खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ मा वक्ताहरुले यस विषयमा जोड दिएका छन् ।   सम्मेलनमा वक्ताका रुपमा थिए, पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद्, गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङ र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशी । उनीहरुसँग पत्रकार सन्देश श्रेष्ठ छलफलमा थिए ।   उक्त सेसनमा वक्ताहरुले खेलकुद र पर्यटनलाई जोडेर आर्थिक समृद्धि हासिल गर्न सकिने तर यसका लागि नीतिगत झन्झट, महँगो यातायात र मन्त्रालयहरूबीचको समन्वयको अभाव मुख्य तगारो बनेको धारणा राखेका थिए ।   उनीहरुले खेलकुदलाई केवल खेलको रूपमा मात्र नभई एउटा ठूलो उद्योग र सामाजिक रूपान्तरणको माध्यमको रूपमा परिभाषित गर्नुपर्नेमा जोड दिएका थिए ।   अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशीले विश्व बजारमा खेल पर्यटनले ओगटेको हिस्सा र नेपालको अवस्थाबारे गहिरो विश्लेषण गरे । उनले स्पोट्र्स टुरिज्मलाई ‘लक्जरी टुरिज्म’ को रुपमा व्याख्या गर्दै सामान्य पर्यटकको तुलनामा खेल पर्यटकले १० देखि १०० गुणा बढी खर्च गर्ने तथ्य प्रस्तुत गरे ।   राजवंशीका अनुसार थाइल्याण्डको अर्थतन्त्रमा गल्फले र भियतनामको अर्थतन्त्रमा एड्भेन्चर स्पोट्र्सले ठूलो योगदान दिएको छ भने स्वीजरल्याण्डले आफ्नो ६० प्रतिशत भूभाग ओगट्ने हिमाललाई ‘अल्पाइन टुरिज्म’ मार्फत विश्वकै महँगो गन्तव्य बनाएको छ ।    नेपालमा पनि त्यस्तै सम्भावना भए पनि राज्यको नीतिले साथ नदिएको उनले गुनासो गरे । विशेष गरी विदेशी पर्यटकका लागि काठमाडौंबाट पोखरा आउने हवाई भाडा अत्यन्तै महँगो हुनु र सडकको दुरावस्था हुनुले खेल आयोजनाहरूलाई असर गरेको उनको तर्क थियो ।   राजवंशीले भने, ‘विदेशी खेलाडी वा पर्यटकले काठमाडौंबाट पोखरा आउन सयौँ डलर खर्चनुपर्ने अवस्था रहेसम्म हामीले खेल पर्यटनबाट सोचेजस्तो लाभ लिन सक्दैनौँ, राज्यले हवाई कनेक्टिभिटी र भाडा दरमा पुनर्विचार गर्नैपर्छ ।’   उनले नेपालको एड्भेन्चर स्पोट्र्सलाई विश्व बजारमा प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्ड र खेलकुद निकायहरुले संयुक्त ‘स्पोट्र्स क्यालेन्डर’ बनाउनुपर्नेमा उनको सुझाव थियो ।   प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदको परिभाषा र यसको गहिराइलाई बुझ्न जरुरी रहेको बताए । उनले खेलकुदलाई केवल पदक जित्ने वा उत्सव मनाउने माध्यम मात्र नभई यसलाई स्वास्थ्य र सामाजिक रुपान्तरणसँग जोड्नुपर्ने औंल्याए ।   गुरुङका अनुसार विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले प्रत्येक सात जनामा एक जना मानसिक समस्याबाट ग्रसित भएको देखाएको सन्दर्भमा खेलकुद एउटा ठूलो ओखती बन्न सक्छ । उनले भने, ‘हामीले खेलकुदलाई मनोरञ्जन मात्र ठान्यौँ, तर यो सामाजिक रूपान्तरणको अभिन्न अङ्ग हो, राज्यले यसको मर्म नबुझ्दा कुल बजेटको शून्य दशमलव ६ प्रतिशत मात्र लगानी गरेको छ, जुन अत्यन्तै न्यून हो ।’   गुरुङले राज्यका विभिन्न मन्त्रालयहरूबीच समन्वयको ठूलो खाडल रहेको पनि स्पष्ट पारे ।   