काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

काठमाडौं: स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ कायम थियो ।  आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ११५ रुपैयाँ कायम भएको छ । 

तनहुँ:  देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैँको पिरलो बनेको छ । यहाँबाट करोडौँ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैँ झेल्नुपरेको हो । यहाँ उत्पादित सुन्तला तनहुँ, पोखरा, चितवन, काठमाडौसम्म पुग्ने गरेको छ । यस वडाको छिपछिपे, बाटक, छापस्वाँरा, दगरा, लुङ्ग्रिङबाट करोडौ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको कृषक रणबहादुर मगरले जानकारी दिए । सुन्तला बजारसम्म पु¥याउन भने सधैँ समस्या झेल्नुपरेको उनको गुनासो छ । उनले भने, ‘यहाँका कृषकको मुख्य आम्दानी सुन्तला खेती नै हो । कालीगण्डकी, सेतीमादी र त्रिशुली नदीले घेरिएको उक्त वडामा जान कुनै पनि नदीमा पक्की पुल बनेको छैन । पक्की पुल नहुँदा उक्त उत्पादित करोडौँ मूल्यको सुन्तला बजारसम्म लैजान सकस हुने गरेको छ ।’ सुन्तलाको बोटमा रोग लागेर यसवर्ष उत्पादनमा कमी भएपनि आम्दानी भने गत वर्ष भन्दा ३० प्रतिशत बढि भएको उनले बताए । गत वर्षहरुमा मङ्सिरको दोस्रो साता सुन्तला बजार पठाउने गरिएपनि यस वर्ष भने पहिलो सातामै सुन्तला बजार पठाइएको कृषक प्रेमबहादुर मगरले बताउनुभयो । उनका अनुसार प्रति क्रेट एक हजार चार सय रुपैयाँमा सुन्तला विक्री भएको छ । कृषक भीमबहादुर रानाले सिधा सडक सञ्जाल विस्तार नभएकाले घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नुपरेको गुनासो गरे । उनले भने, ‘केही कृषकले मुग्लिन–नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्छन् । छापस्वाँरा, दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाडौं लैजाने गरेका छन् । सडक पहुँच अभावका कारण यहाँका किसानले बिचौलियाका माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौसम्म बजार विस्तार गर्न बाध्य भएका छन् । यस वडाको लुङ्ग्रिङमा एकै घरबाट २० लाख रुपैयाँसम्मको सुन्तला विक्री हुने गरेको बताइन्छ ।

काठमाडौं:  बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज  सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज एक तोला सुनको मोल रु. दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु। दुई लाख ४१ हजार ७०० मा कारोबार भएको थियो ।  त्यसैगरी, चाँदीको मूल्य  प्रतितोला रु। तीन हजार १३५ कायम भएको छ । त्यति नै परिमाणको चाँदी शुक्रबार रु। तीन हजार १०० मा खरिदबिक्री भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

