पोखरा: पद्याप्रेम थिएटरले आफ्नो तेस्रो प्रस्तुती नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ बिहिबारदेखि मञ्चन गर्ने भएको छ । गैह्रापाटनस्थित गन्धर्व नाटक घरको पोखरा थिएटरमा यही पुस २४ देखि २७ गतेसम्म ‘मृत्यु यस्तो हुनु हुँदैन’ नाटक मञ्चन हुने पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । नाटकका लेखक सावित्रा पाठक (सबु) ले पोखरामा एउटी एकल आमाको घरको कथाको रुपमा यस नाटकलाई मञ्चन गर्न लागेको बताईन् । ‘मृत्यु यस्तो हुनु हुँदैन’, यो नाटक पोखराको एउटी एकल आमाको घर कथाको रुपमा मञ्चन गर्दै छौं, आफ्नो छोराछोरीलाई सम्हाल्दा सम्हाल्दै पनि कसरी गलत बाटोमा लागेर समाजमा कस्तो घटना निम्त्याउन सक्छन् भन्ने विषयलाई केन्द्रित गरेका छौं । नाटकका लेखक तथा निर्देशक सबुले भनिन् । यस नाटकमा विशेष गरी युवा पुस्ता र उनीहरुका अभिभावकलाई केन्द्रित गरिएको निर्देशक पञ्चसुब्बा गुरुङले बताए । बिहिबारदेखि मञ्चन हुने नाटक हरेक दिन ५ बजे र शनिबार १ र ५ बजे मञ्चन हुने निर्देशक गुरुङले बताए । यस नाटकलाई पञ्च सुब्बा गुरुङ र सावित्रा पाठक (सबुु)ले निर्देशन गरेका छन् । नाटकमा शीतला अधिकारी, रोशनी रामदाम, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद), जय चापागाई, प्रतिमा गुरुङलगायतको अभिनय रहेको छ ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज कलाकारको जमघट भयो । उनीहरुले अनुभव र सिकाइ साटासाट गरे । कलाका आयामबारे विमर्श गरे । कुश्मा कला परियोजनाले राखेको ‘एक दिवसीय कला कार्यशाला’ मा पर्वत, बागलुङसहित धवलागिरि क्षेत्रका कलाकार सहभागी बनेका हुन् । तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेको परियोजनाले सोही स्थानमा कला कार्यशाला चलाएको हो । कार्यशालामा पर्वत, कुश्माका विभिन्न विद्यालयका झण्डै २०० विद्यार्थी सहभागी थिए । विद्यार्थीले चित्र कोरे । पाकापुराना कलाकारले क्यानभासमा कोरेका आकृति अवलोकन गरे । परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले चित्रकला विधाको जगेर्नाका लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो । “कलाकारको सम्मानसहित नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गर्न कार्यशाला राखिएको हो”, उहाँले भन्नुभयो । धवलागिरि क्षेत्र आफैँमा कलाको उर्बर क्षेत्र भएकाले यस क्षेत्रको कला गतिविधिलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने अध्यक्ष गिरीले बताउनुभयो । कार्यशालामा कोरिएका चित्रलाई शताब्दी घरमा सङ्ग्रह गरिने उहाँको भनाइ छ । परियोजनाले शताब्दी घरलाई सांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन र सम्पदा संरक्षणका क्षेत्रमा परियोजना क्रियाशील छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले कार्यशालाले कलाको वातावरण सिर्जना गर्न मद्दत पु¥याएको बताउनुभयो । “कलाकारहरुबीच सिक्ने, सिकाउने अवसर बन्यो, कलाप्रतिको सम्मानका लागि यस किसिमका गतिविधि हुनु आवश्यक छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय प्रतिष्ठानले जिल्लास्तरमा ललितकलासँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।” कुश्माको कार्यशालामा प्रतिष्ठानले सहकार्य गरेको सदस्य सचिव थुम्केलीले बताउनुभयो । उहाँले धवलागिरि क्षेत्रलाई समेटेर आगामी दिनमा ललिताकलासम्बन्धी कार्यशाला र प्रदर्शनीको आयोजना गर्ने योजना रहेको सुनाउनुभयो । प्रतिष्ठानका प्राज्ञ सदस्य राधी कँडेलले राजधानी र ठूला सहरमा मात्र हुँदै आएका कला प्रवर्द्धनका कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको बताउनुभयो । “कला कार्यशाला धेरैजसो पोखरामा हुने गरेको थियो, यसपालि पर्वतमा आयोजना गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “यस क्षेत्रका कलाकार, चित्रकलाप्रति रुची भएका विद्यार्थीहरुको उत्साहजन सहभागिता रह्यो, यसले कलाप्रतिको सम्मान झल्काएको छ ।” व्यावसायिक रुपमा चित्रकला सफल विधा भएकाले नयाँ पुस्तालाई ललितकला अध्ययनमा प्रेरित गर्नुपर्ने प्राज्ञ सदस्य कँडेलले बताउनुभयो । नवलपुरको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीम शर्माले कार्यशालाले प्रतिभा पहिचान गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले आगामी माघ १५ गतेदेखि गैँडाकोटमा हुने गण्डकी प्रदेशस्तरीय कला प्रदर्शनीमा धवलागिरि क्षेत्रका कलाकारहरुको सहभागिता रहने बताउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने उक्त प्रादेशिक कला प्रदर्शनीबाट छनोट भएका कलाकृतिलाई राष्ट्रिय प्रदर्शनीमा सहभागी गराइने जनाइएको छ । बागलुङका कलाकार मछिन्द्र शाक्यले कार्यशाला पुरानो र नयाँ पुस्ताका कलाकारलाई जोड्ने सेतु बनेको धारणा राख्नुभयो । “धवलागिरि क्षेत्रका कलाकार एकैठाउँमा जमघट हुने अवसर मिल्यो, स्थलगत रुपमा क्यानभासमा आकृति कोर्दाको अनुभूति बेग्लै भयो”, उहाँले भन्नुभयो । शाक्यसहितका केही कलाकारले शताब्दी घर र त्यहाँ सङ्ग्रहित परम्परागत सामग्रीलाई क्यानभासमा उतारेका थिए । कतिपयले प्रकृति, संस्कृति पर्यावरण, जनजीवन आदि झल्काउने चित्र कोरे ।
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्यशालामा डान्सर तेरिया मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने सहभागी रहेको जनाइएको छ । भारतीय टिभी रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’ को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता डान्सर मगरले नेपाली फिल्मको यो प्रोजेक्टबाट डेब्यू गर्न लागेकी हुन् । अभिनय कार्यशाला केही दिन चल्ने जनाइएको छ । निर्माता जनक घर्तीमगरले कलाकारलाई वर्कसपमार्फत आफ्नो भूमिकबारे जानकारी गराउन खोजिएको बताए । यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, शिशिर वाङ्देल, अरुण पुनमगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना रानामगर, अनुशा राई, खड्कबहादुर पुन मगरको पनि अभिनय हुनेछ । रोल्पाका विभिन्न स्थानमा खिचिने फिल्मको प्रदर्शन १५ जेठलाई तोकिएको छ ।
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान पोखराद्वारा संयुक्त रुपमा पोखरा ११ स्थित गीतामन्दिरमा आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् बरिष्ठ साहित्यकार माधब बियोगी, कार्यक्रमका सभापति एवम् गिताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितीज’ प्रा.डा.