पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवमा रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोबार हुन सफल भएको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । त्यहाँ आलुको परिकारको एउटा स्टलका अलावा कृषितर्फ ३० तथा एक सय बढी व्यापारिक स्टल थिए । त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको पनि आयोजकको भनाइ छ । शनिबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सव हेमजा तथा समग्र पोखरा क्षेत्रकै ब्रान्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवर्द्धन गर्न महोत्सव सफल भएको जनाए । पोखरा महानगरले पर्यटनसँगै कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै प्रवक्ता तिम्सिनाले महोत्सवसँगै कृषिमा होमिन हौसला मिलेको भनाइ राखे । सबैको सद्प्रयासले महोत्सव सफल भएको उनले स्पष्ट पारे । पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले आलु महोत्सवले निरन्तरता पाउनु खुसीको कुरा भएको सुनाउँदै हेमजालाई तरकारी साथै मौरी क्षेत्र बनाउन महानगर लागि परेको उल्लेख गरे । महोत्सवका माध्यममार्फत बजारको पैसा कृषकको हातहातमा पुगेको उनको भनाइ छ । आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवाला सबैले जिम्मेवारी पूरा गरेका कारण महोत्सव सफल भएको उल्लेख गर्दै क्लबले सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । महोत्सव अन्तर्गत भएको रत्यौली गीत प्रतियोगितामा सहनशील दिदीबहिनी समूह प्रथम, कमलजौंसी आमा समूह द्वितीय, गौरीशंकर आमा समूह तृतीय तथा खुट्टेगौंडा लामाचौतारा आमा समूह र चापाघाट आमा समूह सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ती समूहले क्रमशः नगद १० हजार, ८ हजार, ५ हजार साथै ३ हजारका साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे । त्यसैगरी कृषि झाँकी र्याली संघसंस्थातर्फ नेवा खलः पहिलो, मातृकेश्वर एकता भजन समूह दोस्रो, आराध्या भजन समूह तेस्रो भए । आमा समूहको कृषि झाँकीतर्फ चापाघाट आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो, लालीगुराँस आमा समूह तेस्रो, लक्ष्मी आमा समूह र तीब्रकोट आमा समूह क्रमशः सान्त्वना हुन सफल भएको जनाइएको छ । त्यस्तै नृत्यतर्फ जनकल्याण आमा समूहले उत्कृष्टता हासिल गर्दै खसी पुरस्कार जित्न सफल भयो । महोत्सवमा शनिबार कलाकारहरु प्रकाश सपुत, प्रेमराज अधिकारी, नेत्र खड्का, सीता परियार, ममता तामाङ लगायतका प्रस्तुति रहे । यसपालि हेमजामा आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छ्रे गाउँपालिका, स्याङ्जा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट मानिसहरु पुगेका थिए । 'सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक' भन्ने मूल नाराका साथ महोत्सव गरिएको हो । महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार रहेका थिए । त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका दैनिक प्रस्तुति साथै विभिन्न कृषि उपज, बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको थियो । महोत्सव मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रम मूल आयोजक समितिका महासचिव विकल थापाले संचालन गरे ।
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच बिहीबार सम्झौता भएको हो । पोखरा स्पोर्टस अवार्डको तर्फबाट आयोजक संस्थाका महासचिव परशुराम शर्मा र हिमश्री फुड्सका महाप्रवन्धक शिव गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सो अवसरमा बोल्दै हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले विगतका संस्करणहरुमासमेत सहभागीता जनाएको स्मरण गरे । हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउले १० औं संस्करणमा टाइटल स्पोन्सरमा रहेर सहकार्य गर्न पाउँदा खुसी लागेको सुनाए । पोखरा स्पोर्टस अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मान बहादुर घर्ती (एमबी आस्था) मगरले हिमश्री फुड्स प्रालिले विगतका संस्करणहरुमासमेत साथ र सहयोग गर्दै आइरहेको बताउँदै १० औं