सर्लाहीमा कार्यालय प्रमुखहरुको बैठकले अत्यावश्यक कामबाहेक निर्वाचन अवधिभर कर्मचारीहरु बिदामा बस्न नपाउने निर्णय गरेको छ । मङ्गलबार बसेको जिल्ला प्रशासन कार्यालय मलङ्गवामा सम्पन्न बैठकले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै राष्ट्रसेवक कर्मचारीलाई चुनाव अवधिभर बिदामा बस्न नदिने निर्णय गरेको हो । निर्वाचनमा खटाइएको स्थानमा खट्ने/खटाउने प्रबन्ध मिलाइ आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई सफल बनाउने कार्यालय प्रमुखहरुको बैठकले निर्णय गरेको छ । निर्वाचनका लागि सर्लाहीका ६२८ मतदान केन्द्रमा तीन हजार ७६८ कर्मचारी खटाइँदै छ । यस्तै बैठकले निर्वाचन प्रयोजनका लागि अत्यावश्यक हुने सवारी साधन जुनसुकै बेला आवश्यक परी माग गर्नुपर्ने भएकाले आफ्ना कार्यालयमा रहेका सवारी साधनहरु चालु अवस्थामा राखी माग भए बखत तत्काल उपलब्ध गराउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब दुई साता बाँकी रहँदा जिल्लामा यस प्रकारका बैठकसहित तयारीका काम तीव्र रुपमा भइरहेका छन् ।
पोखरा: तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकीको आयोजनामा पोखरा रंगशालामा हुने धनबहादुर गुरुङ सांगीतिक साँझको तयारी पूरा भएको छ । गायक, संगीतकार तथा संगीत संयोजक धनबहादुर गुरुङको सम्मान र ‘तमु कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने उद्देश्यले आयोजना हुने विशेष सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । आयोजक संस्थाका महासचिव नेत्र गुरुङले पोखरा रंगशालाको भलिबल मैदानमा आगामी ८ गते अपह्रान्ह ४ बजेदेखि उक्त कार्यक्रम सुरु हुने बताए । उक्त कार्यक्रममा धनबहादुर गुरुङले २०४५ सालदेखि हालसम्मका प्रसिद्ध गीतहरु प्रस्तुत गर्नेछन् । गायक गुरुङको ‘आयादो ठागु, ताङतिङैको मेलैमा, बर्खे खजे, क्युदे थुले दुख मुना, ख्वालबै माया, खो रिमै थुमै, छ्याँवरानी ङोल्स्यो नी, माया पिरती थेनो सिरमाथी लगायतका गीतहरु चर्चित छन् । उनले अहिलेसम्म करिब ५ हजारको हाराहारीमा गीत संगीत सिर्जना र आवाज दिइसकेका छन् । सो कार्यक्रममा धनबहादुर गुरुङसँग विभिन्न कालखण्डमा जोडिएका गायक गायिकाहरु विष्णु गुरुङ, उमा गुरुङ, माया गुरुङ, कुशुम गुरुङ, उषा गुरुङ, प्रिया गुरुङ, पवित्रा गुरुङ, संगीता गुरुङ, निशा गुरुङ, इन्द्र गुरुङ, सविना गुरुङ, ममता गुरुङ, रोशन गुरुङ, डबिन गुरुङ, राज बहादुर गुरुङ, सरुन गुरुङ र मिलन गुरुङ लगायतले सांगीतिक प्रस्तुती दिनेछन् । यसैगरी कार्यक्रममा रौनक थप्न हिमाली साँस्कृतिक परिवार, तरेली साँस्कृतिक परिवार, तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति, अनुशिलन कला पाठशाला, तमु धि नेपाल केन्द्रीय युवा समिति, नेपाल तमु विद्यार्थी छोज धिं र नाल्मा गाउँ लमजुङको विशेष नृत्यहरुसमेत प्रस्तुत हुनेछन् । करिब २० लाख बचत गर्ने अनुमान गरिएको सो कार्यक्रमको अवसरमा गायक धनबहादुर गुरुङलाई सम्मान पत्र र नगद १ लाख ५१ रुपैयाँ हजारसहित सम्मान गरिने कार्यक्रम संयोजक गोरे गुरुङले जानकारी दिए । उनका अनुसार पोखरा रंगशालाको भलिबल मैदानमा हुने सो कार्यक्रममको प्रवेश शुल्क ३ सय रुपैयाँ निर्धारण गरिएको छ । भने, करिब १० हजार दर्शकको सहभागिता रहने आयोजकले जनाएको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको हो । जावलाखेलको जीतमा ४८ औं मिनेटमा धर्वेन्द्र कुँवरले पहिलो गोल गरे । यस्तै खेलको ८८ औं मिनेटमा निकोलस ओडानेले दोस्रो गोल गर्दै अन्तरलाई दोब्बर बनाए । र, ९० औं मिनेटमा सुजन गुरुङले तेस्रो गोल गर्दै टोलीलाई