कपिलवस्तु: कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन् । शनिबार भएको प्रतियोगितामा उहाँले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन् । पानीमाथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा भएको थियो । एक सय ५० प्रतियोगीबीच भएको खेलमा प्रथम भएका थापाले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष राम सुभागे थारूले बताउनुभयो । प्रतियोगिताको पहिलो चरणमा आठ जनाले दूरी पार गरेका थिए । खेलमा रुपन्देही सैनामैनाका रिजन बन्जाडे द्वितीय भए । उनले रु २५ हजार प्राप्त गरे भने १५.०७ सेकेन्डको दूरीमा लक्ष्य चुमेका थिए । कपिलवस्तुका शौरव शर्मा तृतीय हुँदा सुदीप घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन् । शर्माले रु १५ हजार पाएका छन् भने १६.२८ सकेण्डमा दूरी पार गरेका थिए । घिमिरेले स्मार्ट वाच पाएर चित्त बुझाए भने १६.५६ सकेण्डमा लक्ष्य चुमेका थिए । दोस्रो चरणमा आठ जनाबीच भएको प्रतिस्पर्धामा छ जनाले दूरी पार गरे पनि दुई जना बीचमै असफल भएका थिए । छ जनाबीच दूरी पार गरेको समयलाई आधार बनाई विजेता बनाइएको अध्यक्ष थारूले बताउनुभयो । जिल्लाको वाणगङ्गा नगरपालिका राजापानीको एक पोखरीमा भएको प्रतियोगिता हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो । कहिल्यै नहेरेको खेल हेर्न पाएको जनाउँदै दर्शक खुसी देखिन्थे । प्रतियोगितामा आयोजकले सहभागीको रजिष्ट्रेजन शुल्कवापत रु एक हजार पाँच सय तोकेको थियो भने टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको व्यवस्थापन गरेको थियो । प्रतियोगितामा कपिलवस्तुसँगै रुपन्देहीबाट समेत सहभागी भएको खेल संयोजक विष्णु घिमिरेले जानकारी दिनुभयो ।प्रतियोगिता सहभागीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एम्बुलेन्सको व्यवस्था मिलाइएको थियो ।
धनगढी: धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ । शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो । लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ गोलले हराएको हो । यसअघि निर्धारित समयमा दुवै टोलीले एक–एकको बराबरी खेलेका थिए । दुवै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो । उपाधिसँगै लुम्बिनी प्रदेशले रु पाँच लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले रु तीन लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित लुम्बिनी प्रदेशका फागुराम चौधरीले रु २० हजार प्राप्त गरे । यस्तै उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारू, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही भए । उनीहरूले जनही रु १०–१० हजार पाए । पिएफए क्लब अत्तरियाको आयोजनामा भएको प्रतियोगितामा देशका पाँच टिमले प्रतिस्पर्धा गरेका थिए ।
