पोखरा: युनाईटेड क्लब पोखराले भदौ २४ गतेको जेन्जी आन्दोलनमा आगलागीबाट क्षति भएको राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी पोखरालाई कम्प्युटर हस्तान्तरण गरेको छ । क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत आगलागीबाट पूर्ण रुपमा क्षति भएका सरकारी कार्यालयहरुलाई सहयोग गर्ने क्रममा राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी प्रदेश पोखराको दैनिक कामकाजलाई सहज होस भन्ने उद्देश्यले एक थान कम्प्युटर प्रदान गरेको हो । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष जयराम आचार्य, कार्यसमिति सदस्य बुद्ध कार्की लगायतको टोलीले राष्ट्रिय अनुसन्धान कार्यालय पोखराका प्रमुख अनुसन्धान निर्देशक प्रजेश सिंह हमाललाई कम्प्युटर हस्तान्तरण गरेका हुन । सो अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कास्कीका प्रमुख मोहन बहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा बोल्दै राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी पोखराका अनुसन्धान निर्देशक प्रजेश सिंह हमालले जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगलागी र तोडफोडबाट आफ्नो कार्यालय पूर्ण रुपमा क्षति भइ कामकारबाहीमा अफ्ठ्यारो परिरहेको बेला युनाईटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष अन्तर्गत कार्यालयलाई अतिनै आवश्यक रहेको कम्प्युटर प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । साथै आगामी पुषको २९ देखि माघको ११ गते सम्म आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवको पूर्ण सफलताको कामना गर्दै आफ्नो कार्यालयको तर्फबाट समेत महोत्सवलाई सभ्य बनाउनका लागि साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । यस्तै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन संगै पोखरामा खुल्ला चिडियाखना निर्माणमा पहलदकमी, सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र तिहारको बेलामा देउसी भैलो कार्यक्रमको आयोजना गरि संकलित रकमबाट स्थापित विपद ब्यवस्थापन कोष अन्तर्गत राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकीलाई आवश्यक पर्ने सामाग्री सहयोग गरेको बताए । विपद ब्यवस्थापन कोष अन्तर्गत यसपटक जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं १२, १० र १५ लाई समेत कम्प्युटर हस्तान्तरण गरिएको उनले बताए । युनाईटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत पूर्वको उदयपुर देखि पश्चिमको कैलाली सम्म विभिन्न विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।
पोखराः रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि हुन लागेको २७ औं पोखरा सडक महोत्सवमा सुरक्षा व्यवस्थापन चुस्त पार्न आयोजकले कास्कीस्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग अन्र्तक्रियात्मक छलफल कार्यक्रम गरेको छ । अन्र्तक्रियाका सहभागिहरुले पोखरा सडक महोत्सवको गरिमा पोखरासंग जोडिएकाले यसलाई सफल पार्न सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । महोत्सवका विभिन्न पक्षहरुमध्य सुरक्षा महत्वपूर्ण पाटो भएको बताउँदै महोत्सवका सुरक्षाको जिम्मेवारी आफुहरुले सक्दो रुपमा बहन गर्ने उहाँहरुले प्रतिवद्धजा