पोखरा:   शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरिएको छ ।  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरील...

पोखरा:  सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव  बुधबार सकिएको छ।      महायज्ञमा कुल २ करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिनुभयो। यसअघि मंगलबारसम्म २ करोड ८ लाख दान संकलन भएकोमा आज बुधबार मात्रै ८० लाख बढी दान थपिएको हो। योसँगै सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले यज्ञ मार्फत संकलनको लक्ष्य राखेको ३ करोड करिव पुरा भएको छ। आज महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबाट त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गर्नुभएको छ।      त्यस अवसरमा भनाई राख्नुहुँदै महानगर प्रमुख आचार्यले सराङकोट धामको रुपमा विकास भएकोमा खुशी व्यक्त गर्नुहुँदै पोखरा भ्रमण वर्ष सफल बनाउन सराङकोट धामले भूमिका खेल्ने विश्वास लिनुभयो।      अव पर्यटक हिमाल हेर्न, सुर्योदय र सुर्यास्तको अवलोकन गर्न मात्रै सराङकोट आउने होइन, यो अव कोट मात्रै रहेन, सराङकोटमा अन्य धेरै आयाम थपिएका छन् प्रमुख आचार्यले भन्नुभयो ।      प्रमुख आचार्यले सराङकोटमा निर्माण गर्न बाँकी संरचना बनाउन महानगरले सहयोग गर्ने विश्वास दिलाउनु हुँदै सराङकोट धार्मिक पर्यटकीय स्थल भएको औँल्याउनुभयो।      सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले सबैको साथ सहयोगबाट महायज्ञ सफल भएको जनाउनु हुँदै आगामि दिनमा पनि सहयोगको अपेक्षा सुनाउनुभयो ।वास्तवमै सराङकोट स्वर्गको टुक्रा हो, यसको हामी सबै मिली संरक्षण एवम् प्रवद्र्धन गर्नुपर्दछ, त्यसैमा आम पोखरेलीको कल्याण छ, उहाँले उल्लेख गर्नुभयो।      यज्ञका सहअध्यक्ष समेत रहनुभएका वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले धेरै दानदाताको सहयोगबाट सराङकोट धाम सिञ्चीत भएको स्पष्ट्र पार्नुहुँदै उत्साहजनक सहभागिताका बीच यज्ञ सफल भएको धारणा राख्नुभयो।  कार्यक्रमका बीच प्रमुख वाचक भागवत् भाष्कर प.कमलनयन गौतम सहित सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई सम्मान गरियो।      महायज्ञमा कास्की, तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दी, धादिङ समेतबाट गरी करिव १ लाख ६० हजार भक्तजनले सहभागि जनाएको महायज्ञका महासचिव शम्सेरबहादुर थापाले जानकारी दिनुभयो ।यि मध्ये करिव ६० प्रतिशत अन्नपूर्ण केवलबार मार्फत तथा अन्य महायज्ञका निःशुल्क वस एवम् स्वस्र्फूत रुपमा सराङकोट धाम पुगेको आयोजकले जनाएको छ । सराङकोटमा वि।स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ।  

पोखरा:  पोखरा महानगरपालिकामा सञ्चालित ईसिडीदेखी कक्षा ३सम्म शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ ।  इनोभेसन इन एजुकेसन (इसिइसि) को पहलमा महानगर क्षेत्रमा १२ वटा विद्यालयहरूमा सञ्चालित उक्त कार्यक्रमको प्रभाव सकारात्मक देखिएको समीक्षाका क्रममा पाइएको हो ।  परियोजना अन्तरगत इसिइसिले शिक्षकहरूको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका प्रतिनिधिहरूका लागि नेतृत्व विकास, अन्तर्राष्ट्रिय बाल विकास सहजकर्ता प्रशिक्षण तथा शैक्षिक सुधारका लागि निरन्तर अनुगमन, परामर्श तथा सहायता लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । महानगर क्षेत्रका विभिन्न क्लष्टरका १२ वटा विद्यालयहरूमा २०७९ पौषदेखि यो कार्यक्रम शैक्षिक सुधार परियोजनाका रूपमा सञ्चालनमा रहेको छ ।  सन् २००१ मा स्थापना भएको उक्त संस्थाले देशभर विभिन्न सरकारी तथा निजी विद्यालयहरूसँग सहकार्य गरी शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको इसिइसिका प्रबन्ध निर्देशक पीताम्बर न्यौपानेले बताउनुभयो ।  कार्यक्रममा इसिइसिका अनुसन्धान तथा विकास विभागका उपप्रमुख सिङ्गी थिकेपा ल्होमी र परियोजना इन्चार्ज विजय तामाङले परियोजनाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।  पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले परियोजनाले विद्यालय तहको शैक्षिक सुधारमा सकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो । 

