काठमाडौं: सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू सात सय बढेको हो । त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला रू दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
मुस्ताङ: दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ। यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको हो। केन्द्रका पशु चिकित्सक लालमणि अर्यालले मुस्ताङकै किसानका छ हजार ६०० भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइएको जानकारी दिनुभयो। कर्णाली प्रदेशको जुम्लाबाट ७७५, मगुबाट पाँच सय र डोल्पाबाट पाँच हजार चार सय भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको पशु चिकित्सक अर्यालले बताउनुभयो। मुस्ताङबाट अझै थप एक हजारको हाराहारीमा भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइने अनुमान गरिएको छ। गतवर्ष दसैँमा मुस्ताङबाट नौ हजार बढी भेडाच्याङ्गा अन्य जिल्ला पठाइएको थियो। गत वर्षको तुलनामा औसत २० प्रतिशतभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरी जिल्ला पठाइएको पशु चिकित्सक डा। अर्यालले उल्लेख गर्नुभयो। यस वर्ष ५० प्रतिशत मुस्ताङबाट र ५० प्रतिशत कर्णाली प्रदेशबाट मुस्ताङको जोमसोम, घाँसा हुँदै पठाइएको हो। कास्कीका भेडाच्याङ्ग्रा व्यापारी पूर्णबहादुर रानाभाटले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङग्याबाट कृषकको खोरबाटै २३५ वटा च्याङ्ग्रा खरिद गरी बिक्रीका लागि पोखरा लैजाने तयारी गरेको बताउनुभयो। उपल्लो मुस्ताङका कृषकहरूको गोठमै पुगेर च्याङ्ग्रा छनोट गरी ल्याएको उहाँको भनाइ छ। यसपटक कृषकको खोरमै गतवर्ष भन्दा केही बढी मूल्य परेको उहाँले बताउनुभयो। यसवर्ष रोज्जा च्याङ्ग्रा प्रतिगोटा ३५ हजार र माउ (च्यालु) को १३ हजार रुपैयाँ मूल्य परेको व्यापारी रानाभाटको भनाइ छ। मुस्ताङबाट खरिद गरिएका च्याङ्ग्रा पैदलै पोखरा लगेर बिक्री गरिने उहाँले बताउनुभयो। सायद पोखरामा लैजाँदा रोज्जा च्याङ्ग्राको ४२ हजार र च्यालु च्याङ्ग्राको १८ हजार रुपैयाँमा बिक्री गरिने व्यापारी रानाभाटले बताउनुभयो। गतवर्ष मुस्ताङबाट २८६ वटा च्याङ्ग्रा पोखरा लगेर बिक्री गर्दा राम्रै फाइदा भएकामा यसवर्ष देशमा उत्पन्न परिस्थितिले गर्दा च्याङ्ग्रा बिक्री नहुने पो होकी भन्ने चिन्ता बढेको व्यापारी रानाभाटले जनाउनुभयो। दसैँका लागि जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको व्यापारी र च्याङ्ग्रा धनीको समन्वयमा खोरमै पुगेर भेटेरिनरी परीक्षण गरिएको छ। यहाँ परीक्षण गरिएका भेडाच्याङ्ग्राको अवघि ७२ घण्टासम्मको हुनेछ। मानव स्वास्थ्यको रक्षा र अस्वस्थकर च्याङ्ग्राका कारण रोगव्याधी नफैलिओस भन्ने अभिप्रायले भेडाच्याङग्राको परीक्षण गरिएको हो। मुस्ताङमा यसवर्ष करिब एक सयभन्दा बढी च्याङ्ग्रा व्यापारी आएका छन्। यहाँबाट खरिद गरिएका च्याङ्ग्रा व्यापारीहरूले पोखरा–काठमाडौँलगायत स्थानमा लगेर बिक्री गर्छन्। कतिपय व्यापारीले मुस्ताङबाट निकासी गरिएका च्याङ्ग्रा पैदल खेदाउँदा म्याग्दी, पर्वत र बाग्लुङलगायत स्थानमा लगेर बिक्री गर्ने गर्छन्। हिमाली जिल्लाको उच्च लेक तथा पाटनमा पालन गरिएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले सहर बजारको उपभोक्ता दसैँमा च्याङ्ग्राको मासु खान रुचाउँछन्।
काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको जनाएको छ । यसअघि मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर दुई हजार ५५० मा किनबेच भइरहेको छ ।
काठमाडौं: मङ्गलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ पुगेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अनुसार मङ्गलबार सुन प्रतितोला १ हजार ९ यस रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनाएको हो । सोमबार प्रतितोला २ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला २ हजार ५७५ रुपैयाँले कायम भएको चाँदीको मूल्य मङ्गलबार २ हजार ५९५ रुपैयाँ कायम भएको छ ।
काठमाडौं: सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघमा अनुसार सुनको मूल्य सोमबार १०० रुपैयाँले बढेको छ । आइतबार २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मुख्य समेत बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार २ हजार ५७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको छ ।
