पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिबार पोखराका विभिन्न टोलमा कार्यक्रम सम्पन्न भएका छन् भने शुक्रबार आज वडा नम्बर–१३ मा स्थानीयसँग संवाद गर्ने कार्यक्रम तय गरिएको छ। बिहीबार पोखरा–१०, रामबजारस्थित ॐ शान्ति सत्सङ्गमा सहभागिता जनाउँदै दिनको कार्यक्रम सुरु गरिएको थियो। त्यसपछि पोखरा–१४, मनकामना टोलमा संवाद यात्रा गरिएको थियो। यस्तै, दिउँसो पोखरा–१४, शुभकामना टोल, मसिना टोल र खाल्टे टोलमा संवाद कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमहरूमा स्थानीयवासी, आमा समूह, युवा तथा ज्येष्ठ नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो। संवादका क्रममा उम्मेदवार गनेस पौडेलले “राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ” भन्दै पारदर्शिता, सुशासन र स्थानीय समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताए। “हामी जनताको घरदैलोमा पुगेर सुझाव संकलन गर्दैछौँ, यही सुझावलाई नीति निर्माणमा रूपान्तरण गर्ने हाम्रो लक्ष्य हो,” उनले भने। शुक्रबार आज वडा नम्बर–१३ मा स्थानीयसँग संवाद यात्रा कार्यक्रम तय गरिएको छ। बिहान ८ः०० बजे विजयपुर आर्वा, बिहान ११ः३० बजेदेखि भद्रकाली, बाँझापाटन क्षेत्र र दिउँसो २ः०० बजे मियाँपाटनमा संवाद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। रास्वपा कास्की–१ का चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेका अनुसार, “संवाद यात्राप्रति स्थानीयको उत्साहजनक साथ र समर्थन पाइरहेका छौँ। हरेक टोलमा उठेका सुझावलाई व्यवस्थित रूपमा संकलन गरिँदैछ र त्यसैका आधारमा आगामी कार्ययोजना तय गरिनेछ।” रास्वपाले कास्की–१ मा परम्परागत चुनावी सभाभन्दा फरक शैली अपनाउँदै प्रत्यक्ष भेटघाट र घरदैलो संवादमार्फत जनविश्वास निर्माण गर्ने अभियानलाई प्राथमिकता दिएको जनाएको छ।
पोखरा: प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले तत्कालीन सरकारबाट आफुलाई ठेस लागेका कारण चुनावमा होमिन बाध्य भएको बताएका छन् । पोखरामा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुनले यस्तो अभिव्यक्ति दिएका हुन् । पुनले शिक्षासम्बन्धी अध्यादेश ल्याउन सम्बन्धित पक्षसँग पहल गरेपनि अस्वीकार गरेपछि राजिनामा दिन बाध्य भएको उल्लेख गरे । ‘गर्न खोजेको कुरा त्यहाँ गर्न सकिन । ठेस लाग्यो अनिमात्र म चुनाव लड्ने निर्णय गरेको हो, उनले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभाथ्यो महावीरजीले दुई चारवटा कानून बनाउन खोज्नुभाथ्यो रिसाएर जानु भो तर म रिसाएर गाको होइन ठेस लागेको हो । ठेस लागेकोलाई रिसाएको भन्न मिल्दैन ।’ उनले ल्याउन चाहेको शिक्षासम्बन्धी अध्यादेश माघ ४ गते अघिनै आउने सकेको भए आफु चुनावमा होमिन नपर्ने सुनाए । ‘यदी मैले ल्याउन खोजेको त्यो अध्यादेश माघ ४ गते अघि आएको भए म चुनावमा आउनै पर्थेन, उनले भने, ‘संसदबाटै त्यो कानून अगाडी लैजान पर्ने भएर नै म अघि सरे ।’ उनले आफु नेता बन्न र राजनीति गर्न नभई समाजसेवा गर्न चुनावमा होमिएको स्पष्ट पारे । ‘म कसैसँग प्रतिस्पर्धा गर्न, राजनीति गर्न र नेता बन्न संसद भवन छिर्न खोजेको होइन, समाजसेवा गर्न र अहिले नआएको शिक्षासम्बन्धी अध्यादेश ल्याउन संसद छिर्न लागेको हो’, उनले भने । तर, प्रधानमन्त्री शुशिला कार्कीले भने शिक्षासम्बन्धी अध्यादेश छोटो समयमै ल्याउन नसकिने भन्दै प्रष्ट पारेकी थिइन् । सोही अध्यादेश जारी हुने सम्भावना नदेखेपछि चुनावमा होमिएको पुनले दोहोर्याए ।
