मुस्ताङ:  मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । ...

चैते धानखेतीतर्फ किसानलाई आकर्षित  गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ ।   अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।   केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिृकत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए ।   'चैते धानखेती गर्ने किसानले छाड्ने क्रम बढ्दै गएकाले प्रोत्साहन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो, उर्वरभूमिमा नै खेती गर्न छाड्दै गएको पाइन्छ', उनले भने, 'विशेषगरी खेतीयोग्य जमिन बाँझो राख्ने अवस्थामा पुगेपछि यस कार्यक्रमले किसानलाई सहयोग पुग्नेछ ।'   परियारका अनुसार कार्यक्रमअन्तर्गत ढुवानी, बीउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ । धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था छ । दुई हजार ९४० रोपनी खेतमा चैते धानखेती गर्न १३ वटा कृषक समूह तथा सहकारी यस कार्यक्रममा समावेश भएका छन् ।   कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन भएको छ । कृषक समूह तथा सहकारीसँग सम्झौतासमेत भइसकेको केन्द्रले जनाएको छ ।   कार्यक्रमअन्तर्गत धान चुट्ने थ्रेसर, खेत जोत्ने मिनीटिलर तथा ट्रयाक्टरमा अनुदानको व्यवस्था गरिएको छ । सिँचाइ (कुलो) निर्माणका लागि २० लाख बजेट विनियोजन भएको छ ।   चैते धान विशेषगरी चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको सूचना अधिकारी परियारको भनाइ छ ।   किसानबाट माग धेरै आए पनि बजेट कम हुँदा सबैलाई समेट्न समस्या भएको उनले बताए ।   जिल्लामा करिब ५१ हजार ५५० हेक्टर क्षेत्रफलमा खेतीयोग्य भूमि रहेको छ । त्यसमध्ये ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ ।   १३ हजार ५८३ हेक्टर सिञ्चित क्षेत्र र सात हजार २३६ हेक्टर क्षेत्रफलमा बेमौसमी सिँचाइ सुविधा रहेको हुँदा अकासे पानीको भरमा पनि किसानले धानखेती गर्छन् । समयमा पानी नपर्दा यस वर्ष चैते धानखेती कम हुने आकलन केन्द्रले गरेको छ ।

पोखरा​: पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ ।      महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रम्ुख मनहर कडरियाले जानकारी दिनुभयो ।       चैते धानखेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उहाँले यस वर्ष पनि प्रतिरोपनी रु ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिनुभयो ।      महानगरपालिकाअन्तर्गत वडा नं २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धानखेती गर्दै आएका छन् ।  

पोखरा -२५ हेमजामा आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।   ‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ: आलु एक परिकार अनेक’ भन्ने मूल नारासहित आजदेखि आलु महोत्सव सुरु भएको हो ।   आगामी बैशाख ३ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरे ।   सो अवसरमा बोल्दै उनले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने महोत्सवले टेवा पुर्याउने धारणा राखे ।   हेमजा क्षेत्रमा उत्पादन हुने आलुको विशेष पहिचान भएको उल्लेख गर्दै उनले कृषिजन्य वस्तुको उत्पादनमा बढावा दिनुपर्नेमा जोड दिएका थिए ।   उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन् ।   त्यस्तै कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी गरिएको छ ।   महोत्सव प्रवेशका लागि साधारणतर्फ रु. ८० तथा विद्यार्थीका लागि ५० दरको टिकट व्यवस्था गरिएको छ । त्यस्तै नगद रु २ सयमा महोत्सव अवधिभरका लागि स्थानीय पासको बन्दोबस्तसमेत मिलाइएको महासचिव हिम्मत थापाले जानकारी दिए ।   उनका अनुसार महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलु कारोबार हुनेछ ।   हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिदैं आएको छ ।   महोत्सव सुरु हुनुपुर्व बाजागाँजा, कृषि झाँकी सहित विष्णुपादुका माइस्थानबाट शोभायात्रा सुरु हुने र उक्त शोभायात्रा मिलनचोक, नहरचोक, साँझाचोक, सोतीपसल हुँदै महोत्सव स्थल पुगेको थियो ।  