जनाउनुभयो । अन्र्तक्रियामा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २७ औं संस्करण सम्म आइपुग्दा महोत्सवमा देखिएको सुरक्षा चुनौतीबारे जिज्ञासा राख्नुभयो । महोत्सवमा विगतको सुरक्षा व्यवस्थापन राम्रै देखिएको उल्लेख गर्दै यसपटकपनि यसको व्यवस्थापनमा प्रशासनको तर्फबाट सहयोग गरिने बताउनुभयो । तर विगतको भन्दा यसपटकको परिस्थिती केहि फरक भएको बताउँदै उहाँले सुरक्षा व्यवस्थापन चुस्त राख्न कुनै कसर बाँकि नराखिने जनाउनुभयो । अन्र्तक्रियामा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, शिव लम्साल, नेपाली सेना कृष्ण दल गण फुलबारी व्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरिक्षक सुर्यप्रसाद तिमिल्सीना राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उप अनुसन्धान निर्देशक मोहन बहादुर कुँवर, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक नमराज भट्टराई लगायतले महोत्सवमा सुरक्षा प्रदान गर्दै महोत्सव सफल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । यसअघि सडक महोत्सव सुरक्षा समिति संयोजक नरेश भट्टराईले महोत्सव व्यवस्थित पार्न आयोजकको अवलम्बन गरिने रणनीतिका बारेमा प्रकास पार्नुभयो । लाखौं अवलोकनकर्ता आउने सडक महोत्सवमा सुरक्षा चुनौती निकै महत्वपूर्ण भएको उहाँले प्रष्ट्याउनुभयो । ट्राफिक व्यवस्थापनबारे जानकारी दिंदै यसका लागि महोत्सव अवधिभर लेकसाइडका बाहिरी तथा भित्री सडकको प्रयोगबारे जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नविन कार्कीले महोत्सव सुरक्षामा आफु यसअघि पनि खटेको अनुभव सुनाउँदै फायर फाइटिङ, ट्राफिक व्यवस्थापन तथा भिडभाडमा हुन सक्ने चोरीका घटनामा चनाखो हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणी राज लामिछानेले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा महोत्सवको प्रचार प्रसारमा सहयोग गर्ने जनाउनुभयो । रेवान पोखराका पुर्वाध्यक्ष गोपीबहादुर भट्टराईले सरकारी स्तरबाट पनि महोत्सवको अनुगमन गर्दै गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । शितल सेक्युरिटी प्रालिका लोकेन्द्र अर्यालले निजी क्षेत्रबाट विगतमा भएका सुरक्षा व्यवस्थापनका उपायबारे अवगत गराउँदै सुरक्षा निकायसंगको सहकार्यमा सुरक्षा रणनीति तय गरिने स्पष्ट पार्नुभयो । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा कुनैपनि अप्रिय घटना घटन नदिनसबै खाले सुरक्षा निकायसंग समन्वय गरिने बताउनुभयो । बैठकमा महत्वपूर्ण विषयहरु उठेको बताउँदै उक्त विषयहरुलाई गंभिरतापुर्वक लिएर महोत्सवमा लागू गर्ने पौडेलको भनाई थियो । कार्यक्रममा रेवान पोखराका प्रथम उपाध्यक्ष तथा महोत्सव संयोजक बसन्त गौतमले स्वागत मन्तव्य राख्दै महोत्सवका आकर्षणबारे जानकारी दिनुभएको थियो । महासचिव बीरेन्द्र शेरचनले सञ्चालन गर्नुभएको कार्यक्रममा महोत्सवका सह–संयोजक सुनिल भट्टराई, सुमन भट्टराई लगायतले अन्र्तक्रियामा उठेका जिज्ञासाबारे प्रष्ट पार्नुभएको थियो ।
