पोखरा: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । नेकपाबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण) लगायतका उम्मेदवारको निर्वाचन सम्पर्क कार्यालय शनिबार स्थापना गरिएको हो । नेकपा नेता श्रीनाथ बरालले कार्यालय उद्घाटन गरे । नेता बरालले देशलाई विनास हुनबाट जोगाउन नेकपालाई जिताउनुपर्ने बताए । पुराना शक्तिहरु नेपाली कांग्रेस र नेकपा एमालेका कारण देश भयावह स्थितिमा पुगेको दाबी गर्दै उनले थपे, ‘नयाँले सम्हाल्ने स्थिति छैन, पुराना निकम्पा बने । नेकपाको नेतृत्वका लागि जित जरुरी छ ।’ कार्यक्रममा उम्मेदवार गुरुङले देशको निकास र विकासका लागि नेकपाले जित्न आवश्यक रहेको बताए । कास्की क्षेत्र नम्बर १ को विकासमा विगतदेखि वर्तमानसम्म नेकपाका नेताहरुको भूमिका रहेको भन्दै उनले थपे, ‘हिजो देव गुरुङदेखि कृष्णबहादुर गुरुङसम्म, दीपक कोइरालादेखि गायत्री गुरुङसम्मले यस क्षेत्रको विकासमा योगदान दिनुभयो, मैले वर्षमान पुन अर्थमन्त्री भएका बेला राजनीतिक सल्लाहकारका रुपमा बस्दा यहाँ ३५ करोड भन्दा बढीका योजना राखेको थिए ।’ उनले विकासको विरासत धान्न पनि कास्की क्षेत्र नम्बर १ नेकपाले जित्नुपर्नेमा जोड दिए । नेकपा गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले देश बनाउने एकमात्र पार्टी नेकपा भएको विचार राखिन् । नेकपा केन्द्रीय सदस्य दीपक कोइरालाले विकास र समृद्धिको बाहक नेकपा भएकाले तारा चिह्नमा मतदान गरेर गर्न आग्र हगरे । कास्की १ का नेकपाका चुनावी कमान्डर सोमती गुरुङले नेकपाको नीतिमा देश अगाडि बढिरहेकाले नेतृत्व पनि नेकपाले गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पूर्ण लामा र कल्पना पाण्डेले पनि बोलेका थिए । पोखरा ३३ मा कार्यालय स्थापना नेकपा कास्कीले क्षेत्र नम्बर २ मा पर्ने पोखरा ३३ बागमारामा शनिबार सम्पर्क कार्यालय स्थापना गरेको छ । फागुन २१ को निर्वाचन केन्द्रीत गतिविधिलाई सहज बनाउन कार्यालय खोलिएको हो । चुनावी तयारी स्वरुप नेकपाले पोखरा २० मा बैठक आयोजना गरेको छ भने उम्मेदवार थापाले भूमीहीनहरुसँग भेटघाट गरेका छन् । कार्यक्रममा नेकपा नेता श्रीनाथ बरालले नेकपा लोकतन्त्र, कम्युनिष्ट आन्दोलन र राष्ट्रियताको मूलधार भएको बताए । उनले भने, ‘यहाँ सशस्त्र युद्धबाट आएको पार्टी र शान्तिपूर्ण राजनीतिबाट आएका सबै छौँ, हामी अबको नेपालको नेतृत्व गर्ने ल्याकत राख्छौं ।’ कार्यक्रममा कास्की २ का नेकपा उम्मेदवार किरण थापाले संकटमोचनका लागि भएको निर्वाचनबाट जनताले उचित नेतृत्व छान्ने विश्वास व्यक्त गरे । ‘पुरानाहरुको दुई तिहाइको दम्भले ठूलो विनाश भयो, नयाँ हुँ भनी दाबी गर्नेहरु ठगी आरोपमा मुछिएका छन्, सुकुम्बासी बस्तीमा डोजर चलाइरहेका छन्,’ उनले भने, ‘यो नयाँ हावाले पनि देशलाई निकास दिँदैन । नेकपासँग मात्र छ अहिलेको समस्याको समाधान ।’ कार्यक्रममा नेकपा नेताहरु नेत्रनाथ अधिकारी, खड्ग हमाल, समानुपातिक उम्मेदवार ज्ञानु आचार्यले पनि बोलेका थिए । कास्की ३ मा अगुवा कार्यकर्ता भेला नेकपा कास्की ३ का उम्मेदवार गोपाल गिरी शनिबार बिहान मत माग्न अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ र ५ पुगे । शनिबारै नेकपाले कास्की क्षेत्र नम्बर ३ मा पर्ने पोखरा महानगरका ११ वडाका अगुवा कार्यकर्ता भेला र उम्मेदवार परिचय कार्यक्रम आयोजना ग¥यो । भेलामा उम्मेदवार गिरीले आफ्ना योजना र पार्टीको कार्ययोजनाबारे प्रकाश पार्दै नेकपाको जितबाट मात्रै मुलुकले निकास पाउने जिकिर गरे ।
