मुस्ताङ: यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ । केन्द्रमा भएको तन्तु प्रयोगशाला प्रविधिमामार्फत प्रशारण गरिएको हाईब्रिड स्याउको बीउ छरेर यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा रोपण गरी उत्पादनतर्फ जोड दिइएको हो । हालसम्म तन्तु प्रजनन प्रविधिबाट नेपालमा उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउको रुट स्टक स्याउका बिरुवा उत्पादन भएको छैन । यहाँको केन्द्रले हाईब्रिड स्याउको रुट स्टक बिरुवा उत्पादनको परीक्षणका लागि बिरुवा उत्पादनतर्फ जोड दिन थालेको हो । नेपालका विभिन्न स्थानमा विभिन्न फलफूलको बिरुवा उत्पादनका लागि तन्तु प्रजनन प्रयोगशाला प्रयोगमा रहेपनि यहाँको केन्द्रले यसप्रकारको हाईब्रिड स्याउको रुट स्टक स्याउका बिरुवा उत्पादनका लागि प्रयोगशालामार्फत एम नाईन रुट स्टक बिरुवाका लागि बीउ उत्पादन गर्न थालेको केन्द्रका जैविक प्रविधि प्राविधिक अधिकृत अशोक लिम्बूले जानकारी दिनुभयो । यसप्रकारको हाईब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न नेपालका अन्य तन्तु प्रजनन प्रयोगशालामा प्रयास गरिएको भए पनि यहाँको केन्द्रको तुलनामा प्रशारण र विकास गर्न नसकेको उहाँको भनाइ छ । यहाँस्थित मुस्ताङको घरपझोङ—२ मार्फास्थित केन्द्रमा २०७८ मा तन्तु प्रजनन प्रयोगशाला प्रविधि स्थापना भएको थियो । स्थापनाको पहिलो तीन वर्ष लगातार यहाँ तन्तु प्रजनन प्रयोगशालामार्फत हाईब्रिड स्याउको प्रविधि प्रशारणतर्फ काम गर्दैआइरहेको केन्द्रका जैविक प्रविधि प्राविधिक लिम्बूले उल्लेख गर्नुभयो । त्यस अवधिमा केन्द्रले प्रविधिको उपयोग गरी विभिन्न प्रोटोकलको विकास गरिहेको उहाँको भनाइ छ । यसका अलावा यहाँको केन्द्रले तन्तु प्रजनन प्रयोगशाला प्रविधिलाई पछ्याउँदै फिल्डमा पनि दिशानिर्देशको रुपमा काम गर्दै हाईब्रिड स्याउ बिरुवा उत्पादनको व्यवस्थापनमा जान सकिने निष्कर्षका साथ प्रयोगशालामार्फत बीउ उत्पादन गरी स्याउका एम नाईन रुट स्टक बिरुवा उत्पादनतर्फ अग्रसरता देखाएको अधिकृत लिम्बूको भनाइ छ । यहाँस्थित शीतोष्ण बागवानी विकास केन्द्रले यसवर्ष केन्द्रको नाममा रहेको मुस्ताङको घाँसामा एक रोपनी र केन्द्रको मार्फास्थित एक रोपनी जग्गामा तन्तु प्रजजन प्रयोगशालामा प्रशारण भएका करिब ६००० हाईब्रिड एम नाईन रुट स्टक स्याउका कलमी बिरुवा उत्पादन गर्ने गरी प्रक्रिया अघि बढाइएको अधिकृत लिम्बूले जानकारी दिनुभयो । यसैगरी केन्द्रले आव २०८०÷८१ मा तन्तु प्रजनन प्रविधि प्रयोगशालाबाट तीन सय बिरुवा उत्पादन भइसकेको र यो परीक्षणको रुपमा रहेको जानकारी दिनुभयो । यसका लागि किसानलाई वितरण गर्नुअघि केन्द्रले पर्याप्त अध्ययन अनुसन्धान गर्ने तयारी गरेको बताउनुभयो । केन्द्रले चालु आर्थिक वर्षभित्रमा यसको विस्तृत अध्ययन गरेर खरिदकर्ता किसानलाई उपलब्ध गराउने तयारी गरेको जैविक प्रविधि प्राविधिक लिम्बूले उल्लेख गर्नुभयो । केन्द्रले उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार नहुुँदा सीमित मात्रामा बिरुवा उत्पादन गर्न