काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
काठमाडौं: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। सोही मान्यताअनुसार वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि साथीले हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको परेकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ, तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले सुनाए। “निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत छन्। सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”, उनले भने,“‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ।” स्वास्थ्य ठीक नहुनेले गहुँ वा मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उनको भनाइ छ। श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका पूर्व प्रमुखसमेत रहेका उनले सुनाए। “अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरूले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”, प्राडा गौतमले भने। नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा पुरुषले पनि व्रत बस्ने गरेका छन्। यस अर्थमा हाल केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्को भनाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराईको भनाइ छ। व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन्। तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ। तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रातोयराज नेपालले सुनाए। उज्यालो नहुँदै दर खाइसक्नुपर्ने यो व्रत सक्नेले निराहार बस्ने भएकाले सोमबार व्रतालुले मीठा मीठा परिकार दरका रूपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन्। विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ। महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत उपयोग गर्ने गरेका छन्। तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन्। पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ। एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृति बनाइरहेको धेरैले बताउने गरेका छन्। यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीको जोड छ। एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा यसका लागि तोकिएको छ। सोमबार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।
काठमाडौं: हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी पाल्नुहुने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ः०० बजेदेखि नै चार ढोका खुला भएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जानकारी दिनुभयो । चार ढोका खुलेपछि सेवासुविधाका लागि आवश्यकपर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, भजन कीर्तन, दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्थालगायतका लागि पनि काम भएको उहाँले बताउनुभयो । पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लामको व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । दोस्रो लाम मित्रपार्क–जयबागेश्वरी–पाँचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । तेस्रो लाम पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । चौथो लाम तिलगङ्गा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिइ फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव जोशीले जानकारी दिनुभयो । दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्नेगरी बिहान ३ः०० बजेदेखि नै मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको उहाँले सुनाउनुभयो । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ । श्रीपशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा वनकाली, गौशाला, जयवागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ । पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा ९मन्दिर प्राङ्गणबाहेक० अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो । भक्तजनबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको पनि उहाँले सुनाउनुभयो । बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरु बिहान ५ः३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ । मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवको चौथो दिनदेखि सुरु प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका उप सभामुख विना कुमारी थापाले गरेकी थिईन । यसरि हुन्छ प्रतिस्पर्धा आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीका अनुसार प्रतियोगितामा सहभागीहरुको एक समुहमा पाँच जना रहनेछन् । सहभागी प्रतियोगिलाई आयोजकले एक पाथी धान दिनेछ । त्यसपछि त्यो धानलाई ढिकिमा लगेर कुट्नु पर्नेछ । कुटेको धानबाट भुस र चामल छुट्याएर चामललाई जातोमा लगेर पिठो बनाउनुपर्नेछ । यस्का लागि सहभागिले २५ मिनेटको समय पाउनेछन् । आफुले पाएको समयमा