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभएको छ । उहाँले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको बताउनुभयो ।   नेपाल वितरक महासंघको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको शुभारम्भ गर्दै उहाँले निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत भएकाले अर्थतन्त्रको ऊर्जा भएको उल्लेख  गर्नुभयो ।   लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले व्यापार, ढुवानी तथा वितरणमा सहज वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनुपर्नेमा जोड दिनुभयो ।   व्यापार व्यवसाय चलायमान बनेमा मात्र राज्यको अर्थतन्त्र सुदृढीकरण हुने बताउँदै उहाँले वितरकहरुको काम, कर्तब्य र अधिकारलाई समेट्ने गरी स्पष्ट कानुन नबन्दा विभिन्न समस्याहरु भोग्नु परेको समस्याबारे आफू जानकार रहेको बताउनुभयो ।   ‘सामानहरु देशका विभिन्न ठाउँमा पु¥याएर सेवा प्रवाह गर्ने क्रममा विभिन्न कठिनाईहरु भोग्नुपरेको गुनासो अवगत नै छ । आर्थिक मन्दी, बढ्दो बैंक ब्याजदरका कारण व्यवसायीहरु मारमा परेको अवस्था छ ।’ उहाँले भन्नुभयो – ‘नीतिगत रुपमा व्यवसायलाई कुनै अप्ठ्यारो परेको भए त्यसमा राज्यले सहजीकरण गर्नुपर्नेछ ।’     आफ्ना व्यवसायिक हकहितलाई सर्वोपरी राखी सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढ्नु संस्थाको पवित्र उद्देश्य रहनुपर्नेमा प्रदेश प्रमुख भट्टले जोड दिनुभयो । ‘लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनु राज्यको दायित्व हो ।’ भट्टले भन्नुभयो ।   महासंघका अध्यक्ष हरिराज पन्तको अध्यक्षतामा कार्यक्रम भएको थियो । पन्तले स्वदेशमै उत्पादन भएका एवं बाह्य बजारबाट आयात गरिएका विभिन्न उत्पादनहरु वितरण तथा बजारीकरणमा संलग्न व्यवसायीहरुको अभिभावकीय संस्थाका रुपमा रहेको यो महासंघ ४५ जिल्लामा फैलिसकेको र ६ हजार बढी व्यवसायी आवद्ध रहेको बताउनुभयो ।   नेपालमा उत्पादित तथा विदेशबाट आयातित वस्तुहरुको विक्री वितरण गर्न एकै प्रकृतिका व्यवसायीहरू एकीकृत भई २०६६ सालमा नेपाल वितरक महासंघ स्थापना भएको हो ।   अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

पोखरा: नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक  नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग बाणिज्य संघको हलमा सम्पन्न प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ । प्रतियोगितामा पुर्णिमा कला केन्द्र द्धितिय, बागिना कला केन्द्र तृतिय तथा नेपाल तामाङ घेदुङ सिम्पानी इकाइले सान्तन्वा स्थान हासिल गर्न सफल भए । विजेता प्रथम, द्धितिय, तृतिय एवम सान्तन्वा स्थान हासिल गर्ने टोलीले क्रमश रु ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेताहरुलाई गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपम वाइवा तामाङ, पुर्व अध्यक्ष धनप्रसाद तामाङ, केन्द्रिय सदस्य सुजन लामा, नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष जसपाल पाख्रिन तामाङ, उपाध्यक्ष रामबहादुर ब्लोन शिबु, नेपाल तामाङ घेदुङ कास्की अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराका अध्यक्ष अमन तामाङ लगातयले वितरण गरे ।  कार्यक्रममा तामाङ समुदायको संस्कृतिमा योगदान गरे वापत नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष तथा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका प्रथम उपाध्यक्ष जसपाल पाख्रिन तामाङ, बरिष्ठ नृत्य निर्देशक अमर गोम्जा र गायक उर्गेन दोङ्गलाई सम्मान गरिएको थियो ।

