काठमाडौं:  निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो ।  नेपाली कांग्रेसको बहुमत महाधिवेशन...

काठमाडौं:  नेपाली कांग्रेसको विशेष अधिवेशनपछि नबगठित कार्यसमितिका सभापति गगन कुमार थापा सहित कांग्रेस पदाधिकारी केन्द्रीय सदस्यहरु निर्वाचन आयोग गएका छन् ।  बिहान बसेको केन्द्रीय कार्य समितिको निर्णय बमोजिम सभापति थापा उपसभापति विश्व प्रकाश शर्मा र पुष्पा भुसाल लगायत पदाधिकारी र केही केन्द्रीय सदस्यहरु निर्वाचन आयोग गएका हुन् ।  बिहान बसेको केन्द्रीय कार्य समितिको बैठकले विशेष अधिवेशनले गरेका निर्णयहरु आजै निर्वाचन आयोगमा अध्यवधिक गराउने निर्णय गरेको थियो । सोही बमोजिम आवश्यक कागजात सहित नेताहरु आयोग गएका हुन् । 

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो । जारी विशेष महाधिवशेनबाट आज पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो । पार्टीको सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिडडिएको क्षेत्र) निर्वाचित हुनुभएको छ । यस्तै, खुला ३५ केन्द्रीय सदस्यतर्फ गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी र देवप्रसाद तिमिल्सिना निर्वाचित हुनुभएको छ । यस्तै, जयबाबु सिवाकोटी र प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईं, डा केदारनरसिंह केसी, विदुर बस्नेत, तीर्थजङ्ग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह खुला केन्द्रीय सदस्य निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । महिला खुल्ला नौ सदस्यीय केन्द्रीय सदस्यमा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउँद ऐर र दिलकुमारी राई निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य कोशी प्रदेशतर्फ शारदादेवी कोइराला, हिमालय कर्माचार्य र अग्नि पौडेल, मधेसतर्फ मधु शाही, रामानन्द यादव र बजरङ्ग नेपाली, बागमतीतर्फ उमा दाहाल, जितनारायण श्रेष्ठ र रमेश धमला निर्विरोध चयन हुनुभएको छ । गण्डकीतर्फ विष्णुदेवी पाण्डे, रेशम बानियाँ र कृष्ण केसी, लुम्बिनीतर्फ पवित्राकुमारी अर्याल, केशव आचार्य र रामबहादुर कार्की, कर्णालीतर्फ रमादेवी खड्का, दिक्पाल शाही र नारायण भट्टराई तथा सुदूरपश्चिमतर्फ निपा चोख्याल, हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य (अपाङ्गता)तर्फ प्रकाश पन्त, (अल्पसङ्ख्यक)तर्फ शिवनारायण सिं गनगाई, केन्द्रीय सदस्य दलिततर्फ मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य विक र दिनेश सुनार निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य आदिवासी जनजाति (महिला)तर्फ सपना राजभण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लीलादेवी बोखिम लिम्बू, डा अमिता प्रधान र छोन्दुल्होम शेर्पा, आदिवासी जनजाति खुलातर्फ तारामान गुरुङ, अष्टकुमार कवे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दिपेन श्रेष्ठ चयन हुनुभएको छ । केन्द्रीय सदस्य ९खसआर्य महिलातर्फ० उमा सिवाकोटी, बाला अधिकारी, मुना भुसाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री, खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुसाल निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य (मधेसी महिलातर्फ) अञ्जु झा, चन्द्रकलाकुमारी यादव, गोमा अन्सारी र र निलम साह, (मधेसी खुला)मा रामपल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिलकुमार यादव र रामरुप प्रसाद निर्विरोध हुनुभएको छ । केन्द्रीय सदस्य (मुस्लिम महिला) पदमा सनम वेगम, मुस्लिम खुल्ला पदमा अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार, थारू महिलामा नवोदिता चौधरी र सुनिता राना, थारू खुल्लातर्फ सुरेन्द्रप्रसाद चौधरी र गोपाल दहित तथा पिछडिएको क्षेत्रतर्फ खुल्ला केन्द्रीय सदस्यमा दीपकजङ्ग शाह निर्वाचित हुनुभएको छ । घोषित समितिका सभापति थापाले आजै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केसीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ भने  अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने आजै दिउँसो शपथ ग्रहणको कार्यक्रम राखिएको निर्वाचन समितिले जनाएको छ । 

काठमाडौं:  नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको एक नेताले जानकारी दिए ।  पाँच वर्ष साधारण सदस्य नरहने गरी कारबाही गरिएको केन्द्रीय सदस्यहरुले जानकारी दिएका छन् । विशेष महाधिवेशन पक्षधरहरुले सहमतिका लागि आठबुँदे प्रस्ताव अघि सारेका थिए । तर त्यसमा सहमति कायम हुन नसकेपछि वार्ता भंग भएको थियो । विशेष महाधिवेशन पक्षधरहरुले अहिले केहीबेरमा नयाँ कार्यसमिति सार्वजनिकको तयारी गरेका छन् ।

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फिर्ता लिएका हुन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १० बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरिएको थियो । नाम फिर्ता लिने विषयमा आयोगले सूचना प्रकाशित गरी जानकारी गराएको थियो । आयोगले उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको थियो । तोकिएको समयसीमाभित्र एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्द सूचीमा नाम पेस गर्ने राजनीतिक दलका उम्मेदवारसमेत छन् । नाम फिर्ता लिनेमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ११० उम्मेदवार रहेका सहायक प्रवक्ता जिसीले बताउनुभयो । उक्त पार्टी अन्य दलसँग एकता गरेकाले तयसअघि पेस भएका सबै उम्मेदवारको नाम बन्दसूचीबाट फिर्ता लिएका उहाँको भनाइ छ । यसैगरी जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका छ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पाँच जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका चार–चार जना तथा नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई–दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक–एक जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि यही पुस १३ र १४ गते दलहरूले आयोगमा नाम पेस गरेका थिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था गरिएको छ । त्यसका लागि आयोगले पछिल्लो जनगणनाका आधारमा जातीय प्रतिनिधित्वसमेत हुने गरी आवश्यक व्यवस्था गरेको छ ।

काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन  भोलि मंगलबारसम्मका लागि लम्बिएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल  जारी रहेकाले महाधिवेशन भोलिसम्म चल्ने साथै नयाँ नेतृत्व चयनका लागि पनि भोलि नै निर्वाचनको प्रक्रियामा प्रवेश गर्ने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । आज महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेकोले अझै समय लाग्ने भएकाले भोलि पनि हल बुक गरिएको र नेतृत्व चयनका लागि भोलि नै निर्वाचन प्रक्रियामा प्रवेश गर्ने गरी छलफल अघि बढेको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइयो । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गरी छलफल अघि बढाइरहेको भएपनि संस्थापन पक्षसँगको संवाद र वार्ता जारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट केन्द्रीय सदस्य र नेताहरुलाई बोलाएर पार्टी विभाजनलाई रोक्ने उपायको बारेमा कुराकानी भइरहेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिनुभयो ।

काठमाडौं:  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ । खड्काले २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनले सहज रूपले नेतृत्व परिवर्तन गर्न सकिने अवस्था भएको भन्दै अहिले प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरेका छन् । ‘प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदै छ’, खड्काले भनेका छन्, ‘तसर्थ, अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ ।’     

काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको आजको कार्यतालिका अनुसार बिहान १० बजेदेखि बन्दसत्र सञ्चालन गरिने छ । महाधिवेशन प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा हुने बन्दसत्रको सुरुआत विशेष महाधिवेशनको कार्यविधि निर्माणबाट गरिने छ । त्यसपछि नौ वटा समूह निर्माण गरी चार प्रमुख विषयमा नीति मन्थन गरिने कार्यसूची तय गरिएको छ । उहाँका अनुसार बन्दसत्रमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक विषयहरूमा विस्तृत छलफल हुनेछ ।  नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने विषयमा पनि व्यापक छलफल हुने उनले जानकारी दिनुभयो ।  नेतृत्व परिवर्तन गर्ने पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने पोखरेलले बताउनुभयो ।  नयाँ कार्यसमिति निर्विरोध चयन हुने सम्भावना रहेकाले मतदान गर्नुपर्ने अवस्था नआउने उहाँको धारणा छ।यसैबीच, महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ ।  क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधि आज बिहान मात्रै काठमाडौँ आइपुगेकाले उहाँहरूलाई बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो ।

काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ।  समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार २०८२ पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम पुस २८ गते सोमबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा नाम फिर्ता लिन सकिने उहाँको भनाइ छ।  प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने र कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत नाम फिर्ता लिनका लागि निवेदन दिन सकिने जानकारी गराइएको आयोगले जनाएको छ। 

काठमाडौं:  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।  दोस्रो विशेष महाधिवेशन सचिवालयले विज्ञप्ति जारी गर्दै प्रदेशगत र भातृ शुभेच्छुक एवं जनसम्पर्क समितिबाट आएका प्रतिनिधिले नाम दर्ता गराएको जनाएको छ । कोसीबाट ४२५, मधेसबाट ४४६, वाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।