सामाजिक विकास मन्त्रालयले एउटा कार्यक्रम गरिरहँदा पर्यटन मन्त्रालयलाई त्यसको जानकारी नहुने र दुवैले खेलकुदकै शीर्षकमा छुट्टाछुट्टै बजेट खर्चने प्रवृत्तिले प्रतिफल प्राप्त हुन नसकेको उनले बताए । गुरुङले थपे, ‘अहिलेको मुख्य चुनौती भनेकै समन्वयको अभाव हो, मन्त्रालयहरूका बीचमा ‘कम्युनिकेसन ग्याप’ छ, जसले गर्दा लगानी बालुवामा पानी हाले जस्तै भएको छ ।’ उनले निजी क्षेत्रले सञ्चालन गरेका जिमखाना र फुटबल मैदानहरूले पनि ठूलो रोजगारी सिर्जना गरेको र तिनलाई राज्यले उचित पहिचान दिनुपर्ने धारणा राखे ।   पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखराको पर्यटनमा खेलकुदको भूमिका महत्वपूर्ण भए पनि पूर्वाधार विकासमा राज्य सुस्त देखिएको बताए । मुग्लिन–पोखरा सडकको अवस्थाले पर्यटकको बसाइ र आगमन दुवैमा गम्भीर असर पारेको उनको भनाइ थियो ।   भट्टराईका अनुसार पोखरामा धेरै अन्तर्राष्ट्रिय स्तरका खेलहरू हुने सम्भावना भए पनि ती खेलहरूका लागि आवश्यक पर्ने पूर्वाधार र सरकारी सहयोगको कमी छ । उनले भने, ‘पोखरा आफैँमा एउटा ’एयर कन्डिसन सिटी’ हो, यहाँको मौसम खेलकुदका लागि विश्वकै उत्कृष्ट छ, तर हामीले यसलाई ब्रान्डिङ गर्न सकेनौँ ।’    भट्टराईले पोखरामा आयोजना हुने म्याराथन, ट्रायथलन जस्ता खेलहरूलाई विश्वभर चिनाउनका लागि स्थानीय तह र प्रदेश सरकारले एउटा छुट्टै ‘स्पोट्र्स डेस्क’ स्थापना गर्नुपर्नेमा जोड दिए ।   उनले भने, ‘कतिपय अवस्थामा पोखरामा ठूला अन्तर्राष्ट्रिय खेलहरू भइरहँदा पनि पर्यटन सम्बद्ध संस्थाहरूलाई पत्तै हुँदैन, समन्वय नहुँदा हामीले विदेशी पर्यटकलाई ती खेलहरूमा सहभागी गराउन वा देखाउन चुकिरहेका छौँ ।’ उनले आन्तरिक पर्यटन नै अहिलेको मुख्य आधार भएको र नेपालीहरूले पनि खेलकुदमा ठूलो खर्च गर्न थालेकाले उनीहरूलाई लक्षित गरी प्याकेजहरू ल्याउनुपर्ने बताए ।   साहसिक खेल स्काई डाइभकी पाइलट यशोदा केसी थापाले नेपालमा साहसिक पर्यटनका लागि स्काई डाइभिङ एउटा बलियो माध्यम बन्न सक्ने तर यसका लागि राज्यको नीति अत्यन्तै संकुचित रहेको अनुभव सुनाइन् । उनले थाइल्याण्डमा सिकेको सीपलाई नेपालमा प्रयोग गर्न खोज्दा कानुनी र नीतिगत बाधा व्यहोर्नुपरेको बताइन् ।   थापाले भनिन्, ‘हामीले उपकरणहरू विदेशबाट ल्याउनुपर्छ, जसमा सरकारले चर्को कर लगाउँछ, अर्कोतिर नागरिक उड्डयन प्राधिकरणले हामीलाई १५–१५ दिनको अस्थायी अनुमति मात्र दिन्छ, यस्तो अवस्थामा कसरी ढुक्क भएर व्यवसाय गर्ने ?’     स्काई डाइभिङ अत्यन्तै महँगो खेल भएकाले यसलाई सर्वसुलभ बनाउन राज्यले विशेष सहुलियत दिनुपर्ने उनको माग थियो ।   उनले बताए अनुसार यदि स्काई डाइभिङलाई प्याराग्लाइडिङ जस्तै नियमित र सुरक्षित रूपमा सञ्चालन गर्ने वातावरण बन्ने हो भने पोखरामा विदेशी पर्यटकको बसाइ लम्ब्याउन धेरै मद्दत पुग्छ । थापाले थपिन्, ‘स्काई डाइभिङका लागि नेपालको आकाश र दृश्य संसारकै उत्कृष्टमध्येमा पर्छन्, तर हामीले राज्यलाई यसको महत्व बुझाउन सकेका छैनौँ, नीतिगत सुधार भएमा यसले हजारौँको रोजगारी र लाखौँको विदेशी मुद्रा आर्जन गर्न सक्छ ।’ छलफलको समापन गर्दै सहजकर्ता सन्देश श्रेष्ठले प्यानलिस्टहरूका कुराले खेल पर्यटनको विकासका लागि स्पष्ट र दीर्घकालीन सरकारी नीति; गुणस्तरीय भौतिक पूर्वाधार; र सबै सरोकारवाला निकायहरुबीचको प्रभावकारी समन्वय अनिवार्य रहेको निष्कर्ष निकाले ।   उनले भने, ‘हामीले सम्भावना मात्रै भनिरह्यौँ तर ती सम्भावनालाई अवसरमा बदल्ने ठोस योजना बनाउन सकेनौँ, अबको समय भनेको ‘एक्सन’ को हो ।’   पोखरालाई विश्वको खेल पर्यटन मानचित्रमा स्थापित गर्न निजी क्षेत्रको उत्साहलाई राज्यले नीतिगत सहजता र पूर्वाधार विकासमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको वक्ताहरुको भनाइ छ । यसो गर्न सकेमा मात्र खेल पर्यटन नेपालको अर्थतन्त्रको बलियो खम्बा बन्न सक्नेमा उनीहरुको जोड थियो ।    कार्यक्रममा प्रमुख वक्ताका रुपमा पोखरा विश्वविद्यालयका स्कुल अफ विजनेश डा. उमेशसिंह यादवले गण्डकी प्रदेशमा खेलकुद पर्यटनको संभावना, चूनौति र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।   

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।    बिहीबार बिहान करिब सवा ११ बजे पौडी खेल्ने क्रममा उनी अचानक बेपत्ता भएका थिए ।   त्यसपछि घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपालको नं. २४ गण हेडक्वाटर कास्कीबाट गोताखोरसहितको टोली घटनास्थल खटिएको थियो ।    सशस्त्र प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको नेतृत्वमा गएको ७ सदस्यीय टोलीले तालको करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको थियो ।   उद्धारपछि बालकलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पताल लगिएकोमा चिकित्सकले दिउँसो सवा १२ बजे उनलाई मृत घोषणा गरेको हो ।   पछिल्लो समय पोखराका जलाशय क्षेत्रमा बालबालिकाको सुरक्षा संवेदनशीलतामा चुनौती देखिएकाले सचेत हुनुपर्ने देखिएको छ ।   प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।  

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘मिडिया उद्योग व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो अभिव्यक्ति व्यक्त गरेका हुन् ।   कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उनले लोकतन्त्रमा प्रश्न गर्ने संस्कृति र जिम्मेवार खबरदारीले नै शासन व्यवस्थालाई बलियो बनाउने उल्लेख गरे ।   प्रदेश सरकारले सञ्चार क्षेत्रको नियमन र विकासका लागि ‘गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८०’ र ‘गण्डकी प्रदेश आमसञ्चार नियमावली, २०८२’ जारी गरिसकेको जानकारी दिँदै उनले यी कानुनी व्यवस्थाले सञ्चार क्षेत्रलाई थप उत्तरदायी र मर्यादित बनाउने विश्वास व्यक्त गरे ।   मुख्यमन्त्री पाण्डेले सञ्चार माध्यमहरूलाई सूचना प्रवाह गर्ने संस्थाका रूपमा मात्र नभई दिगो र आत्मनिर्भर मिडिया उद्योगका रूपमा विकास गर्न आवश्यक रहेको बताए ।   उनले बजार अनुसन्धान, आयस्रोतको विविधीकरण र दीर्घकालीन रणनीतिलाई सञ्चार उद्योगको अनिवार्य पक्षका रूपमा औल्याए ।   ‘विज्ञापनका लागि मात्र गरिने पत्रकारिता क्षणिक हुन सक्छ, नागरिकको विश्वास जित्ने सामग्री मात्र दीर्घकालीन हुन्छ’ उनले भने, ‘कन्टेन्ट किङ’ भन्ने सोचलाई आत्मसात् गर्दै गुणस्तरीय सामग्रीमा जोड दिनुपर्छ ।’   उनले पत्रकार, प्राविधिक र व्यवस्थापकहरूको क्षमता विकासमा लगानी गर्न सञ्चार गृहहरूलाई आग्रह गर्दै भने ‘जनशक्ति विकास अब विकल्प होइन, आवश्यकता हो ।’   डिजिटल मिडियाको बढ्दो प्रभावका बीच परम्परागत मिडियाले पनि डिजिटल प्लेटफर्मसँग जोडिएर आफ्नो पहुँच र आम्दानीको नयाँ आधार तयार गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले सुझाए ।   मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार सञ्चार माध्यमलाई नियन्त्रण गर्ने नभई जिम्मेवार र व्यावसायिक बनाउन सहजीकरण गर्ने पक्षमा रहेको प्रष्ट पारे ।   मिडिया हाउसहरू सरकारी विज्ञापनमा मात्र निर्भर नभई प्रतिस्पर्धी र आत्मनिर्भर व्यावसायिक प्रतिष्ठानका रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिएका थिए ।   उक्त गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सञ्चालित मिडिया हाउसका सञ्चालक, सम्पादक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

पोखरा ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ ।   यसअघि वैशाख १८ गतेका लागि तय गरिएको उक्त कार्यक्रम विशेष कारणवश मसान्तमा सारिएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   मञ्चका अध्यक्ष मानबहादुर घर्तीमगर एमबी आस्थाले कार्यक्रमको तयारी तिब्र पारिएको बताए ।   उनका अनुसार पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने सो कार्यक्रममा ९ वटा विधामा अवार्ड प्रदान गरिनेछ ।   हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने यस कार्यक्रममा वर्ष खेलाडी (पुरुष), वर्ष खेलाडी (महिला), पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ/क्लब, स्पेसल अवार्ड र उत्कृष्ट खेल पत्रकार गरी कुल ९ विधामा अवार्ड प्रदान गरिने अध्यक्ष मगरले बताए ।   यसपटक ‘पिपुल्स च्वाइस’ र ‘स्पेसल अवार्ड’ थप गरिएको छ । पिपुल्स च्वाइस अवार्डका लागि ‘गुरुङ गहना घर’ र स्पेसल अवार्डका लागि ‘नेलम्बो नेपाल’ले प्रायोजन गरेका छन् ।   खेलकुद क्षेत्रको समग्र विकास र खेलाडीहरूको मनोबल उच्च राख्ने उद्देश्यले वि.सं. २०७२ सालदेखि मञ्चले निरन्तर यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।   कार्यक्रम भव्य बनाउन उपसमिति गठन   अवार्ड कार्यक्रमलाई भव्य बनाउन मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) को संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा उपाध्यक्ष द्वय राजाराम पौडेल र उमा आले रहेकी छिन् ।   यस्तै अनुगमन तथा मूल्यांकन उपसमितिको संयोजकमा सन्देश श्रेष्ठ, प्रचारप्रसारमा परशुराम शर्मा, अन्तर्राष्ट्रिय समन्वयमा प्रेमनारायण न्यौपाने, स्वागत तथा अतिथि सत्कारमा दिननाथ बराल, क्विक रेस्पोन्सम उमा आले, मञ्च तथा सांस्कृतिकमा राजु गिरी, आर्थिक व्यवस्थापनमा विमल तिवारी, फोटो तथा भिडियोमा गीता रानालाई जिम्मेवारी दिइएको अध्यक्ष घर्तीमगरले जानकारी दिए ।   