछि माथि उल्लेख भएका प्रश्नहरुको उत्तर दिन सरल हुन्छ । अभ्यास गर्दै जाँदा सुनाएका क्षण वा संवेगहरु वा व्यक्तिले महसुस गरेका प्रतिक्रियाहरु कुन संवेगसँग सम्बन्धित छ भनेर सुनाउने व्यक्तिले नै भन्न थाल्दछन् ।      एउटा परिवारमा रहने व्यक्तिहरु कमसेकम साँझको १५ मिनेट सँगै बसेर दिनभरिमा के कसो भयो भनेर आ–आफ्नो अनुभूति सुनाउने संस्कारको विकास गर्नु सकियो भने कस्तो परिस्थितिमा कुन संवेग प्रभावी भएर आयो भन्ने खुल्दै जान्छ ।  आफू स्वयम् र अरू कुनै व्यक्तिको सम्बन्धमा पनि के कसरी व्यवहार गर्दा उसको संवेगमा अनावश्यक उतरचढाव आउँदैन भनेर बुझ्नका लागि पनि आफू वा अरू कसैलाई कुन खालको घटनाले प्रभाव पार्दछ भन्ने बुझ्नु आवश्यक हुन्छ ।  यसबाट नै पारिवारिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । त्यस्तै मूल्यमा आधारित शिक्षाको पाटोका रुपमा संवेगसम्बन्धी सिकाइबाट व्यक्ति, विद्यालय र अन्य सङ्गठनलाई संवेगात्मक बौद्धिकताको सहयोगबाट अन्तरवैयक्तिक सम्बन्धमा रहेका समस्या हल गर्ने विश्वास गर्न सकिन्छ ।       घरपरिवारको सदस्य, विद्यालयमा अध्ययनरत विद्यार्थी, कार्यालयका स्टाफ वा कुनै टोलीका सदस्यहरुलाई संवेगसम्बन्धी साक्षरता आवश्यक पर्दछ । सुरुमा उत्सुकता, खुसी र डरलाई बुझाउन क्रमशः कोपिला, फूल र काँडाद्वारा चिनाउन सकिँदोरहेछ । अनि एकले अर्कोलाई तिम्रो आजको फूल के हो भनेर जिज्ञासा राख्न पनि मिल्दोरहेछ ।  कसैले भन्ला कि आज धेरै वर्षपछि मेरो मिल्ने साथीसँग भेट भयो त्यसैले आजका लागि मेरो फूल यही भेट हो भनेर । अनि आउने हप्ता पोखरा घुम्न जाने योजना बन्नु कुनै विद्यार्थीका लागि कोपिला हुन सक्छ । संवेगलाई मसिनोसँग चिनेपछि व्यवहार गर्न पनि सरल हुँदै जानु स्वाभाविक नै हो ।       हामीहरु जटिलताले भरिपूर्ण समयमा बाँचिरहेका छौँ । पहिलेपहिले नभएका र शीघ्र सुधार भइरहेका सञ्चारमाध्यम तथा सामग्रीको बाढी नै लागेको छ तर पनि व्यक्तिहरु एकलकाँटे देखिन्छन्, खुसी देखिन्नन्, सम्बन्धहरु पनि टिकाउ भइरहेका छैनन् । तनावको तह बढिरहेको छ ।  यी कारणको परिणामस्वरुप व्यक्तिहरु अस्थिर, अधैर्य, आपसमा भिड्ने, भाग्ने, निष्क्रिय रहने क्रम बढेको छ । सारमा भन्नुपर्दा हामीले व्यक्तिगत र सामूहिक रुपमा भोग्नुपरेका समस्याको समाधान जटिल बन्दै गइरहेको छ । हाम्रो परिवेश र कार्यशैलीका कारण संवेगात्मक चुनौती बढेको हो । बालबालिका, किशोरकिशोरी पनि तनावको भुमरीमा छन् ।       अहिलेको जटिल जीवनशैलीयुक्त समाजमा व्यक्तिले आफ्नो र अरूको पनि संवेग बुझेर व्यवहार गर्नुपर्ने भएको छ । क्यालिफोर्नियामा कार्यालय रहेको गैरसरकारी संस्था सिक्स सेकेन्ड्स त्यस्तो संस्था हो जसले संवेगलाई व्यवहारमा प्रयोग गर्न सक्नेगरी प्रक्रिया विकास गरेको दाबी गरेको छ ।  संवेगात्मक बौद्धिकताको सही अभ्यासबाट विश्वमा अर्बौंको सङ्ख्यामा रहेका मानिसलाई सन्तुलित व्यवहार गर्न सक्षम बनाउँदै शान्त, समृद्ध र अझ राम्रो विश्व निर्माण गर्ने भिजन उक्त संस्थाको रहेको छ र संवेग सम्बन्धमा थुप्रै सामग्रीहरु प्रयोगकर्तालाई उपलब्ध समेत गराएको छ ।        ‘जोन’ नामक विद्वानका अनुसार यदि कुनै व्यक्तिले संवेगसँग स्वस्थ र खुला सम्बन्ध राख्न सक्षम भयो अनि आफूमा आएको संवेगलाई पहिचान गर्न स्वीकार गर्न र सम्मान गर्न सक्यो भने र ती संवेगलाई जागृतिको औजारका रुपमा लिन सक्यो भने मात्र त्यो क्षमताले जीवनका विभिन्न मोडमा आवश्यक पर्ने निर्णय लिने कार्य सरल भएर जन्छ ।  संवेगको सम्बन्धमा साक्षर हुनु भनेको संवेग के के हुन्छ भनेर बुझ्नुमात्र कदापि होइन । तत्काल आफूमा के कस्तो संवेग अनुभूति भइरहेको छ अवगत हुनु, अरू व्यक्तिको अनुहार हेरेर वा स्वर सुनेर उसको संवेग पहिचान गर्नु पनि हो । यदि अनुमान लगाउन सकिएन भने संवेग पढ्न नसकेको नै मानिन्छ ।      त्यस्तै, कुनै घटना वा परिस्थितिको सम्बोधन गर्ने कि प्रतिक्रिया मात्र व्यक्त गर्ने, जीवनमा कुनै लक्ष्य वा उद्देश्य लिएर त्यसैमा केन्द्रित हुनु वा निरुद्देश्य भड्किरहनु, कुनै जिज्ञासामा जवाफ दिन हतार गर्नु वा केहीबेर रोकिएर जवाफ दिनु, अरूले राखिरहेको विषय सुन्न तयार नहुनु वा ध्यान दिएर सुन्नु, आफ्नो मूल्यमान्यता बारेमा नै अनभिज्ञ हुनु वा मूल्यमान्यता पछ्याउनु, कुनै कार्यपश्चात् पृष्ठपोषण नलिनु वा पृष्ठपोषणप्रति खुला रहनु जस्ता परस्पर विपरीत व्यवहार संवेगप्रति साक्षर हुँदा वा नहुँदा देखा पर्दछन् ।  वास्तवमा व्यक्तिमा देखापर्ने जुनसुकै खालको संवेगको जिम्मेवारी उक्त व्यक्तिकै हुन्छ । आफ्नो संवेगका कारण भएको नतिजाका लागि जिम्मेवारी नलिने तर अरूलाई आरोप भने लगाइहाल्ने प्रवृत्ति पनि संवेगको व्यवस्थापन कला नभएकै परिणाम हो । संवेगको साक्षरता वा संवेगात्मक बौद्धिकता राम्रो भएको खण्डमा आफ्नो वा संलग्न समूहलाई पूर्णरुपमा जागृत राख्न सहयोग पुग्दछ ।       संवेगात्मक अनुभूतिहरुलाई बेवास्ता गर्ने अभ्यास बढ्दै गयो भने त्यस्ता अनुभूतिसँग मुकाबिला गर्ने विषय चुनौतीपूर्ण हुँदै जान्छ । संवेगका सङ्केतहरुप्रति सचेत भइयो भने एउटा वा एकभन्दा वढी संवेगले शरीर र व्यवहारमा ल्याउन सक्ने प्रतिकूल परिणामबाट बच्न सकिन्छ ।  शरीरमा पैदा हुने संवेगहरुमध्ये सबैभन्दा बढी प्रभावमा रहेको संवेग प्रस्ट देखिन्छ । रिसलाई सबैभन्दा सशक्त संवेग मानिएको  छ । जस्तो कुनै व्यक्ति रिसाएको बखत एकान्तपन, आशावादिता, केही गर्न उत्साहित पनि हुन सक्दछ ।  एउटा संवेगलाई अरू सबै संवेगलाई हटाइहाल्न नसक्ने हुँदा कुनै संवेग अनुभूत भइरहेको बेला अरू कुनै अनुभूति पनि छ कि भनेर ‘स्क्यान’ गर्नुपर्ने हुन्छ । अर्कोतिर संवेगात्मक अनुभूतिहरु सङ्क्रामक हुने बताइएको छ । हामीमा आउने संवेगले हाम्रो कार्यव्यवहारलाई त असर गर्दछ नै यसले हाम्रो वरपर रहेका र हामीसँग सरोकार राख्ने व्यक्ति वा समूहलाई समेत असर गर्दछ ।       विवाद समाधानका क्रममा विवादका कारण तथ्य हो वा सम्बन्ध हो पहिल्याउनुपर्ने देखिन्छ । कारणको सही पहिचान भयो मात्र समाधान सरल बन्दछ । त्यस्तै, हामी उच्च शिक्षासम्म अध्ययन गर्दा पनि धेरै खालका तथ्याङ्कसँग चल्दछौँ तर संवेग वा सम्बन्धका बारेमा कमै मात्र अध्ययन हुन्छ ।  आपसी सहयोगका सम्बन्धमा कम र प्रतिस्पर्धामा ज्यादा जोड दिएका हुन्छौँ । फलस्वरुप हामी संवेग सम्बन्धमा कमै मात्र जानकार हुन्छौँ । सङ्गठनभित्र रहेका कर्मचारीहरुको संवेगात्मक अवस्था र कार्यसम्पादनमा त्यसको सम्बन्धको विश्लेषण गरी सोहीअनुसार व्यवहार गर्ने र परामर्श उपलब्ध गराउन सकेमा कार्यालयकै कार्यसम्पादन वृद्धि हुन्छ । यो विषयलाई मनन गरी संवेगात्मक साक्षरता र संवेगको सुव्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।    (लेखक बाग्लुङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ।)

काठमाडौँ:   भर्खरै नयाँ सरकार निर्माण भएको छ । परम्परागत प्रतिस्पर्धी दलहरु नै सरकारमा सहकार्य गर्न सहमत भएर साझा समझदारी सार्वजनिक गरेका छन् ।   दलहरुका निर्णयले जनमतको प्रतिनिधित्व र स्वामित्व दुवै ग्रहण गरेको हुन्छ । सरकार र संसद् आवधिक हुन् तर दलहरु सर्वकालिक हुन् ।   दल र तिनका नीतिले देशको विकास समृद्धि र अग्रगतिका लागि भूमिका खेल्दछन् । संसद्मा रहेका दलहरु प्रतिस्पर्धी र सहयात्री दुवै हुन् ।   विषय र एजेन्डाका आधारमा दलहरुले सहकार्य गर्नु र प्रतिस्पर्धा गर्नु सामान्य विषय हुन् । पार्टीका कामकारबाही वा तिनका विचार निर्माणको भूमिकालाई प्रभावकारी बनाउन सक्दा मात्र नेपालको भविष्यप्रति आशा जगाउन सकिन्छ । लोकतन्त्र जनमतका आधारमा चल्ने व्यवस्था हो ।   लोकतन्त्रमा निर्धारित कानुनी व्यवस्थाका आधारमा निर्वाचनका माध्यमबाट जनमतको परीक्षण हुन्छ । जनमतको प्रतिनिधित्व दलहरुले गर्दछन् । संसद् जनप्रतिनिधित्व गर्ने सर्वोच्च थलो हो, जसले सरकारका कामहरुको परीक्षण, नयाँ कानुनको निर्माण वा संशोधन गर्दछ र विधि निर्माणका लागि छलफल र बहसमा भाग लिने गर्दछ ।   बहसको समाप्तिपछि निर्णयहरु कार्यान्वयनमा पठाउँछ । सामान्यतः संसदीय प्रणालीमा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुन्छन् र उनले नियुक्त गरेका संसद्का सदस्यहरु मन्त्रिपरिषद्का सदस्य हुन्छन् । कार्यकारी अधिकार ग्रहण गर्दछ्न् । संसदीय प्रणालीमा सरकारको गठन र विघटन संसद्हरुको हातमा हुन्छ ।   यो संसदको सामान्य प्रक्रिया पनि हो । संसद्मा दलहरुको उपस्थितिले नै मुलुकको शक्ति सन्तुलनको तस्बिर देखाउँछ । नेपालको संसद्मा यसअघि तेस्रो दलले पहिलो र दोस्रो दलको समर्थनमा सरकार सञ्चालन गरेको थियो । अहिले प्रमुख दुई दलको सहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले ले दुई तिहाइ मतले विश्वास पनि प्राप्त गर्नुभएको छ । नेपालको राजनीतिक इतिहासमा यस्तो विश्वास निकै थोरै पटक मात्र प्राप्त भएको छ । यसैले यो अवसर ऐतिहासिक र महत्वपूर्ण छ ।   वर्तमान अवस्थामा सामाजिक लोकतन्त्रमा विश्वास राख्ने दलका नेता कार्यकर्ताले संसद्लाई वर्गसङ्घर्षको एउटा मोर्चाका रुपमा बुझ्नु उपयुक्त हुन्छ । विगतमा लोकतन्त्र र त्यसको अभ्यासमा कमजोरी रहन गएकाले मानिसका सामूहिक क्षमतामा विकास भएन । नेपाली समाजमा प्रकट भएको वर्गसङ्घर्ष र अ​न्य मुलुकमा प्रकट भएको वर्गसङ्घर्ष पृथक देखिन्छ । यो पृथक चरित्रले नेपाली क्रान्तिको चरित्र नै पृथक ढङ्गले अगाडि बढेको छ । नेपालको जस्तो वर्गसङ्घर्ष विश्वका अन्य मुलुकका कम्युनिष्ट पार्टीहरुले सामना गर्नु परेको थिएन ।   