पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्ने भएका छन् । उक्त खेल यही शनिबार पोखरा रंगशालामा हुनेछ । आज भएको सेमिफाइनल खेलमा पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेल १४ वर्षपछि आहा! रारा पोखरा गोल्डकपको फाइनमा प्रवेश गरेको हो । खेलको ५२ औं मिनेटमा जावलाखेलका धर्बेन्द्र कुँवरले क्रस गरेको बल आभा क्लबका डिफेन्डर कुसान गनीजानोभलाई लागेर चाली चुम्यो । सोही गोल नै जावलाखेलका लागि निर्णायक गोल बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जावलाखेलका युवराज ढकालले उज्वेकिस्तानका सरदोरबेक फाउलका क्रममा मुक्का प्रहार गरेपछि जावलाखेलका युवराज रातो कार्डको शिकार बने । त्यपछि १० खेलाडीमा सीमित बनेको जावलाखेल दबाबमा पर्याे । त्यसपछि लगातार मुभ सिर्जना भएपनि गोलमा परिणत गर्न नसक्दा उज्वेकिस्तान सेमिफाइनलबाट बाहिरिन बाध्य बन्यो । उक्त खेलबाट जावलाखेलका जोखिद्जोन राखीमोभ म्यान अफ द म्याच बने । अब जावलाखेलले प्रतियोगिताको उपाधिका लागि आयोजक सहारा क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आयोजक सहारा क्लब ९ वर्षपछि फाइनलमा प्रवेश गरेको हो भने, जावलाखेल १४ वर्षपछि उपाधि नजिक पुगेको हो । सहारा क्लब २०७३ सालमा मनाङसँग फाइनलमा १–० गोलले स्तब्ध बनेको थियो । यस्तै जावलाखेल २०६८ सालमा फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताउनुभएको छ । ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ फागुन ७ गतेदेखि सुरु भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्दै वर्तमान सरकारले निर्वाचनमार्फत मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको दाबी समेत गर्नुभयो । "निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएकी छु," प्रधानमन्त्रीले भन्नुभयो, "संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबै एकजुट हुन आवश्यक छ ।" प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते भएको 'जेन–जी' युवाहरूको आन्दोलनलाई राज्यले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै युवाको ऊर्जा र नैतिक क्रोधलाई दमन गरेर नभई सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, "हाम्रा युवा अभाव सहन तयार छन् तर अन्याय, अपमान र तिरस्कार सहन तयार छैनन् ।" सम्बोधनका क्रममा उहाँले जहानियाँ राणा शासन विरुद्ध ज्यान उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले बुद्धिजीवी, नागरिक समाज र युवा समुदायलाई समुन्नत र न्यायपूर्ण नेपाल निर्माणका लागि हातेमालो गर्न अपील गर्नुभएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्यवसायसँगै सामाजिक सेवामा सक्रिय पौडेलले अक्षयकोषका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । हिमाअस एजुकेशनका प्रवन्ध निर्देशक समेत रहेका पौडेल आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका बेला फोटो पत्रकारलाई सहयोग गरेका हुन् । सहयोग ग्रहण पछि एनपिजेए कास्कीका अध्यक्ष गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो । कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।
पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफू निर्वाचित भएपछि भूमिहिन नागरिकको जमिन र आवासमाथिको नैसर्गिक अधिकार सुनिश्चित गर्न संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका हुन् । पोखरा १५ मा आयोजित कार्यक्रममा बोल्दै आचार्यले भने, ‘भूमिहिनको समस्या एमालेले पहिचान गरिसकेको छ, अब यसलाई पूर्ण रूपमा समाधान गर्ने जिम्मा पनि हामी लिन्छौैं।’ उनले कास्की जिल्लामा करिब ९ हजार भूमिहिन तथा सुकुम्बासी नागरिक भूमि र आवासको अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि कानुनी र नीतिगत पहल गर्नेे बताए । ‘भूमि र आवास प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो । कसैलाई पनि यसबाट वञ्चित गर्न पाइँदैन। यो विषयलाई संसदमा प्राथमिकताका साथ उठाउनेछु,’आचार्यले भने। उनले सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण पनि आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट परे । आवश्यक परे नियम–कानुन संशोधनका लागि पहल गर्ने उनको भनाई छ । जनताको पक्षमा दृढ रूपमा उभिने र पारदर्शी शासन प्रणाली स्थापना गर्ने उनको प्रतिबद्धता छ । आचार्यले विकासलाई समान र सन्तुलित रूपमा अगाडि बढाइने उल्लेख गर्दै जीवनसँग प्रत्यक्ष जोडिएको बजेट विनियोजन गरिने बताए । विशेषगरी पिछडिएका क्षेत्रका लागि तारजाली बाटो, आधारभूत पूर्वाधार र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजनामा प्राथमिकता दिइने उनको भनाई छ । उनले स्थानीय तहसँग सहकार्य प्रदेश सरकारबीच समन्वय गरेर समग्र कास्कीको विकास अगाडि बढाइने उल्लेख गरे । साथै प्रत्येक ६–६ महिनामा वडास्तरमा पुगेर नागरिकका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए । उनले भने—‘जनताले दिएको मतको सम्मान गर्दै विश्वासमा धोका दिने छैनु, जनताको शिर निहुरिन दिने छैन ।’