पोखरा: गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हा । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो । उपाधीसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो । फाइनलमा पराजित भएको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको पर्वत जिल्ला भलिबल संघले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो । तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरे । सर्भर अद्नान खान, लिविरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्टु, प्रशिक्षक रमेश केसी विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार १११ रुपैयाँ हात पारे । महिलातर्फको उपाधि भने न्यू डायमण्ड स्पोट्स क्लबले जितेको थियो । जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्याण्ड क्विन्स तेस्रो बने । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।
पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र लेखनाथमा खेलाइएको छ । प्रतिकुल मौसमका कारण पोखरा क्रिकेट मैदानमा २५ ओभरको खेलमा पोखरा क्रिकेट लेखनाथ युथ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई लागि ४५ रनले हराएको हो । माछापुच्छ्रे १६.१ ओभरमा ७० रन बनाउँदै अलआउट हुन पुग्यो । माछापुच्छ्रेका लागि अनिश जिसीले सर्वाधिक २१ रन लिए । रितेश बरालले ११ रन बनाए भने कविन सापकोटा र प्रमोद बास्तोलाले समान ५÷५ रन बाहेक अन्य व्याटर चल्न सकेनन् । लेखनाथका लागि शाहिल पौडेलले ४, सज्जन क्षेत्रीले ३, सुशिल सुवेदीले २ तथा सुवाष बास्तोलाले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको लेखनाथले २० ओभरमा ८ विकेट गुमाउँदै कुल १०७ रन बनायो । लेखनाथका लागि देव यादवले २८, प्रताप थापाले २५, राजकुमार छन्त्यालले १९ रन बनाए । माछापुच्छे्रका लागि रितेश बरालले सर्वाधिक ५ विकेट लिए ।
पोखरा: जानकी माध्यामिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई ईक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । संस्थाले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही दुई हजारका दरले नगद वितरण गरेको हो । विद्यालयमा आज आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोला,इक्रा शिक्षा फाउण्डेशनका केन्द्रीय अध्यक्ष शेख जहागिर, प्रधानाध्यापक अर्जुन कडेल लगायतले विद्यार्थीलाई नगद वितरण गर्दै रकमको सही सदुपयोग गर्न अनुरोध गर्नुभयो । प्रत्येक कक्षाका दुई जनाका दरले आर्थिक सहयोग गरिएको कार्यक्रममा विद्यार्थीहरुले प्राप्त रकम आवश्यक शैक्षिक सामाग्री खरिदमा लागनी गर्ने विश्वास व्यक्त गरेका थिए । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् । सो संस्थाले पोखरा १७ दोविल्लामा मदसा(विद्यालय) संञ्चालनका लागि आवश्यक जग्गा खरिद गरेर भौतिक संरचना निर्माण गरिरहेको छ । विद्यालयमा नेपाली, अग्रेजी सहित मुस्लिम भाषाको पढाई हुने फाउण्डेशनका अध्यक्ष शेर जहारिले जानकारी दिनुभयो ।
पोखरा: त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफलाई सम्पियो । चौथो सेटमा आर्मीले पुनः २५–१७ को जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १८–१६ ले जित निकाल्दै आर्मीले खेल आफ्नो पक्षमा पारेको हो । आर्मी र एपीएफले समान ७ अंक जोडेका छन् । सेटका आधारमा अघि हुँदा आर्मीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्न पाउनेछ । यसअघि भएको पुरुषतर्फ खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यो जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै छ । यस्तै आजै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो । च्याम्पियनसिपअन्तर्गत भोलि शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल महिलातर्फ उपाधिका लागि न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फको खेल हुनेछ । पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबिचको खेल दिउँसो एक बजेबाट सुरु हुने तालिका छ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । ५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन् । कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन् । उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।