नेपालको क्रान्ति परस्पर विरोधीजस्ता लाग्ने पार्टीहरुका बीचको संयुक्त मोर्चाबाट सम्पन्न भयो । क्रान्तिलाई संस्थागत गर्न नेपालका बामपन्थी र प्रजातन्त्रवादीबीच प्रतिस्पर्धा र सहकार्य निरन्तर चलिरहेको छ । एउटै दलले राष्ट्रिय शक्तिका रुपमा आफूलाई विकास गर्न भने सकेको छैन । आज विज्ञान र प्रविधिको चुनौती, विकास र काममा मेसिनको प्रयोगले वर्गसङ्घर्ष र तिनमा देखापर्ने पक्षधरता पनि संसदीय सङ्घर्षमा नै प्रकट हुने गरेको छ । यद्यपि हामी समाजवादका आधार निर्माणका चरणमा छौँ । समाजवाद निर्माणको चरण लामो र क्रमबद्ध हुन्छ ।   नेपालमा समाजवादको आधार निर्माणका क्रममा उपचरणहरु पार गर्दै अघि बढ्नु पर्दछ । पुँजीवादको नभई नहुने चरणबाट गुज्रिएर मात्र समाजवादको यात्रा प्रारम्भ गर्न सकिन्छ । पुँजीवादी उत्पादनका साधन, प्रक्रिया र लाभको वितरण प्रणालीलाई सामाजीकृत गरेर मात्र समाजवादमा पुग्न सकिन्छ । तर यो प्रक्रियामा आत्मगत अवस्था भएर मात्र पुग्दैन, वस्तुगत अवस्था परिपक्व बन्नु पर्दछ ।   वस्तुगत अवस्था परिपक्व बनाउनका लागि सरकारले अगुवाइ गर्नुपर्दछ । यसका लागि संसदीय क्षेत्रमा श्रेष्ठता प्राप्त गरेर नेतृत्वमा पुग्नु वा सरकार सञ्चालनका प्रक्रियाबाट नीतिहरु परिवर्तन गर्ने प्रक्रियामा लाग्नु महत्वपूर्ण हुन्छ । नेपालमा संविधान निर्माणमा क्रियाशील हुने दलहरु नै यसको प्रभावकारी कार्यान्वयनमा उदासीन रहेको इतिहास छ ।   २०४७ सालको संविधान कार्यान्वयनमा आएपछि त्यसको रक्षा प्रयोग र विकासमा एकजुट हुनुपर्ने दलहरु नै विभाजित बने । तत्कालीन राजनीतिक शक्ति सन्तुलनबाट निर्मित यो संविधानको घेराबाट सबै व्यक्ति र शक्तिहरु बाहिर निस्कँदाको परिणाम नै त्यो संविधानको खारेजी भयो । विगतमा प्रणालीगत सुधार र विकास नगरेकाले नै लोकतन्त्रका जराहरु जनताका तहसम्म फैलिन सकेनन् ।   नयाँ संविधान कार्यान्वयनमा आएपछि पनि बर्तमान समयमा व्यवस्थापिका र यसका अङ्गहरुबीच सौहार्द्रपूर्ण अन्तरसम्बन्ध विकास गरेर नयाँ सोच र शैलीमा अघि बढ्नुपर्नेमा दलहरु एक अर्कालाई उपयोग गर्ने र सत्तामा टिक्ने भ्रममा केन्द्रित भए । परिणामतः जनतामा चरम निराशा, ठप्प प्रायः विकास निर्माण, कमजोर अर्थतन्त्र, चरम भ्रष्टाचार र उदासीनताले प्रश्रय पायो ।   यसबाट क्रन्तिका उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै प्रश्नहरु उठ्न थाले । लोकतान्त्रिक प्रणालीमा नै प्रहार गर्न दक्षिणपन्थी शक्ति र प्रवृत्तिले चलखेल गर्न खोजे ।   जसले लोकतान्त्रिक क्रान्तिको नेतृत्व गरेका मुख्य ठूला दलहरुलाई क्रान्तिका उपलब्धिहरुको रक्षा गर्ने र समृद्ध मुलुक निर्माण गर्ने चुनौती स्वीकार गर्न आवश्यकता बोध भयो र यो गठबन्धन निर्माण भयो । विगतका गल्तीबाट सिक्ने र प्रतिस्पर्धात्मक क्षमता विकास गरेर लोकतन्त्रलाई स्थायित्व दिन जरुरी छ ।   व्यवस्थाप्रति जनविश्वास आर्जन गर्न, जनताका बीचमा गरिएका वाचा पूरा गर्ने र गरिएका काम र प्राप्त उपलब्धिहरुको युक्तिसङ्गत जनतामा विश्वास सिर्जना गर्नुपर्दछ । लोकरिझ्याइँमा विश्वास गर्ने दलहरुले समस्याको उठान त गरे तर समाधान दिने सामथ्र्यमा चुकेकाले आज प्रणालीमै प्रश्नहरु उठेका छन् ।   उठेका सबै प्रश्नको युक्तिसङ्गत र विश्वासनीय जवाफ सरकारले दिनुपर्दछ र विश्वास बढाउनुपर्छ । सङ्घीय लोकतान्त्रिक व्यवस्थाको जनविश्वासलाई जगेर्ना गर्न र जनतामा यस सङ्घीय व्यवस्था र जनप्रतिनिधिप्रति सिर्जना गरिएको भ्रमको पहाड भत्काउन सकिन्छ । दलका र तिनका क्रियाकलापबाट सङ्घीय लोकतान्त्रिक प्रणालीप्रति विश्वासमा बढोत्तरी गर्न सकिन्छ । प्रतिनिधित्व र नेतृत्वको सुनिश्चितताले मात्र व्यवस्थाप्रति विश्वास बढ्छ । वर्तमान सरकारका चुनौतीहरुपनि बेग्रेल्ती छन् । यसका लागि प्रभावकारी अनुगमन संयन्त्र हुन जरुरी हुन्छ ।   सबैभन्दा प्रभावकारी अनुगमन गर्ने संस्थाहरु भनेका आमजनसमुदाय नै हुन् । संसद्हरु निर्णय, प्रतिवेदन र निर्देशनहरु समयमा नै दिनसक्ने र कार्यान्वयन गर्न सक्ने हुनुपर्दछ । संसद्का काम कारबाहीहरुको अनुगमनका लागि संस्थागत संयन्त्र, पर्याप्त स्रोत र साधन, दक्ष जनशक्तिको आवश्यकता हुन्छ । अनुगमन मूल्याङ्कनलाई वस्तुगत र विश्वस्त बनाउन सरकारले काम गर्नुपर्दछ । सही ढङगले साधन, स्रोत र शक्तिको दक्षतापूर्ण परिचालन भएन भने सङ्घ, प्रदेश र स्थानीय तहका योजनाहरुको प्रभावकारी कार्यान्वयन हुन सक्दैन । सार्वजनिक शिक्षा, स्वास्थ्य, रोजगारी र सेवा प्रवाहका क्षेत्रमा समस्याहरु छन् । सहकारिता, सहअस्तित्व र समन्वयमा साथ अगाडि बढ्नु पर्ने तीनै तहका सरकारमा होडबाजी बढेको देखिन्छ । यसैलाई आधार बनाएर सङ्घीय प्रणालीका विपक्षमा हुनेहरुले आलोचनामा धेरै समय खर्चिएका छन् ।   राजनीतिको वर्तमान नेतृत्व क्रान्तिकालीन नेतृत्व हो । अब निर्माण र समृद्धिको नेतृत्व गर्ने समय हो । यही नेतृत्वले देखेको सपना समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले पूर्ण दक्षताका साथ काम गर्नुपर्दछ । यस प्रक्रियामा पन्छिएर तटस्थ वा नकारात्मक हुने छुट राजनीतिक दलहरुलाई रहँदैन । वर्तमानमा युवा पुस्ताको पेसाप्रतिको लगाव र चिन्तालाई नै ख्याल गर्नका लागि प्रणालीको विकास पहिलो अनिवार्य सर्त हो । वर्तमान गठबन्धनबाट संविधान र कानुन कार्यान्वयनमा उठेका प्रश्नको उत्तर दिन सकिन्छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ बनाउन सकिन्छ ।   राजनीतिक स्थायित्व सिर्जना गर्नका लागि पनि चुनौतीहरुको सामना दलहरुबीचको एकताबाट गर्न सकिन्छ । यो सहकार्यले नवनेपाल निर्माणमा देखापरेका चुनौतीको सामना गर्न सकिन्छ । संविधानको संशोधन, राष्ट्रिय हितको रक्षा, सुशासन र भ्रष्ट्राचार नियन्त्रण र विकास निर्माणमा तीव्रता दिनु वर्तमान सरकारको दायित्व हो । दुई ठूला दलबीचको समझदारी र परिपक्व नेतृत्वबाट समृद्धिको युगको नेतृत्व गर्न सकिन्छ । स्थिर सरकार र संसद्मार्फत प्रणालीको विकास सम्भव छ । संविधानले दिएको स्वतन्त्रतालाई उपयोग गरेर समाजलाई गतिशील बनाइरहनु पर्दछ ।   दल र तिनका नेतृत्वले कार्यकर्तालाई गतिशील र क्रियाशील बनाइरहेनन् भने संविधान आफैँले स्वतन्त्रता, भ्रातृत्व र समानताको सुनिश्चित गर्दैन । लोकतन्त्रमा दल र सरकार पृथक कुरा हुन् । सरकार आवधिक हो तर दलहरु सर्वकालिक हुन् । लोकतन्त्रको चरित्रले दलहरुलाई बदल्छ तर दलहरुको दर्शन, तिनलाई प्राप्त जनविश्वास र कार्यशैलीले मुलुकको लोकतन्त्रको भविष्य तय गर्दछ । यसैले हाम्रो मुलुकमा दल र तिनका क्रियाकर्ममा लोकतन्त्र निर्भर छ । नेपालमा आधारभूत रुपमा राजनीतिक काम सकिएको छ ।   अब आर्थिक विकासको काममा सबै दलको ध्यान केन्द्रित हुनु पर्दछ । लोकतान्त्रिक व्यवस्थामा पनि दलहरुले सरकारमा हुँदा र नहुँदा प्रदर्शन गर्ने व्यवहारले लोकतन्त्रलाई सहयोग पुगेको छ । सङ्घीयता एक जटिल पद्धति हो । यसको समुचित व्यवस्थापन गर्नु अहिलेको मुख्य कार्यभारको रूपमा बुझ्नुपर्दछ । नागरिकको जनमतबाट अनुमोदित भएको सङ्घीयताको फल प्राप्त गर्नका लागि प्रत्येक व्यक्ति थप जिम्मेवार र जवाफदेही बन्नुपर्दछ ।   संविधानले समाजवादसम्म जान सकिने प्रस्ट पारेको छ । नेपाली कांग्रेसले आफ्नो राजनीतिको प्रारम्भिक दिनमा लोकतान्त्रिक समाजवादलाई आफ्नो लक्ष्य निर्धारण गरेको थियो । नेपाली कम्युनिष्टहरु पनि पुँजीवादबाट गुज्रिएर नै समाजवादमा पुग्ने हुँदा दुवैको साझा गन्तव्य पुँजीको विकास र समृद्धि नै हो ।   दुवै दल एक भएर राजनीतिक स्थायित्व र मुलुक निर्माणमा सहमत भएका बेला द्रुत विकास प्राप्त गर्ने अवसरहरु छन् । लोकतन्त्र विधिको शासन हो । विधि निर्माता जनप्रतिनिधि हुन् । जनप्रतिनिधिहरु दलबाट आएका हुन्छन् तर ती प्रतिनिधिहरुको मूल स्रोतले हाम्रो लोकतन्त्रको मूल चरित्रमा प्रभाव पारिरहेको तथ्यलाई बिर्सन मिल्दैन ।   सरकारमा पुगेका जनप्रतिनिधिहरुलाई आसेपासेबाट जोगाउनु पर्दछ । आसेपासेहरुबाट मुक्त लोकतन्त्रले नै हाम्रा समस्याको समाधान र सुरक्षित भविष्यको निर्माण गर्दछ । संवैधानिक स्वतन्त्रताका लागि क्रियाशील हुनेछन् । लोकतन्त्र जति प्रभावकारी र सङ्घीयता सबल भए मात्र समृद्ध नेपाल बन्छ ।   सरकारले आफ्नै अनुभवबाट पाठ सिक्दै अघि बढ्ने, नियन्त्रणमुखी शासन सञ्चालनबाट सहजीकरणमुखी शासन सञ्चालनतिर बढ्ने, सुविधामुखी राजनैतिक र प्रशासनिक प्रणालीबाट सेवामुखी नेतृत्व प्रणालीतिर जान, राजनैतिक इच्छा शक्ति विकास गर्न सरकारले ध्यान दिनुपर्दछ । यही सहकार्यलाई सहज रुपमा अघि बढाउन सकिँदा नेपालको भविष्य उज्ज्वल बन्छ । लोकतन्त्र थप सुदृढ र प्रभावकारी बन्छ, जनविश्वास बढ्छ ।   (लेखक नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीका सचिव हुनुहुन्छ)