कुसुुमाकर न्यौपाने लगायतले कृतिको लोकार्पण गर्नुुभएको हो । कृतिबारे परिचर्चा गर्दै प्रा. डा. कुसुमकर न्यौपानेले ‘कोभिड १९’ कोरोना कहरको विषयवस्तु समेटेर रचिएको कविता संग्रह ‘कहरको त्यो समय’का विविध पक्षबारे चर्चा गर्नुुभएको थियो । नारी बाङ्मय प्रतिष्ठान पोखराका सचिव लक्ष्मी थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत गिताञ्जली साहित्य परिवार पोखरा पूर्व अध्यक्ष शिवप्रसाद गौतमले गर्नुुभएको थियो भने स्रष्टाको परिचय साहित्यकार प्रतिभा शर्मा तिमिल्सीनाले गनर्नुभएको थियो । कार्यक्रममा अग्रज साहित्यकार छबिलाल आचार्य, शिव त्रिपाठी, नरेन्द्र रानाभाट, ढुण्ड़ीराज ज्ञवाली लगायतका साहित्यकारहरूले रचना वाचन गर्नुुका साथै वसन्त चालिसे, छन्दमणि त्रिपाठी, छन्दिका त्रिपाठी लगायतले शुभकामना व्यक्त गर्नुुभएको थियो । दर्जनौ कृतिहरूबजारमा ल्याइसक्नुुभएकी वाग्ले विभिन्न साहित्यिक र सामाजिक संघ–संस्थाबाट सम्मानित बनिसक्ननुुभएको छ । समाजका विविधता र वास्तविकता उहाँका कृतिमा जीवन्त चित्रण गरिएको पाइन्छ । प्रत्येक महिनाको पहिलो शनिबार गिताञ्जली साहित्य परिवार पोखराले आयोजना गर्ने साधना प्रभात कार्यक्रमको अवसरमा आयोजित यस कार्यक्रममा पोखराका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
पोखरा: गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको गीतमा पुरुष आवाज सागर आलेको रहेको छ । गीतकार प्रतिष्ठानद्वारा शुक्रवार आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । शान्तिको गीतले आम नेपाली जनजीवनलाई छुने विश्वास व्यक्त गर्दै श्रेष्ठले भिडियोमा प्रस्तुत गरिएिको मौलिकपनले नेपाली पहिचान बोकेको बताए । गायिका तथा मोडल शान्ति श्रीष मगरले बागलुङको गलकोटबाट पोखरा आएर गीत सङ्गीतका क्षेत्रमा गरेको सङ्घर्षका चरणबारे स्पष्ट पारेकी थिइन् । तत्कालीन परिस्थितिमा सङ्गीतसम्बन्धी औपचारिक ज्ञान नभए पनि रेडियो सुनेकै भरमा सङ्गीतप्रति अनुराग बढेको अनुभव उनले सनाइन् । जीवन जिउने क्रममा केही समय सङ्गीतबाट टाढिनुपर्दाको कष्टकर समयको स्मरण गर्दै मगरले आफूभित्रको रुचि कुनै पनि कारणले नरोकिने प्रमाणित भएको बताइन् । उनका यसअगि फूल जस्तै मेरो जोवन, जूनतारा, गल्छी झरेसि, बसे पर्खेरलगायतका गीतहरू सार्वजनिक भएका छन् । भिडियो भिडियोमा शान्तिसँगै विजय पुन, चाहना राना मगर र आश्विन राना मगरको अभिनय रहेको छ । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, भिडियोका निर्देशक तथा मोडल विजय पुनलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।
पोखराः रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा जारी कास्की आइडलको टपटेन छनोट चरण सम्पन्न भएको छ । आइडलमा गायन र नृत्य विधामा प्रतियोगीहरूले आफ्ना प्रस्तुति राखेका छन् । गायनतर्फ सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, सन्तोष विके, सुरज परियार र दीपक सुनार टपटेनमा छनोट भएका छन् । त्यसै गरी, नृत्यतर्फ कृपा विके, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना मगर टपटेनमा परेका छन् । रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रूपा गाउँपालिका–२ का वडाअध्यक्ष राजन सुवेदीले प्रतियोगिताबाट अब्बल कलाकार जन्मिने विश्वास व्यक्त गरे । गायकसमेत रहेका सुवेदीले गायन र नृत्यका क्षेत्रमा कास्की आइडलले वास्तविक आइडलको जन्म हुने भन्दै स्थानीय तहहरूले कला, साहित्य र सङ्गीतका