थालेको छ । केन्द्रमा पर्याप्त मात्रामा सिसा घर ९हाईटेक० भएमा तन्तु प्रजनन प्रविधि प्रयोगशालामाबाट छोटो समयमा ५० हजारदेखि ६० हजारसम्म हाईब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न सकिने सम्भावना रहेको अधिकृत लिम्बूले बताउनुभयो । यसवर्षको दोस्रो फेजमा यहाँ जेठ महिनाबाट प्रयोगशालामा बिरुवा उत्पादनका लागि विभिन्न प्रोटोकल अपनाएर बीउ उत्पादन गरी रोपण गर्न थालिएको हो । मुस्ताङमा पहिलो पटक परीक्षणका रुपमा आफ्नो उत्पादन सुरु गरेको केन्द्रले यहाँको उच्च उचाई, मध्यम उचाई र न्यून उचाईको स्थानमा लगेर परीक्षण आरम्भ गर्ने तयारी गरिएको हो । केन्द्रले यसअघि उत्पादन गरेका एम नाईन रुट स्टक बिरुवामा गाला,फुजी, डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउलाई रुट स्टक गरिसकेको र त्यसको परीक्षण हुन बाँकी रहेको अधिकृत लिम्बूले उल्लेख गर्नुभयो । यहाँस्थित केन्द्रमा रहेको यस प्रकारको तन्तु प्रजनन प्रविधि प्रयोगशाला ९ल्याबमा एम नाईन रुट स्टकको एक अंशलाई ल्याबमा राख्ने र त्यसपछि विभिन्न विधि अपनाएर बिरुवाका लागि बिउ उत्पादन गर्ने गरिन्छ । यसप्रकारको प्रविधिबाट बृहत रुपमा तन्तु प्रजनन प्रविधिको प्रशारण गरी गुणस्तरीय तथा आनुवशिंक रुपमा चुस्त एकैनासको बिरुवा उत्पादन गर्न सकिन्छ । जिल्लामा विसं २०७० पछि उच्चघनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको हो । थोरै क्षेत्रफलमा धेरै र छोटो समयमा सोचे अनुरुपमा उत्पादन दिने भएकाले यहाँका किसान यसप्रकारको हाईब्रिड स्याउ खेतीतर्फको आकर्षण बढेको हो । यहाँ ईटालीबाट आयात गरिएका हाईब्रिड स्याउलाई सङ्घीय र प्रादेशिक सरकारले अनुदान सहुलियतमा वितरण गरेपछि मुस्ताङमा हाईब्रिडखेती विस्तार भएको हो । केन्द्रले आफ्नो प्रविधिको प्रशारण गरी हाईब्रिड स्याउका बिरुवा उत्पादन गरेमा हाईब्रिड स्याउका बिरुवा भनेको बेलामा सस्तो मूल्यमा उपलब्ध हुनसक्ने सुनिश्चितता रहेको केन्द्रले जनाएको छ । ईटालीबाट आयात गरिएको हाईब्रिड एउँटै रुट स्टक बिरुवको एक हजार बढी मूल्य पर्छ । यहाँ उत्पादन हुने एक नाईन रुट स्टक बिरुवमा विभिन्न प्रजातीका स्याउको कलमी गर्न सकिने छ । मुस्ताङमा ८३७ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । जसमध्ये ५७२ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिएको छ । यहाँको पाँच पालिकामा गरी ६२ हेक्टर क्षेत्रफलमा २५० मेट्रिक टन हाईब्रिड स्याउ उत्पादन भएको थियो ।
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन हिमालको फेदीमा पुग्ने नरेन्द्र हिँउदमा गाउँ नजिकैको खर्कमा झर्ने सात वर्षको बालक हुँदादेखिको नरेन्द्रको समय तालिका अझै फेरिएको छैन् । “बिहान उठेदेखि राति अबेरसम्म भेडाबाख्राको स्याहार सुसारमा व्यस्त हुने मैले घर नजिकै रहेको जनकल्याण माविमा पढ्नका लागि जिन्दगीमा कहिल्यै पनि पाइला टेकिन,” उहाँले भन्नुभयो “बाल्यकालमा घरपरिवारको बाध्यता र त्यतिबेलाको परिवेशका कारण पढ्न नपाउँदा अहिले पछुतो लागेको छ । घरको मुख्य आम्दानीको स्रोत भेडापालनमा