काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दिउँसो १:०० बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्नेछन् । त्यसपछि मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्नेछिन् । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित सम्बन्धित विधेयक सदनमा पेस गर्ने कार्यसूची छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार बिहान वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्। आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावक बसेका थिए। रास्वपाको विधानअनुसार उपसभापति ३ जना रहनेछन्। जसमा चुनावबाट एक महिला अनिवार्यसहित २ जना चुनिनेछन् भने १ जना सभापतिबाट मनोनयन हुनेछन्। तीमध्ये पुरुषतर्फ वाग्ले निर्विरोध चुनिएका हुन्। यसअघि वाग्ले निर्वाचनबाट केन्द्रीय सदस्य चुनिएका थिए। रास्वपाको सभापति पदमा पनि रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै पदबाट राजीनामा दिएका हुन् । मन्त्री गुरुङले आफ्नो राजिनामा पत्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेस गरेकाे जानकारी प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईले बताए । गृह मन्त्रालयको जिम्मेवारी हालका लागि प्रधानमन्त्रीले नै सम्हाल्ने छन् । आफ्नो राजीनामाका सम्बन्धमा स्पष्ट पार्दै मन्त्री गुरुङले पदभन्दा नैतिकता र जनविश्वास ठुलो भएको बताए । आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उहाँले स्पष्ट पारेका छन् ।
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस वक्तव्यमा मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यो स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण हुने उल्लेख गरिएको छ। वक्तव्यमा मन्त्रीको ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत रहेको भन्दै निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य रहेको जिकिर गरिएको छ। जेनजी मुभमेन्टले मन्त्री नियुक्त गर्ने र फेरि हटाउने विषयलाई कच्चा र अमर्यादित खेल नबनाउन समेतर बालेन शाह नेतृत्वको सरकारसँग आग्रह गरेको छ। क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक विषय भएको भन्दै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्ने वक्तव्यमा उल्लेख छ। 'यो कुनै साधारण सरकार होइन, यो ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो,' वक्तव्यमा भनिएको छ, 'जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन।' मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै पनि किसिमको सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी समेत दिएको छ।
पोखरा । गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका हुन् । यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण बहादुर पाण्डे स्वास्थ्य मन्त्रीमा नियुक्त हुँदै सपथ लिए । भीम कार्कीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको रुपमा सपथ लिए । त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट जित शेरचन आर्थिक मामिलामन्त्री बने भने नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त हुँदै सपथ लिए । यस्तै रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बनिन् भने नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त हुँदै सपथ लिए । यसअघि कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हाल्दै आएका थिए । त्यस्तै, अर्थ मन्त्रालय डा. टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा र वन तथा वातावरण मन्त्रालय भेषबहादुर पौडेल मन्त्री रहेका थिए । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए ।
काठमाडौंः प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ । सभाको आजको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर अत्यधिक मतसहित निर्वाचित हुनुभएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गर्नुभयो । मतदानमा ठाकुरको पक्षमा दुई सय २९ र प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाका पक्षमा पाँच मत खसेको थियो । कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्नेमा २२ मत खसेको थियो । हाल प्रतिनिधिसभामा दुई सय ७५ सदस्य रहेकामा मतदानमा दुई सय ५६ जना सांसदले भाग लिनुभएको थियो । यसैबीच, सभामुख अर्यालले विजयी ठाकुरलाई बधाई दिनुभयो । विजयी हुनुभएकी २६ वर्षीया ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मत दिएका थिए । आजै राति १२ः०० बजेदेखि प्रतिनिधिसभाको पहिलो अधिवेशन समाप्त हुँदैछ ।
सांसद महावीर पुनले मुलुकमा जडा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद पुनले यस्तो आग्रह गर्नुभएको हो । नेपाल एकीकरण पछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै उहाँले आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने पद्धतिको विकास गर्न जोड दिनुभयो । उहाँले भन्नुभयो, “म सरकार र सबै राजनीतिक दललाई के अनुरोध गर्न चाहन्छु भने नेपालमा सदियौँदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता भाइरसबाट बच्नुहोस् । यो भाइरसले अझै पनि छोडेको छैन । आगामी दिनमा कुनै मन्त्री वा सांसदले आफ्ना आफन्तलाई फलानो पदमा नियुक्त गर्यो भन्ने सुन्नु नपरोस् ।” फरक प्रसङ्गमा बोल्दै सांसद पुनले गुम्ली जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए तापनि सो अनुसारको सेवा–सुविधा उपलब्ध नगराइएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । “गुम्लीलाई हिमाली जिल्ला घोषणा गरिए पनि त्यहाँका जनताले पाउनुपर्ने सुविधा पाएका छैनन्,” उहाँले भन्नुभयो, “हिमाली जिल्लाले पाउने आधारभूत सेवा र सुविधाहरू तत्काल उपलब्ध गराउन म अनुरोध गर्दछु ।”
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अनुशासन उलङ्घन गर्ने पाँच सय सात जनाविरुद्ध अध्ययन गरी चाँडो टुङ्गोमा पुर्याउने निर्णय गरेको छ । बैठकमा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेका, निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएका, पार्टी उम्मेदवारका विरुद्ध अप्रत्यक्ष रूपमा विपक्षीलाई टेवा पुर्याएका, निर्वाचनमा कांग्रेसलाई मत नमागी ‘साइलेन्स किलिङ’को काम गरेका र कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधिसभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका विरुद्ध छलफल भएको थियो । बैठकले छानविनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लङ्घन गरेको भनी आरोप लागेका व्यक्तिबाट सात दिनभित्र स्पष्टीकरण (सफाइ) माग गर्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले जानकारी दिनुभयो । यसैगरी, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराएको छ । आगामी दिनमा यस्ता गलत काम गर्ने जोकोही व्यक्तिउपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) र प्रचलित नेपाल कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णयसमेत बैठकले गरेको छ । बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यले अनुशासन उल्लङ्घन गरेका भए सोको उजुरी २०८२ चैत मसान्तभित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरेको छ । उक्त समयपछि आएका उजुरीउपर कुनै कारबाही नगर्नेसमेत समितिले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन हुनुभएको हो । बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि पछि निर्विरोधरूपमा थापा चयन हुनुभएको एमालेका सांसद ऐनबहादुर महरले जानकारी दिनुभयो । उपाध्यक्ष थापालाई सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत पदाधिकारीले बधाई दिनुभयो । प्रतिनिधिसभामा एमालेका २५ सदस्य छन् ।