ढोरपाटन: निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ । “यो गाउँ तामाखानीले घिरिएको छ, गाउँका वरपर थुप्रै खाडल छन्, खाडल पुर्खाहरूले तामा निकाल्दा बनेको हो, गाउँ नै तामाखानीले भरिए पनि उत्खनन गर्न छाडेको सय वर्ष बढी भएछ”, स्थानीय ओमप्रसाद छन्त्यालले भन्नुभयो, “गाउँमा यति धेरै आयस्रोतको सम्भावना हुँदा पनि हामी गरिब छौँ, सरकारले यसको तत्काल उत्खनन गर्न जरुरी छ ।” यस्ता खाडल नर्जाखानी क्षेत्रमा अनगिन्ती रहेको स्थानीय उहाँले बताउनुभयो । गाउँ तथा जङ्गलभरि खानी नै खानी रहेको हुँदा यसको गणना नै गरेर नसकिने उहाँको भनाइ छ । घरछेउ र बारीमासमेत अहिले पनि तामाका टुक्रा भेटिने गरेको उहाँले बताउनुभयो । “यो यस्तो गाउँ हो, यहाँ बारी खनजोत गर्दा पनि तामा निक्लिन्छ, पहिरो जाँदा पसनि तामा भेटिन्छ, जहाँ हे¥यो त्यहाँ तामाको खानी नै खानी छन्,” उहाँले भन्नुभयो, “यहाँ भएका भिर–पहरा जहाँसुकै खानी छन्, यसको गणना अहिलेसम्म हामीले गर्न सकेका छैनौँ ।” उहाँले खानीहरूको पुनः उत्खनन गर्न सके गाउँका धेरैले रोजगार पाउने र जीवनस्तर उकासिने बताउनुभयो । छन्त्याल, थकाली र दलित जातिले यहाँ काम गरेर जीविकोपार्जन गरेको इतिहास रहेको उहाँको भनाइ छ । “अहिलेको जमानामा नयाँ–नयाँ प्रविधि छ, उतिबेलाको समयमा त बाउबाजेले एउटा निँगालो दियालोको भरमा त्यति ठूला–ठूला पहरा काटेर तामा निकाल्नुभयो, अहिले त केही समस्या छैन”, स्थानीय छन्त्यालले भन्नुभयो, “सरकारले तदारुकता देखाउने हो भने यहाँका जनताले यही नै रोजगार पाउन सक्थे, आत्मनिर्भर बन्ने थिए, रोजगारीका लागि भौतारिनुपर्ने थिएन ।” खुङ्खानी नर्जाखानी क्षेत्रमा धेरै खानी भएको हुँदा खुबै खानी भन्ने गरेको र पछि खुङ्खानी भन्ने गरिएको स्थानीय कुलबहादुर छन्त्यालले बताउनभुयो । खुङ्खानी जर्जाखानी नजिकै रहेको गाउँ हो । “गाउँभरि खानी हुँदा हाम्रा अग्रजहरूले खुङ्खानीलाई खुबै खानी भन्ने गर्थे, अहिले आएर खुङ्खानी भन्ने गरिन्छ, यति धेरै खानी त अरु कुनै पनि ठाउँमा छैनन् होला”, उहाँले भन्नुभयो । उहाँले तामा निकालेको बाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकहरूले बसोबास गरेको ठाउँको भग्नावशेष भेटिने गरेको बताउनुभयो । तत्कालीन सरकारले अत्यधिक कर बढाएपछि स्थानीयले तिर्न नसकेपछि तामा निकाल्न छाडेको छन्त्यालको भनाइ छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको कुलबहादुरको भनाइ छ । “बाउबाजेले भने अनुसार तत्कालीन सरकारले स्थानीयले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझाउन भनेपछि तामा निकाल्न छाडेका रहेछन्, अहिलेसम्म निकाल्न सकिएको छैन”, कुलबहादुरले भन्नुभयो, “अहिलेको जस्तो प्रविधि थिएन, धेरै समय लगाएर कम तामा निकाल्ने गर्थे रे, कर धेरै तिर्न सरकारले ह्वीप जारी गरेपछि छाडेको रहेछन्, अब सरकारले सञ्चालन गर्न सक्ने हो भने स्थानीय र राज्यलाई करोडाैँको आम्दानी हुने थियो ।” खासगरी खानीमा छन्त्यालहरूले काम गर्ने हुँदा उनीहरूलाई अनपढ वैज्ञानिक भन्ने गरिएको कुलबहादुरको भनाइ छ । छन्त्यालहरूले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताउनुभयो ।