बाल्यअवस्था, तन्नेरी र बुढेशकाल बिताएका नरेन्द्रको जीवनका सबैभन्दा रमाइलो, उत्साहजनक जोस र जाँगर बुकीमै हिउँसँगै पग्लिएर गयो । उहाँसँग केबल गोठमा घामपानी, असिना, हिउँमा कठिन तरिकाले रमाएका र वन्यजन्तुले झम्टिएको अनुभवहरू छन् । बालापनको रमाइलो अनुभव भनेकै भेडाका बथानसँग बिताएका क्षण सम्झिने नरेन्द्र सिकिस्त बिरामी हँुदासमेत बुकी छोड्नुभएन् । लेकाली क्षेत्रको चरन क्षेत्रलाई बुकी र गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । पुख्यौली पेसालाई निरन्तरता दिएका नरेन्द्रको गोठमा अहिले २५ वटामात्रै भेडा, पाठापाठी छन् । तन्नेरी अवस्थामा तीन सयसम्म भेडापालेका उहाँले अहिले गोठालाको अभाव हुन थालेपछि सङ्ख्या घटाउँदै लगेको बताउनुहुन्छ । “एक्लै भेडापालन गर्न मुस्किल छ, जीवन नै बुकीमा बित्यो, अब घरखर्च चलाउनै मात्रै पाल्छु,” उहाँले भन्नुभयो “अनपढ भएकाले भेडाको गणना, मूल्य र हरहिसाब राख्न अलमल हुँदा दुःख भयो ।” फर्काउन मिल्ने भए पुनःबलापनमा फर्किने रहर रहेको बताउँदै स्कुलमा गएर पढ्न नपाएको भेडाको जस्तै जीवन भएको अनुभव सुनाउनुभयो । हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने अनुभव सुनाउनुभयो । जाडो याममा हिउँ पर्न थालेपछि गोठ लिएर गाउँमा झरेका नरेन्द्र बर्खाको समयमा भीषण वर्षामा पनि बुकीमै बिताउनुहुन्छ । वर्षामा वन्यजन्तुको आक्रमणबाट बचाएर पाठापाठी हुर्काउन बढी समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले बर्सेनि भेडाका बथानबाट वन्यजन्तुले गर्ने नोक्सानी जोगाउन कुकुरलाई सँगै राख्नुहुन्छ । भोटे कुकुरले आफ्नो र जङ्गली जनावरबाट भेडालाई जोगाउन मद्दत गरेको बताउनुभयो । “चितुवाले झम्टिँदा प्रतिकार गरेर मृत्युको मुखबाट बचेको छु,” उहाँले भन्नुभयो “गोठमा बस्न पनि सजिलो छैन ।” नरेन्द्र जस्तै गुर्जाका ६८ वर्षीय गोरे छन्त्याले पनि पाँच दशकभन्दा बढी भेडाको बथानसँगै गोठमा बिताउनुभयो । ९ वर्षको उमेरमा बुकीतिर उकालो लागेका गोरेलाई अहिले पनि भेडाको बथानले घेर्न गर्दछ । उमेर अनुसार शरिरले आराम मागेपनि गोरेको दैनिकी तन्नेरीको भन्दा कम छैन । उहाँले वार्षिक रु १० लाखको भेडा नै बेचेर कमाउने बताउनुभयो । गुर्जामा करिब २० घरपरिवारले व्यावसायिक भेडापालन गरेका छन् । युवापुस्ता वैदेशिक रोजगारीका लागि पलायन हुन थालेपछि भेडागोठ बुढापाकाले धानेका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । भेडा बेच्न बजार जानुपर्ने बाध्यता छैन् । गाउँमा विभिन्न पूजाआजामा बलि दिन र मासुका लागि भेडीगोठ नै पुग्ने गरेका छन् । परम्परागतरुपमा हुँदै आएको भेडापालनलाई व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिका र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलेसमेत अनुदान, तालिम र परामर्श सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले पनि भेडापालन किसानलाई लक्षित गरेर विभिन्न रोगविरुद्धको खोप अभियान, औषधि उपचार, गोठाला बस्नका लागि त्रिपाल, मोबाइल चार्जका लागि सोलार र गोठ सुधारका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । गोठलाहरुको नियमित स्वास्थ्य परीक्षणमासमेत जोड्ने गरिएको छ । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङमा परम्परागत घुम्ती गोठमा परम्परागत हिसाबले पशुपालन गर्ने चलन छ ।
