रौतहट: रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फ आमाको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा उनले आफ्नै शरीरमा आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। गम्भीर घाइते अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि गौर लगिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार पासवानलाई नियन्त्रणमा लिएर उपचारसँगै अनुसन्धान सुरु गरिएको हो ।
गण्डकी: तीज पर्व र नाच्नेडाँडाको साइनो पुरानो हो । परापूर्वकालदेखि नै यहाँ तीज मनाउने परम्परा रहेको पाकापुराना बताउँछन् । विसं १८१० मा स्थापना भएको सिद्धेश्वर शिवालय मन्दिर पििन यही रहेकाले नाच्नेडाँडाको ऐतिहासिक महत्व पुष्टि हुन्छ । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडा तीजको पर्याय नै बनेको छ । तीज आयो कि यहाँको रौनक फेरिइहाल्छ । तीजमा नाचगान हुन थालेपछि ठाउँको नामै नाच्नेडाँडा रहन गएको हो । यहाँ बर्सेनि तीजमा मेला लाग्छ । यसपालि पनि दुई दिनसम्म मेला चल्यो । कुनैताका स्वतःस्फूर्त ढङ्गले चल्दै आएको मेला अहिले संस्थागत भइसकेको छ । सोमबार तीजको दर खाने दिन थियो । गाउँका छोरीचेली नाच्नेडाँडामा भेला भएर सामूहिक दर खाए । तीजका गीतमा छमछमी नाचे । कूर्चीदौडलगायत खेलमा रमाए । मङ्गलबार तीज गीत तथा नृत्य प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम भए । कलाकारले प्रस्तुति दिए । प्रतियोगितामा ११ समूहले भाग लिएको मेला आयोजक नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले जानकारी दिनुभयो । मेलाका अवसरमा ज्येष्ठ महिला टुल्की दर्जी र सामाजिक अभियानकर्मी ललिता थापालाई सम्मान गरिएको उहाँले बताउनुभयो । तीज गीत तथा नृत्य प्रतियोगितामा न्यू लाइफ इङ्गलिस बोर्डिङ स्कूलको समूह प्रथम भई रू २५ हजार पुरस्कार प्राप्त गर्यो । दोस्रो स्थान हासिल गरेको जनहित माध्यमिक विद्यालयले रू २० हजार, तेस्रो हुने टोल सुधार आमा समूह, हरिचौरले रू १५ हजार, गलकोट बोर्डिङ स्कूल र गोल्डेन फ्यूचर बोर्डिङ स्कूलले सान्त्वना स्थान प्राप्त गरी रू पाँच हजारका दरले पुरस्कार हात पारे । प्रतियोगितामा सहभागीले मौलिक सृजनामा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकारले तीजका पुराना भाकामा महिलाका दुःख, बेदनासहित सामाजिक विषयवस्तुलाई उठाएका थिए । मेलाको उद्घाटनका क्रममा गण्डकी प्रदेशसभा सदस्य दिलमाया पौवीले तीज पर्वको मौलिकतालाई जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कृति संरक्षणसँगै महिला सशक्तीकरण र अधिकारको रक्षाका दृष्टिले पनि तीजलाई हेर्नुपर्ने बताउनुभयो । उहाँले सिद्धेश्वर शिवालय मन्दिरलगायत नाच्नेडाँडामा आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गलकोट–७ का वडाध्यक्ष राज थापाले विसं २०५० देखि तीज गीत तथा नृत्यलाई प्रतियोगितात्मक रुपमा सञ्चालन गर्न थालिएको बताउनुभयो । “त्योभन्दा पहिले स्वतःस्र्फूत रुपमा तीज मेला लाग्थ्यो, परम्परागत रुपमा त्यो चलेको थियो, विसं २०५० पछि मेला व्यवस्थित र संस्थागत गरिएको