पोखरा: देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ । काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो सोरुम हो । उक्त अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी अनुदानका विकल्पका बारे पनि सहजीकरण गरेको छ । बिक्री पछिको सेल्स सपोर्टलाई अझ विश्वासिलो बनाउन नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखरा भित्र तेस्रो सर्भिस सेन्टरको स्थापना गरेको हो । उद्घाटनका अवसरमा ग्राहकलाई प्रोटोन ईमास ७ को प्रमुख विशेषता, यसको स्मार्ट प्रविधि र दिगो यातायातप्रतिको प्रतिबद्धता बारेमा जानकारी गराइएको थियो । जगदम्बा मोटर्सले पोखरामा सोरुम उद्घाटनको पहिलो सातासम्म ग्राहकका लागि प्रोटोन ईमास ७ खरिद्मा शून्य प्रतिशत ब्याजदरको घोषणा गरेको छ । सोरुमको उद्घाटन पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइरालाले गरे । उनले पोखरा अटोमोबाइल्सको दोस्रो हव भएको बताउँदै प्रोटोनलाई पोखरामा स्वागत गरे । पोखरामा पहिलो वाडा अटो सो सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिँदै उनले दोस्रो संस्करणको तयारीमा जुटेको सुनाए । जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले सन् २०२५ सम्म राष्ट्रव्यापी विद्युतीय सवारी साधन सञ्जाल स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाअन्तर्गत पोखरामा स्थापित सोरुम महत्त्वपूर्ण हिस्सा बन्ने बताए । ‘पोखरामा हामीले डिलर नै चलाउन खोजेको हो तर अहिलेको बजारको स्थितिलाई हेर्दा सहज नभएकोले आफै संरचना बनायौं,’ उनले भने, ‘भविष्यमा यहीका स्थानीयले गर्छौं भनेर आउनुभयो भने सहकार्य गर्न तयार छौं ।’ जगदम्बा मोटर्सका सहायक महाप्रबन्धक आकाशविक्रम थापाले पोखराको बजारलाई महत्त्व दिएर सोरुम स्थापना गरेको बताए । ‘यहाँको पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने, ‘काठमाडौंमा मन जित्न सफल भएका छौं, पोखरामा पनि सफल हुनेछौं ।’ सोमबार नै कम्पनीले पोखरा इभेन्ट सेन्टरमा प्रोटोनको एसयूभी ईभी ईमास ७ सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सले नेपाली बजारमा गत चैतदेखि ईमास ७ को आधिकारिक रुपमा लन्च गरेको थियो । जगदम्बा मोटर्स, प्रोटोन नेपालका कार्यकारी निर्देशक अखिल गुप्ताले ईमास ७ सार्वजनिक गरे । ‘प्राकृतिक सौन्दर्य र आधुनिक सोचले भरिपूर्ण सहर पोखरामा प्रोटोन ल्याउन पाउँदा हामी गर्व गर्छौं,’ उनले भने, ‘यस विस्तारसँगै हामी पश्चिम क्षेत्रभरका व्यक्ति र परिवारका लागि सफा, स्मार्ट र सजिलो यातायात अझ पहुँचयोग्य बनाउनेछौं । यो त केवल सुरुआत हो ।’ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध प्रोटोन ईमास ७ को मूल्य क्रमशः ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी विभिन्न ६ कलर अप्सनमा यो ईभी उपलब्ध छ । जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सर्भिस सेन्टर नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन पूर्वाधार विकासमा पनि लगानी गर्ने बताएको छ । प्रोटोन ईमास ७ प्रोटोनको पहिलो विद्युतीय सवारी साधन अर्थात ईभी हो । यो ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए) प्लेटफर्ममा निर्माण गरिएको छ । यसमा १२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम रहेको छ भने नवीनतम सेल–टु–बडी (सीटीबी) ब्याट्री संरचना छ । त्यसैगरी यसमा नयाँ पुस्ताको एजिस सर्ट–ब्लेड ब्याट्री (लिथियम आइरन फस्फेट) रहेको छ । सुरक्षा र प्रदर्शनका लागि यसमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम छ भने ३६० डिग्री भ्यु क्यामेरा, फाइभ स्टार एसियन एनक्याप सेफ्टी रेटिङ, १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ भने यसलाई शून्य देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न पुग्न ६.