म्याग्दी: यहाँ उत्पादन हुने कोदोको परिकारको विविधीकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिँडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न थाल्नुभएको छ । “पहिलेपहिले कोदोखेती गर्ने र यसका परिकार उपभोग गर्नेलाई गरिब भनेर हेप्ने चलन थियो”, उहाँले भन्नुभयो, “स्वस्थकर र पोषिलो कोदोको महत्व बुझेपछि माग आउन थालेपछि मैले पनि बिस्कुट बनाएर बेच्न थालेको छु ।” यसअघि धवलागिरि गाउँपालिका–७ ताकममा धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले कोदाको पीठो प्रशोधन गरी बिस्कुट उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्के हिल रिसोर्टले पनि पाहुनालाई चखाउन र बजारमा बिक्री गर्न कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेको छ । उद्यमी खड्काले गाउँबाट काम विशेषले बजारमा बसाइँसराइ गरेका, विदेशमा रहेका र भ्रमणमा आउने पाहुनाले कोदोको पीठो र बिस्कुट किनेर लैजाने गरेको बताउनुभयो । कोदोको बिस्कुटको माग ग्रामीण क्षेत्रको तुलनामा बजारबाट बढी आउने गरेको व्यवसायी खड्काले बताउनुभयो । भुटेको कोदोको पीठोमा चिनी, मह, उखुको खुदो मिसाएर बिस्कुट बनाउने गरिएको छ । प्रतिदर्जन (१२ वटा) कोदोको बिस्कुट रु. ६० का दरले बिक्री हुने गरेको छ । पर्यटकीय जिल्ला मुस्ताङ र अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र पोखरबेगरमा स्थानीय उत्पादनको कोसेलीघर सञ्चालन र कोदोको बिस्कुटका साथै पाउरोटी बनाउने तयारी गरेको उद्यमी खड्काले बताउनुभयो । कोसेलीघर स्थापना र कोदोको बिस्कुट बनाउन आवश्यक पर्ने ‘ओभन’ गर्न कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा रु। दुई लाख अनुदान सहयोग गरेको थियो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले परम्परागत बाली संरक्षण र प्रवर्द्धन कार्यक्रममार्फत कोदोलगायत खाद्य, दलहन बालीको खेती विस्तार, प्रशोधन, प्याकेजिङ र बजारीकरणमा सहयोग गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि म्याग्दीमा प्रदेश सरकारबाट रु। १५ लाख बजेट विनियोजन भएको छ । कार्यक्रममार्फत उद्यमी तथा किसानले परियोजनाको कुल लागतको ५० प्रतिशत अनुदान पाउनेछन् । केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ । समुद्री सतहदेखि तीन हजार १०० मिटर उचाइको भूगोलसम्म कोदोखेती गर्न सकिन्छ । क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइने कोदोलाई बालबालिकादेखि ज्येष्ठ नागरिकका लागि उत्तम खानाका रूपमा लिइन्छ । गर्भवतीहरूका लागि पनि कोदो पोषिलो खाना हो । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने र झाडापखलाका रोगीका लागि कोदो अति राम्रो मानिने केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो । कोदोको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउँछ । नेपालमा नसर्ने रोगबाट ग्रसित हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा कोदोको परिकार उपभोगका लागि माग बढेको ताकमका उद्यमी अनिल भण्डारीले बताउनुभयो । खेती घटेर संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको कोदोको परिकारलाई विविधीकरण र बजारीकरण गर्दा किसानलाई फाइदा पुग्ने र आयात घटाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा छ हजार नौ सय