झापा: चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् । काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै रु एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् । काँकडभिट्टाबाट रु २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बङ्गलादेश निर्यात भएको छ । द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताउनुभयो ।
झापा: चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताउनुभयो । चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रु छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा रु पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।
हुम्ला: जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार चिनोको चामल प्रतिकेजी रु १८०, कागुनोको चामल प्रतिकेजी रु १८०, सिमी प्रतिकेजी रु १७०, तिते फापर प्रतिकेजी रु १००, मिठे फापर प्रतिकेजी रु १२०, उवा प्रतिकेजी रु १२० र कोदो प्रतिकेजी रु १०० मूल्य निर्धारण गरिएको छ । चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा रु पाँचले बढाइएको छ भने सिमीमा प्रतिकेजी रु १० बढाइएको छ । यी सबै रैथाने बालीको खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्नेछ । हुम्लामा रैथाने बालीको आधिकारिक रुपमा मूल्य निर्धारण गर्न सुरु गरिएको यो तेस्रो वर्ष हो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामालगायतको उपस्थिति थियो ।
काठमाडौँ: गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रू १५ ले घटेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं: आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रू एक हजार र चाँदी तोलामा रू ३५ घटेको हो । बिहीबार प्रतितोला रू एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा रु १५ ले घटेको छ । सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु १५ ले घटेर रु दुई हजार ३० निर्धारण भएको छ । बुधबार सोही परिमाणको चाँदी रु दुई हजार ४५मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुदूरपश्चिम: कैलालीमा गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैते धानको उत्पादन बढाएको हो । खेतमा फष्टाएको गहुँ बाली देखेर कैलारी गाउँपालिका–५ का किसान दीपक चौधरी खुशी हुनुहुन्छ । दीपकसहित यहाँका किसानले ‘सुपर जोन’ कार्यक्रममार्फत गहुँखेती गरिरहेका छन् । “सुपर जोन कार्यक्रममा समेटिएपछि पहिलेभन्दा गहुँको उत्पादकत्व वृद्धि भएको छ । करिब १५ बिघा जग्गा भाडामा लिएर गहुँखेती गरिरहेको छु”, चौधरीले भन्नुभयो, “पहिले प्रतिबिघा १२–१३ क्विन्टल गहुँ फल्नेमा सुपर जोन कार्यक्रममा समेटिएपछि २० क्विन्टलसम्म फल्न थालेको छ ।” भजनी नगरपालिका–३ ढुसी गाउँका सीताराम चौधरी धानबालीमा सञ्चालित जोन कार्यक्रममार्फत चैते धानखेती गरिरहनु भएको छ । यहाँका किसानले करिब पाँच सय बिघामा यो धान रोप्ने तयारी गरिरहेका छन् । “सुरुका वर्षमा आफूले बीउ ल्याएर चैते धान रोप्दा गाउँलेले आफूलाई चैतमा पनि धान रोपेको भन्दै बौलाएको भन्थे । अहिले यहाँका अधिकांश किसानले यसको खेती गर्न थालेका छन्”, सीतारामले भन्नुभयो, “वैशाख र जेठमा चैते धानलाई मौसम अनुकूल हुने भएकाले वर्षे धानको तुलनामा उत्पादन बढी हुने गरेको छ ।” प्रतिबिघामा ४५ क्विन्टलसम्म चैते धान फल्ने अनुभव सुनाउँदै उहाँले गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन वृद्धि भएको बताउनुभयो । भजनी क्षेत्रमा काँडा, पथरैया र कान्द्रा नदीले वर्षायाममा निम्त्याउने डुबानका कारण वर्षे धानबाली नष्ट हुने गरेको किसान बताउँछन् । डुबानको समस्या बढ्दै जान थालेपछि यहाँका किसानले विकल्पका रूपमा चैते धानखेती गर्न थालेका हुन् । “वर्षामा खेतमा डुङ्गा चलाउन मिल्ने गरी हुने डुबानको समस्याले वर्षे धान बाली नष्ट हुने गरेको छ”, सीतारामले भन्नुभयो, “वर्षामा हुने धानखेतीको विकल्पमा अधिकांश किसानले चैते धान लगाउन थालेका छन् ।” किसानले डुबान नहुने समयमा चैते धानखेती गर्न थालेका बताउँदै उहाँले जोन कार्यक्रम सञ्चालन भएपछि किसान थप उत्साहित भएका उहाँको भनाइ छ । आर्थिक वर्ष २०७८/७९ देखि जिल्लामा चैते धानको जोन कार्यक्रम सुरु भएको थियो । भजनी नगरपालिकाभित्र सुरुमा पाँच सय हेक्टरमा खेती गरिएकामा हाल यसको क्षेत्रफल विस्तार गरी एक हजार हेक्टर पुर्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ । परियोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख गोविन्दराज जोशीले भजनी नगर क्षेत्र, जोशीपुर र जानकीनगर गाउँपालिकामा चैते धानअन्तर्गत ‘जोन कार्यक्रम’ कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार गौरीगङ्गा, भजनी र घोडाघोडी नगरपालिका, बर्दगोरिया, जोशीपुर र जानकीनगर गाउँपालिकामा गहुँ बालीको ‘सुपर जोन कार्यक्रम’ सञ्चालन भइरहेको छ । गहुँ बालीको कार्यक्रमअन्तर्गत सुरुका वर्षमा एक हजार हेक्टर क्षेत्रफलमा खेती गरिएकामा हाल क्षेत्रफल विस्तार गरी तीन हजार हेक्टर पुर्याइएको जनाउँदै जोशीले जिल्लाको घोडाघोडी, भजनी नगरपालिका र बर्दगोरिया, जानकीनगर गाउँपालिकामा तेलहन जातको खेती भइरहेको उल्लेख गर्नुभयो । चालु आवदेखि धनगढी उपमहानगर क्षेत्रका साथै घोडाघोडी, भजनी र कैलारी गाउँपालिका क्षेत्रमा ‘माछा जोन’ कार्यक्रम कार्यान्वयन गरिएको इकाई प्रमुख जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रमअन्तर्गत माछापालनमा सहभागी किसानलाई प्राकृतिक तालतलैयाको सुधार, आधुनिक यन्त्र तथा उपकरणको सुविधा, नयाँ पोखरी निर्माण, प्रविधिको व्यवस्थालगायत सहयोग उपलब्ध गराउँदै आइएको छ । कृषक समूह, सहकारी संस्था र कृषि उद्यमीमार्फत् सञ्चालन भइरहेको सुपर जोन र जोन कार्यक्रम कार्यान्वयनका लागि परियोजना कार्यालयले उन्नत जातका बीउ, मलखाद, सिँचाइ, कृषियन्त्र, माटो परीक्षण, प्रशोधन केन्द्र स्थापना तथा सञ्चालनलगायत सहयोग गरिरहेको प्रमुख जोशीले बताउनुभयो । “सुपर जोन र जोन कार्यक्रम कार्यान्वयनसँगै पहिलेको भन्दा बालीको उत्पादकत्व पनि वृद्धि भएकोे छ”, उहाँले भन्नुभयो “बालीका लागि उर्बर मानिने जग्गामा ती कार्यक्रम सञ्चालनका लागि छनोट गरी खेती गर्न किसानलाई उन्नत जातका बीउ, सिँचाइ, यन्त्रलगायत प्रविधिमा सहयोग उपलब्ध गराइरहेका छौँ ।” कृषि प्रविधिको सुनिश्चिता, बजारीकरणको व्यवस्थाका साथै सहुलियत ऋण, कृषि बिमाको व्यवस्था हुनसके कार्यक्रम थप प्रभावकारी हुने इकाई प्रमुख जोशीको भनाइ छ । उहाँले भन्नुभयो, “कृषिमा अनुदान दिने गरेका छौँ, तर अनुदान नपाउने कृषकमा असन्तुष्टि देखिने गरेको छ । यसले कृषि प्रणालीमा प्रतिकूल असर पुगिरहेकाले सबैलाई अनुदान दिने व्यवस्था गर्नुपर्छ । यसमा सरोकार भएका निकायले आवश्यक समन्वय गर्नु जरुरी छ ।” नेपालमा परम्परागत रूपमा निर्वाहमुखी खेती गरिँदै आएकामा कृषिको उत्पादन वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको बजारीकरण, बाली उत्पादनमा यन्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्थासहित आधुनिकीकरण, व्यावसायीकरण गरी कृषि उपजको आयात घटाउँदै जाने उद्देश्यले सरकारले आव २०७३/७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरेको हो । यो परियोजनाअन्तर्गत मुलुकका विभिन्न जिल्लामा विभिन्न बालीमा सुपर जोन र जोन कार्यक्रम सञ्चालन भइरहेका छन् ।