पोखरा: पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको भिड लागेको हो । बाल प्रतिभा पहिचान अन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ । महोत्सवमा आएका विद्यार्थी तथा अभिभावकहरुले विद्यार्थीका प्रतिभा देखेर खुलेरै प्रशंशा गरेका थिए । महोत्सवमा कतै लोक नृत्य, कतै गायन, कतै कविता वाचन विज्ञान तथा प्रविधि त कतै अभिनयले रौनकता छाएको थियो। यो अलवा महोत्सवमा आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान सञ्चाल गरेको एन प्याब्सनको खुलेरै प्रशंशा गरेका थिए । जहाँ विद्यार्थीहरुको लागि महोत्सव सिकाईको थलो बनेको छ । ‘कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउन पनि महोत्सवको रुपमा आयोजना गरेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रदर्शनी केन्द्रमा तान लगाएर गुन्द्री बुन्ने, चुया काटेर डोको वुन्ने दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको थियो । ‘नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ’ अध्यक्ष अधिकारीले भने, ‘आफैंले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री अन्यत्र आश्रित नभई हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण महोत्सवले दिलाएको छ ।’ घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री, डोका, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन महोत्सव कोषेढु·ा सावित भएको छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ । शुक्रबार सामूहिक लोक नृत्य र पुरस्कार वितरण कार्यक्रम रहेको सचिव प्रेमराज अधिकारकीले जानकारी दिए ।
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन संगै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको माइलस्टोन्स इन्फिल्डर्सको टोली मार्फत महोत्सवको प्रचार प्रसार शुरु गरिएको हो । नेपालका मुख्य शहरहरुमा रहेका मोटरसाइकल राइडर हरुकोे समुह माइलस्टोन्स इन्फिल्डर्समा आवद्ध मोटरसाइलक राइडरहरुलाई महोत्सव आयोजक युनाईटेड क्लब पोखराले पोखरामा स्वागत गर्दैै पोखरा महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन । माइलस्टोन्स इन्फिल्डर्सका संयोजक कुशल सुवेदी र प्रतिनिधी मछिन्द्र थपलियालाई युनाईटेड क्लब का अध्यक्ष लोक बहादुर थापा, क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले १४ औं पोखरा महोत्सवको प्रचारात्मक स्टीकर हस्तान्तर गरी महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन । माइलस्टोन्स इन्फिल्डर्सका प्रतिनिधी मछिन्द्र थपलियाले राइड टु थ्री एङगल्स नेपाल भन्ने नाराका साथ हिमाल, पहाड तराईको यात्रा स्वरुप चितवन बाट सुरु भएको बाइक राइडरहरुको टोलीलाई युनाईटेड क्लब पोखराले स्वागत गरी आफुहरुलाई हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे । माइलस्टोन्स इन्फिल्डर्सले मोटरबाइक राइडको माध्यामबाट नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको र युनाईटेड क्लबले समेत पोखरामा महोत्सवको आयोजना गरि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएकोमा धन्यवाद ब्यक्त गर्दै १४ औं पोखरा महोत्सवको सफलताको कामना गरे । युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले माइलस्टोन्स इन्फिल्डर्सले नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन स्वरुप हिमाल, पहाड तराइको यात्रा अन्तर्गत चितवनबाट यात्रा सुरु गरी पोखरा आइपुग्दा पोखरा महोत्सव आयोजक युनाइटेड क्लबले स्वागत गर्न पाउँदा खुसी लागेको बताए । युनाईटेड क्लबले पोखरा महोत्सबको आयोजना गरी पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको सुरुवाता गरेको र हाल उक्त चिडियाखानालाई प्रदेश सरकारले आफ्नो गौरबको योजना अनुसार काम अगाडी बढाएको बताउदै उक्त चिडियाखाना पोखराको नयाँ पर्यटकीय गन्तब्य बनेको समेत बख्रेलले बताए । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले वर्षेनी पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको र यसपटक पनि आगामी पुषको २९ देखि माघको ११ गते सम्म महोत्सवको आयोजना गर्ने तयारीका साथ अगाडी बढिरहदा माइलस्टोन्स इन्फिल्डर्सको टोली संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । पोखरा महोत्सवको प्रचारका लागि नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धनमा हिडेको माइलस्टोन्स इन्फिल्डर्सको टोलीले महत्वपूर्ण भुमिका खेल्ने बताए । पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सम्पूर्णको साथ र सहयोगकै कारण १४ औं संस्करण सम्म आइपुगेको उनको भनाइ रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन युनाईटेड क्लब पोखराका सचिव सन्तोष कार्कीले गरेका थिए । नेपालको काठमाण्डौं, धरान, हेटौंडा, चितवन बुटवल, पोखरा लगायतका, ६० भन्दा बढी मोटरसाइकल राइडरहरुको टोली हिमाल, पहाड तराइ यात्रा अन्तर्गत चितवनबाट सुरु भएको यात्रा पोखरा हुदै कास्कीको अस्ताम, पोथाना, लुम्ले हुँदै कांडे सम्म पुग्ने बताइएको छ । उक्त यात्रामा योंग इन्फिल्डर्स, स्मार्ट बुलेट सर्भिस सेन्टर, हेटौंडा लेजेण्डस, रोलिङ विंग्स, एमसीज नेष्ट सेड बाइ नेचर लभर, लेजेण्डस, ओपन ल्याण्डर्स, कावासोती इन्फिलिन्डर्स, द बाइकर्स हब, हेलबन्डु एमसी काठमाण्डौ, लोको सवारी चितवन, द इन्फिलिण्डर्स स्टेशन, बुलेट हाउस चितवन, रोयल राइनो राइडर्स चितवनको समेत सहभागीता रहेको थियो । यो संगै युनाईटेड क्लब पोखराको आयोजनामा वी पोखरा र माइलस्टोनको सहभागीता रहेको कार्यक्रममा पोखराको पर्यटन प्रवद्र्धन संगै सामाजिक सञ्जालको आवश्यक्ता रहेको हुँदा १४ औं पोखरा महोत्सवमा वी पोखरा एपको समेत सुरुवात गरिने युनाईटेड क्लब पोखराका महासचिव दिनेश सुनारले जानकारी दिए ।
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा/महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं समुदायहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन । हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालीने गरिन्छ । यसरी निकालीने झाँकी र्यालीले महोत्सवप्रती यहाँका विभिन्न जातजाती र समुदायको अपनत्व कस्तो छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठ बताउँछन । ‘‘हरेक वर्ष लेखनाथ महोत्सवमा वृहत झाँकी र्याली निकालीन्छ, एक त यसले यस क्षेत्रका विभिन्न जातजाती र समुदायले कति अपनत्व महशुस गर्दारहेछन भन्ने देखाउँछ भने अर्को कुरा फरक फरक जातजाती र समुदायहरुलाई एकैथलोमा उतारेर महोत्सवले उनीहरुको मौलीक रितिरिवाज, रहनसहन र संस्कार–संस्कृतिको समेत जर्गेना गर्ने गरेको छ’’–संयोजक श्रेष्ठले भने । लेखनाथ महोत्सवमा जस्तो वृहत झाँकी अरु कुनै मेला महोत्सवमा देख्न, हेर्न नपाईने उनको दावी छ । झाँकी र्यालीमा आ–आफ्नो भेष भुषा, चालचलन, रितीरिवाज, संस्कार