हो”, उहाँले भन्नुभयो, “नाच्नेडाँडा गलकोट क्षेत्रकै ऐतिहासिक थलो हो, यसको संरक्षण र विकासमा स्थानीय समुदायको ठूलो योगदान छ ।” दशकौँ पुरानो नाच्नेडाँडाको तीज मेला हेर्न गलकोट र बाहिरबाटसमेत आगन्तुक आउने गरेका छन् । सोही ठाउँमा अवस्थित दुई सय ७२ वर्ष पुरानो सिद्देश्वर शिवालय मन्दिरले पनि तीज पर्व र नाच्नेडाँडाको महिमा बढाएको हो । तीजमा महादेवको व्रत बस्ने र पूजाआजा गर्ने महिलाको त्यहाँ उत्तिकै भीड लाग्छ । तीज लगत्तै पर्ने ऋषिपञ्चमीमा पनि शिवालयमा चहलपहल हुन्छ । पहिलेपहिले टाढा–टाढाबाट माइतीघर आएका चेलीबेटी भेट हुने, दुःख–सुख साट्ने, रमाउने ठाउँ नै यहीँ नाच्नेडाँडा हुन्थ्यो । समय बदलिए पनि यो ठाउँको पहिचानलाई कायमै राख्न स्थानीय समुदाय लागिपरेका छन् । गलकोट क्षेत्रकै पुरानो शिवालय पनि यहीँ भएकाले यो ठाउँको विशेष महत्व रहेको छ । अहिलेको पुस्ताले नयाँ स्वरुपमा भएपनि तीज मेलालाई निरन्तरता दिएका छन् । बर्सेनि मेलामा खुला तीज गीत तथा नृत्य प्रतियोगिता, सामूहिक दर खाने कार्यक्रम, कुर्चीदौड, घैँटोफोडलगायतका कार्यक्रम आयोजना गर्ने गरिन्छ । मेलाले तीजको पुरानो परम्परालाई जोगाउन मद्दत पुगेको समाजका सचिव कोपिला थापाले बताउनुभयो । मौलिक तीज गीत, नृत्य, दर खाने कार्यक्रम आदिले नयाँ संस्कृतिको पुस्तान्तरणमा पनि सघाउने उहाँको भनाइ छ । तीजमा आउने व्रतालु महिला र अरु भक्तजनका लागि सिद्धेश्वर शिवालयमा पूजाआजाका लागि पनि विशेष प्रबन्ध मिलाउने गरिएको छ । मन्दिर परिसरमा १०८ शिवलिङ्ग मण्डप निर्माण गरिएको छ । यस क्षेत्रमै पहिलोपटक शिवलिङ्ग मण्डप बनेपछि पछिल्लो समय शिवालय मन्दिरमा भक्तजनको आकर्षण बढेको हो । झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदर्शी पर्वमा विशेष मेला लाग्ने गर्छ । शिवालयमा नित्य पूजाआजासमेत हुने गरेको छ । पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आई त्यहाँ बस्न थालेपछि शिवालय स्थापना गरिएको गाउँका अगुवा बताउँछन् । उक्त मन्दिर अहिले जीर्ण अवस्थामा छ । समितिले मन्दिरको पुनःनिर्माणसहित वृहत्तर विकास योजना अघि बढाएको छ । पुरातात्विक कलाकौशल झल्कने गरी मन्दिर पुनःनिर्माण गरिने जनाइएको छ । मन्दिरसहित धर्मशाला, सभाकक्षलगायतका संरचना यहाँ बन्नेछन् ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवमा एकल नृत्य प्रतियोगिता सुरु भएको हो । महोत्सव अन्र्तगत बुधबार छेलोहान्ने प्रतियोगिता हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । एकल नृत्य र छेलोहान्ने प्रतियोगिताका बिजेताहरुले समान १२ हजार ५५५, द्घितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ नगद पुरस्कार पाउने छन् । यसै गरि महोत्सवमा बुधबार प्रजापति पराजुली, जीवन दाहाल, प्रेमराज अधिकारी, नविन पौडेल, तारापति सुवेदी, सरला पाण्डे, शिवहरी ढुङ्गाना, लक्ष्मी नेपाली, टेक क्षत्री, इन्द्रा गुरुङ, अम्विका भण्डारी, सुदिप क्षेत्री लगायतका कलाकाहरुले आ आफनो प्रस्तुती राख्ने भएका छन् । महोत्सव अन्र्तगत सोमबारदेखि सुरु भएको ढिकी जातो प्रतियोगिता