पाल्पाको बगनासकाली गाउँपालिकाले बाँदर नियन्त्रणका लागि पनि बजेट छुट्टाएको छ।    आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा गाउँपालिका भित्र बाँदर आतंक नियन्त्रणका लागि ५ लाख बजेट छुट्टाइएको हो ।...

लुम्बिनी:   विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ ।  चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो ।  धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप प्रज्ज्वलन गरिएको हो ।   नेपालको झण्डा केन्द्रभाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्ज्वलनको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थविरले शुभारम्भ गर्नुभएको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्ज्वलन गरी विश्व शान्ति र प्राणी जगत्को कल्याणको कामना गर्नु आफैँमा महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले बुद्धका उपदेशहरूलाई यस्तै आध्यात्मिक कार्यक्रमबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा थाईधम्मकायका सल्लाहकार डा अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको बताउँदै दीपले आन्तरिक र बाह्य ज्ञानलाई प्रतिविम्बन गरेको बताउनुभयो ।  यसैगरी कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा सुवर्णलाल बज्रचार्यले दीपको प्रकाशजस्तै बुद्धको उपदेशले पनि अँध्यारो चिर्दै जाने बताउनुभयो ।  सकियो त्रिपिटक पाठ बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित चारदिने चौथो अन्तरराष्ट्रिय त्रिपिटक पाठ सकिएको छ । अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो ।   त्रिपिटक पाठको शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समापन गर्नुभयो । समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बुद्धका उपदेशलाई विश्वभर फैलाउन आग्रह गर्नुभयो । उहाँले बुद्धको शिक्षा र उपदेशलाई आत्मसात् गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन सकिने बताउनुभयो ।  कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी बुद्धजन्मस्थल भएकाले विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र भएकाले यहाँ आउदा बुद्धलाई साक्षात् भेटेजस्तो हुने बताउनुभयो ।   कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले भगवान् बुद्धको उपदेश वैज्ञानिक र समयसापेक्ष रहेको बताउनुभयो । उहाँले बुद्धका उपदेशलाई चार दिनसम्म बुद्धजन्मस्थलमा पाठ गर्दा त्यसबाट सकारात्मक ऊर्जा पैदा गरेको बताउनुभयो ।   यस्तै लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले त्रिपिटक पाठले लुम्बिनीको पर्यटन प्रवर्द्धनसँगै बुद्ध शिक्षालाई अन्तरराष्ट्रियकरण गराउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो ।  कार्यक्रममा इन्टरनेसनल त्रिपिटक च्यान्टिङ कमिटीका संस्थापक उपासिका वाङ्मो डिक्सीले बुद्धको उपदेश लुम्बिनीमा बसेर पाठ गर्न पाउनु जीवनकै अमूल्य उपलब्धि भएको बताउनुभयो ।   कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी होटल व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मालगायतले बुद्धका उपदेश विश्वभर फैलाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो ।  उक्त अवसरमा त्रिपिटक कार्यक्रमका लागि सहयोग गर्नेहरूलाई सम्मान पनि गरिएको महासङ्घका प्रचार संयोजक भिक्षु बिमलो महास्थविरले जानकारी दिनुभयो । गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको त्रिपिटकमा सङ्ग्रहित गरिएको छ । त्रिपिटक पाठ समारोहमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिकासहित चार सय बढीको सहभागिता थियो ।

पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक घरवास कार्यक्रम सुरु भएको हो ।   पर्यटकको आवागमन बढाउन र पर्यटन विस्तारका गर्दै १४ घर परिवारले पुरानै घरका कोठालाई व्यवस्थापन गरेर घरवास सञ्चालनमा ल्याएका हुन् ।   सामुदायिक घरवासमा ती घर परिवारका सदस्य आबद्ध रहेको घरवास सञ्चालक समिति अध्यक्ष देउकुमारी सारूले जानकारी दिए ।   उनका अनुसार यहाँ आउने पर्यटकलाई प्रतिव्यक्ति रु एक हजारको प्याकेजको व्यवस्था मिलाइएको छ ।   स्थानीय कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको छ ।   स्थानीय उत्पादनका परिकार खुवाइन्छ । पर्यटकको मागअनुसार कोदोको ढिँडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटी लगायका परिकारको स्वाद लिन पाइनेछ ।   पन्चेबाजा, सालैजो, मारूनी, ठूलो नाच, झाम्रे लगायत स्थानीय कला संस्कृति पर्यटकलाई देखाइनेछ ।   यस क्षेत्रमा ९० बढी मगर समुदायको बसोबास रहेको छ । घरवास सञ्चालनका लागि गाउँपालिकाले स्थानीयलाई तालिम दिएपछि यहाँ औपचारिक रुपमा घरवास थालनी गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।   घरवास सञ्चालनमा आएपछि स्थानीयलाई रोजगार सिर्जना, धेरै पर्यटक भित्रिने र यहाँको कला संस्कृतिको जगेर्ना गर्न ठूलो टेवा पुग्नुका साथै स्थानीयको आयआर्जन उकासिने अध्यक्ष भण्डारीले बताए ।   समुद्र सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा रहेको छ ।   रानीबास गाउँको बीचमा रहेको चुर्की थानबाट उत्तरतर्फ रहेको माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी हिमाल र हिमश्रृंखलाको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ झामे्र नाच, मारुनी नाचका साथै सालैजो लगायतका कला संस्कृति छन् ।   यहाँ विगत ३ वर्ष देखि निर्माणाधिन आदिवासी जनजाति सङ्ग्रहालयको निर्माण गरी मगर समुदायको भेषभूषा, ऐतिहासिक माटो र काठले बनेका भाडाहरु, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचीन सामान राखिएका छन् ।

सुन्तलाखेती प्रवद्र्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ ।   महोत्सव सञ्चालनका लागि रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाले रु पाँच लाखका दरले रु १० लाख प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिए ।   महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उनले बताए ।   सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सव रैनादेवी छहरा गाउँपालिका–५ कनौजेपानी खेलमैदानमा हुनेछ । गत वर्ष पनि रिब्दीकोट गाउँपालिकाको आयोजनामा सुन्तला महोत्सव भएको थियो ।   महोत्सवमा कृषि उपज, कागती, अमिलो, जुनार, मुन्तला पनि समावेश गरिने उनले जानकारी  दिए । रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सय बढी किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन् ।   उनीहरूले गत वर्ष रु ४६ करोडको सुन्तला बेचेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

लुम्बिनी:     लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने छन् ।  प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालयमार्फत मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई दृष्टिगत गरी संशोधित निर्देशिका कार्यान्वयनमा आएको हो ।   मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकै लागि स्वास्थ्य सेवा निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको र यसबाट बिरामी र उनीहरुका परिवारका सदस्यहरुलाई सहज भएको बताउनुभयो ।   यसअघि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्ने व्यवस्था मिलाइएको प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताउनुभयो ।  लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका लागि एक जना बिरामीलाई रु दुई लाखको व्यवस्था गरेको छ ।

दाङ:    लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गर्नुभएका तीन मन्त्रीले आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ गराउनुभएको हो ।  बर्दियाका जन्मजय तिमिल्सीना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिनुभएको छ ।  नवनियुक्त मन्त्री तिमिल्सीना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित नेकपा (एमाले)का पाँच, कांग्रेसका पाँच र जसपाका एक री मन्त्रीको सङ्ख्या ११ पुगेको छ ।       मुख्यमन्त्री आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको थियो । सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो । कांग्रेस र एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो ।       शपथ कार्यक्रममा मुख्यमन्त्री आचार्य, सत्ता साझेदार दल कांग्रेसका दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दलका नेकपा (माओवादी केन्द्र)का दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती लगायतको सहभागिता थियो ।

