पोखरा:   पोखराको न्यूरोडस्थित गुरुङ गहना घरले सडक सौंन्दर्यकरणमा पोखरा महानगरलाई साथ दिएको छ ।  गहना घरले न्यूरोड सडकबीचमा ५ सय सयपत्री फूलका बिरुवा रोपेको छ । महानगरपालिकाले आफ्नो घर,...

पोखरा:     आज साउन महिनाको पहिलो सोमबार । हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र मानिने यस साउन महिनाको पहिलो सोमबार शिवमन्दिरहरुमा पूजापाठ गर्ने भक्तजनहरुको घुँइचो लागेको छ ।   पोखरा महानगरपालिका १ गाइघाटमा पनि भक्तजनहरूको घुइँचो देखिएको छ ।     विशेषगरी, साउन महिनाभर भगवान शिवको पूजाआराधना र महिमा गाउने परम्पराअनुसार भक्तजनहरू शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउन व्यस्त देखिएका छन्।    गेरुवस्त्र धारण गरी खाली खुट्टै गाइघाटबाट जल लगी बैदामस्थित केदारेश्वर मन्दिरको शिवलिङ्गमा चढाउने चलन छ।    सुनगाभा न्यूजको लेन्सबाट हेर्नुहोस् तस्बिरहरु:-                            

पोखरा:   नेपाल विद्युत प्राधिकरण गण्डकीले २०८१ सालमा उच्चतम खपत गरि समयमै महसुल दाखिला गर्ने उत्कृष्ट उद्योगी व्यवसायी तथा संघ संस्थालाई सम्मान गरेको छ ।  उत्कृष्ट ग्राहकहरुलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले सम्मान गरेका हुन । सम्मानित सेवाग्राहीलाई धन्यवाद व्यक्त गर्दै कार्यकारी प्रमुख शाक्यले उपभोक्ताको कारण नै प्रधिकरणको विकास हुने र प्राधिकरणको विकास भए समग्र देशको विकास हुने बताए । उपभोक्ताहरुले प्रयोग गर्ने विद्युत दैनिक जिवनशैलीमा भन्दा बढी व्यवसायीक या औधोगिक कार्यमा लगाउन आग्रह गर्दै विद्युतीय संसाधनको प्रयोग गर्दा सजग र मितव्यायी हुन आग्रह गरेका छन ।  उनले हाल बेला–बेलामा विद्युत अवरुद्ध हुने समस्या प्राधिकरणको नभएर वितरण केन्द्रहरुमा भएको प्राविधिक समस्या भएको जिकिर गरे । हिउँदको समयमा बाहीरी मुलुकबाट समेत विद्युत आयात गरी उपभोक्ताहरुमाँझ सेवा पुर्याउन प्राधिकरण प्रतिवद्ध रहेको शाक्यको भनाई छ । गण्डकी प्रदेश अन्तरगत सबैभन्दा बढी र समयमै भुक्तानी गर्नेहरुमा होंसी शिवम सिमेन्ट प्राली(कावासोती वितरण केन्द्र), पोखरा औधोगिक क्षेत्र(पोखरा वितरण केन्द्र) गोर्खा व्रेवेरी लिमिटेड (कावासोती वितरण केन्द्र), सिजि सिमेन्ट, एनसेल प्राइभेट लिमिटेड(लेकनाथ वितरण केन्द्र), प्रफेक्ट व्लेन्ड (नेपाल) प्राईभेट लिमिटेड (कावासोती वितरण केन्द्र) सिजि ब्रिवेरी नेपाल लिमिटेड(कावासोती वितरण केन्द्र), जय श्री फुड प्राली (कावासोती वितरण केन्द्र), पोेखरा अन्तराष्ट्रिय एयरपोर्ट(पोखरा वितरण केन्द्र), मनिपाल कलेज अफ मेडिकल साईन्स(पोखरा वितरण केन्द्र) लगायत रहेका छन । उपभोक्ताहरुले बेलाबेला विद्युत अवरुद्ध हुने समस्याले उद्योगहरुले नोक्सान वेहोर्नुपरेको बताउँदै उक्त समस्याको समाधान खोज्न आग्रह गरेका छन । सो अवसरमा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख विक्रम कुमार अमात्यले गण्डकी शाखा अन्तरगत निमार्ण र वितरण भएका आयोजनाहरुको बारेमा जानकारी गराएका थिए ।