मुस्ताङ: कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । कोरला नाका पूर्ण रुपमा सञ्चालनमा आएदेखि हालसम्म यहाँको कोरला नाका हुँदै चीनतर्फबाट रु १० अर्ब ८२ करोड ९८ लाखको मालवस्तु नेपाल भित्रिएको बताउनुभयो । यसैगरी नेपालबाट हस्तकलालगायतका नेपाली उत्पादन रु १८ करोड ९७ लाख ७८ हजार बराबरको मालवस्तु यहाँको भन्सार कार्यालयमा जाँचपाँस भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो । कोरला नाकाबाट हालसम्म दुई हजार ७४ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आइतबारदेखि कोरला नाकाबाट थप चिनियाँ विद्युतीय सवारीसाधन नेपाल भित्रिने क्रममा रहेको उहाँले बताउनुभयो । यसै महिना बिवाइडी कम्पनीले कोरला नाकाबाट पाँच सय बढी विद्युतीय सवारीसाधन चीनबाट पैठारी गरिरहेको भन्सार जनाएको छ । सोही कम्पनीको ३०० बढी विद्युतीय सवारी भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले बताउनुभयो । यहाँको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भई निकासी तथा पैठारी भएका मालवस्तु तथा विद्युतीय सवारीसाधनबाट रु पाँच अर्ब छ करोड ६२ लाख सङ्कलन भएको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो । नेपाली बजारमा विद्युतीय कारको प्रयोग बढ्दै गएकाले पछिल्लो समय नेपालका विभिन्न कम्पनीले कोरला नाकाबाट चीनमा बनेका विद्युतीय सवारीसाधन आयात गर्दैआएका छन् । इन्धनको बचत तथा कार्बन उत्सर्जन घटाउन यस प्रकारका विद्युतीय सवारीसाधन उपयोगी हुने भएकाले सरकारले यस्ता सवारीसाधनलाई भन्सार सहुलियत प्रदान गरिएकाले नेपालमा विद्युतीय सवारीसाधनको माग बढेको हो । हिउँदयामको प्रतिकूल मौसममा समेत चीनबाट धमाधम कोरला नाका हुँदै विद्युतीय सवारीसाधन भित्रिएपछि कोरला नाकाको चहलपहल र भन्सार कार्यालयको कार्यसम्पादन गतिशील बनेको पाइएको छ । हिउँदयामसँगै ४६१० मिटरको उचाइमा अवस्थित कोरला नाकाको बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्री रहेको छ । प्रतिकूल मौसमका बाबजुत कोरला नाकाबाट विद्युतीय सवारीसाधन नेपाल भित्रिदै छन् । यहाँस्थित मुस्ताङ भन्सारमा जाँचपास सकेका विद्युतीय सवारीसाधनलाई जोमसोमसम्म र जोमसोमबाट पोखरासम्म चालकले गन्तव्यतर्फ पु¥याउन थालेका छन् । यसरी मुस्ताङबाट बाहिरिएका विद्युतीय सवारीसाधनलाई पोखराबाट अर्को चालक समूहले सम्बन्धित कम्पनीको शोरुमसम्म पु¥याउने गरेका छन् । त्यसअघि यहाँ भित्रिने विद्युतीय सवारीसाधनलाई चिनियाँ भन्सारबाट स्थानीय सीमापार पास भएका चालकले चलाएर कोरला नाकाको नेपालतर्फ बाहिर निकाल्ने काम गर्छन् । प्रतिकूल मौसमका कारण कोरला नाका बन्द हुने अनुमान गरिए पनि चीनतर्फबाट धमाधम मालवस्तु र विद्युतीय सवारीसाधन भित्रिँदा कोरला नाकाबाट दुई देशबीचको आयातरनिर्यात चलायमान