सर्लाही: चन्द्रनगर गाउँपालिकाका किसान  विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका थिए ।  यसरी खेती गर्दा उत्पादनभन्दा लगानी धैरै लाग्ने गरेको चन्द्रनगर–२ का पुनित महतोले बताउनुभयो । तीस कठ्ठा जग्गामा वर्णशङ्कर जातको मकै लगाउनुभएका उहाँ विद्युतीय मोटरबाट मकैखेतमा पानी लगाउँदै गरेको अवस्थामा भेटिनुभयो । विद्युतीकरणपछि खेतीपाती गर्न सहज भएको महतोको भनाइ छ ।  “यसअघि खेतमा पानीको उपाय नै थिएन”, उहाँले भन्नुभयो, “पोखरी वा नालामा जमेको पानी पम्पसेटबाट तान्ने गरेको थिए ।” पम्पसेटबाट पानी तान्न खर्चिलो हुने उहाँको भनाइ छ । “पहिला यही खेतमा एकपटक पानी तान्न रु तीन हजारदेखि रु चार हजारसम्म डिजलको खर्च हुन्थ्यो”, महतोले भन्नुभयो, “अहिले त्यही लागतमा सिजनभरि ९चारपटक० पानी तान्न पुग्छ ।”  स्थानीय तहले दुई वर्ष अघि खेत खेतमा (कृषि विद्युतीकरण) पोल गाडेर बिजुली पुर्याएको थियो । त्यसयता महतोलगायत यहाँका एक हजार २३५ बढी किसानले कृषि मिटर जडान गरिसकेका छन् ।  सिँचाइको व्यवस्था नहुँदा अकासे पानीको भरमा गहुँ, मसुरो, चना, उखुलगायत खेती लगाउने गरेका चन्द्रनगर–६ बबरगन्जका किसान सुवोध साहले बताउनुभयो । यसरी गरेको खेतीमा लागत धेरै र उत्पादन थोरै हुँदा लागतसमेत नउठ्ने गरेको उहाँको अनुभव छ ।  “यहाँका खेत प्राणबिनाका शरीरजस्तै बनिसकेका थिए”, साहले भन्नुभयो, “गाउँपालिकाले कृषि विद्युतीकरण गरेपछि खेत हराभरा बनेका छन् ।” अहिले प्रति कठ्ठामा चार क्विन्टलसम्म मकै उत्पादन हुने गरेको  साहले बताउनुभयो । उहाँले दुई वर्षदेखि आफ्नो र ठेक्का गरी तीन बिघा खेतमा वर्णशङ्कर जातको मकैखेती गर्नुभएको छ ।  पानीको सुविधापछि तरकारीखेती फस्टाएको स्थानीय जितेन्द्र महतोले बताउनुभयो । अहिले आफूसँग भएको दुई कठ्ठा खेतमा लगाएको तरकारी बिक्रीबाट पाँच जनाको परिवार पालनपोषण गर्न सकेको उहाँको भनाइ छ । अहिले यस क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक तरकारीखेती हुँदै आएको छ । मौसमअनुसार काउली, बन्दा, सिमी, बोडी, खुर्सानी, भिण्डीलगायतको तरकारी प्रशस्त उत्पादन हुने गरेको महतोले बताउनुभयो । विद्युत् महसुल गाउँपालिकाले तिर्ने चन्द्रनगर गाउँपालिकाकाले किसानको खेत खेतमा विद्युतीकरण गर्ने, निःशुल्क कृषि मिटर वितरण गर्नेमात्र नभई किसानले सिँचाइ गर्दा उठेको विद्युत् महसुलसमेत आफैँले तिरिदिने गरेको छ ।  आफ्नो पालिकाका अधिकांश नागरिक कृषि पेसामा संलग्न रहेकाले उहाँहरूलाई सुविधा पुर्याउने उद्देश्यले योजना सुरु गरेको अध्यक्ष राजकुमार महतोले बताउनुभयो ।  यसले नागरिकको जीवनस्तर सुधारमा मद्दत पुगेको उहाँको भनाइ छ । नजिकै खोला, नहरलगायत सिँचाइ व्यवस्था नभएका कारण किसान समस्यामा परेका उहाँले बताउनुभयो ।  चालू आर्थिक वर्षको विद्युत् महसुल बिल सङ्कलन भइरहेकाले केही दिनभित्रमा विद्युत् महसुल भुक्तानी गरिने अध्यक्ष महतोले बताउनुभयो ।  कृषि विद्युतीकरणपछि गाउँपालिकाका किसानले बाँझो छाडेको खेतबाट समेत मनग्य उत्पादन लिन थालेका छन् । यसरी प्रदान गरिएको कृषि मिटरबाट दुईदेखि १२ बिघासम्म खेतमा सिँचाइ गर्न सकिने कृषि प्रविधिकको भनाइ छ ।  कृषि विद्युतीकरणबाट विगत दुई वर्षमा मात्र यस पालिकाको नौ हजार बिघा खेत सिँचाइ गर्न सकिएको थियो । आगामी दिनमा पालिका क्षेत्रमा पानीका स्रोत संरक्षणका लागि अध्ययन भइरहेको अध्यक्ष महतोले बताउनुभयो । यसअघि पालिकामा कृषि सिँचाइका लागि पोखरी निर्माण गरेर वर्षात्मा जमेको पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो ।  

