व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरेका थिए । छलफलमा शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए । प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सुलभ सर भनिने व्यक्तिसहित दुई जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ । घटनाका सम्बन्धमा मन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै गएर सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए । उनले प्रहरी उच्च अधिकारीका साथै त्रिविका पदाधिकारीसँग परामर्श गरी छानबिन समिति बनाउने लगायत विषयमा छलफल गरेका थिए ।
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार एक अवार्डको आयव्यय सार्वजनिक तथा समिक्षात्मक छलफल कार्यक्रम आयोजना गरी उक्त रकम बचत गरेका जानकारी दिएको हो । अवार्ड कार्यक्रमका लागि कुल ३४ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएको थियो भने २७ लाख ४ हजार ५ सय २० रुपैयाँ खर्च भएपछि उक्त रकम बचत भएको हो । गत वैशाख ३१ गते पोखरा–६ स्थित पोखरा इभेन्ट सेन्टरमा सम्पन्न भएको अवार्ड कार्यक्रमको मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ ले गरेको थियो । सह–प्रायोजकका रूपमा गुरुङ गहना घर प्रालि र केल्मे नेपाल रहेका थिए। कोषाध्यक्ष विमल तिवारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न स्थानीय तह, खेल संस्था, व्यवसायिक प्रतिष्ठान तथा देश–विदेशमा रहेका खेलप्रेमी र पूर्वखेलाडीहरूको आर्थिक सहयोगबाट कार्यक्रम सम्पन्न भएको मञ्चले जनाएको छ । खर्चतर्फ सबैभन्दा बढी पुरस्कार वितरणमा १० लाख ३७ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ । खाजा, खाना तथा आवासमा ६ लाख ९८ हजार ३ सय ६४ रुपैयाँ, ट्रफी तथा ट्रयाक सेट खरिदमा ४ लाख २२ हजार रुपैयाँ, सांगीतिक कार्यक्रम सञ्चालनमा ४ लाख ५० हजार रुपैयाँ तथा अन्य शीर्षकमा खर्च गरिएको मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्ड कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सरकारी निकाय, स्थानीय तह, व्यवसायिक संस्था, खेल संस्था, खेलाडी, पूर्वखेलाडी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहकार्यको अपेक्षा गरेको जनाएको छ । कार्यक्रममा मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरले विगतका कमजोरीबाट पाठ सिक्दै संस्थाका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रविधिको विकाससँगै खेलकुद पत्रकारिताको शैलीमा पनि सुधार ल्याउनुपर्नेमा उनको जोड थियो । उनले राजधानी केन्द्रित ठूला कार्यक्रमको प्रभावलाई तोड्दै पोखरा स्पोट्र्स अवार्डले देशभर बेग्लै पहिचान बनाउन सफल भएको बताए । ‘विगतका समयमा भएका गल्ती र कमजोरीहरूलाई सुधारेर अझ व्यवस्थित रूपमा अगाडि बढ्नु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘काठमाडौंमा मात्र भव्य कार्यक्रम हुन्छन् भन्ने भ्रमलाई पोखरा स्पोट्र्स अवार्डले चिर्न सफल भएको छ र देशकै प्रतिष्ठित अवार्डको रूपमा यसले आफ्नो स्थान सुरक्षित गरेको छ ।’ आगामी वर्ष मञ्चको अधिवेशनको वर्ष समेत रहेकाले नयाँ नेतृत्वले अझै रचनात्मक र सिर्जनात्मक रूपमा संस्थालाई अगाडि बढाउने विश्वास उनले व्यक्त गरे । नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीले पत्रकारिता क्षेत्रमा हुने अवार्ड कार्यक्रमलाई पोखराको विशिष्ट पहिचान वा ‘ब्राण्ड’का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । अवार्डलाई थप भव्य र व्यवस्थित बनाउन सबै पक्षबीचको सहकार्य र एकता आवश्यक रहेको उनले उल्लेख गरे । उनले भने, ‘यसलाई पोखराको एउटा ब्राण्ड कार्यक्रम बनाउनका लागि तपाईं हामी सबैको सहकार्य र एकताको हिसाबले अगाडि बढ्नुपर्छ ।’ मञ्चका पूर्वअध्यक्ष केशव पाठकले पोखरा स्पोट्र्स अवार्डको सफलता र यसको गरिमालाई अझ उच्च बनाउन संस्थागत पारदर्शिता र नियमित समीक्षा अनिवार्य रहेको बताए । पाठकले कुनै पनि ठूला आयोजना वा कार्यक्रमको वास्तविक सफलता त्यसको आर्थिक पारदर्शितामा निर्भर रहने उल्लेख गरे । उनले मञ्चले हरेक वर्ष अवार्ड सम्पन्न भएपछि सार्वजनिक रूपमै आम्दानी र खर्चको फेहरिस्त पेश गर्ने परम्परा बसालेर सुशासन र जवाफदेहिताको एउटा नमूना पेश गरेको बताए । आर्थिक पाटो स्पष्ट र पारदर्शी हुँदा दाता, प्रायोजक र शुभेच्छुकहरूको संस्थाप्रतिको विश्वास थप प्रगाढ हुने पूर्वअध्यक्ष पाठकले बताए । अवार्ड भव्य र सभ्य रूपमा सम्पन्न भए तापनि केही प्राविधिक र व्यवस्थापकीय पक्षमा सुधार गर्दै आगामी दिनको खाका तयार गर्नुपर्ने उनको सुझाव थियो । मञ्च गण्डकीका पूर्व अध्यक्ष एकराज गिरीले मञ्चले आयोजना गर्दै आएको स्पोट्र्स अवार्डलाई आगामी दिनमा अझ परिष्कृत र अपनत्वपूर्ण बनाउनुपर्नेमा जोड दिए । अवार्डको १०औँ संस्करणसम्म आइपुग्दा यसले ठूलो आर्थिक कारोबार र प्रभाव जमाउन सफल भएको उल्लेख गर्दै गिरीले आगामी दिनमा यसको गरिमालाई अझ उचाइमा पु¥याउनुपर्ने धारणा राखे । अवार्डका परिकल्पनाकार सन्देश श्रेष्ठले यसको गरिमा र भविष्यबारे आफ्ना धारणा राखे । उनले झण्डै ५ लाख रुपैयाँको न्यून बजेटबाट सुरु गरिएको यो अभियान अहिले ३५ लाख रुपैयाँ संकलन र परिचालन गर्न सक्ने हैसियतमा पुग्नु गौरवको विषय भएको बताए । अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ सुरु भएको यो कार्यक्रमले अहिले एउटा स्थापित ब्रान्डको रूप लिएको उनको भनाइ थियो । उनले भने, ‘बचत भएको रकम फ्रिज गरेर मात्र राख्नु हुँदैन, यसलाई खेलकुद पत्रकारहरूको व्यावसायिकता र विश्लेषणात्मक समाचार लेख्ने क्षमता बढाउन लगानी गर्नुपर्छ ।’
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशमै पहिलोपल्ट केयूको इन्जिनियरिङ संकायअन्तर्गत बीआईटी कार्यक्रम पोखरा भित्र्याउँदै कलेजले विद्यार्थीका लागि अध्ययनसँगै रोजगारीलाई जोड्ने ‘सिक्दै कमाउँदै’ मोडल सार्वजनिक गरेको छ । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कलेज सञ्चालक तथा केयूका प्रतिनिधिले कार्यक्रमबारे विस्तृत जानकारी गराएका हुन् । पहिलो शैक्षिक सत्रका लागि केयूले निर्धारण गरेको ३० जनाको सीमित कोटाका लागि शनिबार र आइतबार सञ्चालित प्रवेश परीक्षामा करिब ३ सयजना विद्यार्थी सहभागी भएका छन् । भर्ना प्रक्रिया १८ साउनदेखि खुला भई आगामी ९ भदौदेखि नियमित कक्षाहरू सञ्चालन हुने जनाइएको छ । चार वर्षे यस पाठ्यक्रमको कुल शिक्षण शुल्क ९ लाख ६० हजार रुपैयाँ तोकिएको छ । भर्नाका लागि प्लस टू तहमा विज्ञान विषय पढेको र न्यूनतम जीपीए दुई ल्याएको विद्यार्थी योग्य हुनेछन् । अशोका कलेजका अध्यक्ष श्रीराम पाण्डेले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी उद्योग र व्यवहारसँग जोड्न आफ्नै व्यावसायिक