जारी रहेको छ । प्रतियोगितामा सहभागीहरुको एक समुहमा पाँच जना रहनेछन् । सहभागी प्रतियोगिलाई आयोजकले एक पाथी धान दिनेछ । त्यसपछि त्यो धानलाई ढिकी मा लगेर कुट्नु पर्नेछ । कुटेको धानबाट भुस र चामल छुट्याएर चामललाई जातोमा लगेर पिठो बनाउनुपर्नेछ । यस्का लागि सहभागिले २५ मिनेटको समय पाउनेछन् । आफुले पाएको समयमा जुन समुहले धेरै पिठो बनाउछ उही समुह बिजेता हुने अध्यक्ष अधिकारीले जानकारी दिए । बिजेता समुहले १२ हजार ५५५, द्धितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ नगद पुरस्कार पाउनेछन् । यसै गरि महोत्सव अन्र्तगत आईतबारदेखि सुरु तिज गित प्रतियोगिता समेत जारी रहेको छ । मंगलबारसम्म ११ टोलीले भाग लिएको प्रतियोगिता बुधबारसम्म जारी रहनेछ । प्रतियोगितामा प्रथम हुनेले ३५ हजार ५५५, द्घितियले २० हजार ५५५, तृतियले १० हजार ५५५, सान्त्वनाले पाँच हजार ५५५, उत्कृष्ट भेषभुषा र नृत्यले तीन हजार ५५५ नगद पुरस्कार पाउने प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराम सुवेदीले जनकारी दिए ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना गरेको ११ औं मालेपाटन तीज गीत प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले पछिल्लो प्रविधियुक्त समयमा तीजको मौलिकतालाई पनि असर गरिरहेको सन्दर्भमा यस्ता प्रतियोगिताहरुको महत्व रहने उल्लेख गर्नुभयो । ‘निराहार व्रत बस्नुअघि माइत गएर खाइने दर हप्तौंअघि होटल तथा पार्टी प्यालेसहरुमा खाने प्रचलन बढ्दो छ । सुसभ्य तीज गीतहरु सुन्नै मुस्किलको अवस्था छ । समाजको यो परिवेशका बीचमा सूर्यचन्द्रले आयोजना गरेको यस्ता तीज गीत प्रतियोगिताले हाम्रा भाकाहरु जीवन्त राख्न सघाउ पु¥याउनेछ ।’ उहाँले भन्नुभयो । संस्कृति सम्पूर्ण समाजको जीवन पद्धति रहेको बताउँदै उहाँले मानिसको धर्म, भाषा, शिष्टाचार, अनुष्ठान र कला संस्कृतिमा समाविष्ट हुने उल्लेख गर्नुभयो । ‘नेपाली संस्कृति धेरै पुरानो र विविधतायुक्त छ । युवाहरूले आफ्नो संस्कृतिलाई प्रवद्र्धन र रक्षा गर्न जरुरी छ ।’ उहाँले भन्नुभयो – ‘समयकाल परिवर्तनसँगै कुनै पनि संस्कृतिको नराम्रा पक्षलाई सुधार्नु जरुरी छ भने अनुकूल सांस्कृतिक पक्षलाई बचाइराख्न पनि उत्तिकै आवश्यक हुन्छ । यिनको मूल्य, मान्यता र पहिचानलाई भने कायम गर्नुपर्ने हुन्छ ।’ हामीले हाम्रा सन्ततिलाई दिने भनेकै हामीसँग भएको संस्कार, संस्कृति, रीतिरिवाज र चालचलन हो भन्नुहुँदै उहाँले धार्मिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व र विशेषता भएका यस्ता पर्वहरूको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य रहेको उल्लेख गर्नुभयो । २०५१ सालमा स्थापित संस्थाले ३१ वर्षको लामो अवधिमा साहित्य र संस्कृतिको धरोहर बनेर साहित्य, कला, संस्कृति, राष्ट्रिय कवि सम्मेलन, दुव्र्यसन सम्बन्धी सचेतना, विभिन्न स्वास्थ्य शिविर, वातावरण संरक्षण, महिला सशक्तिकरण, पठन संस्कृतिको विकासका लागि पुस्तकालय, विद्यार्थी तथा जेष्ठ नागरिक सम्मान जस्ता विविध क्षेत्रमा काम गर्दै आइरहेको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो ।
