गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा दीप युनाइटेड, रामघाट निलो, लामागाउँ गुम्बा ‘टिम बि’ र फायर पिज्जा एफसीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।   क्लबका अध्यक्ष सन्तोष गुरुङका अनुसार आज (बुधबार) भएको पहिलो क्वाटरफाइनल खेलमा दीप युनाइटेडले आयोजक बिटी ‘टिम ए’ लाई २–० गोल अन्तरले पराजित गर्दै दीप अन्तिम चारमा प्रवेश गर्याे ।   दीपको जीतमा सोभित भण्डारी र लोकेन छन्त्यालले समान १/१ गोल गरे । उक्त खेलबाट दीप युनाइटेडका अमित गुरुङ म्यान अफ द म्याच बने ।   यसैगरी दोस्रो खेलमा रामघाट निलोले एमटियुसीलाई १–० गोल अन्तरले हरायो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एमटियुसीका विमल ठकुरीको आत्मघाती गोलका कारण एमटियुसी क्वाटरफाइनलबाटै बाहिरियो ।   सो खेलबाट रामघाटका रोशन नेपाली म्यान अफ द म्याचबाट पुरस्कृत बने ।   तेस्रो खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ले बिटी क्लब ‘टिम बि’माथी २–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।   लामागाउँको जीतमा सरोज गुरुङ र दिवस छन्त्यालले समान समान १/१ गोलको योगदान दिए । उक्त खेलबाट लामागाउँका सरोज तितुङ म्यान अफ द म्याच बने । आज भएको अन्तिम क्वाटरफाइनल खेलमा डेभिजफल्स क्लबमाथी फायर पिज्जाले ५–० को फराकिलो गोल अन्तरले सहजै जीत निकाल्यो ।   फायर पिज्जाको जीतमा म्यान अफ द म्याच बनेका मनिष ठकुरीले ह्याट्रिक पूरा गरे भने, अंकित गुरुङ र मनोज गुरुङले समान १/१ गोल गरे ।   बुधबार बिहान ७ बजे पहिलो सेमिफाइनल खेल दीप युनाइटेड र रामघाट निलोबीच हुने खेल संयोजक निकेश गुरुङले जानकारी दिए ।     उनका अनुसार दोस्रो सेमिफाइनल खेल लामागाउँ गुम्बा ‘टिम बि’ र फायर पिज्जाबीच बिहान ८ बजे प्रतिस्पर्धा हुनेछ ।   कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल खेल दिउँसो २ बजे हुने संयोजक गुरुङले बताए ।   उनका अनुसार प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।   प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा पोखरा कार्यालयले आयोजना गरेको विशेष समारोहमा प्रमुख अतिथि भट्टले यस्तो बताउनुभएको हो । राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकले आ–आफ्नो तहबाट भ्रष्टाचार न्यूनीकरणमा जिम्मेवारी बोधसहित भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि तत्परता र सक्रियता देखाउन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।   ‘सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउन आवश्यक छ ।’ उहाँले भन्नुभयो – ‘शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्दछ ।’   अहिलेको समयमा भ्रष्टाचारको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएकोले अनुसन्धानको विषयमा देखिएका नयाँ चुनौतीहरूलाई सामना गर्न आयोग तथा मातहतका कार्यालयहरू सशक्त भई आफ्नो कार्यपद्धतिलाई रचनात्मक बनाउनुपर्ने पनि उहाँको सुझाव थियो ।   यसका लागि उपलब्ध साधन स्रोतको सीमामा रहेर उच्चतम प्रविधिको प्रयोग गर्दै राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो सीप, ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरेर व्यवस्थापकीय कार्यकुशलता प्रदर्शन गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।   ‘सरकारी कानुनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व हो । आयोगले भ्रष्टाचारका सम्भाव्य जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराई यसको नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्नेछैन भन्नेमा म विश्वस्त छु ।’ उहाँले भन्नुभयो ।   हालको परिवेशमा राज्यका निकायहरूबाट भइरहेको काम कारबाहीलाई नियाल्दा सेवा प्रवाहमा हुनुपर्ने सहजता र विकास निर्माण प्रक्रियामा जनतालाई गराउनुपर्ने सहभागिताको कमी देखिएको बताउँदै उहाँले भ्रष्टाचारको प्रवृत्ति हेर्ने हो भने पूर्वाधार, शिक्षा, स्वास्थ्य, भूमि प्रशासन, कृषि लगायतको क्षेत्रमा जनताको बढी गुनासो देखिएको बताउनुभयो ।     ‘भ्रष्टाचार विरुद्धको लडाई सबैको साझा लडाई हो । आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण छ ।’ उहाँले भन्नुभयो– ‘मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेको भन्ने मेरो बुझाई छ ।’   आयोगले नेपालको संविधान एवं प्रचलित कानुनको अधिनमा रहेर भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्र्धनमा गरेको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उहाँले स्वच्छ, पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमुक्त राज्य संयन्त्रको निकायका रुपमा आगामी दिनमा आयोगले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।  