संस्करणमा टाइटल स्पोन्सर गरी थप हौसला प्रदान गरेको भन्दै हिमश्री फुड्का प्रालिप्रति आभार प्रकट गरे । हिमश्री फुड्द्धारा उत्पादित दक्षिण एशियामै नुडल्समा पहिलो रारा तयारी चाउचाउ नेपालमै निकै लोकप्रिय इन्स्टयान्ट नुडल्स मध्येको एक हो । अहिले रारा तयारी चाउचाउ संगै रारा हट एण्ड स्पाइसी चाउचाउ समेत उत्पादन गर्दै आइरहेको छ । हिमश्री फुड्सले स्थानीय स्वादलाई ध्यानमा राखेर खाद्य उत्पादन गर्दै आइरहेको हिमश्री फुड्स प्रालिका महा प्रवन्धक शिव गिरीले बताए । विभिन्न आठ विधामा अवार्ड प्रदान गरिँदै छ । जसमा लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन् । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु पर्दछ, नत्र भने जीन्दगी व्यर्थ छ बाटुली, शीरमा शिरवन्दी, एैना हेर्दा हेर्दै, बाला पनको उमेर, जुन जस्ती रे, ममताकी खानी लगायतका दर्जन बढी गीत उनले त्यहाँ गाइन । प्रस्तुतिका क्रममा उनलाई दर्शकले मिठो साथ दिए । यतिसम्मकी आफ्ना गीत गाउन लाग्दा दर्शकले उनका गीत फटाफट आफै गाएर छमछमी नाचे । मैदानमा धुलो उडेर पानी नै हाल्नुपर्ने अवस्था सिर्जना भयो । समीक्षा जस्तै बुधबार महोत्सवमा कलाकारहरु कुमार पुन, तुलसा क्षेत्री, नवराज अधिकारी, दुर्गा क्षेत्री लगायतले पनि दर्शकलाई नचाए । त्यस्तै रत्यौली प्रतियोगितातर्फ गौरीशंकर आमा समूह, देवीस्थान आमा समूह र राधाकृष्ण आमा समूहले विभिन्न अभिनय मार्फत दर्शकलाई पेट मिचीमिची हसाए । त्यसका अलवा नृत्यतर्फ अम्बिका मा.वि, धवलागिरी बोडिङ, स्नो भ्यू स्कुल, अंकिता सुनार लगायतले पनि आफू सँगसँगै दर्शकलाई नचाए । महोत्सवमा बिहीबार कलाकारहरु श्याम राना, तारापति सुवेदी, पार्वती जिसी, लक्ष्मी नेपाली सुरेश थापा, गंगा परियारका प्रस्तुतिहरु रहने सांस्कृतिक उपसमिति संयोजक सुशिल श्रेष्ठले जानकारी दिए । महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा पनि बृद्धि भएको छ । महोत्सवको छैटौं दिन बुधबारसम्म करिव ६५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा कुल ५ हजार ३ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विशेष गरी त्यहाँ घरयासी सामग्री, लत्ताकपडा, भाडाकुडा किन्नेको संख्या बढी छ । त्यहाँ आलुको परिकारको एउटा स्टल, कृषितर्फ ३० तथा अन्य १ सय बढी व्यापारिक स्टल रहेका छन् । सबै स्टलबाट व्यापार राम्रै भइराखेको छ, महोत्सव अन्तिम तिर भएकाले किनमेलका लागि घुइचो जस्तै लागेको छ, हामीहरु स्टल संचालकको निरन्तर सम्पर्कमा पनि छौं, बुधबार साँझसम्म गरी २ करोड ८० लाख बढीको कारोवार भएको अनुमान छ, आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने । त्यहाँ आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् । बुधबार साँझसम्म २६ लाख बढीको आलु कारोवार भएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलु बिक्री गरिएको छ । हेमजाको निलो आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्ने गरेको छ ।महोत्सव बाहेक हेमजाका अन्य स्थानहरुबाट समेत यतिवेला आलु लगायत कृषि उपजहरुको कारोवार भइरहेको छ । यही चैत २७ बाट सुरु महोत्सव बैशाख ५ गतेसम्म चल्नेछ ।
पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ । वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । नयाँ वर्ष २०८२ को सुरुवातसँगै आयोजना हुन लागेको यस तीन दिने सम्मेलनमा नेपाल र भुटानका गरी करिब १ हजार ५ सय रोटरियनहरूको सहभागिता रहने कन्फेरेन्स सेक्रेटरी बाबुराम बरालले जानकारी दिए । उनका अनुसार ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ स्थापित रोटरीले यस सम्मेलनमार्फत रोटरीका सातवटा मुख्य सेवाका क्षेत्रहरूमा गहन छलफल हुनेछ । सम्मेलनको पहिलो दिन उद्घाटन सत्रसँगै विभिन्न सामाजिक र व्यावसायिक क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तित्वहरूलाई ‘भोकेसनल अवार्ड’ बाट सम्मानित गरिने कार्यक्रम छ । त्यस्तै, सम्मेलनको अन्तिम दिन रोटरी वर्ष २०२८–२९ का लागि डिस्ट्रिक्ट गभर्नरको निर्वाचनसमेत गरिने कन्फेरेन्स सेक्रेटरी