पोखरा:    नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ ।   आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्ला संस्करणजस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने जानकारी दिएको हो । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो ।     सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए ।   फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको छ । देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ ।   फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ ।   यसपटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत प्रवचनसँगै फेस्टिभल सुरू हुने कार्यकारी निर्देशक भारीले जानकारी दिए ।   उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएओयू)को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए ।    विद्वत् प्रवचनलगत्तै अध्यात्म र संघर्षमाथि अभिनेत्री मनीषा कोइराला र पत्रकार विजय कुमारको विशेष संवाद हुनेछ । यसैगरी महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ ।    फेस्टिभलमा उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण हुने आयोजकले जनाएको छ ।   नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मको प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो हुन् ।    नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ ।    उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् । उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन् ।    फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ ।   अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए ।   ८९ वर्षीय सिंहको एक हजार ३२० पृष्ठको उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ ।    परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई संगीतमय बनाउनेछ । सांगीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै नेपाली संगीतका पप–सम्राटका रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् ।    परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सांगीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय संगीतको समिश्रण सुन्न सकिन्छ ।   सिर्जनाको अर्को विधा चित्रकलालाई यस वर्ष पनि प्राथमिकता दिइएको कार्यकारी निर्देशक भारीले सुनाए । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिने उनले जानकारी दिए ।    विश्वप्रसिद्ध भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभलको साङ्गे हुनेछ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौं पुस्तकले विश्वव्यापी चर्चा पाएका छन् ।    शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फेस्टिभलका निर्देशक अजित बरालले सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभलको आयोजनापछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको र यो निकै खुसीको कुरा भएको बताए ।   ‘सुर्खेत, काठमाडौं, पोखरा, धादिङ, काँकडभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै छ,’ उनले भने, ‘यस्ता फेस्टिभलले ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएको छ । यसको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जान्छ ।’    एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले सञ्चारको क्षेत्रबाट मात्र नभई कला र साहित्यबाट पनि आफूहरू समाजसँग जोडिएको बताइन् ।   कला–संस्कृति र साहित्य समाजको धरोहर भएको र एनसेल फाउन्डेसनमार्फत फेस्टिभलसँग १० वर्षपछि फेरि आबद्ध हुन पाएकोमा उनले खुसी व्यक्त गरिन् । ‘कला, साहित्य र संस्कृति हाम्रा धरोहर हुन् । यिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो । नेपाल लिटरेचर फेस्टिभलका सुरुका वर्षहरुमा हाम्रो सहयात्रा एकदमै राम्रो रह्यो ।   एक दशकपछि पुनः सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौं ।’ एनसेल फाउन्डेसनले सञ्चार, प्रविधि, शिक्षा, स्वास्थ्य, वातावरण, कला, संस्कृतिलगायत क्षेत्रमा २ अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको उनले जानकारी दिइन् ।    फेस्टिभल आयोजक सदस्य एवम् पत्रकार केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्वबारे चर्चा गरे ।   साहित्यले समाजमा पु¥याएका योगदानहरूका उदाहरण दिँदै उनले भने, ‘साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेलेको हुन्छ ।   सँगै यसले अल्पसङ्ख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्छ । नेपाली समाज पनि अझ बढी सहिष्णु, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने हाम्रो चाहना छ । त्यही कार्यलाई टेवा पु¥याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको हो ।’   फेस्टिभल आयोजक सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पु¥याएको विश्वास व्यक्त गरे ।    फेस्टिभलको आयोजक ३६ लाख ७३ हजार रूपैयाँ घाटामा रहेको कार्यकारी निर्देशक निरज भारीले पत्रकार सम्मेलनमा जानकारी गराए । एघारौं संस्करणमा एक करोड १० लाख ९२ लाख रूपैयाँ आम्दानी र एक करोड १४ लाख ७६ हजार रूपैयाँ खर्च भएको उनले सुनाए ।   गत संस्करणमा मात्र ३ लाख ८३ हजार ३ सय ६० रूपैयाँ घाटा भएको थियो । ‘दसौं संस्करणमा हामीसँग टाइटल स्पोन्सर थिएन । त्यसैले त्यो संस्करणको घाटा अहिलेसम्म व्यहोर्नुपरेको छ,’ भारीले भने, ‘पोखराका साहित्य प्रेमी र देशका अग्रज र समकालीन लेखकहरूको साथले हामीलाई यो फेस्टिभल निरन्तर गर्न झकझकाएको छ । नाफा घाटाभन्दा पनि फेस्टिभलले साहित्य र कला क्षेत्रलाई के दियो भन्ने प्रमुख विषय हो ।’    फेस्टिभलको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । फेस्टिभललाई बुद्ध एयरले सम्वद्र्धन गरेको छ ।   पोखरा महानगरपालिका प्रवद्र्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ । त्यस्तै उप–प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिएका छन् । 

पोखरा:  पर्यटकीय राजधानी पोखरामा नयाँ वर्षको स्वागतार्थ २०औँ संस्करणको फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ ।  होटल सङ्घ पोखरा नेपालले आगामी चैत ३० देखि २०८२ वैशाख १ गतेसम्म पोखराको लेकसाइडमा उक्त महोत्सव आयोजना गर्न लागेको हो ।  महोत्सवका संयोजक एवं होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरी काम अगाडि बढाइएको बताउनुभयो ।  नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको उल्लेख गर्दै उहाँले यसले स्वदेशी एवं विदेशी पर्यटलाई पोखरामा आकर्षित गर्न तथा फेवा तालको संरक्षणमासमेत मद्दत पुग्ने बताउनुभयो । अध्यक्ष सुवेदीका अनुसार ड्यामसाइडदेखि गैराको चौतारासम्मको क्षेत्रमा  सडकमै महोत्सव आयोजना हुनेछ । विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने कार्यक्रम, पर्यटकीय कक्ष र खेलकुदका कार्यक्रमसमेत महोत्सवमा समेटिने छन् । महोत्सवका आगन्तुक र पोखरा आउने पाहुनालाई सङ्घले प्रदान गर्ने विशेष छुटको घोषणा छिट्टै गरिने सङ्घले जनाएको छ ।  निकट भविष्यमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाटसमेत अन्य मुलुकलाई जोड्ने गरी उडानको तयारी भइरहेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले पोखराको पर्यटनप्रति आफूहरु आशावादी भएको बताउनुभयो । 

पोखरा:  ​ निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युट प्रालिले १२ औं वार्षिकोत्सवको अवसरमा शैक्षिक मेला सम्पन्न गरेको छ ।     इन्स्टिच्युटले १२ औं वार्षिकोत्सवको अवसरमा पोखरामा पहिलो पटक निशुल्क शैक्षिक परामर्श मेला आज (शुक्रबार) सम्पन्न गरेको हो ।    उक्त मेलाको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ काठमाडौंका द्धितिय उपाध्यक्ष भुवन बहादुर क्षेत्रीले गरे ।    सो अवसरमा बोल्दै क्षेत्रीले उच्च शिक्षा हाँसिल गर्न विदेश जान चाहनेहरुका लागि उक्त कार्यक्रम फलदायी हुने धारणा राखे ।   ‘विदेश गएर पढ्न चाहनेहरुका लागि यो कार्यक्रमले सघाउ पुर्याउने विश्वास लिएको छु, उनले भने, ‘विद्यार्थी भाइबहिनीहरुले इच्छाएनुसार उच्च शिक्षाका लागि विदेशको राम्रो कलेजहरुमा पठाएर दक्ष बनाउन योगदान दिएको छ । त्यसैले आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्दछु ।’   उनले फरक प्रसंगमा बोल्दै शैक्षिक परामर्श संघसहितका विभिन्न कन्सल्टेन्सीलाई विद्यार्थीहरुलाई बाहिर पठाए भन्ने लान्छना लागाउँदै आएकोसमेत टिप्पणी गरे ।   ‘नेपाली विद्यार्थीहरु बाहिरीए । नेपालबाट युवाहरु पलायन भए भनेर हामीलाई धेरै खालको शैक्षिक परामर्शको क्षेत्रमा लान्छना लाग्ने गरेको छ, उनले भने, ‘हामीले पुर्वीय शैक्षिक संस्कृति र सभ्यतातर्फ फर्केर हेर्ने हो भने, हामी कुनै गुरुको शिक्षा पद्धतिबाट विकसित हुनै यो फेजमा आएका हौं, हाम्रो शिक्षाको विकासलाई हेर्ने हो भने आफुले प्राप्त गरेको ज्ञान मात्र प्राप्त हो भनेर त्यो भुमरी तोडेर बाहिर नआएको भए आजको अवस्थामा आउने थिएनौं ।’   उनले अवसरका लागि विद्यार्थीहरुलाई विभिन्न बहानामा रोक्न नहुने उल्लेख गरेका थिए ।   यस्तै निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटका अध्यक्ष किसान सुनारले १२ औं वार्षिकोत्सवका अवसरमा पहिलो पटक वैदेशिक शिक्षासँग जोडिएर निशुल्क शैक्षिक मेला आयोजना गरेको बताए ।    ‘विशेष गरेर हामीले १२ औं वर्षको विशेष दिन पारेर पहिलो प्रयासको रुपमा वैदेशिक उच्च शिक्षासँग जोडिएर शैक्षिक मेला आयोजना गरेका छौ,सुनारले भने, ‘यस शैक्षिक मेलाबाट उच्च शिक्षाका लागि विदेश जानुभन्दा पहिलो विद्यार्थी, अभिभावकहरुले त्यस क्षेत्रको बारेमा बुझ्ने अवसरमा लिनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’   उनले यस निशुल्क शैक्षिक मेलालाई निरन्तरता दिने बताए ।   ‘हामीले वैदेशिक उच्च शिक्षासँग जोडिएका विविध विषय र कार्यक्रमहरुलाई निरन्तरता दिनेछौं । हामीले जापान मात्र होइन, अष्टे«लिया, युके र युरोपका केही देशहरुलाई जोडेर यात्रा सुरु गरेका छौं, उनले भने, ‘हामीले विभिन्न युनिर्भसिटीले दिने छात्रवृत्तिको सन्दर्भलाई जोड्न यो एस्पोको आयोजना गरेका हौं ।’   कार्यक्रममा नेपाल बैंक प्रादेशिक कार्यालय गण्डकीकी प्रमुख सचिता पराजुली, भाषा संघ नेपालका उपाध्यक्ष मोती श्रेष्ठ, नेपाल शैक्षिक परामर्श संघ कास्कीका अध्यक्ष ओमप्रकाश शर्मा, युनि क्याम्पस ग्लोबल गण्डकीका सञ्चालक हरिश आचार्य लगायतले बोलेका थिए ।   कार्यक्रमकै अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा ज्योती ढकाललाई सम्मान गरिएको थियो ।     निशुल्क शैक्षिक मेलामा सहभागी भएका विद्यार्थीहरुलाई जापानिज भाषा तयारी कक्षा, आइएल्टस्, पिटिईका (JAPANESE LANGUAGE, IELTS, PTE) लागि ५० प्रतिशत छुट दिइएको छ ।   शैक्षिक मेलाका अवसरमा मध्यान्न १२ बजेदेखि १ बजेसम्म जापानमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गरी सेमीनार समेत सञ्चालन भएको थियो ।   यस्तै १ देखि २ बजेसम्म बेलायत (युके) २ देखि ३ बजेसम्म अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि सेमीनार सञ्चालन भएको थियो ।    यस्तै जापानमा कामदार भिषा (एसएसडब्लु) र जापानमा नै कामदार भिषामा (ब्याचलर कार्यक्रम) विद्यार्थीहरुलाईसमेत निशुल्क परामर्श दिइएको थियो ।    उक्त शैक्षिक मेलामा युनिक्याम्पस ग्लोबल, इडु ब्रिज र पोखरा मल बिजनेश एशोसियसनसँगले सहकार्य गरेको थियो ।        