काठमाडौँ:   फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बनेको छ । ओलम्पिकअन्तर्गत फुटबल, रग्बीलगायतका खेलका प्रतियोगिता भने गत बुधबार नै सुरु भइसकेका छन् ।   ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि राजधानी पेरिस पुगिसकेको छ । यसपालि एक नेपाली खेलाडी छनोट प्रतियोगिता जितेर ओलम्पिकमा सहभागी हुन गएका छन् ।   टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ दक्षिण एशियाको छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुन सफल भएका छन् । अन्य खेलाडीहरुलाई भने कोटा तथा वाइल्ड कार्डको आधारमा सहभागी गराइएको हो ।   नेपालले ओलम्पिकमा विभिन्न छ खेलमा सात खेलाडीलाई सहभागी गराउँदैछ ।   नेपालका अन्य खेलाडीहरुमा जुडोमा मनिता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोषी श्रेष्ठ, स्विमिङ मा डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल छन् ।   नेपालले पहिलोपटक ओलम्पिकमा ब्याडमिण्टनमा भाग लिन लागेको हो । नेपालले ओलम्पिकमा भाग लिएको यो १५ औं पटक हो । आज राति ११ बजेर ४५ मिनेट जाँदा पेरिसमा आयोजना हुने भब्य उदघाटन समारोहमा नेपालको पनि सहभागिता रहनेछ ।   ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमको सहभागिता रहनेछ । यसमध्ये एशियाका ४४ वटा देशहरुले भाग लिदैछन् । ओलम्पिकमा शरणार्थी टिमको समेत सहभागिता रहनेछ । नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो ।   पेरिस ओलम्पिकमा विभिन्न ३२ वटा खेलका ३२९ वटा इभेण्टस् सञ्चालन हुँदैछन् । यसअघि ओलम्पिकका लागि छनोट खेल पार गरी सहभागी हुन सफल नेपाली खेलाडीमध्ये पहिलो खेलाडीमा ताइक्वाण्डोकी खेलाडी संगिना बैध्य थिइन् । सन् २००४ मा ग्रीसको राजधानी एथेन्समा आयोजित ओलम्पिकमा उनी छनोट चरणमा जितेर भाग लिन सफल भएकी थिइन् ।   सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिकमा ताइक्वाण्डो खेलाडी दिपक बिष्ट पनि छनोट खेल जितेर ओलम्पिक खेल्न गएका थिए ।   अन्य खेलाडीहरु भने कोटा तथा वाइल्ड कार्डको आधारमा ओलम्पिकमा सहभागी हुँदै आइरहेका छन् । ओलम्पिकमा एथलेटिक्स तथा स्विमिङ खेलमा अनिवार्य सहभागी पठाउनु पर्ने नियमअनुसार ती खेलमा नेपाली सहभागी बढी भएको पाइएको हो ।   विगतको सहभागिता   सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजित ओलम्पिकदेखि नेपालले ओलम्पिकमा प्रतिस्पर्धा गर्न सुरु गरेको थियो ।   त्यतिखेर नेपाली टिममा दुई धावक र चार जना बक्सरलाई समावेश गरिएको थियो । बक्सरहरु भने हङ्गकङस्थित गोरखा रेजिमेण्टमा कार्यरत नेपाली सैनिकहरु थिए । सन् १९६८ मा मेक्सिकोमा आयोजित ओलम्पिक बाहेक नेपालको ओलम्पिकमा सहभागिता छुटेको छैन ।   हालसम्म सबैभन्दा धेरै एथलेटिक्सका खेलाडीहरुले नेपालको तर्फबाट ओलम्पिकमा भाग लिएका छन् ।   सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित ओलम्पिकमा नेपालबाट दुई धावक सहभागी भएका थिए । सन् १९७६ मा क्यानडाको मोर्टियलमा आयोजित ओलम्पिकमा नेपालको तर्फबाट धावक बैकुण्ठ मानन्धरले मात्र भाग लिएका थिए ।   उनले लगातार चार वटा ओलम्पिकमा दौडेर नेपालबाट सबैभन्दा धेरै पटक ओलम्पिकमा सहभागी हुने अवसर प्राप्त गरेका थिए । सन् १९८० मा रुसमा आयोजना गरिएको ओलम्पिकमा नेपालबाट एथलेटिक्स, बक्सिङ र भारोत्तोलनमा १२ जना खेलाडी सहभागी भएका थिए । सन् १९८४ मा अमेरिकाको लसएन्जल्समा आयोजित ओलम्पिकमा पनि एथलेटिक्स, भारोत्तोलन बक्सिङमा ११ जना खेलाडी पठाइएको थियो ।   सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित ओलम्पिकमा नेपालको खेल टोली विगतमा भन्दा ठूलो थियो । त्यस प्रतियोगितामा नेपालले एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, जुडो, सुटिङ र ताइक्वाण्डो खेलमा १८ जना खेलाडीलाई सहभागी गराएको थियो ।   सन् १९९२ मा स्पेनको बार्सिलोना ओलम्पिकमा ताइक्वाण्डो, सुटिङ र एथलेटिक्समा पाँच जनाले भाग लिएका थिए ।   सन् १९९६ मा अमेरिकाको एटलाण्टामा एथलेटिक्स, भारोत्तोलन र सुटिङमा छ जना गएका थिए । यस्तै सन् २००० मा अष्ट्रेलियाको सिड्नीमा नेपालले एथलेटिक्स, स्विमिङ तथा सुटिङमा गरी पाँच खेलाडी पठाएको थियो ।   सन् २००४ मा ग्रीसको एथेन्समा नेपालबाट ताइक्वाण्डो, एथलेटिक्स, भारोत्तोलन र सुटिङमा छ जना खेलाडीहरु पठाइयो ।   सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिकमा पनि एथलेटिक्स, जुडो, सुटिङ, स्विमिङ र ताइक्वाण्डोमा नौ खेलाडी सहभागी गराइएको थियो । सन् २०१२ मा लण्डन ओलम्पिकमा एथलेटिक्स, स्विमिङ र सुटिङमा भाग लिन चार जना नेपाली गएका थिए ।   सन् २०१६ मा दक्षिण अफ्रिकाको रियोदि जेनिरियोमा नेपालले एथलेटिक्स, स्विमिङ, जुडो र आर्चरीमा गरी छ जनालाई सहभागी गराएको थियो ।   सन् २०२१ को जापानको टोकियो ओलम्पिकमा एथलेटिक्स, स्विमिङ र एथलेटिक्समा पाँच जना खेलाडीले भाग लिएका थिए ।     गौरवमय त्यो क्षण   सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा भएको गृष्मकालीन ओलम्पिक प्रतियोगितामा नेपालले ताइक्वाण्डो खेलमा कास्य पदक पाएको थियो ।   खेलाडी विधान लामाले उक्त पदक जितेका थिए ।   सन् १९८६ मा बिधानसहित आठ नेपाली खेलाडीले सियोलमै एशियाली खेलकुदमा कास्य पदक पनि पाएका थिए । सम्पूर्ण नेपालीहरु गौरवान्वित बनेको त्यो खुसीको क्षण क्षणिक बन्न पुग्यो ।   त्यतिखेर ओलम्पिकमा ताइक्वाण्डो खेललाई प्रदर्शन खेलका रुपमा समावेश गरिएकाले खेलाडी लामाले जितेको पदकलाई आधिकारिक मान्यता प्रदान नगरिएपछि नेपाल आधिकारिक पदक तालिकामा अङ्कित हुनबाट बन्चित हुन पुगेको थियो ।   नगण्य उपलब्धि   ओलम्पिकमा नेपाली खेलाडीहरुको सहभागिता १५ चोटी पुगे पनि हालसम्म सहभागितामै सिमित रहेको छ ।   एशियाली खेलकुदमा रजत पदकसम्म जित्न सकेको नेपालले हालसम्म ओलम्पिकमा भने कुनै पदक जित्न सकेको छैन । ओलम्पिकमा सहभागिता अझै पनि औपचारिकतामा सिमित रहेको छ ।   ओलम्पिकका लागि दीर्घकालीन योजना सञ्चालन नहुनाले यस्ता ठूला प्रतियोगितामा नेपालको सहभागिता खाली औपचारिकतामा सिमित हुन पुगेको हो ।   यस्ता प्रतियोगितामा विभिन्न खेलमा भाग लिनुभन्दा उचित प्रदर्शन गर्न सकिने सिमित खेललाई जोड दिनु उचित हुने गर्दछ । खेलाडीको क्षमताको मुल्याङ्कन नगरी कोटा प्राप्त भएकै आधारमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनु उचित हुन्छ कि हुदैंन गम्भीर भएर सोच्नु पर्ने बेला पनि आएको छ ।   प्रतियोगिताको केही समयअघि खेलाडी जम्मा गरी दिइएको प्रशिक्षण ओलम्पिकजस्तो विश्व स्तरीय प्रतियोगिताका लागि अपर्याप्त भएको अनुभव विगतदेखि नै हुँदै आइरहेको छ ।   सिमित समय र सानो लगानीले ओलम्पिकमा सफलता सम्भव नभएको कुरा स्वयं खेल क्षेत्रसँग सम्बन्धित अधिकारी तथा प्रशिक्षकहरुले बताउँदै आइरहेका छन् । वर्षैभरि नियमित प्रशिक्षण, पर्याप्त मात्रामा खेल प्रतियोगितामा सहभागिता, वैदेशिक प्रशिक्षण र प्रतियोगितामा जाने अवसरले खेलाडीको क्षमता अभिवृद्धि गर्दै लैजाने गर्दछ ।   यसैगरी उनीहरुलाई यथोचित सुविधातर्फ पनि ध्यान दिनु जरुरी पर्दछ । यसै सिलसिलामा हालसम्म कैयौं स्थापित खेलाडीहरु समेत विदेश पलायन हुनु चिन्ताको विषय बनेको छ ।   नेपालमा सरकार परिवर्तनसँगै त्यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा पनि पर्ने गरेको छ ।   खेलकुद क्षेत्रको आधिकारिक निकाय राष्ट्रिय खेलकुद परिषदमा हुने गरेको पदाधिकारी परिवर्तनले पनि नेपालको समग्र खेलकुदको विकासमा असर पर्ने गरेको छ । नेपालमा भएका सयौं खेलकुद सङ्घ पनि नेपालको अन्तर्राष्ट्रिय असफलतामा जिम्मेवार रहेका छन् ।   नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीजस्ता विभागीय टिमहरुले खेलाडीहरुलाई रोजगार दिई नियमित रुपमा प्रशिक्षण सञ्चालन गरेर नेपालको अन्तर्राष्ट्रिय सहभागितामा यथाशक्य योगदान दिइरहेका छन् । दक्षिण एशियाली मुलुकहरुमध्ये भारतले हालसम्म ओलम्पिकमा ३५ वटा पदक जितिसकेको छ ।   यसैगरी पाकिस्तानले १० तथा श्रीलङ्काले दुई वटा पदक पाइसकेका छन् । अब नेपालले पनि ओलम्पिक जस्तो खेलकुद प्रतियोगितालाई औपचारिकतामा मात्र सिमित हुन नदिई पदक प्राप्तिका लागि उचित पहल गर्न जरुरी भसकेको छ । ओलम्पिक भनेको खेलाडीले राष्ट्रिय किर्तिमान भङ्ग गर्दा गौरव गर्ने क्षण होइन । पदक जितेर मुलुकको छवि जाज्वल्यमान बनाउने महत्वपूर्ण अवसर हो ।   नेपाल सरकारले पनि ओलम्पिकलाई उच्च प्राथमिकता दिई दीर्घकालीन वार्षिक योजना बनाउन तथा पदक प्राप्तसम्मका लागि आवश्यक पूर्वाधारहरु जुटाउन नेतृत्व लिनुपर्ने आवश्यकता देखिएको छ ।   (लेखक राजु सिलवाल​ खेलकूदमा अभिरुचि राख्ने पत्रकार हुनुहुन्छ)