पोखरा:  गएराति परेको अविरल वर्षासँगै आएको पहिरोले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ को एक विद्यालयमा क्षति पुगेको छ ।   अन्नपूर्ण गाउँपालिका–८ मोदी आधारभुत विद्यालयको भवनमा गएरातिकोे अविरल वर्षासँगै आएको पहिरोले क्षति पुगेको वडाध्यक्ष विजय गुरुङले जानकारी दिए ।  ‘गएराति परेको अविरल वर्षाले अन्नपूर्ण गाउँपालिका–८ स्थित मोदी आधारभुत विद्यालयमा पहिरोले क्षति पु¥याएको छ, वडाध्यक्ष गुरुङले भने, ‘ पहिरोले विद्यालयको ६कोठे भवनमा क्षति पुगेको छ, कक्षाकोठासँगै कार्यालयमा रहेका केही सामानहरु पुरिएका छन्, अहिले गाउँपालिका र प्रशासनबाट अनुगमन भइरहेको छ ।’ वडाध्यक्ष गुरुङका अनुसार त्यस विद्यालयमा १७ जना विद्यार्थीहरु अध्ययनरत छन् । पहिरोले विद्यालयमा क्षति पुगेपछि विद्यालय नजिक रहेको खाली घरमा विद्यार्थीहरुलाई अध्यापन गराउने गाउँपालिकाले तयारी गरेको छ ।  विद्यालय भन्दा करिव २ सय मिटर माथिबाट खसेको पहिरोले विद्यालयमा क्षति पुगेको वडा कार्यालयले जनाएको छ ।     

पोखरा: इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको २२औँ साधारणसभा एक समारोहका बीच आज सम्पन्न भएको छ ।      साधारणसभाको नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले उद्घाटन गर्नुभयो ।      कार्यकममा भण्डारीले राज्यका निकायले राम्रोसँग ध्यान नदिँदा पर्यटन क्षेत्रमा निराशा छाएको बताउनुभयो ।  मुलुकमा बनेका संरचनाले १५ लाख भन्दा बढी पर्यटन धान्ने सक्ने अवस्था नरहेको भन्दै उहाँले वर्षमा १०÷१२ लाख पर्यटकको मात्रै लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने जिकिर गर्नुभयो ।      बैंक तथा वित्तीय संस्थाको अधिकांश लगानी पर्यटन क्षेत्रमै भएकोले अझै पनि ध्यान नदिने हो भने अबको केही वर्षमा पर्यटन क्षेत्र डुब्ने र यसको प्रत्यक्ष असर राज्यलाई नै पर्ने उहाँको भनाइ छ ।    पोखराको पर्यटन विकासका लागि एगासँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।       नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले आ.व.२०८१/०८२ मा एगासँग सहकार्य गरेर विभिन्न कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।      पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले कुनै पनि संस्था आँर्फैमा सानो वा ठूलो नहुने बताउँदै सो संस्थाले गर्ने कामका आधारमा त्यसको स्थान निर्धारण हुने बताउनुभयो । परिषद्मा आवद्ध संस्थाबीच समन्वय गरेर पर्यटन क्षेत्रमा व्यवस्थापन सुधार्ने र व्यवसायी र राज्यबीच पुलको भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।      एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले पर्यटन प्रवद्र्धनमा एगाले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सबैको साथ र सहयोगबाटै संस्थालाई माथि उठाउन प्रयास गरिएको बताउनुुभयो । संस्था स्थापना दुई दशकदेखि भए पनि नेपालको पर्यटकीय प्रचारप्रसारमा एगाको भूमिका तीन दशकदेखि नै भएको उहाँले स्पष्ट पार्नुुभयो ।      सदस्यहरूको क्षमता अभिृबद्धि समेतको उद्देश्य राख्दै एगाका सदस्यहरूले यही साउन १० गतेदेखि इन्डोनेशिया र भियतनाम लगायतका स्थानको भ्रमणसँगै त्यहाँका गार्मेन्ट उद्योगहरूको भ्रमण गर्ने भएको उहाँले जानकारी दिनुुभयो ।      एगाका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले पोखरालाई हरेक तवरले पर्यटनसँग जोड्नुपर्ने भन्दै यसतर्फ राज्यका निकायले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुुभयो ।      पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष एवम् पोखरा भ्रमण वर्ष कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराईले पर्यटन प्रवद्र्धनका लागि नारा मात्र नभै दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो ।       