पोखरा: सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपाल, पोखरा–६ बीच गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कोपिला नेपालले “गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालन (प्रथम संशोधन), कार्यविधि २०८२” बमोजिम घरेलु हिंसा, लैंगिक हिंसा तथा मानव बेचविखनबाट पीडित महिला र बालिकाको उद्धार, संरक्षण, आश्रय र पुनस्थापना सेवा प्रदान गर्नेछ। केन्द्र सञ्चालनका लागि आवश्यक कर्मचारी तलब–भत्ता, प्रशासनिक खर्च र दैनिक व्यवस्थापनको जिम्मेवारी पनि कोपिला नेपालले नै लिनेछ । मन्त्रालयले लैंगिक हिंसा निवारण कोषबाट उद्धार, आश्रय, लत्ताकपडा, स्वास्थ्योपचार, कानुनी सहायता, पोसिलो खाना लगायतका शीर्षकमा खर्च उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । पीडितहरूको संख्या, बसाइ अवधि, उद्धार विवरण र खर्च अभिलेख प्रमाणित गरी त्रैमासिक आधारमा रकम भुक्तानी हुने जनाइएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री बिन्दु कुमार थापाले हिंसापीडित महिलाका लागि दीर्घकालीन पुनस्र्थापना केन्द्र यसअघि प्रदेशमै नभएको जानकारी गराए । उनका अनुसार अहिले आएर मात्र प्रदेश सरकारले यसको थालनी गरेको छ । प्रदेश सरकारले ७० प्रतिशत र पोखरा महानगरपालिकाले ३० प्रतिशत बजेट व्यवस्थापन गरेर केन्द्र सञ्चालनलाई सुनिश्चित गराइएको हो । कोपिला नेपालले दीर्घकालीन पुनस्र्थापना केन्द्रलाई व्यवस्थित तवरले संचालन गर्नेमा मन्त्री थापा विश्वस्त छन् । गण्डकी प्रदेश सरकारले महिला, बालबालिका तथा समाजकल्याणतर्फ महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको उनले उल्लेख गरे । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकालले लामो समयदेखि प्रयास हुँदै आएको दीर्घकालीन पुनस्र्थापना केन्द्र स्थापनाको कार्य २०८२ सालमा कानुनी कार्यविधि पारित भएपछि सम्भव भएको बताए । यसअघि ८ वटा अल्पकालीन पुनस्र्थापना केन्द्र सञ्चालन भए पनि दीर्घकालीन पुनस्र्थापना केन्द्र पहिलोपटक स्थापना भई सञ्चालनमा आएको उनको भनाई छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस सम्झौतामार्फत केन्द्र सञ्चालनलाई ऐतिहासिक दिनको संज्ञा दिएकी छिन् । “लैंगिक हिंसापीडितहरूले अझै पनि उजुरी दिन डराउँछन्। यसरी संस्थागत संरचना बनेपछि उनीहरूको सुरक्षा र अधिकार सुनिश्चित हुने आशा गरिएको छ।”, उनले भनिन् । कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले लामो यात्रापछि सपना पूरा भएको बताइन् । “१५ वर्षअघि देखिएको सपना आज साकार भएको छ। अब यो यात्रामा अझ धेरै चुनौती छन्। हिंसापीडितलाई सुरक्षित बनाउन र उनीहरूको जीवनलाई नयाँ दिशातर्फ लैजान सबैको सहकार्य आवश्यक छ।”, उनले भनिन् । हिंसा पीडित महिला तथा बालिकाहरुको उद्यार, संरक्षण, राहत र पुनस्र्थापनाका लागि उक्त केन्द्र संचालनमा ल्याइएको हो । पोषणयुक्त खाना, लत्ताकपडा, सुरक्षित आवास, स्वास्थ्य उपचार, शिक्षा, मनोसामाजिक परामर्श, कानुनी सहायता, पारिवारिक पुनर्मिलन, सीप विकास तालिम र पुुनस्र्थापना जस्ता विषयवस्तुलाई उक्त केन्द्र संचालन गर्ने कार्यविधिमा समेटिएको छ । ७ वर्ष सम्मका आश्रित बालबालिकालाई पीडितसँगै केन्द्रमा राख्न पाउने व्यवस्था समेत मिलाइएको जनाइएको छ ।