काठमाडौं: गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु दुई हजार ५७० कायम भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख १५ हजार ८०० मा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी रु दुई हजार ५६५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ताप्लेजुङ: सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहेनत सङ्कटमा परेको छ । स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रमा करिब २५–३० घरपरिवार प्रतिवर्ष वन्यजन्तुको जोखिमबाट पीडित हुने गरेका छन् । “पहिले भालुले दुःख दिने गथ्र्यो, अहिले बँदेलको आक्रमण बढेको छ”, उहाँले बताउनुभयो । उहाँका अनुसार हरेक घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली एकै रातमा सखाप हुने गरेको छ । मकै पाक्ने समयमा किसान रातभर बारीमा डेरा जमाउन बाध्य छन् । “एउटा माउ र दुई बच्चासहित तीनवटा बँदेल हरेक रात आउँछन् । मकै पूरै पाक्न नपाउँदै खाइदिन्छन्, हामीले के खानु रु” उहाँले गुनासो पोख्नुभयो । बँदेलले मकैमात्र नभई आलु, सिमी, पिँडालु र अन्य तरकारीमा समेत क्षति पुर्याउने गरेको छ । निरन्तर क्षतिका कारण केही किसान बासाइँ सरेका छन् भने केहीले बारी बाँझो छाडेर अन्य पेसा रोजेका छन् । तर अहिलेसम्म वन्यजन्तु नियन्त्रण वा क्षति न्यूनीकरणका लागि स्थानीय तह वा सरोकारवाला निकायबाट कुनै ठोस पहल भएको छैन । सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष विष्णुकुमारी (बन्दना) कडरियाले हालसम्म बाली क्षतिको औपचारिक निवेदन गाउँपालिकामा नआएको बताउँदै निवेदन आए कार्यपालिकाले निर्णय गरी केही सहुलियत दिने आश्वासन दिनुभयो । डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पारवानका अनुसार २०८० सालको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका’मा १६ प्रजातिका जनावरबाट क्षति भए राहत दिने व्यवस्था छ । तर बँदेल त्यसमध्ये नपर्ने भएकाले किसानले राहत पाउने आधार नरहेको बताउनुभयो ।
गुल्मी: जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो । मुसिकोट–४ स्थित फेदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मकैको पिठोको ब्राण्डिङसँगै त्यसको बजारीकरण गर्न लागिएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, नगरपालिका र कृषि ज्ञान केन्द्रको ७३ लाख रुपैयाँ तथा साना किसान सहकारी संस्थाको १६ लाख ५० हजार गरी करिब ९० लाख रुपैयाँको लागतमा प्रशोधन उद्योग स्थापना गरिएको छ । साना किसान कृषि सहकारी संस्थाबाट उत्पादित पिठो स्थानीय बजारदेखि बुटवलसम्म पुग्ने गरेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताए । साना किसान सहकारीले स्थानीय किसानबाट प्रतिपाथी २०० रुपैयाँमा मकै खरिद गरेको छ । किसानबाट खरिद गरेको स्थानीय जातको मकैलाई उद्योगमा प्रशोधन गरी त्यसलाई लेबलिङ र प्याकेजिङ गरेर बजारमा पठाइएको अध्यक्ष छन्तेलले बताए । यसरी प्रशोधन गरेर तयार गरिएको मकैको पिठोको मूल्य प्रतिकिलो रु १३० निर्धारण गरिएको छ । तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट मकैको प्रशोधन, लेवलिङ र प्याकेजिङ गर्ने उपकरणमा कार्यालयबाट ८५ प्रतिशत अनुदान उपलब्ध गराइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवालले जानकारी दिए । यस आर्थिक वर्षमा सहकारीमार्फत स्थानीय बजार हुँदै बुटवल र काठमाडौँसम्म ३५ टन बराबरको पिठो बिक्री गर्ने लक्ष्य रहेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले बताए । नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले गाउँमा केही भएन भनेर भाष्य निर्माण गर्नेका लागि साना किसान सहकारीले गतिलो उदाहरण प्रस्तुत गरेको बताए । उनले सहकारीबाट उत्पादित मकैको पिठोलाई बजारीकरण गर्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताए । उनले बजारमा उक्त पिठोको माग बढ्दै गएको बताए । विसं २०६३ मा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर स्थापना गरिएको उक्त सहकारी संस्थाले नगरपालिकाअन्तर्गत वडा नं २, ३ र ४ का करिब ३०० घरधुरीलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पुर्याउँदै आइरहेको छ ।