पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

पोखरा:  एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ ।  एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा भएको रक्तदान कार्यक्रममा १२७ जना पुरुष र २४ जना महिलाले रक्तदान गरेका हुन् ।   रक्तदान कार्यक्रममा १६ जना पहिलो रक्तदातासमेत सहभागी भएको एभरेस्ट मिडिया हाउसले जनाएको छ ।    यसअघि रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्काले पहिलो रक्तदाता नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले रक्तदान गरेर जीवन बचाउन सकिने बताईन् ।   रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा रक्तदान गर्नेलाई पनि फाइदा हुने र अरुको जीवन पनि बचाउन सकिने बताए । एभरेस्ट मिडिया हाउसले रक्तदानसँगै सचेतना कार्यक्रम गरेर समाजमा रक्तदानप्रतिको धारणा सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले एभरेस्ट मिडियाको प्रशंसा गरे ।   नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले रक्तदान सबैभन्दा पूण्य काम भएको बताए । उनले रगतको विकल्प रगत मात्र भएकाले रगत आपूर्तीको एकमात्र माध्यम रक्तदान नै भएको बताए । एभरेस्ट मिडिया हाउसका प्रमुख÷सम्पादक दीपेन्द्र श्रेष्ठले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले प्रष्ट्याए । उनले रक्तदानमा सहभागी सम्पूर्णलाई धन्यवादसमेत ज्ञापन गरे ।  रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो । 

पोखरा: जापानको नायोरो नगरका उपप्रमुख सहितको प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा पोखरा बृद्धाश्रममा स्वागत गरिएको छ ।      नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतो, नायोरोका समाजकल्याण शाखा प्रबन्ध निर्देशक युटो गोटो सहितको प्रतिनिधिमण्डललाई पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली लगायतले स्वागत गर्नुभएको थियो ।      कार्यक्रममा नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतोले आँफू पोखरा दोस्रोपटक आएको र यो धेरै मनपर्ने ठाउँ भएको बताउनुभयो । जापानमा ज्येष्ठ नागरिकलाई गरिने हेरचाह, औषत आयु लगायतका विषयमा उहाँले जानकारी दिनुभयो ।      पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले २०५३ सालमा समाजसेवी स्व.ऋषिकेशव पराजुलीले स्थापना गर्नुभएको पोखरा बृद्धाश्रमले स्थापनाकालदेखि असहाय ज्येष्ठ नागरिकको आश्रयस्थलका रुपमा सेवा दिइरहेको बताउनुभयो ।      यस अघि नायोरोमा ज्येष्ठ नागरिककको सेवा सम्बन्धमा आँफूहरूले स्थलगत रुपमा नै धेरै कुरा जान्ने र सिक्ने अवसर पाएको बताउँदै उहाँले त्यहाँ प्राप्त गरेका ज्ञानसिपलाई सिमित साधनस्रोतका बीच पनि यहाँ कसरी उपयोग गर्न सकिन्छ भन्नेतर्फ लागेको जानकारी दिनुभयो ।      कार्यक्रममा नायरोका समाजकल्याण शाखाका प्रमुख युटो गोटो, विदेश मानव संसाधन विभागका शतोसी फुजी, पोखरा बृद्धाश्रमका उपाध्यक्ष केशव लम्साल लगायतले बोल्नुभएको थियो ।      पोखरा बृद्धाश्रमका अध्यक्ष पराजुलीले जापानको नायोरो नगर तथा समाजकल्याण शाखाका लागि नेपालको पहिचान झल्काउने किसिमको मायाको चिनो प्रदान गर्नुभएको थियो । 

