पोखरा: ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता रहेको थियो । मर्यादीत सहकारी, समुउन्नत समाज भन्ने मूल नाराका साथ ६८ औं राष्ट्रिय सहकारी दिवस बुधबार मनाउदै छन् । पामे बजार फेवातालका मुहान क्षेत्रका साथै पर्यटकी स्थल भएका कारण पनि सरसफाइमा ध्यान दिदै आफुहरुले सर सफाइ गरेका सहकारीका अध्यक्ष नवराज पराजुलीले जानकारी दिए । उनले सहकरीले सामाजीक क्षेत्रमा पनि बेला बेला विभिन्न काम गर्दै आएको बताए । पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल लगाएतका फोहोरहरु भेटिएको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए । उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा राख्नु पर्ने बताए । सहकरीमा १ हजार १० जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ । आर्थिक वर्ष २०८०र८१ मा १७ करोड ९ लाख ७८ हजार निक्षेप संकलन गरी २५ करोड ४ लाख १६ हजार कर्जा प्रवाह गरेको छ ।
पोखरा: पोखरा महानगरपालिका–२५ हेमजामा यही चैत २४ देखि बैशाख ३ गतेसम्म १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । विष्णु पादुका क्लबको आयोजनामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुन लागेको क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको राष्ट्रिय हेमजा आलु महोत्सव यो वर्ष पनि आयोजना गर्दै छौं, अध्यक्ष श्रेष्ठले भने, ‘महोत्सव कृषकको चाडको रुपमा लिएका छौं, आलु महोत्सवका लागि भनेर हेमजामा नै उत्पादन भएका ४० हजार केजी आलु भण्डारण गरेका छौं ।’ उनका अनुसार महोत्सव अवलोकनका लागि साधारण टिकट प्रतिव्यक्ति ८० रुपैंया, विद्यार्थी सहुलियत ५० र हेमजाबासीलाई २ सय रुपैंयाको पास लिएपछि महोत्सवभर निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । महोत्सव अवधिवर आलुको मूल्य प्रतिकिलो बढीमा ४२ रूपैंया रहनेछ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै, कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको महोत्सव मूल आयोजक समितिका संयोजकसमेत रहेका श्रेष्ठले बताए । पोखरा महानगरपालिका प्रवक्ता तथा पोखरा वडा नं. २५ अध्यक्ष मोतिलाल तिमिल्सिनाले आलु महोत्सव समग्र पोखराकै ब्राण्ड बनेको उल्लेख गर्दैै महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट परे । उनले भने– ‘पछिल्लोपटक हेमजा महोत्सवमय बन्दै गइरहेको छ । आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाउने विश्वास छ ।’ हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् । हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि पर्यटन क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो ।
पोखरा: अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका एक चिनियाँ नागरिक ६ दिनदेखि बेपत्ता भएपछि उनका परिवार नेपाल आइपुगेको छ । बेपत्ता योङयनका बुवा ‘इ जोङ वी’ लगायत ५ जना उनका आफन्त योङयनलाई खोज्न देउराली पुगिसकेका छन् । अन्नपूर्ण आधार शिविर (बेस क्याम्प) बाट एक्लै फर्किदै गरेका २७ वर्षीय चेङ योङयन चैत ११ गते मध्यान्हको समयमा पदमार्गबाट नै बेपत्ता भएका थिए । अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गर्दा योङयन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले सुनगाभा न्यूजसँग पुष्टी गरे । ‘अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका एक चिनिया नागरिक बेपत्ता भएका छन्, प्रहरी प्रमुख ओलियाले भने, ‘चैत ११ गते अन्नपूर्ण बेस क्याम्पको रुटमा पर्ने देउरालीमा हिम पहिरो गएको छ, हिम पहिरोमा नै परेर बेपत्ता भए कि भन्ने आशंकामा प्रहरी, स्थानीयको सहयोगमा खोजीकार्य जारी छ । बेपत्ता नागरिकको परिवार पनि आइपुग्नुभएको छ । देउरालीको मौसम छिनछिनमा परिवर्तन भइराख्ने भएकाले खोजी कार्यमा केही समस्या छ ।’ विदेशी नागरिकले अन्नपूर्ण संरक्षण क्षेत्रको विभिन्न स्थानमा प्रवेश गर्नुपूर्व विभिन्न स्थानमा राखेको चेकपोष्टबाट नाम दर्ता गर्नुपर्छ । यो पनि पढ्नुहोस अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका उनको चेकइन गरेपनि चेकआउट भएको रेकर्ड नदेखिएकाले देउराली क्षेत्रमा बेपत्ता भएको आंकलन गरिएको हो । चैत ११ गते अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका दुई भारतीय नागरिकले आफु भन्दा अगाडि रहेका एक पर्यटक देउरालीको हिमपहिरोमा परेको सूचना प्रहरीलाई दिएका थिए । उनै व्यक्ति चिनियाँ नागरिक भएको हुनुपर्ने प्रहरीको अनुमान छ । पहिरोमा नागरिक पुरिएको सूचनापछि प्रहरी चौकी घान्द्रुक, पर्यटन प्रहरी पोखरा, स्थानीय र जनप्रतिनिधिको टोली घटनास्थलमा पुगेका थिए । हिउँँ पहिरोमा चिनियाँ नागरिक पुरिएको आशंकापछि पर्यटन प्रहरी पोखराबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको कमाण्डमा ७ जना पर्यटन प्रहरी, प्रहरी चौकी घान्द्रुक, स्थानीय र जनप्रतिनिधिको टोली घटनास्थलमा उद्धारको लागि खटिएको छ । देउरालीको मौसम परिवर्तन भइराख्ने भएकाले खोजतलाजमा समस्या भइरहेको उद्धार टोलीमा रहेका एक सदस्यले जानकारी दिए ।
पोखरा: पोखरामा पहिलो पटक हुन भइरहेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ मा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ । १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहको अटो सोमा इभि गाडी प्रति आगन्तुकको बढि चासो देखिएको छ । अटो शोमा भेटिएका न्युरोडका श्याम मल्लले अहिले प्रयोग गरिरहेको पेट्रोल गाडीलाई एक्सचेन्ज गरेर इभी गाडी बुक गरेको सुनाए । उनले पेट्रोल गाडीले इन्धन खर्चका साथै वातावरणमा पनि असर गर्ने र सम्भार खर्च पनि बढने हुँदा इभि गाडी तर्फ रुची बढेर बुकिंग गरेको बताए । यसै गरि अटो सोमा इभीका नया फिचर सहितका सवारीसाधन बुक गर्न आएका मोहोरिया टोलका कमल श्रेष्ठले पनि समय अनुसारको परिबर्तन चाहनेले इभि गाडी मनपराउने बताए । अटो सोमा शनिबार सम्म अनुमानित २० हजार दर्शकले अवलोकन गरिसकेको कार्यक्रमका प्रचार संयोजक विनय थापाले जानकारी दिए । आइतबार अन्तिम दिन पनि भएकोले एसइइ दिएर बसेका विद्यार्थीहरुलाइ अटो शोमा प्रबेश निशुल्क गरिएको थापाले बताए । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा विहिबारबाट शुरु भएको कार्यक्रमको उदघाटन पोखरा महानगरपालिकाका मेयर धनराज थापाले गरेका थिए । अटो शोलाई मध्यनजर गर्दै शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको थियो । यस अघि कार्यक्रमको प्रचारप्रसारका लागि पोखरा उपत्यका मोटर रेस, केभ टु केभ मोटर साइकल र्याली, सरसफाइ कार्यक्रम गरिएको थियो । अटो सोमा बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने छ । प्रदर्शनी अवलोकन गर्न पुग्ने दर्शकहरूले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनीस्थल उपलब्ध गराई अमरसिंह मा.वि. सहयोगी संस्था बनेका छन् ।
