पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को सयुक्त आयोजनामा मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा फागुन ६ देखि ९ गतेसम्म महोत्सव हुने रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले बताए ।   ‘सबै मौसममा पर्यटन भन्ने नारासहित विगत केही वर्षयता हामीले घान्द्रुक पर्यटन महोत्सव गर्दै आएका छौं, उपाध्यक्ष गुरुङले भने, ‘घान्द्रुकमा खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फागुन ६ देखि ९ गतेसम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रमको साथ महोत्सव आयोजना गरिएको हो ।’   घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सवको अवसरमा पर्यटकहरुलाई १५ प्रतिशत छुट रहेको बताए ।   ‘घान्द्रुकमा हामीले एकैदिन २ हजार ५ सय पर्यटक राख्न सक्ने होटल तथा होमस्टे रहेका छन्, अध्यक्ष गुरुङले भने, ‘महोत्सव अवधीभर घान्द्रुक आउने पर्यटकलाई १५ प्रतिशत छुट दिन्छौं ।’     रोधीं क्लब कोँड (घान्द्रुक)का अध्यक्ष लक्षिण गुरुङले महोत्सवले घान्द्रुकको पर्यटन प्रवद्र्दन गर्न मद्दत पुग्ने बताए ।   ‘घान्द्रुक ढुङ्गेनी गाउँको नामले पनि परिचित छ, घान्द्रुकका कला संस्कृति, रीतिरिवाज बचाई राख्न महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिएका छौं ।’ अध्यक्ष गुरुङले भने ।   महोत्सव सफल बनाउन घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)ले पोखरा र घान्द्रुकमा आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा १९ लाख रुपैयाँ संकलन भएको थियो ।   यि हुन्, महोत्सवका आकर्षण   घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सवको अवसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, राष्ट्रव्यापी बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता,भेडाको साँढे जुधाई  प्रतियोगिता,रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरिएको बताए ।   उनका अनुसार महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले समान १ लाख ६६ हजार ६ सय ६६, उपविजेताले १ लाख ११ हजार १ सय ११ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   यस्तै घोडा दौड प्रतियोगिताको प्रथम हुनेले १ लाख १ हजार १ सय ११, द्धितिय हुनेले ४० हजार ४ सय ४४, तृतीय हुनेले २० हजार २ सय २२,चौथो हुनेले ११ हजार पाँचौ हुनेले ९ हजार, छैठौं हुनेले ७ हजार र सातौं हुनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।   घान्द्रुक चक्रिय पदमार्ग दौडको प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६, उपविजेताले ७ हजार ४ सय ४४ र तृतीय हुनेले ३ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   यस्तै छेलो प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६ र उपविजेताले ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।   यस्तै महिला तथा पुरुष रस्साकस्सी प्रतियोगिताका विजेताले समान ११ हजार १ सय ११ र उपविजेताले ५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   यस्तै भेडाको साँढे जुधाई  प्रतियोगिताको प्रथम हुनेले ११ हजार, द्धितिय हुनेले ९ हजार,तृतीय हुनेले ७ हजार, चौथो हुनेले ५ हजार र पाँचौ हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।   पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ सडक खण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।   घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।

पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् ।   आइतबार पोखराको पुरन्चौर क्षेत्रका मतदातासँग भेटघाट गरेकी बिनाले सोमबार हेमजावासीका कुरा सुनिन् र आफ्ना प्रतिबद्धता जनाइन् ।    याम्दी, जैसीचौर, मीलनचोक, झिझिर्कालगायतका ठाउँका मतदातासँग भेटेकी गुरुङले राष्ट्रिय नीति निर्माणको विषयदेखि स्थानीयका मुद्धासमेतलाई केन्द्रमा राखेर छलफल गरिन् ।    आलु, तरकारी उत्पादनको पकेट क्षेत्र मानिने हेमजावासीले अहिलेसम्मका उम्मेदवारले कृषिको आधुनिकीकरण र बजारीकरणको कुरा गरेर मत मागे पनि पूरा नगरेको दुखेसो पोखे ।    अहिले पनि किसानका उपजको बजारीकरणमा विचौलिया हाबी हुने गरेको तितो यथार्थ उनीहरुले पोखे । हेमजाजस्तो कृषियोग्य भूमिको व्यवस्थित प्रयोग र बढ्दो सहरीकरणको हस्तक्षेपबारे ध्यान दिन स्थानीयले बिनालाई सुझाव दिए ।   हेमजावासी र कास्की–३ का मतादातको सुझावलाई सम्वोधन गर्दै उम्मेदवार बिनाले आफूले चर्का भाषण र सस्तो आश्वासन नबाँड्ने तर नीतिगत तहबाटै नागरिकको पक्षमा काम गर्ने सुरुमै प्रतिवद्धता जनाइन् ।    करिब २५ करोड रुपैयाँको आलुमात्रै उत्पादन गर्ने हेमजाजस्ता क्षेत्रमा व्यवस्थित सहरीकरणको योजना बनाउन नीतिगत रुपमै काम गर्ने उनले बताइन् ।   कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणका लागि विचौलियाको अन्त्य गर्ने गरी कृषि नीति आवश्यक पर्ने भएकाले आफूले ध्यान दिने बिनाको भनाइ थियो ।   ‘हेमजाले वार्षिक २५ करोड रुपैयाँको त आलुमात्रै बेच्दो रहेछ । यही ठाउँले सिंगो पोखरलाई नै तरकारीमा आत्मनिर्भर बनाउन ठूलो योगदानसमेत गरेको छ,’ बिनाले भनिन्, ‘फेरि अर्कोतिर यही कृषि क्षेत्र बढ्दो सहरीकरणको चपेटामा छ । अब कृषि क्षेत्र र बढ्दो सहरीकरणलाई व्यवस्थित गर्ने राज्यले नीतिगत रुपमै ध्यान दिनुपर्छ । म संसदमा गएर यस्तै कुरामा ध्यान दिने हो ।’    कास्की क्षेत्र नम्बर ३ का विभिन्न ठाउँमा पुग्दा थुप्रै सम्भावना भएर पनि राजनीतिक स्वार्थ र कोपभाजनमा परेर प्रगति गर्न नसकेको धेरैले गुनासो गरेको बिनाले सुनाइन् । कुनै स्वार्थ राखेर आफू राजनीतिको मैदानमा नहोमिएको बताउँदै बिनाले विशुद्ध नागरिकको पक्षमा, सुशासनको पक्षमा काम गर्ने प्रतिवद्धता जनाइन् ।  

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आज आयोजना गरेको उम्मेदवारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले शहर सबै वर्गको साझा भएको बताउँदै भने,‘गरीब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध शहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’   उम्मेदवार थापाले संकटका बेला ठूला वर्ग भाग्ने र त्यसको सामना गरीब तथा मध्यम वर्गले भोग्नुपर्ने वर्तमान अवस्था रहेको बताए । यो शहर ठूला वडाको मात्र हो ? भन्ने प्रश्न उठ्न थालेको छ, उनले भने,‘संकट पर्दा हेलिकोप्टर चढेर भाग्ने होइन, समाधानको उपाय खोज्ने हो । त्यस्तो अवस्थामा पन ियहाँ बस्ने श्रमजीवी जनताले नै शहर जोगाउँदै आएका छन् ।’   मकै पोल्ने, स्वरोजगारमा संलग्न मजदुरदेखि फुटपाथ व्यवसायीसमेतलाई राज्यले यातना दिइरहेको भन्दै उनले सबैले श्रम गरेर बाँच्न पाउने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताए ।   अव्यवस्थित बसोबासीको नाममा जथाभावी डोजर चलाइएकोप्रति आपत्ति जनाउँदै उनले वर्गीय मुद्दाबाट कम्युनिष्ट पार्टी कहिल्यै विचलित नहुने प्रतिबद्दता व्यक्त गरे ।   ‘यो शहर ठूला व्यापारी र घरानीयाको मात्र होइन, फुटपाथे व्यापारीको पनि हो । झुपडीमा बस्नेहरूको पनि यही शहर हो, उनले थपे, ‘भूमि आयोगले दिएको निस्साको आधारमा सुकुम्बासीलाई जमिनको मालिक बनाइनेछ । कोही पनि नागरिक भूमि र आवासको अधिकारबाट बञ्चित हुनुहुँदैन ।’जनयुद्धका क्रममा लागेको गोलीका छर्रा छातीमा बोकेर हिँडेको उल्लेख गर्दै थापाले आफ्नो जीवन जनतालाई समर्पित भएको बताए । भने,‘यो नाफाका लागि होइन, संघर्षका लागि समर्पित जीवन हो ।’   कार्यक्रममा नेकपा गण्डकी प्रदेशका इन्चार्ज श्रीनाथ बरालले देशलाई समाजवादतर्फ लैजाने क्षमता नेकपासँग मात्र रहेको बताए ।   विगतका कमजोरी सच्याउँदै अघि बढ्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै उनले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा भएको उल्लेख गरे ।   उनले कृषि क्रान्तिको आवश्यकता औँल्याउँदै मुलुकलाई कृषिजन्य उत्पादन निर्यात गर्ने अवस्थामा पु¥याएर जनताको जीवन बदल्न सकिने बताए । तर त्यसका लागि नेकपाको नेतृत्व आवश्यक रहेको उनको भनाई थियो ।   