काठमाडौँ: काठमाडौँको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो । काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ । यात्रुको भीड पनि उत्तिकै छ । प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्येहम्ये परिरहेको सडकमा देख्न सकिन्छ । हिन्दूको महान पर्व दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने नेपालीको सङ्ख्या दिनदिनै बढ्दो छ । अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौँका सडकमा आज भने सवारी साधनको बाक्लो उपस्थिति छ । पोका बोकेर मानिस उपत्यका छाड्न हतारिएका दृष्य विभिन्न क्षेत्रमा देख्न सकिन्छ । टिकट काटेकाहरु सवारीसाधन कुरिरहेका देखिए भने टिकट नकाट्ने यात्रु सिट खाली रहेका सवारी साधनको प्रतिक्षा गरिरहेका भेटिए । सिट नपाएका ट्रक तथा अन्य सवारी साधनमा समेत गइरहेका थिए । पश्चिम नेपाल जान कलङ्की पुग्नुभएकी निर्मला शर्मा टिकट नपाइएकाले सिट खाली भएको गाडीको प्रतीक्षा गरिरहेको बताउनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ सुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ । त्यसदिन ६० हजार यात्रुले उपत्यका छाडेका थिए । बिहीबार ७१ हजार सात सय यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको सङ्ख्या ८४ हजार रह्यो । आज भने त्यसको तुलनामा दोब्बर (दुई लाख) बढीले उपत्यका छाड्ने अनुमान गरिएको कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिनुभयो । आज साँझसम्म झण्डै पाँच लाख मानिसले उपत्यका छाडेने उहाँको अनुमान थियो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्व गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङ्ख्या यकीन नभएकाले उपत्यका छाड्ने सङ्ख्या त्यसको दोब्बर हुनसक्ने अनुानज छ । यही असोज १० गतेदेखि १४ गते शुक्रबारसम्म कूल तीन लाख ५३ हजार ४८५ बाहिरिएका छन् आज भने झण्डै दुई लाख बाहिरिने अनुमान गरिएको छ । प्रहरीका अनुसार कूल ५० हजार सवारी साधनमा उनीहरु यसरी बाहिरिएका हुन् । आजदेखि दसैँ बिदा भएकाले आज भने सडकमा अत्यधिक भीड रहेको र विभिन्न नाका तथा बसपार्क क्षेत्रमा उपत्यका छाड्ने यात्रुको बाक्लो उपस्थिति रहेको प्रहरी उपरीक्षक क्षेत्रीको भनाइ थियो । कुन दिन कति यात्रु भित्रिए कति बाहिरिए ? ट्राफिक प्रहरीका अनुसार असोज १० गते आठ हजार सात सय २९ वटा सवारी साधानमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधनमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिएका थिए । असोज ११ गते आठ हजार चार सय २७ सवारी साधानबाट ४५ हजार ३३ यात्रु भित्रिएका मा नौ हजार एक सय ६१ सवारी साधनबाट ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ । यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनबाट ४५ हजार दुई सय ६० यात्रु भित्रिएकामा १० हजार ८६ सवारी साधनबाट ७१ हजार ७६३ यात्रु बाहिरिएका थिए । यस्तै असोज १३ गते आठ हजार २३ सवारी साधन मार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार दुई सय १९ सवारी साधनमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए । असोज १४ गते शुक्रबार भने सात हजार ४६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्याङ्क छ । यो प्रहरीले अभिलेख गरेको सार्वजनिक सवारी साधनमार्फत यात्रु भित्रिएका र बाहिरिएकाको विवरण हो । यसबाहेक पनि मोटरसाइकल तथा अन्य निजी सवारी साधनमार्फत बाहिरिने यात्रुको सङ्ख्या ठूलो रहेको ट्रापिक प्रहरीले जनाएको छ ।