पोखरा: होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै पौडेललाई सम्मान गरेको हो । पौडेललाई पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी, कार्यक्रमका संयोजक तुलसी लामिछाने लगाएतले सम्मानपत्र, दोसल्लाले सम्ममान गरे । लामो समय देखी पोखराको पर्यटन व्यवसायमा पौडेल संलग्न छन् । पहिलो रेष्टुरेष्ट व्यवसायबाट शुरु गरेका पौडेलले अहिले रेष्टुरेष्ट र होटल सञ्चालनमा छ । उनले चिल्ली बार एण्ड रेष्टुरेष्टबाट व्यवसायीक यात्रा थालेका थिए । उनका हाल ३६० स्काइ लाउन्च, हिमालयन ग्लोरी इन्, हिमालयन गेष्ट हाउस, टेम्पल बेल बुटिक होटल एण्ड स्पा लगाएतका व्यवसाय छन् । उनलाई भाई भिष्म पौडेलले साथ दिर्दै आएका छन् । हाल रेवान पोखराका अध्यक्ष रहेका विश्वराज पौडेल विभिन्न सामाजिक संस्था र निजी क्षेत्रका विभिन्न संस्थामा काम गरेको अनुभव छ । उनले हाल १ सय ३५ जनालाई रोजगारी दिएका छन् । यस अगाडी क्लबले होटल बाराहीका सञ्चालक हरि पौडेल, पोखरा रिर्सोटका सञ्चालक हरी गैरे, टेम्पल ट्रि का सञ्चाल बसन्त गौतमलाई सम्मान गरी सकेको छ ।
पोखरा: थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आयोगले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेको काम कारबाहीसमेत समेटेर तयार गरिएको सातौं वार्षिक प्रतिवेदन सदस्य मोदीले प्रदेश प्रमुख समक्ष भट्टलाई हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले विभिन्न समुदायको हित तथा प्रर्वद्धनका सन्दर्भमा आयोग गठन गरी काम गर्नु राज्यको पहलकदमी सकारात्मक रहेको बताउनुभयो । आगामी दिनमा आयोगमार्फत् थारु समुदायको उत्थानका लागि काम गर्न आफ्नो पहलकदमी हुने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । भट्टले संविधानले दिएको अधिकार उपयोग गर्न आग्रह गर्दै आयोगले काममा सक्रियता बढाउन आग्रह पनि गर्नुभयो । थारु जनप्रतिनिधि तथा सांसदले आफ्नो हक अधिकारका सवालमा आवाज उठाउनुपर्ने उहाँको सुझाव थियो । आयोगकी सदस्य मोदीले प्रतिवेदनमा थारु समुदायका समस्या, उत्थानको क्षेत्रमा देखिएका चुनौती, सम्पादन गरेका काम कारबाहीलगायत विषय समावेश गरिएको उल्लेख गर्नुभयो । साथै, उहाँले मुलुकमा विभिन्न पहिचान बोकेका समुदाय रहेको र ती समुदायको प्रवर्द्धनका लागि राज्य अझै जिम्मेवार हुनुपर्ने बताउँदै पर्याप्त बजेट छुट्याउनुपर्ने माग गर्नुभयो ।
पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आग्रह गरेको छ । भारतीय पहेलो नम्बर प्लेट भएका सार्वजनिक सवारी साधनसँगै सेतो नम्वर प्लेट भएका निजी सवारी साधनहरू पोखरा सहित आसपासका पर्यटकीय गन्तव्यमा बिना रुट परमिट सिधै गन्तव्यमा पुग्दा दुर्घटना लगायतका समस्यासँगै स्थानीय पर्यटन तथा यातायात व्यवसायी पनि प्रभावित भएको भन्दै संघले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो । नेपालका सिमा नजिकका शहरहरूबाट आउने भाडाका विदेशी सवारी साधनहरूले भारतबाटै यात्रु बोकेर पोखरा, मुस्ताङ, मुक्तिनाथ, मनाङ पुग्दा हाई अल्टिच्युडको कारणले विभिन्न स्वास्थ्य समस्या आउनुुका साथै विदेशी सवारी चालकलाई भौगोलिक अवस्थाको समेत जानकारी नहुँदा दुर्घटना बढेको संघले जनाएको छ । यस्तो अवस्थाको अन्त्यका लागि विदेशबाट आएका सवारी साधनलाई पोखरामा पार्किङ गरी यहाँका स्थानीय सवारी साधन लिएर मात्रै ती गन्तव्यहरूमा जाने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न संघबाट यही माघ १२ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष दुर्गादत्त दहालले बताउनुभयो । उहाँका अनुुसार संघको ध्यानाकर्षणसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले विदेशी सवारी साधनको चेकजाँच तथा नियमनका लागि जिल्ला प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय सवारी, कास्कीलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन समेत दिइसकेको छ । प्रशासनको उक्त निर्देशनले यहाँका स्थानीय व्यवसायीलाई ठूलो राहत मिल्ने बताउँदै उहाँले