त्यस्तै, नेकपा कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारीले सुकुम्बासीहरूले हाल प्राप्त गरेको निस्साका आधारमा लालपूर्जा वितरण गर्ने जिम्मेवारी नेकपाले लिने बताए । त्यसका लागि आगामी निर्वाचनमा नेकपाको जित सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।   कार्यक्रममा सहभागी वक्ताहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको दीर्घकालीन समाधान, वर्गीय समानता र सामाजिक न्यायको पक्षमा नेकपाको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका थिए ।   सोमबार अन्नपूर्णमा नेकपा   यसैबिच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा वामपन्थी आन्दोलनका अनुभवी नेता गोपाल गिरी यतिवेला चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् ।     ‘जेन्जी’ युवाहरूको भावना अनुसार काम गर्ने, जातीय विभेद अन्त्य गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने लगायतका प्रतिबद्धता लियर उनी जनताको घर दैलोमा व्यस्त भएका हुन् ।   उनको भोलि कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा चुनावी प्रचार प्रसार तथा जनतासंग भेटघाट कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।   कास्कीको पर्यटकीय क्षेत्र सहित विश्वकै चर्चीत पदमार्गहरु रहेको अन्नपूर्ण क्षेत्रका जनताको मर्म र भावना बुझ्दै उहाँहरुको जीवनस्तर र आर्थिक विकास र समृद्धिको लागि पर्यटनलाई विकासको मुल आधार बनाउनु पर्नेमा उनको दृढ इच्छा शक्ति रहेको छ ।

पाेखरा:   कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ ।   सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले रुपा–३ टाकेञ्जास्थित सहिदहरु कमल भुजेल, सुमित्रा घिमिरे, तीर्थ भुजेल र बिजय बास्तोलाको शालिकमा माल्यार्पण गरेर आईतबारको भेटघाट शुरु गरेको हो ।   भेटघाटमा स्थानियले यस पटक नेकपालाई नै जिताउने वचन दिए ।   विगतमा अन्य दलको उम्मेदवारलाई जिताउँदा नेकपालेजस्तो विकास र सुशासन दिन नसकेकाले यस पटक फेरी नेकपालाई जिताउने बताएका थिए । तर नेकपाले पनि जनयुद्दका अजेण्डा छाड्न नहुने बताए ।   स्थानीय एक आमाले भक्कानिदै भनिन्,‘नेकपाले जित्दाजस्तो विकास र सुशासन अरुले गरेनन्, त्यसैले यस पटक नेकपालाई जिताउँछौं । तर तपाईंहरुले पनि सहिदको सपना र वेपत्ताको योगदान नबिर्सिनूस् ।’   अर्की आमा चिजा भुजेलले जेनजी आन्दोलनको वातावरण बनाउने कांग्रेस र एमाले र जेनजी आन्दोलनको नाममा आगजनी गर्ने बालेन र रविको हातमा सत्ता गए देशले दुःख पाउने बताईन् । उनले भनिन्,‘त्यसैले हामी सचेत भएर नेकपालाई जिताउँछौं ।’   सो अवसरमा उम्मेदवार राजकाजी गुरुङले पार्टी र आफू जनयुद्दको अजेण्डामा कायम रहेको बताए । उनले भने,‘सहिदको सपना र वेपत्ता तथा घाईतेको योगदान कहिल्यै बिर्सिएको छैन र बिर्सने पनि छैन । त्यो सपना पूरा गर्ने भनेको समाजवादले मात्र हो, हामी त्यसकै लागि लडिरहेका छौं ।’

पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ ।   प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग प्रतियोगिता शुरु भएको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरे ।   प्रतियोगिताको पहिलो दिन आयोजक प्रतिभा मावि र बाल मन्दिर माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभाले वाराही र बाल मन्दिरले ग्लोबल कलेजियटलाई पराजित गर्दै बिजयी सुखद शुरुवात गरेका हुन् ।   प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा आयोजक प्रतिभा माविले वाराही माविलाई ३ विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ रोजेको वाराहीले निर्धारित १७.१ ओभरमा सबै विकेट गुमाएर १२६ रन बनाएको थियो । वाराहीका लागि अभिषेक अधिकारीले ३७ बलमा ४२ रन, ब्रिजेश भट्टराईले २५ बलमा २० रन र कुशल पौडेलले ८ बलमा १५ रन बनाए ।   १२७ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको प्रतिभाले १८.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । प्रतिभाको जितमा सहबुदिन अन्सारीले ४० बलमा ४३ रन, मिसन विकले २८ बलमा १४ रन र साहिल खानले १३ बलमा १२ रनको योगदान दिए । प्रतिभालाई दवाबमा राख्ने क्रममा वाराहीका ब्रिजेश भट्टराईले ४ ओभरमा १८ रन खर्चे भने समीर विकले ४ ओभरमा २० रन खर्चेर २ विकेट हत्याए ।   