पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कास्की मोडेल हस्पिटलको प्राविधिक सहयोग रहेको कार्यक्रममा पोखरा महानरपालिका वडा नं ६ बैदामस्थित महिला सञ्जाल अन्तर्गत १८ वटै आमा समूहका प्रतिनिधि लगायत ९० जना पर्यटन व्यवसायी महिलाहरूको सहभागिता थियो । यस अघि कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा.चण्डिका पण्डितले मेनोपज सचेतना सम्बन्धमा विभिन्न विषय बारे जानकारी गराउनुभयो । टेवान पोखराका अध्यक्ष शोभा न्यौपाने पाण्डेले टेवानले पर्यटन प्रवद्र्धनसँगै क्षमता अभिबृद्धि, स्वास्थ्य सेचतना लगायतका विषयमा समय समयमा विभिन्न किसिमका कार्यक्रम गर्दै आएको बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन प्रवद्र्धन लगायत सामाजिक उत्तरदायित्वका क्षेत्रमा टेवानले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । टेवानका अध्यक्ष शोभा न्यौपाने पाण्डेकोे सभापतित्व एवम् महासचिव शोभा अधिकारी पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजक सुधा सुवेदी बराल रहनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, जनस्वास्थ्यकर्मी जिता बराल, महिला सञ्जाल बैदामका अध्यक्ष बबिता मल्ल लगायतले बोल्नुभएको थियो । कार्यक्रमका अवसरमा सहभागीको सामान्य स्वास्थ्य परीक्षण सहित सुुगर, प्रेसर लगायतको निशुल्क परीक्षणको व्यवस्था मिलाइएको थियो भने टेवान र कास्की मोडल हस्पिटलबीच टेवानका सदस्यले लिन सक्ने सेवा सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका लागि स्थगित गरेपनि पोखरा आएर आफ्नो अभियानलाई फेरि थालेका हुन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका उनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै संसदीय यात्रा गरेका छन् । यद्यपी सपथ ग्रहण भने गर्न बाँकी छ । पोखराको अमरसिंहचोक, लखनचोक ९पृथ्वीचोक० र महेन्द्रपुलमा सहयोगीहरुको साथमा आइतबार किताब बेचेका हुन् । पुनले वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनार्थ आफ्नो (आत्मकथा) किताब विक्री गर्दै आएका छन् । उनी केही दिनमै सपथ ग्रहण गर्नका लागि काठमाडौं प्रस्थान गर्ने बताइएको छ ।
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा रास्वपाका उत्तमप्रसादले २४ हजार ४१८ मतान्तरका साथ विजय प्राप्त गरेका हुन् । ५२ हजार ५ सय १९ मत खसेकोमा १ हजार ८४४ मत बदर भएको छ । रास्वपाका उत्तमप्रसादले ३१ हजार ९११ मत कास्की–२ बाट प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ६ हजार ५०० मत पाएका छन् । यो क्षेत्रमा राप्रपाका उम्मेदवार हेमजङ गुरुङले १ हजार ६४३ मत प्राप्त गरे । राप्रपाभन्दा पछि नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ मत पाएका छन् । उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरेका छन् । अन्य पार्टीले भने झिनो मत प्राप्त गरे । अहिलेसम्म नेकपा एमालेले जित्दै आएको क्षेत्रमा एमालेले युवा नेता केन्द्रीय सदस्य रश्मिलाई उठाएको थियो ।
पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिकै खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अन्दाजी २०/२५ वर्ष जस्तो देखिने युवतीको आज बिहान शव फेला परेको हो । ‘ड्यामसाइडको नयाँपुल मुनी खेलामा शंकास्पद खालको तन्नाले बेरेको सुटकेस फेला परेको खबरपछि युवतीको शव रहेको पायौं, डिएसपी भट्टराईले भने, ‘अहिले उक्त शवलाई पोष्टमार्तमका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (गण्डकी अस्पताल) लगिएको छ ।’ उनले उक्त शवको सनाखत नभएको बताउदै घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको बताए ।