यस वर्षको अवार्डको मुख्य प्रायोजकमा हिम श्री फुड्स प्रालिको उत्पादन ’रारा तयारी चाउचाउ’ रहेको छ ।   सह–प्रायोजकमा गुरुङ गहना घर र केल्मी नेपाल रहेका छन् । त्यस्तै, भोटिङ पार्टनरका रूपमा खल्ती डिजिटल वालेट र हस्पिटालिटी पार्टनरका रूपमा प्लाजा होटल ग्रुपको साथ रहेको छ ।   कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका लगायत विभिन्न स्थानीय तह र विदेशमा रहेका संघसंस्थाहरूले समेत सहयोग गरेका छन् ।   कास्की जिल्लाबाट सुरु भएको यो मञ्च हाल गण्डकी प्रदेशकै एक सशक्त र स्वायत्त संस्थाका रूपमा स्थापित छ ।

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरेका हुन् ।   उनले सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको उपचारमा सघाउ पुग्ने उल्लेख गरे । उक्त अस्पतालले अन्य अस्पतालहरुसँग सहकार्य गरेर विशेषज्ञ सेवा दिनुपर्नेमा जोड दिए ।   मुख्यमन्त्री पाण्डेले प्रदेशको बजेटमध्ये हरेक आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउदै आएको बताए ।   उनले प्रदेश स्थापना भएयता ३४ वटा प्रहरी युनिटको भवन निर्माण सम्पन्न गरी सकेको बताउदै १ वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।   मुख्यमन्त्री पाण्डेले प्रहरीको समायोजन हुन नसकेको बताउदै केही प्रशासनिक त्रुटीहरु देखिएको स्मरण गरे ।   उनले प्रहरी तथा प्रदेश सरकारको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउनका लागि संविधानको मर्म अनुसार प्रहरी समायोजन अपरिहार्य रहेको बताएका थिए ।   मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका प्रदेश प्रहरी अस्पतालको भवन ५ तले बन्नेछ । यद्यपी अहिले भने भ्याटसहित कुल ४ करोड ८४ लाख ९६ हजार १ सय ४७ रुपैयाँमा २ तले भवन निर्माण भएको छ ।   निर्माणको जिम्मा पाएको काभ्रेको एनसी निर्माण सेवाले २०८१ साल असार २० गते सम्झौता गर्दै निर्माणको काम अघि बढाएको थियो ।   त्यसपछि उक्त निर्माण कम्पनीले तोकेकै अवधिमा निर्माण सम्पन्न गरेको हो ।   नवनिर्मित सो भवनको पहिलो तलामा इमर्जेन्सी, दर्ता चलानी, ४ वटा ओपिडी, फार्मेसी, ओपिडी, ल्याब र ओटी रुम रहेको छ ।   यस्तै दोस्रो तलामा नर्सिङ स्टेसन, कार्यालय प्रमुख कक्ष, अल्ट्रासाउण्ड रुम, वार्ड रुम, चेन्जिङ रुमसहित आधुनिक शौचालय रहेका छन् ।

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्टामा १ सय २२ जनालाई पक्राउ गरिएको हो ।   जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरुले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्म सञ्चालन गरेको थियो ।    सोही क्रममासमाजमा अशान्ति फैलाउने, टोल गुण्डाका रुपमा धम्की दिने, गुण्डागर्दी गर्ने, लागूऔषध बिक्री वितरण तथा सेवन गर्ने, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने र रातिको समयमा शंकास्पद रुपमा हिँडडुल गर्नेहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।   