पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।   शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।   शनिबार मात्रै करिब ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । त्यहाँ आलुको कारोबारदेखि, कृषि स्टल र अन्य स्टलमा पनि उल्लेख्य कारोबार भइरहेको अध्यक्ष श्रेष्ठले सुनाए ।   महोत्सवमा पुग्ने दर्शक अधिकांशले कृषि स्टलमा चासो राख्ने गरेको पाइएको छ । किनकि महोत्सव प्रवेशसँगै त्यहाँ कृषि उपज तथा सामग्रीका स्टलहरू देख्न पाइन्छ ।   आलु महोत्सव भएकाले आलुको ज्ञान लिन आउने दर्शक संख्या पनि बाक्लै छ, महोत्सव स्थलमा आलुको प्रजाति तथा अन्य विभिन्न तरकारीका बीउबिजन प्रदर्शनी गरिरहेको कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक सहायक बालकृष्ण भारतीले बताए । त्यहाँ निर्देशनालयले २५ प्रजातिका आलु तथा ३७ प्रकारका अन्य तयारीका बीउ प्रदर्शनीमा राखेको छ ।   महोत्सवअन्तर्गत शनिबार कलाकारहरू शान्तारानी परियार, अनिल चापागाईं, करिष्मा बीसी, पूजा तामाङ, नेत्र खंका, परशुराम अधिकारी, सुनील गायक, आयुषा खत्री तथा मुना अर्यालले प्रस्तुति राखे ।   त्यस्तै महोत्सवमा आइतबार कलाकारहरू बद्री पंगेनी, ममता तामाङ, शान्ता बर्देवा, रोशन बीसी, नेत्र खड्का, परशुराम अधिकारी, मुना अर्याल, आयुषा खत्री लगायतले दर्शकलाई मनोरञ्जन दिने मूल आयोजक समितिका महासचिव विकल थापाले जानकारी दिए ।   महोत्सवअन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।   त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउबिजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन् ।   महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय वटा व्यापारिक स्टल रहेका छन् । त्यहाँ प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार हुने गरेको छ ।

सूर्यतारा क्लब पोखराको आयोजनामा ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ शुक्रबारबाट सुरु भएको छ ।    महोत्सवको शुक्रबार एक कार्यक्रमकाबीचमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले उद्‌घाटन गरे ।   सदस्य सचिव शर्माले क्लबले खेल महोत्सवको निरन्तर आयोजना गरेकोमा सराहना गरे । यस्ता प्रतियोगिताले नयाँ प्रतिभालाई बाहिर ल्याउने सघाउने विश्वास उनको थियो ।   पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले वडामा खेल गतिविधि बढाउनका लागि क्लबले गरेको कार्यमा आफ्नो साथ रहने बताए । खेलकुद विकासका लागि वडा सधैं अग्रसर रहने प्रतिवद्धता उनले जनाए ।    क्लबका अध्यक्ष विष्णु पुनले खेल क्षेत्रमा केही गर्ने उद्देश्यका साथ यस्तो विषम परिस्थितिमा समेत खेल महोत्सव आयोजना गरिएको उल्लेख गरे । खेल महोत्सवलाई निरन्तर अगाडि बढाउने समेत उनले खुलाए ।    चैत्र ३० गतेसम्म पोखरा २९ भण्डारढिकमा रहेको प्रस्तावित रङ्गशालामा सञ्चालन हुने महोत्सवको मुख्य आकर्षणको रुपमा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिता रहेको छ । जस अन्तरगत पहिलो दिनमा पाँच खेल सम्पन्न भएको प्रचार प्रसार संयोजक ईश्वर अधिकारीले जानकारी दिए ।    उद्‌घाटन खेलमा आयोजकको ए टिमलाई पराजित गर्दै पोखरा २९ ले विजयी सुरुवात गरेको छ । आयोजकको ए टिमलाई पोखरा २९ ले १–० गोल अन्तरले पराजित गरेको हो ।   दोस्रो खेलमा नमस्ते पार्टी प्यालेसले दोभान क्लबलाई २–१ गोलअन्तरले, तेस्रो खेलमा विपिन एफसी बीले शिवबस्ती सिप्लेनीतारा क्लबलाई १०–२ गोल अन्तरले, चौथो खेलमा रामघाट सेताेले आयोजक सूर्यताराको बी  टिमलाई २–० गाेल अन्तरले पराजित गर्‍यो । शुक्रबारको पाँचौ खेलमा मिक्की एफसीले छोरी सुसनलाई ४–१ गोल अन्तरले पराजित गरेकाे प्रचार संयोजक अधिकारीले बताए ।    पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा कुल १८ समुह सहभागी रहेको क्लब अध्यक्ष विष्णु पुनले जानकारी दिए ।  यी टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।  सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रथम हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले बताए । द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउने अध्यक्ष पुनको भनाइ छ ।    फुटबलका अलावा महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत महोत्सवको आकर्षणको रुपमा रहेका छन् ।   महिला डोरी तान प्रतियोगितामा विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २२२ रुपैयाँ पुरस्कार पाउनेछ ।   खुल्ला ‘स्लो’ महिला स्कुटर रेसमा पहिलोदेखि चौथो स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ । जातीय संघ-संस्थाको झाँकी प्रदर्शनीतर्फ उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ ।   ‘स्पोर्ट्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना  भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको छ ।    प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स,  प्रवर्द्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ ।     सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू  रहेका छन् । हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् ।  