रुपियाँले गिरावट आएको छ । आज एक तोला सुनको मोल दुई लाख ४२ हजार आठ सय रुपियाँ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन दुई लाख ४९ हजार सात सयमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि रु. १५० ले घटेको छ । आज चाँदी प्रतितोला रु। तीन हजार १३५ मा कारोबार भइरहेको छ । गत शुक्रबार त्यति नै परिमाणको चाँदी रु। तीन हजार २८५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ढोरपाटन: घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो । कँडेलले २०७५ सालमा रहरले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर पाल्नुभयो । सुरुमा उहाँलाई व्यावासयिक रूपमा पालन गर्छु भन्ने लागेको थिएन । तर पछि धेरै पाल्ने चाहना जागेपछि अहिले उहाँको कालिजपालन व्यवसाय फस्टाउँदै गएको हो । रु २४ हजारमा चारवटा कालिज ल्याएर थालेको व्यवसायमा कँडेलले हालसम्म रु ५० लाख बढी लगानी गरिसक्नुभएको छ । दश रोपनी क्षेत्रफलमा कँडेलले तारबार लगाएर कालिज हुर्काइराख्नुभएको छ । कालिज व्यवसाय राम्रो हुँदै गएपछि उहाँले चल्लासमेत आफैँ उत्पादन गर्न थाल्नुभएको छ । वनमा पाइने कालिज कँडेलले व्यावसायिक रूपमै पाल्न थालेपछि स्थानीयसमेत दङ्ग छन् । बाह्र वर्ष अगाडि स्थायी रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएका कँडेल स्वास्थ्यकर्मी हुनुहुन्छ । बिहानबेलुका कालिजको रेखदेख गर्ने उहाँ दिउँसोको समयमा बुर्तिबाङ प्रादेशिक अस्पतालमा काम गर्नुहुन्छ । सानैदेखि चराचुरुङ्गी समाउन र पाल्न रुचि राख्ने कँडेलले कालिजपालनमा थालेपछि टाढाटाढाबाट हर्ने आउनेको सङ्ख्या ठूलो छ । सात वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर सुरु गरेको व्यवसाय राम्रो हुँदै गएपछि कँडेल उत्साहित हुनुभएको छ । अहिले उहाँको फार्ममा सानाठूला गरी करिब दुई हजार कालिज छन् । एक हजार ५०० बढी त बिक्रीका लागि तयार भएको कँडेलले बताउनुभयो । दसैँतिहारको अवधिमा करिब दुई सय बढी कालिज बिक्री भएको सुनाउँदै पछिल्लो समय कालिज खोज्दै फार्मसम्म धेरै ग्राहक आउने गरेको उहाँले जानकारी दिनुभयो । सुरुमा कालिज बिक्री गर्न निकै समस्या भएको भन्दै अहिले राम्रो बजार पाएको कँडेल बताउनुहुन्छ । प्रतिकालिज रु दुई हजारदेखि रु दुई हजार ५०० सम्ममा बिक्री गर्दै आएको उहाँको भनाइ छ । “यो पेसा मेरो रहरको पेसा हो, मैले सुरुमा थोरै लिएर पालेको थिएँ, पछि यसलाई व्यावसायिक रूपमा गर्न सकिने सम्भावना देखेपछि फार्म निर्माण गरेर पाल्न थालेको हुँ, सात वर्षमा कालिजपालन कसरी गर्न सकिँदोरहेछ भन्ने बुझियो, कालिजका भाषा पनि बुझ्न थालियो”, उहाँले भन्नुभयो, “पहिले धेरै समस्या थियो, अहिले विस्तारै राम्रो हुँदै गएको छ, लगानी पनि बढाउँदै गएको छु ।” केही दिनअगाडि चितुवा फार्ममा पसेर एक सय ५० कालिज मारिदिँदा रु तीन लाख नोक्सानी व्यहोरेको उहाँले सुनाउनुभयो । रुचिले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी हुनुहुन्छ । कँडेलको कालिजपालनलाई बुबा तुलसीराम कँडेलले साथ दिनुभएको छ । यस वर्ष रु १५ लाखको कालिज बिक्री गर्ने लक्ष्य रहेको चुडामणिले बताउनुभयो । पछिल्लो समय फार्म व्यवस्थित बन्दै गएपछि मागसमेत बढ्दै गएको कँडेलको भनाइ छ । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत आफैँ चल्ला उत्पादन गर्ने उहाँ बताउनुहुन्छ । उत्पादन बढ्दै गए पनि बजार पाउन भने मुस्किल पर्ने उहाँले सुनाउनुभयो ।