सेमिफाइनलको यात्रा तय गराए । यता चर्च ब्वाइज क्लबले भने जावलाखेलको दबाब मात्रै सहन पर्याे । पाएको मौकालाई सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज क्वाटरफाइनलबाट बाहिरिन बाध्य बन्यो । प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबर र थन्डरबोल्ट भारत सोमबार भिड्नेछन् । अन्तिम क्वाटरफाइनलमा आभा क्लब उज्वेकिस्तान र फ्रेन्डस् क्लबले मंगलबार प्रतिस्पर्धा गर्नेछन् । यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलबाट आयोजक सहारा क्लब नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
काठमाडौँ: प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् । निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पनि निर्वाचन आचारसंहिताको व्यवस्थाले आमसभा, कोणसभा तथा जुलुस प्रतिबन्धित थिए । सामूहिक घरदैलोलगायतका कार्यलाई पनि निर्वाचन आचारसंहिताले बन्देज गरेको थियो । आचारसंहिताको व्यवस्थाका कारण राजनीतिक दलले ठुला सभालगायतका कार्य गरेका थिएनन् । आचारसंहिताको व्यवस्था अनुसार मतदान हुने दिनभन्दा १७ दिनभन्दा अघि मात्र सभा, जुलुस गर्न पाउने व्यवस्था गरेको छ तर मतदानको दिनभन्दा ४८ घण्टाको मौन अवधिमा पनि दलले प्रचारप्रसार गर्न पाउने छैनन् । फागुन १८ गते राति १२ बजेबाट मौन अवधि सुरु भएपछि प्रचारप्रसार बन्द हुने छन् । यो पटक राजनीतिक दलले मुख्य प्रचारका लागि १५ दिनको समय पाएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानुन र निर्वाचन आचारसंहिताको अधीनमा रहेर राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारका कार्य गर्नेमा आयोग विश्वस्त रहेको बताउनुभयो । भण्डारीले भन्नुभयो, “निर्वाचन प्रचारप्रसारमा आचारसंहिता र कानुनको पूर्ण पालना सबै राजनीतिक दल र उम्मेदवारबाट हुने छ र पालना गर्नुहुने छ भन्ने विश्वास छ ।” आचारसंहिताको उल्लङ्घनमा निर्णय चाँडै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा प्राप्त जवाफमा आयोग चाँडै निष्कर्षमा पुग्ने बताउनुभएको छ । आचारसंहिता उल्लङ्घन गर्ने दल तथा उम्मेदवारलाई सोधिएका स्पष्टीकरणमा प्राप्त जवाफबारे आयोगले चाँडै निर्णय लिने कार्यवाहक प्रमुख भण्डारीले बताउनुभएको हो । प्राप्त जवाफ आयोगले अध्ययन गरिरहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश स्पष्टीकरणमा जवाफ आएको छ । फाइल अध्ययनका क्रममा छन् । हाम्रो कार्यबोझ पनि छ । प्राप्त जवाफका विषयमा हामी चाँडै विधिसम्मत रूपमा निर्णय गर्छौं ।” उहाँले मतदाता र उम्मेदवार दुवै निर्वाचन प्रचारका क्रममा सार्वभौम रहेकाले त्यस्तो अधिकारको सम्मान गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने हुँदा सार्वभौम मतदाता र आफ्ना लागि सार्वभौम जनताको मत र विश्वास माग गर्ने उम्मेदवार दुवै कानुनबमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहन्छन् । सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानुनबमोजिम निर्वाचन प्रक्रियामा निर्बाध सहभागी हुने अक्षुण्ण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन हुँदैन ।” उहाँले यो पटक मतदानको प्रतिशत बढ्ने र बदर मतको प्रतिशत घट्ने अपेक्षा रहेको पनि बताउनुभयो । उहाँले घोषणापत्र सार्वजनिक र जानकारी गराउने दल बढिरहेको बताउनुभयो । निर्वाचन प्रचारप्रसार बैङ्क खाता खोल्न खोल्ने दल र उम्मेदवारको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ । फागुन २१ गते बिहीबारका दिन सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यस निर्देशनलाई