नवलपरासी: जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ। रास्वपाले आज जिल्लामा 'जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम' आयोजना गर्ने सूचना प्राप्त भएको भन्दै प्रशासनले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीद्वारा हस्ताक्षरित पत्रमा प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा २०८२ माघ १४ गतेदेखि नै निर्वाचन आचारसंहिता लागु भइसकेको स्मरण गराइएको छ। प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, 'मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको 'जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम' रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।' निर्वाचनको मुखमा राजनीतिक दलका कार्यक्रमहरूले आचारसंहिता उल्लङ्घन गर्न सक्ने तर्फ सचेत रहँदै प्रशासनले निगरानी बढाएको छ।
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’ अभियानलाई तीव्र बनाएका छन्। सोही क्रममा आइतबार कास्की जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिका–२१ मा उम्मेदवार पौडेलले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन समेत गरेका हुन् । संवाद यात्राअन्तर्गत पोखरा २१का बिभिन्न ठाउँहरु पोखरेल थोक, शिवालय, निर्मल पोखरी, मैदान, ठुलिस्वारा, चिलाउने खर्क तथा थाप्ले–तिलाहारसम्म पुगेर स्थानीय बासिन्दासँग छलफल तथा अन्तरक्रिया गरिएको क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ । कार्यक्रममा स्थानीयले भोग्दै आएका समस्या, विकासका आवश्यकता, सेवा प्रवाहका कमजोरी तथा भावी योजनाका विषयमा खुलेर आफ्ना सुझाव र अपेक्षा राखेका थिए। उम्मेदवार पौडेलले स्थानीयका आवाजलाई संसदमा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै नीति निर्माणमा नागरिकको सहभागिता अनिवार्य हुने बताए। संवाद यात्रामा निर्वाचन कमाण्डर दिपेन्द्र पोख्रेल (बहादास), गण्डकी प्रदेश सह–महामन्त्री अनिस अधिकारी, पोखरा–२१ का सभापति पवित्रमणि अधिकारीलगायत केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्र तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। संवाद यात्राले कास्की–२ मा चुनावी माहोललाई थप उत्साहपूर्ण र आशावादी बनाएको देखिएको छ। रास्वपाले आगामी दिनहरूमा पनि कास्की–२ का विभिन्न स्थानमा यस्ता संवादमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ शनिबारसम्म २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सम्पन्न भएको आयोग प्रवक्ता भट्टराईले जानकारी दिए । छपाई सम्पन्न भएकामध्ये ११ जिल्लामा ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । १६ लाख २१ हजार मतपत्र प्याकिङसमेत सकिएको छ । औसत १२ लाखभन्दा बढी मतपत्र छपाइ सकिएको र कार्यतालिकाले तोकिएको समयभित्र छपाइ सम्पन्न गरी सम्बन्धित क्षेत्रमा पठाउने तयारी आयोगको छ ।