सो खेलमा बिजयी प्रतिभाका खेलाडी सबुदिन अन्सारी प्लेयर अफ दी म्याच बने ।   आईतबार नै भएको दोस्रो खेलमा बाल मन्दिर माविले ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको ग्लोबल कलेजियटले कमजोर प्रदर्शन गर्दै १५.१ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्रै बनाउन सक्यो । ग्लोबलका लागि विमोचन सापकोटाले ३४ बलमा ४० रन र अपिल पौडेलले १७ बलमा १८ रन बनाउनुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् ।   ग्लोबललाई सस्तैमा समेट्न बाल मन्दिरका सुमन अधिकारीले ३.१ ओभरमा ९ विकेट दिएर ह्याट्रिक विकेटसहित ५ विकेट लिए । सुवास पठायतले ३ ओभरमा ८ रन खर्चेर ३ विकेट हत्याए ।   ७२ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको बाल मन्दिरले केवल १२.१ ऋोभरमा ४ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । बाल मन्दिरका लागि सुरज अधिकारीले २६ बलमा १९, श्रीनिवास कठायतले २६ बलमा १७ रन र सुवास कठायतले १५ बलमा १६ रनको योगदान दिए । बाल मन्दिरलाई दवाबमा राख्न ग्लोबल कलेजियटका सौगात आचार्यले १ ओभरमा ४ रन खर्चेर २ विकेट तथा आयुष्मान गौतमले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।   सो खेलमा बिजयी बाल मन्दिरका ह्याट्रिक विकेटसहित ५ विकेट लिएका सुमन अधिकारी प्लेयर अफ द म्याच घोषित भए ।   प्रतियोगिता क्रिकेटको विकास, खेलाडीको प्रतिभा उजागर गर्न तथा क्रिकेटको जग बलियो बनाउने उद्देश्यले गरिएको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए ।   त्यस्तै, विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले शैक्षिक सान बनेको प्रतिभा माविले शिक्षासँगै खेलकुद र पर्यटनको विकासमा योगदान गर्न प्रतियोगिता आयोजना गरेको बताए । प्रमुख अतिथि पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले प्रतिभाले प्रतियोगितामार्फत खेलकुदको क्षेत्रमा योगदान गरेको भन्दै धन्यवाद दिए ।   प्रतियोगिताको बिजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, उपबिजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।   प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले जानकारी दिए ।

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   पोखरा पर्यटन वर्ष २०२५–२६ लाई प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक पोखरा रंगशालामा अस्थायी फ्लडलाइट जडान गरी खेल सञ्चालन गरिने क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए ।    उनका अनुसार पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म चल्नेछ ।   सो प्रतियोगितामा आहा रारा गोल्डकपका सहभागी टोली नेपाल पुलिस क्लब, चर्च ब्वाइ युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, नेपाल एपिएफ कलब, प्लानिङ ब्वाइज युनाइटेड, जाउलाखेल युथ क्लब, थन्डरवोल्ड नर्थ युनाईटड, सिक्किम (भारत), मछिन्द्र फुटबल क्लब, गोर्खा इन्टरनेसनल फुटबल क्लब, हङकङ, आभा फुटबल क्लब, उज्वेकिस्तान, सहारा क्लब पोखरा, भारतीय अर्को क्लब (नाम तय हुन बाँकी)गरी कुल १२ टोलीको सहभागिता रहने छ ।   सो प्रतियोगिताको उपाधि राशी नगद रु १४ लाख १ हजार निर्धारण गरिएको क्लबका सदस्य सचिव गंगाराज पौडेलले जानकारी दिए ।   उनका अनुसार उपविजेता टोलीले नगद रु ७ लाख १ हजारप्राप्त गर्नेछ ।    प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अस्ट्रेलियाको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।

