बुटवल: रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएकाे थियाे । त्यसपछि मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ ।
काठमाडौं: नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । वर्तमान अध्यक्ष समेत रहनुभएका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी भएका हुन् । सार्वजनिक भएको मतगणना नतिजा अनुसार कँडेलले ४ सय ७९ मत पाएर विजयी भने उनका प्रतिद्वन्द्वी रिजालले ४७७ मत पाए । त्यसै गरी अन्य पदाधिकारीहरूमा भने मिश्रित परिणाम आएको छ । त्यसै गरी उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाए । पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगर ४ सय १८ मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी बाँकेका दुर्गाप्रसाद थारुले ३ सय ९३ मत पाएको निर्वाचन समितिले जनाएको छ । त्यसै गरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लीला राना मगर ३ सय ५२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी बाँकेकी बसन्ती अधिकारीले ३५१ मत पाए । सचिव पदमा कँडेलकै समूहका लक्ष्मण आचार्य सोमबार नै निर्विरोध निर्वाचित भएका थिए । अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मङ्गलवार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो । यो निर्वाचनपछि लुम्बिनी प्रदेशमा स्पष्ट दुई गुट देखिएको छ । अध्यक्षमा निर्वाचित कँडेल एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल निकट छन् भने पराजित रिजाल महासचिव शंकर पोखरेल पक्षका हुन् ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । हरितालिका तीजको अवसरमा स्थानीय क्लब जागृति युवा क्लबले आगामी भदौ १६ गतेदेखि घोरबन्दास्थित कोठिचौर खेलमैदानमा सञ्चालन गर्ने क्लबका कोषाध्यक्ष जनक गाहामगरले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको बताए । सो प्रतियोगिताले पाल्पाकै फुटबलको विकासमा टेवा पुग्ने बताए । ‘पाल्पामा पछिल्लो समय फुटबलको पनि क्रेज बढिरहेको छ, यसले नयाँ खेलाडी उत्पादन र फुटबल खेलको विकास गर्नेमा विश्वस्त छौ’, गाहामगरले भने । यस्तै क्लबका अध्यक्ष आशिष झेडींमगरले आपसी भाइचाराको सम्बन्धलाई स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले विगतमा पनि सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको बताउदै २०३८ सालदेखि नै खेलकुदका गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । सो प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ६ हजार (१ हजार रेड कार्ड) निर्धारण गरिएको छ भने टिम दर्ता फोनमार्फत (९८४७१०१०५०, ९८४७०९९१९८ र ९८६८३३८२११) पनि गर्न सकिने आयोजकले जनाएको छ ।
काठमाडौं: बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्याउने उद्देश्य रहेकाे ‘बुद्ध सादर बन्दना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका देविका बन्दनाको स्वरको उक्त गीतमा डा.दिनबन्धु शर्मा तथा गायिका बन्दनाको शब्द सृजना रहेको छ । यसमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत रहेको छ भने राजन ईशानसंगीत संयोजक हुन् । गीतको म्युजिक भिडियोलाई गायिका देविका बन्दनाले नै निर्देशन गरेकी छिन् । लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी यो गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । यसका छायाँकार रामकुमार केसी हुन् भने प्रविण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहक हुन् ।
रूकुम(पूर्व): रुकुमको सिस्ने गाउँपालिका–८ भुरुङ्गास्थित सामुदायिक जंगलमा प्रहरीले ४ थान भरूवा बन्दुक फेला परको छ । अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरी टोलीले शनिबार जंगलको खाल्डोमा सेउलाले छोपेर वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो । सो स्थानमा कसले कहिलेदेखि बन्दुक राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रुपन्देही: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको बताउनुभएको छ । शुक्रबार २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘‘ईशापूर्व ६२३ मा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीको सुन्दर बगैंचामा भयो । नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय हो । उहाँको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको छ ।’’ प्रधानमन्त्रीले संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एक पटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला ,अन्दाज गर्न गाह्रो रहेको बताउनुभयो । उहाँले अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुने धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ ईशापूर्व ६२३ मा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीको सुन्दर बगैंचामा भयो । नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय हो । उहाँको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको छ । संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला रु अन्दाज गर्न पनि गाह्रो छ । तर अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुन्छ । प्रचुर सम्भावना हुदाँहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो । वर्तमान सरकारले यस तथ्यलाई ह्रदयङ्गम गरी कार्य अगाडि बढाउने छ । तत्कालीन पाल्पाका गभर्नर जनरल खड्गशम्शेर र जर्मन पुरातत्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भ फेला पारे । उक्त स्तम्भको उत्खनन् गर्दा स्तम्भमा शिलालेख देखियो । ब्राम्ही लीपि र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि उक्त स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य पत्ता लाग्यो । लुम्बिनी अशोक स्तम्भको शिलालेखको दोस्रो हरफको अंश–“हिद बुधेजाते शाक्यमुनिति” अर्थात् “यहाँ शाक्यमुनि बुद्धको जन्म भयो” र चौंथो हरफको अंश “हिदे भगवान जातेति लुमिनी गामे” अर्थात् “यस लुम्विनी गाउँमा भगवानको जन्म भएकाले” भन्ने वाक्यांशहरूबाट शाक्यमुनि बुद्धको जन्म लुम्बिनीमा भएको प्रमाणित हुन्छ । त्यति मात्रै होइन यस लुम्बिनी स्तम्भले शाक्यमुनि बुद्ध केवल पौराणिक मात्र नभई ऐतिहासिक व्यक्तित्व हुनुहुन्थ्यो भन्नेसमेत प्रष्ट्याउँछ । सम्राट अशोकले ईशापूर्व २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्विनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेखसहितको एक–एक वटा गरी जम्मा ३ वटा स्तम्भ स्थापना गर्नुभयो । ती स्तम्भका शिलालेख, चिनिया तीर्थयात्रीहरूका यात्रा वृत्तान्त, पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा बुद्धको जन्म भएको भन्ने तथ्य प्रमाणित भयो । साथै नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपमा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहनुले वृहत्तर लुम्विनीलाई बुद्धहरूको भूमि बनाएको छ । यस्तो तीर्थस्थल जहाँ एक घण्टाको यात्रावाट ३ वटा बुद्धको जन्मस्थल पुग्न सकिन्छ, संसारमा कहिँ पनि छैन । त्यसैले बृहत्तर लुम्विनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल हो भन्दा अतिशयोक्ति हुँदैन । वर्तमान सरकार बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दे दिगो विकासका लागि बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्य थालनी गर्न तत्पर छ । सम्पूर्ण मानव जातिको साझा धरोहर तथा विश्व सम्पदा पवित्र लुम्विनीको द्रुत विकासका लागि सरकारले लुम्विनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्विनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको छ । अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा संघ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गर्नेछ । नेपाल सरकारले २०६८ सालमा गठन गरेको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिकोे अध्यक्षको हैसियतमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म न्युयोर्क पुगेर संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनसँग समेत बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि छलफल गरेको स्मरण गर्दछु । सम्भावित विश्व सम्पदा सूचीमा सन् १९९६ देखि सूचीकृत प्राचीन कपिलवस्तुको राजधानी शहर तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी प्राचीन स्मारक संरक्षण क्षेत्र घोषणा गरिसकिएको छ । यस सन्दर्भमा सरकारको प्रयत्न र अभियानमा सहयोग गर्न म स्थानीय तथा सरोकारवालाहरूलाई अपिल गर्दछु । पूर्वीय सभ्यताको आलोकको रूपका आधुनिक विकासका उपलब्धिले मानवीय विवेक र चिन्तन धारा ध्वस्तप्रायः भइसकेको आजको समयमा अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छ । संसारका प्रायः सबै धर्म–संस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्छन् । दार्शनिक दृष्टिले यस दर्शनको सबैभन्दा महत्त्वपूर्ण विषय प्रतीत्य–समुत्पाद हो । यसको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु । शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य–समुत्पादले बुझाउँछ । अस्तित्व सत्ताको स्वरूप अस्ति वा नास्ति अर्थात् भए वा नभए, छ वा छैन, दुवै छ वा दुवै छैन भन्ने भावको चतुष्कोटी सिद्धान्तलाई वस्तुको यथार्थ स्वभाव हो भनी बौद्ध माध्यमिक दर्शनका प्रणेता आचार्य नागार्जुनले परिभाषित गरेका छन् । अनात्मा र अनित्यलाई स्वीकार गर्ने वैभाषिक र सौत्रान्तिक सिद्धान्तले वस्तुको परिवर्तित गुणलाई स्वीकार गर्छ । बलिरहेको दीपशिखाको अनन्त ज्योति र प्रवाहमय नदीको अनन्त धाराको परिवर्तित अस्तित्वको लक्षणार्थमा विज्ञान सत्ताको क्षणिकतालाई बोध गराउने भएकाले प्रतीत्य–समुत्पादलाई अनित्यवाद र क्षणिकवाद पनि भनिन्छ । अस्तित्वको अनित्यतालाई प्रतीत्य–समुत्पादबाट प्रमाणित गर्न सकिन्छ । वस्तुको स्वभाव क्षण, प्रतिक्षण परिवर्तन भइरहने भएकाले नै अनित्यवादलाई क्षणिकवाद भनिएको हो । दार्शनिक दृष्टिले प्रतीत्य–समुत्पादभित्र ३ दाशर्निक पक्ष छन्, अनीश्वरवाद, अनित्यवाद र क्षणिकवाद । पूर्वीय समाज र दर्शनको विकास प्रक्रिया विश्व मानचित्रमा नै अग्रणी मानिँदै आइएको छ । पूर्वीय सभ्यता, दर्शन र चिन्तन परम्पराका दृष्टिले हामी वैशवशाली र गौरवशाली दुबै छौँ । किराँत दर्शन, बुद्ध दर्शन, षड्दर्शन लगायतका नेपाली दर्शनहरूमा भौतिकवादी चेत, गतिको नियम, नैतिक शिक्षा र जीवन मूल्यका अनगिन्ती आयामहरू छन् । तिनीहरूको वैज्ञानिक खोज एवं अनुसन्धानका आधारमा नेपाली दर्शनको संरक्षण, प्रवर्धन एवं विकासका निम्ति नेपाली बौद्धिक समुदायले विशेष पहल लिन आवश्यक छ । हाम्रो आफ्नो मौलिक दर्शन र चिन्तन परम्परालाई नजरअन्दाज गरेर हाम्रो दर्शन, सभ्यता र समृद्धिको यात्रामा सफलता प्राप्त गर्न पनि सकिँदैन । ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू हामी सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ । मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्ग अनुशरण गर्दा जीवनको उत्तरार्धमा बुद्धका अनुयायी भएको प्रसङ्ग हाम्रो सन्दर्भमा विशेष स्मरणीय छ । नेपाली समाजको आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको महान् जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्तिप्रक्रियामा रूपान्तरण हुनु, क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको परिपुरकका रूपमा व्यवहारसिद्ध गर्नु तथा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणको सफल नेतृत्व गर्नुले बुद्धका शिक्षाहरूबाट हामी प्रभावित मात्र होइन, हाम्रो विशिष्टता र मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरणसमेत गरिरहेका छौँ भन्न सकिन्छ । तर, यसलाई जसरी विश्लेषण र संश्लेषण गरेर विश्वशान्तिका निम्ति स्वामित्व लिनुपर्थ्यो, त्यसमा कतै हामी चुकिरहेका त छैनौँ भन्ने अनुभूत हुन्छ । यसतर्फ ध्यान दिन म बौद्धिक समुदायलाई अपील पनि गर्दछु । अन्त्यमा २५६७ औं बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८० सफल पार्न मन, वचन र कर्मले सहयोग गर्ने सम्पूर्ण स्वदेशी तथा विदेशी महानुभावहरूलाई हार्दिक आभार प्रकट गर्दै स्वदेशी तथा मित्र राष्ट्रहरूका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई सुःख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै बिदा हुन्छु, धन्यवाद ।
दाङ: बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चयन भएका डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी हिजो मुख्यमन्त्रीमा नियुक्त भएका हुन । चौधरीलाई कांग्रेस, माओवादीसहित नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।
दाङ: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन् । आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । दाङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभा सदस्य चुनिएका चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेस गरेका छन् । चौधरीलाई ५३ सांसदको समर्थनसहितको हस्ताक्षर बुझाएको नेपाली कांग्रेस प्रदेश सभा सदस्य राजु खनालले जानकारी दिए । गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।
दाङ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाउँदा पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् । माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिन लिएका हन् । सत्तारुढ दलहरुले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी छ ।