भएको हो । नाकाबाट धमाधम विद्युतीय सवारीसाधन भित्रिन थालेपछि बेनी–जोमसोम–कोरला सडकमा सञ्चालित विद्युतीय ‘चार्जिङ स्टेशन’हरु व्यस्त छन् । हिउँदयामको मौसममा माथिल्लो मुस्ताङका नागरिक धमाधम बेँसी झरिसकेको भए पनि कोरला नाकामा आयातरनिर्यातको कारोबार घटेको छैन । भन्सार प्रमुख खड्काले विद्युतीय सवारीसाधनका अलावा हालसम्म दैनिक १०र१२ मालबाहक कन्टेनर मालवस्तु नेपाल–चीन निकासीरपैठारी भइरहेको जानकारी दिनुभयो ।
म्याग्दी: मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट ल्याएको कोलमा हरेक वर्ष पुष र माघमा उखु पेल्ने चलन छ । रामबहादुरका छोरा नातिहरूले पनि हलगोरुको सहायतामा कोल घुमाउने पुरानो चलन र परम्परालाई निरन्तरता दिएका छन् । रामबहादुरका नाति ध्रुव खत्रीले उखु पेल्ने विद्युतीय उपकरणको विकास भए पनि कोलमा उखु पेल्ने चलन अझै कायमै रहेको बताउनुभयो । “त्यसबेला काठको कोलमा उखु पेल्न दुःख भएपछि हाम्रा हजुरबुबाले भारतबाट ल्याएको कोलका पाटपुर्जा नाउडाँडाबाट भरियाले पाँच दिन लगाएर यहाँ ल्याउनुभएको रहेछ”, उहाँले भन्नुभयो, “एक सय किलोग्राम तौल भएको तीनवटा पाटपुर्जा ल्याएपछि यस क्षेत्रका किसानलाई उखु पेल्न सजिलो भएको थियो ।” सिमलचौरका दलबहादुर जिसी, गणेशबहादुर जिसी र चाउरे कामीले नाउडाँडाबाट कोल बोकेर सिम ल्याउनुभएको थियो । त्यसबेला ग्रामीण क्षेत्रमा गुलियोका लागि उखुको रस पकाएर बनाइने खुदो प्रयोग हुन्थ्यो । त्यसबेला गुलियोका लागि पनि घरैपिच्छे उखुखेती गर्ने चलन थियो । पुर्खाले सुरु गरेको कोल हाल्ने चलनलाई आफूहरूको पालामा पनि निरन्तता दिएको खत्रीले बताउनुभयो । कोलमा उखु पेलेबापत १० लिटर बराबर रु एक सय शुल्क तोकिएको छ । उखु पेल्न पालो लगाउनुपर्छ । सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट किसानहरू आउने गरेका छन् । मङ्गला गाउँपालिका–२ तोराखेतका श्रीकृष्ण पौडेलले उखुको रसबाट बनाएको खुदोलाई धार्मिककार्यका साथै मानिसलाई घाँटी दुखेको र गाईभैँसी बिरामी भएमा औषधिका रूपमा खुवाउने चलन छ । गर्मीमा खुदो मिसाएको पानी पिउँदा शीतल हुने उहाँको अनुभव छ । मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाउएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ । गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन् । फलामको कोलको बीचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ । कोल चलाउन दुईदेखि तीन जना जनशक्ति आवश्यक पर्छ । कोलमा पेल्दा धेरै रस आउने, शुद्ध, स्वस्थ हुने उपभोक्ता राजाराम उपाध्यायले बताउनुभयो । कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाउने गरिन्छ । चिनीको उपलब्धता नहुँदा गाउँघरमा गुलियोगका लागि खुदो प्रयोग हुन्थ्यो । खुदोलाई पूजाआजामा पनि प्रयोग गरिने मङ्गला गाउँपालिका–२ सिमलचौरकी रूपा जिसीले बताउनुभयो । विवाह, व्रतबन्धका लागि लड्डु र कसार बनाउनका लागि खुदो आवश्यक पर्छ । यसैगरी देवीदेवतालाई प्रसादका रूपमा पनि खुदो चढाउने चलन छ ।