बरालले बताए । कार्यक्रममा विभिन्न विषयमा प्यानल डिस्कसन तथा रोटरीका आगामी कार्ययोजनाबारे समूहगत छलफल हुनेछ । सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न लक्ष्मी थापा गिरीको संयोजकत्वमा मूल समारोह समिति र विभिन्न २० वटा उप–समितिहरू ६ महिनादेखि क्रियाशील छन् । पर्यटनको सिजन र नयाँ वर्षको अवसरमा आयोजना हुने यस ठूलो कार्यक्रमले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । सन् १९०५ मा अमेरिकाको सिकागोबाट सुरु भएको रोटरी अभियान हाल विश्वका २०० भन्दा बढी देशमा फैलिएको छ । नेपालमा सन् १९५९ मा काठमाडौंबाट सुरु भएको यो अभियान हाल देशैभर १५० भन्दा बढी रोटरी क्लब र ५ हजार ४ सयभन्दा बढी सदस्यहरू सक्रिय छन् ।
पोखरा । सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन् । पोखरामा सम्पन्न सतौँ महाधिवेशनले कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा कञ्चन थापा कोइराला र महासचिवमा उमा आले मगर निर्वाचित भइन् । यसैगरी संस्थाको सचिवमा अनिता घिमिरे र कोषाध्यक्षमा बालकुमारी पौडेल ( तारा ) चयन भइन् । सदस्यहरूमा शोभा नेपाल , सपना अधिकारी, रोजी श्रेष्ठ, रिना थापा, देवीका तामाङ विना थापा मगर निर्वाचित भइन् । महाधिवेशनमा सर्वसम्मत निर्वाचित भएको नयाँ कार्यसमितिको कार्यकाल ३ वर्ष रहेको छ । यसअघि महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारीले नेतृत्व तहमा महिलाको सहभागिता बढाउन सञ्चारिकाले भूमिका खेल्नुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, सञ्चारिका समूह नेपालका अध्यक्ष कमला पन्थी, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिका समूह नेपालका उपाध्यक्ष बसन्ती बास्तोला, पत्रकार महासङ्घ गण्डकीका महासचिव जमुना वर्षा शर्मा, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बराल, सञ्चारिका समुह गण्डकीका पूर्वअध्यक्ष स्मिता अधिकारी लगायतले बोलेका थिए ।
पोखराः पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक हजार आठ सय मिटर दुरीमा रहेको अम्बोटसम्म दौडिएका थिए । दौडमा भारतका आमिरलाई सान्त्वना पुरस्कार प्रदान गरियो । यसैगरी महिलातर्फको छुट्टै मुल्यांकनमा अष्ट्रेलियाकी हान्ना प्रथम भइन् । नेदरल्याण्डकी इशाले द्वितीय स्थान हासिल गर्दा अष्ट्रेलियाकी स्टेफनी तृतीय भइन् । भारतकी शुभांगीले शान्त्वना स्थान हासिल गरिन् । रन फर फन नाम दिएर आयोजना गरिएको दौडमा खेलाडीले कति समयमा दौड पूरा गरे भन्ने गणना गरिएन । दौडमा विभिन्न देशका तीन दर्जन खेलाडीले भाग लिएका थिए । विजेता खेलाडीहरुलाई हाइ ग्राउण्ड एड्भेञ्चर, सिइङ हेण्ड ब्लाइण्ड मसाज क्लिनिक, ब्यञ्जन रेष्टुरेण्ट, अन्नपूर्ण केवलकार र फेवा थकाली भान्छा रेष्टुरेण्टका तर्फबाट पुरस्कार प्रायोजन गरिएको थियो । टुवोर्ग वियरका तर्फबाट निशुल्क टिसर्ट उपलब्ध गराइएको थियो । मायाको चिनो र प्रमाणपत्र पनि खेलाडीहरुले प्राप्त गरे । विजेता खेलाडीहरुलाई महोत्सव एवं दौड आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, प्रथम उपाध्यक्ष दिपक श्रेष्ठ, द्वितीय उपाध्यक्ष गणेशराज पहारी, कोषाध्यक्ष नेत्रप्रसाद पौडेल, सहकोषाध्यक्ष वैभव पौडेल, दौड संयोजक प्रतीकराज पहारी, सदस्य सरोज अधिकारी र अन्नपूर्ण केवलकारका दिनेश पौडेलले पुरस्कार प्रदान गरेका थिए । होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले दौड सफल पार्न समन्वयकारी भूमिका खेलेका थिए । फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सहप्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक तथा प्रायोजकहरुमा अन्नपूर्ण केवलकार लि, इ–सेवा, युनाइटेड वाइनरी प्रालि रहेका छन् । इन्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ । महोत्सवका प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश रहेका छन् । महोत्सव बैशाख १ गते सम्म चल्ने छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ । पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने यात्रुसँग ट्याक्सी व्यवसायीले चर्काे शुल्क लिने गरेको गुनासो छ । अन्य सार्वजनिक यातायात नपाइने र ट्याक्सी सेवा महङ्गो भएपछि विमानस्थलबाट अमरसिंह चोकसम्म सुविधा सम्पन्न विद्युतीय सटल बस सेवा चलाउन लागिएको हो । महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले नयाँ वर्षबाट सुरु हुने सेवा असार मसान्तसम्म यात्रुले सित्तैमा पाउने उल्लेख गरे । असारसम्मका लागि साझेदार खोज्ने वा महानगर आफैंले सञ्चालन खर्च बेहोर्ने तयारी छ । एक विद्युतीय बसको मूल्य एक करोड ३० लाख रहेको महानगरले जनाएको छ ।