यस अभियानका लागि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयबाट १०० जना प्रहरी परिचालन गरिएको थियो । प्रहरीले पोखरा महानगरका वडा नम्बर १, २, ३, ४ र ५ अन्तर्गत पर्ने कसरी, बागलुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लब्लिडाँडा र प्रस्याङ क्षेत्रबाट ९ जना पक्राउ परे  ।    यस्तै, वडा नम्बर ६ को लेकसाइड, ड्यामसाइड र गैराको चौताराबाट सबैभन्दा धेरै ३५ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्सपेक्टर गणेश पाण्डेले जानकारी दिए ।   उनका अनुसार वडा नम्बर ८ का बगाले टोल, सभागृह चोक र शिवालय चोकबाट ६ जना पक्राउ परेका छन् । वडा नम्बर ९ र १० का पृथ्वीचोक, रंगशाला, बुद्धचोक र अस्पतालचोक क्षेत्रबाट २० जना समातिएका छन् ।   वडा नम्बर ११, १२ र १३ का तुलसीघाट, शीतलादेवी, काँहुडाँडा र काँहुखोला क्षेत्रबाट ८ जना पक्राउ परेका छन् भने वडा नम्बर १४ र १५ का विमानस्थल, फुलबारी, खसीबजार र रामबजार क्षेत्रबाट १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   यसैगरी, पोखराका अन्य क्षेत्रहरु बाटुलेचौर र लामाचौरबाट २ जना, चिसापानी र मेथलाङबाट २ जना पक्राउ परेका छन् । पोखरा–२७ र २८ का दिपाङताल र रिठेपानी क्षेत्रबाट ६ जना, वडा नम्बर २९ र ३० का भण्डारढिक, सैनिक बस्ती, पटनेरी र तावामुख क्षेत्रबाट १२ जना तथा वडा नम्बर ३२ का राजाचौतारा र लामेआहाल डम्पिङ साइडबाट ३ जना पक्राउ परेका छन् ।    पोखरा बाहिर माछापुच्छ्रे गाउँपालिका क्षेत्रबाट ३ जना र अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   प्रहरीले पक्राउ परेका व्यक्तिहरुमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव तथा छुवाछुत मुद्दामा उच्च अदालत पोखराले दोषी ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरेको हो ।   उच्च अदालतका न्यायाधीश द्वय अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले कास्की जिल्ला अदालतले यसअघि गरेको जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बमोजिम ४ महिना १५ दिन कैद र ७५ हजार जरिवानाको फैसलालाई सदर गर्ने आदेश दिएको हो ।   २०७९ साल पुस १८ गते वडा कार्यालयमा लक्षित वर्गको बजेट र सीपमूलक तालिमको विषयमा छलफल हुने क्रममा वडाध्यक्ष अधिकारी र सोही वडाकी दलित महिला सदस्य मैया नेपालीबिच जातीय छुवाछुतको विषयमा विवाद भएको थियो ।   त्यसपछि नेपालीले आफूमाथिको दुव्र्यवहार र विभेद विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेकी थिइन् ।   जिल्ला अदालतले अधिकारीलाई दोषी ठहर गरेको थियो । उक्त फैसला विरुद्ध वडाध्यक्ष अधिकारीले उच्च अदालतमा पुनरावेदन गरेका थिए । तर, उच्च अदालतले पनि उनलाई दोषी नै ठहर गरिदिएको छ ।