९ सेकेन्ड मात्र लाग्छ । त्यसैगरी १०० किलोमिटर प्रतिघण्टाबाट रोक्न ३५ मिटर ब्रेकिङ दूरी मात्र चाहिन्छ । प्राइम भेरिएन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी प्रिमियम भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन २० मिनेट मात्र लाग्छ । १० मिनेट चार्ज गर्दा यसलाई १३५ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको इन्टेरियरमा भेन्टिलेटेड सिटहरू छन् भने प्रशस्त लेगरुम रहेको छ । ३३ स्टोरेज कम्पार्टमेन्टहरू रहेको प्रोटोन ईमास ७ ईभीमा वानोस प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम छ भने २५६ रङको एम्बियन्ट लाइटिङ छ, जुन यो सेगमेन्टकै सर्वश्रेष्ठ भएको कम्पनीको भनाइ छ । यसमा २.५ के रिजोल्युन सहितको १५.४ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ । प्रोटोन ईमास ७ मलेसियाली कम्पनीद्वारा उत्पादित ईभी हो । यो मलेसियाको अग्रणी राष्ट्रिय विद्युतीय सवारी र नयाँ ऊर्जा ब्रान्ड हो, जसलाई प्रो–नेटद्वारा वितरण गरिन्छ । पहिलोपटक २०२४ को जुन १२ मा सार्वजनिक गरिएको यो ईभीका लागि विस्तारित डिलर नेटवर्क, व्यापक बिक्री पछिको सेवा र इकोसिस्टम निर्माण गरिने र यसले प्रत्येक ग्राहकलाई सहज र सन्तोषजनक अनुभव प्रदान गर्ने जगदम्बा मोटर्सले जनाएको छ ।
काठमाडौं: देशभर यस वर्ष करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यसै अवधिको तुलनामा यसपटक भएको रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको जनाइएको हो । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । सो क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ । धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने मन्त्रालयले जनाएको छ ।
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाँडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् । तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो । विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरुलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यवसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफैँ उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारीखेती गरिएको जानकारी दिए । ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ भन्ने कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरुले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाडेर तरकारीखेती गरेका हुन् । बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायोसाग, धनिया, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन् । करेसाबारीमा लोपोन्मुख तेलहन फिलिङ्गो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक पाँच हजार रुपैयाँ तिर्नेगरी भाडामा लिएका छन् । विद्यालय समयपछि साँझ एकदेखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनउपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ‘रिफ्रेस’ महसुस गरेका छन् । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेका हेम नमूना आवासीय माविका प्रधानाध्यापक शेरबहादुर केसीले बताए । छात्राबासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको उनको भनाइ छ । करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा एक लाख ५० हजार सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रम सञ्चालन गरेको बताए । गत वर्ष तीन लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनको भनाइ छ ।
ढोरपाटन: सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्रमा निहुरो र अम्रिसो लगाएका हुन् । यहाँका तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने उहाँले योजना सुनाउनुभयो । तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको यो खेती हाल ३०० रोपनीमा फैलाउन सफल भइएको अध्यक्ष लामिछानेले बताउनुभयो । यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म रु तीन लाख लगानी भएको छ । हाल गाउँमै निहुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको हो । रेश गाउँमा पहिले निहुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका वडाध्यक्ष लामिछानेले