संस्कृति झल्कीने पोशाक, ब्यानर र डेमोहरु सहितको व्यापक उपस्थीती नै लेखनाथ महोत्सवको विशिष्ट पहिचान बनेको संयोजक श्रेष्ठ बताउँछन । महोत्सवमा देखाईने झाँकी र्यालीलाई यसपाली अझै व्यवस्थीत बनाईएको छ भने सहभागी हुने विभिन्न संघ संस्था र समुहहरुलाई विगतको भन्दा अझै प्रोत्साहन वढाईएको छ । झाँकी र्यालीलाई महोत्सवस्थलभित्रै व्यवस्थीत गर्ने योजना बनाईएको छ भने झाँकी तर्फ र र्याली तर्फ छुटृाछुटृै पुरस्कृत समेत गरिने भएको छ । झाँकीतर्फ प्रथम, द्धित्तीय, तृतीय र सान्त्वनालाई क्रमश नगद रु २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिनेछ भने र्यालीतर्फ प्रथम, द्धित्तीय र तृतीयलाई क्रमश नगद रु १५ हजार, १० हजार, ५ हजार र सान्त्वना हुने १० समुहलाई नगद रु २ हजार प्रदान गरिनेछ । यसरी झाँकी र्यालीमा सहभागी हुन चाहने समुहले यहि मंसिर २८ गतेभित्र आफ्नो समुह दर्ता गराईसक्नुपर्ने संयोजक श्रेष्ठले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुलीले जानकारी दिईन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।
पोखरा: पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव पनि मनाएको छ । हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार हस्पिटलले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हस्पिटलले आइतबार बटुकहरुलाई ३० हजार नगद सहयोग गरेको थियो । आइतबार साँझ सयौं अतिथिमाझ हस्पिटलले डाक्टर र कर्मचारीहरुलाई अवार्ड वितरण गरेको छ । साथै, हस्पिटलले वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा। विश्वबन्धु बगालेले निजी स्तरमा सञ्चालित अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै अगाडि बढेकोमा खुशी प्रकट गरे । सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुमध्ये गण्डकी प्रदेशबाट सबैभन्दा धेरै योगदानकर्ताहरुलाई स्वास्थ्यसेवा प्रदान गर्ने हस्पिटल बन्न सफल भई नेपाल सरकारबाट सम्मानित भएकोमा पनि उनले बधाई ज्ञापन गरे । प्रवन्ध निर्देशक पोखरेलले सेवाग्राही, कर्मचारी, चिकित्सक लगायत सम्पूर्णमा आभार व्यक्त गरे । हालसम्म सेवा प्रदानको अवसर प्रदान गर्ने सेवाग्राहीप्रति आभार भक्त गर्दै उनले आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिस्कृत र परिमार्जन गरी स्तरीय स्वास्थ्य सेवा प्रदानको प्रतिबद्धतालाई थप विश्वासिलो बनाउने उनले प्रतिबद्धता जनाए । हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । २०६९ साल मंसिर १० गते स्थापना भएको चरक हस्पिटलले १३ वर्षसम्म समुदायलाई गुणस्तरीय, पहुँचयोग्य र करुणासहितको सेवा प्रदान गर्न सफल भएको उनले बताए । ‘पोखरा तथा आसपासका जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापित हस्पिटलले धेरै सेवाग्राहीको विश्वास जित्न सफल भएको छ’ – प्रबन्ध निर्देशक पोखरेलले भने । पोखराको नागढुंगामा रहेको यो हस्पिटल १०० शय्या क्षमतामा सञ्चालन भइरहेको छ । ७ तले भवन भूकम्प प्रतिरोधी छ भने छतमा हेलिप्याड सुविधासहितका संरचना छन् । हस्पिटलले अत्याधुनिक उपकरण, नवीनतम प्रविधिबाट सेवान प्रदान गरिरहेको पोखरेलले बताए । यो मल्टी–स्पेशालिटी हस्पिटल हो । मुटुरोग उपचार र शल्यक्रियाका लागि पनि हस्पिटल चिनिएको छ ।