काठमाडौं:    मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने अवसर पाएको पनि एक वर्ष पूरा भएको छ । गत वर्ष असारमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दा राजदूतको जिम्मेवारीमा रहेर सम्झन लायक केही गर्ने लक्ष्य लिएको थिएँ ।   म हरेक दिन दैनिक प्रक्रियाको सुरुआतमा स्थानीय पत्रिका पढ्ने गरेको छु । एक दिन पत्रिका पढ्ने सिलसिलामा रोजगार अनुमति प्रणाली ९इपिएस०मार्फत कोरियामा पाँच वर्ष रोजगारी गरेर नेपालमा आफ्नो गृहनगर गुल्मी फर्किएका पाल्पा र गुल्मीको सीमा नजिकै गौरव डेरी तथा प्रशोधन कम्पनी स्थापना गरेका रविलाल पन्थका बारेमा प्रकाशित लेख पढेर धेरै खुसी मिल्यो ।  त्यतिबेला म नेपाल आएको दुई हप्ता मात्र भएको थियो । नेपालका लागि कोरियाली राजदूतको भूमिकामा रहेर दुई देशबीचको सहकार्य विस्तार क्षेत्रका बारेमा सोच्दै थिएँ । त्यो लेख पढेपछि विदेशमा काम गरेको अनुभव भएका व्यक्तिले आफूले सिकेको सीप तथा पुँजी सदुपयोग गरेर स्वदेशमा नै व्यवसाय सुरु गरेका व्यवसायीहरुको सफलताका कथाहरू खोज्ने तथा उक्त माध्यमबाट नेपालमा रोजगारी सिर्जनाका लागि प्रेरणादायी भूमिका खेल्ने राजदूतका रुपमा आफ्नो परिचय दिने योजना बनाए ।       नेपालमा उद्यमशीलताका जटिलता      व्यवसाय सुरु गर्नु भनेको एक कठिन निर्णय हो भन्ने लाग्छ । यद्यपि, एउटा भनाइ छः जीवनमा ‘नो–रिस्क नो–रिवार्ड’ व्यवसाय सुरु गर्नु एक कला हो जसमा विभिन्न स्रोतः पुँजी, अनुभव, जनशक्ति, सुविचार र मार्केटिङ क्षमता पनि चाहिन्छ ।  जुनसुकै क्षेत्रमा व्यवसाय थालनी गरेका व्यवसायीले तीन वर्षभित्र धेरै व्यक्तिहरुले निराशाको अनुभव गरेका उदाहरणहरु रहने गरेका छन् । त्यसैगरी, सफल व्यवसाय पनि तीन वर्षको अवधि पार गरेपश्चात् गन्तव्य निर्धारण हुने तथा समाजमा आफ्नो प्रस्तुति दिएका हुन्छन् ।  उद्यमी विकासका लागि समूहमा काम गर्ने क्षमता (टिम वर्क) समन्वय गर्ने भाषाको कला, समस्या समाधान गर्ने क्षमता, नेतृत्वदायी क्षमता, रचनात्मक चिन्तन, उद्देश्य केन्द्रित झुकाव, व्यावसायिक योजना बनाउने सीप, लगनशीलता तथा धैर्यता, व्यवस्थापन क्षमता, आर्थिक व्यवस्थापन, व्यापारिक सीप, जोखिम उठाउने क्षमता आदिले व्यवसायमा सफलता हासिल गर्न भूमिका खेल्दछ भन्ने गरिएको छ ।       सरकारी नीति निर्माता तहबाट आफ्नो भिजनमा स्टार्टअपलाई कसरी लिएर जाने र दूरदर्शिता कस्तो राख्ने भन्ने दृष्टिकोण निर्माण नगर्दा नेपालको स्टार्टअपको परिदृश्य प्रस्ट हुँदैन भन्ने लाग्छ । नेपालमा स्टार्टअपको इतिहास करिब १५ वर्ष पार गरेको छ । यसबीचमा नवउद्यमी तथा युवा उद्यमीले नवप्रवर्तनलाई व्यवसायका रूपमा जोगाउँदै सफल उद्यमका रूपमा स्थापित गरेका केही उदाहरण छन् । नेपाल सरकारले सन् २०३० सम्म स्टार्टअपका माध्यमबाट एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानअनुसार सन् २०२७ सम्ममा नेपालको स्टार्टअप बजार ५० करोड डलरको हुने देखाएको छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग मन्त्रालय तथा विभिन्न सरोकारवालालाई समावेश गरेर ‘स्टार्टअप २०–३०’ को भिजन बनाएका बारेमा मलाई जानकारी रहेको छ । सो भिजनमा कर छुट, स्टार्टअपलाई सहुलियपूर्ण कर्जा वितरण, स्टार्टअप कोष तथा बोर्ड गठनलगायत विषय समावेश छन् ।  त्यो नीति कार्यान्वयन भएको खण्डमा स्टार्टअपलाई विकसित रुप दिन सकिन्छ भन्ने लाग्छ । अन्तर्राष्ट्रिय बजारमा जे कुरा अहिले अभ्यास भइरहेको छ, त्यसको अध्ययन गरेर लागू गर्न सकेमा नेपालका लागि स्टार्टअप नै देश विकास तथा रोजगारी सिर्जनाका लागि कोसेढुङ्गा साबित हुनेछ । अबको समय भनेको स्टार्टअपकै हो ।       नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई ‘स्टार्टअप नेसन’ बनाउने र अन्तर्राष्ट्रियजगत्मा नेपालको परिचय दिने लक्ष्य लिएको छ । त्यसका लागि राष्ट्रिय नीतिअन्तर्गत कार्यक्रम तर्जुमा गर्नु पर्दछ भन्ने लाग्छ । प्रविधिको युगमा आवश्यक जनशक्ति जुनसुकै देशबाट पनि हायर गर्न सकिन्छ ।  अतः प्रविधिको दायरा फराकिलो भएको छ । नेपालभित्रै गुणस्तरीय उत्पादन आउन थाले भने अहिले आयात भइरहेको वस्तु विस्थापित हुनेछन्  । नवप्रवर्तनले उत्पादकत्व बढाउनाका साथै आयातलाई प्रतिस्थापन गरी निर्यातसमेत बढाउनेछ ।  नेपालमा व्यवसाय सुरुआती चरणमा पुँजी व्यवस्थापन, सीमित अवधिका लागि कर छुट, बैङ्कको सहुलियत ब्याज दरमा कर्जा व्यवस्थापनलगायत पक्ष सरकारी नीतिमा स्पष्ट हुनुपर्ने देखिन्छ । त्यसैगरी, सम्भावना भएका व्यवसायको पहिचान गरी प्रोत्साहन गर्ने निति अवलम्बन हुनुपर्ने देखिन्छ ।      उद्यमशीलतालाई प्रोत्साहन       उद्योग स्थापना गर्न सजिलो छैन तर उद्योगबिना राष्ट्रको अर्थतन्त्र उकास्न सहज हुँदैन । त्यसैले सरकारले स्वदेशी कम्पनी र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्छ । नेपाल सरकारले हाल ठूलो मात्रामा आयात भइरहेको कृषि जन्य व्यवसाय, सञ्चार प्रविधि व्यवसाय प्रवद्र्धन गर्नेतर्फ केन्द्रित गरेमा अर्वौं रुपैयाँको आयातलाई विस्थापन गर्न सक्नेछ । सूचना प्रविधिको क्षेत्रमा नेपाल सरकारले वार्षिक रु २० अर्बभन्दा बढीको सेवा खरिद गर्ने गरेको देखिन्छ । नेपाली उद्यमीले सफ्टवेयरमा सेवा दिन सक्छन् भन्ने मेरो बुझाइ छ ।       नेपाली कम्पनीलाई विश्व बजारसम्म पुग्ने आधार तय गर्नका लागि सुरुमा देशभित्रै सेवा गर्ने अवसर दिनुपर्दछ । बहुसङ्ख्यक देशहरुले विभिन्न सहज नीतिमार्फत उद्यमशीलतालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेका छन् ।  दक्षिण कोरियाले पनि विभिन्न उद्यमशीलता नीतिहरू अवलम्बन गर्दै आएको छ । स्टार्टअप नीतिका दुई मुख्य पक्षमध्ये उद्यमशीलताको भावना विकास गर्ने र स्टार्टअप पूर्वाधार विस्तार गर्ने रहेको छ ।  उद्यमशीलतालाई बढावा दिनका लागि शैक्षिक संस्था वा निजी संस्थाले प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयका विद्यार्थी, कलेजका विद्यार्थी, सामान्य वयस्क र इन्जिनियरहरूलाई उद्यमशीलतासँग सम्बन्धित शैक्षिक अवसरहरू उपलब्ध गराउँदै आएको छ ।  स्टार्टअप प्रतियोगिता आयोजनामार्फत विजेतालाई आफ्नै व्यवसाय सुरु गर्न आवश्यक सहयोग गर्ने गरेका छन् । स्टार्टअप पूर्वाधार विस्तार गर्नका लागि लगभग दुई सय ५० स्टार्टअप इन्क्युबेसन सेन्टरहरू निर्धारण गरिएको छ । विश्वविद्यालय वा अन्य अनुसन्धान संस्थालाई नवीनतम् व्यवसाय प्रवद्र्धन गर्ने संस्थाका रुपमा सञ्चालनमा मा ल्याइएको छ ।  कोरिया सरकारले व्यापार वा व्यवसाय सुरु गर्ने प्रारम्भिक चरणहरूमा सम्भावना देखिएका  व्यवसाय  छनौट गरेर  सुरुआती चरण तीन वर्ष स्टार्टअप पुँजीका रुपमा न्यूनतम् ब्याजदरमा आवश्यक पुँजी उपलब्ध गराउँदै आएको छ ।      व्यवसाय सुरु गर्नु भनेको एक प्रक्रिया हो, जसमा उद्यमशीलताको भावना भएको व्यक्तिले निर्णय लिन्छ र जोखिम लिन्छ । यद्यपि विभिन्न स्टार्टअपका लागि सरकारी स्तरको सहयोग पर्याप्त नहुन सक्छ ।  तर सरकारी सहयोगले स्टार्टअप प्रक्रियाका लागि तयारी गर्न र सफलताको सम्भावना बढाउन तथा जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा उल्लेख गरेअनुसार आर्थिक वर्षमा सरकारको कूल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइनाका साथै अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको अवस्था छ ।  कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिनाका साथै सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कारसम्बन्धी कार्यक्रमलाई यसमा आबद्ध गर्ने कार्यक्रम आउनु सुखद पक्ष हो भन्ने लाग्छ । प्रदेश र स्थानीय तहलाई पनि उक्त कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने नीतिले नयाँ स्टार्टअपका लागि सकारात्मक भूमिका खेल्ने देखिन्छ ।      उद्यमशीलता प्रवद्र्धनका लागि कोरियाको सहकार्य        मैले ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा राष्ट्रपतिलाई नेपालमा उद्यमशीलतालाई प्रोत्साहन गर्न सहयोग गर्ने प्रतिबद्धतासहितको परिचय दिएको थिएँ । नेपाललगायत विकासोन्मुख देशहरूले ओडिएमा केन्द्रित विकास साझेदारी परियोजनाहरूका लागि बाह्य सहयोग प्राप्त गर्न आवश्यक भए तापनि आफैँले आफ्नो विकास र उत्पादन वृद्धि क्षमता विस्तार गर्न प्रयत्न गर्नु सकारात्मक पक्ष हो भन्ने लाग्छ ।  कोरिया र नेपालबीच विकास साझेदारी परियोजना सन्दर्भमा नेपाललाई विगत १५ वर्षदेखि निरन्तर प्रमुख विकास साझेदार राष्ट्रको सूचीमा समावेश गरेर परियोजना सञ्चालन हुँदै आएको छ ।  यहाँ केही स्टार्टअप सम्बन्धित परियोजनाहरुका बारेमा सामान्य जानकारी दिन चाहन्छु । कोइकाले नेपाली श्रम मन्त्रालय, उद्योग मन्त्रालय तथा स्विस सरकारसँगको सहकार्यमा सन् २०२३ बाट कोरियामा रोजगारको अनुभव लिएर स्वदेश फर्किएका आप्रवासी कामदारको स्थिर बसोबास, उद्यमशीलता विकास परियोजनालाई प्रवद्र्धन गर्दै आएको छ ।       हाम्रो लक्ष प्रवासी श्रमिकहरूले विदेशमा श्रम गर्ने अवधिमा तयारी, वित्तीय शिक्षा, र उद्यमशीलता विकास प्रशिक्षण गर्दै आएका छौँ । विदेश जानुपूर्व, विदेशमा श्रम गर्ने चरण, स्वदेश फिर्ताको चरणसहित प्रत्येक चरणका लागि उद्यमशीलता विकास प्रदान गरी स्टार्टअप नवीनतम् व्यवसाय सञ्चालनका बारेमा प्रोत्साहन गरिरहेका छौँ ।  त्यसैगरी, नेपाली वित्तीय संस्थासँगको संयुक्त लगानीबाट स्वदेश फर्केका कामदारलाई कम ब्याजदरमा स्टार्टअप पुँजी उपलब्ध गराउने योजना पनि कार्यान्वयन चरणमा छौँ ।  कोइकाको सहयोगमा एक प्रसिद्ध कोरियाली पशुपालन कम्पनीले गोर्खाको पालुङटार क्षेत्रमा बङ्गुर तथा कुखुरापालनका लागि व्यावसायिक इन्क्युबेसन सेन्टर निर्माण गरेर पशुपालन क्षेत्रमा सीप हस्तान्तरण गरिरहेको छ ।  उक्त बङ्गुर तथा कुखुरापालनको लागि स्टार्टअपका रुपमा प्राविधिक ज्ञान हस्तान्तरण र नेपालमा आधुनिक पशुपालन व्यवसाय सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्छ भन्ने लागेको छ ।  