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन् । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन । सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताउनुभयो । दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए । घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेको छ भने दुईको अवस्था सामान्य छ ।
सुर्खेत। ‘ती पल्ला घरे लाहुरे दाइले को कोसेली बाँड्दैछन् लाहुरेनी भाउजु मुसुमुसु हाँस्दै भित्र र बाहिर गर्दैछिन्...’ चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दसैँमा उत्तिकै गुन्जिन्छ । सत्र वर्षअघि बनेको ‘मुगलान’ चलचित्रको यो गीत दसैँमा गुन्जिने लोकप्रिय गीत पनि हो । रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा सुरू भएदेखि घर फर्किने पर्वका रूपमा पनि स्थापित पर्व हो, दशैँ । अरूबेला नभए पनि चाडबाडको समयमा बिदा पाउने भएकाले दसैँ घर फर्किने सांस्कृतिक विम्बका रूपमा स्थापित भएको हो । अरुबेला बिदा नपाइँदा पनि चाडबाडमा बिदाको मेसो मिलाएर गाउँ फर्किनेको धुइरो लाग्छ । यसरी दसैँ घर फर्किने चाडका रुपमा स्थापित भयो । दसैँ नजिकिँदै जाँदा पिँढीमा बसेका बुढा आँखा तेजिला बन्दै परदेशी बाटो छोरो फर्किएको हेर्न पर्खिरहन्छन् । मुगलानबाट लाहुरे दसैँमै घर फर्किन्छ । सुनसान गाउँ गुलजार बन्छ । निरस अनुहार उज्यालिन्छ । दसैमा घर फर्किएको परदेशी र गाउँले साथीबीच दुःख साटासाट हुन्छ । दसैँ गाउँ फर्किने पर्वका रुपमा बलियोसँग स्थापित भएको पर्व पनि हो । दसैलाई घर फर्किने चाडका रूपमा स्थापित गर्नेमा अझ बढी भूमिका परदेश जाने सर्वसाधारणको लागि छ । हिउँदमा बाली भित्र्याएर रोजगारीका लागि परदेशिनेहरू चाडबाडको खर्च जुटाएर दसैँमा घर फर्किन्छन् । रोजगारीका सिलसिलामा परदेशिन बाध्य नेपालीहरु फर्किएसँगै दसैँमा गाउँघर भरिभराउ हुन्छन् । यसरी बाध्यताले परदेशिएका घर फर्किने चाडका रूपमा दसैँ स्थापित भएको छ । यस वर्षको दसैँ सुरु भएसँगै कर्णालीका गाउँघरहरुमा दसैँको रौनकता पनि सुरु भइसकेको छ । हजुबुवा, बाको समयमा घर फर्किने चाडका रुपमा स्थापित दसैँमा अहिले पनि घर फर्किनेको माहोल उस्तै छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूर, श्रमिक दसैँमा घर फर्किन्छन् नै । असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दसँैलाई नेपालीको प्रमुख चाड पनि हो । नेपाल धर्म निरपेक्ष भइसक्दा पनि दसैँराष्ट्रिय चाडकैरुपमा स्थापित छ भने राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने गरेको छ । यसैले पनि दसैमा गाउँ फर्किने सङ्ख्या ठूलो हुन्छ । परिवेश फेरिए पनि पुस्तौँदेखि दसैँमा घर फर्किने चलन अहिले पनि फेरिएको छैन । जुम्लाको तिला गाउँपालिका–८ का खगेन्द्र नेपालीले भन्नुभयो, “मानव चोला कतिबेला कसलाई के हुन्छ थाहा हुँदैन । त्यसैले अरुबेला जो जहाँ भए पनि दसैँको बेला एकै ठाउँमा जम्मा हुने चलन स्थापित छ र अहिले पनि अरुबेला बिरानो हुने गाउँमा दसैको बेला रौनक छाउँछ ।” मङ्गलबार वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाको तिला गाउँपालिका–८ का नेपालीले आफू दसैँ मान्नकै लागि भारतबाट फर्किएको बताउनुभयो । उहाँलाई जुम्ला पुग्ने हतारो थियो । कमाइका लागि उहाँको परिवार नै भारतको सिम्ला बस्दै आएको छ । यसपालि परिवार उतै छोडेर उहाँ मात्रै गाउँ फर्किनुभएको छ । बालबच्चासहित आउँदा बाटोमा अप्ठ्यारो हुने भएकाले दसैँ मान्न एक्लै घर फर्किएको बताउँदै उहाँले बताउनुभयो, “वर्ष दिनमा एकपटक आउने चाडमा बुबाआमाको हातबाट टीका लगाउन घर फर्किएको हुँ”, उहाँले भन्नुभयो, “सबै परिवार आउने मन थियो । तर, बाटोमा दुःख होला भनेर एक्लै आइयो ।” कमाइका लागि भारत जानुपर्ने बाध्यता रहेको खगेन्द्र बताउनुहुन्छ । उहाँले दसैलगत्तै फेरि भारत फर्किहाल्ने योजना पनि सुनाउँदै भन्नुभयो, “अर्को वर्ष दशैमा घर आउन सकिएन भने अघिल्लो वर्ष त आमाबुवा, हजुरबुवा हजुरआमासँग टीका थापेको थिएँ भनेर चित्त बुझाउने बाटो हुने भएकाले पनि दसैमा घर फर्किनैपर्छ ।” रोजगारीका लागि परदेशिएकाले लामो बिदा नपाउने र यातायातलगायतका अन्य भौतिक सुविधाको अभावका कारण हिउँदमा परदेसिएकाहरू एकैपटक दसैमा घर फर्किन्थे । अहिले यातायात, सडक, पूर्वाधारलगायतको सहजताका कारण अन्य समयमा पनि भेटघाट बाक्लै हुने गरेको छ । सहर बजारबाट गाउँ जानेको ताँती देखिन्छ । रोजगारी, पढाइ तथा काम विशेषले बाहिर रहेकाहरू दसैँ लागेसँगै धमाधम गाउँ फर्कन थालेका छन् । कर्णालीका ग्रामीण भेगका थुप्रै नागरिक कमाइका लागि भारत जाने गर्छन् । उनीहरू दशैँ, तिहारजस्ता ठूला पर्वमा गाउँ घरमा फर्कन्छन् । यहाँ चाडपर्वकै लागि खर्चको जोहो गर्न भारत जानेहरू पनि धेरै छन् । दुई/चार महिनाका लागि विदेशिएका यसैबेला फर्कन्छन् । गाउँमा रोजगारीका अवसर नहुँदा बाहिरिएका अहिले दसैँ मान्न छर फर्किरहेका छन् । परदेशीका र सहर झरेका फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ । दसैँमा घर फर्किने क्रममा वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाकै कमल बुढा दसैँमनाएर भारत फर्किहाल्ने बताउनुहुन्छ । जीविकोपार्जनका लागि परिवारसहित भारत बस्ने जुम्लाकै निराजन बुढा पनि यसलाली एक्लै फर्किनुभयो । उहाँले गाउँकै चार जना साथीहरू दसैँ मनाउन भारतबाट आएको बताउनुभयो । “दसैँ मान्नका लागि मात्रै आएको हुँ । यहाँ बस्नका लागि रोजगार छैन्”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर छ । अब छोराछोरी सुर्खेत ल्याएर पढाउने र आफूहरू भारतमै बसेर कमाइ गर्ने योजना बनाएको छु ।” दशैँ तिहार नजिकिएसँगै कर्णाली प्रदेशका गाउँहरुमा रौनकता छाएको छ । परदेशिएका गाउँका युवासँगै पढाइ तथा रोजगारीको लागि घर बाहिर रहेका पनि गाउँमा आएपछि रौनकता छाएको दैलेख गुराँसेका दशरथ केसीले बताउनुभयो । घर बाहिर रहेका गाउँघरमा फर्किएसँगै स्थानीय बजारमा पनि किनमेल गर्नेको पनि भिडभाड बढेको पनि केसीले बताउनुभयो । दैलेखवासीका दीपक खत्री साउनको महिना रोपाइँ सकेर कमाउन भारत जानुभएको थियो । उहाँ पनि अहिले गाउँ फर्किनुभएको छ । चाडपर्व खर्च जुटाउन थोरै समयका लागि उहाँ भारत