म्याग्दी: मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लगिन् । ‘मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कँदा टिमुर किनेको हो’, तामाङले भनिन्, ‘पदयात्राको क्रममा लेक लागेमा औषधिको साथै खानासँगै चटनीका रूपमा प्रयोग गर्न स्वादिलो हुनेरहेछ ।’ रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । म्याग्दी भ्रमणमा आउनेले किनेर लैजानेदेखि देशका विभिन्न सहर तथा विदेशमा रहेका आफन्तहरूलाई कोसेली पठाउने प्रमुख वस्तु टिमुर बनेको बेनीकी उद्यमी मिना राम्जालीले बताइन् । ‘घुम्न आएकाले सबैभन्दा धेरै किनेर लैजाने वस्तु टिमुरको धुलो र चटनी हो’, उनले भनिन्, ‘बहुउपयोगी टिमुर म्याग्दीको कोसेली बनेको छ ।’ ग्रामीण क्षेत्रका किसानहरूले उत्पादन गरेको टिमुर बेनीका कोसेली घरहरूलाई ल्याएर बिक्री गर्छन् । उद्यमीहरूले टिमुरलाई प्रशोधन गरेर धुलो र चटनी बनाएर बट्टामा राखेर बिक्री गर्छन् । बट्टाको आकारअनुसार टिमुरको धुलो र चटनीको मूल्य हुन्छ । कोसेलीको साथै मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुने गरेको टिमुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले बताए । बेनी–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब १५० परिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन् । यस वर्ष करिब ५० मुरी टिमुर उत्पादन भएको अनुमान गरिएको टिमुरखेती समेत गरेका बानियाँले बताए । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । बेनी–९ जिल्लामा बढी टिमुरखेती हुने स्थान हो । म्याग्दीमा हाल वार्षिक करिब ६ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने गरेको वन डिभिजनको तथ्याङ्क छ । टिमुरखेतीसम्बन्धी अनुसन्धान गर्दै आएका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणि सापकोटाका अनुसार टिम्मुर औषधीय गुण भएको मसलेदार फल हो । उच्च रक्तचामलाई नियन्त्रण, कलेजो र दाँतको सुरक्षा, ‘फुड पोइजनिङ’ हटाउने टिमुर कलेजोसम्बन्धी समस्या भएका बिरामीहरूले पनि आयुर्वेदिक औषधिको रूपमा प्रयोग गर्ने उनको भनाइ छ । पहिलाका वर्षमा साउन, भदौमा टिमुर टिप्ने किसानले पछिल्ला केही वर्षदेखि गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन् । अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपालि टिमुरको उत्पादन बढेको ढावाकी जमुना राईले बताइन् । खेतबारीमा निजी प्रयोजनका लागि रोपेको टिमुरको दाना बेचेर आम्दानी हुन थालेपछि यहाँका कतिपय किसानले व्यावसायिक उत्पादन पनि थालेका छन् । पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसान नरबहादुर राइले बताए । जिल्लामा टिमुरखेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले बिरुवा वितरण गर्दै आएका छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवर्द्धन गर्दै आइएको जनाएको छ ।