एगाका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवि पोखरेलले सबै एकै ठाउँमा बसेर पर्यटन क्षेत्रका समस्या बारे छलफल गर्दै समाधानमा जोड दिनुपर्ने बताए । कालीगण्डकी करिडोरले पोखरामा पर्यटक आगमन शून्य हुन सक्नेतर्फ सचेत गराउँदै उहाँले यसतर्फ बेलैमा ध्यान दिन आवश्यक रहेको धारणा राख्नुुभयो ।      एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षता एवम् सचिव माया सुवेदीले सञ्चालन गर्नुुभएको कार्याक्रममा स्वागत उपाध्यक्ष गीता ढकाल पौडेलले गर्नुभएको थियो । सचिव सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुुभएको थियो ।       कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, पर्यटन विज्ञ दीपेन्द्र पहारी, संस्थाका सद्भाव सदस्य गोविन्दप्रसाद अधिकारी, रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल लगायतले विभिन्न सामाग्रीका माध्यमबाट एगाले नेपालको पर्यटनलाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान गरेको धारणा राख्नुभयो ।      कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद भण्डारी, उत्कृष्ट पसल सजावट गर्ने व्यवसायी रामहरि भट्ट,  विभिन्न कार्यक्रमका संयोजकहरू रमेश सुवेदी, माया सुवेदी, सुशिल ढकाल, गीता ढकाल लगायतलाई  सम्मान गरिएको थियो । 

पोखरा:  पोखराको रत्चोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन जारी रहेको छ । श्रीमदवीतकको पाँचौ दिन सम्म आइपुग्दा भक्तजनहरुको उपस्थिती बढ्दै गएको छ ।  श्रीमदवीतकको छैठौं दिन सोमबार श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य जाँचको आयोजना हुने भएको छ । महिला बिकासका लागि समाजको आयोजना र पोखरा महानगरको सहयोगमा शिविरमा विशेष गरी सुगर र मुटु सम्बन्धि परिक्षण गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । श्रीमदवीतकको पाँचौ दिन सम्म आइपुग्दा कथा श्रवण गर्न विभिन्न विशिष्ट ब्याक्तिहरुले उपस्थिती जनाउदै आएका छन । आइतबार श्रीमदवीतक चर्चामा श्रीकृष्ण प्रणामी मन्दिर पुगेका गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीले नैतिक शिक्षाको कमी भइरहदा धार्मिक सत्संग कार्यक्रमले नैतिक शिक्षा प्रदान गर्नमा मदत पुगेको बताउदै सत्संगले जीवन बुझ्न सहयोग पुग्ने बताए । सत्संगले गलत बाटोमा लागेका तथा बाटो बिराएका हरुलाई समेत सत्मार्गमा लाग्न अभिप्रेरित गर्ने उनको भनाइ रहेको थियो । बृन्दाबन धाम पोखरा २७ डाँडानाकका प्रमुख विष्णु वशिष्ठ महाराजले कृष्ण प्रणामी मन्दिर पोखरा रत्नचोकमा सञ्चालन भएको श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचनमा सहभागी हुन सम्पूर्णलाई आग्रह गरे । कुनैपनि धार्मिक स्थलमा आयोजना हुने सत्संगमा बिना निमन्त्रण पनि गएर सत्संग सुनेमा सुख शान्ति र समृद्धि छाउने बताए । भोक र तिर्खामा खाना र पानी पिउदा जतिको आनन्द हुन्छ सत्संगमा पुगेर कथा सुन्दा त्यति आनन्द र शरिरमा शुद्धता छाउने उनको भनाइ रहेको थियो ।   श्रीमदवीतक चर्चाकै बिचमा आयोजना हुने निशुल्क स्वास्थ्य शिविरमा सहभागी भइ जो कोहीले पनि लाभ लिन सकिने सचिव लक्ष्मण बरालले  बताए । बरालका अनुसार प्रत्येक दिन श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन भइरहेको छभने सोमबार पोखरा पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालको उपस्थिती रहने छ । 