जानुभएको थियो । “यसपाली खासै कमाइ नभए पनि चाडपर्व मान्नकै लागि घर आए”, खत्रीले भन्नुभयो । रोजगारीकै सिलसिलामा दुई वर्ष पहिले दुवै गएका दैलेखको नौमुले गाउँपालिकाका तेजबहादुर चन्द पनि दसैँ मान्न घर फर्किनुभएको छ । परदेश गएका मात्रै होइन दसैका लागि तराईबाट पहाड आउने उक्लिनेको सङ्ख्या पनि अत्यधिक बढेको छ । अन्य समयमा सुनसान हुने गाउँहरु गुल्जार हुँदै गएका छन् । रोजगारीको सिलसिलामा भारत पसेकाहरु पनि घर फर्केकाले गाउँमा निकै चहलपहल बढेको उहाँले बताउनुभयो । दसैका लागि घर फर्कनेहरु लर्को लागेको बताउनुहुन्छ, सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटा । “अहिले अग्रिम टिकट काट्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । अध्यक्ष सापकोटाले चाडपर्वमा मानिसहरूको चहलपहल बढेपछि थप गाडी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
मलेखु । नेपालीको सबैभन्दा ठूलो पर्व हो दशैँ। मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महँगीको मारमा परेको छ । अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन । सर्वसाधारणमा उल्लास देखिदैन । किनमेलमा पनि तडक भडक छैन । यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ । “एक त सबै सामान महँगो भएको छ, अर्काेतर्फ मान्छेसँग पैसा छैन”, नीलकण्ठ नगरपालिका–३ पुछारबजारकी खाद्यान्न व्यवसायी सीता अर्यालले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा आधा व्यापार घटेको छ, अघिल्ला वर्षमा दुई कार्टुन खानेतेल किन्ने मान्छेले अहिले एक कार्टुन मात्रै किन्छन्, १० किलो चिउरा किन्नेले पाँच किलो मात्रै किन्छन् । यो सबै सबै सामान महँगिएको र पैसा नभएकै कारण हो।' बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको दसैँ आर्थिक सङ्कटले झेलिएको छ । कोरोना भाइरस महामारीपछिको पहिलो दसैँ उपभोक्तालाई निकै महँगो पर्नेभएको छ । बजारमा दैनिक उपभोग्य वस्तु महँगिदै जाँदा उपभोक्ता मुल्यवृद्धिको चपेटामा परेका छन् । चाडपर्वमा अत्यधिक खपत हुने वस्तुको मूल्य वृद्धि भएको छ । दाल, चामल, तेल, लत्ताकपडा, खसीबोकाको मासु तथा च्याङ्ग्राको मूल्य बढेकाले दसैँ महङ्गिएको छ । अधिकांश वस्तु आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमै बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढेको सदरमुकाम धादिङवेसीका पुराना व्यवसायी अशोककुमार श्रेष्ठले बताउनुभयो । सजिलै सामान आयात गर्न नसक्दा साना व्यापारीले पनि लगानी पुर्याउन सकिरहेका छैनन् । उपभोक्ताले पनि त्यो सामान किन्न सक्ने अवस्था छैन । यसले व्यापारीलाई भन्दा पनि बढी मार उपभोक्तालाई नै परेको छ । “अधिकांश खाद्यान्नको मूल्य वृद्धि कायमै छ । दैनिक उपभोग्य वस्तु तेल, दाल, चामल, मैदालगायत खाद्यान्नको मूल्य बढेको छ”, श्रेष्ठले भन्नुभयो, “खाद्यान्नको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको चपेटामा परेका छन् । दैनिक उपभोग्य खाद्यान्न तरकारीको मूल्य बढ्नेक्रम कायमै रहेको छ । आलु, गोलभेडा, काउलीलगायत तरकारीको मूल्य बढेको छ । “बच्चालाई नयाँ कपडा किनिदिनै पर्यो, पहिलाका दसैँमा जस्तो यसपाली खर्च गर्न सक्ने अवस्था र उत्साह छैन”, बालबच्चालाई कपडा किन्न लाग्नुभएकी सीता तामाङले भन्नुभयो । चुलिँदै गरेको मूल्य वृद्धि रोक्न सरकारको ध्यान पुग्न ढिला भइसकेको धादिङ उद्योग वाणिज्य सङ्घका महासचिव तिलक सिंखडाले बताउनुभयो ।