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा शनिवार भएको २३ औं रक्तदानमा १ सय ३० युनिट रगत संकलन भएको छ । नयाँ रक्तदातालाई रक्तदान प्रति प्रोत्साहन गर्ने उद्देश्यले रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत “जीवन बचाउन रक्तदान गरौँ” भन्ने नाराका साथ आयोजना गरेको बृहत खुला रक्तदान कार्यक्रममा पुरुष १ सय १० र महिला २० गरि १ सय ३० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक आरजु बिष्ट “सल्यानी“ले बताए । ६० जना रक्तदाताले पहिलोपटक रक्तदान गरे । दृष्टिविहिन रक्तदाताले पनि रक्तदान गरे । पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले पहिलो रक्तदाता मञ्जित तिवारीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे । समाजलाई सुशुचित बनाउँदै सामाजिक उत्तरदायित्वप्रति रेडियोको महत्वपूर्ण भूमिका रहेको उनले बताए । रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले सबैको साथ र सहयोगले रेडियोले आफ्नो स्थापनाकालदेखि २३ औं संस्करण सम्म रक्तदान आयोजना गर्न सम्भव भएको भन्दै सहयोगका लागि सबैप्रति धन्यवाद व्यक्त गरिन् । प्रादेशिक रक्तसंचार केन्द्र पोखराका बरिष्ठ प्राविधिक महेन्द्र केसीले बर्षेनी रक्तदान आयोजना गरेर रेडियोले आम जनमानसमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्याग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ का जोन चेयरपर्सन श्रीकृष्ण न्यौपाने र निर्देशक बरदान ताङ्व् लामाले बोलेका थिए । रेडियोले स्थापना कालदेखि हालसम्म ८ हजार भन्दा बढी युनिट रगत सङ्कलन गरिसकेको महाप्रबन्धक नारायण पौडेलले जनाए । कार्यक्रममा प्रादेशिक रक्तसंचार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो ।
पोखरा । काठमाडौँमा पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी पत्रकारको मृत्यु भएको र विभिन्न सञ्चारगृहमा आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीले विरोधसभा गरेको छ। नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा पोखराको शहिद चोकमा उक्त कार्यक्रम गरेको हो । यसैबीच देशभरका पत्रकारसम्बद्ध विभिन्न संघसंस्थाले विरोध गरेका छन् । शुक्रबार प्रदर्शनकारी समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको शव जलेको अवस्थामा भेटिएको थियो । पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघसहित विभिन्न संघसंस्थाले सो घटनाप्रति दुःख व्यक्त गर्दै प्रेस स्वतन्त्रता तथा दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
पोखरा: यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ । आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार एक कार्यक्रमका बीच महायज्ञको आय व्यव विवरण सार्वजनिक गरेको हो । जसअनुसार यज्ञमा रु।३ करोड १ लाख ९२ हजार, ३ सय ५५ दान संकलन भएकोमा ५३ लाख ९४ हजार ६ सय २८ खर्च कटाई रु.२ करोड ४७ लाख ९७ हजार ७ सय २७ बचत हुन आएको महायज्ञका सहमहासचिव भेकबहादुर थापाले जानकारी दिनुभयो । उहाँले त्यसमध्ये ५५ लाख अक्षयकोषवापत प्राप्त हुन आएको पनि स्पष्ट पार्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सबैको साथ सहयोगले यज्ञ सफल भएको जनाउनु हुँदै अझै पनि सहयोग आउनेक्रम जारी रहेको बताउनुभयो। उहाँले दानको महत्वमाथि प्रकाश पार्नुहुँदै आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको क्रियाशिलताको प्रशम्सा गर्नुभयो । समितिका अध्यक्ष प्रेमबहादुर जिसीले यज्ञमा खट्नुहुने सबैप्रति आभार प्रकट गर्नुहुँदै २० वर्षसम्मको निरन्तर साधानाका कारण सराङकोटमा हालसम्मका संरचना निर्माण गर्न सफल भएको औँल्याउनुभयो ।