घरानाको सञ्जाल प्रयोग गरिने बताए । कलेज सञ्चालक समूहको हाइड्रोपावर, खाद्यान्न, इन्जिनियरिङ तथा सूचना प्रविधिसम्बन्धी उद्योगहरू रहेकाले दोस्रो तथा तेस्रो वर्षदेखि नै विद्यार्थीलाई व्यावसायिक सफ्टवेयर निर्माण तथा परियोजनामा संलग्न गराइने उनले बताए । जसअन्तर्गत विद्यार्थीले अध्ययनकै क्रममा साझेदार उद्योगमा पारिश्रमिकसहित काम गर्न पाउनेछन् । यसैगरी नयाँ सफ्टवेयर तथा टेक–स्टार्टअपका लागि छुट्टै इन्क्युबेसन तथा स्टार्टअप सेल र मेन्टरसिपको व्यवस्था पनि गरिएको छ । ‘इन्जिनियरिङ अध्ययनपछि मैले पढाइ र व्यावहारिक कामबीच ठूलो खाडल अनुभव गरेँ । अशोका कलेजमा बिआईटी पढ्ने विद्यार्थीले अध्ययनकै क्रममा हाम्रा साझेदार प्रविधि कम्पनीहरूमा काम गरी अनुभव हासिल गर्नेछन्,’ उनले भने, ‘स्नातक भएर निस्कँदा उनीहरूसँग प्रतिष्ठित डिग्रीका साथै बजारमा बिक्ने व्यावहारिक कार्यअनुभव हुनेछ ।’ उनका अनुसार अशोका कलेजको स्थापना करिब दस वर्षअघि भएको हो । सुरुमा सिर्जना चोकमै आफ्नै भवनबाट कार्यक्रम सञ्चालन गर्ने योजना रहे पनि विश्वविद्यालयहरूमा आवेदन दिँदा सम्बन्धन प्राप्त नभएको उनले बताए । पछि केयूले बीआईटी कार्यक्रमका लागि अभिरुचिपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) माग गरेपछि कलेजले आवेदन दिई सम्बन्धन प्राप्त गरेको हो । ‘पहिलो शैक्षिक सत्रमा तीस जना विद्यार्थी भर्ना हुनेछन्,’ उनले भने, ‘हामीले पोखरा महानगरपालिकाको कार्यालयपछाडि संगम मार्गमा भवन भाडामा लिएर हाल कार्यक्रम सञ्चालन गरेका छौं, तर दीर्घकालीन योजनाअनुसार सिर्जना चोकमै आफ्नै भवनमा विस्तृत रूपमा कार्यक्रम सञ्चालन गर्नेछौं ।’ पाण्डेका अनुसार सिर्जना चोकमा रहेको पुरानो पोखरा फुड्स बिस्कुट कारखानाको भवन भत्काएर हाल करिब ५० हजार वर्गफिट क्षेत्रफलको नयाँ भवन निर्माणाधीन छ । भवन आचारसंहिता तथा सुरक्षा मापदण्डका हिसाबले उक्त पुरानो संरचना हालको मापदण्डसँग नमिलेपछि यसलाई भत्काएर नयाँ भवन बनाउने निर्णय गरिएको उनले जनाए । नयाँ भवन महानगरबाट स्वीकृति लिएरै निर्माण भइरहेको र संरचनागत डिजाइनमा कुनै सम्झौता नगरिएको उनको भनाइ छ । केयूले तोकेअनुसार बीआईटी कार्यक्रममा एक इनटेकमा तीस जनाभन्दा बढी विद्यार्थी भर्ना गर्न नपाइने उनले जानकारी दिए । कार्यक्रमको कुल शुल्क केयूले नै तोकेअनुसार रहेको र सोही अनुसार शुल्क संरचना कायम राखिएको उनले स्पष्ट पारे । भर्ना हुने विद्यार्थीमध्ये १० प्रतिशत अर्थात् तीनजनाले क्षमता र आर्थिक अवस्थाका आधारमा छात्रवृत्ति पाउने व्यवस्था रहेको उनले बताए । पाठ्यक्रमअन्तर्गत विद्यार्थीले कृत्रिम बुद्धिमत्ता (एआई) तथा मेसिन लर्निङ, आधुनिक प्रोग्रामिङ र सफ्टवेयर डेभलपमेन्ट, नेटवर्क तथा साइबर सुरक्षा, डाटाबेस सिस्टम र क्लाउड कम्प्युटिङजस्ता विषयमा दक्षता हासिल गर्नेछन् । काठमाडौं विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग प्रमुख पंकज दवाडीका अनुसार बीआईटी कार्यक्रम १ सय २७ क्रेडिटको हो, जुन नतिजामुखी शिक्षा (आउटकम बेस्ड एजुकेसन) को सिद्धान्तमा आधारित रहेको छ । ‘विद्यार्थीले स्नातक उत्तीर्ण गरेपछि श्रम बजारमा सहज पहूँचका लागि निश्चित सीप विकास गर्नैपर्छ भन्ने मान्यताअनुरूप हामीले पाठ्यक्रम डिजाइन गरेका छौं,’ उनले भने । पोखरामा यो कार्यक्रम पहिलोपल्ट सञ्चालन भए पनि यसअघि