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ । 'सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक' भन्ने नाराका साथ सुरु उक्त महोत्सव आउँदो वैशाख ५ गतेसम्म चल्नेछ ।   महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कृषि उपजका नाममा महोत्सव हुनु आफैंमा महत्वपूर्ण भएको उल्लेख गर्दै आलु महोत्सवले समग्र पोखरालाई नै ब्रान्डिङ गर्न सफल भएको सुनाए । उनले आलु महोत्सवलाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गर्दै सोही अनुसार रातो किताबमा समेटिएको स्पष्ट पनि पारे ।   हेमजाका विकास आयोजना चौरासी नहर, साझाचोक तिब्बतीयन क्याम्प सडक तथा सुइखेत खोला व्यवस्थापन लगायतका योजना महानगरको प्राथमिकतामा रहेको पनि उनले उल्लेख गरे ।   महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा वडा नम्बर २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले महानगर किसानको पक्षमा रहेको दाबी गर्दै आलु महोत्सव हेमजावासीको चाड भएको भनाइ राखे । उनले कृषि मर्यादित, गर्वलायक पेसा भएको जनाउँदै आलु महोत्सवका कारण हेम्जा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिन सफल भएको दाबी गरे ।   पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले महोत्सवले कृषिमा आत्मनिर्भर हुनुपर्ने सन्देश दिएको उल्लेख गर्दै महानगर कृषि, पर्यटन तथा व्यापारमार्फत स्थानीयको जीवनस्तर उठाउन लागि परेको भनाइ राखे । उनले त्यस क्रममा आलुको इतिहासका बारेमा स्पष्ट पनि पारे ।   मूल समारोह समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवालाको साथ सहयोगमा आलु महोत्सवलाई निरन्तरता दिन पाएकोमा खुसी व्यक्त गर्दै महोत्सवमार्फत पोखरामा कृषि पर्यटक वृद्धि हुने अपेक्षा सुनाए । महोत्सवको जननी संस्था किसान बहुउद्देश्यीय सहकारी संस्थालाई धन्यवाद दिँदै संयोजक श्रेष्ठले कृषि जीवन बचाउने कर्म भएको चर्चा गरे ।   महोत्सव सुरु हुनुपूर्व हेमजास्थित विष्णुपादुका माईस्थानबाट बाजागाजासहित कृषि झाँकी र्‍याली निकालियो । उक्त र्‍याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गरेसँगै मूल समारोहमा परिणत भयो ।   महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको वृहत् प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा, परीक्षण तथा रोग निदान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।   त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालन गरिने आयोजक विष्णुपादुका क्लबले जनाएको छ ।   महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय वटा व्यापारिक स्टल छन् । महोत्सव प्रवेशका लागि साधारणतर्फ १०० रुपैयाँ तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । त्यहाँ प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार भइरहेको छ ।   मूल आयोजक समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव विपिन पौडेलले स्वागत तथा महासचिव विकल थापाले कार्यक्रम संचालन गरे ।   महोत्सवको दोस्रो दिन शनिबार कलाकारहरू शान्तिरानी परियार, परशुराम अधिकारी, सुनील गायक लगायतका प्रस्तुति पनि रहनेछन् ।

पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।   महोत्सव सुरु हुनुपूर्व हेमजास्थित विष्णुपादुका माईस्थानबाट बाजागाजासहित झाँकी र्‍याली निकालिने छ । उक्त र्‍याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।   महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य विभिन्न सय वटा व्यापारिक स्टल रहने छन् । महोत्सव प्रवेशका लागि साधारणतर्फ रु १०० तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । त्यहाँ प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार हुने छ ।   महोत्सवअन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा, परीक्षण तथा रोग निदान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुने छन् ।   त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि सञ्चालन गरिने आयोजक विष्णुपादुका क्लबले जनाएको छ ।   सदाझैं यस पटक पनि महोत्सवमा 'सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक' नारालाई अगाडि सारिएको छ ।   हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आएको छ । यस खेतीमा त्यहाँका करिब २ हजार घरपरिवार आधारित रहे पनि १ हजार ५० कृषकले व्यावसायिक आलु खेती गर्दै आएका छन् ।   जसको प्रतिरोपनी औसत उत्पादन लागत १८ हजार ५ सय ९७ रुपैयाँ पर्ने र औसत उत्पादन ७ सय ९ केजी हुने गरेको उल्लेख छ ।

पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवसको अवसरमा पोखरामा प्यानल डिस्कसनमार्फत आयोजना गर्दै संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिकाको सन्दर्भमा संवाद कार्यक्रम सम्पन्न गरेको हो ।   कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।    सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेशको औचित्य पुष्टि हुने खालका काम गर्ने सबै प्रतिष्ठान तथा विभिन्न निकायहरु लाग्नुपर्ने धारणा राखे ।   उनले संघीयता कार्यान्वयमका लागि केन्द्रीकृत मानसिकतालाई परिवर्तन गर्न अपरिहार्य रहेको बताए ।   मुख्यमन्त्री पाण्डेले तीन वटा संरचनामध्ये सबैभन्दा कम खर्चिलो प्रदेश संरचना रहेको स्पष्ट पारे ।   उनले पेश गरेको महालेखा परिक्षणको तथ्याङ्क अनुसार संघीय सरकारको खर्च ५०.४७ प्रतिशत, स्थानीयको खर्च ४४.८४ प्रतिशत र प्रदेशको जम्मा ४.६९ प्रतिशत खर्च रहेको  उल्लेख गरेका थिए ।  नी ति संवाद कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, जिपिटिए प्रशिक्षण परिषद्का सदस्य रमेश अधिकारी, जिपिटिएका पूर्व कार्यकारी निर्देशक रिसिराम पाण्डे र गण्डकी प्रदेश सभा सदस्य कल्पनादेवी तिवारी सहभागी भए । भने, पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले सहजीकरण गरे ।    सो संवादमा संघीयताको मर्म अनुसार प्रदेश तहको औचित्य तथा संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिकाको विषयमा चर्चा गरिएको थियो ।   यसअघि कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा. सोमलाल सुवेदी र जिपिटिएका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिकाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् ।    पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।    नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्वअध्यक्ष घलेले फोटो पत्रकारको हितका लागि अक्षयकोषमा सहयोग गरेको बताए ।    सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले पत्रकार घलेलाई धन्यवाद ज्ञापन गरे ।   उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।   कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।   

पोखरा ।    स्वदेशी लगानी र नेपाली आतिथ्यतालाई प्राथमिकता दिँदै आएको होटल पौवा ग्रुपले आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरेको छ ।    १० वर्षअघि रुपन्देहीको सालझण्डीबाट सेवा सुरु गरेको यस ग्रुपले वार्षिकोत्सवको अवसरमा देशभरका आफ्ना शाखाहरूमा तीन दिने ‘स्वाद उत्सव’ आयोजना गर्ने भएको हो ।   नेपाली स्वाद र संस्कारलाई विश्वस्तरमा चिनाउने लक्ष्य राखेको होटल पौवा अहिले देशका २० विभिन्न स्थानमा विस्तार भइसकेको छ ।    ग्रुपले आफ्नो १०औँ गौरवमय यात्रा पूरा गरेको अवसरमा यही चैत २६, २७ र २८ गते विशेष ‘स्वाद उत्सव’ सञ्चालन गर्दैछ ।   सो उत्सवमा ग्राहकहरूले नेपाली रैथाने स्वादका साथै विशेष अतिथि सत्कारको अनुभव लिन पाउने होटलका ब्रान्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी  दिए ।    उनका अनुसार नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा अधिकांश शाखामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिसहित ‘शुभकामना साँझ’ आयोजना गर्ने ग्रुपको तयारी छ ।   होटल पौवा ग्रुपले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा महत्वकांक्षी ‘मिसन १००’ कोसमेत घोषणा गरेको छ ।   ७ वटा कोठाबाट सुरु भएको होटल पौवाको यात्रा १० वर्षमा आइपुग्दा २० वटा शाखा र १ हजार भन्दा बढी कर्मचारीसम्म विस्तार भएको छ ।    ‘मिसन १००’ लक्ष्य केवल संख्यात्मक मात्र नभई व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र नेपाली हस्पिटालिटीलाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने योजना रहेको भण्डारीले बताए ।   २५० भन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको यस ग्रुपले चैत २८ गते भैरहवामा लगानीकर्ता सम्मेलन गरी भावी रणनीतिक योजना तय गर्ने जनाएको छ ।  