पोखरा:   पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ ।  दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो र निलो गरी सदनात्मक रुपमा विद्यार्थीले प्रतिष्पर्धामा भाग लिनेछन् । विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् । स्पोर्टस् मीटको प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले उद्घाटन गरे । उनले खेलकुदले विद्यार्थीलाई सामूहिक भावनाको विकास, प्रतिस्पर्धात्मक क्षमताको विकास, अनुशासन पालना गर्न सघाउने बताए । अध्यक्ष गौतमले प्रतिभा माविले शिक्षासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा गरेको प्रगतिको प्रशंसासमेत व्यक्त गरे । विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि आफूलाई अग्रपंक्तिमा उभ्याएको बताए ।  ‘खेलकुदले अनुशासन पक्षलाई बलियो बनाउँछ । खेलकुद स्वस्थ जीवन बनाउने आधार हो,’ पौडेलले भने, ‘खेलकुदबाटै जीवनलाई अघि बढाउने अवसर पनि छ । त्यसैले खेलकुदलाई विद्यालय तहमै प्राथमिकता दिने गरिएको छ ।’ विद्यार्थीभित्र लुकेको खुबी देखाउने एउटा अवसर यस्ता खेलकुद कार्यक्रम रहेको उनले बताए । विद्यालयका प्राचार्य किरण सापकोटाले गुणस्तरीय शिक्षामा  प्रतिभा मुलुककै अग्रणी विद्यालयमा स्थापित भइसकेको बताउँदै यहाँको खेलकुदमा पनि विद्यालयको स्थान अगाडि रहेको बताए । ‘प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अग्रपंक्तिमा उभ्याएको छ । मानव स्वास्थ्यका लागि महत्वपूर्ण खेलकुद क्षेत्रलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको छ ।’ – सापकोटाले भने । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहप्राचार्य प्रदीप खनालले हाउस क्याप्टेनहरूलाई सपथ खुवाएका थिए । स्पोर्टस् मिटमा व्यक्तिगत स्पर्धातर्फ कक्षागत रुपमा दौडलगायतका प्रतिष्पर्धा तथा सामूहिक स्पर्धातर्फ अन्तरसदनात्मक रुपमा बास्केटबल, भलिबल, फुटबल, रिले दौडलगायतका प्रतिस्ष्पर्धा हुने विद्यालयले जनाएको छ । विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउनका साथै बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही, ज्ञानेन्द्र मल्ल जस्ता खेलप्रतिभालाई विद्यालयले ठूलो समारोहबीच जनही एक लाखले सम्मान गरिसकेको छ । मानवीय विपद, सामाजिक सेवामासमेत विद्यालय अग्रपंक्तिमा छ । प्रतिभा गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय पनि हो ।  

पोखरा:   आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको संविधान धारा २९४ (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।   प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले नेपालको संविधानले आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने सवालमा आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताउनुभयो ।   उहाँले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्ने सन्दर्भमा आयोगलाई थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।   प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिका हक अधिकार संरक्षण तथा सशक्तिकरण गर्न आवश्यक योजनाका साथ अगाडि बढ्न आयोगलाई सुझाव पनि दिनुभयो ।   पेश भएको प्रतिवेदन मुख्यमन्त्री मार्फत् गण्डकी प्रदेश सभामा पठाइने बताउँदै भट्टले सदनमा सघन छलफल भई प्राप्त हुने निष्कर्षले भविष्यमा आयोगका काम कारवाहीहरु अझै सबल र सशक्त बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । आदिवासी जनजाति आयोगकी सदस्य रानाले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्दै प्रतिवेदन उपर प्रदेशसभामा आवश्यक छलफल नभएकाले ध्यानाकर्षण गराइदिन प्रदेश प्रमुखसमक्ष अनुरोध गर्नुभयो ।   