बर्दिया: मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुतही जस्ता माछा प्रजातिका जलचर पाइन छाडेका छन् । बढैयाताल गाँउपालिका–५ जगतियाका ६० वर्षीय बलीराम थारु भन्नुहुन्छ, “पहिले धेरै मात्रमा घोंगी, गङ्गटा, सुतही पाइन्थे । अहिले पाइनै छाडे ।” आधुनिक खेती प्रणालीले गर्दा खेतमा रसायनिक मल र विषादीको प्रयोग बढ्न थालेपछि खेत, नदी, खोलामै यी प्रजाति मासिन थालेको उहाँको अनुमान छ । सिमसार र तालतलैयाहरुमा पानी कम हुनु, सुख्खा क्षेत्र बढ्नुले पनि यी माछाका प्रजातिहरु कम हुँदै गएको हुनसक्ने उहाँ बताउनुहुन्छ । पहिले स्थानीयले जाल तथा हेल्का वा हातले माछाको सिकार गर्थे । हिजोआज नदी, खोलानालाहरुमा विष हाल्ने, करेन्ट लगाउने चलन बढेपछि माछाका प्रजाति फस्टाउन नसकेको स्थानीय बताउँछन् । नेपालकै ठुलो ताल भनिने बढैयाताल १०७ विगाहमा फैलिएको छ । यो तालमा समेत दोहन हुन थालेपछि घोंगी, गङ्गटा, सुतही पाइन छाडेका छन् । बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीकाअनुसार पहिलेको तुलनामा अहिले थोरै मात्रामा यी प्रजाति पाइन्छन् । “तालमा पानी सुक्दै गएको छ, यहाँ आउने धेरै चराहरुले आहारा नपाउँदा चराहरुको बासस्थान समेत पाइन छोडेको छ । तालमा चराका चिरविर आवाज पनि सुनिन छाडेको छ ।” अर्कोतर्फ यसको संरक्षण भन्दा पनि बढी यस्ता प्रजाति मारेर बिक्री गर्ने चलन बढेपछि उनीहरुको बासस्थाननै मासिन थालेका हुन् । घोंगी, गङ्गटा, सुतहीको परिकार स्थानीय घरबास (होमस्टे) हरुमा पाहुनाका लागि आकर्षण भएपछि सिकारीहरु व्यावसायिक रुपमै यसको सिकार गर्न थालेका छन् । यस क्षेत्रमा दुई थरिका घोंगी पाइन्छन् । गङ्गटा पाँच थरीका र सुतही दुई थरीका पाइन्छन् । बालविशेषज्ञ डा विश्वनाथ यादवकाअनुसार घोंगी, गङ्गटा सुतहीमा प्रोटिन, क्याल्सियम पाइन्छ । जसले ग्यास्ट्राइटिसका लागिसमेत औषधिको काम गर्छ । हड्डी बलियो बनाउँछ । यिनै विशेषता बारे थाहा भएकाले पनि हुनसक्छ यसको उपभोग वृद्धि भइ यस्ता जलचर मासिन थालेको डा यादव बताउनुहुन्छ । माछा प्रजातिका यी जलचरहरु लोप हुने क्रममा पुगेको एकिकृत कृषि विकास तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले जस्तो खेती प्रणाली छैन । धानमा रसायनिक मलको प्रयोग गर्नु, विषादी प्रयोग गर्नु, नदी नालाहरुमा डोजर लगाएर ढुङ्गा गिट्टी उत्खन्न गर्दा यी प्रजातिको बासस्थानमा समेत खलल पुगेको छ ।” उहाँले विगतमाझैँ पानी पर्न छाडेपछि सिमसार क्षेत्र मासिँदा जलचरहरु मासिन थालेको बताउनुभयो । पहिलेका तुलनामा हिजाआज १० प्रतिशत मात्र घोंगी पाइने उहाँको भनाइ छ । सरोकारवालाहरु भने माछा प्रजातिका यी जलचरहरुको संरक्षण गर्नुपर्ने बताउँछन् ।
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं: गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पाँचले घटेको छ । गत शुक्रबार तोलाको रु। दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज रु। दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु। तीन हजार ५५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ढोरपाटन: यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला । करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेटा हुँदै निकै खुसी छन् । लेकबाट गोठ झारेपछि भल्कोट क्षेत्रमा गोठाला र बस्तुभाउको चलहपलह बढेको छ । गाई, भैँसी, भेडा र बाख्राले भल्कोटका बारी तथा खर्कहरू ढाकिएका छन् । हरेक वर्ष जेठरअसारमा लेक चढ्ने र असोजमा बँेसी झर्ने स्थानीयको परम्पराअनुसार यस वर्ष पनि गोठाला बेँसी झरेपछि भल्कोटमा