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलका खेल सकिएका छन् ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज प्रिक्वाटरफाइनलका सम्पूर्ण खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए ।   उनका अनुसार आज भएको पहिलो खेलमा दीप युनाइटेडले रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै दीप क्वाटरफाइनलमा प्रवेश गर्याे ।   दीप युनाइटेडको जीतमा लोकेन छन्त्यालले निर्णायक गोल गरे ।   यसैगरी दोस्रो खेलमा डेभिज फल्सले लभ्ली ब्वाइजलाई २–० गोल अन्तरले हरायो । डेभिज फल्सको जीतमा सँगम गुरुङ र विरेन्द्र मल्ल ठकुरीले समान १/१ गोल गरे ।   तेस्रो खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ले एट टु नाइनमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।     लामागाउँको जीतमा समन श्रेष्ठले निर्णायक गोल गरे ।     चौंथो खेलमा फायर पिज्जाले एनएसवाइसीलाई ३–० गोल अन्तरले पराजित गर्याे । फायर पिज्जाको जीतमा अंकित गुरुङले २ गोल गरे भने नवराज गुरुङले १ गोलको योगदान दिए ।   यसैगरी पाँचौ खेलमा बिटी क्लब ‘टिम बि’ले रामघाट हरियोलाई २–० गोल अन्तरले पराजित गर्याे । बिटीको जीतमा नारायण कार्कीले २ गोल गरे ।    आयोजक बिटी ‘टिम ए’ र ठमेल एकताबीच भएको छैटौं खेल गोलरहित भएपछि पेनाल्टीमा आयोजक ३–२ गोल अन्तरले विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।   यसैगरी स्याङ्जा युथ क्लब र एमटियुसीबीच भएको सातौ खेल पनि गोलरहित भएपछि पेनाल्टीमा ४–३ गोल अन्तरले एमटियुसी विजयी बन्यो ।   आज भएको अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’माथी रामघाट ह्वाइटले ४–० को फराकिलो गोल अन्तरले सहज जीत निकाल्यो ।    रामघाटको जीतमा विश्वास श्रेष्ठले २ गोल गरे । यस्तै आयाम क्षेत्री र सविन नेपालीले समान १/१ गोलको योगदान दिए ।    अब बुधबार वाटरफाइनलका ४ खेल हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।   उनका अनुसार प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।  

नवलपरासी:   जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ।   रास्वपाले आज जिल्लामा 'जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम' आयोजना गर्ने सूचना प्राप्त भएको भन्दै प्रशासनले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।   सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीद्वारा हस्ताक्षरित पत्रमा प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा २०८२ माघ १४ गतेदेखि नै निर्वाचन आचारसंहिता लागु भइसकेको स्मरण गराइएको छ।   प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, 'मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको 'जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम' रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।'   निर्वाचनको मुखमा राजनीतिक दलका कार्यक्रमहरूले आचारसंहिता उल्लङ्घन गर्न सक्ने तर्फ सचेत रहँदै प्रशासनले निगरानी बढाएको छ।  

बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ ।   जिल्ला अदालत मोरङको यसअघिको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उच्च अदालतले उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप कैदको फैसला सुनाएको हो ।   उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले आइतबार राति यो फैसला सुनाएको हो ।   यसअघि जिल्ला अदालत मोरङले गोरेलाईकर्तव्य ज्यान मुद्दामा जन्मकैद (२० वर्ष) को सजाय सुनाएको भए पनि अपहरण तथा शरीर बन्धक मुद्दामा भने सजाय तोकेको थिएन ।   उच्च अदालतको नयाँ फैसलासँगै गोरेले अब अतिरिक्त थप १० वर्ष जेल सजाय भोग्नुपर्ने भएको छ । माघ २० गतेदेखि सुरु भएको निरन्तर सुनुवाइपछि अदालतले यस्तो ठहर गरेको हो ।   अदालतले जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका अन्य केही प्रतिवादीका हकमा भने सजाय घटाउने निर्णय गरेको छ ।   जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएका नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा उच्च अदालतले १०–१० वर्ष मात्र कैद सजाय हुने फैसला गरेको छ ।   त्यसैगरी कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न देखिएका मदन सिलवालका हकमा जिल्लाको फैसला उल्टिएको छ । जिल्लाले सिलवाललाई सफाइ दिएको थियो तर उच्च अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ ।   लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतको साबिककै फैसलालाई उच्चले सदर गरेको छ ।   यसैबिच बहुचर्चित करिब ३८ क्विन्टल सुन तस्करीसँग जोडिएको सङ्गठित अपराध र भन्सार चोरीनिकासीको मुद्दामा भने अदालतले सरकारी दाबी नपुग्ने ठहर गरेको छ ।    

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।   मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ ।   सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।   आयोगका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथरको मतपत्र छपाइ सम्पन्न भएको छ ।   यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम(नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङको पनि मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।   लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र छपाइ सम्पन्न भएका विभिन्न जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि भइसकेको उनले बताए । हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।   प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो ।   पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।   गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।   प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो ।

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्फत व्यवसायीहरुले जिवनभर आफुलाई उपयुक्त हुने ज्ञान हासिल गर्न सक्ने र व्यवसायीक जिवनमा सफलता हासिल गर्न सकिने बताए ।   उनले व्यवसायीक जिवनमा कसैले खोट लगाउन नसक्ने स्वभिमानी जिवन बाँच्नको लागि विभिन्न किसिमका करहरुसम्बन्धी जानकारी हुनुपर्ने र कर तिर्नु हरेक नागरिकको कर्तव्य समेत भएकाले नियतवश कर छल्ने कार्य गर्दा भोलीका दिनमा कसैले पनि सहयोग गर्न नसक्ने अवस्था आउनेतर्फ सजग गराए ।   कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले संघमा आवद्ध व्यवसायीहरुलाई व्यवसायीक जिवनमा अझै सफल बनाउने उद्धेश्यले र कर गणना, कर विवरण भर्ने, कर चुक्ता लिने, आय विवरण बुझाउने, करसम्बद्ध झन्झटहरु मिसम्याचमा पर्ने, ननफाइलर रहने जस्ता विषयमा व्यवसायीले भोगेका समस्याहरु निराकरणका लागि तालिमको आयोजना गरिएको बताइन् ।   उनले राष्ट्रको समृद्धि, विकास र सुशासन कर प्रणालीको पारदर्शिता तथा जनताको करप्रतिको सकारात्मक भावना विकास गर्न तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।   उक्त अवसरमा तालिम व्यवस्थापन उप–समितिका संयोजक सुजन न्यौपानेले व्यवसायीले भोगेका समस्याहरु निराकरणका तालिमको आयोजना गरिएको बताउँदै कर डराउनुपर्ने विषय नभई जान्नुपर्ने विषय भएकाले उद्यमी/व्यवसायीहरुलाई सचेत बनाउन र पालना गर्नुपर्ने न्यूनतम नियमहरु पालना गराउनका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।   यस्तै संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले व्यवसायीहरुमा करलाई प्राथमिकता र महत्व नदिइएका कारण विभिन्न समस्या भोगिरहनुपरेको र राज्यको ऐन कानुन एवं कर नितिको बारेमा ज्ञान भएन भनेर उन्मुक्ति नपाईने भएकाले यस विषयमा सचेत गराउन तालिम प्रभावकारी हुने बताए ।   उनले प्रत्येक आर्थिक वर्षको शुरुवातसँगै परिवर्तन भईरहने कर नितिको विषयमा पनि व्यवसायिहरुले आफुलाई अद्यावधिक राख्नुपर्ने बताए ।   ७० भन्दा वढि उद्योगि/व्यवसायीहरुको सहभागिता रहेको तालिममा विवेक एण्ड एशोसिएट्सका सञ्चालक सिए विवेक श्रेष्ठले प्रशिक्षण दिएका थिए ।   संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए ।  

