पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार अम्बोटमा आयोजित सभामा महोत्सवको उद्घाटन गरे । होटल संघ पोखरा नेपालले आयोजना गरेको महोत्सव वैशाख १ गते सम्म चल्ने छ । यसअघि खहरे र ड्यामसाइडबाट निकालिएका आमा समूहसहितका विशाल झाँकीसहितका र्याली सभास्थलमा पुगेका थिए । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव तिनै दुई स्थल विचको सडकमा संचालन हुने छ । पंचैवाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सवका आकर्षण हुन् । महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहेको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहेका छन् । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्दै छन् । अहिले पोखराका ८० प्रतिशत होटलको अकुपेन्सी ८० प्रतिशत नै पुगेको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने उनले बताए । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको उनले सुनाए । प्रमुख अतिथि एवं महानगर प्रमुख आचार्यले पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसावले उत्कृष्ट रहेको बताउँदै यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको बताए । पोखराको यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको उनले जानकारी दिए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउँदै उनले पोखराको नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिंदै जाने विश्वास व्यक्त गरे । पोखरामा जलन अस्पताल निर्माणका लागि कोरियाली सहयोगमा प्रारम्भिक काम अगाडि बढेको जानकारी पनि उनले दिए । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटनबाट मात्र आर्थिक समृद्धि संभव रहेको बताए । उनले पोखरामा पर्यटन सम्वन्धि लगानी र ब्राण्डहरु थपिंदै गएको र यो सुखद पक्ष भएको सुनाए । होटल संघ नेपालका केन्द्रिय सदस्य एवं आयोजक संघको सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले फेवा तालको माथिल्लो भागमा माटो निकाली सानो ताल बनाएर त्यहाँ जलगतिविधि संचालन गर्न सकिने सुझाव राखे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र महिला संजाल वडा ६ कि अध्यक्ष बबिता मल्लले पनि भनाई राखेका थिए । एसके डान्स ट्रेनिङका कलाकारले सो अवसरमा नाच देखाएका थिए । प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहेका छन् । संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ । यसलाई वाराही हस्पिटालिटी ग्रुपले प्रायोजन गरेको छ । यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् । फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा.ली, सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि. फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहेका छन् । हेर्नुहोस् तस्बिर:-
पोखरा: साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दज्र्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार तामाङले दज्र्यु संलापमा तामाङ समुदायमाथि सिङ्गै राज्यले गरेको विभेदको जबाफ खोजिएको बताए । प्रस्थान नामक उपन्यासका लेखकसमेत रहेका तामाङले दर्ज्यु संलापमा आख्यानात्मक निबन्धहरू समेटिएको धारणा राखे । “सामाजिक कुरीति, कुसंस्कार, विभेद, अन्यायप्रति सिर्जनशील विद्रोह बनेकी छन् निबन्धकार” कुमारले भने, “सभ्यता, धर्म, संस्कारको झेली खोलभित्र लुकाइएको असभ्य, अधार्मिक अनि कुसंस्कारी अभ्यासमाथि रचनात्मक विद्रोह पोखिएको छ कृतिभित्र ।” नेपाली समाजको जीवन्त प्रतिविम्बका रूपमा कृति आएको भन्दै उनले कृति पठनीय रहेको विचार राखे । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा निबन्धकार कुमारी लामाले खास गरी तामाङ समुदायका विश्वासहरूलाई समेटेर निबन्ध लेखेको बताइन् । समावेशी समाजको आवाजलाई मुखरित गर्ने प्रयास गरेको बताउँदै लामाले आदिवासी सौन्दर्य चेतनाका साथै पृथ्वीमा भएका सम्पूर्ण अस्तित्वलाई सम्बोधन गर्नुपर्ने धारणा निबन्धमार्फत प्रस्तुत गरेको भनाइ राखिन् । रैथाने संस्कार र पर्यावरणमैत्री विकास हुनुपर्ने बताइन् । विकासका नाममा भएका मानव सभ्यतामाथिको अत्याचारलाई लेखकहरूले ध्यान दिनुपर्ने उनको विचार थियो । कोही मातृभाषीले नेपाली भाषा शुद्ध प्रयोग गर्दा ट्रोलको सिकार बन्नुपर्ने र कोही नेपाली भाषा शुद्ध प्रयोग गर्न नसक्दा ट्रोलमा पर्नुपर्ने अवस्था आएको अनुभवसमेत सुनाइन् । यसअघि ‘उज्यालो अन्धकार’ निबन्ध सङ्ग्रह ल्याइसकेकी लामाको ‘दज्र्यु संलाप’ दोस्रो निबन्ध सङ्ग्रह हो । दर्ज्यु संलापमा समाज संवार्ता, सैलानी समय र दृश्य अदृश्य गरी ३ खण्डमा १७ ओटा निबन्ध समेटिएका छन् । कार्यक्रममा गौरी तमू, सुरज पौडेल, दीपक पराजुली, प्रवीण बडगामीलगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि बहस गर्दै आएको छ ।
पोखरा: ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबलतर्फ युके लण्डन र घाचोक उपाधिका लागि भिड्ने भएका छन् । क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार युके लण्डन र टि गार्डेनबीच आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा टि गार्डेनलाई २५–१८, २५–२० र २५–१९ को सोझो सेटले पराजित गर्दै युके लण्डन फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा घाचोकले स्याङ्जालाई ११–२५, २५–१८, २५–२१ र २३–२५ को सेटमा पराजित गर्दै फाइनलमा युके लण्डनसँगको भेट पक्का गर्याे । उक्त फाइनल खेल शनिबार हुने खेल संयोजक अनोद गुरुङले जानकारी दिए । उनका अनुसार तृतीय स्थानका लागि भने टि गार्डेन र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ यसअघि नै हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेका छन् । उक्त खेल पनि शनिबार नै सम्पन्न हुने गुरुङले बताए । कुल २४ टिमको सहभागिता रहेको पुरुषतर्फको विजेता टिमलाई नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव निरोज गुरुङले बताए । उनका अनुसार उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ । यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ । गत २४ गतदेखि सञ्चालनमा रहेको सो मेलामा खेलकुदका गतिविधिसँगै विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुँदै आएको छ ।
पोखरा: होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले स्थानीय अम्मटमा सडकमा नै महोत्सवको उद्घाटन गरिने जानकारी दिए । उनले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुती रहने उनले बताए । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ । पोखराको खहरेचोकदेखि ड्यामसाइड विचको सडकमा आयोजना गरिने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् । अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले सुनाए । प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ । यसलाई वाराही हस्पिटालिटी ग्रुपले प्रायोजन गरेको छ । यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् । महोत्सवका अवसरमा स्थानीय खहरे र ड्यामसाइडबाट झाँकी निकालिने छन् । फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा।ली, सह प्रायोजक वरुण वेभरेज लि।को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि। फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहनेछन् ।
