पोखरा: तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स धनगढीसँग भिड्ने भएको छ । दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा एफसी चितवनलाई ३–० को गोल अन्तरले पराजित गर्दै पोखराले दास्रो क्वालिफायर खेल खेल्ने अवसर प्राप्त गरेको हो । उक्त खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । उक्त खेलको विजेता उपाधिका लागि ललितपुर सिटीसँग भिड्नेछ । पोखराको जितमा जो आइडोले दुई गोल गरे । भने, १ गोल चितवनको तर्फबाट आत्मघाती बन्न पुग्यो । यसअघि पहिलो क्वालिफायरमा धनगढीलाई २–१ ले हराउँदै ललितपुर सिटी एफसीअपराजित रहँदै फाइनलमा पुगिसकेको छ । एफसी चितवन ३ जित १ बराबरी र २ हारमा १० अंक सहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । पोखराले २ जित, २ बराबरी र २ हारको नतिजामा ८ अक जोड्दै गोल अन्तरमा काठमाडौं रेजर्सलाई पछि पार्दै प्ले अफमा पुगेको हो । यो सिजन पोखराले सुरूवाती दुई खेल गुमाएपनि उत्कृष्ट कमब्याककासाथ दोस्रो क्वालिफायर सम्मको यात्रा तय गरेको थियो । पोखरा गत सिजन अंक तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको थियो ।
पोखरा: गुरुङ (तमु) कलाकार संघ नेपाल गण्डकी प्रदेश समिति पोखराको सातौं वार्षिक साधारण सभाकाे अवसरमा विक्रम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, उपाध्यक्ष टसबहादुर गुरुङ, महिला उपाध्यक्ष ईन्द्रा गुरुङ, महासचिव नेत्र गुरुङ, सचिव डबिन गुरुङ, महिला सचिव सुनिमा गुरुङ, सहसचिव रामप्रसाद गुरुङ र कोषाध्यक्ष टौंसुवा (सविना)गुरुङ, सहकोषाध्यक्ष दिलु गुरुङ निर्विरोध भएको कानुनी सल्लाहकार जुना गुरुङले जानकारी दिइन् । संघको विदेश विभाग, सांस्कृतिक विभाग, अतिरिक्त क्रियाकलाप,महिला विभाग प्रमुखमा क्रमश: गौरी गुरुङ, युवराज गुरुङ, ओम गुरुङ र रविना गुरुङ छन् । सचिवालय सदस्यमा पूजा गुरुङ, रोशन गुरुङ, उषा गुरुङ र रनु गुरुङ छन् । संघको कार्यसमिति सदस्यमा संगीता गुरुङ, ममता गुरुङ, प्रिया गुरुङ, धनप्रसाद गुरुङ, दीपसागर गुरुङ, अनुपम गुरुङ, सागर गुरुङ, एलिना गुरुङ चुनिएका छन् । नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित भएको सभामा मेनकाजी गुरुङ स्मृति श्रष्टा पुरस्कार २०८२ बाट अग्रज कलाकार धनबहादुर गुरुङलाई सम्मान गरिएको छ । कलाकार धनबहादुरलाई नगद ५ हजार ५ सय ५५ सहित भांग्रा, फेता र सम्मानपत्र प्रदान गरियो ।
पोखरा: विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपत्कालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । नेपाल सरकार, युरोपेली संघ, विश्व खाद्य कार्यक्रम र नागरिक उड्डयन प्राधिकरणको सहयोगमा यो घर निर्माण गरिएको हो । भवन निर्माणमा २ करोड लगानी भएको छ ।
पोखरा: गण्डकी प्रदेश सभाको चालु सातौं अधिवेशन अन्त्य भएको छ । माघ २१ गते सुरु भएको हिउँदे अधिवेशन ६ वटा विधेयक र प्रदेश सभा नियमावली पारित गर्दै मंगलबार रातिबाट अन्त्य गरिएको हो । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार मध्यराति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । यस अवधिमा प्रदेश सभाका १६ वटा बैठक बसेका छन् । यो अधिवेशनमा सरकारले सदनमा १० वटा विधेयक दर्ता गराएको छ । ६ वटा पारित गरिएको हो । यो अधिवेशनले गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक, गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने सम्बन्धी, सामयिक कर असुल गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । यसैगरी गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेर अधिवेशन अन्त्य गरिएको हो । यस अवधिमा गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयक, गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक प्रदेश सभामा पेस भएका छन् । यसैगरी, गण्डकी प्रदेशका दलित अधिकार तथा सशक्तीकरण, अपांगता भएका व्यक्तिहरुको अधिकार, खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएका छन् । गण्डकी प्रदेशमा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशका घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक पनि प्रदेश सभामा पेस भएका छन् ।
बर्दघाट नगरपालिका‐१४ नारायणचोकदेखि त्रिवेणी जाने निर्माणाधीन हुलाकी सडक पाँच वर्षदेखि अलपत्र छ । यो खण्ड निर्माणका लागि बज्रगुरु र महालक्ष्मी जेभी कन्ट्रेक्सनले ठेक्का पाएको थियो । विसं २०७९ मा सम्पन्न हुने गरी २०७६ सालमा ठेक्का लिए हालसम्म ४० प्रतिशत मात्र काम भएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, कपिलवस्तुका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिनुुभयो । उहाँका अनुसार रु ५८ करोडको लागतमा १५ किलोमिटर सडक कालोपत्र गर्ने भनिएकामा तीन पटक पत्राचार गरे पनि ठेकेदारले थप काम अगाडि बढाएको छैन । ताकेता गर्दा पनि काम नभएपछि ठेक्का तोडेर कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आफूहरूले सडक निर्माणका लागि पटक–पटक अनशन बस्ने र विरोध प्रदर्शनमार्फत ध्यानाकर्षण गराइए पनि काम अगाडि नबढेको बताउनुभयो । उहाँका अनुसार सडकको धुलो घरभित्र पस्दा सडक वरपरका स्थानीय धुुलोले पीडित छन्, धुलोले आँखा चिलाउँछ , छाती दुख्ने समस्या हुन्छ ,काम गर्ने क्रममा तथा घरभित्र बस्दा नाक, मुखमा धुलो पस्छ , घर वरिपरी धुलैधुलो हुने, बिहान सफा गरेको घर बेलुका धुलै धुलोले हुने समस्या छ । बर्दघाट नगरपालिकाका उपाध्यक्ष रुद्रप्रकाश उपाध्यायले लामो समयसम्म काम नहुँदा यात्रुलाई मात्रै नभइ स्थानीय बासिन्दा धुँवाधुलोले निकै समस्या भएको बताउनुभयो । पृथ्वीचन्द्र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नरुल होदाले सडकको धुलोले त्यस क्षेत्रका नागरिकमा स्वासप्रस्वास, एलर्जी, आँखा चिलाउने, खोकी लाग्नजस्ता रोगको समस्या देखिने गरेको उल्लेख गर्नुभयो ।
पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बेलुकी बस्दै छ । गण्डकी विश्वविद्यालयको कुलपति र प्रदेश नीति तथा योजना आयोगको सदस्य नियुक्तिबारे छलफल गरिनेगरि बेलुकी ५ बजे बैठक बस्ने तयारी गरिएको हो । हिजो (बिहीबार) मात्रै गण्डकी विश्वविद्यालयको कुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले ३ जनाको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पेश गरेको थियो । ती मध्येबाट १ जना कुलपतिमा नियुक्त गर्नेबारे छलफल हुनेछ भने, अन्तिम निर्णयको टुंगो पनि आजै हुन सक्ने बताइएको छ । छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद सदस्य डा. यमुना घलेले ३ जनाको सिफारिस गरेका थिए । जसमा प्राडा इन्द्रप्रसाद तिवारी, प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम समावेश गरिएको बताइएको छ । यस्तै आजको बैठकबाट प्रदेश नीति तथा योजना आयोगको सदस्यमा २ जनालाई नियुक्त गर्नेबारे पनि छलफल हुने छ ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो । रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा संकटमा पर्ने जोखिम बढेकामा सरोकारवालाको चासो देखिएको छ । ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार मुलुकभरमा सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा छन् । अहिलेसम्म एकीन गणना नभए पनि सिकार आरक्षभित्र करिब ३०० को हाराहारीमा रेडपाण्डा रहेको उनले बताए । विसं २०७४ मा सिकार आरक्षले गरेको सर्वेक्षणमा रेडपाण्डाको संख्या निकै कम भएकामा अहिले झण्डै २०० देखि ३०० रहेको अनुमान गरेको सुवेदीले बताए । रेडपाण्डा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरेको उनको भनाइ छ । ढोरपाटन सिकार आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकमा रेडपाण्डा भेटिएको उनले जानकारी दिए । पहिलेको तुलनामा अहिले रेडपाण्डा बढी मात्रामा देखिने गरेको सुवेदीको भनाइ छ । 'विसं २०७२ सम्म ढोरपाटनमा रेडपाण्डा छिटपुट रूपमा थिए, २०७४ सालमा सर्भे गर्दा सबै ब्लकमा रेडपाण्डा भेटिए, अहिले धेरै ठाउँमा बाक्लो रूपमा भेटिन्छन्', उनले भने, 'अहिले करिब ३०० को हाराहारीमा रेडपाण्डा ढोरपाटनमा रहेको हाम्रो आकलन छ, जुन सङ्ख्या मुलुकभरका राष्ट्रिय निकुञ्जमा भएको भन्दा बढी हो ।' सिकार आरक्ष क्षेत्रबाहेक बागलुङका माथिल्लो वनक्षेत्रमा पनि रेडपाण्डा पाइने डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थीले बताए । बढ्दो डढेलो, जंगल फडानी र जनघनत्वका कारण यसको संरक्षणमा चुनौती बढेको उनको भनाइ छ । रेडपाण्डा संरक्षणका लागि स्थानीय सरकार जागरूक बन्नुपर्ने भन्दै स्थानीयलाई सचेत बनाउनुपर्ने पन्थीले बताए । खासगरी कर्णालीभन्दा पूर्वी क्षेत्रको उच्च पहाडी र हिमाली क्षेत्रमा रेडपाण्डा पाइने गर्छ । अहिले मुलुकका २३ हिमाली तथा पहाडी जिल्लामा मात्रै रेडपाण्डा पाइन्छ । रेडपाण्डाले खाने निगालोको टुसासमेत संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ । यो लजालु स्वभाव हुनेहुँदा यसलाई सामान्य पनि बाधा पुग्ने काम गर्न नहुने पन्थी बताउँछन्
म्याग्दी: सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब रु. १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ । मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत् दुई झोलुङ्गे पुल, नौ वटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग रु. १५ करोड १७ लाख २२ हजार छ सय ४६ मा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो । चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख बजेट बिनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रीयामा छन भने रु. एक करोड १० लाख बजेटका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न मन्त्रालयमा स्रोत सहमतिका लागि प्रस्ताव गरिएको छ । झोलुङ्गे पुल बाहेकका आयोजनाहरु चालु आर्थिक वर्षभित्रनै सम्पन्न हुने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले बताए । योजनाहरु मार्फत ग्रामिण क्षेत्रमा सहज यातायात सेवाको पहुँच विस्तार भई बसाईसराई घटाउने अपेक्षा गरिएको उनले बताए । सघन शहरी तथा भवन निर्माण योजना मार्फत रु। चार करोड ७५ लाख बजेट बिनियोजन भएको बेनी नगरपालिकामा एकिकृत शहरी पूर्वाधार विकास गर्ने कार्यक्रम अन्तर्गत रु. तीन करोड १९ लाखमा ठेक्का सम्झौता भएको बेनी नगरपालिका–८ कालीपुल देखि वडा नं.