पूर्ण रूपमा पालना गराएर निर्वाचनलाई स्वच्छ, प्रतिस्पर्धी र मर्यादित बनाउने आयोगको योजना छ । हरेक राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका क्रममा मर्यादित रूपमा प्रस्तुत हुनुपर्ने आयोगले जनाएको छ । राजनीतिक दल तथा उम्मेदवारले २०८२ फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आयोगले जनाएको छ । यस क्रममा जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्न पाउने आयोगले स्पष्ट पारेको छ । आयोगले दिएको निर्देशनमा निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनबमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गराउन नपाउने उल्लेख छ । त्यस्तै कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पु¥याउने, धाकधम्की वा डर त्रास देखाउने, कुनै किसिमले लोभलालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा नपार्न पनि आयोगले निर्देशन दिएको छ । निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम दिन नपाइने आयोगको निर्देशनमा उल्लेख छ । साथै दानदातव्य र बकसका रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोजको आयोजना गर्न वा त्यस्तो प्रयोजनका लागि नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न वा सार्वजनिक भोजमा सहभागी हुन नहुन पनि आयोगले निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पु¥याउने वा खलल पार्ने काम नगर्न, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थामा खलल पार्ने, कुनै धर्म, जातजाति, वर्ग, क्षेत्र वा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पु¥याउने कार्य नगर्न पनि निर्देशन दिएको छ । निर्वाचनका क्रममा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताका आधारमा घृणा उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने पनि आयोगले दिएको निर्देशनमा उल्लेख छ । निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हत्या गर्न वा गराउन वा कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो । उहाँका अनुसार निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख भएबमोजिम ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्रै वितरण गर्नुपर्ने छ । त्यसबाहेक कुनै प्रकारको पोस्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्त्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाका लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउन्ड सिस्टमको प्रयोग गर्न वा गराउन नहुने पनि आयोगले स्पष्ट पारेको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् । विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्डरबोल्टको सामना गर्नेछ । उक्त खेल पोखरा रंगशालामा दिउँसो ३ बजे हुनेछ । थन्डरबोल्ट आहा! रारा पोखरा गोल्डकपमा आफ्नो पहिलो खेल मनाङ मस्याङ्दी क्लबसँग खेल्दैछ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल आभा क्लब उज्वेकिस्तान र प्लानिङ ब्वाइजबीच मंगलबार हुनेछ । यसअघि पहिलो क्वाटरफाइनल खेलबाट नेपाल पुलिस क्लबलाई हराउँदै आयोजक सहारा क्लब र चर्च ब्वाइज युनाइटेडलाई हराउँदै जावलाखेल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान जन्मथलो भई यूकेलाई कर्मथलो बनाएका तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आहा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा तमुले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । तमु धिं यूके र सहारा यूकेको मिडिया तथा फोटो संयोजक समेत रहेका