पोखरा: ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना गरिएको तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ सम्पन्न भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा ५ भाद्रदेखि सुरु महोत्सव समापन समारोहमा विभिन्न प्रतियोगताका विजेताहरुको घोषणा सगै पुरस्कार वितरण गरिएको थियो । विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय, आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए । महोत्सव अन्र्तगत आयोजना गरिएको तीजगीत प्रतियोगितामा सहनसिल दिदिवहिनी समूह पोखरा २२ प्रथम, पोखरा नसिङ्ग क्याम्पस समूह दोस्रो, कमल जैसी आमा समुहले तेस्रो स्थान हात पार्दा उर्जासिल दिदीवहिनी समूह पोखरा १० र एकलधारा सृजनशिल मिलन समाज पोखरा ५ ले सान्तवना स्थान हात पारे । प्रतियोगितामा उत्कृष्ट भेषभूषा वैशि क्षेत्र दिदीवहिनी समुह, उत्कृष्ट शब्द मिलीजुली आमा समूह, उत्कृष्ट नृत्य कास्कीकोट दिदिवहिनी समूह र विशेष सहभागिताको पुरस्कार राष्ट्रिय मा.वि. कक्षा ५ समूहले हात पारे । एकल नृत्यतर्फ सृष्टी गुरुङ प्रथम, पद्मा पौडेल दोस्रो, दिया गुरुङ तेस्रो र सृष्टी सुनारले सान्तवना स्थान हात पारिन । ढिकी जाँतोतर्फ हुमकला आर्चायको समूह प्रथम, विजया अधिकारीको समूह दोस्रो, चन्द्रा अधिकारीको समूह तेस्रो र सर्मिला तामाङको समूहले सान्त्वना स्थान हात पारे । छेलोतर्फ दुजिक थापा मगर प्रथम, मिलन सुनार दोसो सञ्जय अडाइ मगरले तेस्रो स्थान हात पारे । विजेतामध्ये तिज गितमा प्रथम हुनेले ३५ हजार ५५५, देस्रोले २० हजार ५५५, तेस्रोले १० हजार ५५५, सान्त्वनाले पाँच हजार ५५५, उत्कृष्ट भेषभुषा, शब्द, नृत्य र विशेष सहभागिताले तीन हजार ५५५ नगद पुरस्कार पाए । एकल नृत्य, ढिकी जाँतो र छेलोतर्फ जनही प्रथमले १२ हजार ५५५, दोस्रोले सात हजार ५५५, तेस्रोले पाँच हजार ५५५ र सान्त्वनाले तीन हजार ५५५ नगद पुरस्कार पाए । यसै गरि महोत्सव उद्घाटन पुर्व निकालिएको प्रभातफेरीमा बगर तमु समाज पोखरा १ बगरले झाँकी, मिरुवा तमु समाज पोखरा २ . मिरुवाले भेषभुषा र अभियान आमा समुह पोखरा पोखरा १ लामपाटनले उत्कृष्ट आमा समूह घोषित हुदै जनही पाँच पाँच हजार नगद पुरस्कार पाए । १० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ५० व्यापारिकस्टलहरु, १२ रेष्टुरेन्टका स्टल सगै वाल उद्यान रहेका थिए । त्यसै गरि महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुती समेत रहेको थियो ।
रसुवा: गोसाईंकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ। स्थानीय बासिन्दाका अनुसार भदौ १५ गते बिहान गएको पहिरोले आसपासको क्षेत्र प्रभावित बनेको छ। पहिरोबाट खसेको ढुङ्गा लाग्दा पर्सा जिल्ला, विश्रामपुर–४ निवासी १९ वर्षीय विनय दास थारु घाइते भएका छन्। रोजगारीका सिलसिलामा टिमुरे बस्दै आएका थारु पहिरोको समयमा रसुवागढी पैदल यात्रा गरिरहेका थिए। उनको टाउको, कान र काँधमा चोट लागेको टिमुरे स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि उनलाई आइतबार बिहान ९ः४० बजे बा १४ च १६६१ नम्बरको स्कर्पियो गाडीमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ। पहिरोका कारण भन्सार निर्माण कार्य अवरुद्ध भएको र आसपासमा थप क्षतिको जोखिम रहेको जनाएको छ ।
बैतडी: बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । शनिबार साँझ गौराघरमा भित्र्याइएकी गौरालाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्दछन् । व्रतालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । शनिबार गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन् । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् । गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन् । व्रतालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् । महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ । यसैबीच गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ । सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।