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले  गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोक संस्कृतिमा सम्पन्न रहेको बताउनुभएको छ ।   पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ– पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गर्नुभयो ।   ‘आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला लगायतको भूमि गण्डक क्षेत्र हो ।’ उहाँले भन्नुभयो – ‘यस भेगमा सिर्जित अपार सांस्कृतिक ज्ञानपरम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको छ । हाम्रा मौलिक तथा रैथाने संस्कृति, कला–साहित्य, रीतिरिवाज हाम्रा अमूल्य सम्पदा हुन् ।’   यस भूमिलाई जीवन्त र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने अभियानमा संस्थागत तथा व्यक्तिगत तर्फबाट पनि विभिन्न प्रयासहरु भएको पाएको बताउँदै उहाँले गण्डकीको राजधानी पोखरा शहरलाई कला र संस्कृतिको मञ्च बनाउन पोखरा थियटरले निरन्तर कर्म गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।     यहाँ नाटक, संगीत, नृत्य, कवि गोष्ठी लगायत विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएकाले पोखरामा सांस्कृतिक उत्सवहरूको वातावरण निर्माणमा यहाँका कलाकारहरूको सिर्जनात्मकता र व्यावसायिकता विकास गर्न यसले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ ।   कवि एवं साहित्यकार तीर्थ श्रेष्ठमा समर्पण गरी उहाँकै सम्मुख ‘हिउँमा नलेखिएका तीर्थ — पाँच आयामका साथ’ आयोजित यस कार्यक्रमले स्रष्टालाई हौसला प्रदानसँगै सबै कलाकार तथा सर्जकलाई सम्मान अर्पण गरेको भट्टले उल्लेख गर्नुभयो ।   पोखरा थियटरका प्रमुख कार्यकारी अधिकृत मोतीबहादुर कार्की (परिवर्तन)को अध्यक्षतामा भएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठका कविता, गजल, मुक्तक, गीत र नाटक गरी पाँच विधामा उहाँका सिर्जनाहरू वाचन तथा मञ्चन गरिएको थियो ।           

पोखरा: पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पोखरामा ४५ दिने चिनिया भाषा तालिम सम्पन्न गरिएको छ ।      पोखरामा चिनिया पर्यटकहरूको आमगनलाई लक्षित गरी उनिहरूको आतिथ्यतामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुभयो ।      पोखरामा आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचाली र पर्यटन व्यवसायलाई थप टेवा पु¥याउनका लागि तालिम उपयोगी बनेको विश्वास लिइएको उहाँले बताउनुभयो । तालिममा पोखरामा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका ८४ जनाको सहभागिता थियो ।      पोखराको पर्यटन व्यवसायलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यहाँका पर्यटन व्यवसायीलाई सहभागी बनाएर गरिएको तालिम बहु उपयोगी बनेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो ।      यस किसिमका तालिमलाई आगमी दिनमा अझै परिस्कृत बनाउँदै लैजानुपर्ने उहाँको भनाइ छ ।       नाट्टा गण्डकी प्रदेशका महासचिव चेतन कार्कीका अनुसार तालिममा चिनियाँ प्रशिक्षकद्वय रिहा र हानले सहजिकरण गर्नु भएको थियो ।      तालिमको समापन समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ कार्यान्वयन समितिका संयोजक गोपीबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेश पूर्वअध्यक्ष परिषद्का संयोजक बासु त्रिपाठी, नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष हरिराम अधिकारी, प्रशिक्षार्थी संगीता अधिकारी लगायतले भाषा तालिमले पर्यटन व्यवसायलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