उहाँले सराङकोटको स्तरबृद्धिमा सहयोग गर्ने पोखरा महानगर, गण्डकी प्रदेश सरकार, पोखरा क्षेत्रका स्थानीयवासी लगायत सबै भक्तजनप्रति धन्यवाद समेत प्रकट गर्नुभयो । वडा सदस्य समेत रहनुभएकी महायज्ञ मूल आयोजक समितिकी सहअध्यक्ष कल्पना ढकाल क्षत्रीले सराङकोट पोखरा क्षेत्रकै प्रसिद्ध धाम रहेको उल्लेख गर्नुहुँदै उक्त धामलाई अझै व्यवस्थित गर्दै लैजानुपर्ने स्पष्ट पार्नुभयो। कार्यक्रमका बीच महायज्ञमा सहयोग पु¥याउनुहुने आमा समूह, युवा क्लव, भजन समूह, वाजा समूह लगायत विभिन्न संघ संस्था एवम् व्यक्तिलाई सम्मान गरियो। सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा महायज्ञका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गर्नुभयो । सराङकोटमा वि।स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । यही फागुन १४ गते सराङकोट धामको राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो ।
पोखरा: नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं वार्षिक साधारण पोखरामा हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै साधारण सभा पोखरामा हुन लागेको जानकारी दिएको हो । चैत १६ गते पोखरामा हुने १२ औं वार्षिक साधारणमा सभामा ७ सय बढी प्रतिनिधिहरुको सहभागिता रहने महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रसाइलीले बताए । साधारणसभाको उद्घाटन नेपाल सरकारका सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । साधारण सभामा सुनचाँदी व्यवसायलाई मर्यादित , प्रतिष्पर्धी, गुणस्तरयुक्त, पारदर्शी र दिगो बनाउने उद्धेश्यले विभिन्न एजेण्डाहरुलाई समेटेर पोखरा घोषणापत्र समेत सार्वजनिक गर्ने अध्यक्ष रसाइलीले बताए ।
पोखरा: ६८ औं राष्ट्रिय दिवस कास्कीमा पनि विविध कार्यक्रमसहित मनाइने भएको छ । जिल्ला सहकारी संघ कास्कीको आयोजनामा भोलिदेखि विविध कार्यक्रम गरेर ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो । जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपक प्रकाश आचार्यले राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तर सहकारी स्तरीय बुद्धिचालदेखि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए । ‘६८ औं राष्ट्रिय सहकारी दिवस (मर्यादित सहकारीः समुन्नत समाज) भन्ने नारासहित मनाउँदै छौं’, महासचिव आचार्यले भने, ‘जिल्ला सहकारी संघ कास्कीले विविध प्रतियोगितादेखि अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेर मनाउँदै छौं ।’ उनका अनुसार राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित अन्तर सहकारीस्तरीय बुद्धिचाल प्रतियोगितामा ३० प्रतियोगीको सहभागिता रहेको छ । यस्तै सहकारी दिवसमो अवसरमा अन्तर विद्यालयस्तरीय निबन्ध प्रतियोगिता समेत आयोजना गरिएको छ । ‘आजको सहकारी उत्पादनमा साझेदारी’ र मर्यादित सहकारीः समुन्नत समाज’ शिर्षकमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सञ्चालन हुनेछ । सहकारी दिवसको अवसरमा साइकल ¥याली, रक्तदान, सरसफाई, अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ । सहकारी दिवसको दिन चैत २० गतेको साँझ दिप पञ्वलन समेत आयोजना गरिएको छ। जिल्ला सहकारी संघ कास्कीका पूर्वअध्यक्ष एवं पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले यो बेला सहकारी क्षेत्रमा देखिएको निरासा समाधान गर्न दिवस सफल हुने अपेक्षा राखे । जिल्ला सहकारी संघ कास्कीमा ४ सय ४१ वटा सहकारी आवद्ध छन् । संघमा आवद्ध ४ वटा सहकारी समस्या ग्रष्ट सूचीमा रहेको जनाइएको छ ।