सुनचाँदीको मूल्य घटेको छ ।    बिहीबार प्रतितोला रू एक लाख ८० हजार तीन सयमा कारोबार भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज तोलामा रू तीन हजार नौ सय घटेको हो ।   आज प्रतितोला रू एक लाख ७६ हजार चार सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ७० मा किनबेच हुनेछ ।   अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार एक सय पाँच अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ । 

बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ ।   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बङ्गुर जोन कार्यक्रममार्फत बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो ।   परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलोपटक मङ्गला गाउँपालिका–५ हाडेभिरका विमल सापकोटाको फार्ममा पालिएका बङ्गुरमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा वीर्यबाट निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जानकारी दिए ।   “राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरेर प्राविधिक गङ्गामति रोकाले कृत्रिम गर्भाधान गराउनुभएको हो”, उनले भने, “हाललाई सहज यातायात सुविधा भएका म्याग्दीका बङ्गुर फार्ममा यो सेवा उपलब्ध गराउँछौँ ।”   उपयुक्त समय र विधि भएमा जमेको वीर्यभन्दा ताजा वीर्यबाट गर्भाधान दर उच्च (९० प्रतिशत) हुने परियोजना प्रमुख गौतमले बताए । पशु प्रजनन कार्यालय पोखराबाट बोसो कम हुने अमेरिकन नश्लको बङ्गुरको वीर्य निःशुल्क उपलब्ध गराइएको परियोजनाले जनाएको छ ।   कृत्रिम गर्भाधान सेवाबाट स्थानीय जातका बङ्गुरको नश्ल सुधारमा सहयोग पुग्ने किसान सापकोटाले बताए । म्याग्दीमा यसअघि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहका पशु सेवा शाखाले गाईभैँसीमा कृत्रिम गर्भाधान सेवा सञ्चालन गरेका थिए ।   बेनी नगरपालिका, मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पछिल्लो तीन वर्षयता बङ्गुरपालक किसानलाई परियोजनाले जोन कार्यक्रममार्फत सघाउँदै आएको छ ।

काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ ।  सोमबार प्रतितोला रु एक लाख ७७ हजार ९०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ८०० ले बढेर रू एक लाख ७९ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । आजका लागि चाँदीको मूल्य प्रतितोला रु दुई हजार ३५ निर्धारण भएको छ ।  अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय ४० अमेरिकी डलर कारोबार भइरहेको छ ।      निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ । 

काठमाडौं: अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ ।  गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको छ ।      आइतबार प्रतितोला रू एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य आज तोलामा रू एक हजार एक सय बढेर रू एक लाख ७७ हजार नौ सय कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू १० बढेर रू दुई हजार ३५ पुगेको छ ।      अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

झापा: झापामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको जनाएको छ ।      परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेसिनबाट चैते धान रोपाइँ ९प्रविधि प्रदर्शन० गरेको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।       उहाँले यस वर्ष १२० हेक्टर जमिनमा आधुनिक कृषि यान्त्रिकीकरणको प्रयोग गरेर चैत धान रोपाइँ भएको बताउनुभयो । उहाँका अनुसार विगतमा ज्ञान केन्द्रले नमूना परीक्षणका लागि गरिएका सबै कृषि समूह र सहकारीले यस वर्ष पनि निरन्तर कृषि यान्त्रिकीकरणकै प्रयोग गरेर चैते धानखेती गरेका छन् । स्थानीय पालिकाहरुको सहयोगमा किसान समूहको छनोट गरी केन्द्रले विगतदेखि नै हर्दिनाथ–१ धान लगाउन प्रोत्साहन गर्दै आएको छ । उहाँले भन्नुभयो, “अन्य धानको तुलनामा राम्रो उत्पादन हुने हुँदा यही धानको बीउ रोप्न सिफारिस गर्ने गरेका छौँ ।” यो धानको बीउ राखेको दिनदेखि १२० दिनमा पाक्ने उहाँको भनाइ छ ।  यस वर्ष गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिकामा कृषक समूहअन्तर्गत कृषियन्त्र प्रयोग प्रदर्शन गरिएको छ । छनोटमा परेका कृषि समूहलाई केन्द्रले धानको बीउ, बीउ राख्ने ट्रे र प्राविधिकलगायतमा सहयोग गरेको जनाएको छ ।