पोखरा:   पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रजचन शुरु भएको छ ।  आगामी साउन ३१ सम्म सञ्चालन हुने श्रमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले एक समारोहका बीच उद्घाटन गरे ।  सो अवसरमा वोल्दै मन्त्री थापाले धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजलाई स्वच्छ बनाउन महत्वपूर्ण योगदान दिने बताए । समाजलाई अनुशासित बनाई सभ्य समाज निर्माण गर्न धार्मिक अनुष्ठाले महत्व राख्ने बताउदै पोखराको धार्मिक पर्यटनलाई प्रोत्साहन गर्नका लागि एक महिने श्रीमदवीतक कार्यक्रमले ठूलो टेवा पुग्ने मन्त्री थापाले बताए । धर्म र संस्कृतिलाई जोडेर लैजान सकेको खण्डमा धार्मिक पर्यटनको क्षेत्रमा उल्लेख्य काम हुने भएकाले पोखरामा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सरकारले लगानी गरेको बताउदै मन्त्री थापाले प्रदेश सरकारले लगानी गरेको रकमको सदुपयोग गर्न आग्रह गरे । त्यस्तै राष्ट्रिय भुमि आयोग कास्कीका अध्यक्ष बैन बहादुर गुरुङले धार्मिक अनुष्ठानको आफ्नै महत्व हुने बताउदै पोखरा महानगरपालिकाले भुमिहिन र विभिन्न सम्पदाका लागि निस्सा वितरण गरेको र हाल सम्म पनि उक्त निस्साहरु भुमि आयोगमा नपठाएको र उक्त निस्सा पठाउने बित्तिकै श्रीकृष्ण प्रणामी मन्दिरको लागि गर्नुपर्ने काम आफ्नो तर्फबाट र आयोगबाट गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै श्रीकृष्ण प्रणमी सेवा समिति नेपालका केन्द्रीय सदस्य पुरुषोत्तम रेग्मीले श्रीकृष्ण प्रणामी मन्दिरमा बिगतका वर्षहरुमा जस्तै यो वर्षपनि कृष्णजन्माष्टमीको अवसर पारी श्रावण कृष्ण पन्चमी असाढ ३१ देखि भाद्र कष्ण अष्टमी श्रावण ३१ गते सम्म श्रीमदवीतक चर्चाको आयोजना गरिएको बताउदै उक्त कार्यक्रममा सहभागी हुन श्रद्धालु भक्तजनहरुलाई आग्रह गरे ।  त्यस्तै पत्रकार एमबी आस्था मगरले समाजमा नैतिक शिक्षाको आवश्यक रहेको सन्दर्भलाई मध्येनजर गरी धार्मिक अनुष्ठानको आयोजना गरि नैतिक शिक्षा प्रदान गर्न श्रीकृष्ण प्रणामी मन्दिर लागि परेकोमा सञ्चालकहरु प्रति आभार प्रकट गरे । त्यस्तै श्रीकृष्ण प्रणामी मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएको र सामाजिक काममा समेत लागि परेको र त्यसलाई निरन्तरता दिन आग्रह गरे । मासबार आमा समुहकी अध्यक्ष शारदा गिरीले वार्षिक रुपमा कृष्ण जन्माष्टमीको अवसर पारी श्रीकृष्ण प्रणामी मन्दिरले श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको आयोजना गरी समाज रुपान्तरण र धर्म रक्षामा लागेकोमा मन्दिर परिवार प्रति आभार प्रकट गरिन । श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीका जिल्ला अध्यक्ष कृष्ण ढुंगानाले श्रीकृष्ण प्रणामी मन्दिरले जीवनको उद्देश्य के हो र कर्तब्य के हो भन्ने बारेमा सत्संग रुपी श्रीमदवीतक चर्चाको आयोजना गरिएकाले यसमा सहभागी भएर लाभ लिन आग्रह गरे । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्री कृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले असार ३१ देखि सुरु भएको श्रीमदवीतक कार्यक्रम एक महिना सम्म सञ्चालन हुने र प्रत्येक दिन श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने बताए । कार्यक्रममा कार्यक्रम संयोजक केशब प्रसाद बरालले स्वागत मन्तब्य राखेका थिएभने सचिव लक्ष्मण बरालले कार्यक्रमको सञ्चालन गरेका थिए । यस अघि श्रीकृष्ण प्रणामी मन्दिरबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृहचोक, पृथ्वीचोक, नागढुंगा, चरक अस्पताल हुदै पुन श्रीकृष्ण प्रणामी मन्दिरमा पुगी समापन भएको थियो ।  