पोखरा:  स्किन केयरका लागि स्थापित कोरियन एस्थेटिक ‘लेट मि इन’ ले पोखरामा शाखा विस्तार गरेको छ ।  चिप्लेढुंगामा रहेको पोखरा टे«ड मलको चौंथो तलामा शुक्रबारदेखि शाखा सञ्चालनमा आएको हो । ‘लेट मि इन’ को उद्घाटन कलाकार नीति शाह, डिजिटल कन्टेन्ट क्रियटर तथा भ्लगर सिसन बानियाँ र प्रबन्ध निर्देशक लि मिन क्योङले गरे । काठमाडौंको बानेश्वर र महाराजगञ्जपछि पोखरामा यो तेस्रो शाखा हो । शाखा उद्घाटनमा नायिका नीति शाहले ‘लेट मि इन’ को सेवाबाट आफू प्रभावित भएको बताइन् । लेट मि इनको ब्रान्ड एम्बास्डर समेत रहेकी उनले कोरियन स्किन प्रडक्ट विश्वबजारमा चम्किरहेको अवस्थामा नेपालीका लागि पनि उपयुक्त हुने बताइन् । ‘लेट मि इनको सेवा मात्रै राम्रो छैन, प्रविधि र उपकरणमा पनि अब्बल छ,’ उनले भनिन्, ‘ब्रान्ड एम्बेस्डरको रुपमा मात्रै होइन, एक उपभोक्ताको रुपमा पनि खुसी छु ।’ भ्लगर सिसन बानियाँले विश्वव्यापी रुपमा प्राप्त हुने सुविधा अब पोखरामा आएको बताए । उनले लेट मि इनसँगको आफ्नो अनुभव उत्कृष्ट रहेको बताउँदै यहाँ प्राप्त हुने सेवाले आत्मविश्वासी बनाउने उल्लेख गरे । कोरियन एस्थेटिकका प्रबन्ध निर्देशक मा दोङ सोले सफा, सुन्दर र शान्त वातावरणमा उत्कृष्ट उत्पादनको प्रयोग गर्ने उद्देश्यले शाखा विस्तार गरेको बताए ।  ‘यो मानिसलाई सुन्दर बनाउने कुरा मात्रै होइन, त्यसभन्दा एक कदम अगाडि बढेर सेवा दिन पनि आएका हौं,’ पोखरामा आउनुको कारणबारे उनले भने, ‘उपभोक्तालाई खुसी बनाउनु हाम्रो लक्ष्य हो ।’ उनले काठमाडौंमा जत्तिकै सेवा सुविधा पोखराको शाखामा पनि उपलब्ध हुने जानकारी गराए । भने, ‘अनुसन्धानपछि आएका नयाँ–नयाँ प्रविधि भित्र्याउने हाम्रो लक्ष्य छ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवराम तिवारीले स्किन केयरका लागि लेट मि इन उत्कृष्ट रोजाइ हुने बताए । कम्पनीका कन्ट्री म्यानेजर विनोद सुवेदीका अनुसार झण्डै ४ करोड रुपैयाँको लगानीमा पोखरा शाखा सञ्चालनमा आएको हो ।  पोखरा शाखामा हाल डाक्टर, नर्स सहित १५ कर्मचारी कार्यरत छन् । बानेश्वर, महाराजगञ्ज र पोखरा समेत गरी ७५ जनाले रोजगारी पाएका छन् । उनले स्किन केयरका लागि लेट मि इनमा जत्तिकै उपकरण अन्यत्र नभएको उल्लेख गरे । पोखरा शाखामा कार्यरत नर्स सदिक्षा थापाले शाखा सञ्चालनको अवसरमा नोभेम्बर ३० सम्म डाक्टर परामर्श निःशुल्क गरिएको र अन्य सेवामा ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिइन् ।  कोरियन सौन्दर्य सामग्रीमा एउटा किन्दा अर्को सित्तैमा दिने अफर पनि यही अवधिमा रहेको उनले सुनाइन् । उनका अनुसार पोखरा शाखाबाट हेयर ट्रान्सप्लान्ट, हेयर रिडक्सन ट्रिटमेन्ट, फेसियल्स, एन्टी एजिङ ट्रिटमेन्ट, स्कार ट्रिटमेन्ट, हेयर रेस्टोरेसन ट्रिटमेन्ट, टाटु रिमुभल, डन्डिफोर, कालोपोतो लगायतको उपचार, हाइपरबेरिक अक्सिजन थेरापी लगायत सेवा प्रदान हुन्छ ।

काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।  यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार ३ हजार १५० रुपैयाँ कायम थियो । 

तनहुँ:  तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास ९होमस्टे० पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चालक आशा दरै भन्छिन्, ‘यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन् । विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो । यस वर्ष धेरै मकै फल्यो सुली पनि विशाल छ ।’ यो वर्ष पर्याप्त उत्पादन भएका दुम्सीका घरैपिच्छे मकैका सुली भेटिन्छन् । विगतमा मकै लगाउने बेला तथा गोड्ने बेलामा किरा लाग्नुका साथै मलको अभाव किसानले बेहोर्नुपरेको थियो । यो वर्ष समस्या नभएकाले जिल्लामा पर्याप्त मकै उत्पादन भएको कृषि विकास कार्यालयका बाली विकास अधिकृत किरण परियारले बताए । आर्थिक वर्ष २०७९/८० मा २२ हजार २३८ हेक्टर क्षेत्रफलमा गरिएको मकैखेतीबाट ६७ हजार १५ मेट्रिक टन उत्पादन भएको थियो । २०८०/८१ मा २२ हजार ३४८ हेक्टर क्षेत्रफलबाट ६७ हजार २०० मेट्रिक टन मकै उत्पादन भएको थियो भने उत्पादकत्व तीन दशमलव ०१ रहेको थियो । आव २०८१/८२ मा २२ हजार १९५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ७३ हजार २४६ मकै उत्पादन भएको छ । ‘तनहुँ धानका साथै मकै उत्पादनको क्षेत्र पनि हो । जिल्लाको ऋषिङ गाउँपालिका नै पहिले मकैको बीउ उत्पादनको पकेट क्षेत्र हो’, बाली विकास अधिकृत परियारले भने । तनहुँ धान, मकै, कोदो, गहुँ, भटमास, अदुवाका लागि उपयुक्त छ । सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र पनि हो ।