रानाले मुलुकभरका आदिवासी जनजाति समुदायको इतिहास र संस्कृतिको पहिचान गर्दै उनीहरूको हकहित र अधिकारको संरक्षण, संवद्र्धन गर्न आयोग लागिपरेको बताउनुभयो ।     उहाँले आयोगको गण्डकी प्रदेश कार्यालय स्थापनमा प्रदेश सरकारको सहयोगको अपेक्षा पनि गर्नुभयो । आयोगको प्रतिवेदनमा गत आर्थिक वर्षमा आयोगले आदिवासी जनजाति समुदायको विकास, पहिचान र हक अधिकारको संरक्षण तथा प्रथा परम्परालगायतका क्षेत्रमा गरिएका कामहरू समावेश छन् । 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पक्राउ पर्नेमा कावासोती नगरपालिका ८ का तरुण दलका क्षेत्रीय सभापति अमित गिरी, अविनाश काफ्ले, कुमार पुलामी र हुप्सेकोट गाउँपालिका १ का कमल खनाल रहेका छन् ।   अध्यक्ष पाण्डेलगायत जनप्रतिनिधिहरूले दर्ता गराएको किटानी जाहेरीको आधारमा उनीहरूलाई शनिबार बिहान ११ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मधु नेपालले बताए ।   कावासोतीका गिरी नेपाली कांग्रेससम्बद्ध तरुण दलका क्षेत्रीय सभापति हुन् । पालिका अध्यक्ष पाण्डे पनि कांग्रेसबाट दोस्रोपटक निर्वाचित पालिका अध्यक्ष हुन् । उनी गाउँपालिका महासंघको अध्यक्ष पनि हुन् ।   यसअघि प्रहरीले हुप्सेकोट प्रहरी चौकीमा आगजनी र तोडफोडमा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिएको थियो । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरिसकेको छ ।

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमबाट ७ लाख रकम संकलन भएको क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । उक्त रकमबाट वडा प्रहरी कार्यालय बगरलाई १ थान कम्प्युटर सहयोग गरेको उनले बताए ।   ‘जेनजी आन्दोलनका क्रममा पूर्ण क्षति पुगेको वडा प्रहरी कार्यालयलाई सञ्चालनका ल्याउनका लागि कठिनाई भएको अवस्थालाई मध्यनजर गरेर हामीले पूर्वघोषित कार्यक्रम अनुसार नै कम्प्युटर सहयोग गरेका हौं, उनले भने, ‘यसले थोरै भएपनि कार्यालय सञ्चालनका लागि सघाउ पुग्न विश्वास लिएका छौं ।’   उनले वडाबासीलाई सुरक्षाको प्रत्याभूति दिने कार्यालयलाई सबैले सहयोग गर्नुपर्ने बताए ।     क्लबले केही दिनमै पोखरा २५ हेमजास्थित मानव सेवा आश्रमलाई र जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाईसमेत सहयोग गर्ने तयारी क्लबका सचिव विकास सुवेदीले जानकारी दिए ।   सिमपानी क्षेत्रको सरसफाईलाई ध्यान दिएर यसअघि सडक किनारका पोलहरुमा डस्टबिन राखिएको सुवेदीले बताए ।   उनका अनुसार गत कात्तिक ४ गते सम्पन्न सिमपानी साँझमा तमु, मगर, तामाङ, थकाली लगायत समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरिएको थियो ।   सो कार्यक्रममा नौलो विहानी संस्था, तरेली साँस्कृतिक परिवारका नृत्यहरु र द इन्फ्लेम ब्याण्डले लाइभ कन्सर्ट प्रस्तुत गरेको थियो ।   कार्यक्रमकाबीच आर्थिक सहयोगीदाताहरुलाई सम्मानसमेत गरिएको थियो । क्लब स्थापना लामोसमयदेखि सामाजिक तथा खेलकुदको क्षेत्रमा क्रियाशिल रहदैं आएको छ ।        