पोखरा: विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट पोखरा चिप्लेढुङ्गामा रहेको सेलवेजमा बिहीबार उद्घाटन गरेको छ । सेलवेज क्यास एण्ड क्यारी प्रालिका अध्यक्ष कृष्णदेव प्रधानाङ्ग र पोखरा वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गरे । यो सँगै पोखरामा केएफसीको दोस्रो आउटलेट खुलेको छ । नयाँ आउटलेट चिकेनप्रेमीका लागि आकर्षक गन्तव्य बन्ने कम्पनीको विश्वास छ । ‘विश्वमा उत्कृष्ट चिकेन’ को पहिचान बनाएको केएफसी ग्राहकलाई हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, जिन्जर बर्गर र केएफसी बकेटजस्ता स्वादिष्ट परिकार पस्किदै आएको छ । पोखराका चिप्लेढुङ्गा शाखामा १४ जनाले रोजगारी पाएका छन् भने देश भर ४ सय भन्दा बढि जनाले रोजगारी पाएको देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहले जानकारी दिए । उद्घाटनका अवसर पारेर शुक्रबार विशेष छुटको व्यवस्था गरेको छ । दैनिक बिहान ९ बजे देखि राति ९ बजेसम्म यो आउटलेट सञ्चालन हुनेछ । देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहले सातदोबाटोमा खुलेको यो आउटलेट सेल्सबेरीसँगको सहकार्यमा खुलेको पहिलो भएको बताए । सन् २००९ मा नेपाल प्रवेश गरे कम्पनीले पोखराको लेकसाइडमा सन् २०१७ मा आउटलेट खोलेको थियो । कम्पनीले नेपालमा २०२५ डिसेम्बरसम्म देशभरि २५ आउटलेट पु¥याउने लक्ष्य लिएको शाहाले बताए । नयाँ शाखा सञ्चानलसंगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा केएफसी सेलिब्रेसन अफर ल्याएको उनले बताए । केएफसीले नियमित रूपमा विभिन्न अफर पनि ल्याउने गरेको उनको भनाई छ ।
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । आइतबारको तुलनामा आज प्रतितोला १३० रुपियाँले बढेर चाँदी प्रतितोला मूल्य चार हजार २३५ रुपियाँ कायम भएको छ । अघिल्लो दिन चाँदी चार हजार १०५ रुपियाँमा कारोबार भएको थियो ।
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो रु १२० भन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट रु ४०र५० मै ल्याउने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताउनुभयो । व्यापारीका कारण किसान र उपभोत्ता मारमा परेको उहाँको भनाइ छ । किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउनुहुन्छ । आफूले हरेक वर्ष लाखौँको सुन्तला उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । किसानले नै उत्पादन बजारीकरण गर्न सक्ने वातावरण अझै तयार हुन नसकेको खड्का बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिगानामा सुन्तला धेरै नै उत्पादन हुन्छ, उत्पादनअनुसारको मूल्य पाउन सकिन्थ्यो भने यस क्षेत्रका किसानको जीवनस्तर माथि उठ्नेमा कुनै शङ्का छैन, तर मूल्य नै पाउन सकेका छैनौँ, साउन, भदौमा गाउँमा आएर व्यापारीले सुन्तलाको बगान नै किन्छन्, हामीले प्रतिकिलो रु ४०/५० भन्दा बढी पाउने अवस्था छैन, बजारमा किन्ने उपभोक्ताले बढी मूल्य तिर्छन् ।” अर्का किसान हरिप्रसाद कँडेलले व्यापारीका कारण किसान र उपभोक्ता बढी मारमा परेको बताउनुभयो । किसानबाट खरिद गरेको सुन्तलाको मूल्य बजारमा पुर्याएर अस्वाभाविक नाफा लिने गरेको उहाँको भनाइ छ । किसानबाट प्रतिकिलो सुन्तला रु ८० मा खरिद गरेर बजारमा रु १०० मा बिक्री गर्दा किसान र उपभोक्ता मारमा नपर्ने उहाँ बताउनुहुन्छ । कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार हजार ७१।६ मेट्रिक टन सुन्तला फलेको थियो । यस वर्ष किसानले बल्ल सुन्तला टिप्न थालेको हुँदा तथ्याङ्क आउन बाँकी छ ।