पोखरा: पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार शिवराज कँडेलको मृत्यु भएको छ । पोखरा–९ बसपार्कमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा पोखरा चाउथे घर भएका शिवराज गम्भिर घाइते भएका थिए । पोखरा–९ बसपार्कमा ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाइते भएका स्कुटरमा सवार ५३ वर्षीय कँडेलको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रकले ठक्कर दिँदा स्कुटर चालक २३ वर्षीय सुस्मिता कँडेलको हात र घुँडामा चोक लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने ट्रकसहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ
पोखरा: नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डलाई बुधबार एक कार्यक्रमका बिच जिल्ला एथ्लेटिक्स संघ कास्कीले सहयोग गर्ने घोषणा गरेको छ । एथ्लेटिक्स संघ कास्कीका अध्यक्ष गजबहादुर गुरुङले अवार्ड सम्पन्न गर्न ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको हो । पोखरा स्पोर्टस् अवार्डले खेलाडीको मनोवल उच्च राख्न योगदान पुराएको र समग्र खेल क्षेत्र तथा खेलाडीको लागि आयोजना हुने अवार्डलाई सदैव संघको साथ रहेको जिल्ला एथ्लेटिक्स संघ कास्कीका अध्यक्ष गजबहादुर गुरुङले बताए । खेलप्रेमी तथा खेल संघसंस्थाको साथ सहयोगले नै स्पोर्टस् अवार्ड यो उचाईसम्म पुगेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरले बताए । यस पटकको अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छभने उदीयमान खेलाडी विधाको लागि सहारा क्लब पोखराले प्रायोजन गरिसकेको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्र्स अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका सचिव राजु गिरीले जानकारी दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।
पोखरा: नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपालले गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेलकुदको क्षेत्रमा पदक ल्याउँदै योगदान दिने खेलाडी, प्रशिक्षक, सङ्घ संस्था, पत्रकार, खेलकर्मीलाई वर्षेनी सम्मान गर्दै आइरहेको छ । आगामी बैशाखमा हुने अवार्डको तयारीमा जुटेको मञ्चलाई टाइगर ग्रुपले वर्ष उत्कृष्ट प्रशिक्षक विधा प्रयोजन गर्ने सम्झौता भएको हो । टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले गण्डकी प्रदेशको खेलकुदलाई उचाइमा पुर्याउन स्पोर्ट्स अवार्डले महत्वपूर्ण कदम चालेको बताए । उनले खेलाडीलाई खेल खेलेपछि पाउने भनेकै सम्मान रहेको र यस्ता किसिमका अवार्डहरूले थप उर्जा मिल्नेमा आशावादी रहेको बताए । मञ्चका अध्यक्ष एमबी आस्था मगरले अवार्डलाई सम्पन्न गर्न टाइगर ग्रुपको साथ अमूल्य रहेको सुनाए । टाइगर ग्रुपले गर्दै आइरहेको टाइगर कपले अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त गरेको र यसले भलिबललाई उकास्न थप मद्दत गरेको सुनाउँदै गण्डकी प्रदेश भित्र रहेका प्रतिभावान् खेलाडीसँगै प्रशिक्षक, खेल सङ्घ वा क्लब, खेलकर्मी तथा पत्रकारलाई समेत हौसला प्रदान गर्नका लागि अवार्ड प्रदान गर्दै आइरहेको सुनाए । आफूहरू अवार्डको तयारीमा जुटिरहेको आगामी दिनमा समेत दुई संस्थाबीचमा भाइचाराको सम्बन्ध प्रगाढ रहने सुनाए । अवार्डका लागि सहारा क्लब पोखराले उदीयमान खेलाडी विधा यस अघि नै प्रायोजन गरिसकेको छ भने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले विशेष सहयोग रहने छ । --