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन गरेको छ ।  कार्यक्रममा ९ जना कविले पद्य तथा गद्यमा कविता प्रस्तुत गरे । कवि संयोग बस्यालले बाँचिन्छ आरामले र करुणा प्रस्तुत गरे । कवि सुरेश रानाभाटले माटोको वासना तथा लालुपाते शीर्षकको कविता सुनाए । यस्तै केआर ढकालले पर्ख र सस्तो पसल, सञ्जिव पौडेलले विज्ञप्ति मुर्दावाद र जानेहरू, रमा खतिवडाले भानुभक्त र असारे झ्याउरे कविता सुनाइन् । कवि रुपिन्द्र प्रभावी जोशीले प्रतिविम्ब र सास्ती कविता सुनाए । कवि निकेश गिरीले भानुको आत्म सम्मान र फौजी ढलेपछि शीर्षकको कविता प्रस्तुत गरे । कवि सरस्वती श्रेष्ठ सरूले सम्झनामा भानुभक्त र सुखको खोजीमा, डा.जगन्नाथ रेग्मीले म मूर्ख र मदियम नगरम अर्थात मेरो नगर शीर्षकको कविता वाचन गरे । प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का बिखर्चीले भानुप्रति समर्पित कविता कविता सुनाउँदै नेपाली साहित्य, संस्कृति, संस्कार र धर्मको रक्षाका लागि सबै लाग्नु पर्नेमा जोड दिए ।  विशेष अतिथि प्राज्ञ, विम्बकवि रमेश श्रेष्ठले एक दशक बढी रेडियोमा कविताको देश कार्यक्रम सञ्चालन गरेको स्मरण गरे । सो अवसरमा श्रेष्ठले कविता जन्माउनका लागि कविमा प्रगतिशील बिचार हुनुपर्ने नत्र कवि बन्न नसकिने जिकिर गरे । प्रगतिशीलताले लेखनमा नयाँ नयाँ कविताहरू लेख्न हुटहुटी जगाईरहन्छ, उनले भने, सुन्दर कविताको सर्जक ईश्वर भएको र भ्रमहरू यसबाट टाढा रहेको बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले हाम्रा पूर्वजहरूमै उद्यमशीलताको सोंच लेखनको कला भएको भानुका कविता वा उहाँमाथिका लेखनहरूबाट प्रस्ट भएको बताए ।  उनले साहित्यले उद्यमशीलताको विकासका लागि अभिप्रेरित गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा भानु वाङ्मय प्रतिष्ठानका सचिव तथा साहित्यकार अम्बिकाप्रसाद भट्टराईले तनहुँको चुँदी रम्घामा १८७१ असार २९ मा जन्मेका र १९२५ मा धर्ती छोडेर गएका भानुको कवित्वका विविध पक्षहरुको चर्चा गरे ।  भानुले राष्ट्रिय एकता र भाषिक एकताको रुपमा काम गरेकोले उनलाई भाषिक एकताको प्रतिकको रुपमा लिईएको बताए । अहिले ४ कक्षादेखि विद्यावारिधिसम्मका विद्यार्थीका लागि भानु अध्ययनको केन्द्र बनेको बताए ।  भानुका कवितामा श्रमजिविका प्रेरणाका कुराहरु, अधिकारका कुराहरु, उद्यमशिलताका कुराहरु नेपाली आफ्नोपनको स्वाद पाईने बताए ।  वाल्मिकीको संस्कृतको रामायणलाई नेपाली अनुवाद गरेर प्रख्याती कमाएका भानुले फुटकर कविता, गिरधारीभाटमाथिको लेखन, घाँसीको कुरा, वधुशिक्षा लगायतका सिर्जना गरेको बताए । उनले भने, समस्टिमा भन्नु पर्दा भानुले लोकको हितको कुरा गरेको बताए । कार्यक्रममा कविता वाचनमा सहभागि भएका कविहरुलाई रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे, प्रवन्ध निर्देशक सुनयना पालिखेले मायाको चिनो प्रदान गरे ।   पालिखेले रेडियो स्थापनासंगै सामाजिक, सांस्कृतिक, साहित्यिक, भाषा, कला र जनजिविकाका सवालहरुलाई उठाईरहेको बताए । उनले भो भने, हामीलाई थाहा छ यो कमाउने क्षेत्र होईन । संचार क्षेत्र सेवामूलक क्षेत्र भएकोले जनताकालाई सुसूचीत गर्न र अफ्ठेरो परेको बेलामा सारथी बन्न कुनै कसर बाँकी नराखेको र भविष्यमा पनि नराखिने प्रतिवद्धता उनको थियो । यसअघि कार्यक्रममा सहभागिहरुलाई कार्यक्रम संयोजक सरु लामिछानेले स्वागत गरेकी थिईन् भने सञ्चालन कञ्चन थापाले गरेकी थिईन् ।