पोखरा:  पोखरामा हुने दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को ट्रफी सार्वजनिक गरिएको छ ।  यही भाद्र २० देखि २८ सम्म पोखरा रङ्गशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको ट्रफ...

पोखरा:  गण्डकीका प्रदेश प्र्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएको बताउनुभएको छ । मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एशियाली राष्ट्र परेको उहाँको भनाई छ । कानुनी युवा मञ्च (फ्लाई) ले आयोजना गरेको ‘दक्षिण एशियाली जलवायु न्याय फेलोशिप तथा क्याम्प २०२५’ मा बोल्दै उहाँले जलवायु परिवर्तनका असरहरुबारे विभिन्न कार्यक्रम गरेर विश्व समुदायलाई सचेत गराएपनि सोचेअनुसारको प्रगति गर्न नसकिरहेको उल्लेख गर्नुभयो । ‘जलवायु परिवर्तनको मूल कारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर खासगरी जलवायु परिवर्तनको प्रभाव बढी पर्ने हाम्रोजस्तै विकासोन्मुख मुलुकमा हो ।’ उहाँले भन्नुभयो – ‘हाम्रा हिमालहरुमाथि सोझो चोट परेको छ । हिमताल जोखिममा छन् । वर्षा अनियमित मात्रामा भइदिनाले पहाडमा बाढी पहिरोबाट ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नुपरेको छ । तराई डुब्दा खाद्य सङ्कट उत्पन्न भइरहेको छ ।’ अब ढिला नगरी जलवायु परिवर्तनबाट प्रमुख मार खेप्नुपरेका विकासोन्मुख मुलुकहरुले न्यूनीकरणका लागि पहल कदमीहरु चाल्नु जरुरी भइसकेको उहाँको भनाई छ । वातावरणीय प्रभाव मूल्यांकनको सीमामा रहेर दीगो विकासको अवधारणा अवलम्वन गर्न आवश्यक रहेको उहाँको भनाई छ । ‘हामी विकास र समृद्धिको युगमा छौँ । औद्योगिक विकासका कारण हरितगृह ग्यॉस उत्सर्जन बढ्न गई पृथ्वीको औषत तापक्रम वृद्धि भएर वातावरणीय अवस्थामा असन्तुलन परिवर्तन आएको छ ।’ उहाँले थप्नुभयो – ‘सन् २०३० सम्म नेपालको तापक्रम १।७ डिग्री सेल्सियले बढ्ने अनुमान गरिएको छ । हामीले समयमै सजगता नअपनाउने हो भने ठूलो वातावरणीय समस्या निम्तिन सक्छ ।’ यो क्याम्प नेपालका लागि मात्र नभई दक्षिण एशियामा नै जलवायु परिवर्तनका कारण र असर र समाधानका लागि फलदायी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । जलवायु न्यायको अवधारणा अन्वेषण, क्षेत्रीय असमानता र संवेदनशीलता, सीमा–पार जलवायु प्रभाव र साझा चुनौती, न्याय प्रवद्र्धनमा युवाको भूमिका, न्यायपूर्ण जलवायु रुपान्तरण र वित्तीय पारदर्शिता लगायतका विषय निकै महत्वपूर्ण रहेको उहाँको भनाई छ ।   कार्यक्रममा दक्षिण एशियाका ७ राष्ट्रका ४५ जना युवाहरुलाई जलवायु न्यायको पक्षमा सशक्त बनाउन विशेष छलफल र गतिविधिहरू सञ्चालन हुने भएकाले युवाहरुलाई उप्रेरित गर्न आफू उपस्थित भएको प्रदेश प्र्रमुख भट्टको भनाई छ । यस्ता क्याम्पहरु छलफल गर्ने मञ्च मात्र होइन, नीति निर्माण गर्ने र यसलाई आकार दिने अवसर पनि रहेको उहाँले बताउनुभयो । यो क्याम्पमा दक्षिण एसियाका युवाहरुबीच जलवायु न्यायका लागि सीमा–पार युवा एकता, आदिवासी तथा उपेक्षित आवाजलाई जलवायु शासनमा समावेश गर्ने गरी राष्ट्रिय नीति संवादमा एकीकृत गर्ने, जलवायु सम्बन्धी समसामयिक चुनौती र दक्षिण एसियाली विकल्पहरुमा युवाको ज्ञान बलियो लिने लक्ष्य लिइएको आयोजक संस्थाका चेतन जेठाराले जानकारी दिनुभयो । 