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक निकायमार्फत आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको हो । नियामक निकायसँगको सहकार्यमा आयोगले सूचना सदाचार एकाई गठन गरेर काम गरिरहेको छ । डिजिटल प्लेटफर्ममार्फत प्रचार भइरहेका निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्रीबारे आयोगले निगरानी बढाएको हो । निर्वाचन आयोगका अनुसार हालसम्म १२० वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनबमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा र ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐनबमोजिम आवश्यक कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । त्यस्तै १५ वटालाई प्रेस काउन्सिल ऐनबमोजिम कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “सम्बन्धित केन्द्रले दैनिक सूचना विश्लेषण गरी सिफारिस गरिरहेको छ । सिफारिसका आधारमा सम्बन्धित निकायलाई हामीले आवश्यक कारबाहीका लागि लेखी पठाएका छौँ ।” २३ स्पष्टीकरण, १२ जवाफ माघ ४ गते रातिदेखि आचारसंहिता लागु भएसँगै आयोगले कार्यान्वयन अनुगमन र नियमनको प्रक्रियालाई पनि सँगै अघि बढाएको छ । मौखिक, लिखित तथा विद्युतीय माध्यमबाट पनि आचारसंहिता उल्लङ्घनमा उजुरी दिन सक्ने व्यवस्था आयोगले गरेको प्रवक्ता भट्टराईले बताए । प्रवक्ता भट्टराईले भने, “जिल्ला आचारसंहिता अनुगमन अधिकृतको हकमा विगतभन्दा केही नयाँ व्यवस्था गरेका छौँ । आर्थिक र अन्य विषयलाई फरक फरक गरेका छौँ । सबै जिल्लाका आचारसंहिता अनुगमन अधिकृतसँगको कामकारबाही विवरण दैनिक रूपमा ‘रियल टाइम’ मै पाइरहेका छौँ । जिल्ला जिल्लामा अहिले उजुरी परिरहेको छ । त्यहाँबाट पनि कामकारबाही हुने छन् ।” आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले आइतबारसम्म २३ वटा स्पष्टीकरण सोधेको र त्यसमा १२ वटा जवाफ प्राप्त भएका छन् । राजनीतिक दल, उम्मेदवार र संस्थालाई समेत यसबिचमा स्पष्टीकरण सोधिएको छ । जिल्लास्तरमा समेत आचारसंहिता उल्लङ्घनमा उजुरी लिने र कारबाही गर्ने कार्य सँगसँगै अघि बढिरहेको छ । बाँके, कालीकोट, पाल्पा, गुल्मीलगायतका जिल्लामा सभा सम्मेलन रोकिएको, आचारसंहिताविपरीत हुने प्रचारका कार्यक्रम रोकिएको आयोगले जनाएको छ ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरे । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए । राष्ट्रपति नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्नेछन् । साथै राष्ट्रपतिले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नेछन् ।
पाेखरा: कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले रुपा–३ टाकेञ्जास्थित सहिदहरु कमल भुजेल, सुमित्रा घिमिरे, तीर्थ भुजेल र बिजय बास्तोलाको शालिकमा माल्यार्पण गरेर आईतबारको भेटघाट शुरु गरेको हो । भेटघाटमा स्थानियले यस पटक नेकपालाई नै जिताउने वचन दिए । विगतमा अन्य दलको उम्मेदवारलाई जिताउँदा नेकपालेजस्तो विकास र सुशासन दिन नसकेकाले यस पटक फेरी नेकपालाई जिताउने बताएका थिए । तर नेकपाले पनि जनयुद्दका अजेण्डा छाड्न नहुने बताए । स्थानीय एक आमाले भक्कानिदै भनिन्,‘नेकपाले जित्दाजस्तो विकास र सुशासन अरुले गरेनन्, त्यसैले यस पटक नेकपालाई जिताउँछौं । तर तपाईंहरुले पनि सहिदको सपना र वेपत्ताको योगदान नबिर्सिनूस् ।’ अर्की आमा चिजा भुजेलले जेनजी आन्दोलनको वातावरण बनाउने कांग्रेस र एमाले र जेनजी आन्दोलनको नाममा आगजनी गर्ने बालेन र रविको हातमा सत्ता गए देशले दुःख पाउने बताईन् । उनले भनिन्,‘त्यसैले हामी सचेत भएर नेकपालाई जिताउँछौं ।’ सो अवसरमा उम्मेदवार राजकाजी गुरुङले पार्टी र आफू जनयुद्दको अजेण्डामा कायम रहेको बताए । उनले भने,‘सहिदको सपना र वेपत्ता तथा घाईतेको योगदान कहिल्यै बिर्सिएको छैन र बिर्सने पनि छैन । त्यो सपना पूरा गर्ने भनेको समाजवादले मात्र हो, हामी त्यसकै लागि लडिरहेका छौं ।’