पोखरा: कास्की–१ मा नेकपा एमालेबाट उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–३० का मतदातासँग भेटघाट गरेका छन् । शुक्रबार दिनभर उनले शिशुवा, मोहरिया, खुदीलगायत ठाउँका मतदातासँग भेटघाट गरेका हुन् । उनी मतदाता भेट्न पुग्दा निकै सकारात्मक प्रतिक्रिया पाएका छन् । पोखरा–३० ढुंगेपाटनकी मतदाता इन्दिरा तिवारीले कुनै विवाद नरहेको र निरन्तर यही भूगोलको सेवामा खटिएकाले बैनबहादुरलाई नै मत दिने बताइन् । नयाँ पार्टीबाट कहिल्यै मान्छे नदेखेको, नाम पनि नसुनेको उम्मेद्वार आएकाले जिताउन नसकिने उनको भनाइ छ । जेन–जी पुस्ताले नयाँ उम्मेद्वार खोजेको र बैनबहादुर निर्विकल्प रहेको उनले जिकिर गरिन् । ‘जेन–जीले नयाँ–नयाँ भन्दै छन् । बैनबहादुर अधिकारी पहिलोपटक सांसद् लड्नुभएको छ । उहाँ फ्रेस उम्मेद्वार हो,’ तिवारीले थपिन्, ‘यहीँ खट्दै आएको मान्छेलाई नदिएर अरुलाई दिने भन्ने हुँदैन ।’ पोखरा–३० मा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेद्वार अधिकारीले लेखनाथ क्षेत्रका सडक, मादी र रुपामा बनेका सडक, पृथ्वी राजमार्गले नै एमालेले काम गरे÷नगरेको भन्ने देखाउने बताए । पोखरा रंगशाला पनि एमालेकै सक्रियतामा भव्य बनेको उनले दाबी गरे । सरकारी कार्यालयमा सेवा प्रवाहमा रहेको ढिलासुस्ती सुधार्न आवश्यक रहेको उनले बताए । ‘संविधान थिचोमिचो भएको छ र त्यसलाई ट्रयाकमा ल्याउनुपर्ने अहिलेको परिस्थिति हो । भ्रष्टाचार नियन्त्रणमा सामूहिक पहल गर्न अबको संसद्को भूमिका हुन्छ । म त्यसमा प्रतिबद्ध छु,’ उनले भने । अधिकारीसँग पोखरा–३० खुदीका मतदाताले खानेपानीको समस्या रहेको गुनासो गरेका थिए । उनले समस्या समाधानका लागि आफूले बुझ्ने र तत्काल सम्भव नभए निर्वाचन पनि पहल गर्ने बताए ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको शनिबार सकिएको हो । महोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जलजला गाउँपालिका पर्वतले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा जलजला गाउँपालिका पर्वतले अन्नपूर्ण गाउँपालिका म्याग्दीलाई ६५–६१ स्कोरले पराजित गरेको हो । विजेता जलजला पर्वतले १ लाख ६६ हजार ६ सय ६६, उपविजेता अन्नपूर्ण म्याग्दीले १ लाख ११ हजार १ सय ११ र तृतीय भएको मादी गाउँपालिकाले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महोत्सवको अवसरमा आयोजित प्रथम राष्ट्रव्यापी घोडा दौड प्रतियोगितामा निर्धारित दुरी ११ मिनेट २३ सेकेण्डमा पुरा गर्दै विवेक पुन प्रथम भए । अमित गुरुङले ११ मिनेट ४७ सेकेण्डमा दुरी पुरा गर्दै द्धितीय, अमृत तामाङले ११ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै तृतीय,विनोद पुन थापाले १२ मिनेट १ सेकेण्डमा दुरी पार गर्दै चौथो, हितमान गुरुङले १२ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै पाँचौं, कृष्णले १२ मिनेट ३१ सेकेण्डमा दुरी पार गर्दै छैठौं र टाईगर थकालीले १२ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै सातौं भए । घोडा दौड प्रतियोगितामा प्रथमले १ लाख १ हजार १ सय ११, द्धितिय हुनेले ४० हजार ४ सय ४४, तृतीय हुनेले २० हजार २ सय २२,चौथो हुनेले ११ हजार पाँचौ हुनेले ९ हजार, छैठौं हुनेले ७ हजार र सातौं हुनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । घोडा दौड प्रतियोगितामा पोखरा, घान्द्रुक, उरी, घोरेपानी लगायतका ४५ जनाले घोडासहित सहभागिता जनाएका थिए । यस्तै २० जनाको सहभागिता रहेको घान्द्रुक चक्रिय पदमार्ग दौड प्रतियोगितामा पुस्कल पौडेलले ३२ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै प्रथम हुँदै १६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे । कृष्ण परियारले ३४ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै उपविजेता हुँदै ७ हजार ४ सय ४४ र सन्तोष परियारले ३५ मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै तृतीय हुँदै ३ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै महिला रस्सकस्सी प्रतियोगितामा मुसुबा आमा समूह तल्लो गाउँ प्रथम हुँदै ११ हजार १ सय ११ र उपविजेता भएको उरी आमा समूह घान्द्रुकले ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । यस्तै पुरुष रस्साकस्सीतर्फ माझगाउँ विजेता हुँदै ११ हजार १ सय ११ र उपविजेता भएको हुदले ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । यस्तै छेलो प्रतियोगितामा स्याङ्जाका दुजिक थापा मगर विजेता बन्दै १६ हजार ६ सय ६६ र पर्वतका युवराज गुरुङ उपविजेता बन्दै ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे । पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ सडक खण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।
पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कास्कीले बागलुङलाई २४–१५ गोलले पराजित गर्दै उपाधि जित्दा महिलातर्फ कास्कीले बागलुङलाई ९–६ ले फाइनल खेल जित्दै उपाधि जित्यो । त्यस्तै सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ पर्वत जिल्ला बन्न सफल भए । प्रतियोगितामा ५ जिल्लाका महिला तथा पुरुष गरी ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी तथा तमु धिं एशोसियसन युकेका उपाध्यक्ष कमल कोने गुरूङ, सहारा क्लब युकेका सल्लाहकार कृष्ण गुरूङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरूङ, सुटिङ संघ गण्डकीका महासचिब पुरन कुँवरलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रममा संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, महासचिब राजेन्द्र पहाडी, कोषाध्यक्ष शान्त सिंह बस्नेत, जिल्ला ह्याण्डबल संघ कास्कीका अध्यष चित्र बहादुर थापा, बागलुङका अध्यक्ष उमेशराज भण्डारीलगायतको सहभागिता रहेको थियो । सो प्रतियोगिता आसन्न दशौं राष्ट्रिय खेलकुदका लागि छनोट प्रतियागिताका रुपमा आयोजना गरिएको थियो ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज आभा फुटबल क्लब उज्वेकिस्तान र जावलाखेल युथ क्लब भिड्ने भएका छन् । पोखरा रंगशालामा दोस्रो सेमिफाइनल खेल अन्तर्गत आज आभा फुटबल क्लब उज्वेकिस्तान र जावलाखेल युथ क्लब भिड्ने भएका हुन् । आभा फुटबल क्लबले क्वाटरफाइनलमा प्लानिङ् ब्वाइजलाई १–० गोल अन्तरले पराजित गर्दै आभा क्लबले सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै जावलाखेलले एपिआई पावर चर्च ब्वाइजलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । बुधबार भएको खेलमा आयोजक सहारा क्लबले मनाङ मस्र्याङ्दी क्लबविरुद्ध पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले जीत निकाल्दै सहारा क्लब फाइनलमा पुगिसकेको छ । यो जीतसँगै सहारा क्लब ९ वर्षपछि फाइनलमा पुगेको हो । यसअघि सहारा क्लब २०७३ सालमा मनाङसँग फाइनलमा १–० गोलले स्तब्ध बनेको थियो । प्रतियोगिताको फाइनल खेल भने आगामी शनिबार हुने आयोजकले जनाएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्यवसायसँगै सामाजिक सेवामा सक्रिय पौडेलले अक्षयकोषका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । हिमाअस एजुकेशनका प्रवन्ध निर्देशक समेत रहेका पौडेल आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका बेला फोटो पत्रकारलाई सहयोग गरेका हुन् । सहयोग ग्रहण पछि एनपिजेए कास्कीका अध्यक्ष गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो । कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।