पोखरा: गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङले गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्नका लागि सबैभन्दा पहिला गुरुङ एकता अनिवार्य रहेको बताएकी छिन् । तमु धिं नेपाल ताङतिङ दुधपोखरी तमु समाजको ४० औं वार्षिकोत्सव साधारण सभा, सम्मान एवं गुरुङ भाषा कार्यान्वयन र चुनौती विषयक कार्यक्रममा बोल्दै सांसद गुरुङले यस्तो बताएकी हुन् । ‘गण्डकी प्रदेशमा मगर गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न विद्येयक पास भएर प्रदेश प्रमुखले प्रमाणिकरण गर्नु भएको छ, सांसद गुरुङले भने, ‘हाम्रो मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयनका लागि सर्वप्रथम हामीमा एकता हुनु आवश्यक छ, सबैभन्दा बढी बोलिने भाषालाई कामकाजको भाषाको रुपमा कार्यान्वयनका लागि लैजान आवश्यक छ र त्यसमा त्यसमा एकता अनिवार्य छ ।’ गण्डकी प्रदेश सरकारले भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न विद्येयक प्रमाणिकरण भइसकेकाले यसमा छिटो कार्यान्वयन लैजाने दायित्व समुदायमा आएको सांसद गुरुङले बताईन् । उनले कास्कीको पर्यटकीय गाउँ ताङतिङ शान्ति, संस्कृतिको सुगन्ध र मानवीय प्रेमको असली स्वाद अनुभव गर्न पाउने भएकाले यसको विकास र प्रवद्र्धनमा सबै एकजुट हुन आवश्यक रहेको समेत बताईन् । यस्तै कार्यक्रममा तमु धिं नेपालका केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा मादी क्षेत्रमा बोलिने भाषा बढी जनसंख्याले बोल्ने भएकाले उक्त भाषालाई नै लैजानु पर्ने तर्क राखे । ‘गुरुङ भाषालाई सरकारी कामकाजको भाषालाई कार्यान्वयनमा लैजाने दायित्व हाम्रो काँधमा आएको छ, यसमा केही समस्या हाम्रो समुदायमा देखिन्छ, उनले भने, कास्कीको मादी, घान्द्रुक, लमजुङ, मनाङ, मुस्ताङ क्षेत्रका गुरुङ समुदायले बोल्ने भाषामा लवजमा केही भिन्नता देखिन्छ तर मादी क्षेत्रमा बोल्ने भाषा बढी जनसंख्याले प्रयोग गर्ने भएकाले उक्त भाषालाई नै हामीले अगाडि सार्नुपर्छ भन्ने मेरो तर्क हो, हामीले यो अवसरमा कार्यान्वयन लैजान सकेनौ भने पछिल्लो पुस्ताले हामीलाई के भन्छ होला ?’ उनले आफ्नो जन्मभुमी गाउँमा आफुपछिको पुस्ता गुरुङ भाषा बोल्न छाडेकाले गण्डकी प्रदेश सरकारले कामकाजको भाषाको रुपमा गुरुङ भाषालाई मान्यता दिएपछि भाषाको संरक्षण हुनेमा आशावादी रहेको बताए । उनले गुरुङ समुदायमा तीन वटा लिपी प्रयोग गर्दै आएकाले सबैको सहमतिमा एक लिपीलाई कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए । भाषाको साहित्यिक विकास भइरहेकाले यसमा सबैको एकमत आवश्यक रहेको उनको भनाई छ । गण्डकी प्रदेश सरकारले गुरुङ भाषालाई सरकारी भाषाको रुपमा कार्यान्वयन गर्दै गर्दा अवसर पनि रहेकाले गुरुङ भाषा जानेका स्थानीयलाई नै त्यो अवसर दिन पर्ने बताए । ताङतिङ दुधपोखरी तमु समाजको ४० औं वार्षिकोत्सव साधारण सभा तथा सम्मान कार्यक्रममा तमु धिं नेपालका केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले गण्डकी प्रदेशमा गुरुङ भाषा कार्यान्वयन र चुनौतीको विषयमा बोलेका थिए । ताङतिङ दुधपोखरी तमु समाजको ४० औं वार्षिकोत्सव साधारण सभामा एसइई, कक्षा १२ मा उत्तिर्ण विद्यार्थी, खेलाडी, विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा मादी गाउँपालिका–२ का वडाध्यक्ष भोजबहादुर गुरुङ, तमु प्ले लु संघका केन्द्रिय सदस्य