फोटो पत्रकार तमु आहा रारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । नेपाल आएको समयमा उनले विभिन्न ठाउँमा सामाजिक सेवा पनि गरिरहेका छन् । सहारा क्लबले २५ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा शनिबार उनलाई रजत जयन्ती सम्मान गरेको थियो । प्रतियोगिताको विकास र प्रवद्र्धनमा फोटो पत्रकारिताको माध्यमबाट विशेष योगदान पु¥याएको भन्दै क्लबले फोटो पत्रकार तमुलाई सम्मान गरेको हो । उनलाई माला, दोसल्ला र सम्मान पत्रसहित सम्मानित गरियो । रकम ग्रहण पछि एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो । कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । चर्च ब्वाइज क्लब भने आहा राराको यो सिजनमा सिधै क्वाटरफाइनलबाट प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबर र थन्डरबोल्ट भारत सोमबार भिड्नेछन् । अन्तिम क्वाटरफाइनलमा आभा क्लब उज्वेकिस्तान र फ्रेन्डस् क्लबले मंगलबार प्रतिस्पर्धा गर्नेछन् । यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलबाट आयोजक सहारा क्लब नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको विजेता टोलीलाई १४ लाख १ हजार रुपैयाँ र उपविजेतालाई ७ लाख १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । यसअघि पुलिस क्लबका राम वाजीले खेलको ४९ औं मिनेटमा पहिलो गोल गरे । पुलिस क्लबले पाएको कर्नर किकलाई हेडिङ गर्दै वाजीले पहिलो गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस क्बलले केही राम्रा मुभ बनाएपनि सहारा क्लबका डिफेन्डर रन्दीप पौडेल बाधक बने । उनले दुइपटक गोललाइनबाट बललाई फर्काइदिए । १ गोलले पछि परेको सहारा क्लबले खेलको ६१ औं मिनेटमा पेनाल्टीमार्फत बललाई जाली चुमाए । पुलिस क्लबका भक्तजंग खड्काले डिबक्समा मुकुन्दकुमार निउरेलाई लडाएपछि आयोजक सहारा क्लबले पेनाल्टी प्राप्त गरेको थियो । सोही पेनाल्टीको मौकालाई सहारा क्लबका मुकुन्दकुमार निउरेले गोलमा परिणत गरे र खेललाई बराबरीमा फर्काए । त्यसपछि खेल झनै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समयमा कुनै टिमबाट पनि गोल हुन नसकेपछि खेल पेनाटी सुटआउटमा धकेलिएको थियो । सो खेलबाट सहारा क्लबका गोलरक्षक टिकेन्द्र थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र थन्डर बोल्ट भारत आइतबार दिउँसो ३ बजे भिड्नेछन् ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्र हुदैं नेपाली चलचित्रमा पाइला चालेकी गुरुङले नगद ११ हजार १११ रुपैयाँ सहयोग गरेकी हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरारारा पोखरा गोल्डकपमा सहभागी हुन गएको समयमा शुक्रबार अभिनेत्री गुरुङ र उनका छोरा हिमाल गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सहारा क्लब हङकङकी सल्लाहकारसमेत रहेकी उनी गुरुङ फिल्म एसोसियशन हङकङकी अध्यक्ष हुन् । उनको निर्माणमा बनेको चलचित्र पेन्सनपट्टा छिट्टै प्रदर्शनको तयारीमा छ । हङकङ बस्दै आएकी अभिनेत्री गुरुङ र उनका छोरा हिमाल गुरुङ आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । उनको छोरा हिमाल गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङबाट खेल्छन् । सहयोग ग्रहण पछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए । कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ । यस कोषमा यसभन्दा अघि सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार, नागरिक अभियान्ता रामबहादुर पौडेलले १० हजार, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।