पोखरा: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । नेकपाबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण) लगायतका उम्मेदवारको निर्वाचन सम्पर्क कार्यालय शनिबार स्थापना गरिएको हो । नेकपा नेता श्रीनाथ बरालले कार्यालय उद्घाटन गरे । नेता बरालले देशलाई विनास हुनबाट जोगाउन नेकपालाई जिताउनुपर्ने बताए । पुराना शक्तिहरु नेपाली कांग्रेस र नेकपा एमालेका कारण देश भयावह स्थितिमा पुगेको दाबी गर्दै उनले थपे, ‘नयाँले सम्हाल्ने स्थिति छैन, पुराना निकम्पा बने । नेकपाको नेतृत्वका लागि जित जरुरी छ ।’ कार्यक्रममा उम्मेदवार गुरुङले देशको निकास र विकासका लागि नेकपाले जित्न आवश्यक रहेको बताए । कास्की क्षेत्र नम्बर १ को विकासमा विगतदेखि वर्तमानसम्म नेकपाका नेताहरुको भूमिका रहेको भन्दै उनले थपे, ‘हिजो देव गुरुङदेखि कृष्णबहादुर गुरुङसम्म, दीपक कोइरालादेखि गायत्री गुरुङसम्मले यस क्षेत्रको विकासमा योगदान दिनुभयो, मैले वर्षमान पुन अर्थमन्त्री भएका बेला राजनीतिक सल्लाहकारका रुपमा बस्दा यहाँ ३५ करोड भन्दा बढीका योजना राखेको थिए ।’ उनले विकासको विरासत धान्न पनि कास्की क्षेत्र नम्बर १ नेकपाले जित्नुपर्नेमा जोड दिए । नेकपा गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले देश बनाउने एकमात्र पार्टी नेकपा भएको विचार राखिन् । नेकपा केन्द्रीय सदस्य दीपक कोइरालाले विकास र समृद्धिको बाहक नेकपा भएकाले तारा चिह्नमा मतदान गरेर गर्न आग्र हगरे । कास्की १ का नेकपाका चुनावी कमान्डर सोमती गुरुङले नेकपाको नीतिमा देश अगाडि बढिरहेकाले नेतृत्व पनि नेकपाले गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पूर्ण लामा र कल्पना पाण्डेले पनि बोलेका थिए । पोखरा ३३ मा कार्यालय स्थापना नेकपा कास्कीले क्षेत्र नम्बर २ मा पर्ने पोखरा ३३ बागमारामा शनिबार सम्पर्क कार्यालय स्थापना गरेको छ । फागुन २१ को निर्वाचन केन्द्रीत गतिविधिलाई सहज बनाउन कार्यालय खोलिएको हो । चुनावी तयारी स्वरुप नेकपाले पोखरा २० मा बैठक आयोजना गरेको छ भने उम्मेदवार थापाले भूमीहीनहरुसँग भेटघाट गरेका छन् । कार्यक्रममा नेकपा नेता श्रीनाथ बरालले नेकपा लोकतन्त्र, कम्युनिष्ट आन्दोलन र राष्ट्रियताको मूलधार भएको बताए । उनले भने, ‘यहाँ सशस्त्र युद्धबाट आएको पार्टी र शान्तिपूर्ण राजनीतिबाट आएका सबै छौँ, हामी अबको नेपालको नेतृत्व गर्ने ल्याकत राख्छौं ।’ कार्यक्रममा कास्की २ का नेकपा उम्मेदवार किरण थापाले संकटमोचनका लागि भएको निर्वाचनबाट जनताले उचित नेतृत्व छान्ने विश्वास व्यक्त गरे । ‘पुरानाहरुको दुई तिहाइको दम्भले ठूलो विनाश भयो, नयाँ हुँ भनी दाबी गर्नेहरु ठगी आरोपमा मुछिएका छन्, सुकुम्बासी बस्तीमा डोजर चलाइरहेका छन्,’ उनले भने, ‘यो नयाँ हावाले पनि देशलाई निकास दिँदैन । नेकपासँग मात्र छ अहिलेको समस्याको समाधान ।’ कार्यक्रममा नेकपा नेताहरु नेत्रनाथ अधिकारी, खड्ग हमाल, समानुपातिक उम्मेदवार ज्ञानु आचार्यले पनि बोलेका थिए । कास्की ३ मा अगुवा कार्यकर्ता भेला नेकपा कास्की ३ का उम्मेदवार गोपाल गिरी शनिबार बिहान मत माग्न अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ र ५ पुगे । शनिबारै नेकपाले कास्की क्षेत्र नम्बर ३ मा पर्ने पोखरा महानगरका ११ वडाका अगुवा कार्यकर्ता भेला र उम्मेदवार परिचय कार्यक्रम आयोजना ग¥यो । भेलामा उम्मेदवार गिरीले आफ्ना योजना र पार्टीको कार्ययोजनाबारे प्रकाश पार्दै नेकपाको जितबाट मात्रै मुलुकले निकास पाउने जिकिर गरे ।