यसको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । भारतीय सवारीसाधनहरू बिना रुट परमिट तथा भन्सार सिधै हिमाली गन्तव्यहरूमा पुुग्ने गरेको पाइएसँगै संघले संस्थागत रुपमा यही माघ ८ गतेदेखि ११ गतेसम्म पोखरा–१ याम्दीमा गरिएको अनुगमनमा थुप्रै भारतीय सवारीसाधन बिना रुट परमिट र भन्सार हिड्ने गरेको पाइएको उहाँले बताउनुभयो । भारतमा करिब २० लाख रुपैयाँ पर्ने सवारी साधन नेपालमा ७०/८० लाख रुपैयाँसम्म खर्च गरेर चलाउनुपर्ने अवस्थामा भारतीय निजी तथा सार्वजनिक सवारी साधनले बिना रुट परमिट सिधै पर्यटकीय गन्तव्यहरूमा पुुग्दा यहाँका स्थानीय पर्यटक यातायात व्यवसायीहरू मर्कामा समेत परिरहेको उहाँको भनाइ छ । सिमा वरपर बस्ने नेपाली र पारी बस्ने भारतीय मिलेर नेपालतिर भारतीय सवारीसाधन ल्याएर यातायात व्यवसाय गरिदिँदा समस्या परेको बताउने पर्यटन व्यवसायीहरू नेपाल सरकारको नियमानुसार पनि एउटा गाडी सामान्यतः तीन महिना भन्दा बढी नेपालमा आउन नपाउने भएपनि त्यसको अभिलेख नहुँदा पनि समस्या परेको बताउँछन् । भारतीय सवारी साधनबाट आएका पर्यटकहरू तिनै सवारीसाधनबाट सिधै मनाङ, मुस्ताङ लगायतका गन्तव्यमा पुग्दा स्वास्थ्य जोखिमी समेत बढेको संघका पूर्व अध्यक्ष बोबरजंग गुरुङ बताउनुहुन्छ । “नेपालका सिमा नजिकका शहरहरूबाट आउने सवारी साधन सिधा जोमसोम, मुक्तिनाथ तथा मनाङ गई हाई अल्टिच्युडको कारणले पर्यटकलाई विभिन्न स्वास्थ्यमा समस्या आउने गरेको छ”, उहाँले भन्नुुभयो, “विदेशी सवारी चालक यहाँको ग्रामिण सडक र भौगोलिक अवस्था जानकारी नहुँदा पनि विभिन्न समस्या तथा दुर्घटनाहरू समेत बढेको छ । ” विदेशी सवारी साधनहरुलाई पोखरासम्म आई यहीं पार्किङ्ग गरी मुस्ताङ र मनाङ जस्ता गन्तव्यमा यहीँका स्थानीय सार्वजनिक तथा पर्यटक सवारीसाधनको प्रयोग गराउन सकिएमा त्यसबाट दुर्घटनाजन्य समस्याको न्युनीकरणसँगै यहाँका पर्यटन व्यवसायीलाई समेत फाइदा पुग्ने उहाँको भनाइ छ । बेलुका भन्सारको टिकट काटेर रातारात दुुई तीन सय मिटर उचाइका युपि विहार लगायतका स्थानबाट प्याकेज नै बनाएर चार हजार दुुई सय मिटरसम्मको उचाइको मुक्तिनाथ जस्ता गन्तव्यमा सिधै पुग्ने क्रमले यहाँको व्यवसायमा असर पर्नुका साथै त्यसले विभिन्न किसिमका दुर्घटना समेत निम्त्याउने गरेको हुँदा यसतर्फ चासो दिदै तत्कालै उचित व्यवस्थापन गर्नु जरुरी रहेको व्यवसायीको तर्क छ ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा आर्मीले पर्वतलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट १५–२५ ले गुमायो । तेस्रो सेटमा २५–२२ ले जित निकालेको आर्मीले चौथो सेटमा पुनः १३–२५ ले पर्वतलाई सुम्पिदा खेल पाँचौं सेटमा धकेलियो । निकै प्रतिष्पर्धात्मक भएको पाँचौं सेटमा आर्मीले २०–१८ जित निकाल्दै खेल आफ्नो पक्षमा पा¥यो । जितसँगै आर्मीले ४ खेलबाट ५ अंक जोडेको छ । पराजित भएको पर्वतले ४ खेलबाट ९ अंक बनाएको छ । समान ४ खेल खेलेको गण्डकीको ९ अंक छ । ४ खेल खेलेको पुलिसको ७, एपीएफको ६ अंक हुँदा माल्दिभ्स अंकविहिन छ । यसअघि आजै भएको महिलातर्फका खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबले जित निकालेका थिए । न्यू डायमण्डले थाइल्याण्ड क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै पुलिसले एपीएफविरुद्ध ३–० को सोझो सेटको जित निकालेको थियो । महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र पुलिसले प्रतिष्पर्धा गर्नेछन् । पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । च्याम्पियनसिपअन्तर्गत भोलि बिहीबार ३ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ तेस्रो स्थानका लागि एपीएफ र थाइल्याण्ड क्विन्स भिड्नेछन् । उक्त खेल बिहान १० बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फ पुलिस र माल्दिभ्स खेल्नेछन् । पुरुषतर्फको दोस्रो तथा अन्तिम खेल आर्मी र एपीएफबिच हुने तालिका छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