लुम्बिनी प्रदेश सरकारले तयार पारेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनाको मस्यौदामा ११ वटा विषयलाई प्राथमिकता दिइएको छ ।   भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकतामा ९९ वटा क्रियाकलाप प्रस्ताव गरिएका छन् ।   मुख्यमन्त्री चेतनारायण आचार्यले पद सम्हालेपछि भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनालाई स्वीकृत गर्नुभएको हो ।   रणनीतिक योजनालाई यही असोजभित्र मन्त्रिपरिषद्बाट पारित गरेर कार्यान्वयन गर्ने योजना छ ।   प्रदेशमा सुशासन कायम गर्ने तथा त्यसनिम्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र गठन गरिने छभने नैतिकता तथा सदाचारिता प्रवर्द्धनलाई जोड दिइएको छ ।   व्यावसायिकता अभिवृद्वि, सार्वजनिक सेवा प्रवाह, वित्तीय अनुशासन, आयोजना कार्यान्वयन, कानुन तर्जुमा, पारदर्शिता, सामाजिक जवाफदेहीतालाई समेटिएको छ ।   रणनीतिमा उत्तरदायित्व प्रवर्द्धन, सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन, समन्वय, सहकार्य तथा साझेदारीलाई विषयगत क्षेत्रका रूपमा तोकिएको छ ।   सार्वजनिक प्रशासनका सबै क्षेत्रमा नैतिकता प्रवर्द्धन गरी निष्पक्ष, पारदर्शी, जवाफदेही, मितव्ययी तथा जनउत्तरदायी शासकीय क्रियाकलाप सञ्चालन गर्ने योजना प्रस्ताव गरिएको छ ।   कर्मचारी तथा जनप्रतिनिधिको पेशागत क्षमता अभिवृद्विका कार्यक्रम सञ्चालन, सार्वजनिक पदाधिकारीको नेतृत्व विकास, सार्वजनिक सेवालाई स्वच्छ बनाउने, सार्वजनिक गतिविधिमा नागरिकको सहभागिता, सशक्तीकरण, वित्तीय अनुशासन कायम गर्ने, आयोजना छनोट तथा कार्यान्वयनलाई वस्तुनिष्ठ बनाउने विषयलाई रणनीतिमा विशेष प्रथाथमिकता दिइएको छ ।   भ्रष्टाचारविरुद्ध रचनात्मक क्रियाकलाप   रणनीतिक योजनाअनुसार माध्यमिक तहका विद्यार्थीमा नैतिक मूल्यमान्यता तथा भ्रष्टाचारविरुद्धका विषयबारे सघन रूपमा जानकारी दिने र त्यसलाई ‘प्रजेक्ट वर्क’ का रूपमा समावेश गरिने छ भने, जनप्रतिनिधि तथा कर्मचारीको तालिम तथा क्षमता विकासका कार्यक्रममा नैतिकता प्रवरद्धन हुनेगरी पाठ्यक्रम, तालिम सामग्री तयार गरिनेछ ।   त्यसैगरी, सार्वजनिक सेवामा अध्यात्मसम्बन्धी ज्ञान र पूर्वीय दर्शनको प्रभाव आन्तरिकीकरण गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय तथा प्रदेशस्थित अन्य धार्मिक एवं आध्यात्मिक संस्थासँग सहकार्य गरी कर्मचारी तथा जनप्रतिनिधिमा योग, ध्यान, सकारात्मक सोच विकासका व्यावहारिक अभ्याससहितका कार्यक्रमहरू सञ्चालन गर्ने, सदाचार र नैतिकता प्रवर्द्धनका लागि सञ्चारमाध्यमसँग सहकार्य गर्ने, खोज पत्रकारिताका माध्यमबाट अनियमितता उजागर गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

दाङ: लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन् ।  मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष कुर्मीले हिजो राजीनामा बुझाएको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए । बाँके निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट निर्वाचित कुर्मी गत साउन ९ गते मन्त्री नियुक्त भएका थिए ।  मन्त्रीमा नियुक्त भएदेखि नै उनको बारेमा मानव अधिकारकर्मीहरूले विरोध गर्दै आएका थिए । उनीमाथि नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुर निवासी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेको आरोप र सम्पत्ति हत्याएको आरोप लगाउने गरिएको छ ।

लुम्बिनी:    लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।       बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले नवनियुक्त मुख्य न्यायाधिवक्ता खनाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।      शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, उपसभामुख मेनुका खाँड केसीलगायत उच्चपदस्थ व्यक्तिहरुको विशेष उपस्थिति थियो ।       मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७५ बमोजिम खनाललाई शपथग्रहण गराइएको थियो ।  मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख घर्तिमगरले बुटवल उपमहानगरपालिका–९ निवासी खनाललाई यही भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।  नेपालको संविधानको धारा, १६० को उपधारा, २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्ता प्रदेश प्रमुखले नियुक्त गर्नुभएको हो । 

बुटवल:    सडकमा जुधिरहेका छाडा चौपायाले कुल्चिँदा बुटवलमा एक महिलाले ज्यान गुमाएकी छन् ।   गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले घर भई हाल बुटवल गोलपार्क बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे (छाडा चौपाया)ले कुल्चिँदा ज्यान गएको हो ।   इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका  अनुसार  सडकमा जुधिरहेका २ वटा साँढेले बाटो हिँडिरहेकी सीतालाई कुल्चिएको थियो ।     घटनापछि गम्भीर घाइते भएकी सिताको उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक  उपचारकै क्रममा मृत्यु भएको हो ।   बुटवल लगायत देशका मुख्य शहर पोखरा, नेपालगञ्ज, विराटनगरमा पनि छाडा चौपायाहरुकै कारण ट्राफिक व्यवस्थापनमासमेत सकस बढ्दै गरेको छ ।