पोखरा:   शिव शक्ति क्याम्पस, फूलबारीको शनिबार १७ औं क्याम्पस सभा तथा सातौं अधिवेशनबाट सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला ‘विशाल’ निर्वाचित भएका छन् । समाजसेवी, शिक्षासेवी एवं पूर्व बैंकर हुन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । १५ सदस्यीय सञ्चालक समिति सदस्यमा रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, रमेशराज बास्तोला, सरस्वती भण्डारी, डा. तुलसी प्रभास खनाल र गणेशबहादुर कार्की छन् । सदस्यसचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, प्राध्यापकतर्फबाट सदस्यमा लीलावती पनेरु र सूर्यप्रसाद घिमिरे चयन भए । पदेनसदस्यमा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपाने छन् । यस्तै, त्रिवि प्रतिनिधि, विद्यार्थी प्रतिनिधिसमेत मनोनीत हुन बाँकी छ । अध्यक्ष बास्तोलाले वार्षिक प्रतिवेदन पेस गर्दै क्याम्पसको स्थायित्व, दीर्घकालीन विकासमा सबैको हातेमाले जरुरी रहेको उल्लेख गरे । क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले गत आव २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले उद्घाटन गरेका थिए । कार्यक्रममा संस्थापक एवं पूर्व प्राचार्य प्रेमबहादुर राई, निवर्तमान क्याम्पस प्रमुख दीपक बास्तोला र लामो समयदेखि प्राध्यापन गर्दैआएका मनोज बास्तोलालाई सम्मान गरिएको थियो । कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, गण्डकी प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता रोहितराज बास्तोला, ग्यालेक्सी माविका निर्देशक राजु कायस्थलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कायस्थले आफ्ना बाबु राधेश्याम कायस्थको नाममा १ लाख बराबरको तथा वडाध्यक्ष कर्माचारीले १ लाख ५ हजार ५५५ रुपैयाँ बराबरको अध्यक्षकोष स्थापना गर्ने घोषणा गरे । अध्यक्ष टुवराज बास्तोला ‘विशाल’को अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपानेले गरेका थिए । कलेजमा विभिन्न नाममा स्थापित छात्रवृत्तिहरु विद्यार्थीलाई प्रदान गरिएको थियो भने विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

पोखरा:  नेसनल प्याब्सन, कास्कीको आयोजनामा मंसिरको तेस्रो सातामा दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ हुने भएको छ ।   बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २२ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मंसिर २४ गते हुनेछ । बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि,  हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।  अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने छ ।   त्यसैगरी खेलकुद तर्फ छात्र क्रिकेट प्रतियोगिता र छात्र फुटसल प्रतियोगिता रहेको छ । क्रिकेट तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने फुटसल तर्फ कक्षा ११ र १२ का विद्यार्थीले मात्र सभागिता जनाउने छन् । महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए । उपसमिति अन्तर्गत सामूहिक लोकनृत्य प्रतियोगिताको संयोजकमा शिवराज पौडल तथा सदस्यहरुमा पितृराज अधिकारी र विक्रम सुवेदी रहेका छन् । एकल गायन प्रतियोगिताको संयोजकमा अर्जुनप्रसाद अधिकारी तथा सदस्यहरुका हेम रानाभाट, रुद्रप्रसाद अधिकारी साथै सल्लाहकारमा तिलक प्रसाद अधिकारी रहेका छन् । त्यसैगरी चित्रकला प्रतियोगिताको संयोजकमा विष्णुप्रसाद पौडेल तथा सदस्यहरुमा मित्र राई र सुरेशराज पाण्डे रहेका छन् । कविता वाचन प्रतियोगिताको संयोजकमा हरिराज अधिकारी तथा सदस्यहरुमा विक्रम सुवेदी र भुवन पौडेल रहेका छन् । अभिनय प्रतियोगिताको संयोजकमा विक्रम सुवदी तथा सदस्यहरुमा दिपु भारी र अशोक शर्मा रहेका छन् ।   