क्षेत्रमा लगानी गर्न हिच्किचाउन नहुने धारणा राखे । कार्यक्रममा निराजन कोइराला, सुदिप ढुङ्गाना, सुवास खड्का तथा कराते प्रशिक्षक विनोद नेगीलगायतले शुभकामना दिएका थिए । रूपा वाङ्मय प्रतिष्ठानका अजीवन सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य तथा स्थानीय प्रतिभा पहिचानमा यसको भूमिकाबारे प्रकाश पारेका कार्यक्रममा स्वागत गीत सनम गुरुङले प्रस्तुत गरेका थिए । कार्यक्रमको सफल सञ्चालन ज्योति खड्काले गरेकी थिइन् ।
पोखरा: दशौं मिस तामाङ पोखरा–२०२६ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ । तयारीका लागि पोखरा महानगरभित्र रहेका विभिन्न तामाङ घेदुङ इकाइहरू बीच छलफल कार्यक्रम सम्पन्न भएको समाजले जनाएको छ । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष मिस तामाङ पोखरा हुने गर्दछ । बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन (शिबु) ले महिला शिक्षित भए परिवार शिक्षित हुन्छ, परिवार शिक्षित भए समाज र देश शिक्षित हुन्छ भन्ने अवधारणालाई मिस तामाङ प्रतियोगितासँग जोडेर व्यक्त गरे । नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसीले नारी शिक्षाले घर–समाज र देशलाई समृद्ध बनाउने भन्दै नारी क्षमता विकास, नेतृत्व निर्माण र आत्मविश्वास वृद्धि मिस तामाङ पोखराले पु¥याउँदै आएको योगदानमा जोड दिए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले तामाङ समुदायका छोरी–चेलीलाई आफ्नो पहिचान, प्रतिभा र सांस्कृतिक ज्ञान सहित अगाडि बढ्ने अवसर दिलाउने यो कार्यक्रम समुदायको सम्पत्ति हो भने । उनले यदि हामीले आफ्ना परम्परा, कला, भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण नगर्ने हो भने मौलिकता नै हराउने खतरा रहेकोमा जोड दिए । वक्ता र सहभागीहरूले मिस तामाङ प्रतियोगिता केवल सौन्दर्य प्रतियोगिता मात्र नभई सांस्कृतिक संरक्षण, नेतृत्व क्षमता विकास, र समुदायको अन्तरपीढीगत सम्बन्ध मजबुत पार्न महत्वपूर्ण माध्यम भएको बताएका छन् । छलफलमा संयोजक रोशिला ब्लोन, तामाङ बौद्ध सेवा समितीका अध्यक्ष विष्णु तामाङ , तामाङ घेदुङ पोखरा महानगरका कार्यबाहक अध्यक्ष अन्जना तामाङ, कार्यक्रमका कोरियोग्राफर जिता लामा लगायतले मिस तामाङ पोखराको महत्व, यसको सांस्कृतिक योगदान र प्रतिभा उजागर गर्ने भूमिकामाथि आ–आफ्नो धारणा व्यक्त गरेका छन् । माघको ३ गते पोखरामा हुने मिस तामाङ पोखरा–२०२६ मा पोखराका अभिभावक र तामाङ समुदायलाई आफ्ना छोरी–चेलीलाई सहभागी गराई नयाँ कुरा सिक्ने, आत्मविश्वास बढाउने र क्षमता उजागर गर्ने उत्कृष्ट अवसर दिन बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले अनुरोध गरेको छ ।
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान नेपाली प्रतिभालाई एउटै मंचमा ल्याएर ‘सिनेमा बिना सीमा’ को उत्सव मनाउने तयारी पूरा भएको आयोजकले जनाएको हो । महोत्सवमा २५ चलचित्र प्रदर्शन हुनेछन् । जसमा १० युरोपेली फिचर फिल्म, ६ बाफ्टा–छानिएका लघु चलचित्र र ९ नेपाली लघु चलचित्र सामेल रहेको युरोपेली संघको नेपाल प्रतिनिधिमण्डल ईईएएसका प्रेस तथा सूचना अधिकारी विद्या महर्जनले जानकारी गराइन् । उनका अनुसार यी फिल्मले पहिचान, प्रतिरोध, स्मृति, आशा र रूपान्तरणजस्ता मानव अनुभूतिमा