यही पाठ्यक्रम विस्तार कार्यक्रमअन्तर्गत अन्यत्र सञ्चालनमा रहेकाले आफूहरूसँग अनुभव रहेको उनले जनाए । काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका सहायक डिन श्यामसुन्दर खड्काका अनुसार विश्वविद्यालयले हरेक कार्यक्रममा गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति लिएको छ । ‘प्रवेशका लागि विज्ञान विषय पढेको विद्यार्थी नै आवश्यक पर्ने मापदण्ड हामीले तोकेका छौं र काठमाडौं विश्वविद्यालयका सबै कार्यक्रम त्यही मापदण्डभित्र रहन्छन्,’ उनले भने, ‘अशोका कलेजले तयार पारेको भौतिक पूर्वाधार र प्रतिबद्धता हेरेर नै हामीले सम्बन्धन दिएका हौं । विद्यार्थीको सुरक्षा, भवनको संरचनागत मजबूती र शैक्षिक मापदण्डमा कुनै कमजोरी हुन दिइने छैन ।’ विश्वविद्यालयले हाल ७ प्रदेशमा विस्तार गर्दै ९ ठाउँमा सम्बन्धन प्रदान गरिरहेको र गुणस्तर सुनिश्चितताको जिम्मेवारी विश्वविद्यालयले लिने उनको भनाइ छ । शिक्षण जनशक्तिका सन्दर्भमा न्यूनतम स्नातकोत्तर उत्तीर्ण गरेकालाई मात्र अध्यापनको जिम्मेवारी दिइने र ४० प्रतिशत पूर्णकालीन तथा ६० प्रतिशत ‘भिजिटिङ’ संकायको अनुपात कायम गरिने उनले स्पष्ट पारे । कलेजका अध्यक्ष पाण्डेका अनुसार कलेजका अधिकांश शिक्षक नियुक्ति प्रक्रियामा रहेका छन् र काठमाडौं विश्वविद्यालयकै मापदण्डअनुसार स्नातकोत्तर उत्तीर्ण गरेका जनशक्ति मात्र नियुक्त गरिनेछ । भविष्यमा अशोका कलेजले बीआईटी कार्यक्रमलाई सफल रूपमा सञ्चालन गरेपछि अन्य इन्जिनियरिङ तथा व्यवस्थापनका कार्यक्रमहरू पनि थप गर्दै लैजाने दीर्घकालीन योजना बनाएको छ ।
फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ। अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा जर्सी बिक्री भएको हो। यो फुटबल इतिहासमा लिलामीमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो। यसअघि अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्ग्ल्यान्डविरुद्धको चर्चित ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा बिक्री भएको थियो। सन् २०२२ मा ९५ लाख डलरमा म्याराडोनाको जर्सी लिलामी भएको थियो। पेलेको जर्सीका लागि ५ जनाभन्दा धेरै सहभागीबाट १० वटा बोलकबोल परेको थियो। यही जर्सी सन् २००४ मा भने एक लाख पाँच हजार ६ सय अमेरिकी डलरमा बिक्री भएको थियो। पेलेले १७ वर्षको उमेरमा सन् १९५८ मा स्विडेनविरुद्ध खेलेको विश्वकप फाइनलमा दुई गोल गर्दै ब्राजिललाई पहिलो विश्वकप उपाधि दिलाएका थिए। विश्व फुटबलका दुवै महान् खेलाडी पेले र म्याराडोनाको निधन भइसकेको छ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि ६ मार्की खेलाडी चयन गरिएको छ। अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठमाडौं रेड्सको सुनिल बोहरा छन् । त्यस्तै खप्तड फाल्कन्सका धिरोज काजी बस्नेत, मधेश वारियर्सको रविन नगरकोटी र सगरमाथा स्म्यासर्सको हरि हजुर थापा मार्की खेलाडी छानिएका छन् । खप्तड फाल्कन्सका धिरोजबाहेक ५ मार्की राष्ट्रिय टोलीका सदस्य हुन् । धिरोज यु-१९ राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन्। नेपाल भलिबल संघको संरक्षकत्वमा केडिया ग्रुपले एनभिएल आयोजना गर्न लागेको हो। लिगमा ६ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। लिगको भदौमा हुने भनिएको छ।