जुन समुहले धेरै पिठो बनाउछ उही समुह बिजेता हुने अध्यक्ष अधिकारीले जानकारी दिए । बिजेता समुहले १२ हजार ५५५, द्धितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ नगद पुरस्कार पाउने प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराम सुवेदीले जनकारी दिए । यसै गरि महोत्सव अन्र्तगत मंगलबारदेखि खुल्ला एकल नृत्य प्रतियोगिता र बुधबार छेलोहान्ने प्रतियोगिता हुने आयोजक केन्द्रका सचिव दृर्गा प्रसाद अधिकारीले जानकारी दिए । एकल नृत्य र छेलोहान्ने प्रतियोगिताका बिजेताहरुले समान १२ हजार ५५५, द्घितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ नगद पुरस्कार पाउने छन् । महोत्सव अन्र्तगत आईतबारदेखि सुरु तिज गित प्रतियोगिता जारी रहेको छ । सोमबारसम्म ११ टोलीले भाग लिएको प्रतियोगिता बुधबारसम्म जारी रहनेछ । प्रतियोगितामा प्रथम हुनेले ३५ हजार ५५५, द्घितियले २० हजार ५५५, तृतियले १० हजार ५५५, सान्त्वनाले पाँच हजार ५५५, उत्कृष्ट भेषभुषा र नृत्यले तीन हजार ५५५ नगद पुरस्कार पाउनेछन् । १० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ५० व्यापारिकस्टलहरु, १२ रेष्टुरेन्टका स्टल, वाल उद्यान रहेका छन् । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ् । ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
पोखरा: पोखरामा जारी लामाचौर तीज महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिएम समाज र ढुंगेदेउराली क्लब फाइनल प्रवेश गरेका छन् । रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै यात्रा टुंगाउन पुगे । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जिएम समाज फाइनल पुगेको हो । समूह ‘बि’ को उपविजेता नवलपुरको कावासोतीको जिएम समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो । घरेलु दर्शकले आयोजकलाई हुटिङ गरे पनि जिएम समाजले २५–१३, २५–२० र २५–२० सेटमा खेल आफ्नो पक्षमा पारेकोे हो । म्यान अफ दि म्याच विश्वास अधिकारी घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए । यसैगरी, दोस्रो सेमिफाइनलमा स्याङ्जा पौवेगौडेको ढुंगेदेउराली क्लबले विभागीय एपिएफ पोखरालाई सोझो सेटमै पराजित गरी उपाधि नजिक पुगेको हो । एपिएफ समूह ‘बि’ को विजेता हुँदै सेमिफाइनल पुगेको थियो । समूह ‘ए’ को उपविजेता ढुंगेदेउराली हो । ढुंगेदेउरालीले पहिलो सेट २५–१९ जितेर अग्रता कायम गरेको थियो । बाँकी सेट २५–२३ र २५–१९ मा रोमाञ्चक जित हात पार्दै जि।एम। समाजसँग फाइनल सुनिश्चित गरेको हो । ढुंगेदेउरालीका लिब्रो राजन दर्माली म्यान अफ दि म्याच घोषित भए । ६ टिमले भाग लिएको प्रतियोगितामा आयोजक र एपिएफ लिग चरणमा समान २–२ खेल खेल जितेर सर्वाधिक ६ अंकका साथ समूह विजेता हुँदै सेमिफाइनल खेलेका थिए । सोमबारकै लिग चरणमा आयोजकले ढुंगेदेउरालीलाई ३–१ सेटमा र एपिएफले जि।एम।समाजलाई ३–१ सेटमै हराएको थियो । माछापुच्छे« गाउँपालिका र कृष्णदल फूलबारी अंकविहीन हुँदै अघिल्लो दिन प्रतिस्पर्धाबाट बाहिरिएका थिए । फाइनल मंगलबार दिउँसो १ बजे हुनेछ । त्यसअघि, बिहान ११ बजे अन्तर मावि छात्रा भलिबलको फाइनल हुनेछ । जसमा टप्स र शान्ता मावि फाइनल प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तरमावितर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार व्यवस्था छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको लामाचौर तीज महोत्सव आइतबारदेखि सुरु भएको हो । मंगलबारसम्म संचालन हुने महोत्सवमा कलाकारको दैनिक प्रस्तुति, तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता लगायत विविध कार्यक्रम भइरहेको क्लब अध्यक्ष दिनेश भण्डारीले बताए । महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल राखिएको क्लब अध्यक्ष दिनेश भण्डारीले बताए । महोत्सवको अन्तिम दिन मंगलबार चर्चित कलाकार प्रकाश दूतराज, श्रीदेवी देवकोटा, राजु ढकाल, कृति गुरुङ लगायत कलाकारको प्रस्तुति हुनेछ ।
काठमाडौं: जनस्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल आधिकारिक रूपमा रुबेला–मुक्त देश घोषित भएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई रुबेला निवारणको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । योसँगै रुबेला निवारण गर्र्न विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल छैटौँ राष्ट्र बनेको छ । विश्व स्वास्थ्य सङ्गठनले २०८२ साल भदौ २ गते नेपाल रुबेला रोग निवारण गर्न सफल भएको हो । मन्त्री पौडेलले यो घोषणा सम्पूर्ण नेपालीका लागि अत्यन्तै गर्वको विषय भएको बताउनुभयो । उहाँले यो उपलब्धिलाई दिगो राख्न र नेपालका बालबालिकाको स्वस्थ भविष्य सुनिश्चित गर्न अन्य खोप–रोकथाम योग्य रोगहरू उन्मूलनतर्फ काम गर्न निरन्तर प्रयासका लागि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “यो हाम्रा स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू र आम नागरिकको सक्रिय सहभागिताको अटुट समर्पणको परिणाम हो । नेपाल यो उपलब्धि हासिल