निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक निकायमार्फत आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको हो ।    नियामक निकायसँगको सहकार्यमा आयोगले सूचना सदाचार एकाई गठन गरेर काम गरिरहेको छ ।    डिजिटल प्लेटफर्ममार्फत प्रचार भइरहेका निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्रीबारे आयोगले निगरानी बढाएको हो ।      निर्वाचन आयोगका अनुसार हालसम्म १२० वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनबमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा र ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐनबमोजिम आवश्यक कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ ।    त्यस्तै १५ वटालाई प्रेस काउन्सिल ऐनबमोजिम कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले जनाएको छ ।    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “सम्बन्धित केन्द्रले दैनिक सूचना विश्लेषण गरी सिफारिस गरिरहेको छ । सिफारिसका आधारमा सम्बन्धित निकायलाई हामीले आवश्यक कारबाहीका लागि लेखी पठाएका छौँ ।” २३ स्पष्टीकरण, १२ जवाफ   माघ ४ गते रातिदेखि आचारसंहिता लागु भएसँगै आयोगले कार्यान्वयन अनुगमन र नियमनको प्रक्रियालाई पनि सँगै अघि बढाएको छ ।   मौखिक, लिखित तथा विद्युतीय माध्यमबाट पनि आचारसंहिता उल्लङ्घनमा उजुरी दिन सक्ने व्यवस्था आयोगले गरेको प्रवक्ता भट्टराईले बताए ।   प्रवक्ता भट्टराईले भने, “जिल्ला आचारसंहिता अनुगमन अधिकृतको हकमा विगतभन्दा केही नयाँ व्यवस्था गरेका छौँ । आर्थिक र अन्य विषयलाई फरक फरक गरेका छौँ । सबै जिल्लाका आचारसंहिता अनुगमन अधिकृतसँगको कामकारबाही विवरण दैनिक रूपमा ‘रियल टाइम’ मै पाइरहेका छौँ । जिल्ला जिल्लामा अहिले उजुरी परिरहेको छ । त्यहाँबाट पनि कामकारबाही हुने छन् ।”   आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले आइतबारसम्म २३ वटा स्पष्टीकरण सोधेको र त्यसमा १२ वटा जवाफ प्राप्त भएका छन् ।   राजनीतिक दल, उम्मेदवार र संस्थालाई समेत यसबिचमा स्पष्टीकरण सोधिएको छ ।   जिल्लास्तरमा समेत आचारसंहिता उल्लङ्घनमा उजुरी लिने र कारबाही गर्ने कार्य सँगसँगै अघि बढिरहेको छ ।   बाँके, कालीकोट, पाल्पा, गुल्मीलगायतका जिल्लामा सभा सम्मेलन रोकिएको, आचारसंहिताविपरीत हुने प्रचारका कार्यक्रम रोकिएको आयोगले जनाएको छ ।   

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरे ।   जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए ।   राष्ट्रपति नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।   उनका अनुसार टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्नेछन् ।   साथै राष्ट्रपतिले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नेछन् ।

पाेखरा:   कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ ।   सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले रुपा–३ टाकेञ्जास्थित सहिदहरु कमल भुजेल, सुमित्रा घिमिरे, तीर्थ भुजेल र बिजय बास्तोलाको शालिकमा माल्यार्पण गरेर आईतबारको भेटघाट शुरु गरेको हो ।   भेटघाटमा स्थानियले यस पटक नेकपालाई नै जिताउने वचन दिए ।   विगतमा अन्य दलको उम्मेदवारलाई जिताउँदा नेकपालेजस्तो विकास र सुशासन दिन नसकेकाले यस पटक फेरी नेकपालाई जिताउने बताएका थिए । तर नेकपाले पनि जनयुद्दका अजेण्डा छाड्न नहुने बताए ।   स्थानीय एक आमाले भक्कानिदै भनिन्,‘नेकपाले जित्दाजस्तो विकास र सुशासन अरुले गरेनन्, त्यसैले यस पटक नेकपालाई जिताउँछौं । तर तपाईंहरुले पनि सहिदको सपना र वेपत्ताको योगदान नबिर्सिनूस् ।’   अर्की आमा चिजा भुजेलले जेनजी आन्दोलनको वातावरण बनाउने कांग्रेस र एमाले र जेनजी आन्दोलनको नाममा आगजनी गर्ने बालेन र रविको हातमा सत्ता गए देशले दुःख पाउने बताईन् । उनले भनिन्,‘त्यसैले हामी सचेत भएर नेकपालाई जिताउँछौं ।’   सो अवसरमा उम्मेदवार राजकाजी गुरुङले पार्टी र आफू जनयुद्दको अजेण्डामा कायम रहेको बताए । उनले भने,‘सहिदको सपना र वेपत्ता तथा घाईतेको योगदान कहिल्यै बिर्सिएको छैन र बिर्सने पनि छैन । त्यो सपना पूरा गर्ने भनेको समाजवादले मात्र हो, हामी त्यसकै लागि लडिरहेका छौं ।’

