झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलँैची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालू आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले बताउनुभयो । गत आवको साउनदेखि पुससम्ममा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार मूल्य बराबरको अलैँची पूर्वीनाकाबाट निर्यात भएको थियो । कुकुर र बिरालोको खानाको रुपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात चालु आवको अर्धवार्षिक अवधिमा गत आवको सोही अवधिको तुलनामा ६६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । चालु आवको छ महिनामा रु ७६ करोड पाँच लाख तीन हजार मूल्य बराबरको चार लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ । गत आवको सोही अवधिमा रु ४५ करोड ७६ लाख ३४ हजार मूल्य बराबरको दुई लाख ६६ हजार २४३ केजी छुर्पी निर्यात भएको भन्सारले जनाएको छ । भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उच्च रहेको छ । चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा ऋणात्मक रहेको छ । चालु आव २०८२/८३ को छ महिनामा रु. ५३ करोड चार लाख ९६ हजारको भेनियर सिट र रु नौ करोड १२ लाख ८७ हजार मूल्यको मुसुरो दाल निर्यात भएको छ । गत आवको तुलनामा मुसुरो दाल ४८१ प्रतिशतले र भेनियर सिट १०९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । अर्धवार्षिक अवधिमा चियाको निर्यातमा २६ दशमलव ४ प्रतिशतले र प्लाइउडको निर्यातमा ४४ दशमलव ५ प्रतिशतले गिरावट आएको मेची भन्सारले जनाएको छ । चालु आवको छ महिनामा रु दुई अर्ब १७ करोड ८७ लाख पाँच हजार मूल्य बराबरको चिया र रु एक अर्ब नौ करोड ७४ लाख तीन हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको छ । गत आवको सोही अवधिमा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार मूल्य बराबरको चिया र रु एक अर्ब ९७ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको थियो । यसैगरी, चालु आव २०८२/८३ को पुससम्मको अर्धवार्षिक अवधिमा रु ३३ करोड ८९ लाख तीन हजार मूल्य बराबरको अम्लिसो, रु ५० करोड १७ लाख ३२ हजार मूल्य बराबरको अदुवा र सुठो, रु ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली, बन्दाकोभी र ब्रोकाउली र रु पाँच करोड ७४ लाख २७ हजार मूल्य बराबरको जडीबुटी निर्यात भएको भन्सारका सूचना अधिकारी हुमागाइँले जानकारी दिनुभयो ।
काठमाडौं: विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाव आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य रु। दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल रु. पाँच हजार ६२५ निर्धारण भएको छ । गत बिहीबार छापावाल सुन प्रतितोला रु। दुई लाख ७६ हजार ५०० र शुक्रबार रु. दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियो भने बिहीबार एक तोला चाँदी पाँच हजार ४८५ र शुक्रबार पाँच हजार ६४५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९६ र त्यति नै तौलको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक तोला सुनको मूल्य दुई लाख ७६ हजार पाँच सय र त्यति नै चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ । गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला रु। ४ हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो रु। पाँच हजार १९५ मा किनबेच भएको थियो । अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५८८ र त्यति नै परिमाणको सेतो धातु ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो । यससँगै उपभोक्ताले एक तोला सुन किन्न दुई लाख ७० हजार ६०० रुपैयाँ खर्चिनुपर्नेछ । यसअघि शुक्रबार (पुस २५) छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य चार हजार ९९० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७८० रुपैयाँ कायम थियो ।
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्ष लसुन र प्याजखेतीको नमूना परीक्षण गरेको पालिकाले यस वर्ष किसानलाई अनुदान सहयोग गरी यसतर्फ आकर्षित गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका सातवटै वडाको करिब ४०० रोपनी क्षेत्रफलमा लसुन र प्याजको खेती भइरहेको छ । गाउँपालिकाका स्यास्त्री, दर्गामटार, पोल्याङटार, तागेडाँडा, खाल्टे, देउराली, देउराली फेदी, चिसापानी, खोलाको छेउलगायतका स्थानमा लसुन र प्याजको व्यावसायिक खेती गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । पालिकाले लसुनका लागि प्रतिरोपनी रु। १० हजार र प्याजका लागि प्रतिरोपनी रु। आठ हजार अनुदान सहयोग उपलब्ध गराएको उहाँले जानकारी दिनुुभयो । पालिकाले अदुवाखेतीमा समेत जोड दिँदै किसानलाई अदुवाको बीउ अनुदानमा उपलब्ध गराएको छ । पालिकाभित्र करिब २५० रोपनीमा अदुवाखेती भइरहेको बताउँदै यस यस वर्ष ८० हजार किलो उत्पादन हुने अनुमान गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । “पालिकाका विभिन्न स्थानमा लगाइएको अदुवा राम्रो फलेको छ”, उहाँले भन्नुभयो, “एक किलो बीउ लगाइएको ठाउँमा एक डोकोसम्म फलेको किसानहरूले बताएका छन् ।” व्यावसायिक कृषिमा युवाहरूको आकर्षण बढिरहेको बताउँदै अध्यक्ष ओझाले पालिकाले स्वरोजगार अभिवृद्धिमा जोड दिएको उल्लेख गर्नुभयो । उहाँले यहाँका एक सयभन्दा बढी युवा व्यावसायिक कृषिमा लागेका बताउनुभयो ।
काठमाडौं: बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने प्रतितोला सुनको कारोबार २ लाख ६७ हजार ७ सय रुपैयाँमा भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले कम हो ।
चितवन: अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी भोलिदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट रु ९० घटाएको जनाए हो । फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर रु ४७५ मा झरेको हो । यस्तै, मिडियम अण्डाको प्रतिक्रेट रु ५५० बाट रु ४६० मा झरेको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्म बाट दररेट लिएर समर्थन मूल्य तोकिएको हो । यससँगै उपभोक्ता मूल्य प्रतिगोटा रु २५ बाट रु २० मा झारिएको छ । बढ्दो जाडोसँगै उपत्यका र हिमाली भेगमा विद्यालय बन्द र गतिविधि कम भएको, पर्यटकको आगमन घट्दै गएको, अण्डाको मूल्य राम्रो पाइने आशामा कुखुरा बिक्री नगरी अण्डा उत्पादन गरिरहेकालगायत कारणले मूल्य घटेको हो । पहिलेको तुलनामा हाल खपत कम र उत्पादन बढी भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले जाडो कम हुँदै गएर जनजीवन सहज भएसँगै पुनः अण्डाको माग बढ्ने बताउनुभयो । “अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसानलाई थप नोक्सान हुनेभएको छ”, उहाँले भन्नुभयो । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तलमाथि गर्ने गरेको छ ।
काठमाडौं: साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ४ हजार ६०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, सोमबार चाँदी तोलामा १८५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार प्रतितोला चाँदी ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल रु चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ४१५ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