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका तीजको अवसरमा आयोजित महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकमार थापाले गरे । उद्घाटन समारोहमा उनले संस्कृति संरक्षणमा यस्ता महोत्सव महत्त्वपूर्ण हुने बताए । महोत्सवमा प्रदेश सांसद प्रकाश बराल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, कलाकार हरिदेवी कोइराला, महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्लले सभ्य र अनुशासित रुपले तीज मनाउनुपर्नेमा जोड दिए । टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले चौरमा बसेर तीज गीत गाउने परम्परा हराउँदै गएको अवस्थामा उक्त परम्पराको पुनर्जागरणका लागि पनि महोत्सव आयोजना गरिएको बताइन् । महासचिव शोभा अधिकारी पौडेलले पर्वलाई महिला सशक्तीकरणसँग जोड्नु महोत्सवको मुख्य उद्देश्य भएको बताइन् । उद्घाटनअघि हल्लनचोकबाट बाजागाजा सहित झाँकी ¥याली सुरु भएर बाराहीघाटमा आएर समारोहमा परिणत भएको थियो । महोत्सवमा मंगलबारदेखि तीज गीत प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा सहभागी अधिकांश महिला समूहले पर्यटनस“ग जोडेर तीज गीत प्रस्तुत गरे । पोखराको फेवा ताल संरक्षण, पर्यटकीयस्थलको प्रवद्र्धन, पर्यटनमा महिला सहभागिता, महिला सशक्तीकरण लगायत विषय प्रतियोगी समूहले गीतमार्फत उठान गरेका थिए । महोत्सव संयोजक शान्ता सुवेदी तिमिल्सिनाका अनुसार बुधबार पनि तीज गीत प्रतियोगिताले निरन्तरता पाउने छ । बुधबार रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) हुनेछन् । तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४–४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताइन् । यो महोत्सवले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले बताइन् । उनले भनिन्, ‘सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवद्र्धनका नयाँ ढोकाहरू खुल्नेछन् ।’ महोत्सवकै अवसरमा सेल रोटी पकाउने प्रतियोगिता पनि राखिएको छ ।
पोखरा: पोखराको लामाचौरमा सम्पन्न तीज महोत्सवमा आयोजित रारा लामाचौर कप खुल्ला पुरुष भलिबलको उपाधि स्याङ्जाको ढुंगेदेउराली क्लबले उपाधि जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै उपाधिसहित नगद ३ लाख जितेको हो । उपविजेताले १ लाख ५० हजार प्राप्त गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाएको भए पनि स्याङ्जा पौवेगौडेको ढुंगेदेउरालीले २२–२५, २५–१८, २५–२७, २६–२४ र १५–१२ सेटले उपाधिमा कब्जा जमाउन सफल भएको हो । चौथो सेट २४–२४ को रोमाञ्चक मोडमा पुगेकोमा सञ्जुविक्रम शाह कप्तानीको ढुंगेदेउरालीले विपक्षीलाई रोकेको थियो । पुरुषततर्फ ढुंगेदेउरालीका सफल बिक सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार पुरस्कार पाए । उनी फाइनलमा म्याच अफ दि म्याच पनि बने । विधागत पुरस्कारमा ढुंगेदेउरालीले नै वर्चश्व जमाएको छ । बेस्ट स्पाइकर सञ्जुविक्रम शाह, बेस्ट डिफेन्डर राजन दर्लामी, बेस्ट सर्भर किसान गुरुङ, इमर्जिङ प्लेयर सुगम सुनार