पोखरा:  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । नेकपाबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण) लगायतका उम्मेदवारको निर्वाचन सम्पर्क कार्यालय शनिबार स्थापना गरिएको हो । नेकपा नेता श्रीनाथ बरालले कार्यालय उद्घाटन गरे । नेता बरालले देशलाई विनास हुनबाट जोगाउन नेकपालाई जिताउनुपर्ने बताए ।  पुराना शक्तिहरु नेपाली कांग्रेस र नेकपा एमालेका कारण देश भयावह स्थितिमा पुगेको दाबी गर्दै उनले थपे, ‘नयाँले सम्हाल्ने स्थिति छैन, पुराना निकम्पा बने । नेकपाको नेतृत्वका लागि जित जरुरी छ ।’ कार्यक्रममा उम्मेदवार गुरुङले देशको निकास र विकासका लागि नेकपाले जित्न आवश्यक रहेको बताए । कास्की क्षेत्र नम्बर १ को विकासमा विगतदेखि वर्तमानसम्म नेकपाका नेताहरुको भूमिका रहेको भन्दै उनले थपे, ‘हिजो देव गुरुङदेखि कृष्णबहादुर गुरुङसम्म, दीपक कोइरालादेखि गायत्री गुरुङसम्मले यस क्षेत्रको विकासमा योगदान दिनुभयो, मैले वर्षमान पुन अर्थमन्त्री भएका बेला राजनीतिक सल्लाहकारका रुपमा बस्दा यहाँ ३५ करोड भन्दा बढीका योजना राखेको थिए ।’ उनले विकासको विरासत धान्न पनि कास्की क्षेत्र नम्बर १ नेकपाले जित्नुपर्नेमा जोड दिए । नेकपा गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले देश बनाउने एकमात्र पार्टी नेकपा भएको विचार राखिन् ।  नेकपा केन्द्रीय सदस्य दीपक कोइरालाले विकास र समृद्धिको बाहक नेकपा भएकाले तारा चिह्नमा मतदान गरेर गर्न आग्र हगरे । कास्की १ का नेकपाका चुनावी कमान्डर सोमती गुरुङले नेकपाको नीतिमा देश अगाडि बढिरहेकाले नेतृत्व पनि नेकपाले गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पूर्ण लामा र कल्पना पाण्डेले पनि बोलेका थिए । पोखरा ३३ मा कार्यालय स्थापना नेकपा कास्कीले क्षेत्र नम्बर २ मा पर्ने पोखरा ३३ बागमारामा शनिबार सम्पर्क कार्यालय स्थापना गरेको छ । फागुन २१ को निर्वाचन केन्द्रीत गतिविधिलाई सहज बनाउन कार्यालय खोलिएको हो ।  चुनावी तयारी स्वरुप नेकपाले पोखरा २० मा बैठक आयोजना गरेको छ भने उम्मेदवार थापाले भूमीहीनहरुसँग भेटघाट गरेका छन् । कार्यक्रममा नेकपा नेता श्रीनाथ बरालले नेकपा लोकतन्त्र, कम्युनिष्ट आन्दोलन र राष्ट्रियताको मूलधार भएको बताए । उनले भने, ‘यहाँ सशस्त्र युद्धबाट आएको पार्टी र शान्तिपूर्ण राजनीतिबाट आएका सबै छौँ, हामी अबको नेपालको नेतृत्व गर्ने ल्याकत राख्छौं ।’ कार्यक्रममा कास्की २ का नेकपा उम्मेदवार किरण थापाले संकटमोचनका लागि भएको निर्वाचनबाट जनताले उचित नेतृत्व छान्ने विश्वास व्यक्त गरे । ‘पुरानाहरुको दुई तिहाइको दम्भले ठूलो विनाश भयो, नयाँ हुँ भनी दाबी गर्नेहरु ठगी आरोपमा मुछिएका छन्, सुकुम्बासी बस्तीमा डोजर चलाइरहेका छन्,’ उनले भने, ‘यो नयाँ हावाले पनि देशलाई निकास दिँदैन । नेकपासँग मात्र छ अहिलेको समस्याको समाधान ।’ कार्यक्रममा नेकपा नेताहरु नेत्रनाथ अधिकारी, खड्ग हमाल, समानुपातिक उम्मेदवार ज्ञानु आचार्यले पनि बोलेका थिए । कास्की ३ मा अगुवा कार्यकर्ता भेला नेकपा कास्की ३ का उम्मेदवार गोपाल गिरी शनिबार बिहान मत माग्न अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ र ५ पुगे । शनिबारै नेकपाले कास्की क्षेत्र नम्बर ३ मा पर्ने पोखरा महानगरका ११ वडाका अगुवा कार्यकर्ता भेला र उम्मेदवार परिचय कार्यक्रम आयोजना ग¥यो । भेलामा उम्मेदवार गिरीले आफ्ना योजना र पार्टीको कार्ययोजनाबारे प्रकाश पार्दै नेकपाको जितबाट मात्रै मुलुकले निकास पाउने जिकिर गरे ।  