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार पर्यटन क्षेत्र रहेको बताए । ‘अन्नपूर्ण गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार कृषि र पर्यटन हो, हामीले वडा नम्बर ७ देखि ११ वडालाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेका छौं, बाँकीलाई कृषि क्षेत्रको रुपमा’, अध्यक्ष केसीले भने, ‘घान्द्रुकसँगै अन्नपूर्ण गाउँपालिकाका भित्रका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा हामी छौं ।’ अध्यक्ष केसीले अन्नपूर्ण गाउँपालिकाको विभिन्न स्थानमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्रको स्थापना गरेको उल्लेख गरे । ‘जति पनि पर्यटकहरु अन्नपूर्ण गाउँपालिका भित्र रहेका र यहाँबाट म्याग्दी लगायत विभिन्न पर्यटकीय स्थलमा जाने पर्यटकहरुलाई सजहजता बनाउन विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्र निर्माण गरेका छौं’, उनले भने, ‘सही सूचना प्रदान गर्ने, नयाँ पर्यटकीय गन्तव्य र गतिविधिको प्रचार गर्ने, आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने, पर्यटकलाई पदमार्ग, घुम्न सकिने ठाउँ, अवलोकन गर्न सकिने दृश्य एवं संस्कृतिसहित पर्यटनबारे जानकारी लिन सक्नेछन् ।’ उनले घान्द्रुक आउने पर्यटकहरुका बसाई लम्बाउन घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीँ क्लब कोँड (घान्द्रुक)ले अगाडि सारेका पूर्वाधार निर्माणमा गाउँपालिकाले बजेट विनियोजन गरेर सम्पन्न गर्न सहयोग पु¥याउने बताए । अन्नपूर्ण बेस क्याप जाने पर्यटकहरुको स्वास्थ्य जाँच गर्न गाउँपालिकाले बेस क्यापमा कर्मचारी नै खटाएर नियमित स्वास्थ्य चेकजाँच गर्दै पर्यटकहरुको सुरक्षालाई ध्यान दिएको उनले उल्लेख गरे । महोत्सवको अवसरमा घान्द्रुकमा निर्माणाधिन स्वास्थ्य चौकी निर्माण गर्न निशुल्क जग्गा प्रदान गर्ने होटल रोयल भ्यूका सञ्चालक राजु गुरुङ र घान्द्रुक समाज जापानका संस्थापक अध्यक्ष बुद्धि बहादुर गुरुङ (ज्या)लाई सम्मान गरिएको थियो । यस्तै महोत्सवमा झाँकी ¥यालीमा सहभागी समूहलाई समेत सम्मान गरिएको थियो । रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई १५ प्रतिशत छुट रहेको बताए । ‘महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकहरुलाई १५ प्रतिशत छुट रहेको छ’, गुरुङले भने, ‘महोत्सवमा दिनमा हामीले खेलकुद प्रतियोगिता र साँझमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने छौं ।’ फागुन ९ गतेसम्म सञ्चालन हुने महोत्सवको अवसरमा राष्ट्रव्यापी बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता,भेडाको साँढ जुढाई प्रतियोगिता,रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरिएको उपाध्यक्ष गुरुङले बताए । महोत्सवको पहिलो दिन भएको राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा अन्नपूर्ण गाउँपालिकाले विजयी सुरुवात गरेको छ । अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ्रे युथ क्लबलाई पराजित गरेको हो । बास्केटबल प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन हुनेछ । उनका अनुसार बिहीबार घोडा दौड,शुक्रबार भेडाको साँढे जुधाइ प्रतियोगिता सञ्चालन हुनेछ । राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले समान १ लाख ६६ हजार ६ सय ६६, उपविजेताले १ लाख ११ हजार १ सय ११ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै घोडा दौड प्रतियोगिताको प्रथम हुनेले १ लाख १ हजार १ सय ११, द्धितिय हुनेले ४० हजार ४ सय ४४, तृतीय हुनेले २० हजार २ सय २२,चौथो हुनेले ११ हजार पाँचौ हुनेले ९ हजार, छैठौं हुनेले ७ हजार र सातौं हुनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । घान्द्रुक चक्रिय पदमार्ग दौडको प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६, उपविजेताले ७ हजार ४ सय ४४ र तृतीय हुनेले ३ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छेलो प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६ र उपविजेताले ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिला तथा पुरुष रस्साकस्सी प्रतियोगिताका विजेताले समान ११ हजार १ सय ११ र उपविजेताले ५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै भेडाको साँढ जुडाई प्रतियोगिताको प्रथम हुनेले ११ हजार, द्धितिय हुनेले ९ हजार,तृतीय हुनेले ७ हजार, चौथो हुनेले ५ हजार र पाँचौ हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ सडक खण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।
पोखरा: नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छन् । प्रदेशको सह कमाण्डरमा गोविन्द भुषाल, नवीनकुमार श्रेष्ठ रहेका छन् । फोर्सको हेडक्वाटर कमाण्डरमा देवान गुरुङ, विकास पहारी, चीनबहादुर पुन र मञ्जु जिसी रहेको प्रदेश इञ्चार्ज बस्नेतले जानकारी दिए । त्यस्तै फोर्स कास्कीको इञ्चार्जमा नमराज केसी र फोर्सको युनिफाइड कमाण्डरमा सूर्य लामा र सहकमाण्डरमा बज्रराज अधिकारी (सुरज), राजु गिरी, उमेश बिसंखे रहेका छन् । कमाण्डरमा विश्वास गुरुङ, कृष्ण हमाल, अभिषेक गुरुङ, दिपक मल्ल, गणेश विक, रवी गुरुङ, खेम गुरुङ, प्रकाश बराल, सिद्धान्त गुरुङ लगायत रहेका छन् । फोर्सको कमाण्ड घोषणा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले पार्टीमा औपचारिक रुपमा स्वागत गरे । उनले एमालेको सहायक संगठनको रुपमा रहेको फोर्स विशेष खालको संगठन भएको बताए । यो संगठन सामान्य खालको संगठन नभएको उल्लेख गर्दै उनले यो संगठनले देश र जनताको रक्षा गर्ने जिम्मेवारी लिएको जनाए । फोर्सका केन्द्रीय कमाण्ड प्रमुख पुष्पराज श्रेष्ठले निर्वाचनको १० हजार ९ सय ६७ मतदान केन्द्रमा २ लाख २२ हजार युवा परिचालन गर्ने बताए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजीव पहारी, गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, कास्कीका कार्यवहाक अध्यक्ष भेषराज बराल, फोर्सका केन्द्रीय सहकमाण्डर विनिता काफ्ले, अर्जुन पौडेल, सुशिल बस्नेत लगायतले बोलेका थिए ।
पोखरा: ९ वर्षपछि आयोजक सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पेनाल्टी सुटआउटमार्फत ७–६ गोल अन्तरले पराजित गर्दै सहारा क्लब फाइनलमा प्रवेश गरेको हो । सहारा क्लब यसअघि २०७३ सालमा फाइनलमा पुगेको थियो । त्यसपछि अहिले लामो समयको अन्तरालपछि सहारा क्लब उपाधि नजिक पुगेको हो । निर्धारित समयमा गोलरहित भएपछि खेलमा बाँकी ३० मिनेट थप गरिएको थियो । सो समयमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । सडेन डेथमा सविन खड्काको सुटलाई सहाराका गोलकिपर टिकेन्द्र थापाले सेभ गर्दै सहारा क्लबलाई जीत दिलाए । उक्त खेलबाट सहारा क्लबका टाय डानियल बडारु म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको अर्काे सेमिफाइनल खेल जावलाखेल युथ क्लब र आभा फुटबल क्लब उज्वेकिस्तानबीच बिहीबार हुनेछ । आभा फुटबल क्लबले प्लानिङ् ब्वाइजलाई र जावलाखेलले चर्च ब्वाइज युनाइटेडलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको फाइनल आगामी शनिबार हुने आयोजकले जनाएको छ ।
शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ । नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ । यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ । यस अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशिर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुक आदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीहरुको मौलिक पहिचान हो ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लब भिड्ने भएका छन् । पोखरा रंगशालामा पहिलो सेमिफाइनल खेल अन्तर्गत आज मनाङ मस्र्याङ्दी र सहारा क्लब भिड्ने भएका हुन् । मनाङले पाहुना क्लब थन्डरबोल्ट भारतलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो भने, आयोजक सहारा क्लबले विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लब आज दिउँसो ३ बजे प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको अर्काे सेमिफाइनल खेलमा जावलाखेल युथ क्लब र आभा फुटबल क्लब उज्वेकिस्तान बिहीबार भिड्नेछन् । प्रतियोगिताकाे फाइनल आगामी शनिबार हुने आयोजकले जनाएको छ ।