–७ मा रहेको दरवाङ बसपार्क जोड्ने बेनी चक्रपथ सडक ढलान गर्ने योजना शुरु भएको छ । उक्त कार्यलय मार्फत रु. ६५ लाख ३८ हजार ५३ को लागतमा कुहुँ–टोड्के–झि र रु. एक करोड तीन लाख २८ हजार ६२ मा मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुदै कुइनेमंगले सडक स्तरोन्नति योजना कार्यान्वयन भएको छ । योजनाका ईञ्जिनियर बिरबल सुनारले ५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । स्थानीय पूर्वाधार विकास आयोजना मार्फत रु. चार करोड ७० लाख ३६ हजार दुई सय ५० को लागतमा धवलागिरी गाउँपालिकाको मराङखोला माथी तीन सय ६५ र मुनाको दरखोला माथी तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माणाधिन छन् ।
म्याग्दी: रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको स्थानीयको बुझाइ छ । मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृतिपूजाका रूपमा भूमेपूजा गरिने भए पनि चिमखोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने गरिन्छ । त्यसमा स्थानीयवासीका साथै आन्तरिक पर्यटकहरू रमाउन गरेका स्थानीय याम रोकाले बताए । यस वर्ष पनि मङ्गलबार विधिपूर्वक भूमे र स्थानीय शक्तिपीठका रूपमा परिचित मण्डली बजैको पूजा गरियो र बुधबार गाउँको सांस्कृतिक चिनारीलाई प्रस्तुत गरिएको उनले बताए । यहाँ हरेक वर्षको चैत महिनामा पर्ने उजेली मङ्गलबारको दिनमा भूमेपूजा गर्ने प्रचलन छ । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमेपूजामा मोसो, छ्याङका छोक्रा एकापसमा दलेर नाचगान गर्ने अनौठो प्रचलन छ । गाउँको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी, देशविदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका पाँच सयभन्दा बढीले यसपटक भूमेपूजा गरेको वडाअध्यक्ष थकप्रसाद पाइजाले बताए । “पहिले गाउँका स्थानीयले मात्र पूजा गर्थे, हाल यहाँको भूमेपूजामा हुने मौलिक र अनौठो संस्कृतिले छिमेकीगाउँ र आन्तरिक पर्यटकहरू पनि यहाँ आउने गरेका छन् । देशविदेशमा पुगेका स्थानीयवासीसमेत भूमेपूजालाई ठूलो चाडका रूपमा मनाउन आएका छन्”, उनले भने । भूमेपूजा यहाँको सांस्कृतिक चिनारी नै बनेको छ । छ्याङलाई भूमेपूजामा मुख्य प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ भने भूमे थानमा पूजा गरेपछि मोसो र छ्याङको छोक्रा दलेर बाजागाजासँगै नाचगान गर्दै खुसियाली मनाउने चलन रहेको छ । यसलाई यहाँ पुग्ने आन्तरिक पर्यटकहरूले अनौठो संस्कृतिका रूपमा लिने गरेका छन् । प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् र खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमेपूजा गर्ने प्रचलन रहेको स्थानीयवासी बताउँछन् । भूमेपूजाको भोलिपल्ट गाउँमा सांस्कृतिक उत्सव हुनेगर्छ । भूमेपूजाका अवसरमा टोपानाच प्रदर्शन गरिन्छ । छेमाहरूले टोपानाच प्रदर्शन गरेका हुन् भने सरमाजाले, जुरेचल्ला, दुलहादुलहीको कलस जुधाउने नाचसँगै पुख्र्यौली र थालीनाचलगायतका मौलिक कला र संस्कृति प्रदर्शन गर्ने गरिएको चिमखोलाका वडाअध्यक्ष पाइजाले जानकारी दिए । यस पटक भूमेपूजाका अवसरमा चिमखोलामा स्थानीय मण्डली युवा क्लबको आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक मेला सुरु भएको छ । भूमेपूजा र मेलामा रमाउनका लागि जिल्लाका विभिन्न ठाउँका युवायुवतीसँगै देशविदेशमा छरिएकाहरू चिमखोलामा पुगेका छन् ।