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको आयोजना तथा माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्वमा यही १७ गतेदेखि २४ गतेसम्म माछापुच्छ्रे ४ को जोगिचौर मणि परिसरमा महायज्ञ हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   उक्त महायज्ञ सोही क्षेत्रमा क्रियाशिल आमा समूह, टोल सुधार समिति, क्लब तथा विभिन्न सामाजिक सङ्घ–संस्थाहरूको सहकार्य आयोजना हुने मूल समारोह समितिका संयोजक अनेरी क्याप्टेन डम्बरसिंह गुरुङले जानकारी दिए ।   उनका अनुसार माछापुच्छ्रे ४ र ५ को सिमानामा पर्ने ऐतिहासिक तथा सांस्कृतिक इतिहास बोकेको पातिखोला गुफाको प्रचारप्रसारसँगै धार्मिक क्षेत्र पूर्वाधार विकासमा उक्त महायज्ञबाट संकलित रकम खर्च गरिने छ ।   ‘यस ठाउँमा वर्षको तीन पटक मेला लाग्ने गर्दथ्यो हाल ति मेलाले निरन्तरता पाएको छैन’ संयोजक गुरुङले भने, ‘यस ठाउँमा पूर्वाधार विकास गरी व्यवस्थित बनाई मेलालाई पुन निरन्तरता दिने र यस ठाउँलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हाम्रो उद्देश्य छ ।’   करिब २ करोड आर्थिक संकलन गर्ने लक्ष्यसहिलत आयोजना हुने उक्त महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले प्रवचन दिने प्रचार प्रसार उपसमिति संयोजक यामबहादुर गुरुङले बताए ।   उनका अनुसार महायज्ञमा ५ हजार भन्दा धेरै दान गर्ने दानवीको नामा शिलालेखमा अङ्कित गर्ने, १० हजार भन्दाबढी दान गर्ने सहयोगी दातालाई दोसल्ला ओढाई सम्मान गर्ने, २० हजार भन्दाबढी दान गर्नेलाई दोसल्ला तथा आकर्षण सम्मान पत्र प्रदान गरिने, ५० हजार भन्दा धेरै दान गर्नेलाई दोसल्ला, आकर्षक सम्मान पत्र र मायाको चिनो प्रदान गरिनेछ ।   यस्तै १ लाख भन्दा बढी रकम दान गर्नेलाई दोसल्ला, आकर्षक सम्मान पत्र, मायाको चिनो साथै दाता तथा परिवारलाई महायज्ञ स्थलसम्म पञ्चेबाजाले स्वागत तथा सम्मान गरिने गुरुङले बताए ।   यस्तै ५ लाख भन्दा बढी दान गर्नेलाई दोसल्ला, आकर्षक सम्मान पत्र, मायाको चिनो साथै दाता तथा परिवारलाई आकर्षक डोलीमा चढाई महायज्ञ स्थलसम्म पञ्चेबाजाले स्वागत तथा सम्मान गरिने उनले बताए ।   माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता तथा वडा २ का वडाध्यक्ष गणेश आचार्यले महायज्ञले पातिखोला क्षेत्रको प्रचारप्रसारमा धार्मिक प्रवद्र्धनमा सधाउ पुग्ने धारणा राखे ।   यस्तै माछापुच्छ्रे गाउँपालिका वडा ४ का वडाध्यक्ष मधुसूदन अधिकारीले ऐतिहासिक तथा धार्मिक रूपमा परिचित यस स्थानमा हुन लागेको महायज्ञलाई सफल बनाउनका लागि तयारी तीव्र पारिएको जानकारी दिए ।   पातिखोला गुफा संरक्षण समितिका सचिव रुद्रनाथ अधिकारीले ऐतिहासिक दृष्टिकोणमा यो गुफाको महत्त्व रहेको बताउँदै प्रचार प्रसारका कारण ओझेलमा परेको बताए ।     अब उक्त महायज्ञपछि सो क्षेत्रको पूर्वाधार विकाससँगै व्यापक प्रचारप्रसार हुने अपेक्षा गरे ।   पोखराको टुँडिखेल बगरबाट १० किलोमिटर उत्तर पश्चिमतर्फ करिब आधा घण्टाको समयावधिमा महायज्ञ स्थल पुग्न सकिन्छ ।   महायज्ञ अवधिभर पोखराको हरिचोक र माछापुच्छ्रे गाउँपालिकाको सबै वडाबाट महायज्ञ स्थलसम्म जानका लागि आयोजकले यातायातको व्यवस्था गरेको छ ।