ओमबहादुर गुरुङ, तमु धिं नेपालका केन्द्रिय उपाध्यक्ष श्रीप्रसाद गुरुङ, लगायतले गुरुङ समुदायको संस्कार सस्कृति भाषा संरक्षणमा जोड दिएका थिए । कार्यक्रम ताङतिङ दुधपोखरी तमु समाजका अध्यक्ष अनेरा सुवदार मेजर बिरधोज गुरुङको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष चन्द्रमाया गुरुङको स्वागत र सचिव क्याप्टेन मन्त्री जङ गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सचिव क्याप्टेन मन्त्री जङ गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डम्मर जङ गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०४२ सालमा स्थापना भएको ताङतिङ दुधपोखरी तुम समाजमा १ सय ७६घरधुरी आवद्ध छन् ।
पोखरा: टे«किङ्ग इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराको २७ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनबाट टिकाबहादुर लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित बनेको छ । समितिको प्रथम उपाध्यक्षमा महेन्द्रबहादुर जिसी, द्वितीय उपाध्यक्षमा टिकाराम लम्साल, सचिवमा रमेशराज अधिकारी, सहसचिवमा बुद्धिबहादुर बस्नेत र कोषाध्यक्षमा केशवराज बास्तोला निर्वाचित बन्नुभएको छ । त्यस्तै समितिका सदस्यहरूमा योगेश सुवेदी, किरण काफ्ले, हरिमाया ढुङ्गना, राजकुमार नेपाली रहनुभएको छ । समितिको निवर्तमान अध्यक्षमा प्रमोद भण्डारी रहनुभएको छ । यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै यसको उजागरका लागि सबैको प्रयास आवश्यक भएको बताउनुभयो । पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासका लागि सबैको साझा प्रयास आवश्यक हुनेमा जोड दिनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन सम्बद्ध सबै संघ संस्थासँग सहकार्य गर्दै पर्यटन प्रवद्र्धन विकासका कार्यक्रम अघि बढाइने बताउनुभयो । टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीको सभापतित्व एवम् सचिव महेन्द्र जिसीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष टिकाबहादुर लम्सालले गर्नुुभएको थियो भने सहसचिव टिकाराम लम्सालले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रमेशराज अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
पोखरा: संविधानसभाबाट प्राप्त संघीयताको अभ्यास एक दशक पुगेको सन्दर्भमा समाज विज्ञान केन्द्र, पोखराले आयोजना गरेको कचहरीमा वक्ताहरूले संघीयता अपरिहार्य भए पनि यसको कार्यान्वयनमा राजनीतिक अस्थिरता, कानुनी अस्पष्टता र नेतृत्वको कार्यशैली प्रमुख अवरोधक बनेको निष्कर्ष प्रस्तुत गरे । परामर्शदाता रमेश अधिकारीले आधारपत्र प्रस्तुत गर्दै संघीयता समावेशिता, शक्ति विकेन्द्रीकरण र नागरिक अधिकार सुनिश्चितताका लागि ल्याइए पनि अझै ४० भन्दा बढी कानुन निर्माण हुन बाँकी रहेको, अधिकार टकराव, कर संकलनमा अस्पष्टता र प्रदेश–नगरपालिका संघीय हस्तान्तरणमै निर्भर रहेको बताए । उनले २०६३ यता १३ जना प्रधानमन्त्री फेरिनु, कोशी प्रदेशमा ९ पटक र गण्डकीमा २०७४ यता ७ पटक नेतृत्व परिवर्तन हुनु राजनीतिक अस्थिरताको प्रमाण भएको उल्लेख गरे । अनुसन्धानकर्ता शेखर पराजुलीले संघीयता खर्चिलो मात्र हो भन्ने धारणा हावी भए पनि स्थानीय तहले सेवा प्रवाह र भौतिक निर्माणमा उल्लेखनीय काम गरेको बताए । उपमेयर स्वस्थानी रिजालले दशकभरिको अभ्यास समीक्षा आवश्यक रहेको भन्दै कानुनी, कार्यान्वयन र कर्मचारी क्षमतामा कमी रहेको धारणा राखिन् । प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरले संघले अधिकार दिन कञ्जुस्याइँ गरेको र जिल्ला समन्वय समिति अनावश्यक भएको बताए । गाउँपालिका महासंघ गण्डकी अध्यक्ष नवराज ओझाले संघीयताको मोडल स्पष्ट नभएकाले प्रदेश कमजोर बनेको बताए । पूर्व प्रमुख गेहेन्द्रश्वर कोइरालाले वित्तीय संघीयता सबल नभएसम्म संघमाथि निर्भरता रहने उल्लेख गरे । अधिवक्ता डा। विष्णुहरि तिमिल्सिनाले समस्या आयो भने समाधान खोज्नुपर्नेमा जोड दिए भने प्रा।