१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले आलुको पहाडसँगै आ–आफ्नो तस्विर खिच्ने गर्नुभएको छ र सामाजिक संजालमा राख्ने पनि । यहि चैत २४ गतेबाट सुरु १३ औं महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ ।यतिवेला महोत्सवको मुख्य आकर्षणका रुपमा आलुको पहाडसँगै तस्विर खिच्ने कार्य हुन पुगेको महशसु गर्न सकिन्छ । तस्विर खिच्न बुढा, पाका देखि अनुज एवम् तन्नेरी पुस्ता समेत हैसिएको भेटिन्छ । सम्झना पनि हुन्छ, कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण पनि छ, हेमजा कृषिका लागि उर्वर भूमि हो मंगलबार आज आलुको पहाडसँगै तस्विर कैद गर्दै गरेकी स्याङजा सेतीदोभान हाल छोरेपाटन निवासी जानुका ढकालले बताइन् । मंगलबारसम्म २५ हजार दर्शक बढीले आलु महोत्सव अवलोकन गरेकोमा ४ सय ५० घरपरिवारले आलु खरिद गरी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनले हालसम्म ५ लाख बढीको आलु कारोवार भएको पनि सुनाए । महोत्सव अन्तर्गत मंगलबार आज रत्यौली गीत प्रतियोगिता सुरु गरिनुका साथै कलाकारहरु खुमन अधिकारी, जीवन दाहाल, नविन पौडेल, नविना सुवेदी, अमर धिताल, परशुराम अधिकारी, शान्ता बर्देवा, हास्य कलाकार दिपक थापाका प्रस्तुतिहरु रहे ।त्यस्तै भोली बुधबार कलाकारहरु ज्योति मगर, जीवन दाहाल, रामजी पौडेल, तुलसा क्षत्री, सुमन खड्का, परशुराम अधिकारी, दुर्गा क्षत्री तथा हास्य कलाकारहरु युवराज भण्डारी र राजेन्द्र नेपालीका प्रस्तुतिहरु रहने मूल आयोजक समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी आज मंगलबारसम्म करिव २५ लाखको कारोवार भएको पनि श्रेष्ठले बताए । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेका छन् ।
पोखरामा डिजी स्कुल गण्डकी प्रदेशको आयोजना तथा तेजारथ ग्रुपको समन्वयमा आइटीको विकसित पाठ्यक्रमबारे छलफल सम्पन्न भएको छ । बेलायतको एनसिसी एजुकेशनसँगको सहकार्यमा नेपाल भित्रिएको आइटीको विकसित पाठ्यक्रमको बारेमा गण्डकी प्रदेशका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग छलफल सम्पन्न भएको हो । सो छलफलका क्रममा डिजी स्कुलले ल्याएको आइटीसम्बन्धी पाठ्यक्रम र यसको उपयाेगिताको बारेमा डिजी स्कुलका सिइओ राजु बानियाँले प्रष्ट पारे । उनले पछिल्लो समय सूचना प्रविधिको युग भएकाले स्कुल लेभलमा आइटी कोर्सको जरुरी रहेको उल्लेख गरे । उनले सोही प्रकारको आवश्यकता महसुस गरेर आइटीको विकसित र विस्तृत पाठ्यक्रम नेपाल भित्राइएको बताए । यस्तै सफ्टेड गु्रपका अध्यक्ष विज्ञान श्रेष्ठले नेपालमा ल्याइएको आइटी कोर्स व्यापारिक प्रयोजनका लाग नभई शैक्षिक अभियान भएको बताए । ‘अहिलेको युग आइटीको युग हो । त्यसैले हामीले ल्याएको करिकुलम विकसित र विस्तृत छ, उनले भने, ‘यो व्यापारिक प्रयोजन नभएर शैक्षिक अभियानका रुपमा अघि सारेका हौं ।’ कार्यक्रममा सफ्टेडका डाइरेक्टर प्रमोद पौडेलले आइटीको महत्वबारे प्रकाश पार्दै अहिलेको शैक्षिक संस्थाहरुमा उक्त आइटी कोर्स अतिआवश्यक रहेको बताए । डिजी गु्रपका स्ट्राटिजी हेड सुमन बस्यालले डिजीस्कुलले ल्याएको उक्त पाठ्यक्रमको महत्व, प्रयोग, र उपयोगिताबारे विस्तृत कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा सफ्टेड ग्रुपका डाइरेक्टर अमृत थापा, करिब ३ भन्दा बढी स्कुलका प्रतिनिधिहरु लगायतको सहभागिता थियो । डिजी स्कुलले सन् २०१९ मा बेलायतको एनसिसी एजुकेशनको सहकार्यमा सो आइटी कोर्स नेपाल भित्राएको थियो । उक्त पाठ्यक्रम स्कुलले लिन चाहेमा प्रत्येक विद्यार्थीबापत प्रतिवर्ष नेपाली ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने डिजी स्कुलले जनाएको छ । डिजी स्कुलका गण्डकी प्रतिनिधि तेजारथ ग्रुपका किसान सुनारको अध्यक्षतामा भएको कनेक्ट एण्ड लिड कार्यक्रमको सञ्चालन प्रशंसा अर्यालले गरेकी थिइन् ।