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवमा रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोबार हुन सफल भएको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । त्यहाँ आलुको परिकारको एउटा स्टलका अलावा कृषितर्फ ३० तथा एक सय बढी व्यापारिक स्टल थिए ।   त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको पनि आयोजकको भनाइ छ ।   शनिबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सव हेमजा तथा समग्र पोखरा क्षेत्रकै ब्रान्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवर्द्धन गर्न महोत्सव सफल भएको जनाए । पोखरा महानगरले पर्यटनसँगै कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै प्रवक्ता तिम्सिनाले महोत्सवसँगै कृषिमा होमिन हौसला मिलेको भनाइ राखे । सबैको सद्प्रयासले महोत्सव सफल भएको उनले स्पष्ट पारे ।   पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले आलु महोत्सवले निरन्तरता पाउनु खुसीको कुरा भएको सुनाउँदै हेमजालाई तरकारी साथै मौरी क्षेत्र बनाउन महानगर लागि परेको उल्लेख गरे । महोत्सवका माध्यममार्फत बजारको पैसा कृषकको हातहातमा पुगेको उनको भनाइ छ ।   आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवाला सबैले जिम्मेवारी पूरा गरेका कारण महोत्सव सफल भएको उल्लेख गर्दै क्लबले सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।   महोत्सव अन्तर्गत भएको रत्यौली गीत प्रतियोगितामा सहनशील दिदीबहिनी समूह प्रथम, कमलजौंसी आमा समूह द्वितीय, गौरीशंकर आमा समूह तृतीय तथा खुट्टेगौंडा लामाचौतारा आमा समूह र चापाघाट आमा समूह सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ती समूहले क्रमशः नगद १० हजार, ८ हजार, ५ हजार साथै ३ हजारका साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।   त्यसैगरी कृषि झाँकी र‍्याली संघसंस्थातर्फ नेवा खलः पहिलो, मातृकेश्वर एकता भजन समूह दोस्रो, आराध्या भजन समूह तेस्रो भए । आमा समूहको कृषि झाँकीतर्फ चापाघाट आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो, लालीगुराँस आमा समूह तेस्रो, लक्ष्मी आमा समूह र तीब्रकोट आमा समूह क्रमशः सान्त्वना हुन सफल भएको जनाइएको छ । त्यस्तै नृत्यतर्फ जनकल्याण आमा समूहले उत्कृष्टता हासिल गर्दै खसी पुरस्कार जित्न सफल भयो ।   महोत्सवमा शनिबार कलाकारहरु प्रकाश सपुत, प्रेमराज अधिकारी, नेत्र खड्का, सीता परियार, ममता तामाङ लगायतका प्रस्तुति रहे ।   यसपालि हेमजामा आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छ्रे गाउँपालिका, स्याङ्जा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट मानिसहरु पुगेका थिए ।   'सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक' भन्ने मूल नाराका साथ महोत्सव गरिएको हो ।   महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार रहेका थिए । त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका दैनिक प्रस्तुति साथै विभिन्न कृषि उपज, बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको थियो ।   महोत्सव मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रम मूल आयोजक समितिका महासचिव विकल थापाले संचालन गरे ।