डा। लेखनाथ भट्टराईले “स्थानीय तह प्रभावकारी भए पनि प्रदेश तह नागरिकसँग जोडिन नसकेको” बताए । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक सुरेन्द्रबाबु तिवारीले योजना छनोटदेखि कार्यान्वयनसम्म पुरानै शैली प्रयोग भएको सुनाए । पूर्व वडाध्यक्ष खगराज आचार्यले महँगो र त्रुटिपूर्ण चुनाव प्रणालीप्रति आक्रोश पोखे । डा। कृष्ण अधिकारीले संघीयता अपरिहार्य भए पनि राजनीतिक दल र शासकको कार्यशैली सुधार आवश्यक रहेको धारणा राखे । कार्यक्रममा बाबुराम पौडेल, सुरेन्द्र परियार, अर्जुन पोखरेल, डा। रामचन्द्र बराल, रोशन भट्टराई, ईश्वरी पौडेल, भानु पराजुली, सन्देश शर्मा, उपेन्द्रप्रसाद पौडेल, भरत कोइरालालगायतले पनि संघीयता कार्यान्वयनका विषयमा जिज्ञासा र धारणा राखे । कार्यक्रमको अध्यक्षता गरेका नेत्रनारायण पौडेलले लोकतन्त्र अभ्याससँग जोडिएको प्रणाली भएको भन्दै अहिलेसम्म बनेका आयोगका प्रतिवेदन किन कार्यान्वयन नभएका विषयमा सरकार संवेदनशील हुनुपर्ने निष्कर्ष प्रस्तुत गरे । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले मासिक रुपमा कचहरी सञ्चालन गर्दै आएको छ । कलेजका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले कचहरीसँगै अनुसन्धान र प्रकाशनका काम पनि गरिरहेको जानकारी दिए ।
पोखरा: पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले कर कार्यालय पोखरा र ग्लोवल आईएमई बैंकसँगको सहकार्यमा कर तथा वित्तीय कारोबार सम्बन्धी डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा सहभागी व्यवसायीहरुलाई कर कार्यालय पोखराका कर अधिकृत सोनु काफ्लेले करको विषयमा सहजीकरण गरेका थिए । उनले समयमै करको विवरण राखेर कर तिर्नुपर्ने बताए । अन्यथा व्यवसायी कारवाहीमा पर्नसक्ने अवस्थाबारे प्रष्ट्याए । कर सम्बन्धी समस्याबाट बच्न व्यवसायी चनाखो बस्नुपर्ने बताउँदै उनले भने,‘व्यवसायीले व्यवसाय दर्ता गर्ने, बिल छाप्ने, आम्दानी, खर्च र बचत छुट्याएर राख्ने, जसका लागि खरिद खाता र बिक्री खाता चुस्त बनाउनुपर्छ ।’ उनले कर विवरण सहि रुपमा भए नभएको बुझ्न बेला बेला आफ्नो पान नम्बर खोलेर हेर्नुपर्नेसमेत बताए । साथै बिल दूरुपयोग हुन नदिन र दाखिला गरेको कर ठीक भएनभएको पनि ख्याल गर्नुपर्ने उनको सुझाव छ । सो अवसरमा ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख सुसोमन देवकोटा र बैंकको न्यूरोड शाखा प्रमुख मन्दीप बरालले बैंकिङ कारोबारबारे सहजीकरण गरेका थिए । उनीहरुले व्यक्ति र व्यवसायको छुट्टाछुट्टै बैंक अकाउण्ट खोल्नुपर्ने र व्यक्तिको हो भने व्यक्तिगत प्रयोगका लागि मात्र प्रयोग गर्नुपर्ने तथा व्यवसायीक संस्थाको हो भने सोहि संस्थाको खरिद तथा बिक्रीसँगै अन्य कारोबारका लागि सो बैंक खाता प्रयोग गर्न आग्रह गरे । अन्यथा व्यक्तिको खाता संस्थाको लागि वा संस्थाको खाता व्यक्तिका लागि प्रयोग गर्दा झञ्झट व्यहोर्नुपर्ने स्थिति आउनेतर्फ सचेत गराए । साथै उनीहरुले डिजिटल बैंकिङ कारोबार बारे पनि अभिमुखीकरण गरेका थिए । सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यवसायीलाई कर तथा बैंकिङ कारोबार सम्बन्धी डिजिटल साक्षरता प्रदान गरिएको बताए । यसले व्यवसायीलाई कर सम्बन्धी समस्या र डिजिटल साक्षरता नहुँदा बैंकिङ कारोबारमा परिरहेको अपठ्यारो फुकाउन सजिलो बनाउने विश्वास व्यक्त गरे । उनले भने,‘तालिमपश्चात व्यवसायीहरु कर सम्बन्धी समस्यामा फस्ने छैनन्, र डिजिटल बैंकिङ कारोबारमा पोख्त हुनेछन् भन्नेमा हामी विश्वस्त छौं ।’ आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने थलोका रुपमा सर्वेश्वर मार्ग र पराजुली मार्ग स्थापित छ । होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
पोखरा: पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालको आयोजनामा भएको तेस्रो संस्करणको इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङ स्कुलले जितेको छ । पोखरा सभागृह हलमा भदौ १३ र १४ गते दुई दिनसम्म भएको प्रतियोगितामा अब्बल बन्दै उपाधि चुमेको गण्डकीले नगद एक लाख सहित ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । उत्कृष्ट भएको गण्डकीले वेस्ट भोकल, वेस्ट ड्रमर र बेस गिटारवादकको विधागत पुरस्कार समेत हात पार्न सफल भयो । प्रतियोगितामा प्रतिभा मावि ‘ए’ द्वितीय र डाइमन्ड बोर्डिङ स्कुल तृतीय बने । द्वितीय स्थान प्राप्त गरेको प्रतिभाले नगद ५० हजार र तृतीय हुने डायमन्डले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे । लिड गिटारवादक तर्फ कास्की मोडर्नाइज्ड विजेता बन्यो । उत्कृष्ट गायन गर्ने विद्यार्थीलाई पाँच हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र एक वर्षको निःशुल्क इन्टरनेट सेवा प्रदान गरियो भने अन्य विधाका उत्कृष्टलाई जनही पाँच हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको सङ्घका सचिव अमित गुरुङले बताए। ‘शिक्षासँगै सङ्गीत’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको थियो । सहभागी बन्ने टिममा डायमन्ड बोर्डिङ स्कुल, कास्की मोर्डनाइज्ड स्कुलका दुई टिम, मदरल्याण्ड सेकेन्डरी स्कुल, ग्लोबल कलिजियट स्कुल, पोखरा एकेडेमी, गण्डकी बोर्डिङ स्कुल, प्रतिभा माविका दुई टिम, हिमालयन बोर्डिङ स्कुल, लाभिन्स रेसिडेन्सियल स्कुल, सगरमाथा मावि, न्यु ग्यालेक्सी मावि, कालिका मावि, गुरुकुल विद्यासदन, पश्चिमाञ्चल मावि र फिस्टेल आइबी वल्ड स्कुल रहेका थिए । यि १७ टिमबाट १३ गते राखेको प्रस्तुतीको आधारमा फाइनल चरणको लागि १० टिम छानिएका थिए । तिनै १० टिमबीच शनिबार भएको प्रतिष्पर्धामा आफ्नो प्रस्तुती मार्फत गण्डकीले उपाधि जितेको हो । प्रतियोगिताको निर्णायकमा असिम शेरचन, विनोद बानियाँ र अमित गुरुङ रहेका थिए । बिजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सङ्घका अध्यक्ष हर्कराज गुरुङ (भाइ), कार्यक्रम संयोजक तेज केसी, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, गण्डकीका पर्यटनमन्त्रीका स्वकिय सचिव जीवन उच्चै ठकुरी, गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव मनकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो कार्यक्रमको आयोजनाले नयाँ पुस्तालाई साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न उत्पेरित गरेको बताए । प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास समेत उनको थियो । यसअगाडि शुक्रबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले यस प्रतियोगिताको उद्घाटन गरेका थिए । यस्ता कार्यक्रमको आयोजनाले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने उनले बताए । पर्यटनको राजधानी पोखरामा आयोजना गरिएको यस कार्यक्रमले पर्यटन प्रवद्र्धनमा समेत सघाउने बताए ।