पोखरा: कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ ।   चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । ‘चिप्ली गाउँमा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको सिद्ध युवा क्लबले आफ्नो ३८ औं वाषिकोत्सवको अवसरमा महाशिवरात्री मेलालाई निरन्तरता दिएको हो, अध्यक्ष गुरुङले भने, ‘ महाशिवरात्री मेलाले पर्यटकीय गाउँ चिप्लीको पर्यटन प्रवद्र्धन,खेलकुद र विकासमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’ उनका अनुसार महाशिवरात्री मेलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता,छेलो, रस्साकस्सी र म्युजिकचियर प्रतियोगिता आयोजना गरिएको छ ।    वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै रस्साकस्सी प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छेलो प्रतियोगिताको विजेतालाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र र फेटाले सम्मान गरिने क्लबका अध्यक्ष गुरुङले बताए । कास्कीको उत्तरी भेगमा अवस्थित मादी गाउँपालिका–६ चिप्ली गाउँमा पोखराको काहुँखोला, काभ्रेडाँडा, छाचोक, मेलबोट, थाक, तप्राङ हुँदै चिप्ली गाउँ पुग्न सकिन्छ । पोखराबाट सवारी यात्रामा १ घण्टामा नै चिप्ली गाउँमा पुग्न सकिन्छ ।

पोखरा:  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।    बुद्धटोल युवा क्लबले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो ।    क्लबका अध्यक्ष सन्तोष गुरुङले माघ २२ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा ५० बढी टिमको सहभागिता हुने अपेक्षा गरिएको बताए ।    ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता यही माघ २२ गतेदेखि सञ्चालन गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘अहिले हामी प्रतियोगिताको तयारीलाई तिब्र पारेका छौ ।’   उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए ।  उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८÷८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।    यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए ।     उनले प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रतिटिम १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको सापकोटाले बताए ।    बिटी क्लब खेलकुद प्रतियोगितासँगै फुटबल एकेडेमी सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ ।    बिटी क्लब सामाजिक क्षेत्रमासमेत क्रियाशिल रहदैं आएको छ ।    

पोखरा:  पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्नेछ ।  तालिमको पहिलो दिन डा.आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गरिन् । उनले शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् ।  तालिम संयोजक मीना बरालका अनुसार दोस्रो दिन मंगलबार व्यवसाय प्रवद्र्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिनेछन् । अन्तिम दिन बुधबार साइबर अपराध र अनलाइन ठगी सचेतना सम्बन्धमा कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले सहजीकरण गर्नेछन् ।  तालिको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ निर्देशक मणिराज लामिछानेले तालिममा गरिने लगानीले व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुपर्ने बताए ।  उनले पर्यटन व्यवसायी महिलाको सवलीकरणका लागि आवश्यकताका आधारमा अन्य शीर्षकमा पनि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।  वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डीएसपी नवराज भट्टराईले साइबर अपराध बढिरहेको अवस्थामा यसबाट बच्न अपनाउनुपर्ने उपायकाबारेमा तालिमले स्पष्ट पार्ने अपेक्षा व्यक्त गरे ।  पोखरा पर्यटन परिषद्का सचिव नारायणप्रसाद सुवेदीले तालिमबाट लाभ लिएर व्यावसायिक जीवनमा उतार्न सहभागीलाई आग्रह गरे । टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले शारीरिक र मानसिक रुपमा स्वस्थ हुँदा मात्रै व्यवसायमा पनि सफल हुन सकिने भएकोले यस्ता तालिम फलदायी हुने बताइन् ।  टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले तालिमबाट अपेक्षित उपलब्धी हासिल गर्ने बताइन् । ‘क्षमता अभिवृद्धिमा पर्यटन बोर्डले सहयोग गरेको छ अब पर्यटन प्रवद्र्धनमा पनि व्यवसायी महिलाका लागि बजेट छुट्याउन आवश्यक छ,’ उनले भनिन् । संस्थाकी महासचिव शोभा अधिकारी पौडेलद्वारा सञ्चालित कार्यक्रममा संयोजक मीना बरालले तालिमको उद्देश्यबारे बताएकी थिइन् ।