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन नेपाली कांग्रेसले देशका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । विशेष महाधिवेशनमा सहभागी भएका सबैलाई जित(हारको कुरा नगरी चुनावमा केन्द्रित हुन भन्दै कांग्रेसले परिपत्र गरेको हो।  महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले जारी गरेको परिपत्रमा अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वाससमेत व्यक्त गरिएको छ। ‘विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमितिकोसमेत चयन भई पार्टी नयाँ जोश, जाँगर र हौसलाका साथ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ होमिसकेको व्यहोरा यहाँहरुलाई अवगत नै छ,’ परिपत्रमा भनिएको छ, ‘निर्वाचनमा सहभागी हुनु भएका, नहुनु भएका, सहमत हुनु भएका, नहुनु भएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश(विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई यो अवगत गराउन चाहन्छौँ कि, यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन। कुनै अलमल नगरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ। विश्वास र भरोसा राखौँ, अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा सुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकढिक्का भई एकताका साथ अघि बढ्नु पर्ने बेला आएको छ।’ अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास गरिएको परिपत्रमा उल्लेख छ।  ‘यस परिस्थितिमा कांग्रसलाई अघि बढाउन पार्टीका श्रद्धेय निवर्तमान सभापति श्री शेरबहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनु भएका साथीहरुबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पूर्ण साथ रहनेछ भन्ने पार्टीले विश्वास लिएको छ,’ परिपत्रमा भनिएको छ। विगतमा भएका कमजोरीलाई आत्मालोचना गर्दै समीक्षा गरिएको भन्दै परिपत्रमा आजसम्मका उपलब्धिलाई समयको पदचापअनुसार संस्थागत गर्ने संकल्प पार्टीले गरेको उल्लेख छ।  ‘गत भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शन पछि परिवर्तित राजनीति परिस्थितको यस कठिन र संवेदनशील घडीमा हामी सबैको उच्च मनोबल, एकता र जिम्मेवारीपूर्ण प्रतिबद्धताका साथ अघि बढ्न अत्यावश्यक छ । यो निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा अत्यधिक जनमत सिर्जना गरी पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै निकायले आ९आफ्नो तहबाट कुशलतापूर्वक रणनीतिक तवरले जिम्मेवारी निर्वाह गर्नु पर्ने बेला आएको छ,’ परिपत्रमा भनिएको छ।       

सर्लाही:   नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताउनुभएको छ ।  आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताउनुभयो । सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उहाँको भनाइ थियो ।  नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताउनुभयो ।  “अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो”, उहाँले भन्नुभयो, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।”  काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसदमा धेरै पटक उठाएको उल्लेख गर्दै उहाँले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाउनुभयो ।  एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उहाँले स्पष्ट पार्नुभयो । 

मनाङ:  आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ ।  नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि तीन चिन्हमा मतदान हुने टुङ्गो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । “निर्वाचनका लागि पाँच दलबाट उम्मेदवारी परेकामा दुई दलले उम्मेदवारी फिर्ता लिएपछि मतपत्रमा तीन वटा चिन्ह मात्रै रहने भएको हो”, उहाँले भन्नुभयो । नेपाली कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कूल सात हजार मतदाता छन् । देशकै सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँको निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काठमाडौंः  आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहोस् ।           

काठमाडौं:  राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान आज दिउँसो ३ बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि आज निर्वाचन हुनलागेको हो । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएको मतदानस्थल तथा मतदान केन्द्रमा मतदान सुरु भएको हो । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान सुरु भएको छ । त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको उहाँले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ । मतदानस्थलमा ती मतदाताले मतदान गरिराखेका छन् ।