पोखरा: फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालै मात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो । राइज फिटनेसका संचालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरु विस्तार गरेको बताए । बैशाख महिनामा सिर्जनचोकमा स्थापना गरिएको राइज फिटनेसको शाखा विस्तार गरि शान्तिनगर चोकमा गरिएको उनले बताए । राइज फिटनेसका तीनै शाखामा नयाँ प्रविधि–मैत्री फिटनेस मेसिनहरु जडान गरिएको भनाई उनको छ । जीममा नयाँ सदस्यका लागि १५ देखि २० दिनसम्म प्रशिक्षकद्वारा निःशुल्क प्रशिक्षण उपलब्ध गराइन्छ । दुई जना दक्ष ट्रेनरमार्फत दैनिक तालीम प्रदान गरिने र उक्त सेवाका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने भण्डारीले बताए। फिटनेस सेवालाई सबैका लागि पहुँचयोग्य बनाउन राइज फिटनेसले मासिक रु ३,००० र त्रैमासिक रु ७,००० को शुल्क निर्धारण गरेको छ । ग्राहकलाई थप प्रोत्साहित गर्न भर्ना शुल्क समेत नलाग्ने व्यवस्था गरिएको छ । राइज फिटनेसका तीनै शाखामा गरी ५÷५ जना कर्मचारी खटाइएका छन्। संचालक भण्डारीका अनुसार नयाँ शाखासहित पोखरामा राइज फिटनेसमा ५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । उनका अनुसार शान्तिनगर चोकको नयाँ शाखा मात्र २ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। व्यवसाय विस्तारसँगै आम्दानीसमेत सन्तोषजनक रहेको भण्डारीको भनाइ छ। पहिले जीमप्रति ‘त्रास’ वा ‘भय’ भएको धारणा रहे पनि अहिले फिटनेस, स्वास्थ्य, शरीर नियन्त्रण र खेलकुद करिअर निर्माणका लागि जीम पस्ने संस्कार विकसित भइरहेको भण्डारी बताउँछन्। राइज फिटनेसमा १५ वर्षदेखि वृद्ध उमेर समूहसम्मका सदस्यहरू नियमित रूपमा आउने गरेका छन्। “हामीले फिटनेसलाई स्वास्थ्य सुधारको मुख्य आधारका रूपमा अघि बढाएका छौँ। खेलकुदमा व्यावसायिकता ल्याउन पनि फिटनेस अत्यावश्यक भएकाले युवा मात्र नभई सबै उमेर समूहलाई जोड्ने प्रयास गरेका छौँ,” भण्डारीले भने। भण्डारीका अनुसार फिटनेस उद्योगमा प्रतिस्पर्धा बढ्दै गए पनि ग्राहकको विश्वासलाई मुख्य आधार मान्दै राइज फिटनेसले समयअनुसार सुविधा, मेसिन, तालीम विधि र व्यवस्थापनमा निरन्तर परिवर्तन गर्दै आएको छ। “हामीले पहिलो शाखाबाट सुरु गरेको यात्रालाई विस्तार गर्दै पोखराका विभिन्न क्षेत्रमा सेवा पुर्याइरहेका छौँ। भविष्यमा अझ आधुनिक सेवा थप्ने योजना छ,” भण्डारीको भनाइ छ ।
काठमाडौं: सुनको मूल्य शुक्रबार फेरि २ लाख ५० हजार रुपैयाँ नाघेको छ । हिजो घटेको सुनका मूल्य आज बढेसँगै पुनः २ लाख ५० हजार नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