पोखरा:  नेपाली सिनेमामा सांस्कृतिक मौलिकता र आदिवासी समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ ।  दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङको मुख्य अभिनय रहेको यस सिनेमाले गुरुङ समाजको जीवन, संस्कार र भावनालाई पर्दामा उतार्ने प्रयास गरेको बताइएको हो । सिनेमाको प्रदर्शनपूर्व शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण पक्षले ‘रिमै’ सम्बन्धी जानकारी गराएका छन् ।  कार्यक्रममा कलाकार रिश्मा गुरुङ, माओत्से गुरुङ, डिबी गुरुङ, कार्यकारी निर्माता बिरबल घलेको उपस्थिति थियो । पत्रकार सम्मेलनमा बोल्दै कलाकार माओत्से गुरुङले रिमै आदिवासी कथाको प्रतिनिधित्व गर्ने चलचित्र भएको उल्लेख गरे । मेकरहरूको बदलिँदो सोच र दर्शकले मौलिक कथामा देखाएको रुचिले गर्दा यस्तो विषयवस्तु उठाउन सम्भव भएको भनाई उनको छ ।  ‘रिमै’ भन्ने शब्द गुरुङ भाषामा छोरीचेलीलाई सम्बोधन गर्ने अर्थमा प्रयोग गरिने उनले प्रष्टाए । उक्त सिनेमामा आफु एक कठोर बुबाको भूमिकामा देखिएको उनले बताए ।   चलचित्रकी मुख्यपात्र नायिका रिश्मा गुरुङले रिमै आफ्ना लागि विशेष रहेको बताइन् । “ रिमै मेरो लागि विशेष फिल्म हो। पहिलो अफर आउँदा नगर्ने सोच थियो, अमेरिकामा भएकाले सम्भव भएन। अहिले भने परिस्थिती मिलेकाले पहिलो पटक ठूलो पर्दामा गुरुङ संस्कारलाई उतार्न पाएको छु। अपेक्षा भएर नै यो सिनेमा गरेकी हुँ।”, उनले भनिन् । कबड्डी पछि लामो समय सिनेमामा नदेखिएता पनि आफु उक्त क्षेत्रबाट बाहिर भने नभएको उनले उल्लेख गरिन् । कार्यव्यस्तता र अध्ययनका कारण विश्राम लिएको र अब राम्रो स्क्रिप्ट र टीम भएमा निरन्तरता दिँदै जाने भनाई उनको छ । सिनेमा क्षेत्रमा सुरुवाती पलमा उत्साह धेरै भएता पनि समयक्रम अनुसार घट्दै जाने उनले बताइन् । “सुरुवाती पलमा उत्साह धेरै हुन्छ। पछि–पछि कम्प्रोमाइजका कुरा आउँछन्।”, उनले भनिन् । रिमैको कथावस्तु दर्शकलाई मन पर्नेमा उनि आशावादी छिन् । कलाकार डिबी गुरुङले सिनेमाले गुरुङ समाजको मात्र नभई सम्पूर्ण नेपाली जीवनशैलीलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, “रिमै नेपाली सिनेमामा मौलिकताको खोजी हो, जसले हरेक दर्शकलाई आफ्नोपनाको भाव दिनेछ।” कार्यकारी निर्माता बिरबल घलेले रिमै मौलिक कथा, मौलिक संस्कृति र मौलिक अभिनयको संगम भएको उल्लेख गरे । करिब ३ करोड लगानीमा निर्माण भएको उक्त सिनेमाले  नेपाली फिल्म क्षेत्रमा फरक स्वाद थप्ने विश्वास उनको छ ।  ‘रिमै’ को छायांकन मुख्यतया गुरुङ बस्ती र पहाडी गाउँघरमा गरिएको उनले बताए । उनका अनुसार यसले ग्रामीण जीवनशैली, संस्कार र संस्कृतिलाई नजिकबाट चित्रण गर्ने प्रयास गरेको छ । सिनेमामा सांगीतिक पक्षलाई पनि विशेष महत्व दिइएको र गुरुङ समुदायको मौलिक धुन र ताललाई समेटिएको उनले बताए । उपेन्द्र सुब्बाको कथा र खील बहादुर गुरुङको निर्देशनमा बनेको उक्त चलचित्रप्रति निर्माण पक्ष मात्र नभई कलाकारहरू पनि आशावादी देखिएका छन्। दर्शकले मौलिक संस्कृतिको स्वाद लिन पाउने भएकाले ‘रिमै’ नेपाली सिनेमामा फरक अध्याय बन्ने अपेक्षा गरिएको छ।  