त्यसैगरी, कोरियाको हान्दोङ युनिभर्सिटीले त्रिभुवन विश्वविद्यालय ग्रेजुएट स्कूल अफ बिजनेससँग सहकार्य गर्दै १० वर्षदेखि सामाजिक उद्यमशीलता प्रर्वद्धनका साथै स्टार्टअपका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।      यसै वर्ष दूतावासले कोरियामा रोजगारीको अनुभव भएका र नेपालमा फर्किएर सफलतापूर्वक व्यवसाय गरिरहेका २६ जना व्यवसायीको वास्तविकतामा आधारित सफल व्यावसायिक कथाहरू समावेश गरी “तपाईं पनि मालिक बन्न सक्नुहुन्छ” नामक पुस्तक प्रकाशित गरेको छ ।  हामीले ती स्टार्टअप सफलताका कथाहरूले प्रवासी श्रमिकका लागि विदेश जानुपूर्व तथा स्वदेश फर्केका विदेशमा रोजगारीको अनुभव भएका  कामदारहरुका लागि उद्यमशीलता प्रोत्साहनको अपेक्षा लिएर दूतावासबाट प्रकाशित पुस्तक निःशुल्क रुपमा वितरण गरेका छौँ ।  वैदेशिक रोजगारीको अनुभव लिएका र नेपाल फर्किएका धेरै व्यक्तिले नेपालमा नै व्यवसाय सञ्चालन गरेर धेरैभन्दा धेरै रोजगारी सिर्जना होस् भन्ने लक्ष्य लिएर सहकार्य गर्दै आएका छौँ र भविष्यमा पनि निरन्तरता दिनेछौँ । हामी निकट भविष्यमा नै नेपाल समृद्ध राष्ट्र भएको हेर्न चाहना लिएर विभिन्न क्षेत्रमा विकास साझेदारी कार्यक्रममा हातेमालो गर्दै आएका छौँ ।        अन्त्यमा         अन्तर्राष्ट्रिय मान्यताअनुसार युवा भनेको सामान्यतया १५ देखि २९ वर्ष उमेर समूहका मानिसको समूहलाई भनिन्छ । नेपालको परिवेशमा राष्ट्रिय तथ्याङ्क विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार कूल जनसङ्ख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् ।  त्यसैगरी, करिब ५६ लाख युवा वैदेशिक श्रम बजारमा रहेको देखिन्छ । नेपाल युवा राष्ट्र हो । सम्पूर्ण जनसङ्ख्याको औसत उमेर २० को हाराहारी रहेको छ ।  नेपालमा स्टार्टअप इकोसिस्टमलाई विस्तार गर्न उत्प्रेरणा गर्ने लक्ष्यका साथ नेपालका युवालाई उद्यमशीलताका लागि आवश्यक समन्वय गर्न प्रयत्नरत छौँ ।       नेपालमा स–साना स्टार्टअपको माध्यमबाट रोजगारी सिर्जना होस् भन्ने हाम्रो चाहना छ । सुरुआत सानो भए पनि हरेक व्यवसायको वृद्धि क्षमता असीमित हुन्छ  । कोरियाको बहुराष्ट्रिय कम्पनी साम्सङ एउटा सानो चामल पसलका रूपमा भएको थियो ।  त्यसैगरी, हुन्डाई मोटर्सले अटोमोबाइल मर्मत गर्ने सानो व्यवसाय सुरु गरेर आज विश्वव्यापी कम्पनीका रूपमा स्थान लिन सफल भएको छ । यी र यस्तै ठूला कम्पनीहरु  कोरियाको उद्यमशीलता आर्थिक गतिशीलताको महत्वपूर्ण स्रोत बनेका छन् ।  नेपालमा पनि सुरुआती चरणमा स–साना व्यवसायबाट सुरुआत भएका धेरै स्टार्टअपले भविष्यमा नेपालको प्रतिनिधित्व गर्दै विश्वमा परिचय दिन सक्नेछन् । मेरो एक वर्षको अनुभवले वैदेशिक रोजगारीको अनुभव भएका व्यक्तिहरुले नेपालमा कृषि, उत्पादनमूलक क्षेत्र, सेवा क्षेत्र आदिमा व्यवसाय सञ्चालन गरेर धेरै व्यक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गरेको र भविष्यमा पनि यो सङ्ख्या बढ्ने अपेक्षा लिएको छु ।   (नेपालका लागि गणतन्त्र कोरिकाली राजदूतसँग गरिएको कुराकानीमा आधारित)

राजन सुवेदी:      चुनावमा जस्तो नेतामा अरु बेलापनि तदारुपता देखिने भए..., हो म यही सोच्छु । र आम नागरिकको मनोभावना पनि यही छ ।   चुनावताका जनतालाई बाड्ने विकासे ललिपप र प्रतिबद्धताहरु नतिजाको रागहरुसँगै तुहिन्छन् । यो एउटा नजिर नै बनिसकेको छ ।   नेकपा माओवादीले २०६४ को पहिलो संविधान सभामा स्पष्ट बहुमत पाएर पनि जनचाहना अनुरुप सरकार चलाउन नसकेको स्मरणीय छ । त्यसको एक दशकपछि २०७४ मा नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको स्पष्ट बहुमतसहितको नेकपा सरकार बन्यो । तर नतिजा उही शुन्य ।   यी र यस्ता कयौं नजिरकै कारण नेपाली राजनीतिज्ञहरुसँग जनताको वितृष्णा कति छ भन्ने प्रष्ट हुन्छ । देशको राजनीतिक घटनाक्रमनै रोटेसन हुनुपछाडि राजनीतिज्ञहरुको भूमिका अहम छ । विगत कोट्याउने हो भने हरेक दशकमा राजनीतिक परिवेश र घटनाक्रम हेरफेर भएका छन् ।   २०१७ सालदेखि राजनीतिलाई केलायौ भने २०२७ साल, २०३७/०३८ साल २०४५/०५६ सालको आन्दोलन २०५२ देखि  सुरु भएको जनयुद्ध, २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन यि सबै परिवर्तनका खातिर गरिएका आन्दोलन थिए ।     देशले राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको स्थितिमा देश आइपुगेको छ । जनताका अधिकारका लागि भएका यी घटनाक्रमपछिको अवस्था हेर्ने हो भने आशाका चाङहरु दिनानुँदिन थुप्रिरहेका छन् ।   निमुखा नेपाली नागरिकको आशाका चाङहरुलाई अब भने ठुला कहलिएका पार्टीहरुले नजरअन्दाज गर्न मिल्दैन । किनभने पछिल्लो समय भएको तीनै तहको निर्वाचनले जनताको मनोभावना उदृत भइसकेको छ ।   निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु विजय बनेको तथ्य हामीमाझ छ । यही चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी उदाउनु, राप्रपा लगायतका पार्टीले आकार बढाउनु र केही मधेसी दलसँगै ठुला दल कहलिएका नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रले अपेक्षित मत गुमाउनु जनता कुन तहसम्म आजित छन् भन्ने एउटा दरिलो प्रमाण हो ।   अहिले निर्वाचित स्थानीयदेखि प्रतिनिधिसम्मका जनप्रतिनिधिसँग जनताका केवल गुनामा मात्रै छन् । २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो, माओवादी केन्द्र तेस्रो र नयाँ उदय भएको रास्वपा चौथों दलको हैसियतमा छ ।    यस्तै राप्रपा , जसपा, जनमत, नागरिक उनमुक्ति , लोसपा लगायतमा दलको पनि सदनमा स्थान छ ।    सांसदको जोडघटाउ मिलान र नेकपा एमालेको आडमाप माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार बन्यो । विभिन्न मुद्धाहरुमा मत विभाजन भएपछि माओवादी एमालेको सत्तासमिकरण टुट्यो ।   अहिले नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको छ । यससँगै ओली सरकारको सबल र दुर्बल पक्षको सर्बत्र चर्चा छ । ओली सरकारसँग नेपाली नागरिकको गुनासोसँगै आशाका चाङहरुपनि थुप्रै छन् ।   साँच्चिकै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई साकार पार्न र वाहवापी पाउने हो भने ओली सरकारले जनताको आशाका चाङहरुलाई अधिकतम घटाउनै पर्ने देखिन्छ ।    ओली सरकारसँग आम नेपालीको अपेक्षाका चाङलाई बुँदागत रुपमा उल्लेख गरेको छु ।   महंगी नियन्त्रण    भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता    संघीयता बारे सुक्ष्म समीक्षा    विकाश निर्माण र रोजगारी    शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार क्षेत्रमा आमुल परिवर्तन    केही ऐन तथा कानून संसोधन (बाझिने खालका) विकास निर्माणसम्बन्धि  सार्वजनिक नियुक्तिमा समानता र पारदर्शिता ​  देशको आर्थिक समस्याको समाधान    आर्थिक समस्यालाई सुधार्नका लागि निम्न प्रकारका क्षेत्रलाई प्राथमिकतामा राख्न आवश्यक छ । १) पर्यटन (आन्तरिक र बाह्य ) २) उद्योग कलकारखाना स्थापना तथा वृद्धि र स्तरोन्नति ३) कृषि, पशु, वन, जंगल ४) जलविद्युत परियोजना ५) निजि क्षेत्रसँगको सहकार्य (उद्योग सञ्चालन र वृद्धि ) ६) लगानी सम्मेलनमार्फत आर्थिक भित्राउने अभियान ७) आर्थिक उत्पादन गर्ने स्थानीय तह र प्रदेशलाई प्रोत्सहान र पुरस्कार ८) जडिबुटी उत्पादन, बजारीकरण र नियमन (गुणस्तर परिक्षणसहित) ९) प्राकृतिक स्रोत तथा साधनको व्यापक उपयोग (राजन सुवेदी कस्कीको रुपा गाउँपालिका २ का वडाध्यक्ष हुन् ।)  

काठमाडौं:    अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, “मेरो लक्ष्य धनी हुनु होइन, मात्र आर्थिक स्वतन्त्रता पाउनु थियो तर म धनी हुन पुगेँ ।” यस भनाइका आधारमा हामीले हाम्रो लक्ष्य आर्थिक स्वतन्त्रता हो वा सुरक्षा निक्र्यौल गर्नु जरुरी छ ।  मुकारले जस्तै आफूभित्र भएका स्वतन्त्रताको सम्भावनालाई जगाऔँ । गरिब र मध्यम वर्गका हरेक व्यक्ति आर्थिक स्वतन्त्रताभन्दा सुरक्षाको खोजीमा हुन्छन् । विशेष गरेर लगानी, उद्यमशीलता तथा व्यवसायभन्दा रोजगारी र ज्यालामा बढी भरोसा मान्ने स्वभावका हुने गर्छन् ।       वास्तवमा तिनीहरु जेलाई सुरक्षित भनिरहेका छन् त्यो नै सबैभन्दा जोखिम हुने गर्छ । खासगरी नोकरीलाई जति मायाका साथ सुरक्षित ठानेका छन्, त्यो नै सबैभन्दा जोखिम हो । हाम्रा नीति, नियम र कानुनहरुलाई हे¥यो भने हामीले सुरक्षित ठानेको जागिरमा के कति जोखिम छ थाहा पाइहाल्छौँ । सम्झनुहोस्  तपाईंले सबैभन्दा सुरक्षित ठानेको निजामती सेवा वा सरकारी संस्थानका नोकरीहरु किन असुरक्षित बन्न सक्छ ? तपाईं शारीरिक वा मानसिक रुपमा अशक्त हुनु भयो भने नेपाल सरकारले के तपाईंलाई तलब दिइरहन सक्छ ? पक्कै सक्दैन ।  सामान्यतया ९० दिन बिनाजानकारी गयल हुनुभयो भने पत्रिकामा सूचना निकालेर नोकरीबाट बिदाइको प्रक्रिया सुरु हुनेछ । अझ निजी संस्थामा त्योभन्दा कम केही दिन वा हप्तामा नै जागिर हुनेछ ।  तर एउटा मध्यम परिवारका मान्छे त्यसैलाई सुरक्षित ठान्छ र ‘धनी बुबा गरिब बुबा’ पुस्तकका लेखक रोबर्ट टी. कियोसाकीले भने जस्तै ‘मुसा दौड’ मा आफूलाई बाँचुन्जेल दौडाइरहन्छ । धनीहरु यसैका लागि पैसाको खेल खेल्छन् तर गरिबहरु यसलाई बुझेर व्यावसायिक प्रणाली विकास गर्नुभन्दा तलब र पदोन्नतिका लागि बढी मरिहत्ते गर्छन् ।      ‘द प्याराबल अफ द पाइपलाइन’ मा लेखक बर्क हेजेसले दुई पात्र पाब्लो र बु्रनोको उदाहरण प्रस्तुत गर्दै एउटा सामान्य मान्छे कसरी धनी बन्न सक्छ ? कसरी आम्दानीको प्रणाली विकास गर्न सक्छ ? र कसरी सम्पत्ति सिर्जना गर्न सक्छ ? यसले कसरी धनी बनाउन सक्छ ? भनेर प्रस्तुत गरेका छन् ।  खासगरी ब्रुनो र पाब्लो एउटा गाउँमा बाल्टिनमा पानी बोकेर बेच्न तल्लीन रहन्छन् तर पाब्लो हाललाई ब्रुनोले भन्दा कम आम्दानी भए तापनि सँगै गाउँदेखि खोलासम्म पाइपलाइन बिच्छ्याउन थाल्छ तर जब ‘पाइपलाइन’ ओच्छाएर सफलता मिल्छ तब दीर्घकालमा बु्रनोको भन्दा धेरै आम्दानी पाब्लोको हुन जान्छ ।  अर्थात् पाब्लोबाट ऊ ‘पाब्लो द पाइपलाइन विल्डर म्यान’ बन्न पुग्छ तर ब्रुनो ‘बकेट क्यारियर’ अर्थात् ‘बकेट म्यान’ नै भइरहन्छ । पाब्लो आर्थिक रुपमा स्वतन्त्र हुन पुग्छ, ऊ जाँदा वा नजाँदा, बिरामी हुँदा वा नहुँदा सबै अवस्थामा आम्दानी भइरहन्छ तर ब्रुनो आफैँले काम गर्दा मात्र आम्दानी हुन सक्ने अवस्थामा रहन्छ । सधैँ ‘टाइम फर मनी ट्र्याप’ मा परिराख्छ ।       धनीहरु सधैँ पाब्लो जस्तै पाइपलाइन बिच्छ्याउन रुचाउँछन् । उनीहरु जान्दछन् पाइपलाइन नै ‘लाइफलाइन’ हो । आर्थिक स्वतन्त्रताका लागि हरेकले आफ्नो आम्दानीको पाइपलाइन बनाउन आवश्यक छ ।  हरेक धनीसँग आफू जान चाहेको गन्तव्यको स्पष्ट मार्गचित्र हुने गर्दछ । गरिबहरु हावामा मुक्का हाने जस्तै जिन्दगीको बास्केटबलमा बिनाबास्केट ‘स्कोर’ गर्न खोज्छन्, अझ अगाडि बढेरभन्दा गोलपोष्टबिना नै फुटबलमा गोल गर्न रुचाउँछन् । यसले उनीहरुलाई उद्देश्यहीन र दिशाहीन यात्रामा बरालिदिन्छ तर धनीहरु सधैँ स्पष्ट ‘ब्लुप्रिन्ट’ बोकेर आफ्नो यात्रामा लम्कने गर्दछन् । सम्पत्तिका विषयमा हामी स्पष्ट हुन आवश्यक छ ।      सिक्नका लागि काम गरौँ, कमाउनका लागि होइन        धनीहरुले पनि जागिर गर्नेगर्छन् तर कहिले त्यसैबाट आर्थिक स्वतन्त्रता पाउने विश्वास गर्दैनन् । केवल अनुभव, सीप, बचत र ज्ञान लिनका लागि रोजगारी गर्ने गर्छन् । उनीहरु नोकरीसँग त्यस्तो प्रेम गर्दैनन् जुन मध्यम परिवारकाले गर्ने गर्छन्, जसको भरोसामा जीविकोपार्जन र सेवानिवृत्त कुर्न सक्छन् तर धनीहरु कहिले आफ्नो समय पैसाका लागि बर्बाद गर्न तयार रहँदैनन् ।  उनीहरुलाई थाहा छ समय सीमित छ तर पैसा असीमित छ । १२ महिना काम गरेर केवल आठ महिनाको मात्रै पारिश्रमिक पाइन्छ, करिब ३० प्रतिशत अर्थात् चार महिनामाथिको ज्याला पहिला कर तिरेर भुक्तानी हुने महिना वारि वा पारि जान नदिने अभियानले मानिसको समृद्धि र सम्पन्नताको ढोका ढक्ढक्याउन सक्दैन । यसैले नोकरीभन्दा थप केही गर्न आवश्यक छ ।      छुटको ‘अफर’      धनीहरु पनि सेलमा खरिद गर्न रुचाउँछन् तर गरिबहरुले जस्तो दरबारमार्ग र महलहरुमा होइन । उनीहरुलाई थाहा छ, ती सेलहरुमा गरिएको खर्च कहिले फर्केर आउन सक्दैन ।  यसैले उनीहरु शेयर बजार, रियलस्टेट र प्रतिफलमुखी लगानीका क्षेत्रहरु जहाँ पैसा बनाउन सकिन्छ त्यस्तो स्थानमा सेल लाग्दा किन्न रुचाउँछन् । सबैभन्दा गम्भीर प्रश्न केहो भने ‘वारेन्ट बफेट’ले भने जस्तै तिमी आफूलाई नचाहिने वस्तु जम्मा गरेर बस्छौँ भने त्यसको बदलामा चाहिने सामान छुट्ने छ । यसैले सेलमा जानुभन्दा पहिला त्यसलाई बुझ्ने कोशिस गरौँ ।      पहिला आफूलाई भुक्तान गरौँ       एउटा सामान्य व्यक्ति त्यही गर्छ जो हामी गर्ने गर्छौं अर्थात् आम्दानीबाट सबैभन्दा पहिला खर्च, नपुगेमा कर्जा सापटी र त्यति गर्दा पनि पैसा नसकिएमा बल्ल आफूलाई भुक्तानी गर्ने आम मानिसको आदत हो । बेबिलानको ‘सबैभन्दा धनी मानिस’ पुस्तकमा लेखक जर्ज एस। क्लासनले खाली पर्स भर्ने सातवटा  तरिका बताएका छन् । त्योमध्ये ‘सबैभन्दा पहिला आफूलाई भुक्तान गर्नूहोस्” एक चर्चित तरिका हो ।       ‘हरेक बिहान १० वटा अण्डा बास्केटमा राख्नुभयो र साँझमा नौवटा मात्रै निकाल्न थाल्नुभयो भने त्यो बास्केट भरिन कति समय लाग्ला सजिलै अनुमान गर्न सकिन्छ । अर्थात् धनीहरुले १०÷९० को त्यो सूत्र सिकेका छन् । यसैले सबैभन्दा पहिला जुनसुकै अवस्थामा पनि १० प्रतिशत आफूलाई भुक्तान गर्छन् अनि मात्रै बाँकी खर्च गर्ने गर्छन् ।’ उनीहरु पैसालाई काममा कसरी लगाउने जान्दछन् । तर एउटा गरिब व्यक्ति आम्दानी बढेसँगै खर्च बढाउन थाल्छ, अनि खर्चलाई नियन्त्रण गर्न सक्दैन । यो नै सबैभन्दा महाभूल हो ।      धनको अनौपचारिक शिक्षा पढौँ      स्कुल शिक्षा र भान्छाको टेबलमा हुने शिक्षाको तागत फरकफरक हुने गर्छ । राज्य र शिक्षा नीति नागरिकलाई आर्थिक स्वतन्त्रताभन्दा पैसाको दासत्व स्वीकार्न लगाउने प्रकृतिको छ ।  रोबर्ट टी कियोसाकीले भने जस्तै ‘९७ प्रतिशत मानिससँग भएको सम्पत्ति र तीन प्रतिशत धनीसँग भएको धनदौलत बराबर हुनुको एउटै कारण अनौपचारिक शिक्षा हो ।’  उनको तर्क छ हरेक धनी व्यक्ति र सामान्य व्यक्तिले स्कूलमा लिएको शिक्षा समान छ तर उमेर बढ्दै जाँदा सम्पत्तिको मामलामा नतिजा किन फरक आउँछ ? कारण एउटै छ ती तीन प्रतिशत सम्भ्रान्त व्यक्तिले औपचारिक शिक्षाको साथ घरमा नै थप अनौपचारिक शिक्षा पाउन सफल भए । यसैको परिणाम धनको सम्बन्धमा अनौपचारिक शिक्षा पाउनेहरुले जागिरका लागि तयार पार्ने, लोकसेवाका लागि प्रोत्साहित गर्ने र पैसाको लागि मेहनत गर्न सिकाउने सीमित शिक्षा लिएकाहरुलाई काममा लगाएर आफू आर्थिक स्वतन्त्रता पाउन सफल भए ।       औपचारिक शिक्षाले हाम्रो सोच यसरी डो¥यायो कि दशैँको टीका लगाउँदा र जन्मोत्सव मनाउँदासमेत आफ्ना सन्ततिलाई आशीर्वाद दिँदा ‘स्कूल जाऔँ, राम्रो नम्बर ल्याऔँ र सुरक्षित जागिर खोजौँ’ भन्ने गर्छौं हामीले कहिले स्वीकार गरेनौँ ।  स्कूलमा त पैसाका बारेमा सिकाइ हुँदैन, बरु सबै समस्याको जड पैसालाई देखाइन्छ । जुनकुरा धनीहरुले बुझे र आफ्ना सन्तानहरुलाई पलङको सिरानीमा पल्टँदै गर्दा सिकाउन र थाले तर कमजोर परिवारकाले थाहा नै पाउन सकेका छैनन् । धनको जादुका लागि औपचारिक मात्र नभई अनौपचारिक शिक्षा मूल कुरा हुन आइपुगेको छ ।       लगानीमा भिन्नता हेरौँ       धनीहरु घाँटीमाथि लगानी गर्ने गर्छन्् । तालिम, शिक्षा र प्रशिक्षण दिएर आफ्नो दिमागी कसरत गरिरहन्छन् । एउटा धनसम्बन्धी सूत्रमा अभ्यस्त भएपछि फेरि नयाँ सूत्र सिक्न थाल्छन् ।  उनीहरुलाई के थाहा छ भने त्यो गरीब होस् वा धनी हरेक व्यक्ति पैसा आउने काम दोहो¥याएर गर्ने गर्छ । गरिबहरु मान्नुहोस् बिहान मन नभएर पनि एउटा सवारी चालक पैसाका लागि साधन लिएर सडकमा निस्कन्छ ।       अर्को जागिरे रातभर आफ्नो नोकरीलाई गाली गरेर पनि १० बजे कार्यालयमा पुग्न हतारिन्छ तर धनीहरु पनि पैसाका लागि एउटै काम बारम्बार गर्ने गर्छन् तर उनीहरु आफूलाई मन परेको काम गर्ने गर्छन् ।  यसका लागि उनीहरुमा सिक्ने क्रम तबसम्म चलिरहन्छ जबसम्म आफूमा निपूर्णता आउँदैन । उनीहरु सिक्न रमाउँछन् तर एउटा मध्यम परिवारको मानिस घाँटीभन्दा तल लगानी गर्न रुचाउँछ ।  आफूलाई सम्पन्न देखाउन ब्रान्डेड कपडा, जुत्ता र चस्मामा लगानी गर्छ । अझ साथी र छिमेकलाई देखाउनकै लागि ठूला घर र गाडीहरु खरिद गर्छ । कहिले फिर्ता नहुने दायित्व बनेर भरिएको पर्स रित्ताउन मात्रै लागिपर्छ । यसले प्रतिफल दिन सक्दैन जुन कुरा धनीहरुले बुझेका हुन्छन् ।       प्रतिफल छिटो हुन सक्छ तर छोटो बाटो असम्भव       आफैँ अर्बपति बनेकाहरु हेनरी फोर्ड र थोमस एडिसनजस्ता दुई हजारभन्दा बढी सफल व्यक्तिका बारेमा २० वर्ष लगाएर अध्ययन गरी लेखिएको ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ पुस्तकका लेखक नेपोलियन हिलले लेखेका छन्, “‘गर्भे चिट्ठा’ नपरेका अर्बपतिहरुले कहिले छोटो बाटोबाट आफूलाई स्थापित गर्न सकेनन् र छोटो बाटोको रुचि पनि राखेनन्, जब सफलता नजिक आएको थाहा पाए तब छिटो हुने उपाय भने खोजी गरेको देखियो ।”  कैयौँ छिटो सफल पनि भए ।       स्वयं वारेन्ट बफेटलाई हेर्ने हो भने जीवनको आठ दशक लगानी गरेर उनले बनाएको सम्पत्ति यदि त्यसको आधा दशक मात्रै गरेर छोडिदिएका भए के आजको यो सम्पन्नता सम्भव थियो ? अवश्य थिएन ।  यसैले धनीहरुले कारोबारी भएरभन्दा व्यवसाय र उद्योग नै स्थापना गरी लामो समयको अन्तरालमा शेयर बेचेर धनी भएको देखिन्छ । शेयर किनेर मात्र नभई सम्पत्ति सिर्जना र त्यसको शेयर बेचेर धनी हुन जान्नु आवश्यक छ ।  तर गरिबहरु आजको केही दिन वा हप्तामा लगानी गरेको दोब्बर वा कैयौँ गुणा सम्पत्ति बढ्ने लोभमा लगानी गर्ने गर्छन्, त्यो लगानी र व्यवसायमा सम्भव छैन । त्यसका लागि चिट्ठा किन्नु उपयुक्त हुन्छ । यसैले बफेटले भने जस्तै ‘लामो गतिमा दगुर्ने घोडामा बाजी लगाउनेहरुले कहिले हार्नु पर्दैन’ । धनीहरुले त्यो जानेका हुन्छन् ।       समग्रमा धनीहरुले मानिसको दिमागमा संसार हल्लाउन आउने विचारलाई कसरी वस्तुमा परिर्वतन गर्न सकिन्छ निरन्तर सिकिरहेका हुन्छन् । नयाँ सोच विकास गर्न र विकास भएका सोचलाई धनमा बदल्न आफूलाई निरन्तर प्रशिक्षित गर्दै आएका छन् ।  पैसाको सिद्धान्त पढेर नभई अभ्यासबाट मात्रै सम्भव देखिन्छ । यसैले धनीहरु शून्यबाट एक हुन सम्पत्ति सिर्जनाका नयाँ खोजमा निरन्तर आफूलाई लगाइरहेको देखिन्छ ।  