गर्ने दक्षिण–पूर्वी एसिया क्षेत्रको छैटौं देश बनेको छ ।” स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटाले नेपालले २०२५ मा रुबेला उन्मूलन गरेर एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका गरेको बताउँदै अबको लक्ष्य दादुरा उन्मूलन गर्नुरहेको बताउनुभयो । “दादुरा निकै छिटो फैलिन्छ । यदि हामीले यसको निगरानी प्रणालीलाई बलियो बनाएर यसलाई उन्मूलन गर्न सक्यौँ भने, त्यही प्रणाली अन्य रोगहरूको नियन्त्रणका लागि पनि उदाहरणीय बन्ने छ”, उहाँले भन्नुभयो । परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालले दशकौँको निरन्तर प्रयासपछि यो सफलता प्राप्त भएको विस्तृत जानकारी दिनुभयो । उहाँले यो घोषणा नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा रहेको बताउँदै सरकारले खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । नेपालका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा। राजेश सम्भाजीराव पान्डवले नेपाल सरकार र साझेदारहरूलाई बधाई दिँदै यो नेपालका लागि गर्वको क्षण र क्षेत्रीय तथा विश्वव्यापी स्वास्थ्यमा एक महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले सफलता निरन्तर उच्च खोप, बलियो निगरानी प्रणाली र प्रकोपको द्रुत प्रतिकार्यबाट सम्भव भएकोमा जोड दिनुभयो ।
काठमाडौं: नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ। तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ। विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितले सुयोग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट बनेका मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ। महिला यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहार व्रत बस्ने गर्दछन्। दरमा खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ र सेलरोटी खाने गरिन्छ। स्थान अनुसार दरखाने परिकार फरक फरक छन्। आधुनिकतासँगै खाने परिकारहरूमा पनि फरक आउन थालेको छ। खासगरी पहाडीमूलका सनातन हिन्दू धर्मअन्तर्गतका महिलाले लिने गरेको पर्व तीज भए पनि हिजोआज अरु समुदायका महिला पनि तीज मनाउन थालेका छन्। दर खाएको भोलिपल्ट निराहार व्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ। हरितालिका तीजका बेला पानीसमेत नखाई व्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ। दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ। पहिले हरितालिका दिनको् एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली राजधानी तथा अन्य क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन शुरु भएको छ। परपुर्वक कालमा देवी पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र सोही उनको कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन छ।
वीरगञ्ज: जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले वीरगञ्जमा झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो । बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो । निमित्त प्रजिअ कार्कीले झाडा पखाला, कोलेरा (हैजा) रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताए । बैठकले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति तथा स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन एवं अनुगमन गर्ने निर्णय गरेको छ । हाल फैलिरहेको महामारीको ‘सोर्स अफ इन्फेक्सन आइडेन्टिफिकेसन’का लागि महामारीको अनुसन्धान, सम्बन्धित स्थानीय तहले गर्ने तथा सोको लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय भएको जनाइएको छ ।
कास्की: पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिव चार हजार ५०० सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ । कालिखोलादेखि काँहुकोटसम्म एक किमी ८०० मिटरको पदमार्ग निर्माण २०८० साल वैशाखदेखि सुरु गरिएको थियो । यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको यस ट्रेल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र आकर्षक रहेको बताए । उनका अनुसार फुट ट्रयाकका लागि चालू आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्गमा ढुङ्गा काटेर विच्छ्याइएको छ । पदमार्गका विभिन्न चार स्थानमा विश्राम स्थल हुनेछन् भने १० स्थानमा ‘भ्यूपोइन्ट’ निर्माण हुनेछ । पदमार्ग १० फिट चौडाइको हुने र बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने बस्नेतले बताए । पोखराको प्राकृतिक ‘भ्यूपोइन्ट’का रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्द्धनमा पदमार्ग निर्माणले सहयोग पुग्ने आशा गरिएको छ । ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियान अन्तर्गत आइतबार सो ट्रेलको दायाँबायाँ करिव ४०० फलफूलका बिरुवासमेत रोपिएको छ । पोखरा महानगरको दुई लाख २६ हजार विरुवा लगाउने ‘मेगा’ अभियान अन्तर्गत सो क्षेत्रमा आरु, आरुवखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँसलगायतका विरुवा रापिएका हुन् ।