केन्द्रित कथाहरू मार्मिक रूपमा प्रस्तुत गर्छन्। चलचित्र महोत्सवमा पोर्चुगलको बाञ्जो, फिनल्याण्डको जे’भिदा, अस्ट्रियाको ह्याप्पी, हंगेरीको विथआउट एअर, फ्रान्स–इटालीको द गर्ल फ्रम टुमरो, साथै नेदरल्यान्ड्स, आयरल्याण्ड, पोल्याण्ड, स्विट्जरल्यान्ड र रोमानियाबाट समेत उत्कृष्ट फिल्महरू प्रदर्शन हुनेछन् । बेलायतका वान्डर टु वोन्डर, रक पेपर सिजर्स, मग्स क्रिसमस, मिल्क, आडिओस र स्टमक बग प्रदर्शन हुनेछन् भने स्थानीय र राष्ट्रिय स्तरमा चयन भएका ९ नेपाली लघु चलचित्र—चिसोघर,अबिस, अर्केस्टा, चाँदनी, इटर्नल किनशिप, ग्राण्डमाज् म्याजिक कोम्ब, साइलेन्ट स्कार्स, द काठमाडौँ र ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन—ले नेपाली कथनशैली र सौन्दर्यशास्त्रलाई उजागर गर्ने उनको भनाई छ। सबै प्रदर्शन निःशुल्क हुनेछन् र सबै फिल्ममा अंग्रेजी सबटाइटल उपलब्ध गराइने बताइएको छ । महोत्सवअघिको चरणमा पनि उद्योग, कला र सिकाइबीचको सम्वाद बलियो बनाउन कार्यक्रमहरू सञ्चालन गरिनेछ । मङ्सिर ६ गते शनिबार दिउँसो २ बजे ब्रिटिश काउन्सिलको सहकार्यमा ‘चलचित्र उद्योगले अब के गर्ने त?’ शीर्षकमा विशेष छलफल कार्यक्रम हुनेछ। वक्ताहरू—गौ माया गुरुङ, जस्सु गुरुङ र प्रविण टक्की कार्की—ले स्थानीयदेखि अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कमाउँदै आएका अनुभव साझा गर्नेछन्। कार्यक्रमको सञ्चालन सुनिर पाण्डेले गर्नेछन्। यो महोत्सव नेपालस्थित युरोपेली संघको प्रतिनिधिमण्डलले फ्रान्स, जर्मनी, फिनल्याण्ड, अन्य ईयू सदस्य राष्ट्रका दूतावास तथा ब्रिटिश काउन्सिल र युनेस्कोसँग सहकार्यमा आयोजना गरेको हो।
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लाफा ग्रुप लिमिटेडका म्यानेजिङ डिरेक्टर तथा समाजसेवी जङ्गबहादुर थापाले कार्यक्रमले नवप्रतिभालाई प्रेरणा दिने भन्दै प्रशंसा गरे । सो अवसरमा वडा नं. २६ का सदस्य सुदिप ढुङ्गाना, आजीवन संस्थापक सदस्य चन्द्रमणि पौडेल तथा कराते प्रशिक्षक विनोद नेगी, इन्जिनियर अनिल ढुङ्गानालगायतले शुभकामना दिएका थिए । कार्यक्रमका आजीवन सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य, महत्त्व तथा प्रतिभा उजागर गर्ने भूमिकामाथि प्रकाश पारे। स्वागत गीत सनम गुरुङले प्रस्तुत गरेका थिए । सो अवसरमा गायनतर्फ १४ प्रतिभा छनोट अर्को चरणका लागि छनोट भएका छन् । छनोट भएर सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, अनुष्का पाण्डे, सन्तोष वि.क., सुरज परियार, दीपक सुनार, दीक्षा गुरुङ, शिखा पुलामी र श्याम सुनार आगामी चरणमा प्रवेश गर्न सफल भएका छन् । त्यसै गरी नृत्यतर्फ १२ अर्को चरणका लागि छनोट भएका छन् । कृपा वि.क., भीमकुमारी रोका, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, प्रनिशा लामिछाने, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना मगर अर्को चरणका लागि चयन भएका छन् । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजक प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले धन्यवाद व्यक्त गर्दै चयन भएका प्रतिभालाई बधाई तथा आगामी चरणमा शुभकामना दिए । उनका अनुसार कास्की आइडल २०८२ प्रतिभाहरूलाई पहिचान, मञ्च र अवसर प्रदान गर्ने यात्रामा निरन्तर अगाडि बढ्ने छ ।