सम्पत्तिको परिभाषा फेरिएर ‘टाइम इज मनी’ को स्थानमा ‘आइडिया इज मनी’ हुन आइपुगेको छ । संसारका केही धनीलाई उदाहरणका रुपमा लिने हो भने एलन मक्सले विवाइडी इलेक्ट्रिक भेकल, जेब बेजोफले अनलाइन कारोबार अमेजन र जुर्कर वर्कले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सम्पत्ति सिर्जना गरेर विश्वमा राज गरिरहेका छन् । हाल एलन मक्स न्युरोलिङ्कमार्पmत सम्पत्ति सिर्जना गर्न तल्लीन छन् ।       सबैभन्दा चाखलाग्दो विषय त आर्टिफिसियल इन्टेलिजेन्ट (एआई), द्रुतगतिको इन्टरनेट र रोबर्टको विकास जस्ता आधुनिक प्रविधिले गर्दा हिजो पाँच÷छ दशकमा जन्मने अर्बपति अहिले दुई÷तीन वर्षमा सजिलै सम्भव बनेको छ, जुन अनुसन्धान र विकासमा धनीहरु निरन्तर छन् ।  अर्कोतिर धनीहरु सधैँ छिटोभन्दा छिटो आर्जित आय (तलब र ज्याला आदि) लाई निष्क्रिय आय (भाडा र ब्याज आदि) र पोर्टफोलियो आय (शेयर र बन्डलगायत कागजी सम्पत्ति आदि) मा रुपान्तरण गर्न सक्रिय रहने गर्छन् ।  उनीहरुले बुझेका हुन्छन्, आर्जित आयलाई जतिछिटो बिर्सन सकिन्छ र बाँकी दुई आयको आकार र क्षेत्र बढाउन सकिन्छ । ‘फाइनान्सियल इनडिपेन्डेन्सी’ पुस्तकमा लेखक ग्रेन्ट सबाटियरले भने जस्तै ‘जीवनमा उति चाँडो आर्थिक स्वतन्त्रता र सेवा निवृत्ति लिन सम्भव छ’ ।  यसैले हरेक व्यक्तिले आम्दानीको पाइपलाइन, सम्पत्ति सिर्जना र आय रुपान्तरण कला जान्न, सिक्न र आफ्ना बालबालिकालाई सिकाउन थालौँ । धनीले कसरी खेल्छन् पैसाको खेल रु पढेर मात्रै पुग्दैन अलिकता अगाडि बढेर आफ्नो जीवनमा अभ्यास गरेर हेरौँ ।   (लेखक शेयर बजारका जानकार हुनुहुन्छ)

काठमाडौं:     साउन महिना बहुत मोहक र मादक हुन्छ ।  यतिखेर बर्सिएको रिमझिम वर्षामा सर्वत्र उल्लास छाइरहेको हुन्छ,  प्रकृतिका जीव, जीवात्मामा आनन्दको बीज फुटिरहेको हुन्छ, झिलिकमिलिक चम्किएको बिजुलीले आकाशको शोभा बढाइरहेको हुन्छ, आकाशमा नीलो चमकदार रङको बादल छाएर सप्तरङ्गी इन्द्रधनुष देखिन थाल्छ, चराचर जगत्मा हरियाली छाइरहेको हुन्छ । धर्तीको यस्तो अपूर्व सौन्दर्य देखेर बादलले प्रेमीको रूप धारण गर्छ । प्रेमरूपी वर्षा गराउन थाल्छ र हाम्रा स्वभावहरू पनि प्रकृतिअनुसार बदलिइरहेका हुन्छन् ।      साउनले हामीभित्रको प्रकृतिलाई पनि झक्झकाइरहेको हुन्छ । पूर्वीय वैदिक सभ्यतामा शिव प्रकृतिसँग जोडिएका छन् । जीवनको मूल तत्त्व भन्नु नै सत्यम्, शिवम्, सुन्दरम् हो । भगवान् शिव प्रकृति स्वरूपा हुन् । चार अक्षरले बनेको भगवान् शब्द आफैँमा प्रकृतिसँग जोडिएको छ जुन ‘भग’ र ‘आन’ मिलेर बनेको छ जसको अर्थ हुन्छः ‘भ’ को अर्थ भूमि, ‘ग’ को अर्थ गगन, ‘व’ को अर्थ वायु, ‘अ’ को अर्थ अग्नि र ‘न’ को अर्थ नीर९जल० ।      मानव शरीर यही पञ्च महाभूतले बनेको छ । यो पञ्च तत्त्व नै रुद्र हो । जन्मबाट मोक्षसम्म हाम्रा साथमा जे जान्छ,  त्यो नै शिव हो जुनबिना प्रकृति छैन, पूजा छैन, जीवन छैन, मृत्यु पनि छैन । देवाधिदेव महादेव हाम्रा आलोक हुन्, भूमण्डल हुन् । अरू देवीदेवताको जन्मकथा प्रचलित छ तर उनी अजन्मा छन् । सृष्टिको रचनापूर्व पनि शिव नै थिए, सृष्टिको समाप्तिमा पनि उनी नै रहनेछन् । उनको अर्धनारीश्वर रूपले प्रस्ट प्रकृति ९महिला० र पुरुष दुवै उनै हुन् । वैदिक मान्यतानुसार उनी अनन्त हुन्, निर्माता हुन्, संहारक हुन्, अँध्यारो हुन्, उज्यालो हुन्, आन्दोलन हुन्, शान्ति हुन् ।      पृथ्वीको सारा शक्ति यहवी पञ्चाक्षरी मन्त्रमा टिकेको छः ॐ नम शिवायः । ॐ शिवजीको एउटै महामन्त्र हो । ॐ शब्द अ, उ र म मिलेर बनेको छ जसको सम्बन्ध पनि प्रकृतिसँगै छ ः अ– आकार अर्थात् मस्तिष्क, उ –उकार अर्थात् उदर र म – मकार अर्थात् मोक्ष ।      हाम्रा सारा क्रियाकलाप त्यही शिवतत्त्वद्वारा निर्धारित हुन्छ । हाम्रा आचरण, व्यवहार, कर्म, भोगाइ सबैमा शिव छन्, लोकका नशानशा प्रवाहित छ्न् । हाम्रा लोकगाथाहरू सुरु गर्दा एकादश रुद्रको आराधना नगरी सम्पन्न हुन सक्दैन भन्ने तथ्य पूर्व अरूण उपत्यकाको सङ्कलनमा रहेको मारूनी नाच्दा बन्धन बाँधिने शशीका यी गेडाहरूले व्यक्त गर्छन्ः      ‘एकै र मुखे रुद्राक्ष माला हो गला है भिराँैला      सखी गला है भिरौंँला      जन्तरै बाँधौँला, मन्तरै बाँधाँला      जुरावन्ती नारी हो सखी शरण ’      वैदिक सभ्यताअनुसार साउन शिवको अति प्रिय महिना हो । शिवत्व भनेको तपस्या, ध्यान र चिन्तनको बाटो हो । जब हामी यस बाटालाई अँगाल्छौँ, तब हामीमा शक्ति र ऊर्जा प्राप्त हुन्छ । यसबाट हामी अभय हुन्छौँ । जब हामीभित्र ऊर्जा प्रवाहित हुन्छ, शिव नृत्य गर्न थाल्छन् । प्रकृति आफ्नो रसरागसहित लीला गर्ने हुनाले पनि शिवलाई साउन प्रिय छ । वर्षको चौथो महिनाले हामीभित्रको प्राकृतिक शक्तिलाई बुझ्ने अवसर पनि प्रदान गरिरहेको हुन्छ । तप, ध्यान र चिन्तनद्वारा साउनमा शिवजीसँग गरिने साक्षात्कारले हामीलाई दिव्य प्रकृति र परम तत्त्व बुझ्ने अवसर प्रदान गर्छ ।      साउनमा महादेवलाई जल चढाइन्छ । पौराणिक कथानुसार समुद्र मन्थन गर्दा कालकूट विष निस्कियो । त्यसले सारा संसारलाई दग्ध गर्न खोजेपछि उनले त्यसलाई आफ्नो गलामा स्थापित गरे । यसरी उनको नाम नीलकण्ठ राखियो । विषको जलन रोक्न सारा देवताले गङ्गाजल चढाए । गङ्गा जलले शङ्करको जलन शान्त भए झैंँ साउनले धर्तीको जलन शान्त पार्छ । यसैले पनि साउन र शिवको गहिरो र सम्बन्ध छ ।      साउन महिना शिवको भक्तिको महिना हो ।  पुराणानुसार यो श्रावण नक्षत्र पूर्णिमामा पर्छ । त्यसैले साउनलाई श्रावण पनि भनिएको हो । हिन्दू पञ्चाङ्गानुसार वर्षको पाँचौँ महिना साउन महिना पर्छ । यसलाई हिन्दू आस्थाको प्रतीक मानिन्छ जुन प्रत्यक्ष रूपमा धार्मिक भावना र आस्थासँग जोडिएको छ । यतिखेर हिन्दू देवीदेवताका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । प्रायः यतिखेर शाकाहार भोजन गरिन्छ, व्रत, उपवास गरिन्छ, शिव महिमाको गीत गाइन्छः     ‘उनै शिवजीको उनै शिवजीको       नागको माला, बाघको छाला       उनै शिवजीको’      हिन्दू धर्ममा सोमबारको सधैँ  महत्त्व छ तर साउनको सोमबारको विशेष महत्व छ । यो सोमबार पूर्णतः शिवमा नै समर्पित छ । यतिबेला महिला, पुरुष दुवै व्रत बस्छन्, उपासना गर्छन् । विशेषगरी कुमारीहरू शिव जस्तै वर पाइयोस् भन्ने कामना गर्दै व्रत बस्छन् ।      सोमबारको व्रतबारे लोकमा एक कथा प्रचलित छः कुनै दिन शिव र पार्वती अमरावती नामक सहरको नजिकबाट जाँदै थिए ।  दुवै आराम गर्न एउटा मन्दिरमा रोकिए  र समय बिताउनलाई खेल खेल्न थाले ।  खेलका क्रममा पार्वतीले पुजारीलाई कसले जित्छ भनेर भविष्यवाणी गर्न आग्रह गरिन् । पुजारी शिवको भक्त थियो । उसले सोचविचार नगरी आँखा चिम्लिएर शिवले जित्ने ठोकुवा ग¥यो । पछि पार्वतीले खेल जितिन् । उमाले  उसको लापरबाहीका निम्ति  कोढी हुनु परोस् भन्ने श्राप दिइन् ।   पुजारीलाई धेरै समयसम्म कोढी भएर बस्नु प¥यो । एक दिन स्वर्गबाट आएका परीहरूले उसलाई सोमबारको व्रत लिने सल्लाह दिए । व्रतपश्चात् ऊ पूर्ण रूपमा स्वस्थ भयो । सो घटनाको बेहोरा टाढाटाढासम्म फैलियो । त्यही दिनदेखि सो व्रतलाई प्रभावशाली मान्न थालियो । यसैले पनि साउनको सोमबारको विशेष महत्त्व छ ।      शिवरात्रि भन्ने बित्तिकै हाम्रो मानसपटलमा फागुनको महाशिवराशि आउँछ तर एक वर्षमा बाह्र शिवरात्रि  पर्छ । त्यसमध्ये एउटा साउनको शिवरात्रि हो । यो शिवरात्री श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिमा पर्छ । यस दिनलाई विशेष महत्त्वको मानिन्छ । यही दिन काँवर यात्रीहरूले बोल बमका नारा घन्काउँदै शिवालयमामा जलले अभिषेक गर्छन् ।       शिव कल्याणकारी हुन् । उनी मात्र एक लोटा जलले पनि प्रसन्न हुन्छन् तर पनि साउनमा महादेवको पूजाको दौरान भक्तजनहरूले बेलपत्रसँगै बेलको फूल पनि चढाउँछन् । भनिन्छ यो फूल शिवको प्रिय फूल हो । यो फूल चढाउनाले पतिपत्नीबीचको सम्बन्ध गाढा हुनाका साथै सन्तान प्राप्तिको आशीर्वाद मिल्छ भन्ने लोकविश्वास छ । यो महिना उनलाई भाङ पनि चढाइन्छ । पुराणको कथानुसार विष पान गरेपछि उनको डाह शान्त पार्ने जडिबुटीमा भाङ पनि सामेल गरिएको थियो । उनको अर्को प्रिय फूल धतुरोको फूल हो । भक्तहरूले प्रायः यो फूल पनि चढाउँछन् ।       महादेवलाई अभिषेक गर्दा काँचो दुध पनि चढाइन्छ । यसलाई शुद्ध र पवित्र मानिन्छ । काँचो दुध चढाउनाले भक्तको मनोकामना पूर्ण हुन्छ भन्ने लोकविश्वास छ । शिवको पूजाका दौरानमा शिवलिङ्गमा मह पनि चढाइन्छ । यसो गर्नाले सबै पाप हट्नाका साथै व्यक्तिलाई मोक्ष प्राप्त हुन्छ भन्ने कथा प्रचलित छ । पूजा गर्दा ज्यादाजसो यस्ता मन्त्र जपिन्छः     ‘ॐ त्रयम्बकं यजामहे सुगन्धित पुष्टि वर्धनमं ।     उर्वारुकमिव बन्धनाम् मृत्योमुक्षीय मामृतत ।     कर्पुर गौरं करुणावतारं, संसार सारं भुजगेन्द्रहारं     सदा वसतं हृदयारविंदे, भवं भवानीसहितं नमामी ।’      शङ्करको प्रिय साउनमा धार्मिक आस्थासँग जोडिएका ऋषितर्पणी (जनैपूर्णिमा), गाईजात्रा, हरिशयनी एकादशी आदि पनि पर्छन् । यो महिना किसानका निम्ति पनि महत्त्वपूर्ण मानिन्छ । यतिखेर बर्सिएको वर्षा बालीनालीका निम्ति अमृत समान हुन्छ । ग्रीष्मको भीषण तापले सुकेका ताल, तलाउ, पानीका मुहानमा पनि यतिखेर नवजीवन सञ्चार भइरहेको हुन्छ । यी सबैका पछाडि  शिरमा गङ्गा बोकेका शिवले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् भन्ने जनविश्वास छ ।       वास्तवमा साउन प्रकृति, ईश्वरसँग जोडिने र शिवभक्तिका निम्ति उत्तम महिना हो । शिव हाम्रा आदिदेव हुन् । उनको स्मरणले मात्र पनि हाम्रा दुःखहरू टाढा भाग्छन्। ॐ नम शिवाय:  (लेखक नेपाली लोकसाहित्य र संस्कृतिका जानकार हुनुहुन्छ)