नवौ रािष्ट्रय खेलकुद प्रतियोगिताको महिला बास्केटबल तनहुँमा हुने भएको छ । केहि दिन अघि राष्ट्रिय खेलकुद परिषदले पोखरामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको खेल स्थल तालिकामा तनहुँ जिल्ला अटेको थिएन । पूर्व प्रदेश मन्त्रीद्धय किरण गुरुङ,हरि बहादुर चुमान,व्यासनगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने,खेल पत्रकार र खेल संघका पदाधिकारीले तनहुँ जिल्लामा नवौ राष्ट्रिय प्रतियोगिताका केहि खेल आफ्नो जिल्लामा हुन पर्ने अडान राखे पछि अन्तत: नवौ राष्ट्रिय प्रतियोगिताको ३६ खेल मध्य महिला बास्केटबल तनहुँको दमौलीमा हुने भएको हो । तनहुँबाट दबाब आए पछि राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल स्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले असोज ३ गते तनहुँको दमौली पुगेर त्यहाँका खेल स्थल अवलोकन गरेको थिए । खेल स्थल अवलोकन पश्चात गुरुङले स्थानिय प्रशासनको साथ पाए निर्मल माविको खेल मैदानमा महिला बास्केटबल हुने संकेत गरेका थिए । उनले तनहुँ पुगरे खेल स्थलको अवलोकन गरे पछि महिला बास्केटबल तनहुँ जिल्लाको सदरमुकाम दमौली अवस्थित निर्मल माविमा हुने उद्धघोष गरेका हुन । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल प्रतियोगिता हुने भनिएको निर्मल माविको बास्केटबल कोर्ट करिब ३ बर्ष अघि राष्ट्रिय खेलकुद परिषदको ४० लाख लगानीमा स्थापना भएको तनहुँ जिल्ला खेलकुद विकास समितिका प्रमुख शिव हरि पंण्डितले बताए । तनहुँ जिल्ला खेलकुद प्रतियोगिता गर्न सक्षम छ: व्यासनगरपालिका प्रमुख न्यौपाने “नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको बारे खेल संघ संग क्मुनिकेशन ग्याप भयो,खेलस्थल तालिकामा तनहुँ जिल्लाको नाम नदेखे पछि हामी तातिएका हौ । राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरु संग कुरा ग¥यौ र खेल मैदानको देखायौ उनीहरुलाई हामी राष्ट्रिय प्रतियोगिताको लागि आवश्यक सबै व्यवस्थापन गर्न सक्छौ भन्ने प्रतिबद्धता जनाईसकेर काम शुरु गरे पछि नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल तनहुँमा गर्ने पक्का भएको छ ।”मेयर न्यौपानेले भने । तनहुँ जिल्लामा आयोजना हुने महिला बास्केटबल प्रतियोगिता सफल बनाउनको लागि व्यासनगरपालिका लगायत अन्य स्थानिय निकायले पनि सहयोग गरेको छ । जसमा व्यासनगरपालिकाले ७ लाख ३० हजार,शुक्लागण्डकी नगरपालिका,भानु नगरपालिका र भिमाद नगरपालिकाले १÷१ लाख सहयोग गरेको छ । त्यस्तै घिरिङ गाउँपालिका,रिसिङ गाउँपालिका,म्याग्दे गाउँपालिका,बन्दिपुर गाउँपालिका,आबु खैरेनी गाउँपालिका र देवघाट गाउँपालिका गरि ६ गाउँपालिकाले ५०/५० हजार सहयोग गरेको व्यासनगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बताए । ‘सात लाख ३० हजार चान चुनमा खेल मैदान बिस्तारको लागि व्यासनगरपालिकाले खर्च गर्ने छ , ठेकेदारले दिन रात गरेर भए पनि खेल मैदान समयमा तयार गर्ने बताएको छ ।’ त्यसको लागि काम धे्रै अघि बढेकोले अब खेल हुन्न कि भन्ने शंका नगर्न मेयर न्यौपानेले खेलप्रेमी र खेलाडीहरुलाई आग्रह समेत गरे । उनले भने तनहुँ जिल्ला राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सक्षम छ । ’