पोखरा:   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते हुने भएको छ । मञ्चको बिहीबार बसेको २१ औं बैठकले साधारण सभा सम्बन्धी निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबि आस्था) ले जानकारी दिए । सोही कार्यक्रममा मञ्चले आयोजना गरेको नवौं पोखरा स्पोर्ट्स अवार्डको समीक्षा र आयव्यय सार्वजनिक गरिने अध्यक्ष आस्थाले खुलाए । यसका अलावा खेल पत्रकारको क्षमता अभिवृद्धिका  लागि भदौ २७ गते तालिम समेत आयोजना हुँनेछ । गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको  मञ्चमा  हाल ७४ जना पत्रकार आवद्ध छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी २०७५ सालमा केशव पाठक नेतृत्वको तदर्थ समितिले दर्ता गरी प्रदेश संरचनामा लगेको थियो ।  २०५८ सालमा पोखराका खेल पत्रकारहरु संगठित भई रामकृष्ण ज्ञवाली संस्थापक अध्यक्ष रहेको मञ्च कास्कीको विस्तारित रुपमा यहाँसम्म आइपुगेको हो ।

काठमाडौं:   नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।  मन्त्रिपरिषदको शुक्रबार बसेको बैंठकले खापुङलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेपाल प्रहरीका ३२औँ आईजीपी बनेका छन् । हालका आईजीपी दिपक थापा एक सातापछि भदौ १९ बाट प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएपछि खापुङलाई १९ गतेबाट नै कमान्ड सम्हाल्ने गरी आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख छन् । 

काठमाडौं:  सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु. एक हजार २०० ले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी रु। पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु। दुई लाख ६०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु। दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ ।  हिजो बिहीबार एक तोला सुन रु। एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु। दुई हजार ३५५ मा क्रयविक्रय भएको थियो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

अछाम:  अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छभने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा सुतेका बेला ढुङ्गाले किचेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले जानकारी दिनुभयो । घटनामा घाइते हुनुभएकी कविताकी आमालाई उपचारको लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रतिवेदन पेश गरेको छ  ।   मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो ।   प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार रहेकाले प्रदेश सरकारको न्यायिक कामकारबाही नै मुख्य न्यायाधिवक्ताको प्रमुख दायित्व रहने उल्लेख गर्नुभयो ।   ‘प्रदेश सरकारलाई कानुनी सल्लाहका साथै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्याधिवक्ताको हो ।’ भट्टले भन्नुभयो ।   संवैधानिक व्यवस्था अनुरुप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्ना कार्य सम्पादन गर्दै आएको विश्वास व्यक्त गर्नुहुँदै उहाँले कार्यालयले संघीयताका तहगत स्पष्टताका विषयमा नागरिक छलफल चलाउने, स्थानीय न्यायिक समितिको क्षमता अभिवृद्धिका लागि तालिम प्रशिक्षण लगायतमा जोड दिन ध्यानाकर्षण गराउनुभयो ।   कार्यक्रममा मुख्य न्यायाधिवक्ता शर्माले वार्षिक रुपमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी प्रावधान अनुसार गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यहरुको संक्षिप्त विवरण पनि प्रस्तुत गर्नुभयो ।   मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखित रुपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको उहाँले जानकारी गराउनुभयो ।   मुख्य न्यायाधिवक्ता शर्माले कार्यालयले प्रदेश सरकारलाई विभिन्न विधेयकहरुमा निर्माणमा सहयोग गरेको र कार्यालय शुन्य बेरुजुको प्रयासमा रहेको उल्लेख गर्नुभयो ।   नेपालको संविधानको धारा १६० मा प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने संवैधानिक व्यवस्था रहेको छ ।   मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ ले मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।   उक्त प्रतिवेदन प्रदेश सभा समक्ष पेश गर्न प्रदेश प्रमुख कार्यालयबाट मुख्यमन्त्री कार्यालयलाई पठाउनेछ ।   कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण, मुद्दा मामिलामा गरिनुपर्ने सुधारको विवरण लगायत प्रतिवेदनमा उल्लेख गर्दछ ।

डडेल्धुरा:  डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जीप दुर्घटना हुँदा मृत्यु  भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परी एकै वडाका चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीय कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । यसैगरी घाइते हुनेहरुमा वडा नं. ५ कै १८ वर्षीय सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर डम्बर विष्टका अनुसार बिहीबार बिहान करिब ८ बजे से १ज ७३८ नं. को जीप दुर्घटना भएको थियो ।  ठाँटा बजारबाट जिल्ला सदरमुकाम डडेल्धुरा आउँदै गरेको जीप कच्ची सडकबाट करिब ५०० मिटर तल खसेको छ ।      यो पनि पढ्नुहोस   डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं:  देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।  शाखाप्रमुख डा अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको छ ।   डा गौतमले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताउनुभयो । सत्तरी प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ । सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपराली पश्चिममा मृत्यु भएको हो । स्वास्थ्यकर्मीहरुका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ । यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण भई बिरामीको मृत्यु हुने गरेको छ ।