काठमाडौं:      इतिहासको खोज र लेखनमा आजीवन आफूलाई समर्पित गरेका साधक ज्ञानमणि नेपालले ९२ वर्षको उमेरमा भौतिक देह त्याग गरेको धेरै समय भएको छैन ।  उनको साधनाबाट तीन दर्जनभन्दा बढी इतिहासका महत्वपूर्ण ग्रन्थहरु नेपाली समाजले प्राप्त गर्नु सामान्य उपलब्धि होइन । नेपाल देशको नाम कसरी नेपाल रहन पुग्यो भन्ने विषयको जिज्ञासा मेट्न उनले लेखेको “नेपाल निरुक्त” र “नेपालनिरुपण” पढे पुग्छ ।  इतिहासमा लामो कालखण्ड नेपाली राजनीतिको केन्द्रको रुपमा रहेको राजदरबारभित्र हुने गरेका षडयन्त्र, काटमार र खतरनाक खेलचुक्लीले देश कहाँ पुग्यो भन्नेबारे जिज्ञासा मेट्न उनको “नेपालको महाभारत” पढे पुग्छ ।  यस्ता महत्त्वपूर्ण इतिहासका ग्रन्थहरु देशका लागि समर्पण गरेर भौतिक रुपमा यो संसारसँग विदा माग्ने बेलामा पनि उनको सक्रिय चेतनाले नेपालको इतिहाससम्बन्धी चिन्ता ब्यक्त गरिरहेको उनीसँग भेट गर्न जानेहरुको अनुभव पढ्दा र सुन्दा थाहा हुन्छ । तर एउटा दुःखको कुरा के भने यतिका वर्ष इतिहासकार ज्ञानमणि नेपालले देशको इतिहास अन्वेषण र लेखनमा आफूलाई समर्पण गरे तापनि उनलाई राष्ट्रिय स्तरका पुरस्कार र सम्मान मिलेको खबर सुन्ने, हेर्ने र पढ्ने अवसर पाइएन ।  उनको छाँतीमा तक्मा सजिएको पनि देख्न पाइएन । यस अर्थमा ज्ञानमणि नेपालले देशका लागि जे जति दिए, बरु जीवनमा केही नलिई गए । सायद गीताको निष्फल कर्मप्रति उनलाई विश्वास थियो, त्यसैले यसबारे उनले कतै कहीँ गुनासो गरी लेखेको वा अन्तर्वार्ता दिएको पढ्न, हेर्न र सुन्न पाइएको छैन । ज्ञानमणि नेपालजस्ता सच्चा साधकले पुरस्कार वा सम्मान मागेर हिड्न पनि सुहाउने कुरा पनि भएन । यो त पुरस्कार तथा सम्मानका संस्थापक र ब्यवस्थापकहरु स्वयम्ले मूल्याङ्कन गर्ने पक्ष हो ।  तर इतिहासकार नेपालको जीवनभर उनको पक्षमा यस्तो मूल्याङ्न भएको देखिएन । अर्का इतिहासकार दिनेशराज पन्तका शब्दमा इतिहासकार नेपाल मुर्खमण्डलीको घेराबन्दीमा परे । मुर्खमण्डलीले इतिहासकार नेपालको योगदानको बारेमा सोधीखोजी गर्न आवश्यक नै ठानेन । हराउँदैछ विद्वत पूजा परम्परा राजा जनक यस्ता राजा थिए, जसको दरबारमा विद्वानहरुको नियमित जमघट हुन्थ्यो, शास्त्रार्थ चल्थ्यो । शास्त्रमा ठूलो विश्वास थियो, राजा जनकमा । राजा जनककै समयमा एउटा अत्यन्तै तीक्ष्ण दिमागका किशोर थिए । उनको शरिर आठ ठाउँमा बाङ्गिएकाले उनको नाम नै अष्टाबक्र थियो । शरिर अनाकर्षक र कुरुप भए पनि अष्टाबक्र साधनाले खारिएको दार्शनिक र शास्त्रज्ञानी थिए । एक दिन राजा जनक घुम्न निस्किएका थिए । उनले बाटामा ऋषि भेषधारण गरेका एक ब्यक्तिलाई देखे । उनी तत्कालै घोडाबाट ओर्ले, र ऋषिलाई प्रणाम गरे । तर ऋषिको अत्यन्तै अनौठो र अनाकर्षक शरिर देखेर राजा जनक तीनछक्क परे ।  अष्टाबक्रले थाहा पाइहाले कि, राजा जनकले आफ्नो शरिर देखेर आफूप्रति घृणाको धारणा बनाइरहेछन् । त्यसपछि उनले राजा जनकलाई भने,“हे, राजन् १ कुनै पनि मन्दिर टेढो भएर त्यो माथिको आकास टेढो हुँदैन । कुनै पनि मन्दिर गोलो वा लाम्चो हुँदैमा आकास पनि गोलो वा लाम्चो हुने होइन । किनकी आकासको मन्दिरसँग कुनै सम्बन्ध हुँदैन ।  आकास मन्दिरजस्तो आकारयुक्त हुँदैन, निराकार हुन्छ । त्यस्तै आत्मा पनि निराकार हुन्छ । आत्मा आकासजस्तै निराकार भएकैले नित्य हुन्छ, तर शरिर अनित्य हुन्छ । शरिरको बाङ्गोटिङ्गो आकार आत्मामा आउन सक्दैन । त्यसैले हे, राजन् ! ज्ञानीहरुसँग आत्मदृष्टि रहन्छ भने अज्ञानीसँग केवल चर्मदृष्टि रहन्छ । चर्मदृष्टि त्यागेर आत्मदृष्टि ग्रहण गरी जब हेरिन्छ, तब चित्तबाट घृणा दूर भएर जान्छ । चर्मदृष्टिबाट त अज्ञानीले मात्रै हेर्छ, ज्ञानीहरुले चाहिँ आत्मदृष्टिबाट हेर्छ ।”      अष्टाबक्रको यस्तो विद्वत वाणीले राजा जनक तत्काल पग्लिहाले । उनले अष्टाबक्रलाई आफ्नो दरबारमा आउन निम्तो दिए । आफ्नो दरबारमा सम्मानजनक आसनमा बसाई राजा जनकले अष्टाबक्रसँग अनेकौँ जिज्ञासाहरु राखे ।  उनै राजा जनकको प्रश्न र अष्टाबक्राको उत्तरले कालान्तरमा “अष्टाबक्र गीता”को जन्म भयो । यसलाई पूर्वीय दर्शनमा महत्त्वपूर्ण ग्रन्थ मानिन्छ । उनै अष्टाबक्रजस्ता विद्वत प्रतिभाहरुको कदर गर्ने भएकाले राजा जनकको नाम आज पनि श्रद्धाका साथ लिइन्छ । हाम्रो देशमा विद्वानहरुसँग नजिक हुने, उनीहरुसँग जिज्ञासा राख्ने र उनीहरुबाट ज्ञान र दर्शनहरु सङ्ग्रह गर्ने परम्परा क्रमशः हराउँदै जान थालेको छ । त्यसमाथि पनि ज्ञानमणि नेपालजस्ता विद्वत इतिहासकारहरुले बडो मेहनत गरेर तयार पारिदिएका ग्रन्थहरु पढ्ने, त्यसको विश्लेषण गर्ने र पाठ सिक्ने परम्परा अब एकादेशको कथाजस्तै हुन पुगेको छ । यस्तो परम्परा कायम रहे देशमा मुर्ख वा तजबिजी पुस्ताको मात्रै जन्म हुनेछ । विद्वत् पूजा परम्परा हराउँदै जाँदा बौद्धिक जगत पाखा पर्दै जानेछन् । देश र समाजलाई मार्गदर्शन गर्ने पक्ष पाखा पर्दै जाने क्रम जारी रहे देश कहाँ पुग्ला ? विद्वत् पूजाको दूर्लभ अभियान एक जना अभियन्ता छन्, जो लामो समयदेखि विद्वत पूजा अभियानमा एक्लै जस्ता छन् । उनी हुन्, शेषराज शिवाकोटी । लामो समय न्यायसेवामा समर्पित उनी हाल सेवानिवृत्त छन् । उनी विद्वत पूजालाई नै आफ्नो धर्म र कर्म ठान्दै स्वयम्सेवा गरिरहेछन्, लामो समयदेखि ।  शिवाकोटी बेलाबेलामा विद्वत ब्यक्तित्वहरुको सम्मान गर्छन् र उनीहरुलाई केवल ताम्रपत्र र दोसल्लाले सम्मान गरेर औपचारिकता मात्र निर्वाह गर्दैनन्, सम्मानीत प्रतिभाको अभिनन्दन ग्रन्थ नै प्रकाशित गर्छन् ।  एकै व्यक्तिको अभिनन्दन ग्रन्थको सङ्ख्या धेरै पनि हुनसक्छ । उदाहरणका लागि, एकै जना विद्वान नयराज पन्तको विषयमा उनले ३० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित गरेका छन् । जीवित हुँदा १० र निधनपछि २० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित भए । यस्तै रोचक घिमिरेबारे १० र धनबज्र बज्राचार्यबारे नौ अङ्कसम्म अभिनन्दन ग्रन्थ प्रकाशित गरेर विद्वत पूजा परम्परालाई धानेका उनले प्रकाश दर्नालसम्म आइपुग्दा अभिनन्दन ग्रन्थ प्रकाशन हुने “ज्ञानगुन”ले दुई सय २४ अङ्क पार गरिसकेको छ ।  नारायणगोपाल र पारिजातको निधनपछि यस्ता स्मृति र अभिनन्दन ग्रन्थ प्रकाशनमा ल्याउने चलन चलाएका उनले जीवित ब्यक्तित्त्वहरुको पनि अभिनन्दन ग्रन्थ प्रकाशित गर्न पर्छ भन्ने मान्यताका साथ प्रशिद्ध हास्यब्यङ्ग्यकार बासुदेव लुइँटेलबाट यस्तो चलन सुरु गरे ।  हालै भौतिक रुपमा यो संसारबाट टाढा हुन पुगेका इतिहासकार ज्ञानमणि नेपालका बारेमा पनि तीनवटा अभिनन्दन ग्रन्थ शिवाकोटीले प्रकाशनमा ल्याए । शिवाकोटीले २०७९ माघ २७ गते श्रीपञ्चमीमा “ज्ञानगुन”को दुई सय ११ औं अङ्कलाई इतिहासकार नेपालको औँ शुभजन्मोत्सव अङ्कका रुपमा प्रकाशित गरेर नेपालको ९१ औँ जन्म दिनलाई भब्यता प्रदान गरेका थिए ।  यसरी विद्वानहरुको पूजा परम्परा कायम राख्दा शिवाकोटीले ब्यहोर्नु परेको अवस्थाको बान्की पनि अचम्मको छ । कुनै बेला नयराज पन्तको स्मृतिमा कार्यक्रम आयोजना गर्दा एउटा सानो कोठामा आफूसहित सात जना मात्रै भेला हुनु परेको पनि शिवाकोटीका लागि बिर्सिनसक्नुको घटना हुन पुगेको छ । हुन त असल मानिसहरुको सानो जमात् मुर्खमण्डलीको ठूलो भीडभन्दा कैयौँ गुणा उत्तम हुन्छ ।  मुर्खको उपदेशभन्दा विद्वानको गाली महिमायोग्य र उपयोगी हुन्छ । सिद्धार्थ गौतम जब ज्ञान प्राप्त गरेपछि बुद्ध बने, त्यसबेला उनको उपदेश सुन्ने केवल चार जना मात्रै थिए । तिनै चार जना बुद्धको सन्देश बोकेर चारैतिर फैलदा बुद्धका अनुयायीहरु प्रशस्तै जन्मिए । विद्वत् पूजा परम्परा धानिरहेका शिवाकोटीजस्ता दुर्लभ अभियन्ताहरुलाई पनि राज्य र समाजले चिन्न आवश्यक छ । केका लागि विद्वत् पूजा ? समाजका घटनालाई सुक्ष्मतम दृष्टिकोणले अध्ययन गर्ने र अनुभवहरुलाई समेत निफनेर घटनाका कारणहरु पत्ता लगाउने काम समाज विज्ञानका विद्वानहरुले गर्ने गर्छन् ।  समाजका घटना र अनुभवहरुको अध्ययन र विश्लेषणबाटै सामाजिक दर्शन र सिद्धान्तहरुको प्रतिपादन हुन्छ । यसका लागि विशेष धैर्यता, बुद्धि र मेहनत आवश्यक हुन्छ । साधनाबिना यस्ता कठिन काम सम्पन्न हुन सक्दैन । मानिसले एउटै दर्शन वा सिद्धान्त प्रतिपादन गर्न पनि सम्पूर्ण जीवन समर्पण गरेको उदाहरण प्रशस्तै पाउँछौँ ।  विद्वत् वर्गबाट प्रतिपादित दर्शन वा सिद्धान्तले समाज र राज्यलाई उचित दृष्टि दिन्छ । यसले शान्ति, प्रगति, उन्नति र भातृत्वको विकासमा सयोग पुर्‍याउँछ । त्यसैले विद्वत् वर्गबाट राज्य र समाज ऋणी हुन्छ ।  त्यहीँ ऋण चुक्ता गर्न पनि विद्वत पूजा परम्पराको आवश्यकता हुन्छ । जुन देशमा विद्वत पूजा हुन्छ, त्यो देश जहिल्यै प्रगतिपथमा लम्केको हुन्छ । इतिहासकार ज्ञानमणि नेपालले आफ्नो बुद्धि र साधनाले देश र समाजलाई ऋण बोकाएर गएका छन् । (लेखक राजकुमार दिक्पाल पत्रकार हुनुहुन्छ)