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग आसपास सरेकाले मनसुनी गतिविधि बढ्ने महाशाखाको आकलन छ। महाशाखाका अनुसार शनिबार र आइतबार देशका हिमाली तथा पहाडी भू-भागमा वर्षाको जोड रहनेछ। यसैगरी कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान बुलेटिनमा उल्लेख छ। बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली उत्तर-पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने देखिएको हो। यो प्रणालीका कारण देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना समेत छ। यो मौसमी प्रणालीका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीमा जुट्न सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ। महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिइरहन समेत सूचित गरेको छ।
स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्याङ नगरपालिका–६ बनपालेका ६५ वर्षीय धनबहादुर थापा आफ्नै गोठमा काम गरिरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो । ढुंगा-माटोले बनेको खरले छाएको एकतले कच्ची गोठमाथि पहिरो खस्दा थापा गोठसहित पुरिएका थिए । प्रहरी बिहान नै घटनास्थल पुगेपछि स्थानीयवासीसँग मिलेर पहिरो पन्छाउने काम सुरु गरेको थियो । उद्धारका क्रममा धनबहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । पहिरोले गोठमा बाँधिएको एक भैंसी पनि मरेको छ । त्यस्तै एउटा बंगुर घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएबापत तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो। सोही सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल र आयोगको कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपियाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट बिहीबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । नियन्त्रणमा लिइएका खड्का माथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको हो। खेलको ११२ औँ मिनेटमा अल्भारेजको गोलमा अर्जेन्टिनाले १-२ अग्रता बनाएको थियो। अतिरिक्त समयको इन्ज्युरी टाइमको अन्तिममा मार्टिनेजको गोलमा अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो। अतिरिक्त समयमै अर्जेन्टिनाका अल्भारेजले खेलमा दोस्रो गोल गरेका थिए। अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो। खेलको ७२ औँ मिनेटमा ब्रिन एम्बोले रातो कार्ड खाँदै मैदान छाडेपछि स्वीटजरल्यान्ड १० खेलाडीमा समेटियो। यद्यपी टोलीले विश्व च्याम्पियनलाई कडा टक्कर दिँदै दबाबमा राखेको थियो। ब्रिन एम्बोलोले दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएका हुन्। पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध १-० को अग्रता बनाएको थियो। खेलको दोस्रो हाफको ६७ मिनेटमा स्विट्जरल्यान्डका आर.रोड्रिगेजले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएका थिए। खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो। कप्तान लियोनल मेसीले कर्नर मार्फत् प्रहार गरेको बललाई २० नम्बर जर्सीका एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत् उत्कृष्ठ गोल गरेका थिए। आजै बिहान भएको क्वार्टरफाइन खेलमा नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। ७२ वर्षपछि क्वार्टरफाइनलमा पुगेको स्वीटजरल्यान्ड भने अन्तिम ८ बाट नै बाहिरिएकाे छ।

