गण्डकी प्रदेश संग्रहालयमा मौलिक (कोसेली) घरको शिलान्यास

विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान बन्ने मुख्यमन्त्री पाण्डेको विश्वास

पाेखरा | कात्तिक २४, २०८२

गण्डकी प्रदेश संग्रहालयमा मौलिक (कोसेली) घरको शिलान्यास

पोखरा:   गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने “मौलिक (कोसेली) घर” निर्माण कार्यको सोमबार एक विशेष समारोहबीच शिलान्यास भएको छ । 


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित गण्डकी प्रदेश संग्रहालय परिसरमा निर्माण हुन लागेको कोसेली घरको शिलान्यास गर्दै  प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।


उनले प्रदेश सरकारले सुशासन र पारदर्शिता कायम गर्दै भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको बताए । “प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार सबैले गर्नुपर्छ। फेवाताल संरक्षणदेखि पर्यटकको बसाइ लम्ब्याउने काममा प्रदेश सरकार लागिरहेको छ। दुई वर्षभित्र प्रदेशको विकासको दिशा स्पष्ट भएको छ । गण्डकी प्रदेश सातवटै प्रदेशमध्ये नेतृत्वदायी भूमिकामा छ।”, उनले भने ।


मुख्यमन्त्री पाण्डेले मौलिक घर निर्माणले गण्डकी प्रदेशको सांस्कृतिक पहिचान झल्काउने मात्र नभई आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने केन्द्र बन्ने उल्लेख गरे । उनले भने, “संग्रहालयमा बन्दै गरेको कोसेली घरले पर्यटकलाई प्रदेशका विविध संस्कृतिबारे बुझ्न सहज बनाउनेछ । यसले पोखराको पर्यटन प्रवद्र्धनमा पनि ठोस योगदान पु¥याउनेछ।”


सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले गरेका योजना सफल बनाउन स्थानीय समुदायको सहभागिता अनिवार्य रहेको बताए । उनका अनुसार सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय स्तरको सहयोग बिना दीगो परिणाम हासिल गर्न सकिँदैन ।


“प्रदेश सरकारले बनाएका संरचनाबाट प्रत्यक्ष लाभ स्थानीय समुदायले नै पाउनेछन्। मौलिक संस्कृति र परम्परालाई आधुनिक समाजमा जोगाएर राख्नु हाम्रो साझा जिम्मेवारी हो”, उनले भने ।


पश्चिमी संस्कृतिको तीव्र प्रभावका कारण मौलिक परम्परा, रीतिरिवाज र कला हराउँदै गएको अवस्थामा संग्रहालयको विस्तारले तिनको पुनर्जीवनमा सहयोग पुुग्ने विश्वास उनको छ ।


गण्डकी प्रदेश प्राकृतिक सुन्दरता, जातीय विविधता र सांस्कृतिक समृद्धिको केन्द्र भएको र यस प्रदेशमा पाइने मौलिक संस्कृतिहरू आधुनिक प्रभावका कारण लोप हुने अवस्थामा पुगेकाले तिनको संरक्षण, अध्ययन र प्रदर्शन नै संग्रहालयको प्रमुख उद्देश्य भएको उनले स्पष्ट पारे ।


मन्त्री थापाका अनुसार गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजना अन्तर्गत निर्माणाधीन कोसेली घरले प्रदेशका ग्रामीण बस्तीमा प्रचलित कला, शिल्प र वास्तुकलाको रूप झल्काउनेछ । लोपोन्मुख कला र शैलीलाई जगेर्ना गर्दै आगन्तुकलाई गण्डकी प्रदेशको मौलिक वास्तुकला र जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यस्वरुप उक्त भवनको निर्माण गर्न लागिएको उनले बताए ।


सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव दामोदर सुवेदीले गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजना अन्तर्गत सञ्चालन भइरहेको यस परियोजनाको कुल लागत रु। २ करोड ८३ लाख २७ हजार ९३२ रुपैयाँ ३ पैसा (भ्याट र कन्टिन्जेन्सी सहित) रहेको र सम्झौता रकम रु। १ करोड ८५ लाख ८८ हजार २६४ रुपैयाँ ६६ पैसा (भ्याट सहित) रहेको जानकारी गराए । कोसेली घरको निर्माण आगामी असार मसान्तसम्म सक्नेगरि टुडे बिल्डर्ससँग सम्झौता भएको भनाई उनको छ ।


पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले संग्रहालयमा बन्दै गरेको कोसेली घरले पोखरा र समग्र गण्डकी प्रदेशलाई सांस्कृतिक र पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने बताए । सांस्कृतिक पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजार विस्तार र समुदायमा आर्थिक अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास उनको छ । प्रदेश सरकारको उक्त कार्यलाई सफल पार्न स्थानीय तह प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे ।


ठेक्का लिएको कम्पनी टुडे बिल्डर्सका ईन्जिनियर सिरश बास्तोलाले निर्माण कार्य समय अवधिमा नै सक्ने प्रतिबद्धता जनाएका छन् ।


संग्रहालयको छोटो परिचयः 


सन् १९७२ मा युनेस्कोका विशेषज्ञद्वारा तयार गरिएको नेपालको सांस्कृतिक सम्पदाको संरक्षण गुरुयोजनामा क्षेत्रीय संस्कृतिको संरक्षणका लागि क्षेत्रीय संग्रहालय स्थापना गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो ।


त्यसै सुझावका आधारमा तत्कालीन सरकारले आ.व. २०३७÷३८ देखि धनकुटा, पोखरा र सुर्खेतमा क्षेत्रीय संग्रहालय स्थापना गर्ने कार्ययोजना अघि सारेको थियो।


त्यसअनुसार जग्गा अधिग्रहण गरी भवन निर्माण कार्य सुरु गरियो र आ।व। २०३९÷४० मा कार्यालय स्थापना भई सामग्री संकलन आरम्भ भयो । वि।सं। २०४१ माघ २३ गते पोखरा क्षेत्रीय संग्रहालय सर्वसाधारणका लागि खुला गरियो । देशको राजनीतिक संरचना अनुसार अहिले यो संग्रहालय गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा छ ।


संग्रहालयले प्रदेशका विभिन्न जातजाति र समुदायका मौलिक संस्कार, रहनसहन, भेषभूषा, खानपान, परम्परागत उपकरण र लोकजीवन झल्काउने सामग्रीहरू संकलन, अभिलेखीकरण र प्रदर्शन गर्दै आएको छ ।


२४ रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालयले आ।व। २०६७÷६८ देखि विद्यार्थी सदस्यता कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले युवाहरूमा सांस्कृतिक चेतना बढाउने कार्यमा टेवा पु¥याएको संग्रहालयको प्रमुख करुणा राईले जानकारी गराइन् ।
 

पोखरा:   कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गा...

थप पढ्नुहोस्

काठमाडौं:  शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्ग सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ।  आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गरा...

थप पढ्नुहोस्

मनाङ:  यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लुभाई पटेल र १७ वर्षकी प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ । ...

थप पढ्नुहोस्