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, ज्ञान तथा अनुभव आदान–प्रदान गर्ने, नयाँ व्यापार र लगानीका अवसरहरू पहिचान गराउने उद्देश्यसहित गण्डकी प्रदेश समितिको आयोजनामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।   कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेश राज श्रेष्ठले हीरक जयन्तीको ब्यानर सार्वजनिक गर्दै उद्घाटन गरे ।    सो अवसरमा हीरक जयन्ती समारोहका संयोजकसमेत रहेका श्रेष्ठले विभिन्न क्षेत्रका उद्योगपति तथा व्यवसायीहरुमाझ आफ्ना व्यवसायीक अनुभव सुनाए ।    उनले विशेष गरी बाह्य मुलुकसँग व्यापारिक सम्बन्ध बनाउन सके सफल व्यवसायी बन्न सकिने धारणा राखे ।    चीनको कोरला नाका खुला भइसकेकाले चीनबाट समाग्री नेपाल भित्राउन सकिने सुझाव दिँदै त्यसका लागि आफ्नो तर्फबाट र नेपाल चेम्बर अफ कमर्सको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।    यस्तै चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारले संस्थाले व्यवसायीक हक हितको पक्षमा मात्र नभई सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको स्मरण गराए ।   उनले समसामयीक राजनीतिको सन्दर्भमा बोल्दै हालको सरकारले निजी क्षेत्रको लगानीकर्ताको मनोबल उच्च हुने खालका नीति तथा कार्यक्रमसहित बजेट ल्याउनुपर्ने धारणा राखे ।    नयाँ सरकारलाई अत्याधिक अवसर रहेको उल्लेख गर्दै सोही अनुसारको व्यवसायीमैत्री कानून तर्जुमा गर्नुपर्नेमासमेत जोड दिए ।    कार्यक्रममा विश्वव्यापी बजार प्रवृत्ति, आयात–निर्यातको सम्भावना, नवप्रवर्तन तथा व्यवसाय बिस्तारका रणनीतिहरू सम्बन्धी विषयहरुमा अन्तरक्रिया गरिएको थियो ।   चेम्बर अफ कमर्स गण्डकीका महासचिव देवराज शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा गण्डकी प्रदेशभित्रका बागलङ, पर्वत, तनहुँ, स्याङ्जासँगै पोखराका व्यवसायी, उद्योगपति, विज्ञ तथा चेम्बर अफ कमर्स जिल्ला समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।    हीरक जयन्तीको अवसरमा नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा ७५ जना महिलालाई सम्मानसमेत गरिसकेको छ भने, विभिन्न कार्यक्रमहरु आयोजना गरी हीरक जयन्ती मनाइरहेको छ ।

पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिब्र पारिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिँदै आयोजना हुने महोत्सवमा संघमा आबद्ध होटलहरुले विशेष छुट दिने संस्थाका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।    उनका अनुसार सो महोत्सवमा नौमती बाजा प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, स्थानीय खानाका परिकारको प्रदर्शनी, लोकदोहोरी तथा आधुनिक सांगीतिक प्रस्तुति, पर्यटक दौड प्रतियोगिता लगायत विविध कार्यक्रमहरू समावेश गरिएका छन् । उनले पश्चिमा मुलुकमा भएको द्वन्दका कारण यतिबेला पर्यटकको आवागमनमा प्रभाव परेको बताए ।    पोखरा रहेका पर्यटकको बसाई लम्बाउका लागि उक्त महोत्सवले थप सघाउ पुग्ने अध्यक्ष सुवेदीको भनाई छ ।   ३ दिन चल्ने महोत्सव सफल बनाउन २० वटा विभिन्न उपसमिति गठन गरिएको छ ।   महोत्सव अवधिमा आन्तरिक तथा बाह्य गरी झण्डै ३ लाख पर्यटकले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।   महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि रहेको छ भने, सह–प्रायोजन एक्सिट्रिम इनर्जी ड्रिंकसले गरेको छ । यस्तै नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका तथा गण्डकी प्रदेश सरकारको समेत महोत्सवमा सहयोग रहेको छ ।   होटल संघ पोखरामा आवद्ध कुल ४ सय २५ वटा होटलमा ४० हजार बेड रहेका छन् भने १५ हजारले रोजकारीको अवसर पाएका छन् ।