विज्ञान तथा प्रविधि प्रतियोगिताको संयोजकमा तोलाकान्त न्यौपाने तथा सदस्यहरुमा अजय थापा र शालिग्राम पराजुली रहेका छन् । हस्तकला प्रतियोगिताको संयोजकमा रमेशराज पौडेल तथा सदस्यहरुका गगन गुरुङ र सोमनाथ पौडेल रहेका छन् । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजकमा हेम रानाभाट तथा सदस्यहरुमा हरि धमला र मित्र राई रहेका छन् ।    त्यसैगरी खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्र बहादुर थापा तथा सदस्यहरुमा हिमाल गुरुङ र देवराज कार्की रहेका छन् । फुटसल प्रतियोगिताको संयोजकमा अर्जुन प्रसाद पाण्डे तथा सदस्यहरुमा ज्ञानेन्द्र बहादुर थापा, हिमाल थापा र सल्लाहकारमा केशवशरण पौडेल रहेका छन् ।   महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले अवलोकन गर्न सक्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । ‘यो महोत्सव विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्तफुटन मात्र नभई सिकाईको थलो पनि हुने हामीले विश्वास लिएका छौ’ उनले भने, ‘यो महत्वपूर्ण अवसरलाई सदुपयोग गर्नका लागि महोत्सव अवलोकन गर्न सम्पूर्ण कास्कीका विद्यार्थी तथा अभिभावकलाई निमन्त्रणा गर्दछौ।’   महोत्सवलाई सफल बनाउनका लागि तयारी शुरु गरिसकेको एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए । उनका अनुसार एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्नका लागि तयारीलाई तिव्र पारेका छन् । प्रतियोगितामा एन प्याब्सनमा आवद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

पोखरा: नेपाल चाटर्ड एकाउन्टेन्ट सस्था पोखरा शाखाको आयोजनामा पोखरामा अन्तराष्ट्रिय लेखा दिवस मनाइएको छ । प्रत्येक वर्षको नोभेम्बर १० मा अन्तराष्ट्रिय लेखा दिवस मनाउने गरिएकोमा शाखाले एकान्टिङ प्रोफेसन एण्ड एआई सम्बन्धी अन्तरक्रिया गर्दै दिवस मनाएको हो । अन्तरक्रियामा लेखा व्यवसायसँग सम्बन्धित चाटर्ड एकाउन्टेन्ट तथा रजिष्टर्ड अडिटर्सहरू एवम् उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखानाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी एवम् नेपाल युवा व्यवसायी मञ्च पोखरा च्याप्टर्सका अध्यक्ष सुमेज राजभण्डारी लगायतको उपस्थिति थियो । नेपाल लेखामान वोर्डका सदस्य चाटर्ड एकाउन्टेन्ट दुर्गाप्रसाद ज्ञवालीले एकाउन्टिङ प्रोफेसन एण्ड एआई सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै यसको प्रयोगले लेखा व्यवसायमा तथ्यांकहरुको विश्लेषणमा सहजिकरण, समयको वचत का साथै  विस्तृत अध्ययनमा समेत सहज हुने बताउनुभयो । उहाले एआईको प्रयोग गर्ने  प्राविधिक पक्ष सिकाउँदै यसबाट सहि एवम् विश्वसनीय विवरण लिने सोही अनुसारको विवरण एवम् प्रश्न पेश गर्नुपर्ने जानकारी गराउनुभयो ।  नेपाल चाटर्ट एकाउन्टेन्ड संस्था पोखरा शाखा संयोजक चाटर्ड एकाउन्टेन्ट उबेक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शाखा समन्वय कमिटीका सदस्य चाटर्ड एकाउन्टेन्ट सागर आचार्यले सञ्चालन गर्नुभएको थियो भने सदस्य चाटर्ड एकाउन्टेन्ट मदन पोखरेलले स्वागत गर्नुभएको थियो । कार्यक्रमका सहभागीले एआई सम्बन्धित नयाँ प्रविधिलाई आफनो पेशा तथा व्यवसायसँग कसरी जोडन सकिन्छ भन्ने सम्बन्धमा चासो व्यक्त गर्नुभएको थियो । कार्यक्रममा ५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको शाखाका सदस्य रजिष्टर्ड अडिटर चन्द्रबहादुर सुवेदीले जानकारी दिनुभयो ।