बताउनुभयो । “पहिले गाउँमा मान्छे धेरै हुन्थे, पशुचौपाया पनि धेरै पाल्थे, हाल बसाइँसराइले गाउँमा मान्छे कम छन्, पहिलेको जस्तो वस्तुभाउ पाल्दैनन्, त्यसले गर्दा वनमा झाडी पलायो”, उहाँले भन्नुभयो, “त्यसैले स्थानीयसँग सहकार्य गरेर झाडी फाँडेर निहुरो र अम्रिसो लगाएका छौँ, अरू बिरुवा पनि फाटफुट लगाएका छौँ । वनलाई पनि अब आम्दानीसँग जोडौँ भन्ने हिसाबले यो काम सुरु गरेका हौँ ।” स्थानीय धनबहादुर जिसी हाल लगाइएको निहुरो र अम्रिसोको उत्पादन बढेमा सामुदायिक वनमा फैसा फल्ने बताउनुहुन्छ । तरकारीका रूपमा प्रयोग हुने निहुरो र अम्रिसोको माग र मूल्य पनि राम्रो भएकाले ठूला सहरमा निर्यात गर्न पनि सकिने उहाँको भनाइ छ । झाडी फाँडेर साना बिरुवा लगाएपछि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि कम भएको जिसीको विश्वास छ । काठेखोला–७ की उजेली शर्माले गाउँकै सामुदायिक वनबाट बिरुवा सङ्कलन गरी खेती बिस्तार गरेको सुनाउनुभयो । “पहिले निहुरो खोज्नका लागि धेरै टाढाको जङ्गलमा जाने गरेका थियौँ, हाल नजिकैको सामुदायिक वनमा पाउन थालेको छ । काम नलाग्ने झाडीको ठाउँमा काम लाग्ने बस्तु रोपेपछि हामी सबै उत्साहित छौँ । उत्पादन बढी हुँदै गएपछि बिक्री गरेर यहीँबाट जीविकोपार्जन गर्न सकिने आशा छ”, उहाँले भन्नुभयो ।
काठमाडौं: प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । धान दिवस विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।
गोरखा: गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु। ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएकोे कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो । “गतवर्ष यहाँ रु। १० करोड बराबरको लिची बिक्री भएको थियो”, उहाँले भन्नुभयो, “तर यसपटक रु। एघार करोडभन्दा बढी मूल्यको लिची किसानले बिक्री गरेका छन् ।’’ प्रमुख बस्ताकोटीले लिचीका लागि मौसम अनुकुल भएको तथा बगैँचा व्यवस्थापन राम्रो भएकाले उत्पादन बढेको बताउनुभयो । “यसपाली लिची उत्पादनका लागि मौसम अनुकूल रह्यो,” उहाँले भन्नुभयोे, “त्यसमा पनि किसानले समयमै औषधि उपचार तथा बगैँचाको राम्रो मलजल तथा सिँचाइ व्यवस्थापन गरेका कारण उत्पादन राम्रो भएको हो ।” गोरखामा यो वर्ष एक हजार सात सय १६ मेट्रिक टन लिची उत्पादन भएको छ, जबकी गत वर्ष एक हजार पाँच सय ९७ मेट्रिक टन लिची उत्पादन भएको थियो । अघिल्लो वर्ष एकसय ८० हेक्टर क्षेत्रफलमा लिची उत्पादन भएकोमा यो वर्ष एक सय ८७ हेक्टरमा लिची उत्पादन भएको प्रमुख बस्ताकोटीको भनाइ छ । उत्पादित लिची प्रतिकेजी रु। ६५ का दरले बिक्री हुँदा किसानले मनग्य आम्दानी गरेको उहाँले बताउनुभयो । जिल्लाको पालुङटार नगरपालिकालाई लिचीखेतीको मुख्य पकेट क्षेत्र मानिन्छ । पालुङटारको वडा नम्बर ६, ७ र ८ बाट मात्रै ८० प्रतिशत लिची उत्पादन हुने गरेको छ । ती वडामा करिब ३० हजार लिचीका बोट छन् । पालुङटार क्षेत्रमै १५० हेक्टर जमिनमा लिचीखेती गरिएको छ ।
काठमाडौं: गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु। ९०० र चाँदीे रु। ६५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु। एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु। दुई हजार २२५ मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
काठमाडौं: गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु। ४०० ले वृद्धि भएको छ भने चाँदीको मोल भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु। एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु। दुई हजार १६५ मा कारोबार भइरहेको छ । गत जेठ २७ एक तोला सुन रु। एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु। दुई हजार १६५ मा कारोबार भएको थियो । जेठ २८ गते रु। एक लाख ९१ हजार ३०० जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन रु। एक लाख ९७ हजार १०० मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
काठमाडौं: शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