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकी द्वारा हालै नवनियुक्त सल्लाहाकारहरुलाई मनोनयन पत्र हस्तान्तरण गरेको छ । परिषदले पोखरा रंगशालास्थित आफ्नै सभाकक्षमा आयोजित एक कार्यक्रममा नवनियुक्त सल्लाहाकारहरुलाई मनोनयन पत्र प्रदान गरेको हो । प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ३(ज) बमोजिम उनीहरुलाई गत भदौ ८ गते यूवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष समेत रहेका राजिव गुरुङको अध्यक्षतमा सम्पन्न वोर्ड बैठकले उनीहरुलाई मनोनयन गरेको थियो । परिषदको सल्लाहकारमा मनोनयन हुनेहरुमा खड्ग बहादुर रानाभाट (स्याङजा), गणेश बहादुर भट्टराई (कास्की), दिनेश श्रेष्ठ (कास्की), देवेन्द्र शेरचन (कास्की), इन्द्र बहादुर गुरुङ (गोरखा), सम्पन्न श्रेष्ठ (बागलुङ), महेश गुरुङ (कास्की), सुनिल गुरुङ (कास्की) र ओम बस्नेत (कास्की) रहेका छन् । प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले नवनियुक्त सल्लाहाकार हरुलाई मनोनयन पत्र प्रदान गरेका थिए । सो अवसरमा उनले नवनियुक्त सल्लाहाकारहरुको मनोनयनले प्रदेशको खेलकुद विकासमा थप सहयोग पुग्ने बताए । कार्यक्रममा आफ्ना भनाई राख्दै नवनियुक्त सल्लाहाकार एवम अग्रज खेलाडी रानाभाटले आफूहरुले खेल जिवनमा सिकेको ज्ञानलाई प्रदेशको खेलकुद विकासका संगै खेलाडी र खेलकुदको हितमा अघि बढाउने बताए । उनले असोज २८ बाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गर्दै गण्डकी प्रदेशका ३९ वर्ष पछि हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पहिलो प्राथमिकता हुनु पर्ने कुरा औंल्याए । यसै गरी अर्का सल्लाहाकार दिनेश श्रेष्ठले उत्कृष्ट नेतृत्वका कारणले गठन भएको छोटो अवधिमा नै प्रदेश खेलकुदले गति लिएको बताउँदै उनले प्रदेश खेलकुद विकासका लागि आफूहरुलाई प्राप्त भूमिकालाई अझै प्रभावकारी रुपमा निभाउने उल्लेख गरे । सो अवसरमा अर्का सल्लाहाकार सुनिल गुरुङले आफूले जहिले पनि खेलकुदमा राम्रो कामको प्रशंसा र गलत कामको विरोध गर्र्दै आएको बताउँदै उनले खेलाडीको हितमा कार्य गर्नुपर्ने विषयमा जोड दिए । यसै गरी सल्लाहाकार ओम बस्नेतले सल्लाहाकार जस्तो गहन जिम्मेवारी प्रदान गरेकोमा प्रदेश खेलकुद प्रति आभार व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सवैको सहयोगको आवश्यक्ता रहेको बताए । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उनले नवनियुक्त सल्लाहाकारहरुलाई बधाई दिंदै प्रदेशको खेलकुद विकासका लागि सकारात्मक सुझावको अपेक्षा रहेको बताए । सो अवसरमा उनले नवौं राष्ट्रिय खेलकुदको तयारी र बन्द प्रशिक्षण, खेलस्थहरुको अवस्थालगायतको विषयमा जानकारी गराएका थिए ।