काठमाडौं: सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
खोटाङ: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष रु ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाको घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न सुरु गरिएको नगरउपप्रमुख विशन राईले बताउनुभयो । “यस वर्ष चार सय राँगा वितरण गर्ने कार्यक्रम छ”, उहाँले भन्नुभयो, “नगरपालिकाको कृषि कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा किसानलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको छ । हालसम्म दुई सय राँगा वितरण गरिसहेका छौँ ।” पन्ध्र वडा रहेको यो नगरपालिकाको वडा नं ३ बाम्राङमा रु १६ लाख, वडा नं ४ खाल्लेमा रु सात लाख, वडा नं ५ लफ्याङमा रु १२ लाख, वडा नं ७ दोर्पामा रु तीन लाख र वडा नं १५ विजयखर्कमा रु आठ लाख ५० हजार बराबरको राँगा वितरण गरिसकिएको छ । उक्त वडामा बाँकी रकमको समेत राँगा खरिद गरेर किसानलाई वितरण गरिने उपप्रमुख राईले जानकारी दिनुभएको छ । राँगा खरिद गरिएको कुल मूल्यको २५ प्रतिशत मूल्य किसान स्वयंले भुक्तानी गर्नेगरी राँगा वितरण कार्यक्रम तय गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । कृषक समूहको खातामा रकम जम्मा गरिदिएपछि समूह आफैँले खरिद–ढुवानी तथा वितरण गर्ने गरिएको छ । कृषिलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले विशेषगरी युवालाई रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले राँगा वितरण कार्यक्रम तय गरेको जनाइएको छ । राँगा तथा भैँसीपालनमार्फत मल पनि उत्पादन हुने हुनाले तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको छ । नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ । आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरिएको छ । नगरपालिकाको लगानीमा ती नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्कीइरहेका छन् । बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख जैसीले बताउनुभयो । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा दैनिक ज्यालादारीका करिब एक सय जना कामदार खटिएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रमअन्तर्गत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब भित्रिने अनुमान गरिएको उपप्रमुख राईले बताउनुभयो । “दिक्तेलमा उत्पादन भएको कफी स्थानीय बजारसँगै देशका विभिन्न सहरमा बिक्री गर्ने योजना छ । नेपालमा खपत नभएको कफी बेलायत पठाउँछौँ”, उहाँले भन्नुभयो, “प्रशोधन गर्दा त नेपालमै खपत भइहाल्छ । कतिपय कफी प्रशोधन नगरी सिधैँ बेलायत पठाउने छौँ । त्यसका लागि सम्झौता भइसकेको छ ।” नगरपालिकाले सुरु गरेको किबीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत रोपिएका किबीले उत्पादनसमेत दिन थालिसकेका छन् । उत्पादित किबी सङ्कलन गरेर प्रशोधन गर्नेगरी वडा नं ६ नेर्पामा प्रशोधन केन्द्र स्थापना गरिएको छ ।