काठमाडौं:  स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।  आज सुनको मूल्य तोलाको रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३९ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ९० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

म्याग्दी:   यहाँ उत्पादन हुने कोदोको परिकारको विविधीकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ ।  कोदोको परिकार ढिँडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न थाल्नुभएको छ । “पहिलेपहिले कोदोखेती गर्ने र यसका परिकार उपभोग गर्नेलाई गरिब भनेर हेप्ने चलन थियो”, उहाँले भन्नुभयो, “स्वस्थकर र पोषिलो कोदोको महत्व बुझेपछि माग आउन थालेपछि मैले पनि बिस्कुट बनाएर बेच्न थालेको छु ।” यसअघि धवलागिरि गाउँपालिका–७ ताकममा धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले कोदाको पीठो प्रशोधन गरी बिस्कुट उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्के हिल रिसोर्टले पनि पाहुनालाई चखाउन र बजारमा बिक्री गर्न कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेको छ । उद्यमी खड्काले गाउँबाट काम विशेषले बजारमा बसाइँसराइ गरेका, विदेशमा रहेका र भ्रमणमा आउने पाहुनाले कोदोको पीठो र बिस्कुट किनेर लैजाने गरेको बताउनुभयो । कोदोको बिस्कुटको माग ग्रामीण क्षेत्रको तुलनामा बजारबाट बढी आउने गरेको व्यवसायी खड्काले बताउनुभयो । भुटेको कोदोको पीठोमा चिनी, मह, उखुको खुदो मिसाएर बिस्कुट बनाउने गरिएको छ । प्रतिदर्जन (१२ वटा) कोदोको बिस्कुट रु. ६० का दरले बिक्री हुने गरेको छ । पर्यटकीय जिल्ला मुस्ताङ र अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र पोखरबेगरमा स्थानीय उत्पादनको कोसेलीघर सञ्चालन र कोदोको बिस्कुटका साथै पाउरोटी बनाउने तयारी गरेको उद्यमी खड्काले बताउनुभयो । कोसेलीघर स्थापना र कोदोको बिस्कुट बनाउन आवश्यक पर्ने ‘ओभन’ गर्न कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा रु। दुई लाख अनुदान सहयोग गरेको थियो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले परम्परागत बाली संरक्षण र प्रवर्द्धन कार्यक्रममार्फत कोदोलगायत खाद्य, दलहन बालीको खेती विस्तार, प्रशोधन, प्याकेजिङ र बजारीकरणमा सहयोग गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि म्याग्दीमा प्रदेश सरकारबाट रु। १५ लाख बजेट विनियोजन भएको छ । कार्यक्रममार्फत उद्यमी तथा किसानले परियोजनाको कुल लागतको ५० प्रतिशत अनुदान पाउनेछन् । केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ । समुद्री सतहदेखि तीन हजार १०० मिटर उचाइको भूगोलसम्म कोदोखेती गर्न सकिन्छ । क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइने कोदोलाई बालबालिकादेखि ज्येष्ठ नागरिकका लागि उत्तम खानाका रूपमा लिइन्छ । गर्भवतीहरूका लागि पनि कोदो पोषिलो खाना हो । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने र झाडापखलाका रोगीका लागि कोदो अति राम्रो मानिने केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो । कोदोको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउँछ । नेपालमा नसर्ने रोगबाट ग्रसित हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा कोदोको परिकार उपभोगका लागि माग बढेको ताकमका उद्यमी अनिल भण्डारीले बताउनुभयो ।  खेती घटेर संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको कोदोको परिकारलाई विविधीकरण र बजारीकरण गर्दा किसानलाई फाइदा पुग्ने र आयात घटाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

काठमाडौं:  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा छ हजार नौ सय रुपियाँले गिरावट आएको छ । आज एक तोला सुनको मोल दुई लाख ४२ हजार आठ सय रुपियाँ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन दुई लाख ४९ हजार सात सयमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि रु. १५० ले घटेको छ ।  आज चाँदी प्रतितोला रु। तीन हजार १३५ मा कारोबार भइरहेको छ ।  गत शुक्रबार त्यति नै परिमाणको  चाँदी रु। तीन हजार २८५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।