र बेस्ट कोच विक्रम नेपाली भए । जिएम समाजका विवश आले बेस्ट सेटर र हिमाल सुनारी बेस्ट ब्लकर घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । यसैगरी, लामाचौर कप अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको उपाधि शान्ता माविले जितेको छ । फाइनलमा टप्स माविलाई ३–१ सेटमा पराजित गर्दै उपाधिसहित नगद १ लाख जितेको हो । उपविजेताले ५० हजार पुरस्कार प्राप्त गरेको छ । टप्सले पहिलो सेट आफ्नो पक्षमा पारेको थियो । तर शान्ताले एकाएक रणनीतिक खेल खेल्दै २२–२५, २५–६, २५–१३ र २५–१४ सेटमा उपाधि जितेको हो । बेस्ट प्लेयर शान्तकी पृथ्वी गाह बनिन् । शान्तकै अपेक्षा बिक बेस्ट स्पाइकर, अस्तर राई बेस्ट सर्भर, प्रमिला नेपाली बेस्ट ब्लकर, एलिना गुरुङ बेस्ट लिबेरो, टप्सकी एलिजा आले बेस्ट सेटर घोषित भए । बेस्ट कोच शान्तका दिनेश चौधरी र राइजिङ प्लेयर पोखरा युनाइेटेडकी यमुना थापा बने । नवआदर्शले संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत लामाचौर कप आयोजना गरेको हो । सो अवसरमा खेलकुदसहित विविध सांस्कृतिक एवं सांगीतिक कार्यक्रम भएको अध्यक्ष इ।दिनेश भण्डारीले बताए ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बुधबार गणेश चतुर्थीको अवसरमा पन्चमुखि गणेशको पुजा आराधनाको लागि अन्नपूर्ण केवलकारबाट दर्शनको लागि आउन जान पर्यटकहरुलाई साविकको भाडामा ५० प्रतिशत छुट कायम गरिएको हो । यस्तै केवलकार बिहान ७ बजे देखि सञ्चालनमा ल्याउने भएको छ । साविक नेपाली नागरिकको हकमा सात सयको छुटपछि ३५० तथा भारतीय पर्यटकको एक हजारको छुटमा पाँच सय कायम गरिएको कम्पनीले जनाएको छ । साथै प्रत्येक हप्ताको सोमबार सराङकोटमा साँझ ६ बजे हुने सन्ध्या आरतिको लागि नेपाली भक्तजनहरुलाई साँझ ४ बजेपछि सात सयको टिकट दरलाई २५० रुपैयाँमा आउन जानको लागि सुविधा उपलव्ध गराइएको कम्पनीले जनाएको छ । सन्ध्या आरति नसकिएसम्म केवलकार बन्द रहने छैन । त्यसैगरी प्रत्येक हप्ताको मंगलबार पन्चमुखि गणेशको दर्शन गर्न जाने भक्तजनलाई सात सयको टिकट दरमा २० प्रतिशतका दरले छुट उपलव्ध गराउँदै आएको छ । केवलकारको यात्राको अवधि केवल नौ मिनेटमा लेकसाइडको सेदीबगरदेखि सराङकोटसम्म पुग्न सकिनेछ । केवलकारले लेकसाइडको क्षेत्रबाट केवलकारमा आउन जानको लागि सबै पर्यटकहरुलाई निःशुल्क यातायातको सुविधा उपलव्ध गराउँदै आएको विज्ञप्तिमा जनाइएको छ ।
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझ नदीले बगाएर बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने छन् भने भरतपुर–१५ फूलबारीका १३ वर्षीय कुशल ढकालको सकुशल उद्धार गरिएको हो । प्रहरी नायब उपरीक्षक अशोक थापाले बालक लामिछानेसँगै पौडी खेल्न गएका भरतपुर-१५ फूलबारीका १३ वर्षीय ढकालको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सोमबहादुर बोटेले बालक ढकालको उद्धार गरेका थिए । प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता बालकको खोजतलास भइरहेको छ, फेला पार्न सकिएको छैन ।”
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।