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज दोस्रो चरणका सम्पूर्ण खेल सकिएको खेल संयोजक निकेश गुरुङले बताए । उनका अनुसार आज भएको पहिलो खेलमा डेभिजफल्सले रामघाट रेडलाई १–० गोल अन्तरले पराजित गर्दै डेझिजफल्स प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।   डेभिजफल्सको जीतमा रविन्द्र केसीले निर्णायक गोल गरे ।   यसैगरी दोस्रो खेलमा लभ्ली ब्वाइज हेमजाले मुस्ताङ युनाइटेडलाई २–० गोल अन्तरले हरायो । लभ्ली ब्वाइजको जीतमा सविन थापा र रोहित नेपालीले समान १/१ गोल गरे ।   तेस्रो खेलमा लामागाउँ गुम्बाले कमलपोखरी एफसीमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।   लामागाउँको जीतमा सरोज तामाङले निर्णायक गोल गरे ।   चौंथो खेलमा स्याङ्जा युथ क्लबले सुजन डल्ला एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्याे । स्याङ्जाको जीतमा राजेश राजपाल र समिर पुरीले समान १/१ गोल गरे । भने, डल्ला एफसीको तर्फबाट प्रसन्न श्रेष्ठले सान्त्वना १ गोल फर्काए ।   एनएसवाइसी पुरुन्चौर र एन्जो ग्रुपबीच भएको पाँचौ खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा पुरुन्चौरले २–१ गोल अनतरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान बनायो ।   'सिक्स भर्सेस सेभेन'   यस्तै आज भएको अन्तिम खेल निकै रोचक बन्यो । मिक्की एफसी र रामघाट ह्वाइटबीच भएको खेलमा १४ औं मिनेटमा रामघाटका सुदेश गुरुङले पहिलो गोल गरे ।   त्यसपछि खेलको दोस्रो हाफको २१ औं मिनेटमा मिक्की एफसीका अमिर गुरुङले १ गोल फर्काउदै खेल बराबरीमा ल्याए । त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रामघाटका डिफेण्डर निशान श्रेष्ठ रातो कार्डको शिकार बने ।    रामघाट ६ जना खेलाडीमा सिमित बन्यो । तर, त्यसको फाइदा भने मिक्की एफसीले उठान सकेन ।     रामघाटमाथि हाबी भएपनि खेलको २९ औं मिनेटमा रामघाटका लागि सुदेश गुरुङले अर्काे गोल गर्दै दोब्बर बनाए ।   अन्त्यमा त्यही गोल निर्णायक बन्याे । र, रामघाट ह्वाइट प्रिक्वाटरफाइनलमा प्रवेश गरेकाे क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।   उनका अनुसार अब मंगलबार प्रिक्वाटरफाइनलका ८ खेल हुनेछ ।   प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।  

पोखरा:   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’ अभियानलाई तीव्र बनाएका छन्।   सोही क्रममा आइतबार कास्की जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिका–२१ मा उम्मेदवार पौडेलले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन समेत गरेका हुन् ।   संवाद यात्राअन्तर्गत पोखरा २१का बिभिन्न ठाउँहरु  पोखरेल थोक, शिवालय, निर्मल पोखरी, मैदान, ठुलिस्वारा, चिलाउने खर्क तथा थाप्ले–तिलाहारसम्म पुगेर स्थानीय बासिन्दासँग छलफल तथा अन्तरक्रिया गरिएको क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ ।   कार्यक्रममा स्थानीयले भोग्दै आएका समस्या, विकासका आवश्यकता, सेवा प्रवाहका कमजोरी तथा भावी योजनाका विषयमा खुलेर आफ्ना सुझाव र अपेक्षा राखेका थिए।   उम्मेदवार पौडेलले स्थानीयका आवाजलाई संसदमा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै नीति निर्माणमा नागरिकको सहभागिता अनिवार्य हुने बताए।   संवाद यात्रामा निर्वाचन कमाण्डर दिपेन्द्र पोख्रेल (बहादास), गण्डकी प्रदेश सह–महामन्त्री अनिस अधिकारी, पोखरा–२१ का सभापति पवित्रमणि अधिकारीलगायत केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्र तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।   संवाद यात्राले कास्की–२ मा चुनावी माहोललाई थप उत्साहपूर्ण र आशावादी बनाएको देखिएको छ।   रास्वपाले आगामी दिनहरूमा पनि कास्की–२ का विभिन्न स्थानमा यस्ता संवादमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।