नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो।   नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो,सहज र सेवामुखी बनाउनेछ। ईडीएलभीआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। यसबाट लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको पुरानो समस्या समाधान हुनेछ।   पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।   सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफैं छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ। सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ। यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु गरेको हो।   प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राखी यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइको व्यवस्था मिलाइएको छ।   नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु भएपछि प्रदेशअनुसार छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको छ।

काठमाडौँ।  मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ।   शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेको टेन्टमाथि ठूलो हिमपहिरो खसेपछि दुवै जना सम्पर्कविहीन भएका थिए। खोजी तथा उद्धार टोलीले उनीहरूका शव करिब सात फिट गहिरो हिउँमुनि पुरिएको अवस्थामा फेला पारेको हो।   अभियान आयोजक कम्पनी मकाउ एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालका अनुसार खराब मौसमकाबिच गुहा र शेर्पा क्याम्प–२ बाट क्याम्प–३ तर्फ अघि बढेका थिए। त्यही क्रममा उनीहरू बसेको टेन्टमाथि हिमपहिरो खसेको थियो।   अभियानमा सहभागी अन्य ६ जना पर्वतारोहीले भने मौसम बिग्रिएपछि क्याम्प–२ बाटै फर्किने निर्णय गरेका थिए। उनीहरू सुरक्षित रहेको बताइएको छ।   दुवैसँग अन्तिमपटक शनिबार राति सम्पर्क भएको थियो। त्यसपछि सम्पर्क हुन नसकेपछि उद्धार टोली क्याम्प–३ पुगेको थियो। टोलीले खोजी गर्दा दुवैका शव हिउँमा पुरिएको अवस्थामा फेला पारेको हो।   हाल उद्धार टोलीले शवलाई क्याम्प–३ बाट बेसक्याम्पतर्फ ल्याउने प्रयास गरिरहेको छ। मौसम अनुकूल भए सोमबार बेसक्याम्पबाट शव काठमाडौं ल्याउने तयारी गरिएको छ।   ध्रुव ज्योति गुहा भारतीय मूलका जर्मन पर्वतारोही थिए र जर्मनीमा बस्दै आएका थिए। उनी मनास्लु आरोहणका लागि नेपाल आएका थिए। उनका गाइड फुरसेम्बा शेर्पा मकालु क्षेत्रका अनुभवी नेपाली पर्वतीय गाइड रहेको बताइएको छ।   यस पर्वतारोहण सिजनमा मनास्लुमा मृत्यु हुनेको संख्या चार पुगेको अभियान आयोजकले जनाएको छ। यसअघि सिंगापुरका एक पर्वतारोही र नेपालका एक गाइडको पनि अलग–अलग घटनामा मृत्यु भएको थियो।

पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे ।   जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार बुटवलबाट यात्रु लिएर पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवातर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी आइतबार दिउँसो साढे ३ बजे तानसेन नगरपालिका–८ भोलेबासमा दुर्घटनामा परेको थियो ।   दुर्घटनामा गम्भीर घाइते भएकी खाम्चाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।     दुर्घटनामा खाम्चासहित ६ जना घाइते भएका थिए । दुर्घटनामा पूर्वखोला गाउँपालिका–१ सिलुवाका २९ वर्षीय चालक नरबहादुर राना, सोही ठाउँका ५६ वर्षीय कृष्णबहादुर मगर, पूर्वखोला–४ घर भई हाल तानसेन नगरपालिका–४ भगवती टोल बस्ने २८ वर्षीया मनकुमारी सारु, उनका ७ वर्षीय छोरा साहिर सारु र ५ वर्षीया सायरा खाम्चा घाइते भएका छन् ।   घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त गाडी सडकबाट अन्दाजी २० मिटर तल खोलामा खसेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनसरी । सप्तकोशी नदीको जल सतह विहान ११:१५ बजेसम्म पनि खतराको बिन्दुमा छ ।   कोशी परियोजनाद्वारा जारी सूचनाअनुसार विहान ११:१५ बजे त्यहाँ एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ । उक्त जल परिमाण गए रातिको तुलनामा कम हो ।   अहिले सप्तकोशी ब्यारेजबाट विहारतर्फ पानी बहावका लागि २० वटा ढोका खुला गरिएको छ । यसअघि २६ ढोकासम्म खोलिएको थियोे ।

पोखरा:    सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् ।  फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकारद्वय सारु तथा जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता बिमलमान गुभाजूलगायतले नगद २५÷२५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका हुन् ।  स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूको स्मृतिमा समाजसेवी तथा व्यवसायी बिमलमान गुमाजूद्वारा स्थापित यो पुरस्कार फोनिजको २७ औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले बिहीबार अर्पण गरेको हो । कार्यक्रमका कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले जिल्ला प्रशासन र पत्रकार एकआपसमा जोडिएको बताए । जिल्लाका कतिपय संवेदनशील विषयमा पत्रकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो । आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।  कार्यक्रममा पुरस्कृत पत्रकार खेम सारु मगरले जीवनको आधा समय पत्रकारिता क्षेत्रमा व्यतित गरिरहँदा यो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु आफ्नो लागि अहोभाग्य रहेको बताए । त्यस्तै अर्का सम्मानित व्यक्ति जिटीले पत्रिका वितरकको रुपमा काम गर्दागर्दै पत्रकारिता क्षेत्रमा जोडिदा यो पुरस्कारले यही क्षेत्रमा अझै केही अगाडि बढ्ने प्रोत्साहन मिलेको बताए ।  कार्यक्रममा प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुङ, नवनियुक्त पोखरा प्रज्ञा प्रतिष्ठान उपकुलपति तिलप्रसाद पुन “तिलक”, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कमलप्रसाद पौडेल, पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य, लेखक, फोनिजका सदस्य रवीन्द्र माकाजू, पुरस्कारदाता बिमलमान गुभाजूलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा प्रज्ञा प्रतिष्ठान कास्कीका परिषद् सदस्य रवीन्द्र माकाजूले स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूका विषयमा जानकारी गराएका थिए । त्यस्तै गण्डकी प्रदेश फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङले सम्मानित प्रतिभा परिचय दिएकी थिइन् ।  सम्मानित  पत्रकार सारु विगत ३ दशक यता कास्कीको पोखरा तथा जिटी स्याङ्जामा विगत २ दशक यता पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् ।  यसभन्दा अगाडि यो पुरस्कारबाट कास्कीका रुद्रबहादुर थापा मगर, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बाग्लुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केवी राना मगर, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरका कमला राना मगर र गोरखाका कैलाशबाबु श्रेष्ठ सम्मानित भइसकेका छन् ।  फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सुरज थापामगरले सञ्चालन गरेका थिए ।   

वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम हुने सम्भावना पनि बढेको छ।    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँसहित देशका ३७ जिल्ला र त्यसआसपासका खोला/नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको छ।    बाढी महाशाखाले भनेको छ, ‘आज संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली ,कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’   बाढीबारे विस्तृत जानकारी तल

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर सोमबार सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको हो ।   कार्यक्रममा संस्थाका शेयर सदस्य, संचालक, कर्मचारी, शुभेच्छुक तथा स्थानीय सर्वसाधारणले रक्तदान गरे ।   रगतको अभावमा कुनै पनि बिरामीले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यका साथ संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आइरहेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले जानकारी दिए ।   बुधबार वृहत नि:शुल्क स्वास्थ्य शिविर हुँदै   कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा समेत यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।    हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यही जेठ २० गते हुने संस्थाको समापन समारोहमा वृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने बताए ।   सोही कार्यक्रमकैबीच बोल्दै संस्थाका व्यवस्थापक जिबन अधिकारीले सहकारीको वित्तीय अवस्था र सेवा प्रवाहबारे जानकारी दिए ।    उनका अनुसार संस्थामा हाल कुल ७ करोड ५० लाख रुपैयाँ शेयर पुँजी रहेको छ भने, १३४४ जना शेयर सदस्यहरू आबद्ध छन् ।    संस्थाले पोखरा महानगरपालिका ८ पृथ्वीचोक र पोखरा १४ चाउथेस्थित विपि मार्गबाट आफ्ना सदस्यहरूलाई सेवा दिँदै आइरहेको छ ।   सहकारी क्षेत्रको वर्तमान प्रतिकुल समयका बावजुद पनि संस्था नियमनकारी निकायको नियमनमा रहेको छ ।    संस्थाले आफ्ना वित्तीय तथा सामाजिक गतिविधिहरू नियमित रूपमा गरिरहेको र आगामी दिनमा सदस्यहरूको भावना अनुरूप अझ सुदृढ सेवा प्रवाह गर्न संस्थाका अध्यक्ष कृष्ण तिमिल्सिनाले प्रतिबद्धता जनाए ।   कृष्ण प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष श्रीजन श्रेष्ठले व्यक्त गरेका थिए भने, कार्यक्रम संचालन सचिव मनोज विश्वकर्माले गरेका थिए ।  

काठमाडौं:    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।   गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हाे ।   हाल देउवा दम्पती विदेशमा छन् । २१ फागुनको चुनाव अघि १३ फागुनमा उनीहरु स्वास्थ्य उपचार गराउन भन्दै देउवा सिंगापुर गएका थिए । उनीहरु त्यहाँबाट हङकङ तर्फ लागेको समाचार पनि सार्वजनिक भएको थियो ।   यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवा र उनकी पत्नी आरजु माथि कुटपिट भएको थियो । बुढानीलकण्ठस्थित घरमा आगजनी समेत हुँदा जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो ।   त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै नियम उल्लङ्घन नगरेको दाबी गरेका हुन् ।   ‘जग्गा मिचेको छैन । लालपुर्जा छ, नक्सा पास छ । पर्यटन विभागको लाइसेन्स छ । उद्योग विभागको प्रमाणपत्र छ । राष्ट्र बैंकको इजाजतपत्र सबै छ । हरेक वर्ष कर तिरेका छौं । कुनै बैकको ऋण छैनÚ, उनले थप लेखेका छन्, ‘एउटा होटल सञ्चालन गर्न एक उद्यमीले पालना गर्नुपर्ने सबै नियम पालना गरेका छौँ । तर पनि हामीमाथि यस्तो कठोर व्यवहार किन ?’   शाक्यले लेकसाइडमा वाटर फ्रन्ट होटल सञ्चालनमा ल्याएका थिए । यो होटेलको संरचना फेवा तालको क्षेत्रभित्र पर्ने भन्दै शनिबार महानगरपालिकाले केही संरचना हटाएको थियो ।   शाक्यले कुनै सूचनाबिनै संरचना हटाएको भन्दै आपत्ति पनि जनाएका छन् । तर, यसअघि नै पटक-पटक महानगरपालिकाले त्यस क्षेत्रमा नयाँ संरचना नबनाउन र बनाएका संरचना हटाउन अनुरोध गर्दै आएको थियो । बेलाबेला केही संरचना हटाउनेसमेत गरेको थियो ।   फेवातालको ६५ मिटरको मापदण्ड तोकिएको छ । त्यस क्षेत्रभित्र पर्ने संरचना हटाउन अदालतले आदेश दिइसकेको छ । त्यसपछि व्यवसायी अदालत गएका थिए । तर, अदालतले स्टेअर्डर नदिएपछि महानगरपालिकाले संरचना हटाउन सुरु गरेको हो ।