पोखरा:  नेकपा (एमाले) कास्की जिल्ला कमिटीले तीन महिने ‘जरा अभियान’ अन्तर्गत भोलि (शुक्रबार) जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।   आगामी चैतसम्म सञ्चालन हुने यस ‘जरा अभियान’ले स्थानीय तहमा पार्टी तथा जनवर्गीय संगठनलाई मदबुद बनाउने उद्देश्यसहित अभियान थालिएको हो ।   पोखरा सभागृहमा हुने कास्की जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, खगराज अधिकारी तथा स्थायी कमिटी सदस्य किरण गुरुङ लगायतको उपस्थिति रहने कास्कीका सचिव दर्शन लामाले जानकारी दिए ।   उनका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ ।    गुटबन्दीको अन्त्य  गर्नका लागि जरा अभियानले महत्वपूर्ण योगदान दिने उनको विश्वास छ ।    ‘जरा अभियान’को उद्देश्य पार्टीको संगठनात्मक संरचनालाई बलियो बनाउने त हो नै र पार्टीको सकरात्मक र रचनात्मक काम जनतासामु पेश गर्नेछ, उनले भने, ‘यतिमात्र नभएर यो अभियानले पार्टीभित्रको गुट उपगुटको प्रथालाई सदाका अन्त्य पनि गर्नेछ ।’    उक्त अभियानले कास्की जिल्लाका सबै तहका कमिटीलाई एकजुट गरेर जनसंगठनको विस्तार र पार्टी सदस्यता बढाउने, जनप्रतिनिधिहरूसँगको समन्वयलाई सुधार्ने, पार्टीका गतिविधिहरू र योजनाहरूलाई जनतासम्म पुर्याउने र जनप्रतिनिधिहरूसँगको सहकार्यलाई बढाउदै लैजाने, जनसंगठनहरूको सक्रियता बढाउने लक्ष्य लिएको छ ।

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका –१० र ११ स्थित घान्द्रुकमा आजदेखि घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको आयोजनामा आज देखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।  घान्द्रुक पर्यटन महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे ।  महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार भएको बताए ।    ‘हामीले घोषणा गरेका छौं अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार हो, यी चार वटा आधार मध्ये महत्वपूर्ण पर्यटन हो, अध्यक्ष केसीले भने, ‘पर्यटनबाट गाउँपालिकाले समृद्ध हासिल गर्न सक्दछ, त्यसैले हामीले धेरै भन्दा धेरै पर्यटक भित्राउन आवश्यक छ ।’ अध्यक्ष केसीले घान्द्रुक आउने सडक सहज बन्दै गएकाले पर्यटकलाई आकर्षण गर्नका निम्ति घान्द्रुकको मौलिकता जोगाउन आवश्यक रहेको बताए ।  ‘हिजो हाम्रो अर्गानिक गाउँ सबैले हेर्न आउने गाउँ आज कहिकहि बिग्रे जस्तो देखिन्छ, मेरो आग्रह छ संरचना जसरी बनाएपनि त्यसलाई फेरी मौलिकतामा ढालौं, धालौं  हिजो हाम्रा जे परम्परा थिए, जे हेर्न आउथे त्यसलाई फेरी रुपान्तरण गरौं, भएकालाई राम्रो गरौं, घान्द्रुक अरु गाउँभन्दा भिन्न गाउँ हो’, उनले भने, ‘अब घान्द्रुक आउने सडक बन्दै छ, कलाभिरको अप्ठ्यारो बाटो बन्दै छ, पर्यटक घान्द्रुक आउन कुनै समस्या छैन्, आएका पर्यटकलाई बस्ने, घुम्ने वातावरण बनाउने हो सोच्न पर्ने छ,हिजोको घान्द्रुक भन्दा आजको घान्द्रुक भिन्न छ गुनासो छ, त्यसैले घान्द्रुकको मौलिकता जोगाउने गरी संरचना बनाउन आवश्यक ।’ उनले घान्द्रुक पर्यटन क्षेत्र भएकाले यसको विकास गर्ने गाउँपालिकाको कर्तव्य भएको समेत बताए । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुकबाट एबिसी, पुनहिल घोडेपानी लगायतका पदमार्गसँग जोडिएकाले घान्द्रुक पर्यटकको हवको रुपमा अगाडि बढेको बताए ।  ‘ घान्द्रुकबाट अन्नपूर्ण बेस क्यापसम्मको, घोडेपानी जाने, मुल्डे जाने र मुल्डेबाट छोम्रोङ जाने नयाँ पर्यटन पदमार्गसँग जोडिएको त्यस्तै गरी मर्दी हिमाल जाने बाटाहरु भएका हिसाबले घान्द्रुक पर्यटनको हबको रुपमा अगाडि बढिरहेको देख्छु, कडरियाले भने,‘घान्द्रुक आउने पर्यटक संस्कृति र प्रकृतिसँग रमाउने भएकाले घान्द्रुकबासीहरुले आफ्नो संस्कृति जोगिने गरी संरचना बनाउन आवश्यक छ ।’ महोत्सवको उद्घाटन समारोहमा घान्द्रुक कल्चर रिसोर्टका सञ्चालक कुलप्रसाद गुरुङलाई सम्मान गरिएको थियो ।  घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत लामा गुरुङले भोलिदेखि खुल्ला क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सुरु हुने बताए ।  उनका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र  उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको  ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।  पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।  घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।