पोखरा: नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ को २४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको छन् । रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति उर्मीला खड्काले उद्घाटन गर्नुुभएको थियो । कार्यक्रमममा प्रमख अतिथि खड्काले रक्तदानको आँर्फैमा विशिष्ट महत्व भएको बताउँदै रक्तदान जीवनदान भएको बताउनुभयो । शाखाका सभापति विन्दुराज तिवारीले शाखाले समाजिक उत्तरदायित्वसँगै आफ्नो नियमित कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा परोपकार आमा समूह, गगन नेवाः खल, पूर्णद्विप पौडेल, घनश्याम खनाल, शिखर नेट, विष्णुुबहादुर बस्नेत, खेम गुरुङलगायतले विभिन्न किसिमका सहयोग गर्नुभएको थियो । शाखा सभापति विन्दुराज तिवारीको सभापतित्व एवम् सचिव विष्णुबहादुर बस्नेतले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपसभापति विमला थापा बस्नेतले गर्नुुभएको थियो भने रेडक्रसका सात सिद्धान्त वाचन सदस्य देवी तिवारीले गर्नुभएको थियो । कार्यक्रममा शाखाका निवर्तमान सभापति किसान परियार, रेडक्रस जिल्ला शाखा कास्कीका सदस्य एवम् वडा नं ३२ सहजकर्ता सुवास अधिकारी र वविता सुवेदी, शरणकुमार प्रधान, मोहनकुमार प्रधान, भरत थापा लगायतले रक्तदानको महत्व लगायतका विषयमा बोल्नुभएको थियो ।
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ देखि १४ गतेसम्म हुने २१ औं संस्करणको लेखनाथ महोत्सव तयारी तीव्र पारेको छ । महोत्सव सम्पन्न गर्न १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, ३०० सदस्यीय मुल समारोह समिति गठन गरी विभिन्न उपसमितिसँगको छलफललाई तीव्रता दिइएको छ । महोत्सवमा रहने ३ सय ३५ वटा स्टलमध्ये ९५ प्रतिशत स्टल बुकिङ भईसकेका छन् । कार्य सम्पादन, सुरक्षा व्यवस्थापन, सहकारी संस्था समन्वय, विद्यालयस्तरीय कार्यक्रम, झाँकी र्याली व्यवस्थापन, युवा परिचालन तथा पार्किङ व्यवस्थापन, टोल विकास संस्था समन्वय, महोत्सव सुपरिवेक्षण उपसमितिसँग छलफल तथा अन्तक्र्रिया गरिएको र महोत्सव सफल बनाउने विषयमा आआफना तर्फबाट खटेर लाग्ने प्रतिबद्धता व्यक्त भएको संघकी अध्यक्ष एवं महोत्सव मुल संयोजक जानुका पराजुलीले बताइन् । महोत्सवका विशेष आर्कषणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी रहनेछन । यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने महोत्सवका प्रचार प्रसार समितिका संयोजक ध्रुबवावु भट्टराईले बताए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने २१ औं संस्करणको महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा।लि।ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।
पोखरा: पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिता अध्ययनरत विद्यार्थीले आइतबार कक्षाकोठाको चारदिवारी बाहिर निस्केर ‘मिडिया भिजिट’ गरेका छन् । स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता विषयको पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले कक्षामा पढेका सैद्धान्तिक ज्ञान र व्यवहारबीचको तालमेल बुझ्न विभिन्न सञ्चारगृहको अवलोकन गरेका हुन् । विद्यार्थीको टोलीले पोखराका रेडियो अन्नपूर्ण, समाधान दैनिक, पब्लिक टेलिभिन र रोजिना अफसेट प्रेसको भ्रमण गरे । त्यस क्रममा उनीहरुले बदलिँदो परिवेशमा मिडियाले भोगिरहेका चुनौती, आधुनिक प्रविधिको प्रयोग र अवसरका विषयमा सञ्चार उद्यमी तथा पत्रकारसँग अन्तर्क्रियासमेत गरे । विद्यार्थीहरु सुरुमा रेडियो अन्नपूर्ण पुगेका थिए । त्यहाँका स्टेसन म्यानेजर सञ्जय मल्लले २०५८ सालमा निजी क्षेत्रबाट एफएम रेडियो खुल्दाको समय र अहिलेको अवस्था नितान्त फरक रहेको अनुभव सुनाए । सूचना र मनोरञ्जनको विकल्प नभएका बेला रेडियो खुलेको तर अहिले प्रविधिले धेरै कुरा फेरिदिएको उनले बताए । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकाल र सशस्त्र द्वन्द्वको समयमा रेडियोले भोगेको सास्ती उनले स्मरण गरे । मल्लले भने, ‘समाचारकक्षमा नेपाली सेना प्रवेश गरेर सम्पादकीय स्वतन्त्रता कुल्चिएको अवस्थादेखि भूकम्प र कोभिड महामारीसम्मका उथलपुथल हामीले भोग्यौं ।’ अहिले प्रविधिको विकाससँगै विज्ञापन बजार खुम्चिँदा रेडियोसहितका मिडिया आर्थिक मारमा परेको उनले सुनाए । रेडियोको अनुभव बटुलेपछि विद्यार्थी समाधान दैनिकको कार्यालय पुगे । त्यहाँ उनीहरुले समाचार उत्पादनको प्रक्रिया, ‘गेटकिपिङ’, सम्पादन र पृष्ठ संयोजनजस्ता प्राविधिक पक्षको जानकारी लिए । सम्पादक केशवशरण लामिछानेले सशस्त्र द्वन्द्वकै बीच २०५९ असोज १ गतेबाट पत्रिका प्रकाशन सुरु भएको जानकारी दिए । ‘२०७२ को संविधान जारी भएपछि संघीयताको अभ्याससँगै समाधानले काठमाडौं बाहिरबाट पनि व्यावसायिक र सन्तुलित पत्रकारिताको अभ्यास गर्दै आएको छ,’ सम्पादक लामिछानेले भने । उनले पत्रिका अहिले प्रिन्ट संस्करणका साथै डिजिटल भर्सनमा पनि गइसकेको बताए । न्युजरुमको कार्यशैली बुझेपछि विद्यार्थीले रोजिना अफसेट प्रेसमा पुगेर छपाइ प्रविधिको अवलोकन गरे । प्रेस सञ्चालक रोजिना श्रेष्ठले समयसँगै छपाइको कामको चाप घटे पनि नयाँ प्रविधि र मेसिन भित्र्याएर व्यवसायलाई निरन्तरता दिएको बताइन् । परम्परागत र आधुनिक दुवै प्रविधि अपनाएको बताउँदै उनले भनिन्, ‘सामाजिक सञ्जालमार्फत् मार्केटिङ गरेर व्यवसायको दायरा बढाएका छौं ।’ अवलोकनको अन्तिम चरणमा विद्यार्थी बार्दली मिडिया प्रालिद्वारा सञ्चालित पब्लिक फोरके टेलिभिजन पुगे । त्यहाँ उनीहरुले स्टुडियो, रेकर्डिङ र प्रसारण प्रविधिबारे जानकारी लिए । कम्पनीका प्रबन्ध निर्देशकले काठमाडौं बाहिर मिडिया चलाउनु आफैमा चुनौतीपूर्ण रहेको र त्यसमाथि दक्ष जनशक्तिको अभाव खड्किएको बताए । सामाजिक सञ्जालका कारण विज्ञापन बजार घटेर मिडिया सञ्चालन कठिन भए पनि सामाजिक सञ्जालकै कारण केही आम्दानीसमेत भएको उनको भनाइ थियो । टेलिभिजनमा विचारमूलक कार्यक्रम ‘द भ्यु’ चलाउँदै आएका रघुराज वाग्लेले पत्रकारिताको मर्म बुझ्न विद्यार्थीलाई आग्रह गरे । उनले भने, ‘औपचारिक पढाइ सकेर यो पेसामा आउन सके पेसाको मर्यादा बढ्छ ।’ लेकसिटी कलेजमा पत्रकारिता अध्यापन गराउने पत्रकार भरत कोइरालाले कक्षामा पढेका विषयवस्तुलाई अझै प्रभावकारी रूपमा बुझाउन भ्रमण गराइएको बताए । भ्रमणमा सोसल वर्क पढाउने शिक्षिका रोशिना कुँवर पनि सहभागी थिइन् । गैरापाटनस्थित लेकसिटी कलेजमा पत्रकारिता र सोसल वर्क पढाइ हुनुका साथै कलेज मातहतको समाज विज्ञान केन्द्रले समसामयिक विषयमा मासिक रूपमा कचहरीसमेत चलाउँदै आएको छ ।