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटनस्थित खेलमैदानमा आज (आइतबार) भएको फाइनल खेलमा एनके एफसीमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै न्यूरोड एफसीले उपाधि जितेको हो । न्यूरोडलाई उपाधि दिलाउन विनोद कुँवरले निर्णायक गोल गरे । उनै कुँवर म्यान अफ द म्याच बने । प्रतियोगिताको उपाधिसँगै न्यूरोड क्लबले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको एनकेलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक रेमोस गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताबाट न्यूरोड एफसीका नरेश केसी सर्वाेत्कृष्ट खेलाडीका रुपमा नगद रु ३ हजारसहित पुरस्कृत भए । उत्कृष्ट डिफेण्डरका रुपमा एनकेका कन्यासुब्बा गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै राजकुमार घिसिङ, उत्कृष्ट गोलरक्षकका रुपमा न्यूरोडका विशाल नेपाली, सर्वाधिक गोलकर्ताका रुपमा सोही टिमकै विनोद कुँवर जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत भए । यसैगरी उत्कृष्ट प्रशिक्षकका रुपमा न्यूरोडका शम्भु थापा नगद रु २ हजारसहित पुरस्कृत हुँदा अनुशासित टिमका रुपमा पोखरा लायन्स घोषित भयो । मैत्रीपूर्ण खेलमा स्ववियु पिएन क्याम्पस विजयी प्रतियोगिताको फाइनल अघि आमन्त्रित महिला मैत्रीपूर्ण खेलमा सम्पदा अंकित स्पोर्टस्लाई ४–० गोल अन्तरले हराउँदै स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस विजयी बन्यो । महिलाहरुलाई पनि फुटबलमा आकर्षण बढाउन सकिने लक्ष्यसहित आमन्त्रित मैत्रीपूर्ण फुटबल खेल सञ्चालन गरिएको कार्यक्रम संयोजक दीपक मुल्मीले जानकारी दिए । उनका अनुसार दुवै टिमलाई मायाको चिनोसहित नगद रु ५/५ हजार प्रदान गरिएको उनले बताए । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णु बराल, क्लबका अध्यक्ष, पुरस्कारदाता, क्लबका सल्लाहकार लगायतले पुरस्कार वितरण गरेका थिए । सोहीबीच ५७ वर्षको उमेरसम्म पनि सक्रियताका साथ फुटबल खेल्दै क्लबलाई योगदान पुर्याएको भन्दै पोखरा ५ का कृष्ण कोइरालालाई दोसल्ला तथा सम्मान पत्र अर्पण गरिएको संयोजक मुल्मीले बताए । उनका अनुसार गत २६ गतेदेखि सञ्चालनमा रहेको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।
पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । उक्त खेल आइतबार दिउँसो १ बजे हुने खेल संयोजक र्यामोस गुरुङले जानकारी दिए । गुरुङका अनुसार आज (शनिबार) भएको पहिलो सेमिफाइनल खेलमा मेजर एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै एनके एफसी फाइनलमा प्रवेश गरेको हो । गोलरहित खेलको निर्धारित समय सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । यस्तै दोस्रो सेमिफाइनल खेलमा न्यूरोड एफसीले आयोजक गण्डकी स्पोर्टस् क्लबविरुद्ध १–० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्दै फाइनलमा एनके एफसीसँगको भेट पक्का गर्याे । न्यूरोडको जीतमा बिकी कुँवरले दोस्रो हाफमा गोल गरे । सोही गोल नै फाइनल यात्राको निर्णायक गोल बन्यो । प्रतियोगिताको फाइनल खेल हुनुपूर्व एन्फा कास्कीको महिला टिम र पृथ्वीनारायण क्याम्पसको महिला टिमबीच मैत्रीपूर्ण खेल हुने प्रतियोगिता संयोजक दीपक मुल्मीले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमलाई नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । यस्तै विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए । प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