चहलपहल बढेको हो । एकै परिवारले सयौँको सङ्ख्यामा बस्तुभाउ पाल्ने हुँदा गोठाला गुमती बसाइँ बस्छन् । बर्खाभरी लेक क्षेत्र बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्ने, रिग, तिलाचन, खानीखोला क्षेत्रमा बसेका गोठलाहरू अहिले बेँसी क्षेत्र भर्कोबाङ, भल्कोट, मोराखोला, भिबाङलगायतका क्षेत्रमा छन् । अब यी क्षेत्रमा गहुँ, जौँ छरेपछि खर्चन र गुम भन्ने ठाउँमा जाने स्थानीय मनबहादुर बोहराले बताउनुभयो । गोठालाहरू सुरुमा लेकबाट भर्कोबाङमा झर्ने र त्यहाँ गहुँ, जौँ छरेपछि विस्तारै अन्य ठाउँमा जाने उहाँको भनाइ छ । अबको करिब १५ दिन भल्कोट क्षेत्रमा बस्ने र त्यसपछि गुम, खर्चनलगायतका ठाउँमा गोठ सार्ने बोहराले बताउनुभयो । “यो त हाम्रो परम्पराजस्तै हो, यति धेरै सम्पत्ति एकै ठाउँमा पाल्न सकिँदैन, बर्खामा लेक, हिउँदमा बेँसी गरेर पाल्नुपर्छ, हाम्रो पाकापुर्खाहरूले त्यही गरे, हामीहरूले पनि त्यही नै गर्दै आएका छौँ, तर पछिल्लो समय पहिलेको जस्तो अवस्था छैन”, बोहराले भन्नुभयो, “अहिले त धेरैले बस्तुभाउ पाल्न कम गरेका छन्, पहिले–पहिले त एउटै घरमा पाँच÷सात सय डिङ ९बस्तुभाउ० हुन्थे, अहिले त धेरै कम भएका छन् ।” स्थानीय ढालेन्द्र घर्ती मगरले आफूहरू असोज तेस्रो साता मात्रै बेँसी झरेको सुनाउनुभयो । भल्कोटका बारीमा गहुँ छरेपछि बस्तुभाउलाई अन्तै लैजाने उहाँको भनाइ छ । लेकमा बस्दा धेरै गोठालाहरूले एकै ठाउँमा भेडाबाख्रा र गाईभैँसी राख्ने गरेको भन्दै बँेसी झरेपछि छुट्टै बाँध्ने उहाँले बताउनुभयो । बेँसीमा आ–आफ्नो बारीमा बाँध्ने हुँदा बारीभरि बस्तुभाउ देखिने घर्ती मगरको भनाइ छ । पहिले आफ्ना झण्डै १०० गाई गोरु रहेको भन्दै अहिले धेरै कम भएको उहाँले सुनाउनुभयो । घर्ती मगरले भन्नुुभयो, “बस्तुभाउ पाल्ने धेरै गाह्रो छ, एकै ठाउँमा राखेर पाल्न सकिँदैन, वर्षभरि चरनका लागि ठाउँठाउँमा पुग्नुपर्छ, गोठ सार्ने, पशुचौपाया सार्ने, घाँस काट्नै प¥यो, पहिले हाम्रा अग्रजहरूलाई झन कति गाह्रो थियो होला रु, त्यस बेला त अहिलेको भन्दा धेरै पाल्थे, यहीबाट खान लाउन पुगे त हुन्थ्यो पुग्दैन, अरु दुःख पनि गर्नुपर्छ ।” यस क्षेत्रका किसानले सयौँ पशुचौपाया पाल्दै आए पनि व्यावसायिक बन्न सकेका छैनन् । स्थानीय कुम्भीरा मगरले आफ्ना ५१ वटा गाई रहेको सुनाउँदै यसबाट जीविकोपार्जन हुन नसकेको बताउनुभयो । घरमा पहिलेदेखि नै गाई पाल्दै आएको हुँदा आफूहरूले निरन्तरता दिँदै आएको बताउनुभयो । गाई धेरै पाल्दा बारीमा मल हुने उहाँको भनाइ छ । वर्षमा रु २० हजारको दूध, घ्यूसमेत बिक्री गर्न नसकेको मगरले सुनाउनुभयो ।
काठमाडौँ: यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० ले घटेर २ लाख ४१ हजार ९ सय रुपियाँ कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर २ लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो । हिजो मङ्गलबार प्रतितोला २ हजार ९ सय रुपियाँले घटेपछि २ लाख ३७ हजारमा कारोबार भएको सुन बुधबार पुन: तोलामा ७ सय घटेर २ लाख ३६ हजार ३ सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला २ हजार ९२० मा किनबेच भएको चाँदी आज बढेर २ हजार ९६५ पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन ३ हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

